अध्ययन लेख ३९
गीत ५४ ‘यही हो बाटो’
“उचित मनसाय” भएकाहरूलाई मदत गर्नुहोस्
“ज-जससित अनन्त जीवन पाउन लायकको उचित मनसाय थियो, तिनीहरू सबैले प्रभुमा विश्वास गरे।”—प्रेषि. १३:४८.
सिक्न सकिने कुरा
हामी कहिले बाइबल अध्ययनको प्रस्ताव राख्न सक्छौँ र सभाको निम्तो दिन सक्छौँ?
१. हामीले सुसमाचार सुनाउँदा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्? (प्रेषित १३:४७, ४८; १६:१४, १५)
प्रथम शताब्दीमा थुप्रैले येसुबारे सुसमाचार सुन्नेबित्तिकै उहाँमा विश्वास गरे। (प्रेषित १३:४७, ४८; १६:१४, १५ पढ्नुहोस्।) आज पनि केही मानिसहरू सुसमाचार सुन्न पाउँदा खुसी हुन्छन्। कोही-कोही भने सुरुमा हाम्रो सन्देशप्रति खासै चासो देखाउँदैनन्। तर पछि भने बाइबलबारे अझ धेरै कुरा सिक्न इच्छुक हुन्छन्। त्यसोभए प्रचारकार्यमा “उचित मनसाय” भएका व्यक्तिहरू भेट्दा हामीले के गर्नुपर्छ?
२. हाम्रो प्रचारकार्यलाई किसानले गर्ने कामसित किन तुलना गर्न सकिन्छ?
२ हाम्रो प्रचारकार्यलाई किसानले गर्ने कामसित तुलना गर्न सकिन्छ। किसानले आफ्नो बारीमा विभिन्न बोटबिरुवा लगाएका हुन्छन्। कुनै-कुनै बोटमा फल पाकिसकेको हुन्छ। त्यसैले किसानले ती टिप्छन्। तर अरू बोटहरूमा भने फल पाकेको हुँदैन। त्यसैले किसानले बारीमा पानी हाल्ने, गोडमेल गर्ने अनि नयाँ बिरुवा लगाउने काम पनि गरिरहेका हुन्छन्। त्यसरी नै सुसमाचार स्विकार्नेहरूलाई सकेसम्म छिटो ख्रिष्टको चेला बन्न हामीले मदत गर्नुपर्छ। तर सुरु-सुरुमा हाम्रो सन्देशप्रति त्यति चासो नदेखाएकाहरूलाई पनि तिनीहरूले सुसमाचार सुन्नु किन महत्त्वपूर्ण छ भनेर बुझाउन प्रयास गरिरहन्छौँ। (युह. ४:३५, ३६) कसलाई कसरी मदत गर्ने भनेर बुझ्न हामीले आफ्नो समझशक्ति चलाउनुपर्छ। यस लेखमा पहिलो भेटमै कसैले चासो देखाए भने हामी त्यतिबेलै के गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। साथै तिनलाई यहोवासित नजिक हुन अनि उहाँको उपासक बन्न कसरी मदत गर्न सक्छौँ, त्यो पनि विचार गर्नेछौँ।
कसैले चासो देखाउँदा
३. प्रचारकार्यमा चासो देखाउने व्यक्ति भेट्दा हामीले के गर्नुपर्छ? (१ कोरिन्थी ९:२६)
३ प्रचारकार्यमा चासो देखाउने मानिसहरू भेट्दा तिनीहरूलाई यहोवाबारे सिक्न र उहाँसित नजिक हुन हामीले तुरुन्तै मदत दिनुपर्छ। त्यस्ता व्यक्तिहरूसित पहिलो चोटि कुराकानी गर्दा नै बाइबल अध्ययनको प्रस्ताव राख्न र सभामा बोलाउन हिचकिचाउनु हुँदैन।—१ कोरिन्थी ९:२६ पढ्नुहोस्।
४. अध्ययन गर्न तुरुन्तै राजी भएको एउटा अनुभव बताउनुहोस्।
४ अध्ययनको प्रस्ताव राख्नुहोस्। कोही-कोही बाइबल अध्ययन गर्न तुरुन्तै राजी हुन्छन्। क्यानाडाको एउटा अनुभव विचार गरौँ। एउटी युवती हाम्रो ट्रली राखिएको ठाउँमा आइन् अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका लिइन्। हाम्री बहिनीले यो पुस्तिकाबाट निश्शुल्क बाइबल अध्ययन गर्न सकिन्छ भनेर बताइन्। ती युवती अध्ययन गर्न राजी भइन् अनि आफ्नो फोन नम्बर पनि दिइन्। त्यो बिहीबारको दिन थियो। त्यही दिन ती युवतीले हाम्री बहिनीलाई अध्ययन कहिले गर्न सकिन्छ भनेर मेसेज गरिन्। हाम्री बहिनीले “शनिबार आउँदा कस्तो छ” भनेर सोधिन्। तर ती युवतीले भनिन्, “भोलि नै आउनुस् न। म फ्रि छु!” तिनको अध्ययन शुक्रबारै सुरु भयो। अनि पर्सिपल्ट आइतबारको दिन सभामा पनि गइन्। त्यसपछि तिनले छिटो-छिटो उन्नति गरिन्।
५. कसै-कसैलाई अध्ययनको प्रस्ताव राख्नुअघि हामीले के गर्नुपर्ने हुन सक्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
५ हाम्रो सन्देश सुन्ने सबै जना ती युवतीजस्तै बाइबल अध्ययन गर्न तुरुन्तै राजी हुन्छन् भन्ने छैन। कसै-कसैलाई अलि समय लाग्न सक्छ। सुरुमा हामीले तिनीहरूलाई चासो लाग्ने विषयबारे कुरा गर्नुपर्ने हुन सक्छ। तर हामीले सकारात्मक मनोवृत्ति कायम राख्यौँ अनि ती व्यक्तिलाई चासो देखाइरह्यौँ भने छोटो समयमै बाइबल अध्ययन सुरु हुन पनि सक्छ। बाइबल अध्ययनको प्रस्ताव राख्दा हामी के भन्न सक्छौँ? अध्ययन सुरु गर्न सिपालु केही भाइबहिनीलाई यो प्रश्न सोधिएको थियो। तिनीहरूले कस्तो जवाफ दिए, विचार गरौँ।
तपाईँले के भन्नुभयो भने यी व्यक्तिहरूलाई बाइबल अध्ययन गरूँ जस्तो लाग्न सक्छ? (अनुच्छेद ५ हेर्नुहोस्)a
६. चासो देखाएको व्यक्तिसित छलफल अघि बढाउन हामी के भन्न सक्छौँ?
६ बाइबल अध्ययन सुरु गर्नेबारे प्रश्न सोधिएका केही अग्रगामी अनि प्रकाशकहरूले तिनीहरूको इलाकामा “अध्ययन गरौँ” वा “म तपाईँलाई सिकाउँछु” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्नु त्यति उपयुक्त छैन भनेर बताए। बरु “कुराकानी गरौँ,” “छलफल गरौँ” र “बाइबलको कुरा अझ राम्ररी बुझौँ” भन्नु प्रभावकारी भएको पाए। चासो देखाएको व्यक्तिसित छलफल अघि बढाउन तपाईँ यस्तै केही भन्न सक्नुहुन्छ, “हाम्रो मनमा उठ्ने विभिन्न प्रश्नको जवाफ बाइबलमा पाउन सक्छौँ नि!” वा “बाइबल धर्मको किताब मात्र होइन, यसबाट थुप्रै व्यावहारिक कुराहरू सिक्न सक्छौँ।” त्यसपछि यसो पनि भन्न सक्नुहुन्छ: “तपाईँले धेरै समय दिनुपर्दैन, १०-१५ मिनेटमै थुप्रै राम्रा कुराहरू सिक्न सक्नुहुन्छ।” यसरी अध्ययनको प्रस्ताव राख्दा “हरेक हप्ता भेटौँ” वा “सधैँ यही समयमा गरौँ” भनिराख्नु पर्दैन। त्यसो भन्यौँ भने ती व्यक्ति आत्तिन सक्छन्।
७. कसै-कसैले आफूले सिकिरहेको कुरा सत्य रहेछ भनेर कहिले महसुस गर्छन्? (१ कोरिन्थी १४:२३-२५)
७ सभाको निम्तो दिनुहोस्। पावलको समयका केही मानिसहरूले पहिलो चोटि सभा गएपछि यही नै सत्य रहेछ भन्ने बुझे। (१ कोरिन्थी १४:२३-२५ पढ्नुहोस्।) अहिले पनि अक्सर त्यस्तै हुन्छ। धेरैजसोले सभा आउन थालेपछि छिटोछिटो प्रगति गर्छन्। त्यसोभए चासो देखाउने व्यक्तिलाई हामी कहिले सभाको निम्तो दिन सक्छौँ? हुनत हाम्रा सभाहरूबारे सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको पाठ १० मा मात्र छलफल गरिएको छ। तर त्यो पाठमा पुगेपछि मात्र सभाको निम्तो दिन्छु भनेर सोच्नु पर्दैन। तपाईँ सुरुको कुराकानीमै निम्तो दिन सक्नुहुन्छ। निम्तो दिँदा जनभाषणको विषय वा त्यस हप्ता छलफल गरिने प्रहरीधरहरा-को कुनै बुँदाबारे बताउन सक्नुहुन्छ।
८. कसैलाई सभाको निम्तो दिँदा हामी के-कस्ता कुराहरू बताउन सक्छौँ? (यसैया ५४:१३)
८ चासो देखाउने व्यक्तिलाई सभाको निम्तो दिँदा हाम्रा सभाहरू तिनलाई थाह भएको वा तिनी जाने गरेको धार्मिक कार्यक्रमहरूभन्दा कसरी फरक छ भनेर बताउनुहोस्। एक जना बाइबल विद्यार्थी पहिलो चोटि प्रहरीधरहरा छलफलमा उपस्थित हुँदा सञ्चालकले सबैको नाम लिएको देखेर छक्क परिन् र अध्ययन सञ्चालकलाई यसरी सोधिन्: “ओहो! उहाँलाई सबैको नाम थाह छ?” ती बहिनीले यसो भनिन्: “हामीलाई आफ्नो परिवारको सबै जनाको नाम थाह हुन्छ नि! यो पनि हाम्रो परिवारै हो। त्यसैले हामी सबैको नाम सम्झिने कोसिस गर्छौँ।” विद्यार्थीलाई त्यो कुरा आफू जाने गरेको चर्चभन्दा एकदमै फरक लाग्यो। साथै कसैलाई सभाको निम्तो दिँदा हाम्रा सभाहरू फरक हुनुको अरू कारणहरू पनि बताउन सक्नुहुन्छ। (यसैया ५४:१३ पढ्नुहोस्।) हामी सभामा यहोवाको उपासना गर्न, उहाँबाट सिक्न र एकअर्कालाई प्रोत्साहन दिन भेला हुन्छौँ। (हिब्रू २:१२; १०:२४, २५) त्यसैले हाम्रा सभाहरू व्यवस्थित हुन्छन् अनि त्यहाँ कुनै धार्मिक रीतिथितिहरू गरिँदैन। (१ कोरि. १४:४०) हामी सभामा सिक्न जान्छौँ। त्यसैले हामीले ध्यान दिन सकौँ भनेर सबै कुरा राम्ररी मिलाइएको हुन्छ। अनि सभामा हामी एउटा पार्टीको समर्थन गर्ने र अर्कोको विरोध गर्ने गर्दैनौँ। किनभने हामी राजनैतिक तवरमा तटस्थ रहन्छौँ। साथै आफ्नो धारणा अघि सार्न हामी वादविवाद वा चर्को बहस गर्दैनौँ। विद्यार्थीलाई सभाको निम्तो दिँदा सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियो पनि देखाउन सक्नुहुन्छ। यसो गर्दा तिनलाई सभामा आउन सजिलो लाग्नेछ।
९-१०. नयाँ व्यक्तिलाई सभामा आउन सजिलो होस् भनेर हामी तिनलाई के-कस्ता कुराहरू बताउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
९ कोही-कोहीलाई भने सभामा गएँ भने आफूलाई पनि ख्रिष्टियन बनाउने हो कि भन्ने डर लाग्न सक्छ। त्यसैले तिनीहरू सभामा आउन हिचकिचाउन सक्छन्। तिनीहरूलाई सभामा आउन सजिलो महसुस होस् भनेर केही कुराहरू बताउन सक्छौँ। जस्तै: हाम्रा सभाहरूमा नयाँ व्यक्तिहरू पनि आउँछन् तर हामी कसैलाई पनि सभामा केही भन्न वा गर्न दबाब दिँदैनौँ। सभामा पूरै परिवार आउन सकिन्छ; स-साना केटाकेटीलाई पनि ल्याउन सकिन्छ। केटाकेटीलाई छुट्टै राखेर सिकाइँदैन बरु तिनीहरू आमाबुबासँगै बसेर एउटै कुरा सिक्न सक्छन्। त्यसैले आफ्ना छोराछोरी कोसित छन् अनि के सिक्दै छन् भनेर आमाबुबाले चिन्ता गर्नु पर्दैन। (व्यव. ३१:१२) हाम्रा सभाहरूमा चन्दा उठाइँदैन। बरु हामी येसुको यो आज्ञा पालन गर्छौँ: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:८) सभामा आउँदा राम्रो-राम्रो अनि महँगो लुगा लगाउनुपर्छ भन्ने छैन भनेर पनि बताउन सक्नुहुन्छ। किनभने परमेश्वर मानिसको बाहिरी रूप होइन, हृदय हेर्नुहुन्छ।—१ समु. १६:७.
१० तपाईँले निम्तो दिनुभएको व्यक्ति सभा आए भने तिनलाई न्यानो स्वागत गर्नुहोस् र सजिलो महसुस गराउनुहोस्। तिनलाई एल्डरहरू र अरू भाइबहिनीसित चिनापर्ची गराइदिनुहोस्। सबैले मित्रैलो व्यवहार गरेको देख्दा तिनलाई फेरि-फेरि सभामा आऊँ जस्तो लाग्न सक्छ। तिनीसित बाइबल छैन भने वक्ताले चलाएका पदहरू तपाईँकै बाइबलबाट देखाइदिनुहोस्। छलफल भइरहेको अध्ययन सामग्री पनि सँगसँगै हेर्न मदत दिनुहोस्।
कुनै व्यक्ति जत्ति चाँडो सभामा आउन थाल्छन्, तिनले त्यत्ति नै चाँडो प्रगति गर्न सक्नेछन् (अनुच्छेद ९-१० हेर्नुहोस्)
बाइबल अध्ययन सुरु हुँदा
११. विद्यार्थीले आफ्नो समय र अवस्थाबारे बताइसकेका छन् भने हामीले के गर्नुपर्छ?
११ कसैसित अध्ययन सुरु भयो भने हामीले के-कस्ता कुरा मनमा राख्नुपर्छ? विद्यार्थीले तपाईँलाई आफ्नो समय र अवस्थाबारे बताइसकेका छन् भने त्यसलाई बेवास्ता नगर्नुहोस्। जस्तै: अध्ययनको लागि समय मिलाइसकेको छ भने त्यही समयमा जानुहोस्। तपाईँको इलाकाका मानिसहरू समयलाई त्यति वास्ता गर्दैनन् भने पनि तपाईँ त्यसो नगर्नुहोस्। तिनीसित पहिलो चोटि अध्ययन गर्दै हुनुहुन्छ भने धेरै लामो अध्ययन नगर्नुहोस्। केही अनुभवी प्रकाशकहरू विद्यार्थी अझ धेरै सिक्न चाहन्छन् भने पनि अध्ययन छिट्टै सकाउनु राम्रो हो भनी सुझाव दिन्छन्। साथै आफै मात्र धेरै नबोल्नुहोस्। बरु विद्यार्थीलाई आफ्नो कुरा बताउने मौका दिनुहोस्।—हितो. १०:१९.
१२. अध्ययन सुरु भएदेखि नै हामीले विद्यार्थीलाई के गर्न मदत गर्नुपर्छ?
१२ अध्ययन सुरु भएदेखि नै हामीले विद्यार्थीलाई यहोवा र येसुलाई चिन्न र उहाँहरूप्रतिको प्रेम विकास गर्न मदत गर्नुपर्छ। विद्यार्थीलाई सिकाउँदा आफ्नो विचार वा धारणा नभई परमेश्वरको वचनबाट सिकाउनुहोस्। (प्रेषि. १०:२५, २६) यस सन्दर्भमा प्रेषित पावलले राम्रो उदाहरण बसाले। तिनले मानिसहरूलाई सिकाउँदा आफूतर्फ नभई येसुतर्फ ध्यान खिचे। त्यसो गर्दा मानिसहरूले येसुलाई पठाउनुहुने यहोवालाई अझ राम्ररी चिन्न र उहाँलाई प्रेम गर्न मदत पाउने थिए। (१ कोरि. २:१, २) नयाँ चेलाहरूले सुन, चाँदी र बहुमूल्य रत्नसित तुलना गर्न सकिने असल गुणहरू विकास गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर पावलले बताए। (१ कोरि. ३:११-१५) जस्तै: विश्वास, बुद्धि, समझ र यहोवाको भय। (भज. १९:९, १०; हितो. ३:१३-१५; १ पत्रु. १:७) पावलको अनुकरण गर्दै आफ्नो विद्यार्थीलाई विश्वास बलियो बनाउन अनि मायालु बुबा यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न मदत गर्नुहोस्।—२ कोरि. १:२४.
१३. विद्यार्थीलाई मदत गर्दा हामी कसरी धीरजी र व्यावहारिक हुन सक्छौँ? (२ कोरिन्थी १०:४, ५) (चित्र पनि हेर्नुहोस्।)
१३ विद्यार्थीलाई सिकाउँदा येसुजस्तै धीरजी र व्यावहारिक हुनुहोस्। तिनलाई अप्ठ्यारोमा पार्ने प्रश्नहरू नसोध्नुहोस्। यदि तिनलाई कुनै कुरा बुझ्न गाह्रो भइरहेको छ भने अध्ययनलाई अगाडि बढाएर त्यसबारे पछि छलफल गर्न सक्नुहुन्छ। तिनलाई कुनै सत्य स्विकार्न गाह्रो लागिरहेको छ भने जबरजस्ती नगर्नुहोस् बरु त्यसबारे सोच्न समय दिनुहोस्। यसो गर्दा सत्य तिनको मनसम्मै पुग्न पाउनेछ। (युह. १६:१२; कल. २:६, ७) बाइबलमा झूटा शिक्षाहरूलाई “गहिरो जरा गाडेर बसेका कुराहरू”-सित तुलना गरिएको छ। (२ कोरिन्थी १०:४, ५ पढ्नुहोस्।) मूल भाषामा यहाँ गढ अर्थात् किल्लालाई बुझाउने शब्द प्रयोग गरिएको छ। विद्यार्थीको मनमा गहिरो जरा गाडेर बसेको झूटा शिक्षाहरू बलियो गढजस्तै हो। त्यसलाई सुरुमै ढाल्न खोज्नुको साटो यहोवालाई आफ्नो गढ अर्थात् शरणस्थान बनाउन तिनलाई मदत गर्नुपर्छ।—भज. ९१:९.
बाइबल सत्य विद्यार्थीको मनसम्म पुग्न समय लाग्छ; त्यसैले जबरजस्ती नगर्नुहोस् (अनुच्छेद १३ हेर्नुहोस्)
नयाँ व्यक्तिहरू सभामा आउँदा
१४. सभामा आएका नयाँ व्यक्तिहरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?
१४ यहोवा हामीले कसैसित पनि जात, पृष्ठभूमि वा सामाजिक ओहदाको आधारमा व्यवहार गरेको चाहनुहुन्न। (याकु. २:१-४, ९) त्यसोभए हामी सभामा आएका नयाँ व्यक्तिहरूलाई कसरी प्रेम देखाउन सक्छौँ?
१५-१६. हामी सभामा आएका नयाँ व्यक्तिहरूलाई कसरी सजिलो महसुस गराउन सक्छौँ?
१५ कोही-कोही हाम्रो सभामा के हुँदो रहेछ भनेर हेर्न मात्र आएका हुन सक्छन्। अथवा तिनलाई अर्कै इलाकामा बस्ने कसैले हाम्रो सभामा जान भनेका हुन सक्छन्। त्यसैले त्यस्ता व्यक्तिहरूसित कुरा गर्न हामी आफै अग्रसर हुनुपर्छ। मित्रैलो हुनुहोस् तर ती व्यक्तिलाई अप्ठ्यारोमा नपार्न पनि होसियार हुनुहोस्। तिनलाई आफूसँगै बस्न बोलाउनुहोस्। आफ्नो बाइबल र छलफल भइरहेको अध्ययन सामग्री तिनलाई पनि देखाउनुहोस् अथवा तिनलाई बाइबल र अध्ययन सामग्रीको एक प्रति दिन सक्नुहुन्छ। तिनलाई अरू तरिकामा पनि सजिलो महसुस गराउन सक्नुहुन्छ। हाम्रा एक भाइले सभाभवनमा आएका एक पुरुषलाई स्वागत गरे। तर ती पुरुषले आफ्नो लुगा अरूको जस्तो राम्रो नभएकोले अप्ठ्यारो लागिरहेको कुरा बताए। ती भाइले उनलाई सजिलो महसुस गराए अनि यहोवाका साक्षीहरू पनि अरूजस्तै साधारण मानिसहरू नै हुन् भनेर बताए। ती पुरुषले पछि बप्तिस्मा गरे तर आफू सुरुमा सभा आउँदा ती भाइले देखाएको मित्रैलो व्यवहार उनले कहिल्यै बिर्सेनन्। तर होसियार हुनुपर्ने कुरा पनि छ। सभाअघि वा पछि नयाँ व्यक्तिहरूसित कुरा गर्दा व्यक्तिगत चासो देखाउनु राम्रो हो तर बढी नै खोजीनीति भने नगर्नुहोस्।—१ पत्रु. ४:१५.
१६ हामी अर्को तरिकामा पनि सभामा आएकाहरूलाई सजिलो महसुस गराउन सक्छौँ। एकअर्कासित कुराकानी गर्दा, टिप्पणी दिँदा र सभाको कुनै भाग प्रस्तुत गर्दा बेग्लै आस्था भएको व्यक्तिलाई ठेस पुग्न सक्ने कुनै पनि कुरा भन्नु हुँदैन वा तिनीहरूको आलोचना गर्नु हुँदैन। यसरी तपाईँ तिनीहरूको विश्वासको कदर गरेको देखाउन सक्नुहुन्छ। (२ कोरि. ६:३; ति. २:८; ३:२) यस सन्दर्भमा जनभाषण दिने भाइहरू अझ होसियार हुनुपर्छ। साथै तिनीहरूले नयाँ व्यक्तिहरूले बुझ्न सक्ने गरी भाषण दिनुपर्छ। जस्तै: भाषणमा तिनीहरूलाई बुझ्न गाह्रो हुन सक्ने शब्द चलाउँदा वा तिनीहरूलाई नौलो लाग्न सक्ने विषयबारे कुरा गर्दा त्यसबारे राम्ररी व्याख्या गरिदिन सक्छन्।
१७. “उचित मनसाय” भएका व्यक्तिहरू भेट्दा हाम्रो लक्ष्य के हुनुपर्छ?
१७ दिनप्रतिदिन चेला बनाउने काम झन्झनै जरुरी हुँदै गइरहेको छ। त्यसैले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका व्यक्तिहरू हामीले खोजिरहनुपर्छ। (प्रेषि. १३:४८) त्यस्ता व्यक्तिहरू भेट्टाउँदा हामीले तिनीहरूसित बाइबल अध्ययनको प्रस्ताव राख्न अनि तिनीहरूलाई सभामा बोलाउन हिचकिचाउनु हुँदैन। यसो गऱ्यौँ भने हामीले तिनीहरूलाई ‘जीवनतर्फ लैजाने बाटोमा’ हिँड्न सुरु गर्न मदत दिइरहेका हुन्छौँ।—मत्ति ७:१४.
गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा
a चित्रको व्याख्या: दुई जना भाइ बरन्डामा बसिरहेका एक भूतपूर्व सैनिकसित कुरा गर्दै छन्; दुई जना बहिनी एक व्यस्त आमासित छोटो कुराकानी गर्दै छन्।