प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अप्रिल pp. २-७
  • “परिपक्वतातर्फ अघि बढौँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परिपक्वतातर्फ अघि बढौँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिपक्व ख्रिष्टियन बन्‍नुको अर्थ
  • परिपक्व ख्रिष्टियन बन्‍न के गर्नुपर्छ?
  • खँदिलो आध्यात्मिक खानेकुराको भूमिका
  • अतिविश्‍वस्त नहुनुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अन्तसम्म सहन हामीलाई मदत गर्ने एउटा पत्र
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबलका आधारभूत शिक्षाहरूबाट लाभ उठाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अप्रिल pp. २-७

अध्ययन लेख १४

गीत ५६ सत्यमै जिउनू

“परिपक्वतातर्फ अघि बढौँ”

“हामी परिपक्वतातर्फ अघि बढौँ।”​—हिब्रू ६:१.

सिक्न सकिने कुरा

परिपक्व ख्रिष्टियनले कसरी परमेश्‍वरको इच्छासित मेल खाने सोचाइ राख्छन्‌ अनि त्यसअनुसार कदम चालेर सही निर्णय गर्छन्‌?

१. यहोवा हामीबाट के चाहनुहुन्छ?

एक विवाहित दम्पतीको लागि सबैभन्दा खुसीको क्षण उनीहरूको बच्चा जन्मँदाको क्षण नै हो। हुनत आमाबुबाको लागि आफ्नो नवजात शिशु एकदमै प्यारो हुन्छ तर उनीहरू ऊ सधैँ बच्चै रहोस्‌ भनेर कहिल्यै चाहँदैनन्‌। ऊ उमेरसँगसँगै बढेन भने उनीहरूलाई असाध्यै चिन्ता लाग्छ। त्यसैगरि हामीले येसुको अनुयायी बन्‍न कदम चाल्दा यहोवालाई खुसी लाग्छ तर हामी सधैँ आध्यात्मिक रूपमा बच्चै रहेको भने चाहनुहुन्‍न। (१ कोरि. ३:१) बरु उहाँ हामीलाई “पूरा बढेका” ख्रिष्टियनहरू बन्‍न आग्रह गर्नुहुन्छ।​—१ कोरि. १४:२०.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ पूरा बढेको ख्रिष्टियन बन्‍नुको अर्थ के हो? परिपक्व ख्रिष्टियन बन्‍न के गर्नुपर्छ? खँदिलो आध्यात्मिक खानेकुराले परिपक्व ख्रिष्टियन बन्‍न कसरी मदत गर्छ? आफू परिपक्व भइसकेँ भनेर किन अतिविश्‍वस्त हुनु हुँदैन? यस लेखमा हामी यी प्रश्‍नको जवाफ छलफल गर्नेछौँ।

परिपक्व ख्रिष्टियन बन्‍नुको अर्थ

३. पूरा बढेको ख्रिष्टियन बन्‍नुको अर्थ के हो?

३ बाइबलमा “पूरा बढेका” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “परिपक्व,” “सिद्ध” र “पूर्ण” भन्‍ने अर्थ पनि दिन्छ।a (१ कोरि. २:६) नवजात शिशु हुर्कँदै गएझैँ हामीले पनि यहोवासित गाँसेको मित्रतालाई बढाउँदै लैजानुपर्छ। यसरी हामी पूरा बढेको वा परिपक्व ख्रिष्टियन बन्‍न सक्छौँ। तर हामी आध्यात्मिक रूपमा परिपक्व भइसकेपछि पनि यस क्षेत्रमा उन्‍नति गरिरहनुपर्छ। (१ तिमो. ४:१५) हामी सबै जना, यहाँसम्म कि साना केटाकेटीसमेत परिपक्व ख्रिष्टियन बन्‍न सक्छन्‌। तर कुनै ख्रिष्टियन परिपक्व भइसकेका छन्‌ भन्‍ने कुरा केले देखाउँछ?

४. कसलाई परिपक्व ख्रिष्टियन भन्‍न सकिन्छ?

४ परिपक्व ख्रिष्टियनले परमेश्‍वरको सम्पूर्ण स्तर पालन गर्छन्‌, कुनै पालन गर्ने अनि कुनै नगर्ने गर्दैनन्‌। त्रुटिपूर्ण भएकोले तिनीबाट गल्ती त हुन्छ। तैपनि तिनी हरेक दिन परमेश्‍वरको इच्छासित मेल खाने सोचाइ राख्न र त्यसअनुसार गर्न यथासक्दो गर्छन्‌। तिनले नयाँ व्यक्‍तित्व धारण गरेका हुन्छन्‌ अनि आफ्नो सोचाइलाई सकेसम्म परमेश्‍वरको जस्तो बनाउन हरप्रयास गर्छन्‌। (एफि. ४:२२-२४) तिनले परमेश्‍वरका नियम तथा सिद्धान्तहरूमा आधारित निर्णय गर्न आफैलाई तालिम दिएका हुन्छन्‌। त्यसैले निर्णय गर्नुपर्दा तिनी नियमहरू खोज्ने गर्दैनन्‌। साथै निर्णय गरिसकेपछि तिनी त्यसैअनुसार कदम चाल्न कटिबद्ध हुन्छन्‌।—१ कोरि. ९:२६, २७.

५. अपरिपक्व ख्रिष्टियन कस्ता खतराहरूमा पर्न सक्छन्‌? (एफिसी ४:१४, १५)

५ अर्कोतर्फ अपरिपक्व ख्रिष्टियन सजिलै “छल र धूर्ततापूर्वक रचिएका षड्यन्त्रहरू”-को सिकार बन्‍न सक्छन्‌। तिनी सञ्चार माध्यमद्वारा हामीबारे फैलाइएका अफवाहहरू तुरुन्तै पत्याउँछन्‌ अनि धर्मत्यागीहरूको बहकाउमा पर्न सक्छन्‌।b (एफिसी ४:१४, १५ पढ्‌नुहोस्‌।) तिनी अरूको डाह गर्छन्‌, कलह मच्चाउँछन्‌, सानोतिनो कुरामा चित्त दुखाउँछन्‌ वा सजिलै प्रलोभनमा पर्छन्‌।​—१ कोरि. ३:३.

६. आध्यात्मिक रूपमा परिपक्व हुँदै जानुलाई कुन कुरासित तुलना गर्न सकिन्छ? व्याख्या गर्नुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

६ हामीले छलफल गरेझैँ बाइबलमा आध्यात्मिक रूपमा परिपक्व हुँदै जानुलाई बच्चा हुर्कँदै गएर वयस्क हुनुसित तुलना गरिएको छ। सानो बच्चाले समझ चलाउन सिकिसकेको हुँदैन। त्यसैले वयस्क व्यक्‍तिले उसलाई सुरक्षा दिनुपर्छ अनि उसको निगरानी गर्नुपर्छ। उदाहरणको लागि, एउटी आमाले बाटो काट्‌ने बेला सानी छोरीलाई उनको हात समाउन भन्छिन्‌। छोरी हुर्कँदै गएपछि आमाले उसलाई नै बाटो काट्‌न दिन्छिन्‌ तर बाटो काट्‌नुअघि दायाँबायाँ दुवैतिर हेर्न सम्झाउँछिन्‌। ऊ वयस्क भइसकेपछि भने त्यस्ता खतराहरूबाट कसरी जोगिने भनेर थाह हुन्छ। जसरी साना केटाकेटीलाई खतराबाट जोगिन वयस्कको मदत चाहिन्छ, त्यसरी नै अपरिपक्व ख्रिष्टियनलाई आध्यात्मिक खतराबाट जोगिन र सही निर्णय गर्न अक्सर परिपक्व ख्रिष्टियनको मदत चाहिन्छ। तर त्यसको ठीक विपरीत परिपक्व ख्रिष्टियनले कुनै निर्णय गर्नुपर्दा यहोवाको सोचाइ बुझ्न बाइबलका सिद्धान्तहरू विचार गर्छन्‌ र त्यसैअनुसार कदम चाल्छन्‌।

चित्रहरूको सँगालो: १. एक बहिनी आफ्नो आमाबुबाको कुरा सुन्दै छिन्‌। तिनले ट्याबलेटमा एउटा लेख खोलेकी छिन्‌ र आमाबुबाको हातमा खुला बाइबल छ। २. ती बहिनी ट्याबलेट, बाइबल र नोटबुक प्रयोग गरेर व्यक्‍तिगत अध्ययन गर्दै छिन्‌। गोलो घेराभित्रको चित्र: १. एउटी आमा आफ्नी छोरीको हात समातेर उसलाई बाटो काट्‌नुअघि दायाँबायाँ दुवैतिर हेर्न सम्झाउँछिन्‌। २. ऊ हुर्किसकेपछि आफैले बाटो काट्‌दै छिन्‌।

अपरिपक्व ख्रिष्टियनहरूले बाइबलका सिद्धान्तहरू लागू गर्दै सही निर्णय गर्न सिक्नुपर्छ (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. के परिपक्व ख्रिष्टियनलाई अरूको मदत चाहिन्छ?

७ के त्यसको अर्थ परिपक्व ख्रिष्टियनलाई कहिल्यै अरूको मदत चाहिँदैन भन्‍ने हो? पक्कै होइन। परिपक्व व्यक्‍तिले पनि कहिलेकाहीँ अरूसित मदत माग्नुपर्छ। तर आध्यात्मिक रूपमा अपरिपक्व व्यक्‍तिले भने हरेक कुरामा अरूको मदत खोज्छ अनि आफूले गर्नुपर्ने निर्णय अरूले गरिदिएको आशा गर्छ। अर्कोतर्फ परिपक्व ख्रिष्टियनले बुद्धिमान्‌ र अनुभवी व्यक्‍तिसित मदत त माग्छ तर उसले यहोवा ‘हरेकले आफ्नो भारी आफै बोकेको’ चाहनुहुन्छ भनेर बुझेको हुन्छ।​—गला. ६:५.

८. दुई परिपक्व ख्रिष्टियन कसरी फरक हुन सक्छन्‌?

८ जसरी सबै वयस्कको शारीरिक बनौट एउटै हुँदैन, त्यसरी नै परिपक्व ख्रिष्टियनहरू सबैमा एउटै खाले गुण हुँदैन। कोही बुद्धिमान्‌ हुन्छन्‌, कोही साहसी हुन्छन्‌, कोही उदार हुन्छन्‌ अनि कोहीचाहिँ समानुभूतिशील हुन्छन्‌। साथै दुई परिपक्व ख्रिष्टियनले एउटै परिस्थितिमा फरक-फरक निर्णय गर्न सक्छन्‌ तर दुवैको निर्णय बाइबलको सिद्धान्तअनुसार सही नै हुन सक्छ, विशेषगरि अन्तस्करण चलाएर गर्नुपर्ने निर्णयको सन्दर्भमा। तर निर्णय फरक भए तापनि तिनीहरू एकअर्काको न्याय गर्दैनन्‌ बरु एकतामा रहने कुरामा ध्यान दिन्छन्‌।​—रोमी १४:१०; १ कोरि. १:१०.

परिपक्व ख्रिष्टियन बन्‍न के गर्नुपर्छ?

९. के हामी आफसेआफ आध्यात्मिक रूपमा परिपक्व हुन सक्छौँ? व्याख्या गर्नुहोस्‌।

९ नवजात शिशु समयसँगै हुर्कँदै जान्छ तर आध्यात्मिक रूपमा भने कोही पनि आफसेआफ परिपक्व हुँदैन। उदाहरणको लागि, कोरिन्थका भाइबहिनीले सुसमाचार स्विकारे, बप्तिस्मा गरे, पवित्र शक्‍ति पाए अनि प्रेषित पावलको सल्लाह-सुझावबाट लाभ उठाए। (प्रेषि. १८:८-११) तर बप्तिस्मा गरेको केही वर्षपछिसम्म पनि तिनीहरूमध्ये धेरै जना अपरिपक्व नै थिए। (१ कोरि. ३:२) त्यसोभए आध्यात्मिक रूपमा बढ्‌दै जान हामीले के गर्नुपर्छ?

१०. हामीले परिपक्व हुन के गर्नुपर्छ? (यहुदा २०)

१० हामीले परिपक्व हुन सुरुमा इच्छा पैदा गर्नुपर्छ। तर “अनुभवहीन” अर्थात्‌ आध्यात्मिक रूपमा बालकै रहिरहन चाहनेहरूले उन्‍नति गर्न सक्दैनन्‌। (हितो. १:२२) हामी त्यस्तो व्यक्‍ति हुन चाहँदैनौँ, जो शारीरिक रूपमा हुर्किसकेको भए तापनि निर्णयहरू गर्नुपर्दा सधैँ आमाबुबामा भर पर्छ। बरु हामी आध्यात्मिक रूपमा बढ्‌दै जाने आफ्नो जिम्मेवारी आफैले वहन गर्छौँ। (यहुदा २० पढ्‌नुहोस्‌।) तपाईँ परिपक्व बन्‍न अझै पनि प्रयास गर्दै हुनुहुन्छ भने त्यसको लागि ‘इच्छा पैदा गरिदिनुहोस्‌ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहोस्‌’ भनेर यहोवालाई प्रार्थना गर्न सक्नुहुन्छ।​—फिलि. २:१३.

११. परिपक्व ख्रिष्टियन बन्‍न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? (एफिसी ४:११-१३)

११ हामी आफ्नै प्रयासले मात्र परिपक्व ख्रिष्टियन बन्‍न सक्दैनौँ भनेर यहोवालाई थाह छ। त्यसैले उहाँ हामीलाई विभिन्‍न तरिकामा मदत गर्नुहुन्छ। मण्डलीमा गोठाला र शिक्षकको रूपमा सेवा गर्ने भाइहरूले हामीलाई आध्यात्मिक तवरमा “पूरै हुर्किसकेको मानिस” बन्‍न र “ख्रिष्टको पूर्णताको नापसम्म” पुग्न मदत गर्छन्‌। (एफिसी ४:११-१३ पढ्‌नुहोस्‌।) साथै यहोवाले पवित्र शक्‍ति चलाएर हामीलाई “ख्रिष्टको सोचाइ” प्राप्त गर्न मदत गर्नुहुन्छ। (१ कोरि. २:१४-१६) त्यति मात्र होइन, उहाँले सुसमाचारका चार वटा पुस्तकमा येसुको सोचाइ, शिक्षा र कामबारे लेख्न लगाउनुभएको छ। तपाईँ येसुको सोच्ने र काम गर्ने तरिकाको अनुकरण गरेर आध्यात्मिक रूपमा परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य हासिल गर्न सक्नुहुन्छ।

खँदिलो आध्यात्मिक खानेकुराको भूमिका

१२. “ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षा” के हो?

१२ परिपक्वतातर्फ अघि बढ्‌दै जान “ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षा” अर्थात्‌ बाइबलका आधारभूत शिक्षाहरू लिएर मात्र पुग्दैन। यस्तो शिक्षामा पश्‍चात्ताप गर्ने, परमेश्‍वरमाथि विश्‍वास गर्ने, बप्तिस्मा गर्ने अनि मरिसकेकाहरू फेरि जीवित हुने शिक्षा समावेश छ। (हिब्रू ६:१, २) यी शिक्षाहरू हाम्रो विश्‍वासको जग हुन्‌। त्यसैले प्रेषित पत्रुसले पेन्तिकोसको दिनमा भीडलाई सुसमाचार सुनाउँदा यी शिक्षाहरूबारे बताए। (प्रेषि. २:३२-३५, ३८) हामीले ख्रिष्टको चेला बन्‍न यी आधारभूत शिक्षाहरू स्विकार्नुपर्छ। उदाहरणको लागि, यदि कसैले मरेकाहरू फेरि जीवित हुने शिक्षा स्विकार्दैनन्‌ भने तिनको विश्‍वास बेकारको हुन्छ भनेर पावलले सम्झाए। (१ कोरि. १५:१२-१४) तर हामी बाइबलको आधारभूत शिक्षामै चित्त बुझाएर बस्नु हुँदैन।

१३. हिब्रू ५:१४ मा उल्लेख गरिएको खँदिलो आध्यात्मिक खानेकुराबाट लाभ उठाउन के गर्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१३ हामीले खँदिलो आध्यात्मिक खानेकुरा पनि खानुपर्छ। खँदिलो आध्यात्मिक खानेकुरामा यहोवाले दिनुभएका नियमहरू मात्र नभई सिद्धान्तहरू पनि समावेश छ, जसले हामीलाई उहाँको सोचाइ बुझ्न मदत गर्छ। यस्तो खानेकुराबाट लाभ उठाउन हामीले परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ, त्यसमा मनन गर्नुपर्छ अनि सिकेको कुरा लागू गर्नुपर्छ। यसो गऱ्‍यौँ भने हामीले यहोवालाई खुसी तुल्याउने तरिकामा निर्णय गर्न आफैलाई तालिम दिइरहेका हुन्छौँ।c​—हिब्रू ५:१४ पढ्‌नुहोस्‌।

एक भाइ व्यक्‍तिगत अध्ययन गर्दै छन्‌। गोलो घेराभित्रको तस्बिर: ती भाइ समुद्रको डकुमेन्ट्री हेर्ने छनौट गर्छन्‌।

खँदिलो आध्यात्मिक खानेकुराले यहोवालाई खुसी तुल्याउने निर्णयहरू गर्न मदत गर्छ (अनुच्छेद १३ हेर्नुहोस्‌)d


१४. पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई आध्यात्मिक रूपमा बढ्‌दै जान कसरी मदत गरे?

१४ बाइबलमा कुनै विषयबारे खास नियम दिइएको छैन भने अपरिपक्व ख्रिष्टियनहरूलाई सही निर्णय गर्न गाह्रो हुन सक्छ। कसै-कसैलाई कुनै विषयमा बाइबलले तोकेरै नियम दिएको छैन भने आफूलाई जे मन लाग्छ, त्यही गरे हुन्छ जस्तो लाग्न सक्छ। अरू कतिपय भने नियम नै नचाहिने अवस्थामा पनि नियम खोज्छन्‌। उदाहरणको लागि, कोरिन्थका ख्रिष्टियनहरूले मूर्तिलाई चढाइएको खानेकुरा खानु हुन्छ कि हुँदैन भनेर पावललाई सोधे। तर तिनले हुन्छ वा हुँदैन भन्‍नुको साटो अन्तस्करण चलाएर निर्णय गर्न प्रोत्साहन दिए अनि हरेकसित ‘छनौट गर्न पाउने अधिकार’ छ भनेर बताए। बाइबलका केही सिद्धान्तले तिनीहरूलाई आफ्नो अन्तस्करणले नघोच्ने र अरूलाई ठक्कर नपुग्ने निर्णय गर्न मदत गर्छ भनेर पावलले बताए। (१ कोरि. ८:४, ७-९) तिनले उनीहरूलाई कसैमा भर पर्नु वा नियम खोज्नुको साटो आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर आफैले निर्णय गर्न सिकाए। यसरी तिनले कोरिन्थका ती ख्रिष्टियनहरूलाई आध्यात्मिक रूपमा बढ्‌दै जान मदत गरे।

१५. पावलले हिब्रू ख्रिष्टियनहरूलाई आध्यात्मिक उन्‍नति गर्न कसरी मदत गरे?

१५ पावलले हिब्रू ख्रिष्टियनहरूलाई लेखेको पत्रबाट हामी अर्को महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। तिनीहरूमध्ये कोही-कोही परिपक्वतातर्फ अघि बढ्‌न छोडिसकेका थिए। वास्तवमा तिनीहरू ‘फेरि यस्ता मानिसहरू भएका थिए, जसलाई खँदिलो [आध्यात्मिक] खानेकुरा होइन तर दूधैको आवश्‍यकता थियो।’ (हिब्रू ५:१२) तिनीहरूले मण्डलीमार्फत प्रकट गरिएका सत्यहरू सिकेनन्‌ र स्विकारेनन्‌। (हितो. ४:१८) उदाहरणको लागि, थुप्रै यहुदी ख्रिष्टियनले मोसाको व्यवस्थालाई नै महत्त्व दिइरहेका थिए, जबकि त्यो व्यवस्था ख्रिष्टको बलिदानले गर्दा लगभग ३० वर्षअघि नै खारेज भइसकेको थियो। (रोमी १०:४; ति. १:१०) वास्तवमा त्यस ३० वर्षको अवधिमा तिनीहरूले आफ्नो सोचाइ परिवर्तन गर्ने प्रशस्त समय पाएका थिए। पावलले हिब्रूहरूलाई लेखेको पत्र पढ्‌ने जो-कोहीले पनि त्यस पत्रमा खँदिलो आध्यात्मिक खानेकुरा छ भनेर बुझ्न सक्छन्‌। त्यस पत्रले ती ख्रिष्टियनहरूलाई यहोवाको उपासना गर्ने नयाँ प्रबन्ध उत्कृष्ट छ भन्‍ने कुरामा विश्‍वास बढाउन अनि यहुदीहरूले खेदो गरे तापनि साक्षीकार्यमा लागिरहन मदत गर्ने थियो।​—हिब्रू १०:१९-२३

अतिविश्‍वस्त नहुनुहोस्‌

१६. हामीले परिपक्वतातर्फ अघि बढ्‌नुका साथै के पनि गर्नुपर्छ?

१६ हामीले परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्यसम्म पुग्न मात्र होइन तर त्यसलाई कायम राख्न पनि कडा मेहनत गर्नुपर्छ। त्यसैले आफू परिपक्व भइसकेँ र यहोवासितको सम्बन्ध बलियो बनाइराख्न अब केही गर्नु पर्दैन भनेर अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌। (१ कोरि. १०:१२) आफूले आध्यात्मिक उन्‍नति गरिरहेको छु कि छैनँ भनेर पक्का गर्न हामीले आफैलाई ‘जाँचिरहनुपर्छ।’​—२ कोरि. १३:५.

१७. पावलले कलस्सीहरूलाई लेखेको पत्रले परिपक्व भइरहनु महत्त्वपूर्ण छ भनेर कसरी देखाउँछ?

१७ पावलले कलस्सीहरूलाई लेखेको पत्रमा परिपक्व भइरहनु महत्त्वपूर्ण छ भनेर जोड दिए। हुनत तिनीहरू पूरा बढेको ख्रिष्टियन भइसकेका थिए तैपनि पावलले तिनीहरूलाई संसारको सोचाइको पासोमा नपर्न चेतावनी दिए। (कल. २:६-१०) इपाफ्रास कलस्सी मण्डलीका भाइबहिनीलाई राम्ररी चिन्थे र तिनीहरू “अन्ततः परिपूर्ण” वा परिपक्व हुन सकून्‌ भनेर तिनी व्यग्र प्रार्थना गरिरहन्थे। (कल. ४:१२) यसबाट हामी के सिक्न सक्छौँ? पावल र इपाफ्रास दुवैले परिपक्व भइरहन व्यक्‍तिगत प्रयास र परमेश्‍वरको साथ चाहिन्छ भनेर बुझेका थिए। तिनीहरू कलस्सी मण्डलीका भाइबहिनी विभिन्‍न चुनौतीको बाबजुद पूरा बढेको वा परिपक्व ख्रिष्टियन भइरहेको चाहन्थे।

१८. परिपक्व ख्रिष्टियनलाई समेत के हुन सक्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१८ पावलले हिब्रूहरूलाई परिपक्व ख्रिष्टियनले समेत सधैँको लागि परमेश्‍वरको अनुमोदन गुमाउन सक्छन्‌ भनेर चेतावनी दिए। कुनै ख्रिष्टियनको हृदय यत्ति कठोर हुन सक्छ कि तिनले पश्‍चात्ताप गर्न र परमेश्‍वरबाट क्षमा पाउन सक्दैनन्‌। खुसीको कुरा, हिब्रू ख्रिष्टियनहरू त्यो हदसम्म पुगेका थिएनन्‌। (हिब्रू ६:४-९) अहिले निष्क्रिय वा बहिष्कार भएको कुनै व्यक्‍तिले पछि पश्‍चात्ताप गर्छन्‌ भने नि? मनैदेखि पश्‍चात्ताप गर्ने व्यक्‍तिले आफू सधैँको लागि परमेश्‍वरको अनुमोदन गुमाएका मानिसहरूभन्दा फरक भएको देखाइरहेका हुन्छन्‌। तर तिनीहरू यहोवाकहाँ फर्केर आएपछि पनि आफूलाई उहाँको मदत चाहिन्छ भन्‍ने कुरा स्विकार्नुपर्छ। (इज. ३४:१५, १६) एल्डरहरूले कुनै अनुभवी भाइ वा बहिनीलाई चलाएर तिनीहरूलाई आध्यात्मिक रूपमा फेरि बलियो हुन मदत दिन सक्छन्‌।

एक वृद्ध दाइ अर्का भाइलाई भेट्‌न तिनको घर जान्छन्‌ र बाइबलबाट प्रोत्साहन दिन्छन्‌।

यहोवा उहाँकहाँ फर्केर आउनेहरूलाई आध्यात्मिक रूपमा फेरि बलियो हुन मदत गर्नुहुन्छ (अनुच्छेद १८ हेर्नुहोस्‌)


१९. हामीले कस्तो लक्ष्य राख्नुपर्छ?

१९ तपाईँ परिपक्वतातर्फ अघि बढ्‌दै हुनुहुन्छ भने अवश्‍य आफ्नो लक्ष्यसम्म पुग्नुहुनेछ! त्यसको लागि खँदिलो आध्यात्मिक खानेकुरा खाइरहनुहोस्‌ र आफ्नो सोचाइलाई सकेसम्म परमेश्‍वरको जस्तो बनाउन प्रयास गरिरहनुहोस्‌। तपाईँ परिपक्व ख्रिष्टियन भइसक्नुभएको छ भने पनि अहिले र सधैँभरि आफ्नो परिपक्वता कायम राख्ने सङ्‌कल्प गर्नुहोस्‌।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • परिपक्व ख्रिष्टियन बन्‍नुको अर्थ के हो?

  • हामी कसरी परिपक्व हुँदै जान सक्छौँ?

  • आफू परिपक्व भइसकेँ भनेर किन अतिविश्‍वस्त हुनु हुँदैन?

गीत ६५ बढ्‌दै जाऊ!

a हुनत हिब्रू धर्मशास्त्रमा “परिपक्व” र “अपरिपक्व” शब्दहरू छैनन्‌ तर त्यस्तै अर्थ दिने अभिव्यक्‍तिहरूचाहिँ छन्‌। उदाहरणको लागि, हितोपदेशको किताबमा जवान र अनुभवहीन मानिस अनि बुद्धिमान्‌ र समझदार मानिसबीचको भिन्‍नताबारे बताइएको छ।​—हितो. १:४, ५.

b jw.org/ne र JW लाइब्रेरी-मा “शृङ्‌खलाबद्ध लेखहरू”-को “थप लेखहरू”-अन्तर्गत “गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

c यस अङ्‌कमा भएको “अध्ययनका लागि विषयहरू” हेर्नुहोस्‌।

d तस्बिरको व्याख्या: एक भाइ बाइबलका सिद्धान्तहरू लागू गर्दै मनोरञ्जन छानिरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने