अध्ययन लेख १४
गीत ८ यहोवा हाम्रो शरण
“कसको उपासना गर्न चाहन्छौ, आजै रोज”
“म र मेरो परिवारले भने यहोवा परमेश्वरकै उपासना गर्नेछौँ।”—यहो. २४:१५.
सिक्न सकिने कुरा
यस लेखले हामीलाई यहोवाको सेवा गर्ने छनौट गर्नुका कारणहरू के-के हुन् भनेर सम्झन मदत गर्नेछ।
१. साँच्चै आनन्दित हुन हामीले के गर्नुपर्छ र किन? (यसैया ४८:१७, १८)
यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँ हामीले अहिले अनि भविष्यमा पनि जीवनको आनन्द उठाएको चाहनुहुन्छ। (उप. ३:१२, १३) यहोवाले हामीलाई विभिन्न कुराहरू गर्ने क्षमता दिनुभएको छ। तर उहाँले हामीलाई आफ्नो पाइलालाई आफैले डोऱ्याउने अनि सही र गलतको स्तर तोक्ने क्षमता भने दिनुभएको छैन। (उप. ८:९; यर्मि. १०:२३) बरु साँच्चै आनन्दित हुन हामीले उहाँको सेवा गर्नुपर्छ र उहाँका स्तरहरूअनुसार जीवन बिताउनुपर्छ।—यसैया ४८:१७, १८ पढ्नुहोस्।
२. सैतानले कस्तो दाबी गऱ्यो र त्यो दाबीलाई झूटो साबित गर्न यहोवाले के गर्नुभयो?
२ सैतानले मानिस खुसी हुन यहोवाको डोऱ्याइ चाहिँदैन बरु मानिसले आफ्नो पाइलालाई आफैले डोऱ्याउन सक्छ भनेर दाबी गरेको छ। (उत्प. ३:४, ५) सैतानको त्यो दाबीलाई झूटो साबित गर्न यहोवाले केही समयको लागि मानिसलाई नै शासन गर्न दिनुभएको छ। मानिसले शासन गर्दाको नतिजा कस्तो भएको छ, त्यो त हामीले देखेकै छौँ। अर्कोतर्फ यहोवाको सेवा गर्ने छनौट गरेकोले आनन्दित हुन सकेका थुप्रै पुरुष तथा स्त्रीहरूको उदाहरण बाइबलमा पाइन्छ। तीमध्ये येसु उत्कृष्ट उदाहरण हुनुहुन्छ। यस लेखमा हामी यी कुराहरू विचार गर्नेछौँ: (१) येसुले किन यहोवाको सेवा गर्ने छनौट गर्नुभयो? (२) यहोवा किन हाम्रो उपासनाको योग्य हुनुहुन्छ? (३) हामीले यहोवाको सेवा गर्ने छनौट गर्नुका केही कारणहरू के-के हुन्?
येसुले किन यहोवाको सेवा गर्ने छनौट गर्नुभयो?
३. सैतानले येसुलाई के भन्यो र येसुले कस्तो छनौट गर्नुभयो?
३ पृथ्वीमा हुनुहुँदा येसुले कसको सेवा गर्ने भनेर छनौट गर्नुपरेको थियो। येसुले बप्तिस्मा गर्नुभएको केही समयपछि सैतानले संसारका सबै राज्य उहाँलाई देखायो र यसो भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” त्यसपछि येसुले यसो भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’” (मत्ति ४:८-१०) येसुले किन त्यस्तो छनौट गर्नुभयो? केही कारणहरू विचार गरौँ।
४-५. येसुले यहोवाको सेवा गर्ने छनौट गर्नुका केही कारण के-के हुन्?
४ येसुले यहोवाको सेवा गर्ने छनौट गर्नुको मुख्य कारण यहोवाप्रतिको गहिरो प्रेम हो। (युह. १४:३१) साथै उहाँले यहोवाको सेवा गर्नुभयो किनकि आफूले गर्नुपर्ने कुरा त्यही हो भनेर येसुलाई थाह थियो। (युह. ८:२८, २९; प्रका. ४:११) यहोवा जीवनको मूल हुनुहुन्छ र उहाँ भरोसायोग्य र उदार हुनुहुन्छ भनेर येसुले बुझ्नुभएको थियो। (भज. ३३:४; ३६:९; याकु. १:१७) यहोवाले सधैँ येसुसित सत्य कुरा बोल्नुभयो र कुनै कन्जुस्याइँ नगरी येसुलाई सबै कुरा दिनुभयो। (युह. १:१४) तर सैतान भने यहोवाभन्दा बिलकुलै फरक छ। त्यसले गर्दा मानिसहरू पापी भए र मर्नुपऱ्यो। त्यो झूटा हो अनि त्यो लोभी र स्वार्थी छ। (युह. ८:४४) यी कुराहरू बुझ्नुभएकोले येसुले सैतानले जस्तो यहोवाको विद्रोह गर्ने कुरा सोच्नु समेत भएन।—फिलि. २:५-८.
५ येसुले यहोवाको सेवा गर्ने छनौट गर्नुको अर्को कारण पनि थियो। त्यो हो, आफूले वफादार भई यहोवाको सेवा गरेमा नतिजा कस्तो हुनेछ भनेर येसुलाई थाह थियो। (हिब्रू १२:२) येसु वफादार रहेमा यहोवाको नाम पवित्र हुने थियो अनि पाप र मृत्यु नामेट हुने बाटो खुल्ने थियो।
यहोवा किन हाम्रो उपासनाको योग्य हुनुहुन्छ?
६-७. (क) आज थुप्रै मानिसहरू किन यहोवाको सेवा गर्दैनन्? (ख) यहोवा किन हाम्रो उपासनाको योग्य हुनुहुन्छ?
६ आज थुप्रैले यहोवा परमेश्वरको सेवा गर्दैनन्। किन? किनभने तिनीहरूलाई यहोवासित के-कस्ता राम्रा गुणहरू छन् भनेर थाह छैन। साथै उहाँले तिनीहरूको लागि के-कस्ता कुराहरू गरिदिनुभएको छ भनेर पनि थाह छैन। प्रेषित पावलले साक्षी दिएका एथेन्सका मानिसहरू पनि त्यस्तै थिए।—प्रेषि. १७:१९, २०, ३०, ३४.
७ पावलले एथेन्सका मानिसहरूलाई साँचो परमेश्वरले नै “सबै मानिसलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ” भनेर बताए। साथै तिनले यसो भने: “उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।” यहोवा सृष्टिकर्ता हुनुहुन्छ र “उहाँले एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो।” (प्रेषि. १७:२५, २६, २८) त्यसैले उहाँ हाम्रो उपासनाको योग्य हुनुहुन्छ।
८. यहोवा हामीलाई के गर्नुहुन्न?
८ यहोवा सृष्टिकर्ता अनि ब्रह्माण्डको मालिक हुनुहुन्छ। तैपनि उहाँ मानिसहरूलाई जबरजस्ती उहाँको सेवा गर्न लगाउनुहुन्न। बरु उहाँको सेवा गर्ने कि नगर्ने भनेर हामी आफैले छनौट गरेको चाहनुहुन्छ। त्यसैले यहोवाले उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ र हामी प्रत्येकलाई असाध्यै माया गर्नुहुन्छ भन्ने कुराको प्रशस्त प्रमाण दिनुभएको छ। उहाँ धेरैभन्दा धेरै मानिसहरूले आफूलाई चिनेको र उहाँको मित्र भइरहेको चाहनुहुन्छ। (१ तिमो. २:३, ४) त्यसैले उहाँले मानिसजातिको लागि कस्तो उद्देश्य राख्नुभएको छ र त्यो कसरी पूरा गर्नुहुनेछ भनेर अरूलाई बताउन हामीलाई तालिम दिनुभएको छ। (मत्ति १०:११-१३; २८:१९, २०) साथै हामीले एकसाथ मिलेर उहाँको उपासना गर्न सकौँ भनेर मण्डलीको प्रबन्ध मिलाउनुभएको छ। अनि हाम्रो हेरचाह गर्नको लागि मायालु एल्डरहरू पनि दिनुभएको छ।—प्रेषि. २०:२८.
९. यहोवा सबै मानिसलाई प्रेम गर्नुहुन्छ भनेर किन भन्न सक्छौँ?
९ थुप्रै मानिसहरूले यहोवा हुनुहुन्छ भन्ने कुरामा विश्वास नगर्ने छनौट गरेका छन्। तैपनि उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ। यी कुराहरू विचार गर्नुहोस्: शताब्दियौँदेखि लाखौँ मानिसहरूले आफ्नो लागि सही र गलतको स्तर आफैले तोकेका छन् र त्यसअनुसार जीवन बिताउने छनौट गरेका छन्। तैपनि यहोवाले तिनीहरूलाई जीवन धान्न अनि जीवनको आनन्द उठाउन चाहिने सबै कुरा उदार भई दिनुभएको छ। (मत्ति ५:४४, ४५; प्रेषि. १४:१६, १७) तिनीहरूले परिवार अनि साथीभाइहरूसित मायालु सम्बन्ध गाँस्न सक्छन्, छोराछोरी जन्माउन सक्छन् अनि आफ्नो कामबाट सन्तुष्टि पाउन सक्छन्। (भज. १२७:३; उप. २:२४) यसले यहोवा सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। (प्रस्थ. ३४:६) अब आउनुहोस्, हामीले यहोवाको सेवा गर्ने छनौट गर्नुका केही कारणहरू विचार गरौँ अनि त्यस्तो छनौट गर्नेहरूलाई यहोवा कस्तो आशिष् दिनुहुन्छ, बुझौँ।
हामीले किन यहोवाको सेवा गर्ने छनौट गऱ्यौँ?
१०. (क) हामीले यहोवाको सेवा गर्नुको मुख्य कारण के हो? (मत्ति २२:३७) (ख) यहोवाले धीरज देखाउनुभएकोले कुन कुरा सम्भव भएको छ? (भजन १०३:१३, १४)
१० येसुले जस्तै हामीले पनि यहोवाको सेवा गर्ने छनौट गर्नुको मुख्य कारण यहोवाप्रतिको गहिरो प्रेम हो। (मत्ति २२:३७ पढ्नुहोस्।) यहोवाका गुणहरूबारे सिक्दा हामी उहाँसित नजिक हुन्छौँ। उदाहरणको लागि, यहोवाले हामीलाई देखाउनुभएको धीरजबारे विचार गरौँ। उहाँले अनाज्ञाकारी इस्राएलीहरूलाई यस्तो आग्रह गर्नुभयो: “गलत मार्ग त्याग।” (यर्मि. १८:११) यहोवालाई हामी धुलोको कण मात्र हौँ अर्थात् त्रुटिपूर्ण छौँ भनेर राम्ररी थाह छ। (भजन १०३:१३, १४ पढ्नुहोस्।) त्यसैले उहाँ हामीलाई क्षमा दिनुहुन्छ। यहोवाले हामीप्रति धीरजी हुँदै कति पटक क्षमा दिइसक्नुभयो भनेर विचार गर्दा के हामी सधैँभरि उहाँको सेवा गर्न उत्प्रेरित हुँदैनौँ र?
११. हामीले यहोवाको सेवा गर्ने छनौट गर्नुका अरू कारण के-के हुन्?
११ हामी यहोवाको सेवा गर्छौँ किनभने हामीले गर्नुपर्ने कुरा त्यही नै हो। (मत्ति ४:१०) यहोवाप्रति वफादार रह्यौँ भने नतिजा कस्तो हुन्छ भनेर पनि हामीले बुझेका छौँ। वफादार भयौँ भने यहोवाको नाम पवित्र पार्न सक्नेछौँ। सैतानलाई झूटो साबित गर्न सक्नेछौँ र यहोवाको हृदयलाई खुसी बनाउन सक्नेछौँ। अहिले यहोवाको सेवा गर्ने छनौट गऱ्यौँ भने हामीले अनन्त जीवनको आशा पाउनेछौँ र सधैँभरि उहाँको सेवा गरिरहन सक्नेछौँ।—युह. १७:३.
१२-१३. जेन अनि पामको अनुभवबाट हामी के सिक्न सक्छौँ?
१२ साना केटाकेटीहरूले पनि यहोवाप्रतिको गहिरो प्रेम विकास गर्न सक्छन् र हुर्कँदै जाँदा त्यो प्रेम अझ प्रगाढ हुँदै जान्छ। दुई जना दिदीबहिनी जेन र पामकोa अनुभव विचार गरौँ। बाइबल अध्ययन गर्न थाल्दा जेन ११ वर्षकी र पाम १० वर्षकी थिइन्। तिनीहरूका आमाबुबाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न चासो नदेखाए तापनि छोरीहरूलाई भने अध्ययन गर्न अनुमति दिए। तर सप्ताहन्तमा परिवारसितै चर्चमा चाहिँ जानुपर्छ भने। साक्षीहरूसित बाइबल अध्ययन गर्दा धेरै मदत मिलेको कुरा जेन यसरी बताउँछिन्, “साथीहरूले मलाई ड्रग्स लिने अनि अनैतिक जीवन बिताउने दबाब दिन्थे। तर मैले त्यस्ता दबाबहरूको प्रतिरोध गर्न सकेँ।”
१३ केही वर्षपछि तिनीहरू दुवै जना प्रकाशक भए। पछि तिनीहरूले वृद्ध भइसकेका आफ्ना आमाबुबाको हेरविचार गर्दै अग्रगामी सेवा पनि गर्न थाले। विगतलाई फर्केर हेर्दा जेन यसो भन्छिन्, “यहोवा आफ्ना साथीहरूको सधैँ ख्याल राख्नुहुन्छ र दोस्रो तिमोथि २:१९ ले भनेझैँ उहाँ ‘आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।’ यो कुरा म आफैले अनुभव गर्न सकेँ।” यहोवा उहाँलाई प्रेम गर्नेहरूलाई र उहाँको सेवा गर्ने छनौट गर्नेहरूलाई सधैँ ख्याल राख्नुहुन्छ।
१४. हाम्रो बोली र व्यवहारले यहोवाको नाममा लागेको कलङ्क मेटाउन कसरी मदत गर्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
१४ हामी यहोवाको नाममा लागेको कलङ्क मेटाउन मानिसहरूलाई उहाँबारे सत्य कुरा बताउन चाहन्छौँ। एउटा अवस्था विचार गर्नुहोस्। तपाईँको एक जना मिल्ने साथी छ र ऊ दयालु, उदार अनि क्षमाशील छ। तर एकदिन कसैले तपाईँको साथी निर्दयी अनि बेइमान छ भनेर आरोप लगाउँछ। तपाईँ के गर्नुहुन्छ? तपाईँ पक्कै पनि आफ्नो साथीको पक्षमा बोल्नुहुन्छ। त्यसरी नै सैतान र त्यसका समर्थकहरूले यहोवाबारे झूटो कुरा फैलाएर उहाँको बदनाम गर्न खोजेका छन्। त्यसैले हामी अरूलाई यहोवाबारे सत्य कुरा बताएर उहाँको पक्षमा बोल्छौँ। (भज. ३४:१; यसै. ४३:१०) हामी आफ्नो बोली अनि व्यवहारद्वारा तनमनले यहोवाको सेवा गर्न चाहेको देखाउँछौँ।
के तपाईँ यहोवाको पक्षमा खडा हुनुहुनेछ? (अनुच्छेद १४ हेर्नुहोस्)b
१५. पावलले आफ्नो जीवनमा छाँटकाँट गरेकोले नतिजा कस्तो भयो? (फिलिप्पी ३:७, ८)
१५ यहोवालाई स्वीकार्य हुने तरिकामा जीवन बिताउन वा उहाँको सेवामा अझ धेरै गर्न हामी आफ्नो जीवनमा छाँटकाँट गर्न तयार हुन्छौँ। उदाहरणको लागि, प्रेषित पावलले आफ्नो समाजमा निकै नाम कमाएका थिए। तर तिनले त्यो कुरा त्यागेर येसुको चेला बन्ने अनि यहोवाको सेवा गर्ने छनौट गरे। (गला. १:१४) परिणामस्वरूप तिनले यहोवाको सेवामा थुप्रै राम्रा अनुभवहरू बटुल्न सके र स्वर्गमा येसु ख्रिष्टसँगै शासन गर्ने सुअवसर पाए। यहोवाको सेवा गर्ने निर्णय गरेकोमा तिनी कहिल्यै पछुताएनन्। हामी पनि कहिल्यै पछुताउनुपर्नेछैन।—फिलिप्पी ३:७, ८ पढ्नुहोस्।
१६. जुलियाको अनुभवबाट हामी के सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
१६ हामीले यहोवाको सेवालाई पहिलो स्थान दियौँ भने अहिले अनि भविष्यमा पनि थुप्रै आशिष् पाउनेछौँ। जुलियाको अनुभव विचार गरौँ। तिनी सानैदेखि चर्चमा गीत गाउने गर्थिन्। एक जना ओपेरा गायकले तिनले राम्रोसित गीत गाएको देखेर तिनलाई तालिम दिन थाले। चाँडै नै जुलिया गायन क्षेत्रमा लोकप्रिय भइन् र नाम चलेका हलहरूमा गीत गाउन थालिन्। तिनी म्युजिक सिक्न एउटा प्रख्यात म्युजिक स्कुलमा पनि जाने गर्थिन्। त्यहाँ तिनको एक जना साथीले तिनीसित परमेश्वरबारे कुरा गरे र उहाँको नाम यहोवा हो भनेर बताए। केही समयपछि नै जुलियाले हप्ताको दुई चोटि बाइबल अध्ययन गर्न थालिन् अनि तिनले म्युजिक करिअरलाई होइन बरु यहोवाको सेवालाई पहिलो स्थान दिने निर्णय गरिन्। तर त्यो निर्णय गर्न सजिलो भने थिएन। तिनी यसो भन्छिन्: “थुप्रैले ‘तिमीले आफ्नो ट्यालेन्ट खेर फाल्दै छौ’ भने। तर म आफ्नो पूरै जीवन यहोवाको सेवामा लगाउन चाहन्थेँ।” आफूले ३० वर्षभन्दा अघि गरेको छनौटबारे अहिले तिनी कस्तो महसुस गर्छिन्? तिनी भन्छिन्: “यहोवाको सेवा गर्ने छनौट गरेकोमा म निकै खुसी छु। भविष्यमा उहाँले मेरो सबै इच्छा पूरा गरिदिनुहुनेछ भन्ने कुरामा म ढुक्क छु।”—भज. १४५:१६.
यहोवाको सेवालाई पहिलो स्थान दियौँ भने हामीले थुप्रै आशिष् पाउनेछौँ (अनुच्छेद १६ हेर्नुहोस्)c
यहोवाको सेवा गरिरहनुहोस्
१७. पावलका शब्दहरूले यहोवाको सेवा गर्ने छनौट गरेकाहरूको लागि अनि नगरेकाहरूको लागि कस्तो अर्थ राख्छ?
१७ हामी यस युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौँ। प्रेषित पावलले यसो भने: “किनकि ‘थोरै समय मात्र’ बाँकी छ अनि ‘जो आउँदै हुनुहुन्छ, उहाँ ढिलो नगरी आउनुहुनेछ।’” (हिब्रू १०:३७) यसले कस्तो अर्थ राख्छ? यदि हामीले यहोवाको सेवा गर्ने छनौट गरिसकेका छैनौँ भने त्यसो गर्ने समय अहिल्यै हो किनकि “समय थोरै मात्र बाँकी छ।” (१ कोरि. ७:२९) अर्कोतर्फ यहोवाको सेवा गर्ने छनौट गरिसकेका छौँ भने उहाँको सेवा गर्न नछोड्नुहोस्। हामीले अहिले परीक्षाहरू त भोग्नुपर्नेछ तर त्यो “थोरै समय”-को लागि मात्र हो।
१८. येसु र यहोवा हामीले के गरेको चाहनुहुन्छ?
१८ येसुले आफ्ना चेलाहरूलाई ‘मेरो पछि लाग मात्र’ भन्नुभएन बरु ‘निरन्तर मेरो पछि लाग’ भन्नुभयो। (मत्ति १६:२४) त्यसैले हामीले यहोवाको सेवा गरेको वर्षौँ भइसकेको छ भने पनि हार नमानी यहोवाको सेवा गरिरहौँ। यहोवाको सेवा गर्ने आफ्नो निर्णयअनुसार जीवन बिताउन पक्कै सजिलो हुँदैन। तर त्यसो गर्ने प्रयास गरिरह्यौँ भने हामी अहिले पनि आनन्दित हुन सक्नेछौँ र थुप्रै आशिष् पाउनेछौँ।—भज. ३५:२७.
१९. जिनको अनुभवबाट हामी के सिक्न सक्छौँ?
१९ कसै-कसैलाई यहोवाको सेवा गर्दा धेरै त्यागहरू गर्नुपर्छ जस्तो लाग्छ। यदि तपाईँ जवान हुनुहुन्छ र यहोवाको सेवा गर्दै हुनुहुन्छ भने के तपाईँलाई आफूले कुनै कुरा गुमाइरहेको छु जस्तो लाग्छ? जिन नाम गरेका एक जना जवान भाइ यसो भन्छन्: “यहोवाको साक्षी भएकोले मलाई अरू साथीहरूले जस्तो रमाइलो गर्न नपाएको महसुस हुन्थ्यो। मेरा साथीहरू पार्टीमा जान्थे, डेटिङ गर्थे, हिंसाले भरिएको भिडियो गेमहरू खेल्थे तर म भने सभा र प्रचारमा जानुपर्थ्यो।” यस्तो सोचाइले जिनलाई कस्तो असर गऱ्यो? तिनी भन्छन्: “पछि मैले ती साथीहरूले जस्तै जीवन बिताउन थालेँ। केही समय त रमाइलै भयो तर म साँच्चै खुसी हुन भने सकिरहेको थिइनँ। मैले बाइबलको शिक्षाअनुसार चल्दा कस्तो फाइदा हुन्छ भनेर सोच्न थालेँ अनि तनमनले यहोवाको सेवा गर्ने निर्णय गरेँ। त्यतिबेलादेखि यहोवाले मेरो हरेक प्रार्थनाको जवाफ दिइरहनुभएको जस्तो महसुस गर्छु।”
२०. तपाईँले कस्तो सङ्कल्प गर्नुभएको छ?
२० एक जना भजनरचयिताले यस्तो गीत गाए: “आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।” (भज. ६५:४) त्यसैले हामी पनि यहोसुले जस्तै यस्तो सङ्कल्प गरौँ: “म र मेरो परिवारले भने यहोवा परमेश्वरकै उपासना गर्नेछौँ।”—यहो. २४:१५.
गीत २८ यहोवाको मित्र बनौँ
a केही नाम परिवर्तन गरिएका छन्।
b चित्रको व्याख्या: एउटी महिलाले अधिवेशनस्थलबाहिर एउटा भीडले यहोवाका साक्षीहरूको विरोध गरिरहेको देख्छिन्। पछि तिनी ट्रली भएको ठाउँमा जान्छिन् र एउटी बहिनीबाट बाइबलको सत्य सुन्छिन्।
c चित्रको व्याख्या: जुलियाले यहोवाको सेवालाई जीवनमा पहिलो स्थानमा राख्ने छनौट गरेको पुनःअभिनय।