प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जुलाई pp. २-७
  • हामीले किन सल्लाह लिनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन सल्लाह लिनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसित कस्ता गुणहरू हुनुपर्छ?
  • मलाई कसले राम्रो सल्लाह दिन सक्छ?
  • सल्लाह लिँदा मेरो मनसाय कस्तो हुनुपर्छ?
  • मैले किन आफ्नो निर्णय आफै गर्नुपर्छ?
  • सल्लाह खोजिरहनुहोस्‌
  • हामीले कसरी सल्लाह दिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जुलाई pp. २-७

अध्ययन लेख २८

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

हामीले किन सल्लाह लिनुपर्छ?

“बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।”​—हितो. १३:१०.

सिक्न सकिने कुरा

आफूले पाएको सल्लाहबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

१. हामी कसरी बुद्धिमानी निर्णयहरू गर्न र आफ्ना योजनाहरूमा सफल हुन सक्छौँ? (हितोपदेश १३:१०; १५:२२)

हामी सबै जना बुद्धिमानी निर्णयहरू गर्न चाहन्छौँ। साथै हाम्रा योजनाहरू पनि सफल भएको चाहन्छौँ। यसको लागि हामीले सल्लाह लिनुपर्छ भनेर बाइबल बताउँछ।—हितोपदेश १३:१०; १५:२२ पढ्‌नुहोस्‌।

२. यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

२ हामीलाई सबैभन्दा राम्रो सल्लाह दिन सक्ने व्यक्‍ति हाम्रो बुबा यहोवा हुनुहुन्छ। उहाँ हामीलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।” (भज. ३२:८) यहाँ बताइएझैँ यहोवा हामीलाई चाहिएकै सल्लाह दिनुहुन्छ र त्यो लागू गर्न मदत पनि गर्नुहुन्छ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यस लेखमा हामी यी चार वटा प्रश्‍नको जवाफ पाउनेछौँ: (१) आफूले पाएको सल्लाहबाट लाभ उठाउन मसित कस्ता गुणहरू हुनुपर्छ? (२) मलाई कसले राम्रो सल्लाह दिन सक्छ? (३) सल्लाह लिँदा मेरो मनसाय कस्तो हुनुपर्छ? (४) मैले किन आफ्नो निर्णय आफै गर्नुपर्छ?

मसित कस्ता गुणहरू हुनुपर्छ?

४. आफूले पाएको सल्लाहबाट लाभ उठाउन हामीसित कस्ता गुणहरू हुनुपर्छ?

४ आफूले पाएको सल्लाहबाट लाभ उठाउन हामी नम्र हुनुपर्छ र मर्यादामा रहनुपर्छ। मर्यादामा रहनु भनेको आफ्नो सीमितता स्विकार्नु हो। हामीलाई सबै कुराको ज्ञान र अनुभव छैन। त्यसैले बुद्धिमानी निर्णय गर्न हामीलाई मदत चाहिन्छ भन्‍ने कुरा स्विकार्नुपर्छ। तर हामी नम्र छैनौँ भने यहोवाको मदत स्विकार्न हामीलाई गाह्रो हुन्छ। अनि बाइबल पढ्‌दा लागू गर्नुपर्ने कुनै सल्लाह भट्टायौँ भने पनि त्यो आफूलाई आवश्‍यक छैन जस्तो हामीलाई लाग्न सक्छ। (मिका ६:८; १ पत्रु. ५:५) तर हामी नम्र छौँ र आफ्नो सीमितता स्विकार्छौँ भने बाइबलमा पाइने सल्लाह सुन्‍नेछौँ र लागू गर्नेछौँ।

५. कस्ता कुराहरूले दाउदलाई घमन्डी बनाउन सक्थ्यो?

५ राजा दाउदको उदाहरणबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ। तिनले थुप्रै सफलता हासिल गरे। तैपनि तिनी घमन्डी भएनन्‌। राजा हुनुभन्दा धेरै वर्षअघि नै तिनले एक जना निपुण सङ्‌गीतकार भन्‍ने नाम कमाइसकेका थिए। त्यसैले तिनलाई राजासामु वीणा बजाउन पनि बोलाइयो। (१ समु. १६:१८, १९) यहोवाले तिनलाई राजा नियुक्‍त गर्नुभएपछि पवित्र शक्‍ति दिएर बलियो पार्नुभयो। (१ समु. १६:११-१३) तिनले वीर योद्धा भन्‍ने नाम पनि कमाएका थिए। तिनले अजङ्‌गको पलिस्तियाली गोल्यतलगायत अरू थुप्रै शत्रुहरूलाई परास्त गरे। (१ समु. १७:३७, ५०; १८:७) यस्तो सफलता हासिल गरेका व्यक्‍ति घमन्डी हुन सक्छन्‌ र तिनलाई अरू कसैको सल्लाह चाहिँदैन जस्तो लाग्न सक्छ। तर दाउदले त्यसो गरेनन्‌।

६. दाउद अरूको सल्लाह सुन्थे भनेर किन भन्‍न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

६ राजा भएपछि दाउदले असल मित्रहरू रोजे, जसले तिनलाई राम्रो सल्लाह दिन सक्थे। (१ इति. २७:३२-३४) तर राजा हुनुअघि पनि तिनी अरूको सल्लाह सुन्थे। तिनी पुरुषहरूको मात्र होइन, स्त्रीहरूको पनि सल्लाह सुन्थे, जस्तै: अबिगेलको। उनको पति नाबाल घमन्डी, कृतघ्न र अहङ्‌कारी थिए। एकचोटि नाबालले दाउदका मानिसहरूसित असाध्यै नराम्रो व्यवहार गरे। यो सुनेर दाउद रिसले चूर भए तर अबिगेलले दाउदलाई कुनै गलत कदम नचाल्न सल्लाह दिइन्‌। दाउदले नम्र भई त्यो सल्लाह स्विकारे र तिनी गलत कदम चाल्नदेखि जोगिए।—१ समु. २५:२, ३, २१-२५, ३२-३४.

राजा दाउद अबिगेलको बिन्ती ध्यान दिएर सुन्दै छन्‌।

राजा दाउदले नम्र हुँदै अबिगेलको सल्लाह सुने र त्यसैअनुसार गरे (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. दाउदको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (उपदेशक ४:१३) (चित्रहरू पनि हेर्नुहोस्‌।)

७ दाउदबाट हामी थुप्रै महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। जस्तै, हामीसित कुनै खास सीप होला अथवा केही हदसम्म अख्तियार पनि पाएका छौँ होला। तैपनि हामीले आफूलाई सबै थाह छ र कसैको सल्लाह चाहिँदैन भन्‍ने सोच्नु हुँदैन। अरूको सल्लाह सुनेनौँ भने हाम्रो निर्णयले गर्दा आफूलाई र अरूलाई ठूलो चोट पुग्न सक्छ। त्यसैले हामीले पनि दाउदले जस्तै अरूको सल्लाह सुन्‍नुपर्छ, चाहे त्यो जोसुकैले दिएको किन नहोस्‌! (उपदेशक ४:१३ पढ्‌नुहोस्‌।) त्यसो गऱ्‍यौँ भने गलत कदम चाल्नदेखि हामी धेरै हदसम्म जोगिन सक्छौँ।

चित्रहरूको सँगालो: १. एल्डरहरूको मिटिङमा चार जना एल्डर कुरा गर्दै छन्‌। एक जना एल्डर निकै रुखो तरिकामा बोल्छन्‌। २. ती एल्डरलाई तिनीभन्दा जवान एल्डरले गाडीमा दुई जना मात्र भएको बेला मायालु तरिकामा सल्लाह दिन्छन्‌।

हामीले सल्लाह सुन्‍नुपर्छ, चाहे त्यो जोसुकैले दिएको किन नहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)c


मलाई कसले राम्रो सल्लाह दिन सक्छ?

८. जोनाथनले दाउदलाई किन राम्रो सल्लाह दिन सक्थे?

८ दाउदबाट सिक्न सकिने अर्को एउटा पाठ विचार गरौँ। तिनले कस्ता मानिसहरूसित सल्लाह लिए? यहोवासित राम्रो सम्बन्ध गाँसेका अनि तिनले भोगिरहेको अवस्थाबारे राम्ररी बुझेका मानिसहरूबाट। जस्तै, राजा साउल मिलाप गर्न चाहन्छन्‌ कि चाहँदैनन्‌ भनी बुझ्न दाउदले उनका छोरा जोनाथनसित सल्लाह लिए। किन? किनभने जोनाथनले यहोवासित राम्रो सम्बन्ध गाँसेका थिए। साथै साउल कस्ता व्यक्‍ति हुन्‌ भनेर पनि तिनलाई राम्ररी थाह थियो। (१ समु. २०:९-१३) यसबाट हामी के सिक्न सक्छौँ?

९. हामीले कोसित सल्लाह लिनुपर्छ? एउटा उदाहरण बताउनुहोस्‌। (हितोपदेश १३:२०)

९ हामीले पनि त्यस्तो व्यक्‍तिसित सल्लाह लिनुपर्छ, जसले यहोवासित राम्रो सम्बन्ध गाँसेका छन्‌ अनि हामीलाई सल्लाह चाहिएको विषयबारे राम्ररी बुझेका छन्‌। मानौँ, एक जना जवान भाइ राम्रो जोडी भेट्टाउन चाहन्छन्‌।a (हितोपदेश १३:२० पढ्‌नुहोस्‌।) तिनलाई कसले राम्रो सल्लाह दिन सक्छ? तिनको अविवाहित साथीले बाइबलमा आधारित सल्लाह दिन्छन्‌ भने त्यो राम्रै हो। तर तिनले आफूलाई राम्ररी चिनेका अनि यहोवाको सेवा गरिरहेका परिपक्व दम्पतीसित सल्लाह लिनु अझ बेस हो। किनभने तिनीहरूले बाइबलबाट र आफ्नै अनुभवबाट तिनलाई केही व्यावहारिक सल्लाह दिन सक्नेछन्‌।

१०. अब हामी के छलफल गर्नेछौँ?

१० यहाँसम्म हामीले सल्लाहबाट लाभ उठाउन हामीमा हुनुपर्ने दुई वटा गुणबारे छलफल गऱ्‍यौँ र कसले हामीलाई राम्रो सल्लाह दिन सक्छ भनेर पनि बुझ्यौँ। अब हामी सल्लाह लिँदा हाम्रो मनसाय कस्तो हुनुपर्छ अनि आफ्नो निर्णय किन आफैले गर्नुपर्छ भनेर छलफल गर्नेछौँ।

सल्लाह लिँदा मेरो मनसाय कस्तो हुनुपर्छ?

११-१२. (क) सल्लाह खोज्दा हामीले के गर्नु हुँदैन? (ख) एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्दा राजा रहबामले के गरे?

११ कहिलेकाहीँ कुनै व्यक्‍तिले आफूलाई सल्लाह चाहिएको जस्तो देखाउन सक्छन्‌। तर वास्तवमा तिनले आफूले गरिसकेको निर्णयमा सहमत हुने व्यक्‍ति मात्र खोजिरहेका हुन सक्छन्‌। त्यसो हो भने तिनले साँच्चै सल्लाह खोजेका हुन्‌ भन्‍न मिल्दैन। तिनले राजा रहबामबाट एउटा चेतावनीमूलक पाठ सिक्न सक्छन्‌।

१२ सुलेमानपछि इस्राएलका राजा रहबाम भए। रहबामले शासन थाल्दा इस्राएल राष्ट्र सम्पन्‍न थियो। तर त्यहाँको प्रजाले सुलेमानले निकै दलाएको महसुस गरेका थिए। त्यसैले मानिसहरू रहबामकहाँ आए र तिनीहरूको भारी हलुको पारिदिन बिन्ती गरे। रहबामले निर्णय गर्नको लागि केही समय मागे। सुरुमा त तिनले सुलेमानको सेवा गरेका बूढापाकाहरूसित सल्लाह मागे। (१ राजा १२:२-७) तर तिनले उनीहरूले दिएको सल्लाह सुनेनन्‌। तिनले किन त्यसो गरे? रहबामले के गर्ने भनेर पहिल्यै निर्णय गरिसकेका थिए कि? यदि त्यसो हो भने तिनले आफ्नो निर्णयसित सहमत हुने व्यक्‍ति खोजिरहेका मात्र हुन सक्छन्‌। त्यसैले तिनले आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह मागे र तिनीहरूले भनेअनुसारै गरे। किनकि तिनीहरूले रहबामले सुन्‍न चाहेकै कुरा बताए। (१ राजा १२:८-१४) नतिजास्वरूप रहबामको राज्य टुक्रियो। त्यसपछि तिनले एकपछि अर्को गर्दै थुप्रै दुःख झेल्नुपऱ्‍यो।—१ राजा १२:१६-१९.

१३. सल्लाह लिँदा हामी कसरी आफ्नो मनसाय जाँच्न सक्छौँ?

१३ हामी रहबामको उदाहरणबाट के सिक्न सक्छौँ? हामीले कसैसित कुनै विषयमा सल्लाह माग्दा त्यसबारे पहिल्यै निर्णय गरिसकेको हुनु हुँदैन। बरु हामी तिनको सल्लाह सुन्‍न इच्छुक हुनुपर्छ। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, “मैले कसैसित सल्लाह माग्दा आफूले सुन्‍न चाहेको जस्तो सल्लाह आएन भने के म त्यो सल्लाहलाई बेवास्ता गर्छु?” एउटा उदाहरण विचार गरौँ।

१४. कसैले सल्लाह दिँदा हामीले कुन कुरा बिर्सनु हुँदैन? उदाहरण दिनुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

१४ मानौँ एक जना भाइले एउटा राम्रो जागिर भेट्टाएका छन्‌ तर त्यो जागिर स्विकार्नुअघि तिनी एल्डरसित सल्लाह माग्छन्‌। तिनले त्यो जागिर स्विकारे भने परिवारबाट लामो समय टाढा बस्नुपर्ने हुन्छ भनेर एल्डरलाई बताउँछन्‌। अनि एल्डरले ती भाइलाई तिनको मुख्य जिम्मेवारी भनेको परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गर्नु हो भनेर बाइबलबाटै सम्झाउँछन्‌। (एफि. ६:४; १ तिमो. ५:८) तर तिनलाई एल्डरले भनेको कुरा चित्त बुझ्दैन। त्यसैले आफूले सुन्‍न चाहेको जस्तो कुरा कसैले नबताएसम्म तिनी मण्डलीका अरूसित सल्लाह माग्दै हिँड्‌छन्‌। के ती भाइले साँच्चै सल्लाह खोजेका हुन्‌ भन्‍न मिल्छ? कि तिनले आफूले गरिसकेको निर्णयमा सहमत हुने व्यक्‍ति मात्र खोजिरहेका हुन्‌? हाम्रो हृदय छली छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। (यर्मि. १७:९) कहिलेकाहीँ हामीलाई कसैले दिएको सल्लाह चित्तै बुझ्दैन होला तर त्यही नै हामीलाई चाहिएको सल्लाह हुन सक्छ।

एउटी बहिनी विभिन्‍न भाइबहिनीसित सल्लाह माग्दै छिन्‌। आफूले पाएको सल्लाह चित्त नबुझेकोले तिनी एकपछि अर्को भाइबहिनीसित कुरा गर्दै छिन्‌।

के हामी साँच्चै सल्लाह खोजिरहेका छौँ वा आफूसित सहमत हुने व्यक्‍ति मात्र खोजिरहेका छौँ? (अनुच्छेद १४ हेर्नुहोस्‌)


मैले किन आफ्नो निर्णय आफै गर्नुपर्छ?

१५. हामी के गर्नदेखि होसियार हुनुपर्छ र किन?

१५ यहोवा हामी प्रत्येकले आफ्नो निर्णय आफै गरेको चाहनुहुन्छ। (गला. ६:४, ५) हामीले अगाडि छलफल गरेझैँ बुद्धिमान्‌ मानिसले कुनै निर्णय गर्नुअघि परमेश्‍वरको वचनबाट र परिपक्व ख्रिष्टियनहरूबाट सल्लाह खोज्छन्‌। तर हामीले कहिल्यै पनि अरूले हाम्रो लागि निर्णय गरिदेओस्‌ भन्‍ने आशा गर्नु हुँदैन। कसै-कसैले आफूले एकदमै आदर गरेको व्यक्‍तिलाई सीधै यसरी सोध्ने गर्छन्‌, “तपाईँ मेरो ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो?” कसै-कसैले भने सीधै नसोधे पनि खासै सोचविचार नगरी कदम चाल्छन्‌। तिनीहरू अरूले जस्तो निर्णय गऱ्‍यो, त्यस्तै निर्णय गर्छन्‌।

१६. मूर्तिहरूलाई चढाइएको खानेकुराको सन्दर्भमा कोरिन्थ मण्डलीका भाइबहिनीहरूले कस्तो निर्णय गर्नुपरेको थियो? (१ कोरिन्थी ८:७; १०:२५, २६)

१६ प्रथम शताब्दीको कोरिन्थ मण्डलीका भाइबहिनीहरूले मूर्तिहरूलाई चढाइएको हुन सक्ने खानेकुराबारे एउटा निर्णय गर्नुपरेको थियो। पावलले ती ख्रिष्टियनहरूलाई यस्तो लेखे: “संसारमा मूर्ति केही पनि होइन र परमेश्‍वर एक जना मात्र हुनुहुन्छ।” (१ कोरि. ८:४) यो कुरा मनमा राख्दै मण्डलीका कसै-कसैले मूर्तिहरूलाई चढाइएको हुन सक्ने र पछि बजारमा बेच्न राखिएको त्यो मासु खाने निर्णय गरे। अरूले भने आफ्नो अन्तस्करणको खातिर त्यस्तो मासु नखाने निर्णय गरे। (१ कोरिन्थी ८:७; १०:२५, २६ पढ्‌नुहोस्‌।) यो तिनीहरूको व्यक्‍तिगत निर्णय थियो। पावलले कहिल्यै पनि कोरिन्थ मण्डलीका भाइबहिनीलाई अरूको लागि निर्णय गरिदिनू अनि अरूले जे गर्छन्‌, आफूले पनि त्यही गर्नू भनेनन्‌। तिनीहरू “सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा” दिनुपर्ने थियो।—रोमी १४:१०-१२.

१७. हामीले अरूले गरेको निर्णयको नक्कल गर्न थाल्यौँ भने के हुन सक्छ? एउटा उदाहरण बताउनुहोस्‌। (चित्रहरू पनि हेर्नुहोस्‌।)

१७ आज पनि कसरी त्यस्तै अवस्था खडा हुन सक्छ? रगतका सूक्ष्म तत्त्वहरूबारे विचार गरौँ। ती तत्त्वहरू लिने या नलिने भनेर प्रत्येक ख्रिष्टियनले आफ्नो लागि आफै निर्णय गर्नुपर्छ।b हुनत यो अलि जटिल विषय हो। तर यस्तो विषयमा निर्णय गर्नुपर्दा पनि आफ्नो भारी आफै बोक्नुपर्छ भन्‍ने सिद्धान्त लागू हुन्छ। (रोमी १४:४) यस्तो विषयमा अरूले गरेको निर्णयको नक्कल गर्न थाल्यौँ भने हाम्रो आफ्नै अन्तस्करण कमजोर हुन सक्छ। किनकि हामी आफ्नो अन्तस्करणलाई जति धेरै चलाउँछौँ, त्यसले त्यति नै तालिम पाउँछ। (हिब्रू ५:१४) त्यसोभए के हामीले कुनै परिपक्व ख्रिष्टियनबाट सल्लाह लिनै हुँदैन भन्‍ने हो? त्यसो त होइन। कहिलेकाहीँ हामीले आफ्नो अवस्थाबारे राम्ररी अनुसन्धान गरिसक्दा पनि बाइबलका सिद्धान्तहरू कसरी लागू गर्ने भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा हामी कुनै परिपक्व ख्रिष्टियनसित सल्लाह माग्न सक्छौँ।

चित्रहरूको सँगालो: १. एक भाइ “स्थायी अख्तियारनामा कार्ड” भर्न बाइबल, “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!”  किताबको पाठ ३९ र “रगत प्रयोग हुने स्वास्थ्य सेवासम्बन्धी कसरी सही निर्णय गर्न सकिन्छ?” भिडियो हेर्दै छन्‌। २. पछि पाको भाइले बाइबल पदको अर्थ बुझाउँदा तिनी ध्यान दिएर सुन्दै छन्‌।

हामीले राम्ररी अनुसन्धान गरेपछि मात्र सल्लाह माग्नुपर्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)


सल्लाह खोजिरहनुहोस्‌

१८. यहोवाले हाम्रो लागि के गर्नुभएको छ?

१८ यहोवाले हामीलाई निर्णय गर्ने स्वतन्त्रता दिनुभएर हामीमाथि ठूलो भरोसा देखाउनुभएको छ। उहाँले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ अनि हामीलाई बाइबलका सिद्धान्तहरू लागू गर्न मदत दिने असल साथीहरू पनि दिनुभएको छ। यसरी यहोवाले एक जना मायालु बुबाले जस्तै हाम्रो ख्याल राख्नुभएको छ। (हितो. ३:२१-२३) त्यसोभए उहाँप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

१९. हामीले के गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ?

१९ यो कुरा विचार गर्नुहोस्‌, आफ्ना छोराछोरी परिपक्व हुँदै गएर यहोवाको एक जना बुद्धिमान्‌ र अरूलाई मदत गर्ने सेवक बनेको देख्दा आमाबुबालाई पक्कै खुसी लाग्छ। त्यसैगरि हामी आध्यात्मिक रूपमा परिपक्व हुँदै गएको, सल्लाह खोजेको र यहोवाको महिमा हुने निर्णयहरू गरेको देख्दा उहाँलाई पनि पक्कै खुसी लाग्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • सल्लाहबाट लाभ उठाउन हामी किन नम्र हुनुपर्छ र मर्यादामा रहनुपर्छ?

  • सल्लाह लिँदा हामीले किन आफ्नो मनसाय जाँच्नुपर्छ?

  • हामीले किन आफ्नो निर्णय आफै गर्नुपर्छ?

गीत १२७ म कस्तो मानिस बनूँ?

a ख्रिष्टियनहरूले कहिलेकाहीँ आर्थिक मामिला अनि स्वास्थ्य उपचारजस्ता कुराहरूमा यहोवाको उपासना नगर्ने व्यक्‍तिबाट सल्लाह लिनु पनि बुद्धिमानी हुन सक्छ।

b यसबारे विस्तृत जानकारीको लागि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३९ को बुँदा ५ र “अझ धेरै जान्‍नुहोस्‌” भाग हेर्नुहोस्‌।

c चित्रको व्याख्या: मिटिङमा एक एल्डरले बोलेको तरिकाबारे पछि अर्को एल्डरले तिनलाई सल्लाह दिन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने