अध्ययन लेख ३५
गीत १२१ आत्मसंयम जरुरी
हामी कुइच्छाहरूलाई कसरी वशमा राख्न सक्छौँ?
“मरणशील शरीरको इच्छाको वशमा नपर्न तिमीहरू त्यसमाथि पापलाई राजाले झैँ राज गरिरहन नदेओ।”—रोमी ६:१२
सिक्न सकिने कुरा
यस लेखले (१) हाम्रो मनमा कुइच्छाहरू जाग्दा हरेस नखान र (२) प्रलोभनहरूको तिरस्कार गर्न मदत गर्नेछ।
१. हामी सबैले कस्तो सङ्घर्ष गर्नुपर्छ?
के तपाईँमा यहोवाले घृणा गर्नुहुने कुनै कुरा गर्ने कुइच्छा जागेको थियो? अनि के तपाईँलाई त्यो वशमा राख्न गाह्रो भएको थियो? त्यसो हो भने हरेस नखानुहोस्। किनकि यस्तै परिस्थिति अरूले पनि सामना गरेका छन्। बाइबल यसो भन्छ, “साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।” (१ कोरि. १०:१३) यसको मतलब, अरूले पनि तपाईँले जस्तै कुइच्छाहरूविरुद्ध सङ्घर्ष गरिरहेका छन्। यहोवाको मदत पाएर तिनीहरूले ती कुइच्छाहरू वशमा राख्न सकेका छन्। तपाईँले पनि अवश्य सक्नुहुन्छ।
२. केही साक्षीहरू र बाइबल विद्यार्थीहरूले कस्ता प्रलोभनहरूको सामना गर्दै छन्? (चित्रहरू पनि हेर्नुहोस्।)
२ बाइबल यसो पनि भन्छ, “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।” (याकु. १:१४) मानिसहरूलाई लोभ्याउने कुरा एउटै हुँदैन, फरक-फरक हुन्छ। उदाहरणको लागि, केही साक्षीहरू र बाइबल विद्यार्थीहरूले सामना गरिरहेका प्रलोभनहरू विचार गरौँ। कसै-कसैलाई विपरीत लिङ्गका व्यक्तिसित अवैध यौनसम्बन्ध राख्ने प्रलोभन तिरस्कार गर्न गाह्रो हुन सक्छ। अरू कतिपयलाई भने समलिङ्गी झुकावविरुद्ध लड्न गाह्रो हुन सक्छ। विगतमा अश्लील सामग्री हेर्ने बानी छोडेका कसै-कसैलाई ती फेरि हेरूँ-हेरूँ जस्तो लाग्न सक्छ। अर्कोतर्फ रक्सी वा लागूपदार्थको कुलत त्यागेका कसै-कसैलाई फेरि ती कुराहरू खान सकसक लाग्न सक्छ। यी त केही उदाहरण मात्रै हुन्। कुनै न कुनै बेला हामी सबैले प्रेषित पावलले जस्तै महसुस गरेका छौँ होला। तिनले यस्तो लेखे: “जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।”—रोमी ७:२१.
प्रलोभन हामीले आशै नगरेको तरिकामा कुनै पनि बेला आउन सक्छ (अनुच्छेद २ हेर्नुहोस्)c
३. बारम्बार एउटै कुइच्छाविरुद्ध सङ्घर्ष गरिरहनुपर्दा कस्तो महसुस हुन सक्छ?
३ यदि तपाईँले बारम्बार एउटै कुइच्छाविरुद्ध सङ्घर्ष गरिरहनुपरेको छ भने ‘अब त्यसलाई जित्न सक्दिनँ’ भन्ने सोचेर तपाईँ लाचार महसुस गर्नुहुन्छ होला। अनि ‘मेरो मनमा यस्ता कुइच्छाहरू भएकोले यहोवा मलाई स्विकार्नुहुन्न’ भन्ने सोचेर निराश पनि हुनुहुन्छ होला। तर तपाईँले यसरी लाचार अनि निराश महसुस गर्नु पर्दैन। किन? यसको जवाफ पाउन अब हामी यी दुई प्रश्नहरू विचार गरौँ: (१) हामी वास्तवमा किन लाचार अनि निराश महसुस गर्छौं? (२) कुइच्छाहरूलाई वशमा राख्न हामी के गर्न सक्छौँ?
सैतान हामीले कस्तो महसुस गरेको चाहन्छ?
४. (क) सैतान हामीले कस्तो महसुस गरेको चाहन्छ र किन? (ख) मनमा कुइच्छाहरू आउँदा हामीले किन लाचार महसुस गर्नु पर्दैन?
४ प्रलोभन आइपर्दा हामीले लाचार महसुस गरेको सैतान चाहन्छ। यो कुरा येसुलाई पनि थाह थियो। त्यसैले उहाँले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस् तर त्यस दुष्टबाट छुटाउनुहोस्।” (मत्ति ६:१३) ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैँ सैतानले मानिसहरू प्रलोभन आइपर्दा यहोवाप्रति आज्ञाकारी हुँदैनन् भनेर आरोप लगायो। (अय्यु. २:४, ५) तर प्रलोभन आइपर्दा यहोवाप्रति आज्ञाकारी नभएको पहिलो व्यक्ति त्यो नै थियो। त्यो आफ्नै तृष्णाद्वारा खिचिएर परीक्षामा पऱ्यो र यहोवाप्रति अवफादार भयो। त्यसलाई हामी पनि त्यो जस्तै छौँ अनि परीक्षा आइपर्दा यहोवालाई त्यागिहाल्छौँ जस्तो लाग्छ। यहाँसम्म कि त्यसले परमेश्वरको त्रुटिरहित छोरालाई समेत प्रलोभनमा पार्न सक्छु भनेर सोचेको थियो। (मत्ति ४:८, ९) तर कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा के हामीले साँच्चै लाचार महसुस गर्नुपर्छ? पर्दैन। हामी प्रेषित पावलका यी शब्दहरूसित पक्कै सहमत छौँ: “किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.
५. हामी कुइच्छाहरूलाई वशमा राख्न सक्छौँ भन्ने कुरामा यहोवा ढुक्क हुनुहुन्छ भनेर किन भन्न सक्छौँ?
५ यहोवाले सैतानले जस्तो पटक्कै सोच्नुहुन्न। हामी कुइच्छाहरूलाई वशमा राख्न सक्छौँ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ। हामी किन त्यसो भन्न सक्छौँ? किनभने यहोवाले महासङ्कष्ट पार गर्ने वफादार व्यक्तिहरूको एउटा ठूलो भीड हुनेछ भनेर भविष्यवाणी गर्नुभएको छ। एकैछिन सोच्नुहोस्, यहोवाले थोरै होइन बरु धेरै जना नयाँ संसारमा प्रवेश गर्नेछन् भनेर बताउनुभयो। तिनीहरूले “आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका” हुनेछन् अर्थात् यहोवाको नजरमा तिनीहरू पवित्र ठहरिनेछन्। (प्रका. ७:९, १३, १४) यो कुरा कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले बताउनुभएको हो। हामी कुइच्छाहरूलाई वशमा राख्न सक्छौँ अनि हामीले लाचार महसुस गर्नु पर्दैन भन्ने कुरा यहोवालाई राम्ररी थाह छ।
६-७. कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा हामी निराश भएको सैतान किन चाहन्छ?
६ सैतान हामीले लाचार महसुस गरेको मात्र चाहँदैन। बरु हाम्रो मनमा कुइच्छाहरू भएकोले यहोवा हामीलाई कहिल्यै स्विकार्नुहुन्न र हाम्रो लागि कुनै आशा छैन भन्ने सोचेर हामी निराश भएको त्यो चाहन्छ। तर वास्तवमा कुनै आशा नभएको त सैतान नै हो! यहोवाले त्यसलाई सदाको लागि विनाश गर्ने निधो गरिसक्नुभएको छ। (उत्प. ३:१५; प्रका. २०:१०) तर हामीसित भने अनन्त जीवनको आशा छ। हामीले त्यो आशा गुमाइसक्यौँ भन्ने सोचेर हामी निराश भएको त्यो चाहन्छ। तर यहोवा त्यस्तो कदापि चाहनुहुन्न। बरु उहाँ हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ। बाइबल यसो भन्छ: “उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।”—२ पत्रु. ३:९.
७ कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा हामी लाचार वा निराश भयौँ भने सैतानले चाहेको जस्तै सोचाइ राखिरहेका हुन्छौँ। यो कुरा मनमा राख्यौँ भने त्यसविरुद्ध खडा हुने हाम्रो सङ्कल्प अझ बलियो हुनेछ।—१ पत्रु. ५:८, ९.
त्रुटिपूर्ण अवस्थाले गर्दा हामीलाई कस्तो महसुस हुन सक्छ?
८. गलत काम गर्नुबाहेक पापमा के पनि समावेश छ? (भजन ५१:५) (“थप व्याख्या” पनि हेर्नुहोस्।)
८ कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा हामीलाई अर्को कुराले पनि लाचार अनि निराश बनाउन सक्छ। त्यो हो, हाम्रो त्रुटिपूर्ण अवस्था, जुन हाम्रो प्रथम आमाबुबाबाट सर्दै आएको छ।a—अय्यु. १४:४; भजन ५१:५ पढ्नुहोस्।
९-१०. (क) पाप गरेपछि आदम र हव्वाले कस्तो महसुस गरे? (चित्र पनि हेर्नुहोस्।) (ख) पापले गर्दा हामी कस्तो महसुस गर्छौँ?
९ पाप गरेपछि आदम र हव्वाले कस्तो महसुस गरे, विचार गरौँ। तिनीहरू लुके अनि आफ्नो जीउ ढाक्न अन्जिरका पातहरू गाँसेर लगाए। यसबारे धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्ग्रेजी) किताबमा यस्तो लेखिएको छ: “पाप गरेपछि तिनीहरूलाई दोषी भावना, चिन्ता, लाज अनि डरले सतायो।” एक अर्थमा आदम र हव्वा ती चार वटा मात्र कोठा भएको घरमा थुनिएझैँ भए। तिनीहरू एउटा कोठाबाट अर्को कोठामा त जान सक्थे तर तिनीहरू घरबाहिर भने निस्कन सक्दैनथे। मतलब, तिनीहरूले पापको चङ्गुलबाट छुटकारा पाउने थिएनन्।
१० तर हाम्रो अवस्था भने आदम र हव्वाको भन्दा अलि फरक छ। किनभने हाम्रो लागि फिरौतीको बलिदानको प्रबन्ध गरिएको छ। यसले गर्दा हामीले पापको क्षमा पाउन र सफा अन्तस्करण राख्न सकेका छौँ। तैपनि हामी आदम र हव्वाको सन्तान भएकाले जन्मजातै पापी छौँ। (१ कोरि. ६:११) त्यसैले हामीलाई पनि दोषी भावना, चिन्ता, लाज र डरले सताउँछ। बाइबलअनुसार पापले मानिसजातिलाई जकडेको छ, तिनीहरूलाई समेत, “जसले आदमले जस्तो अपराध गरेर पाप गरेका” छैनन्। (रोमी ५:१४) यो कुरा सुन्दा हामी दयनीय अवस्थामा छौँ जस्तो लाग्न सक्छ। तर हामी लाचार अनि निराश हुनु पर्दैन। हामी यस्तो नकारात्मक भावना हटाउन सक्छौँ। कसरी?
पाप गरेपछि आदम र हव्वालाई दोषी भावना, चिन्ता, लाज अनि डरले सतायो (अनुच्छेद ९ हेर्नुहोस्)
११. लाचार महसुस हुँदा हामीले के गर्नुपर्छ र किन? (रोमी ६:१२)
११ लाचार महसुस हुँदा मनको कुनै कुनाबाट “तिमी कुइच्छाहरूलाई वशमा राख्न सक्दैनौ” भन्ने आवाज आउन सक्छ। तर हामीले त्यो आवाज सुन्नु हुँदैन। किन? किनभने हामीले पापलाई आफूमाथि “राजाले झैँ राज” गरिरहन दिनु हुँदैन भनेर बाइबलमा बताइएको छ। (रोमी ६:१२ पढ्नुहोस्।) यसको मतलब हामी कुइच्छाहरूको वशमा नपर्ने छनौट गर्न सक्छौँ। (गला. ५:१६) हामी प्रलोभनहरूको तिरस्कार गर्न सक्छौँ भन्ने कुरामा यहोवा ढुक्क हुनुहुन्छ। यदि त्यसो नहुँदो हो त उहाँले हामीलाई त्यस्तो आज्ञा दिनुहुने नै थिएन। (व्यव. ३०:११-१४; रोमी ६:६; १ थिस्स. ४:३) हो, कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा हामीले लाचार महसुस गर्नु पर्दैन।
१२. निराश हुँदा हामीले के गर्नुपर्छ र किन?
१२ निराश हुँदा पनि हाम्रो मनको कुनै कुनाबाट “तिम्रो मनमा कुइच्छाहरू भएकोले यहोवा तिमीलाई स्विकार्नुहुन्न” भन्ने आवाज आउन सक्छ। तर हामीले त्यो आवाज सुन्नु हुँदैन। किन? किनभने हामी त्रुटिपूर्ण छौँ भनेर यहोवा बुझ्नुहुन्छ। (भज. १०३:१३, १४) उहाँलाई हामीबारे “सबै कुरा थाह छ।” जन्मजातै पाएको त्रुटिपूर्ण अवस्थाले हामी सबैलाई कस्तो असर गरिरहेको छ भनेर उहाँ बुझ्नुहुन्छ। (१ युह. ३:१९, २०) त्यसैले कुइच्छाहरू आए तापनि पनि त्यसलाई आफूमाथि हाबी हुन दिएनौँ र गलत कदम चालेनौँ भने यहोवासामु सफा अन्तस्करण कायम राख्न सक्छौँ। हामी किन त्यसो भन्न सक्छौँ?
१३-१४. कुइच्छा जाग्दैमा के हामी यहोवाको नजरमा अस्वीकार्य हुन्छौँ? व्याख्या गर्नुहोस्।
१३ बाइबलमा कुइच्छा जाग्नु र गलत काम गर्नु-बीच भिन्नता छ भनी बताइएको छ। कुइच्छा आफसेआफ जाग्छ तर गलत काम आफसेआफ हुँदैन। उदाहरणको लागि, प्रथम शताब्दीको कोरिन्थ मण्डलीका केही ख्रिष्टियनहरू पहिला समलिङ्गी यौनसम्बन्ध राख्थे। पावलले यस्तो लेखे: “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।” के यसको मतलब तिनीहरूको मनमा समलिङ्गी यौनसम्बन्ध राख्ने इच्छा पछि कहिल्यै जागेन भन्ने हो? त्यसो त होइन होला किनभने त्यस्ता कुइच्छाहरूले निकै जरा गाडेर बसेको हुन्छ र ती सजिलै हटाउन सकिँदैन। तर आत्मसंयम विकास गरेर त्यस्तो गलत काम नगर्ने ख्रिष्टियनहरूलाई यहोवाले स्विकार्नुभयो। उहाँले तिनीहरू “धोएर शुद्ध” भएझैँ ठान्नुभयो। (१ कोरि. ६:९-११) तपाईँ पनि उहाँको नजरमा स्वीकार्य हुन सक्नुहुन्छ।
१४ जस्तोसुकै कुइच्छाविरुद्ध सङ्घर्ष गर्नुपरे तापनि तपाईँ त्यसलाई वशमा राख्न सक्नुहुन्छ। कुइच्छाहरू पूरै हटाउन नसके पनि तपाईँ आत्मसंयम विकास गर्न सक्नुहुन्छ र तपाईँको ‘शरीर अनि सोचविचारले जे गर्न लगाउँछ, त्यो नगर्ने’ छनौट गर्न सक्नुहुन्छ। (एफि. २:३) त्यसोभए तपाईँ कुइच्छाहरूलाई कसरी वशमा राख्न सक्नुहुन्छ?
तपाईँ कुइच्छाहरूलाई कसरी वशमा राख्न सक्नुहुन्छ?
१५. कुइच्छाहरूलाई वशमा राख्न हामी किन आफैप्रति इमानदार हुनुपर्छ?
१५ कुइच्छाहरूलाई आफ्नो वशमा राख्न तपाईँले सुरुमा इमानदार भई आफ्नो कमजोरी स्विकार्नुपर्छ। “झूटा तर्कहरू” गरेर आफूलाई नझुक्क्याउनुहोस्। (याकु. १:२२) उदाहरणको लागि, रक्सी धेरै पिउने व्यक्तिले यस्तो तर्क गर्न सक्छन्, ‘अरूले मैलेभन्दा धेरै पिउँछन्, मैले त तिनीहरूले भन्दा कमै पिउँछु!’ अथवा अश्लील सामग्री हेर्ने लत लागेको व्यक्तिले यस्तो तर्क गर्न सक्छन्, ‘मेरी श्रीमतीले मलाई अझ माया गरेको भए म अश्लील सामग्री हेर्ने नै थिइनँ। दोष उसकै हो!’ यस्तो तर्क गर्नुभयो भने तपाईँ सजिलै प्रलोभनमा फस्ने खतरा हुन्छ। त्यसैले गलत काम गर्दा आफूलाई सही ठहराउन नखोज्नुहोस्, आफ्नो सोचाइमा समेत त्यस्तो नगर्नुहोस्। तपाईँ जे गर्नुहुन्छ, त्यसको लागि अरू कोही नभई तपाईँ आफै जिम्मेवार हुनुहुन्छ।—गला. ६:७.
१६. गलत काम नगर्ने आफ्नो सङ्कल्प तपाईँ कसरी बलियो बनाउन सक्नुहुन्छ?
१६ इमानदार भई आफ्ना कमजोरीहरू स्विकार्नुको अलावा तपाईँले गलत काम नगर्ने आफ्नो सङ्कल्पलाई पनि बलियो बनाउनुपर्छ। (१ कोरि. ९:२६, २७; १ थिस्स. ४:४; १ पत्रु. १:१५, १६) यी कुराहरू पहिल्यै विचार गर्नुहोस्: ‘मलाई कस्तो प्रलोभन तिरस्कार गर्न सबैभन्दा गाह्रो लाग्छ? म कहिले र कुन अवस्थामा प्रलोभनमा फस्ने सम्भावना अझ धेरै हुन्छ?’ उदाहरणको लागि, राती वा थाकेको बेला प्रलोभन आयो भने तपाईँलाई तिरस्कार गर्न गाह्रो हुन्छ कि? प्रलोभन आउँदै आउँदैन भनेर नसोच्नुहोस्। बरु प्रलोभन आइपर्दा त्यसलाई तिरस्कार गर्न के-के गर्नेछु भनेर पहिल्यै सोच्नुहोस्। यस्तो कुरा प्रलोभन आउनुअघि नै सोच्नुपर्छ।—हितो. २२:३.
१७. युसुफको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (उत्पत्ति ३९:७-९) (चित्रहरू पनि हेर्नुहोस्।)
१७ पोतिफरकी पत्नीले युसुफलाई अवैध यौनसम्बन्ध राख्न प्रलोभन देखाउँदा युसुफले के गरे, विचार गरौँ। तिनले ढिलासुस्ती नगरी तुरुन्तै ठोस कदम चाले। (उत्पत्ति ३९:७-९ पढ्नुहोस्।) यसबाट हामी के सिक्न सक्छौँ? युसुफलाई अवैध यौनसम्बन्ध राख्नु गलत हो भनेर थाह थियो। त्यसैले पोतिफरकी पत्नीले प्रलोभन देखाउनुअघि नै तिनले अवैध यौनसम्बन्ध नराख्ने सङ्कल्प गरिसकेका थिए। तपाईँ पनि प्रलोभन आउनुअघि नै गलत काम नगर्ने आफ्नो सङ्कल्पलाई बलियो बनाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाईँलाई प्रलोभन तिरस्कार गर्न सजिलो हुनेछ।
युसुफले जस्तै तुरुन्तै प्रलोभन तिरस्कार गर्नुहोस्! (अनुच्छेद १७ हेर्नुहोस्)
‘आफूलाई जाँचिरहो’
१८. कुइच्छाहरूलाई वशमा राख्न तपाईँ के गर्न सक्नुहुन्छ? (२ कोरिन्थी १३:५)
१८ कुइच्छाहरूलाई वशमा राख्न तपाईँले ‘आफूलाई जाँचिरहनुपर्छ।’ यसको मतलब, प्रलोभन आउँदा के गर्दै छु भनी बेला-बेलामा केलाइरहनुपर्छ। (२ कोरिन्थी १३:५ पढ्नुहोस्।) आफू के सोच्दै छु अनि के गर्दै छु भनी समय-समयमा केलाउनुहोस् र आवश्यक छाँटकाँट गर्नुहोस्। उदाहरणको लागि, प्रलोभन तिरस्कार गर्न सफल हुनुभयो भने पनि आफूलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘मलाई नाइँ भन्न कति समय लाग्यो?’ यदि तुरुन्त नाइँ भन्न सक्नुभएको थिएन भने हरेस नखानुहोस्। बरु अझ छिटो कदम चाल्न के गर्न सकिन्छ, विचार गर्नुहोस्। आफैलाई यस्ता प्रश्नहरू पनि सोध्नुहोस्: ‘खराब सोचाइ आउँदा त्यसलाई तुरुन्तै हटाइहाल्न सक्छु कि? मैले छानेको मनोरञ्जनले गर्दा मलाई प्रलोभन तिरस्कार गर्न अझ गाह्रो भइरहेको छ कि? के म अनैतिक दृश्यहरू आउनेबित्तिकै आफ्नो आँखा फर्काइहाल्छु? आत्मसंयम देखाउन गाह्रो भए पनि यहोवाको स्तरअनुसार चल्दा नै मेरो हित हुन्छ भनेर के मैले बुझेको छु?’—भज. १०१:३.
१९. सानोजस्तो देखिने कुरामा पनि होसियार भएनौँ भने के हुन सक्छ?
१९ आफूलाई जाँच्दा बहाना नबनाउनुहोस्। बाइबल यसो भन्छ: “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मि. १७:९) येसुले पनि “दुष्ट विचार हृदयबाटै निस्कन्छ” भन्नुभयो। (मत्ति १५:१९) उदाहरणको लागि, अश्लील सामग्री हेर्न छोडेका कुनै व्यक्तिले यौन उत्तेजना जगाउने खालका फोटोहरू हेर्न थाल्न सक्छन्। तिनले मनमनै यस्तो सोचेका हुन सक्छन्: ‘यसमा नाङ्गो व्यक्तिहरू देखाइएको छैन नि! हेर्दैमा के फरक पर्छ र?’ अथवा तिनले यस्तो तर्क गर्न सक्छन्: ‘मैले यस्ता कुराहरूबारे सोचेको मात्र हुँ, गलत काम नै त गरेको छैन नि!’ यस्तो तर्क गर्ने व्यक्तिको छली हृदयले “शरीरका अभिलाषाहरू पूरा गर्न पहिल्यै योजना” बनाइरहेको हुन्छ। (रोमी १३:१४) त्यसो हुन नदिन तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ सानोजस्तो देखिने कुरामा होसियार हुनुभयो र सही कदम चाल्नुभयो भने पछि ठूलो गल्ती गर्नदेखि जोगिनुहुनेछ।b त्यसैले मनमा “दुष्ट विचार” आउँदा त्यसलाई हटाइहाल्नुहोस्। किनभने त्यसले अनेक बहाना बनाउने अनि गलत काम गर्ने हदसम्म पुऱ्याउन सक्छ।
२०. हामीसित कस्तो आशा छ र अहिले पनि हामीले कस्तो मदत पाएका छौँ?
२० प्रलोभनहरूको तिरस्कार गर्न यहोवाले हामीलाई बल दिनुहुनेछ भनेर हामीले सिक्यौँ। फिरौतीको बलिदानले गर्दा हामीले अनन्त जीवनको आशा पाएका छौँ। त्यतिबेला हामीले कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्नेछैन। हामीले कत्ति आनन्दित भई यहोवाको सेवा गर्न सक्नेछौँ, सोच्नुहोस् त! त्यो समय नआउन्जेल हामी यो कुरामा ढुक्क हुन सक्छौँ: कुइच्छाहरूविरुद्ध सङ्घर्ष गर्नुपर्दा हामी लाचार वा निराश हुनु पर्दैन। यहोवाको मदत पाएर हामी ती कुइच्छाहरूलाई आफ्नो वशमा राख्न सक्छौँ।
गीत १२२ स्थिर र अटल बस!
a थप व्याख्या: बाइबलमा “पाप” शब्दले अक्सर गलत काम गर्नुलाई बुझाउँछ। जस्तै: चोरी, हत्या वा व्यभिचार। (प्रस्थ. २०:१३-१५; १ कोरि. ६:१८) कतिपय पदहरूमा भने हामीले कुनै गलत काम नगरे तापनि जन्मजातै पाएको त्रुटिपूर्ण अवस्थालाई बुझाउन “पाप” शब्द प्रयोग गरिएको छ।
b याद गर्नुहोस्, हितोपदेश ७:७-२३ मा उल्लेख गरिएको ठिटोले सुरुमा स-साना गलत कदमहरू चालेका थिए, जसले गर्दा तिनी अवैध यौनसम्बन्धजस्तो ठूलो गल्ती गर्ने हदसम्म पुगे।
c चित्रको व्याख्या: बायाँ: कफी सपमा एक भाइ दुई जना पुरुषहरू एकअर्कासित रोमान्टिक तरिकामा नजिक भएको देख्छन्। दायाँ: एक बहिनी दुई जनाले चुरोट तानिरहेको देख्छिन्।