अध्ययन लेख ३१
गीत १११ हामी आनन्दित हुनुको कारण
के तपाईँले ‘सन्तुष्ट हुने रहस्य’ सिक्नुभएको छ?
“जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।”—फिलि. ४:११.
सिक्न सकिने कुरा
सन्तुष्ट हुन हामीले कृतज्ञता विकास गर्नुपर्छ, एकचित्तको र नम्र हुनुपर्छ अनि भविष्यको आशाबारे मनन गर्नुपर्छ।
१. सन्तुष्ट हुनु भनेको के हो र के होइन?
के तपाईँ सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट व्यक्तिले आफूसित भएका कुराहरूमा ध्यान दिन्छन्। यसले गर्दा तिनी आनन्दित हुन्छन् र तिनले मनोशान्ति पाउँछन्। तिनी आफूसित नभएका कुराहरूबारे सोचेर खिन्न हुँदैनन् वा रिसाउँदैनन्। तर सन्तुष्ट हुनु भनेको कुनै कुराको पर्बाह नगरी चुपचाप हात बाँधेर बस्नु त होइन। उदाहरणको लागि, यहोवाका उपासकहरूले आफ्नो सेवा विस्तार गर्न खोज्नु राम्रो कुरा हो। (रोमी १२:१; १ तिमो. ३:१) तर कुनै सुअवसर आफूले आशा गरेको समयमा पाएनन् भने पनि तिनीहरू आफ्नो आनन्द गुमाउँदैनन्।
२. आफूसित भएका कुराहरूमा सन्तुष्ट भएनौँ भने नतिजा कस्तो हुन सक्छ?
२ हामी आफूसित भएका कुराहरूमा सन्तुष्ट भएनौँ भने नतिजा एकदमै नराम्रो हुन सक्छ। धेरै कुरा खोज्ने व्यक्तिहरू भौतिक कुरा जोरजाम गर्नकै लागि भनेर घण्टौँ काममा खटिन्छन्। दुःखको कुरा, यहोवाका केही उपासकहरूसमेत आफ्नो चाहना पूरा गर्न पैसा वा सरसामान चोर्ने हदसम्म पुगेका छन्। तिनीहरूले यस्तो सोचेका हुन सक्छन्, ‘यो त मैले पाउनै पर्ने कुरा हो,’ ‘मैले यो कुरा पाउन चाहेको धेरै समय भइसक्यो’ अथवा ‘अहिले यो पैसा लिन्छु, पछि फिर्ता गरिहाल्छु नि!’ तर हामीले चोरी गऱ्यौँ भने यहोवा दुःखी हुनुहुनेछ र उहाँको बदनाम हुनेछ। (हितो. ३०:९) कोही-कोही आफूले चाहेको सुअवसर नपाएकोले यति निराश भएका छन् कि तिनीहरूले यहोवाको सेवा गर्नै छोडेका छन्। (गला. ६:९) यहोवालाई जीवन समर्पण गरेको व्यक्तिसमेत कसरी त्यो हदसम्म पुग्न सक्छन्? तिनी आफूसित भएको कुरामा सन्तुष्ट हुन छोडेकोले त्यस्तो हुन सक्छ।
३. फिलिप्पी ४:११, १२ बाट हामी कुन कुरा सिक्न सक्छौँ?
३ हामी सबैले नै सन्तुष्ट हुन सिक्न सक्छौँ। प्रेषित पावलले यस्तो लेखे: “जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।” (फिलिप्पी ४:११, १२ पढ्नुहोस्।) पावलले यी शब्दहरू लेख्दा तिनी झ्यालखानामा थिए। तैपनि तिनले आफ्नो आनन्द गुमाएका थिएनन्। तिनले सन्तुष्ट हुने ‘रहस्य सिकेका थिए।’ पावलका शब्दहरू र तिनको अनुभवबाट जस्तोसुकै अवस्थामा पनि सन्तुष्ट हुन सकिन्छ भनेर सिक्न सक्छौँ। हामीलाई आफ्नो अवस्थामा सन्तुष्ट हुन स्वतः सजिलो नहुन सक्छ तर हामीले सन्तुष्ट हुन भने सिक्नै पर्छ। के गऱ्यौँ भने हामी सन्तुष्ट हुन सक्छौँ, विचार गरौँ।
कृतज्ञता विकास गर्नुहोस्
४. कृतज्ञ भयौँ भने हामी किन सन्तुष्ट हुन सक्छौँ? (१ थिस्सलोनिकी ५:१८)
४ कृतज्ञ छौँ भने हामी सन्तुष्ट हुन सक्छौँ। जस्तै, हामी आफूसित भएका कुराहरूमा सन्तुष्ट छौँ भने आफूले नपाएका कुराहरूबारे अचाक्ली चिन्ता गर्नेछैनौँ। (१ थिस्सलोनिकी ५:१८ पढ्नुहोस्।) अहिले आफूले पाइरहेको असाइनमेन्टप्रति कृतज्ञ भयौँ भने नयाँ असाइनमेन्ट पाउनेबारे मात्र सोचेर बस्नेछैनौँ। बरु पाएको असाइनमेन्ट कसरी राम्रोसँग पूरा गर्ने भन्ने कुरामा ध्यान दिन सक्नेछौँ। हामी कृतज्ञ हुनु महत्त्वपूर्ण छ भनेर यहोवालाई थाह छ। त्यसैले प्रार्थना गर्दा उहाँलाई धन्यवाद दिन पनि आग्रह गर्नुभएको छ। हामी कृतज्ञ भयौँ भने “परमेश्वरको शान्ति” पाउनेछौँ, “जुन मानिसको समझभन्दा बाहिरको छ।”—फिलि. ४:६, ७.
५. इस्राएलीहरू के-कस्ता कुराहरूको लागि कृतज्ञ हुनुपर्थ्यो? (चित्र पनि हेर्नुहोस्।)
५ इस्राएलीहरूबारे विचार गरौँ। तिनीहरूले मिश्रमा पाइरहेको खानेकुरा खान नपाएकोले यहोवासित थुप्रै चोटि गनगन गरे। (गन्ती ११:४-६) हुनत निर्जनभूमिमा जीवन बिताउन पक्कै सजिलो थिएन। तैपनि तिनीहरू सन्तुष्ट हुन सक्थे। कसरी? परमेश्वरले तिनीहरूको निम्ति गरिदिनुभएका कुराहरूबारे मनन गरेर अनि त्यसप्रति कृतज्ञ भएर। तिनीहरूले मिश्रमा दासको रूपमा कष्टकर जीवन बिताइरहेका थिए। तर यहोवाले मिश्रीहरूमाथि दस विपत्ति ल्याउनुभयो र इस्राएलीहरूलाई छुटकारा दिनुभयो। मिश्रबाट निस्कँदा तिनीहरूले ‘मिश्रीहरूको सुनचाँदी र लुगाफाटा लुटे।’ (प्रस्थ. १२:३५, ३६) फारोको सेना इस्राएलीहरूलाई लाल समुद्रसम्मै खेद्दै आयो। त्यतिबेला यहोवाले चमत्कार गरेर समुद्रलाई दुई फ्याक पारिदिनुभयो। पछि इस्राएलीहरू निर्जनभूमि हुँदै यात्रा गर्दा परमेश्वरले तिनीहरूलाई भोकै राख्नुभएन। बरु हरेक दिन मन्नको प्रबन्ध गरिदिनुभयो। तैपनि तिनीहरू किन सन्तुष्ट हुन सकेनन्? खान नपाएकोले त होइन बरु यहोवाले तिनीहरूलाई जे-जति दिइरहनुभएको थियो, त्यसप्रति कृतज्ञ नभएकोले।
इस्राएलीहरू किन असन्तुष्ट भए? (अनुच्छेद ५ हेर्नुहोस्)
६. हामी कसरी कृतज्ञता विकास गर्न सक्छौँ?
६ तपाईँ कसरी कृतज्ञता विकास गर्न सक्नुहुन्छ? पहिलो, आफूसित भएका राम्रा कुराहरूबारे विचार गर्न हरेक दिन समय निकाल्नुहोस्। आफू कृतज्ञ हुन सकेको २/३ वटा कुरा लेख्न पनि सक्नुहुन्छ। (विला. ३:२२, २३) दोस्रो, कृतज्ञता व्यक्त गर्नुहोस्। अरूले तपाईँको निम्ति गरिदिएका कुराहरूको लागि धन्यवाद दिनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, हरेक दिन यहोवालाई धन्यवाद दिन नबिर्सनुहोस्। (भज. ७५:१) तेस्रो, कृतज्ञ मनोभाव भएका व्यक्तिहरूलाई साथी बनाउनुहोस्। त्यस्ता व्यक्तिहरूसित सङ्गत गर्नुहुन्छ भने तपाईँमा पनि त्यो गुण सर्छ। तर गनगन गर्ने व्यक्तिहरूसित सङ्गत गर्नुहुन्छ भने तपाईँ पनि त्यस्तै हुनुहुनेछ। (व्यव. १:२६-२८; २ तिमो. ३:१, २, ५) हामी अरूलाई धन्यवाद दिने मौका खोजिरहन्छौँ भने आफ्ना समस्याहरू वा आफूसित नभएका कुराहरूमै घोरिएर बस्नेछैनौँ। बरु आफूसित जे छ, त्यसमै सन्तुष्ट हुनेछौँ।
७. असन्तुष्ट हुँदा आकी बहिनीले के गरिन् र नतिजा कस्तो भयो?
७ इन्डोनेसियामा बस्ने आकी बहिनीको अनुभव विचार गरौँ। तिनी भन्छिन्: “कोभिड-१९ महामारीको बेला मैले आफ्नो अवस्थालाई अरू भाइबहिनीहरूको अवस्थासित तुलना गर्न थालेँ। त्यसपछि त म साह्रै असन्तुष्ट भएँ।” (गला. ६:४) तिनलाई आफ्नो सोचाइ परिवर्तन गर्न केले मदत गऱ्यो? तिनी भन्छिन्: “मैले हरेक दिन पाइरहेका आशिष्हरूबारे अनि परमेश्वरको सङ्गठनको भाग भएकोमा आफूले पाएका थुप्रै राम्रा कुराहरूबारे मनन गर्न थालेँ। त्यसपछि ती कुराहरूको लागि यहोवालाई धन्यवाद पनि दिन थालेँ। यसो गर्दा फेरि सन्तुष्ट हुन सकेँ।” तपाईँको मनमा नकारात्मक कुराहरू खेलिरहेको छ भने तपाईँ पनि आकी बहिनीले जस्तै कदम चाल्न सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाईँ कृतज्ञ हुन सक्नुहुनेछ।
एकचित्तको र नम्र हुनुहोस्
८. एकचोटि बारुकलाई के भयो?
८ भविष्यवक्ता यर्मियाका सचिव बारुकबारे विचार गरौँ। तिनले पाएको असाइनमेन्ट निकै गाह्रो थियो। यहोवाप्रति कृतज्ञ नरहेका इस्राएलीहरूलाई न्यायको सन्देश सुनाउने काममा तिनले यर्मियालाई साथ दिनुपर्ने थियो। तर बारुक एकचित्तको भएर त्यस काममा लागिरहन सकेनन्। किन? तिनले यहोवाले अह्राउनुभएको काममा ध्यान दिनुको साटो आफैमा अनि आफूले गर्न चाहेको कुरामा बढी ध्यान दिन थाले। त्यसैले यहोवाले यर्मियामार्फत बारुकलाई यसो भन्नुभयो: “तिमी भने आफ्नो लागि ठूलठूला कुरा खोज्दै छौ। त्यसो गर्न छोडिहाल।” (यर्मि. ४५:३-५) एक अर्थमा यहोवाले यसो भन्दै हुनुहुन्थ्यो, “तिमीसित अहिले जे छ, त्यसमै सन्तुष्ट होऊ।” बारुकले यहोवाले भन्नुभएअनुसारै गरे अनि उहाँको अनुमोदन पाइरहे।
९. हामी नम्र छौँ भने कुन कुरा स्विकार्नेछौँ? (१ कोरिन्थी ४:६, ७) (चित्रहरू पनि हेर्नुहोस्।)
९ कहिलेकाहीँ कसै-कसैलाई सेवाको कुनै खास सुअवसर आफूले पाउनुपर्छ जस्तो लाग्न सक्छ। तिनी एकदमै सिपालु, मेहनती वा अनुभवी हुन सक्छन् अथवा तिनीसित यी तीन वटै कुरा हुन सक्छ। तर तिनले चाहेको सुअवसर अरू कसैले पाउन सक्छन्। त्यस्तो अवस्थामा तिनले कुन कुरा सम्झन सक्छन्? तिनले पहिलो कोरिन्थी ४:६, ७ मा प्रेषित पावलले बताएका कुराहरूमा मनन गर्न सक्छन्। (पढ्नुहोस्।) हामीले पाएको जुनसुकै सुअवसर अनि हामीसित भएको जस्तोसुकै क्षमता यहोवाले नै दिनुभएको हो। यी कुराहरू हामी आफैले कमाएका होइनौँ वा हामी योग्य भएकोले पाएका पनि होइनौँ। बरु यहोवाको असीम अनुग्रहले गर्दा पाएका हौँ।—रोमी १२:३, ६; एफि. २:८, ९.
हामीसित भएको जुनसुकै क्षमता यहोवाको असीम अनुग्रहले गर्दा नै पाएका हौँ (अनुच्छेद ९ हेर्नुहोस्)b
१०. हामी कसरी नम्रता विकास गर्न सक्छौँ?
१० येसुले हाम्रो लागि बसाल्नुभएको उदाहरणमा मनन गरेर हामी नम्रता विकास गर्न सक्छौँ। उहाँले आफ्ना प्रेषितहरूको खुट्टा धोइदिनुभएको रात के भएको थियो, विचार गरौँ। प्रेषित युहन्नाले यस्तो लेखे: ‘येसुलाई [१] बुबाले सबै कुरा आफ्नो हातमा दिइसक्नुभएको छ र [२] आफू परमेश्वरबाट आएको हुँ अनि [३] परमेश्वरकहाँ नै जाँदै छु भनी थाह भइसकेको थियो। त्यसैले खाइरहेको ठाउँबाट उहाँ उठ्नुभयो अनि चेलाहरूको खुट्टा धुन थाल्नुभयो।’ (युह. १३:३-५) येसुले ‘चेलाहरूले पो मेरो खुट्टा धोइदिनुपर्ने हो’ भन्ने सोचाइ राख्न सक्नुहुन्थ्यो तर उहाँले त्यस्तो सोचाइ राख्नुभएन। पृथ्वीमा हुनुहुँदा उहाँले कहिल्यै पनि आरामदायी र सुविधासम्पन्न जीवनको चाह गर्नुभएन। (लुका ९:५८) येसु नम्र र सन्तुष्ट हुनुहुन्थ्यो। उहाँले हाम्रो लागि राम्रो नमुना बसाल्नुभयो।—युह. १३:१५.
११. डेनिस कसरी सन्तुष्ट हुन सके?
११ नेदरल्याण्ड्सका डेनिसको अनुभव विचार गरौँ। तिनी येसुजस्तै नम्र हुन निकै प्रयास गर्छन् तर सधैँ सजिलो भने भएको छैन। तिनी यसो भन्छन्: “कहिलेकाहीँ ममा घमन्ड वा असन्तुष्टिजस्ता दुर्गुणहरू बढ्दै गइरहेको पाउँछु। जस्तै, आफूले चाहेको सुअवसर अरू कसैले पाउँदा। त्यतिबेला म नम्रताबारे अध्ययन गर्छु। मैले JW लाइब्रेरी-मा नम्रतासम्बन्धी केही बाइबल पदहरू ट्याग गरेर राखेको छु। यसो गर्दा आफूलाई चाहिएको बेला ती पदहरू तुरुन्तै भेट्टाउन सक्छु। मैले फोनमा नम्रतासम्बन्धी केही भाषणहरू डाउनलोड पनि गरेको छु। म बेलाबेलामा ती भाषणहरू सुन्ने गर्छु।a हामीले गर्ने जुनसुकै काम आफ्नो होइन, यहोवाको महिमाको निम्ति गर्नुपर्छ भनेर मैले सिकेको छु। यहोवाले अहिले जे-जति गर्दै हुनुहुन्छ, त्यसमा हामीले सानो भूमिका मात्र खेलिरहेका हौँ।” आफ्नो अवस्थासित कता-कता असन्तुष्ट हुन थालेको जस्तो लाग्यो भने नम्रता विकास गर्न कदम चालिहाल्नुहोस्। यसो गर्नुभयो भने यहोवासितको तपाईँको सम्बन्ध बलियो हुनेछ अनि तपाईँ सन्तुष्ट हुन सक्नुहुनेछ।—याकु. ४:६, ८.
आशामा मनन गर्नुहोस्
१२. भविष्यको कस्तो आशाले हामीलाई सन्तुष्ट हुन मदत गर्छ? (यसैया ६५:२१-२५)
१२ भविष्यको सुन्दर आशामा मनन गऱ्यौँ भने हामी सन्तुष्ट हुन सक्नेछौँ। अहिले हाम्रो जीवनमा थुप्रै समस्याहरू छन् भनेर यहोवालाई थाह छ। तर उहाँले यसैयाको किताबमा ती सबै समस्याहरू हटाउने प्रतिज्ञा गर्नुभएको छ। (यसैया ६५:२१-२५ पढ्नुहोस्।) नयाँ संसारमा हामी सबैको आफ्नै घर हुनेछ। हामीले आफ्नो कामबाट सन्तुष्टि पाउनेछौँ। अनि हामीले पोसिलो र स्वादिष्ठ खानेकुरा खान पाउनेछौँ। हामीले आफ्नो अनि आफ्ना छोराछोरीको सुरक्षाबारे कहिल्यै चिन्ता गर्नुपर्नेछैन। (यसै. ३२:१७, १८; इज. ३४:२५) हो, हाम्रो भविष्य साँच्चै उज्ज्वल अनि सुरक्षित छ!
१३. हामीले कस्तो अवस्थामा भविष्यको आशामा झनै ध्यान केन्द्रित गर्नुपर्छ?
१३ हामीले भविष्यको आशामा ध्यान केन्द्रित गर्नु अहिले झनै महत्त्वपूर्ण छ। किन? किनभने हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ अनि हामी सबैले “असाध्यै कठिन” समस्याहरू भोगिरहेका छौँ। (२ तिमो. ३:१) यहोवाले हामीलाई डोऱ्याइ, बल र सहारा दिनुभएर हरेक दिन यस्ता समस्याहरू सहन मदत गर्दै हुनुहुन्छ। (भज. १४५:१४) साथै भविष्यको आशाले हामीलाई गाह्रो अवस्था सहन मदत गर्छ। तपाईँ आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्न निकै सङ्घर्ष गर्दै हुनुहुन्छ होला। तर के यस्तो सङ्घर्ष हामीले सधैँभरि गर्नुपर्ने हो? पक्कै पनि होइन! यहोवाले अहिले हाम्रो आवश्यकता पूरा गरिदिने अनि नयाँ संसारमा हामीले चाहेको भन्दा कता हो कता धेरै कुरा दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ९:१८; ७२:१२-१४) सायद तपाईँले बुढ्यौली, डिप्रेसन वा गम्भीर स्वास्थ्य समस्याले गर्दा असह्य पीडा भोगिरहनुभएको छ होला। के तपाईँले यस्तो पीडा सधैँ सहनुपर्ने हो? पक्कै होइन! नयाँ संसारमा रोगबिमार र मृत्यु हुनेछैन। (प्रका. २१:३, ४) कहिलेकाहीँ हामीलाई आफ्नो अवस्था देखेर दिक्क लाग्न सक्छ अनि रिस पनि उठ्न सक्छ। तर भविष्यको यस्तो आशाले हामीलाई अहिले पनि आफ्नो अवस्थासित सन्तुष्ट हुन मदत गर्छ। हामी अन्याय, प्रियजनको मृत्यु वा अरू कुनै परीक्षाहरू भोगिरहेको बेला पनि सन्तुष्ट हुन सक्छौँ। किन? किनभने अहिले हामीले भोगिरहेको “सङ्कष्ट क्षणिक” हो अनि नयाँ संसारमा कुनै पनि सङ्कष्ट भोग्नुपर्नेछैन भनेर हामीलाई थाह छ।—२ कोरि. ४:१७, १८.
१४. हामी आफ्नो आशालाई कसरी बलियो बनाउन सक्छौँ?
१४ आशाले हामीलाई सन्तुष्ट हुन मदत गर्छ। त्यसोभए हामी आफ्नो आशालाई कसरी बलियो बनाउन सक्छौँ? टाढाको कुरा प्रस्टसित देख्न चस्मा लगाउनुपर्ने हुन सक्छ। त्यसरी नै हामीले आफ्नो आशालाई बलियो बनाउन आफ्नो तर्फबाट पनि केही प्रयास गर्नुपर्ने हुन्छ। तब मात्र प्रमोदवनको आशा हाम्रो लागि अझ वास्तविक हुनेछ। के तपाईँलाई गुजारा कसरी चलाउने भनेर अचाक्ली चिन्ता लागिरहेको छ? त्यसो हो भने भविष्यमा पैसा नचाहिने अनि कोही पनि गरिब नहुने संसार कस्तो होला भनेर कल्पना गर्नुहोस्। के तपाईँ आफूले चाहेको कुनै सुअवसर नपाएकोले निराश हुनुहुन्छ? त्यसो हो भने यी सुअवसरहरू भविष्यमा हामी त्रुटिरहित हुने अनि सधैँभरि यहोवाको सेवा गर्न पाउने सुअवसरको तुलनामा केही पनि होइन भन्ने कुरामा मनन गर्नुहोस्। (१ तिमो. ६:१९) अहिले आफूले भोगिरहेको दुःखलाई बिर्सेर भविष्यको आशामा मनन गर्न सुरु-सुरुमा त गाह्रो होला। तर यसो गर्ने बानी नै बसाल्यौँ भने हामीलाई भविष्यको आशा झन्झन् वास्तविक लाग्नेछ।
१५. क्रिस्टाबाट हामी के सिक्न सक्छौँ?
१५ अब हामी क्रिस्टाको अनुभव विचार गरौँ, जसका पति डेनिसबारे हामीले अगाडि छलफल गरेका थियौँ। क्रिस्टालाई भविष्यको आशाले कसरी मदत गरेको छ? तिनी भन्छिन्: “मलाई मांसपेशी कमजोर हुँदै जाने गम्भीर रोग लागेको छ। म हिँडडुल गर्न सक्दिनँ। त्यसैले ह्विलचेयरको सहारा लिनुपर्छ। अनि धेरैजसो समय ओछ्यानमै थलिनुपर्छ। रोगले गर्दा मलाई असह्य दुखाइ हुन्छ। हालै मात्र डाक्टरले मेरो अवस्था झन्झन् बिग्रँदै जानेछ भनेर बताए। त्यो कुरा सुनेपछि मैले मनमनै यसो भनेँ, ‘मलाई भविष्यको आशा थाह छ तर उसलाई त्यो थाह छैन।’ म भविष्यको आशामा ध्यान दिन्छु। यसले गर्दा मैले मनोशान्ति पाएकी छु। हो, मलाई अहिले गाह्रो छ। तर नयाँ संसारमा पूरै स्वस्थ हुनेछु भन्ने कुरामा म ढुक्क छु।”
“उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन”
१६. यहोवाको भय मान्नेहरूलाई “केही कुराको अभाव हुँदैन” भनेर दाउदले किन भन्न सके?
१६ हामी सन्तुष्ट छौँ भने पनि समस्याहरू त भोग्नै पर्छ। राजा दाउदबारे विचार गरौँ। तिनले तीन जना छोराछोरीको मृत्युको पीडा सहनुपऱ्यो। तिनलाई गलत आरोप लगाइयो, धोका दिइयो अनि तिनले वर्षौँसम्म भगुवा जीवन बिताउनुपऱ्यो। तर यस्ता परीक्षाहरू भोगिरहेकै बेला तिनले यहोवाबारे यसो भने: “उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।” (भज. ३४:९, १०) तिनले किन त्यसो भन्न सके? किनभने चुनौतीहरू आइपरे तापनि यहोवाले आफूलाई आवश्यक कुराहरू दिइरहनुहुनेछ भन्ने कुरामा दाउद ढुक्क थिए। हामी पनि जीवनमा कुनै समस्या नै नभएको आशा त गर्न सक्दैनौँ। तर उहाँले हामीलाई आवश्यक कुराहरूको अभाव हुन दिनुहुनेछैन भन्ने कुरामा ढुक्क छौँ। (भज. १४५:१६) जस्तोसुकै परीक्षा आइपरे पनि यहोवाले हामीलाई सम्हाल्नुहुनेछ अनि हामी सन्तुष्ट हुन सक्नेछौँ।
१७. तपाईँ किन सन्तुष्ट हुने रहस्य सिकिरहन चाहनुहुन्छ?
१७ तपाईँ सन्तुष्ट हुनुभएको यहोवा चाहनुहुन्छ। (भज. १३१:१, २) त्यसैले सन्तुष्ट हुने रहस्य सिकिरहनुहोस्। कृतज्ञता विकास गर्न, एकचित्तको र नम्र हुन अनि आफ्नो आशालाई बलियो बनाउन कडा मेहनत गरिरहनुहोस्। यसो गर्नुभयो भने तपाईँले पनि यसो भन्न सक्नुहुनेछ: “हो . . . म सन्तुष्ट छु।”—भज. १६:५, ६.
गीत ११८ “हाम्रो विश्वास बढाइदिनुहोस्”
a उदाहरणको लागि, jw.org-मा नम्र कि अहङ्कारी? भन्ने विषयको बिहानको उपासना हेर्नुहोस्।
b चित्रको व्याख्या: एक भाइ यहोवाको उपासनाको लागि प्रयोग हुने भवनको मर्मत गर्दै छन्, साङ्केतिक भाषा सिकेकी एक बहिनी सम्मेलनमा अन्तरवार्ता दिँदै छिन् अनि एक भाइ जनभाषण दिँदै छन्।