प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 मार्च पृ. २-७
  • बप्तिस्मा गर्न ढिलासुस्ती नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्मा गर्न ढिलासुस्ती नगर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सामरियालीहरूले बप्तिस्मा गरे
  • टार्ससको सावलले बप्तिस्मा गरे
  • कर्निलियसले बप्तिस्मा गरे
  • कोरिन्थीहरूले बप्तिस्मा गरे
  • तपाईँको विश्‍वासले डाँडाहरू सार्न सक्छ
  • बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 मार्च पृ. २-७

अध्ययन लेख ९

गीत ५१ समर्पित छौँ यहोवामा!

बप्तिस्मा गर्न ढिलासुस्ती नगर्नुहोस्‌

“अब किन अलमल गर्नुहुन्छ? उठ्‌नुहोस्‌ र बप्तिस्मा गर्नुहोस्‌।”—प्रेषि. २२:१६.

सिक्न सकिने कुरा

सामरियालीहरू, टार्ससको सावल, कर्निलियस र कोरिन्थीहरूबाट ढिलासुस्ती नगरी बप्तिस्मा गर्न हौसला पाउन सक्छौँ।

१. बप्तिस्मा किन गर्नुपर्छ?

के तपाईँ यहोवा परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ! किनभने उहाँले हामीलाई थुप्रै उपहार दिनुभएको छ र हाम्रो जीवन पनि उहाँकै उपहार हो। त्यसोभए के तपाईँ उहाँलाई प्रेम गरेको देखाउन चाहनुहुन्छ? त्यसो गर्ने सबैभन्दा राम्रो तरिका भनेको यहोवालाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु हो। यी कदमहरू चाल्दा तपाईँ यहोवाको परिवारको भाग बन्‍नुहुनेछ। उहाँ तपाईँको बुबा र साथी हुनुहुनेछ। उहाँले तपाईँलाई डोऱ्‍याउनुहुनेछ र तपाईँको ख्याल राख्नुहुनेछ। (भज. ७३:२४; यसै. ४३:१, २) समर्पण र बप्तिस्मा गरेपछि तपाईँले अनन्त जीवनको आशा पनि पाउनुहुनेछ।—१ पत्रु. ३:२१.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ के तपाईँलाई बप्तिस्मा गर्नदेखि कुनै कुराले रोकिरहेको छ? छ भने चिन्ता नगर्नुहोस्‌। अहिले खुसी हुँदै जोसका साथ यहोवाको सेवा गरिरहेका थुप्रैले बप्तिस्माको लागि योग्य हुन आफ्नो जीवनशैली र सोचाइ परिवर्तन गर्नुपरेको थियो। प्रथम शताब्दीमा पनि कसै-कसैलाई बप्तिस्मा गर्नदेखि रोक्न सक्ने केही कुराहरू थिए। तर तिनीहरूले ती अवरोधहरू पार गरेर बप्तिस्मा गरे। त्यसैले आउनुहोस्‌, तिनीहरूबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

सामरियालीहरूले बप्तिस्मा गरे

३. केही सामरियालीहरूले बप्तिस्माको लागि योग्य हुन के गर्नुपरेको थियो?

३ सामरियालीहरू येसुको समयको एउटा धार्मिक गुट थियो। धेरैजसो सामरियालीहरू यहुदियाको उत्तरतिर पर्ने सकेम र सामरियाको वरपरका इलाकाहरूमा बस्थे। तिनीहरूले बाइबलको सुरुको पाँच वटा किताब (उत्पत्तिदेखि व्यवस्थासम्म) र सायद यहोसुको किताबलाई मात्र परमेश्‍वरको वचनको रूपमा स्विकार्थे। तर तिनीहरूले पूरै धर्मशास्त्रलाई परमेश्‍वरको वचनको रूपमा स्विकारेपछि मात्र बप्तिस्माको लागि योग्य हुन सक्थे। तिनीहरूलाई व्यवस्था १८:१८, १९ मा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा थाह थियो। त्यसैले तिनीहरूले मसीह आउनेछन्‌ भनेर आशा गरेका थिए। (युह. ४:२५) तर बप्तिस्माको लागि योग्य हुन तिनीहरूले प्रतिज्ञा गरिएको मसीह येसु नै हुनुहुन्छ भनेर स्विकार्नुपर्थ्यो। हुन पनि “थुप्रै सामरियालीले उहाँमाथि विश्‍वास गरे।” (युह. ४:३९) तर कतिपयले भने बप्तिस्माको लागि योग्य हुन यहुदीहरूप्रतिको घृणा आफ्नो मनबाट पूरै हटाउनुपर्ने थियो।—लुका ९:५२-५४.

४. फिलिपले ख्रिष्टबारे बताउँदा सामरियालीहरूले के गरे? (प्रेषित ८:५, ६, १४)

४ सामरियालीहरूलाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? फिलिपले सामरियालीहरूलाई “ख्रिष्टको विषयमा” प्रचार गर्दा केहीले “परमेश्‍वरको वचन स्विकारे।” (प्रेषित ८:५, ६, १४ पढ्‌नुहोस्‌।) फिलिप यहुदी थिए। तैपनि सामरियालीहरूले तिनको कुरा सुने। सायद तिनीहरूले परमेश्‍वरले “पक्षपात गर्नुहुन्‍न” भनेर धर्मशास्त्रमा लेखिएको कुरा सम्झे। (व्यव. १०:१७-१९) कारण जेसुकै होस्‌, तिनीहरूले ख्रिष्टबारे फिलिपले बताएका कुराहरू ध्यान दिएर सुने। तिनीहरूले फिलिपले बिरामीहरूलाई निको पारेको अनि प्रेतहरूलाई धपाएको पनि देखे। त्यस्ता चमत्कारहरू देखेपछि फिलिपलाई साँच्चै परमेश्‍वरले पठाउनुभएको हो भनेर तिनीहरूले विश्‍वास गरे।—प्रेषि. ८:७.

५. सामरियालीहरूबाट तपाईँले के सिक्नुभयो?

५ फिलिप यहुदी थिए र तिनले ख्रिष्टबारे बताएका कुराहरू ती सामरियालीहरूले पहिला कहिल्यै सुनेका थिएनन्‌। तर यस्ता कुराहरूले तिनीहरूलाई बप्तिस्मा गर्नदेखि रोकेन। तिनीहरूले बप्तिस्मा गर्न ढिलासुस्ती गरेनन्‌ किनभने फिलिपले बताएका कुराहरू सत्य हुन्‌ भनेर तिनीहरू पक्का थिए। बाइबल यसो भन्छ: “जब फिलिपले परमेश्‍वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार सुनाए, तब तिनीहरूले विश्‍वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।” (प्रेषि. ८:१२) के तपाईँ पनि परमेश्‍वरको वचन सत्य हो भन्‍ने कुरामा पक्का हुनुहुन्छ? के तपाईँ यहोवाका साक्षीहरूले कसैलाई पक्षपात गर्दैनन्‌, तिनीहरू एकअर्कालाई साँचो प्रेम देखाउन प्रयास गर्छन्‌ भनेर विश्‍वस्त हुनुहुन्छ? (युह. १३:३५) हुनुहुन्छ भने बप्तिस्मा गर्न पछि नहट्‌नुहोस्‌। यहोवाले तपाईँलाई अवश्‍य साथ दिनुहुनेछ।

६. रुबेनको अनुभवबाट तपाईँले के सिक्नुभयो?

६ जर्मनीका रुबेन साक्षी परिवारमा हुर्के। तर हुर्कँदै जाँदा तिनलाई यहोवा हुनुहुन्छ कि हुनुहुन्‍न भनेर शङ्‌का लाग्न थाल्यो। तिनले आफ्नो शङ्‌का हटाउन केही कदम चाले। तिनले सृष्टिकर्ताबारे आफूले सिक्नुपर्ने कुरा अझै बाँकी छ भन्‍ने महसुस गरे। तिनले यसो भने: “सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्‍न भनेर राम्ररी बुझ्न मैले गहिरो व्यक्‍तिगत अध्ययन गरेँ। मैले क्रमविकासबारे पनि धेरै खोज-अनुसन्धान गरेँ।” तिनले के तपाईँको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी) भन्‍ने किताब पढे। त्यो किताब पढेपछि तिनी यस्तो निष्कर्षमा पुगे: ‘यहोवा साँच्चै हुनुहुँदो रहेछ!’ तिनले हाम्रो विश्‍व मुख्यालय घुम्ने मौका पनि पाए र यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारमा छाएको प्रेम र एकता आफैले महसुस गर्न सके। त्यसले तिनको मनमा अमेट छाप पाऱ्‍यो र तिनले १७ वर्षको उमेरमा बप्तिस्मा गरे। के तपाईँलाई पनि आफूले बाइबलबाट सिकिरहेका कुराहरूमा शङ्‌का लाग्छ? त्यसो हो भने आफूलाई शङ्‌का लागेका विषयहरूबारे हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌। तपाईँले “सही ज्ञान” हासिल गर्नुभयो भने शङ्‌का हटाउन सक्नुहुनेछ। (एफि. ४:१३, १४) साथै तपाईँले संसारभर यहोवाका साक्षीहरूमाझ छाएको प्रेम र एकताबारे अनुभवहरू सुन्‍नुभएको छ होला। अनि आफ्नै मण्डलीमा पनि त्यस्तो प्रेम र एकता देख्नुभएको छ होला। यस्ता कुराहरू विचार गर्दा विश्‍वव्यापी परिवारको भाग हुन पाउनु ठूलो सुअवसर हो भनेर तपाईँले अझ धेरै महसुस गर्नुहुनेछ।

टार्ससको सावलले बप्तिस्मा गरे

७. सावलले कस्तो गलत सोचाइ राखेका थिए?

७ सावलको उदाहरण विचार गरौँ। तिनले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिए र यहुदी समाजमा निकै प्रतिष्ठा कमाएका थिए। (गला. १:१३, १४; फिलि. ३:५) त्यतिबेला धेरैजसो यहुदीहरूले ख्रिष्टियनहरूलाई धर्मत्यागी ठान्थे। त्यसैले सावलले तिनीहरूको गर्नुसम्म खेदो गरे। तिनलाई आफूले गरेको काम परमेश्‍वरलाई स्वीकार्य छ जस्तो लागेको थियो। तर तिनको सोचाइ गलत थियो। (प्रेषि. ८:३; ९:१, २; २६:९-११) तिनी साँच्चै परमेश्‍वरको इच्छाअनुसार चल्ने हो भने येसुलाई विश्‍वास गरेर बप्तिस्मा गर्नुपर्थ्यो र अरू ख्रिष्टियनहरूजस्तै खेदो भोग्न तयार हुनुपर्थ्यो।

८. (क) सावललाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? (ख) हननियाले सावललाई कसरी मदत गरे? (प्रेषित २२:१२-१६) (चित्र पनि हेर्नुहोस्‌।)

८ सावललाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? येसुले स्वर्गबाट सावलसित बोल्नुहुँदा चहकिलो ज्योति चम्कियो र तिनी देख्न नसक्ने भए। (प्रेषि. ९:३-९) त्यसपछि तीन दिनसम्म तिनले केही खानपिन गरेनन्‌। त्यस दौडान तिनले भर्खरै घटेको घटनाबारे धेरै सोचे होलान्‌। तिनी येसु नै मसीह हुनुहुन्छ र ख्रिष्टियनहरूको धर्म नै साँचो धर्म हो भनेर पक्का भए। तिनलाई स्तिफनसको हत्या गरेकोमा असाध्यै पछुतो लागेको हुनुपर्छ। (प्रेषि. २२:२०) तीन दिनपछि हननिया नाम गरेका चेला सावलकहाँ आए र तिनको दृष्टि फर्काइदिए। अनि तिनलाई अलमल नगरी बप्तिस्मा गर्न प्रोत्साहन दिए। (प्रेषित २२:१२-१६ पढ्‌नुहोस्‌।) सावलले ढिलासुस्ती नगरी बप्तिस्मा गरे र ख्रिष्टियन बने।—प्रेषि. ९:१७, १८.

सावलले बप्तिस्मा गर्न लागेका छन्‌। केही मानिस खुसी भएर नजिकबाट हेर्दै छन्‌।

बप्तिस्मा गर्न प्रोत्साहन पाउँदा सावलले ढिलासुस्ती नगरी बप्तिस्मा गरे। के तपाईँ पनि त्यसै गर्नुहुनेछ? (अनुच्छेद ८ हेर्नुहोस्‌)


९. तपाईँले सावलबाट के सिक्नुभयो?

९ हामी सावलबाट धेरै कुरा सिक्न सक्छौँ। तिनलाई घमन्ड वा मानिसको डरले बप्तिस्मा गर्नदेखि रोक्न सक्थ्यो। तर येसुको चेला बन्‍न तिनी नम्र हुँदै आफ्नो जीवनमा परिवर्तनहरू गर्न तयार भए। (प्रेषि. २६:१४, १९) तिनलाई ख्रिष्टियन बन्यो भने खेदो भोग्नुपर्छ भनेर थाह थियो। तैपनि तिनी बप्तिस्मा गर्नदेखि पछि हटेनन्‌। (प्रेषि. ९:१५, १६; २०:२२, २३) बप्तिस्मापछि तिनले विभिन्‍न परीक्षाहरू भोग्नुपऱ्‍यो। तर ती परीक्षाहरू सहन तिनी यहोवामाथि भर परिरहे। (२ कोरि. ४:७-१०) तपाईँले पनि बप्तिस्मा गरेर यहोवाको साक्षी बन्‍नुभयो भने विभिन्‍न परीक्षाहरू भोग्नुपर्ने हुन सक्छ। तर चिन्ता नगर्नुहोस्‌! यहोवा र येसुले तपाईँलाई सधैँ साथ दिइरहनुहुनेछ।—फिलि. ४:१३.

१०. आनाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१० पूर्वी युरोपकी आनाको अनुभव विचार गरौँ। सुरुमा तिनकी आमाले बप्तिस्मा गरिन्‌। त्यसपछि तिनले पनि आफ्नो बुबाको अनुमति लिएर नौ वर्षको छँदा बाइबल अध्ययन गर्न थालिन्‌। तिनी ठूलो परिवारमा बस्थिन्‌ र तिनले अध्ययन थालेको परिवारका अरू सदस्यहरूलाई फिटिक्कै मन परेन। तिनीहरू आफ्नो बाउबाजेको धर्म छोड्‌नु भनेको त परिवारको इज्जत फाल्नु हो भन्थे। आनाले बप्तिस्मा गर्नुअघि पनि बुबासित अनुमति मागिन्‌। बुबाले तिनलाई सोधे: “यो तिम्रो आफ्नै निर्णय हो कि कसैले दबाब दियो?” आनाले यसो भनिन्‌: “म यहोवालाई प्रेम गर्छु। त्यसैले बप्तिस्मा गर्न चाहन्छु।” त्यसपछि बुबाले अनुमति दिए र तिनले १२ वर्षको उमेरमा बप्तिस्मा गरिन्‌। बप्तिस्मा गरेपछि आनाले गिल्ला र दुर्व्यवहार सहनुपऱ्‍यो। तिनको हजुरबुबाले यतिसम्म भने: “तिमी यहोवाको साक्षी बन्‍नुभन्दा त तिमीले चुरोट-सुरोट खाएको अनि छाडा जीवन बिताएको भए बरु हामी केही भन्‍ने थिएनौँ।” आनाले यी सब कसरी सहिन्‌? तिनी भन्छिन्‌: “यहोवाले नै मलाई बल दिनुभयो। मेरो बुबा र आमाले पनि सधैँ मलाई साथ दिनुभयो।” यहोवाले कस्तो-कस्तो अवस्थामा मदत दिनुभयो भनेर आना लेखेरै राख्छिन्‌। यहोवाले मदत गर्नुभएको कुरा नबिर्सन तिनी बेलाबेलामा त्यो हेर्छिन्‌। तपाईँलाई पनि विरोध आउला भनेर डर लाग्छ भने यहोवाले सधैँ मदत गर्नुहुनेछ भनेर नबिर्सनुहोस्‌।—हिब्रू १३:६.

कर्निलियसले बप्तिस्मा गरे

११. कस्ता कुराहरूले कर्निलियसलाई बप्तिस्मा गर्नदेखि रोक्न सक्थ्यो?

११ हामी कर्निलियसको उदाहरणबाट पनि महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। तिनी “सैन्यदलका अफिसर” थिए र तिनको गणमा १०० जना सैनिक थिए। (प्रेषि. १०:१, फुटनोट) त्यसैले तिनले समाज र सेनामा ठूलो नाम कमाएको हुनुपर्छ। तिनी “धेरै दानपुण्य गर्थे।” (प्रेषि. १०:२) तिनलाई सुसमाचार सुनाउन यहोवाले प्रेषित पत्रुसलाई पठाउनुभयो। के कर्निलियसको ओहदा र तिनले पाएको मानसम्मानले तिनलाई बप्तिस्मा गर्नदेखि रोक्यो?

१२. कर्निलियसलाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो?

१२ कर्निलियसलाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? “तिनी र तिनको घरमा हुनेजति सबैले परमेश्‍वरको भय मान्थे।” तिनी परमेश्‍वरलाई निरन्तर उत्कट बिन्ती चढाउँथे। (प्रेषि. १०:२) पत्रुसले कर्निलियसलाई सुसमाचार सुनाउँदा तिनी र तिनको परिवारले येसुमा विश्‍वास गरे र ढिलासुस्ती नगरी बप्तिस्मा गरे। (प्रेषि. १०:४७, ४८) कर्निलियस आफ्नो परिवारसितै मिलेर यहोवाको उपासना गर्न जस्तोसुकै छाँटकाँट गर्न पनि तयार थिए।—यहो. २४:१५; प्रेषि. १०:२४, ३३.

१३. कर्निलियसको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१३ सावलजस्तै कर्निलियस पनि आफ्नो ओहदाको कारण बप्तिस्मा गर्नदेखि पछि हटेनन्‌। तपाईँले पनि बप्तिस्माको लागि योग्य हुन आफ्नो जीवनमा धेरै परिवर्तन गर्नुपर्ने छ होला। त्यस्तो परिवर्तन गर्न यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। उहाँको साथ पाएर तपाईँ बाइबलका सिद्धान्तहरूअनुसार जीवन बिताउने आफ्नो सङ्‌कल्पमा अडिग रहन सक्नुहुनेछ।

१४. चुयोशीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१४ जापानका चुयोशीको अनुभव विचार गरौँ। तिनले बप्तिस्माको लागि योग्य हुन आफ्नो जागिरमा केही छाँटकाँट गर्नुपऱ्‍यो। तिनी फूल सजावटसम्बन्धी इकेनोबो कलेजमा काम गर्थे। तिनी त्यस कलेजको प्रिन्सिपलका सहायक थिए। प्रिन्सिपल अन्त्येष्टिमा फूलहरू सजाउन जान्थे अनि त्यतिबेला उनले बौद्ध धर्मअनुसार विभिन्‍न रीतिथिति पनि गर्थे। उनी जान नसक्दा चुयोशी जाने गर्थे। तर तिनले बाइबल अध्ययन गर्न थालेपछि मरेकाहरूको अवस्थाबारे सत्य कुरा थाह पाए। बप्तिस्माको लागि योग्य हुन त्यस्ता रीतिथितिहरू छोड्‌नुपर्छ भनेर तिनले बुझे। (२ कोरि. ६:१५, १६) त्यसपछि तिनी आफ्नो निर्णयबारे प्रिन्सिपलसित कुरा गर्न गए। नतिजा कस्तो भयो? तिनले आफ्नो जागिर छोड्‌नुपरेन र त्यस्ता रीतिथितिहरूमा पनि भाग लिनु नपर्ने भयो। तिनले बाइबल अध्ययन गर्न थालेको एक वर्षजति पछि बप्तिस्मा गरे।a यहोवाको इच्छाअनुसार चल्न तपाईँले पनि आफ्नो जागिरमा छाँटकाँट गर्नुपर्छ भने चिन्ता नगर्नुहोस्‌! यहोवाले तपाईँ र तपाईँको परिवारको आवश्‍यकता पूरा गरिदिनुहुनेछ।—भज. १२७:२; मत्ति ६:३३.

कोरिन्थीहरूले बप्तिस्मा गरे

१५. कोरिन्थीहरूलाई बप्तिस्मा गर्नदेखि केले रोक्न सक्थ्यो?

१५ पुरातन कोरिन्थ सहरका धेरैजसो मानिसले परमेश्‍वरलाई मन नपर्ने कामहरू गर्थे। तिनीहरू भौतिकवादी थिए र अनैतिक जीवनशैली बिताउँथे। यस्तो सहरमा बस्ने मानिसहरूको लागि सुसमाचार स्विकार्न पक्कै सजिलो हुने थिएन। तैपनि येसुबारे सुसमाचार सुनाउँदा “कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले अनि बप्तिस्मा गरे।” (प्रेषि. १८:७-११) पछि येसु ख्रिष्ट पावलकहाँ दर्शनमा देखा पर्नुभयो र यसो भन्‍नुभयो: “यस सहरमा यस्ता मानिस धेरै छन्‌, जसले ममाथि विश्‍वास गर्न बाँकी नै छ।” त्यसैले पावल मानिसहरूलाई परमेश्‍वरको वचन सिकाउँदै डेढ वर्ष त्यहीँ बसे।

१६. कोरिन्थीहरूलाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? (२ कोरिन्थी १०:४, ५)

१६ कोरिन्थीहरूलाई बप्तिस्मा गर्न केले मदत गऱ्‍यो? (२ कोरिन्थी १०:४, ५ पढ्‌नुहोस्‌।) तिनीहरूलाई परमेश्‍वरको वचन र पवित्र शक्‍तिले आफ्नो जीवनमा आमूल परिवर्तन गर्न मदत गऱ्‍यो। (हिब्रू ४:१२) तिनीहरूले धेरै रक्सी पिउने, चोर्ने र समलिङ्‌गी यौनसम्बन्ध राख्ने जस्ता नराम्रो आनीबानी त्याग्न सके।—१ कोरि. ६:९-११.b

१७. कोरिन्थीहरूको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१७ हुनत केही कोरिन्थीहरूमा नराम्रा आनीबानीले जरा गाडेर बसेको थियो। तर तिनीहरूले ‘म त ख्रिष्टियन बन्‍न सक्दिनँ होला’ भन्‍ने सोचाइ राखेनन्‌। बरु तिनीहरूले साँघुरो ढोकाबाट भित्र पसेर अनन्त जीवनतर्फ लैजाने बाटोमा हिँड्‌न निकै प्रयास गरे। (मत्ति ७:१३, १४) के तपाईँ पनि बप्तिस्माको लागि योग्य हुन कुनै नराम्रो आनीबानी हटाउन सङ्‌घर्ष गर्दै हुनुहुन्छ? त्यसो हो भने हार नमान्‍नुहोस्‌! खराब कुरा गर्ने आफ्नो कुइच्छालाई तिरस्कार गर्न यहोवासित पवित्र शक्‍ति माग्नुहोस्‌।

१८. मोनिकाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१८ जर्जियाकी मोनिकाको अनुभव विचार गरौँ। तिनी फोहोर बोली बोल्थिन्‌। तिनले हेर्ने अनि सुन्‍ने कुराहरू पनि राम्रो थिएन। बप्तिस्माको लागि योग्य हुन तिनले त्यस्तो नराम्रो आनीबानी त्याग्नुपर्थ्यो। तिनले यसो भनिन्‌: “प्रार्थनाले मलाई निकै मदत गऱ्‍यो। म नराम्रो आनीबानी त्याग्न चाहन्छु भन्‍ने कुरा यहोवालाई थाह थियो। त्यसैले उहाँले मलाई सधैँ मदत गर्नुभयो र सही बाटोमा डोऱ्‍याउनुभयो।” तिनले नराम्रो आनीबानी त्यागिन्‌ र १६ वर्षको उमेरमा बप्तिस्मा गरिन्‌। के तपाईँले पनि यहोवालाई खुसी बनाउन केही नराम्रो आनीबानी त्याग्नुपर्ने छ? छ भने त्यस्ता आनीबानी त्याग्न यहोवासित मदत मागिरहनुहोस्‌। उहाँले तपाईँलाई कन्जुस्याइँ नगरी पवित्र शक्‍ति दिनुहुनेछ।—युह. ३:३४.

तपाईँको विश्‍वासले डाँडाहरू सार्न सक्छ

१९. पहाडरूपी अवरोधहरू हटाउन तपाईँलाई केले मदत गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१९ बप्तिस्माको लागि योग्य हुन तपाईँले आफ्नो जीवनमा छाँटकाँट गर्नुपर्ने कुराहरू छन्‌ होला। तर यो कुरामा ढुक्क हुनुहोस्‌, यहोवा तपाईँलाई माया गर्नुहुन्छ र तपाईँले बप्तिस्मा गरेर उहाँको परिवारको भाग भएको चाहनुहुन्छ। येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभएको थियो: “यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” (मत्ति १७:२०) ती चेलाहरू केही वर्षदेखि येसुसितै थिए। त्यसैले तिनीहरूको विश्‍वास बढ्‌दै थियो र तिनीहरूले त्यसलाई बलियो बनाउँदै लैजानुपर्ने थियो। त्यसो गरेमा यहोवाले तिनीहरूलाई पहाडरूपी अवरोधसमेत हटाउन मदत गर्नुहुनेछ भनेर येसुले तिनीहरूलाई ढुक्क बनाउनुभयो। यहोवाले तपाईँलाई पनि त्यसै गर्न मदत गर्नुहुनेछ।

अधिवेशनमा भर्खरै बप्तिस्मा गरेकाहरूलाई स्वागत गर्न भाइबहिनीहरू खुसी भएर ताली बजाउँदै छन्‌।

यहोवा तपाईँलाई माया गर्नुहुन्छ र उहाँको परिवारको भाग भएको चाहनुहुन्छ! (अनुच्छेद १९ हेर्नुहोस्‌)c


२०. यस लेखबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

२० तपाईँलाई बप्तिस्मा गर्नदेखि कुनै कुराले रोकिरहेको छ भने त्यसलाई हटाउन तुरुन्तै कदम चालिहाल्नुहोस्‌। प्रथम शताब्दीका र अहिलेका ख्रिष्टियनहरूको अनुभव पढ्‌नुहोस्‌। ती अनुभवहरूबाट तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न निकै हौसला पाउनुहुनेछ। बप्तिस्मा गरेकोमा तपाईँ कहिल्यै पछुताउनुपर्नेछैन।

प्रथम शताब्दीका यी ख्रिष्टियनहरूबाट तपाईँले के सिक्नुभयो?

  • सामरियालीहरू

  • टार्ससको सावल र कर्निलियस

  •   कोरिन्थीहरू

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a भाइ चुयोशी फुजीको अनुभव सेप्टेम्बर ८, २००५ को ब्यूँझनुहोस्‌!-को पृष्ठ २०-२३ मा पढ्‌न सक्नुहुन्छ।

b jw.org मा ‘बप्तिस्मा गर्न देखि तपाईँलाई केले रोकिरहेको छ?’ भिडियो हेर्नुहोस्‌।

c चित्रको व्याख्या: केही भाइबहिनी बप्तिस्मा गरेकाहरूलाई न्यानो स्वागत गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने