प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जुलाई pp. १४-१९
  • बाइबलका आधारभूत शिक्षाहरूबाट लाभ उठाइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलका आधारभूत शिक्षाहरूबाट लाभ उठाइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा सृष्टिकर्ता हुनुहुन्छ
  • परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?
  • हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ
  • बाइबलका आधारभूत शिक्षाहरूको कदर गरिरहनुहोस्‌
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • के तपाईँ सत्य र झूटबीचको भिन्‍नता छुट्ट्याउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • प्रेमले उत्प्रेरित भएर साक्षीकार्यमा लागिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जुलाई pp. १४-१९

अध्ययन लेख ३०

गीत ९७ यहोवाको वचन—हाम्रो जीवन

बाइबलका आधारभूत शिक्षाहरूबाट लाभ उठाइरहनुहोस्‌

“म सधैँ तिमीहरूलाई यी कुराहरू सम्झाइरहने इच्छा गर्छु। हुनत तिमीहरूलाई यी कुराहरू थाहै छ अनि तिमीहरू आफूले सिकेको सत्यमा अडिग छौ।”—२ पत्रु. १:१२.

सिक्न सकिने कुरा

तपाईँले सुरु-सुरुमा सिक्नुभएका बाइबलका आधारभूत शिक्षाहरूबाट अहिले पनि कसरी लाभ उठाउन सक्नुहुन्छ?

१. बाइबलका आधारभूत शिक्षाहरूले तपाईँको जीवनमा कस्तो प्रभाव पारेको थियो?

बाइबलका आधारभूत शिक्षाहरूले हाम्रो मनमा अमेट छाप पारेको छ र हाम्रो जीवनलाई अझ अर्थपूर्ण बनाएको छ। उदाहरणको लागि, हामीले परमेश्‍वरको नाम यहोवा हो भनेर सिक्यौँ र उहाँसित नजिक हुन कदम चाल्यौँ। (यसै. ४२:८) हामीले मरेकाहरू कस्तो अवस्थामा छन्‌ भनेर बुझ्यौँ र हामीले गुमाएका प्रियजनहरूले दुःख भोगिरहेका होलान्‌ भनेर चिन्तित हुन छोड्यौँ। (उप. ९:१०) हामीले नयाँ संसारबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पनि थाह पायौँ र हामीलाई भविष्यबारे अचाक्ली चिन्ता लाग्न छोड्यो। नयाँ संसारमा हामी ७०/८० वर्ष मात्र होइन बरु सधैँभरि बाँच्न सक्नेछौँ भनेर ढुक्क भयौँ।—भज. ३७:२९; ९०:१०.

२. पत्रुसले ख्रिष्टियनहरूलाई बाइबलका आधारभूत शिक्षाहरू किन सम्झाए? (२ पत्रुस १:१२, १३)

२ बाइबलका आधारभूत शिक्षाहरूलाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन। प्रेषित पत्रुसले आफ्नो दोस्रो पत्र “सत्यमा अडिग” रहेका ख्रिष्टियनहरूलाई लेखेका थिए। (२ पत्रुस १:१२, १३ पढ्‌नुहोस्‌।) तर पत्रुस ती भाइबहिनीलाई विश्‍वासमा अझ बलियो बनाउन चाहन्थे। किनकि त्यतिबेला मण्डलीभित्र भक्‍तिहीन मानिसहरू र झूटा शिक्षकहरू बढ्‌दै थिए। (२ पत्रु. २:१-३) त्यस्ता व्यक्‍तिहरूबाट जोगाउन पत्रुसले भाइबहिनीलाई तिनीहरूले सिकिसकेका केही शिक्षाहरू सम्झाए। ती शिक्षाहरूले भाइबहिनीलाई अन्तसम्मै वफादार रहन मदत गर्ने थियो।

३. सबै ख्रिष्टियनले बाइबलका आधारभूत शिक्षाहरूमा किन मनन गर्नुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

३ हामीले सत्य सिकेको लामो समय भइसके तापानि बाइबलका आधारभूत शिक्षाहरूबाट अझै लाभ उठाउन सक्छौँ। उदाहरणको लागि, एक जना अनुभवी कुक र भर्खरै खाना पकाउन सिकिरहेको व्यक्‍तिबारे विचार गरौँ। हुनत तिनीहरूले कुनै परिकार बनाउन प्रयोग गर्ने सामग्रीहरू एउटै होलान्‌। तर अनुभवी कुकले वर्षौँको दौडान ती नै सामग्रीहरू प्रयोग गरेर नयाँ-नयाँ परिकारहरू बनाउन सिकेका हुन्छन्‌। त्यसैगरि लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरू अनि नयाँ बाइबल विद्यार्थीहरूले एउटै बाइबल सत्य सिकेका हुन्छन्‌। तर अनुभवी ख्रिष्टियनले त्यही आधारभूत सत्यलाई पनि फरक-फरक दृष्टिकोणले हेर्न सिकेका हुन्छन्‌। कसरी? बप्तिस्मा गरेदेखि यता तिनको परिस्थिति परिवर्तन भएको हुन सक्छ वा तिनले विभिन्‍न तरिकामा यहोवाको सेवा गरेका हुन सक्छन्‌। तर आफूले वर्षौँअघि सिकेका आधारभूत शिक्षामा मनन गर्दा तिनले अहिलेको अवस्थामा ती लागू गर्ने नयाँ-नयाँ तरिका भेट्टाउन सक्छन्‌। सत्यमा लामो समय बिताइसकेका ख्रिष्टियनहरूले पनि बाइबलका तीन वटा आधारभूत शिक्षाबाट कसरी लाभ उठाउन सक्छन्‌, विचार गरौँ।

यहोवा सृष्टिकर्ता हुनुहुन्छ

४. यहोवा सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह पाउँदा हाम्रो जीवन कस्तो भएको छ?

४ हामीलाई थाह छ, यो पृथ्वी र यसमा भएका सबै थोक बनाउनुहुने एक जना सृष्टिकर्ता हुनुहुन्छ, जो सबैभन्दा बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ। बाइबल भन्छ: “सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) तर यो आधारभूत शिक्षाबाट हामी अरू कुरा पनि सिक्न सक्छौँ। हामीलाई यहोवाले बनाउनुभएकोले उहाँलाई हामीबारे सबै कुरा थाह छ, उहाँ हामीमा चासो राख्नुहुन्छ र के गर्दा हाम्रो भलो हुन्छ, त्यो पनि उहाँलाई थाह छ। यहोवा सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह पाएकोले हाम्रो जीवन अझ अर्थपूर्ण भएको छ।

५. कुन सत्यले हामीलाई नम्र हुन मदत गर्छ? (यसैया ४५:९-१२)

५ यहोवा सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने सत्यले हामीलाई नम्र हुन सिकाउँछ। उदाहरणको लागि, अय्युबलाई विचार गरौँ। तिनले गाह्रो अवस्थाको सामना गर्नुपर्दा आफूमा मात्र ध्यान केन्द्रित गरे अनि आफूलाई आरोप लगाउनेहरूलाई कसरी झूटो साबित गर्ने भनेर मात्र सोचे। त्यतिबेला तिनले यहोवा सृष्टिकर्ता हुनुभएकोले उहाँलाई सबै कुरा थाह छ भन्‍ने कुरा बिर्सिरहेका थिए। त्यसैले आफू शक्‍तिशाली सृष्टिकर्ता हुँ भनेर यहोवाले तिनलाई सम्झाउनुभयो। (अय्यु. ३८:१-४) त्यसपछि तिनले यहोवाको तौरतरिका मानिसको भन्दा कता हो कता उत्कृष्ट छ भनेर बुझ्न सके। पछि भविष्यवक्‍ता यसैयाले यसो भने: “माटोले कुमालेलाई ‘तिमीले यो के बनाएको’ भन्‍न सुहाउँछ र?”—यसैया ४५:९-१२ पढ्‌नुहोस्‌।

६. हामीले कुन अवस्थामा यहोवाको बुद्धि र शक्‍तिबारे अझ मनन गर्नुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

६ कुनै ख्रिष्टियनले यहोवाको सेवा गरेको लामो समय भइसकेको छ भने तिनी यहोवाको र उहाँको वचनको डोऱ्‍याइमा नभई आफ्नै सोचाइमा भर पर्न थाल्न सक्छन्‌। (अय्यु. ३७:२३, २४) तर तिनले हाम्रो सृष्टिकर्ता यहोवा कत्ति बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ भनेर मनन गरे भने नतिजा कस्तो हुन्छ? (यसै. ४०:२२; ५५:८, ९) यसले तिनलाई नम्र हुन अनि आफ्नो सोचाइलाई यहोवाको सोचाइअनुरूप ढाल्न मदत गर्नेछ।

चित्रहरूको सँगालो: १. एल्डरहरूको मिटिङमा एक जना एल्डरले सुझाव दिन्छन्‌ तर अरू एल्डरहरूलाई त्यो चित्त बुझ्दैन। २. पछि ती एल्डर राती आकाशका ताराहरूलाई नियाल्छन्‌ र मनन गर्छन्‌।

आफ्नो सोचाइ छाँटकाँट गर्न हामीलाई केले मदत गर्छ? (अनुच्छेद ६ हेर्नुहोस्‌)d


७. नयाँ निर्देशन स्विकार्न राहेलालाई केले मदत गऱ्‍यो?

७ स्लोभेनियाकी राहेलाबारे विचार गरौँ। तिनले सृष्टिकर्ताबारे मनन गर्दा सङ्‌गठनबाट आएको निर्देशन स्विकार्न सजिलो भएको कुरा बताइन्‌। तिनी भन्छिन्‌: “नेतृत्व लिइरहेका भाइहरूबाट आएको निर्देशन स्विकार्न कहिलेकाहीँ गाह्रो लाग्छ। जस्तै, मैले २०२३ परिचालक निकायबाट अपडेट #८ हेरिसकेको थिएँ। तैपनि दाह्री पालेको भाइले भाषण दिएको देख्दा सुरुमा त मलाई चित्तै बुझेन। त्यसैले यो नयाँ छाँटकाँट स्विकार्न मदत गर्नुहोस्‌ भनेर मैले यहोवालाई प्रार्थना गरेँ।” स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुभएकोले यहोवा आफ्नो सङ्‌गठनलाई सही दिशातर्फ डोऱ्‍याउन सक्नुहुन्छ भनेर राहेलाले बुझिन्‌। के तपाईँलाई पनि हाम्रो बुझाइमा छाँटकाँट गरिँदा वा कुनै नयाँ निर्देशन आउँदा त्यो स्विकार्न गाह्रो लाग्छ? यदि त्यसो हो भने नम्र हुनुहोस्‌ र हाम्रो सृष्टिकर्ता यहोवा कत्ति शक्‍तिशाली अनि बुद्धिमान्‌ हुनुहुन्छ भनेर मनन गर्नुहोस्‌।—रोमी ११:३३-३६.

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?

८. परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुको कारण बुझेकोले हामीलाई कस्तो फाइदा भएको छ?

८ परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ? यो प्रश्‍नको जवाफ नपाएका कोही-कोही उल्टै परमेश्‍वरसित रिसाउँछन्‌ वा परमेश्‍वर नै हुनुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्छन्‌। (हितो. १९:३) तर दुःखकष्टको कारण यहोवा हुनुहुन्‍न बरु जन्मजात पाएको पाप र त्रुटिपूर्ण अवस्था हो भनेर हामीले बुझेका छौँ। साथै हामीले यहोवा धीरजी हुनुहुन्छ भनेर पनि बुझेका छौँ। उहाँ धीरजी हुनुभएकोले लाखौँले उहाँलाई चिन्‍ने र उहाँले कसरी दुःखकष्ट सदाको लागि अन्त गर्नुहुनेछ भनेर बुझ्ने मौका पाएका छन्‌। (२ पत्रु. ३:९, १५) बाइबलका यी आधारभूत शिक्षाले हामीलाई सान्त्वना दिएको छ र परमेश्‍वरसित नजिक हुन मदत गरेको छ।

९. यहोवाले दुःखकष्ट रहिरहन दिनुको कारणबारे हामीले कस्ता अवस्थाहरूमा अझ मनन गर्नुपर्छ?

९ यहोवाले दुःखकष्ट अन्त गर्नुहुने समय नआउन्जेल हामी धीरजी हुनुपर्छ। तर हाम्रो प्रियजनको मृत्यु हुँदा, हामी वा हाम्रो परिवारले गाह्रो अवस्थाको सामना गर्नुपर्दा वा अन्यायको सिकार हुनुपर्दा हामीलाई धीरजी हुन गाह्रो हुन्छ। त्यस्तो बेला यहोवाले कदम चाल्न किन ढिलो गर्दै हुनुहुन्छ जस्तो लाग्न सक्छ। (हब. १:२, ३) त्यस्तो लाग्दा यहोवाले धर्मी मानिसलाई किन दुःखकष्ट झेल्न दिनुहुन्छ भनेर मनन गर्नु राम्रो हो।a (भज. ३४:१९) साथै उहाँले सदाको लागि दुःखकष्ट अन्त गर्नुहुनेछ भन्‍ने कुरामा पनि हामी मनन गर्न सक्छौँ।

१०. आमाको मृत्युको पीडा सहन एनलाई केले मदत गरेको छ?

१० परमेश्‍वरले दुःखकष्ट रहन दिनुको कारण बुझ्दा हामी गाह्रो अवस्था सहन सक्छौँ। हिन्द महासागरको मायोट टापुमा बस्ने एन यसो भन्छिन्‌, “केही वर्षअगाडि आमाको मृत्यु हुँदा मलाई त्यो पीडा सहन एकदमै गाह्रो भयो। तर हामीले भोगिरहेको दुःखकष्टको कारण यहोवा हुनुहुन्‍न भनेर म आफूलाई बेलाबेलामा सम्झाइरहन्छु। उहाँ सबै दुःखकष्ट हटाउन अनि हाम्रा प्रियजनहरूलाई फेरि जीवित पार्न इच्छुक हुनुहुन्छ। यी सत्यहरूमा मनन गर्दा एकदमै गाह्रो भएको बेलामा समेत मनोशान्ति पाउँछु।”

११. परमेश्‍वरले दुःखकष्ट रहन दिनुको कारण बुझ्दा हामी प्रचारकार्यमा भाग लिइरहन किन उत्प्रेरित हुन्छौँ?

११ परमेश्‍वरले दुःखकष्ट रहन दिनुको कारण बुझ्दा हामी प्रचारकार्यमा भाग लिइरहन उत्प्रेरित हुन्छौँ। यहोवा धीरजी हुनुभएकोले पश्‍चात्तापीहरूका लागि उद्धारको बाटो खुलेको छ भनेर पत्रुसले बताए। त्यसपछि तिनले यस्तो लेखे: “तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ।” (२ पत्रु. ३:११) “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने काम”-मा हाम्रो प्रचारकार्य पनि पर्छ। हाम्रो बुबा यहोवाले जस्तै हामी पनि मानिसहरूलाई प्रेम गर्छौँ। त्यसैले नयाँ संसारमा तिनीहरूले पनि जीवन पाऊन्‌ भन्‍ने हामी चाहन्छौँ। यहोवाले धीरजी हुँदै हाम्रो इलाकाका मानिसहरूलाई उहाँको उपासना गर्ने मौका दिँदै हुनुहुन्छ। हामीले परमेश्‍वरको सहकर्मीको रूपमा अहिले धेरैभन्दा धेरै मानिसलाई उहाँबारे सिकाउने सुअवसर पाएका छौँ।—१ कोरि. ३:९.

हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ

१२. अन्तको दिनमा बाँचिरहेका छौँ भनी बुझेकोले हामी कुन कुरामा विश्‍वस्त भएका छौँ?

१२ बाइबलमा “अन्तको दिनमा” मानिसहरू कस्ता हुनेछन्‌ भनेर बताइएको छ। (२ तिमो. ३:१-५) वरपरका मानिसहरूलाई हेर्दा मात्र पनि यो भविष्यवाणी पूरा भइरहेको देख्छौँ। मानिसहरूको आचरण र मनोवृत्ति झन्‌झनै खराब भएको देख्दा परमेश्‍वरको वचनमा लेखिएका कुराहरू एकदमै सही छ भनेर हामी अझ विश्‍वस्त हुन्छौँ।—२ तिमो. ३:१३-१५.

१३. येसुले लुका १२:१५-२१ मा दिनुभएको उदाहरण विचार गर्दै हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

१३ हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनी बुझेकोले सबैभन्दा जरुरी कुरालाई प्रथम स्थान दिन मदत पाएका छौँ। यसो गर्नु किन महत्त्वपूर्ण छ भनेर बुझ्न येसुले लुका १२:१५-२१ मा दिनुभएको उदाहरण विचार गरौँ। (पढ्‌नुहोस्‌।) त्यस धनी मानिसलाई किन “बेसमझ” भनियो? ऊ धनी भएकोले त होइन बरु महत्त्वपूर्ण कुरालाई प्राथमिकता नदिएकोले। उसले आफ्नो लागि धनसम्पत्ति थुपाऱ्‍यो तर परमेश्‍वरको नजरमा चाहिँ धनी भएन। धनसम्पत्ति थुपार्नमै व्यस्त हुनु उसको ठूलो भूल थियो किनकि ऊसित धेरै समय बाँकी थिएन। परमेश्‍वरले उसलाई यसो भन्‍नुभयो, “यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ।” यो उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? अब यो संसारको अन्त हुन धेरै समय बाँकी छैन। त्यसैले हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ, “के मेरा लक्ष्यहरूबाट मैले सबैभन्दा जरुरी कुरालाई प्रथम स्थान दिएको देखिन्छ? म आफ्ना छोराछोरीलाई कस्तो लक्ष्य राख्न प्रोत्साहन दिँदै छु? म आफ्नो समय, शक्‍ति र स्रोतसाधन आफ्नो लागि पृथ्वीमा धनसम्पत्ति थुपार्न प्रयोग गर्दै छु कि स्वर्गमा धनसम्पत्ति थुपार्न?”

१४. मिकी बहिनीको अनुभवले देखाएझैँ हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनेर मनन गर्नु किन राम्रो हो?

१४ अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुरा मनन गर्दा हामी सही निर्णय गर्न मदत पाउँछौँ। मिकी बहिनीले पनि त्यस्तै अनुभव गरिन्‌। तिनी भन्छिन्‌, “स्कुलको पढाइ सकिएपछि जनावरहरूबारे अध्ययन गर्ने मेरो ठूलो इच्छा थियो र म त्यसैलाई आफ्नो करिअर बनाउन चाहन्थेँ। तर मैले नियमित अग्रगामी गर्ने र आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने लक्ष्य पनि राखेकी थिएँ। मण्डलीका परिपक्व भाइबहिनीहरूले मलाई राम्रो सुझाव दिनुभयो। उहाँहरूले मलाई संसारमा करिअर बनाउन अनि आध्यात्मिक लक्ष्यहरू पनि पूरा गर्न सम्भव होला र भनेर राम्ररी सोचविचार गर्न भन्‍नुभयो। उहाँहरूले मलाई अन्त नजिकै छ भनेर पनि सम्झाउनुभयो। नयाँ संसारमा जनावरहरूबारे अध्ययन गर्न जत्ति पनि समय हुनेछ। त्यसैले मैले छोटो समयको सीपमूलक तालिम लिने निर्णय गरेँ। यसले गर्दा मैले अग्रगामी गर्न सजिलो हुने जागिर भेट्टाउन सकेँ। अनि पछि म प्रचारकहरूको निकै खाँचो भएको देश इक्वेडरमा सरेँ।” मिकी र तिनका पति अहिले त्यहाँ परिभ्रमण कार्य गर्दै छन्‌।

१५. मानिसहरूले चासो नदेखाए तापनि हामीले किन हरेस खानु हुँदैन? एउटा उदाहरण दिनुहोस्‌। (चित्रहरू पनि हेर्नुहोस्‌।)

१५ मानिसहरूले सुसमाचार सुन्‍न इन्कार गर्दा हामी निराश हुनु पर्दैन। किनकि तिनीहरू परिवर्तन हुन सक्छन्‌। येसुको भाइ याकुबबारे विचार गरौँ। तिनी येसुसँगै हुर्केका थिए। तिनले उहाँ मसीह हुनुभएको र उहाँले एकदमै प्रभावकारी ढङ्‌गमा मानिसहरूलाई सिकाउनुभएको देखेका थिए। तैपनि सुरुमा त तिनले येसुको चेला बन्‍ने छनौट गरेनन्‌। बरु येसु फेरि जीवित हुनुभएपछि मात्र उहाँको चेला बने, त्यो पनि एकदमै जोसिलो चेला।b (युह. ७:५; गला. २:९) आज पनि हाम्रा आफन्तहरूले वा हामीले सुसमाचार सुनाएका कसै-कसैले चासो नदेखाउन सक्छन्‌। तैपनि हरेस नखानुहोस्‌! यो कुरा सम्झिरहनुहोस्‌: अन्तको समयमा हामीले गर्नुपर्ने सबैभन्दा जरुरी काम भनेको प्रचारकार्य हो। तपाईँले अहिले भन्‍नुभएको कुराले तिनीहरूलाई पछि कुनै समयमा गएर कदम चाल्न उत्प्रेरित गर्न सक्छ। सायद तिनीहरूले महासङ्‌कष्ट सुरु भइसकेपछि मात्र कदम चाल्न पनि सक्छन्‌।c

व्यक्‍तिगत अध्ययन गरिरहेकी एउटी बहिनी बेग्लै आस्था राख्ने आफ्नी दिदीलाई फोन गर्छिन्‌, जो सानी छोरीलाई लिएर किनमेल गर्दै छिन्‌।

बेग्लै आस्था राख्ने आफन्तहरूलाई हामी किन साक्षी दिने मौका खोजिरहन्छौँ? (अनुच्छेद १५ हेर्नुहोस्‌)e


बाइबलका आधारभूत शिक्षाहरूको कदर गरिरहनुहोस्‌

१६. बाइबलको आधारभूत शिक्षाबाट तपाईँले कस्तो लाभ उठाउनुभएको छ? (“ती प्रयोग गरेर अरूलाई मदत गर्नुहोस्‌” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१६ सङ्‌गठनले उपलब्ध गराएका केही सामग्रीहरू बाइबलको शिक्षाबारे खासै थाह नपाएका व्यक्‍तिहरूको लागि तयार पारिएको हुन्छ। उदाहरणका लागि, हरेक हप्ता दिइने जनभाषणहरू, jw.org मा उपलब्ध केही लेख तथा भिडियोहरू अनि जनसंस्करण पत्रिकाहरू खासगरि गैर-साक्षीहरूको लागि तयार पारिएको हो। तर ती सामग्रीबाट हामीले पनि लाभ उठाउन सक्छौँ। यसले यहोवाप्रतिको हाम्रो प्रेम बढाउँछ, उहाँको वचनमाथिको विश्‍वास बलियो बनाउँछ अनि अरूलाई प्रभावकारी तरिकामा बाइबलको आधारभूत शिक्षा सिकाउन मदत गर्छ।—भज. १९:७.

ती प्रयोग गरेर अरूलाई मदत गर्नुहोस्‌

नयाँ व्यक्‍तिको लागि तयार पारिएको कुनै लेख, भिडियो वा भाषण अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सकिन्छ, विचार गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌:

  • ‘बाइबलको यो शिक्षालाई सही साबित गर्ने कस्तो प्रमाण दिइएको छ?’

  • ‘कसैलाई यो सत्य सिकाउँदा यहाँ चलाइएको उदाहरण म कसरी प्रयोग गर्न सक्छु?’

  • ‘यो सत्यबारे म कसलाई बताउन सक्छु र कहिले?’

१७. हामीले कस्ता अवस्थाहरूमा बाइबलका शिक्षाहरूमा मनन गरिरहनुपर्छ?

१७ हामीले यहोवाको सेवा गरेको लामो समय भइसकेको छ भने बाइबलको कुनै शिक्षालाई अझ प्रस्ट पारिँदा हामीलाई खुसी लाग्छ। तर सुरुमा सिकेका बाइबल सत्यहरूको पनि हामी निकै कदर गर्छौँ। किनकि ती सत्यहरूबाट हामी अहिले पनि लाभ उठाउन सक्छौँ। सङ्‌गठनबाट कुनै नयाँ निर्देशन आउँदा कहिलेकाहीँ हामीलाई आफ्नो सोचाइ छाँटकाँट गरेर त्यसअनुसार चल्न गाह्रो लाग्न सक्छ। त्यस्तो बेला हामी नम्र हुँदै यो सङ्‌गठनलाई सृष्टिकर्ता यहोवाले नै डोऱ्‍याउँदै हुनुहुन्छ भनेर सम्झन चाहन्छौँ, जो सबैभन्दा शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ। हामी वा हाम्रो प्रियजनले कुनै परीक्षा भोगिरहेका छौँ भने हामी धीरजी हुनुपर्छ र यहोवाले किन दुःखकष्ट रहिरहन दिनुभएको छ भनेर मनन गर्नुपर्छ। अनि अहिले हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम के हो भन्‍ने कुरा पनि बिर्सनु हुँदैन। त्यसो गऱ्‍यौँ भने आफ्नो समय, शक्‍ति र स्रोतसाधन कुन कुरामा खर्च गर्ने भनेर सही निर्णय गर्न सक्नेछौँ। बाइबलका आधारभूत शिक्षाहरूले हामीलाई अन्तसम्म वफादार रहन, प्रचारकार्यमा लागिरहन र बुद्धिमानी निर्णयहरू गर्न मदत गरिरहोस्‌!

बाइबलका यी आधारभूत शिक्षाहरूबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

  • यहोवा सृष्टिकर्ता हुनुहुन्छ।

  • परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुको कारण।

  • हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ।

गीत ९५ ज्योति झनै चहकिलो भयो

a जून १, २००७ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ १२-१६ मा भएको “किन सबै दुःखकष्टको चाँडै अन्त हुनेछ” लेख हेर्नुहोस्‌।

b मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌ पुस्तिकाको पाठ ८ हेर्नुहोस्‌।

c मे २०२४ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ ८-१३ मा भएको “यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?” लेख हेर्नुहोस्‌।

d चित्रको व्याख्या: एल्डरहरूको निकायले एक जना एल्डरको सुझाव स्विकार्दैन। तिनी राती आकाशका ताराहरूलाई नियाल्छन्‌ र सृष्टिकर्ता यहोवा कत्ति शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ भन्‍ने कुरामा मनन गर्छन्‌। त्यसपछि तिनी आफ्नो सोचाइ छाँटकाँट गर्छन्‌।

e चित्रको व्याख्या: एउटी साक्षी बहिनी व्यक्‍तिगत अध्ययनको दौडान हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने प्रमाण केलाउँछिन्‌। त्यसपछि तिनी आफ्नी दिदीलाई फोन गरेर साक्षी दिन्छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने