धर्मलाई के हुनेछ?—बाइबलले यसबारे के बताउँछ?
के तपाईँ धर्मको कारण निराश वा दिक्क हुनुभएको छ? हुनत धर्मले कुनै-कुनै समाज र व्यक्तिहरूमा राम्रो प्रभाव पारेको छ तर यसले धेरै हदसम्म नराम्रो असर पनि गरेको छ। धर्म र युद्धको विश्वकोश (अङ्ग्रेजी) यसो भन्छ: “इतिहासका केही सबैभन्दा भयानक युद्धहरू लडिनुको कारण धार्मिक विचारधाराबीचको भिन्नताले गर्दा नै हो।” धर्मगुरुहरूले धर्मलाई अक्सर उपासनाको लागि नभई राजनैतिक स्वार्थ पूरा गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका छन्। अझ अरू धर्मगुरुहरूले यौन दुर्व्यवहार र ठगी जस्ता अपराधहरू ढाकछोप गर्न धर्मको आड लिएका छन्।
यदि तपाईँ धर्मको कारण निराश हुनुहुन्छ भने धर्मप्रति ईश्वरले कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर तपाईँले सोचिरहनुभएको होला। धेरैजसो धर्महरूले गरेका कामहरूले गर्दा ईश्वर तिनीहरूदेखि खुसी हुनुहुन्न भनेर बाइबल बताउँछ। उहाँले धर्मलाई के गर्नुहुनेछ भनेर पनि बाइबलमा भविष्यवाणीहरू गरिएका छन्। ईश्वरले संसारभरिका धर्महरूविरूद्ध एउटा ऐतिहासिक कदम चाल्नुहुनेछ भनी बाइबलमा प्रतीकात्मक ढङ्गमा बताइएको छ।
बाइबलअनुसार धर्मलाई भविष्यमा के हुनेछ?
भविष्यवाणी: बाइबलमा भएको प्रकाशको किताबमा महान् बेबिलोन नाम गरेकी एउटी वेश्याबारे बताइएको छ। त्यो वेश्या चहकिलो रातो रङ्गको जङ्गली जनावरमाथि बसेकी छे। तर पछि त्यो जङ्गली जनावरले त्यस वेश्यालाई आक्रमण गर्छ र मार्छ।—प्रकाश १७:३, ५, १६.
अर्थ: वेश्या अर्थात् महान् बेबिलोनले परमेश्वरले घृणा गर्नुहुने सबै किसिमका झूटा धर्मलाई चित्रण गर्छ। चहकिलो रातो रङ्गको जङ्गली जनावरले संयुक्त राष्ट्र सङ्घलाई र दस वटा सिङ भएको जनावरले विश्वभरिका सबै सरकारहरूलाई सङ्केत गर्छ। त्यो प्रतिकात्मक वेश्या चहकिलो रातो रङ्गको जङ्गली जनावरमाथि बसेकी छे। यसले झूटो धर्मले ती सरकारहरूलाई प्रभाव पारेको, यहाँसम्म कि त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको कुरालाई चित्रण गर्छ। पछि जङ्गली जनावरले त्यस वेश्यालाई मार्छ। यसले चाहिँ संयुक्त राष्ट्र सङ्घ र त्यसलाई समर्थन गर्ने राष्ट्रहरूले संसारका सबै झूटा धर्महरूलाई आक्रमण गरेर तिनीहरूलाई नाश गर्ने कुरालाई सङ्केत गर्छ। यो घटना साँच्चै भयानक हुनेछ।
झूटो धर्मलाई कसरी नाश गरिनेछ?
भविष्यवाणी: “तिमीले देखेका ती दस वटा सिङ र त्यस जङ्गली जनावरले त्यस वेश्यालाई घृणा गर्नेछन् र त्यसलाई उजाड ... पार्नेछन् अनि ... त्यसलाई आगोमा भस्म पार्नेछन्। किनकि परमेश्वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा [संसारका शासकहरूको हृदयमा] यो कुरा हालिदिनुहुनेछ। तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य तबसम्मको लागि त्यस जङ्गली जनावरलाई दिनेछन्। ... एकै दिनमा त्यसमाथि विपत्तिहरू आइपर्नेछ—मृत्यु, शोक र अनिकाल। अनि त्यसलाई आगोमा भस्म पारिनेछ किनकि यहोवाa परमेश्वर, जसले त्यसको न्याय गर्नुभयो, उहाँ शक्तिशाली हुनुहुन्छ।”—प्रकाश १७:१६, १७; १८:८.
अर्थ: परमेश्वरले “आफ्नो सोच” राष्ट्रहरूमा हालिदिनुहुनेछ। उहाँले ती राष्ट्रहरूलाई ‘तिनीहरूको राज्य’ अर्थात् तिनीहरूको राजनैतिक शक्ति संयुक्त राष्ट्र सङ्घलाई दिन उत्प्रेरित गर्नुहुनेछ। नतिजास्वरूप राष्ट्रहरूद्वारा शक्ति पाएको केही बेरमै संयुक्त राष्ट्र सङ्घले विश्वभरिका सबै झूटो धर्मलाई नाश गर्नेछ। यो घटना “एकै दिनमा” भए जसरी यति छिटो र अचम्मलाग्दो तरिकामा हुनेछ कि थुप्रै मानिस चकित हुनेछन्।—प्रकाश १८:२१.
झूटो धर्मलाई किन नाश गरिनेछ?
भविष्यवाणी: “त्यसका पापहरू चुलिएर आकाशसम्मै पुगेको छ अनि त्यसले गरेका अन्यायहरू परमेश्वरले सम्झनुभएको छ।”—प्रकाश १८:५.
अर्थ: झूटा धर्महरूले शताब्दियौँदेखि थुप्रै खराब कुराहरू गर्दै आएका छन्। परमेश्वरबाट सजाय पाउने हदसम्म पुऱ्याउने “त्यसका पापहरू”-मध्ये केही विचार गरौँ:
राजनैतिक संलग्नता। येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई राजनीतिमा भाग नलिन, बरु यहोवाको राज्यमा अर्थात् स्वर्गमा भएको सरकारमा आशा राख्न सिकाउनुभयो, जसले मानव सरकारलाई हटाउनेछ।b (दानिएल २:४४; मत्ति ६:९, १०; युहन्ना ६:१५; १८:३६) झूटो धर्मले भने यसको ठीक विपरीत गरिरहेको छ, मतलब मानव सरकारमाथि भरोसा राख्न सिकाइरहेको छ। परमेश्वरप्रति वफादार हुनुको सट्टा राजनीतिमा चुर्लुम्मै डुबेकोले महान् बेबिलोनलाई प्रकाशको किताबमा गरिएको भविष्यवाणीमा “अवैध यौनसम्बन्ध” राख्ने वा “महावेश्या” भनिनु उचित छ।—प्रकाश १७:१, २; याकुब ४:४.
हिंसा। झूटो धर्मलाई “पृथ्वीमा मारिएकाहरू सबै”-को मृत्युको जिम्मेवार ठहराइएको छ। (प्रकाश १८:२४) थुप्रै धर्महरूले आफ्ना सदस्यहरूलाई शान्तिमा रहन सिकाएका छैनन्। अझ अरू कतिले भने युद्ध र आतङ्कवादलाई समेत समर्थन गरेका छन्।
लोभ। झूटो धर्मले “विलासी जीवन” बिताइरहेको छ। (प्रकाश १७:४; १८:७) थुप्रै धर्महरूले आफ्नो शक्ति र अख्तियारमा भएका आफ्ना मानिसहरूको मदतले प्रशस्त धनसम्पत्ति थुपारेका छन्। यस्तो कामले तिनीहरू असाध्यै लोभी छन् भनेर देखाउँछ र यसले परमेश्वरलाई अप्रसन्न तुल्याउँछ।—तितस १:७.
झूट। झूटो धर्मले यस्ता शिक्षा र चलनहरूलाई बढवा दिन्छ जुन बाइबलको सत्यसित मेल खाँदैन।c मानिसहरूलाई अलमल्लमा पार्ने र परमेश्वरको अनादर गर्ने विभिन्न शिक्षा र चलनहरूको मुख्य श्रोत झूटो धर्म हो। त्यसैले यसलाई “पृथ्वीका घिनलाग्दा थोकहरूकी आमा” भनिएको छ।—प्रकाश १७:५; १८:२३.
के सबै धर्म नाश हुनेछन्?
हुनेछैनन्। प्रकाशको किताबमा एउटा “ठूलो भीड”-बारे बताइएको छ, जुन विभिन्न राष्ट्रका मानिसहरू मिलेर बनेको छ। (प्रकाश ७:९) यो ठूलो भीडका मानिसहरूले “सेता लुगा लगाएका” छन् अर्थात् तिनीहरू वफादार भएर परमेश्वरले स्विकार्नुहुने तरिकामा उहाँको उपासना गर्छन्। तिनीहरू “महासङ्कष्ट”-बाट बचाइनेछन्। झूटो धर्मलाई र बाँकी सबै शत्रुलाई परमेश्वरले नाश गर्नुहुने समयावधिलाई बाइबलमा महासङ्कष्ट भनिएको छ। (प्रकाश ७:१३, १४; १९:११, १९-२१) सेता लुगा लगाउने ठूलो भीडका मानिसहरू नै साँचो धर्म मान्ने मानिसहरू हुन्, जुन धर्म सधैँभरि रहिरहन्छ।d
तपाईँले झूटो धर्मको विनाशबारे थाह पाउनु किन जरुरी छ?
धर्महरूले गरेका दुष्ट कामहरूलाई परमेश्वरले स्विकार्नुहुन्न भनेर थाह पाउँदा तपाईँले सान्त्वना पाउन सक्नुहुन्छ। धर्मको कारण मानिसहरूले धेरै दुःख भोगिरहेका छन्। त्यसैले परमेश्वरलाई बदनाम गर्ने सबै किसिमका धर्महरू छिट्टै नाश हुनेछन् भनेर थाह पाउँदा भविष्यप्रति आशावादी हुन सक्नुहुन्छ।
परमेश्वरले स्विकार्नुहुने तरिकामा उपासना गर्न सम्भव छ भनेर ढुक्क हुनुहोस्। बाइबल यसो भन्छ: “साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन् किनकि परमेश्वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।” (युहन्ना ४:२३) उहाँले तिनीहरूलाई भन्नुहुन्छ: “यदि तिमीहरू त्यसका [महान् बेबिलोनका] पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।” (प्रकाश १८:४, ५) हो, परमेश्वरले मानिसहरूलाई सत्यबमोजिम उपासना गर्न निम्तो दिइरहनुभएको छ। (१ तिमोथि २:३, ४) यो निम्तो स्विकार्नेहरू सधैँभरि बाँच्नेछन् भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ।—१ युहन्ना २:१७.
a साँचो ईश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
b थप जानकारीको लागि परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
c केही उदाहरण विचार गर्न “के महान् बेबिलोनमा ‘ख्रिष्टियन’ धर्महरू पनि पर्छन्?” भन्ने पेटी हेर्नुहोस्।
d बाइबलले तपाईँलाई साँचो धर्म चिन्न कसरी मदत गर्छ भनेर थाह पाउन “साँचो धर्म कसरी चिन्न सक्छु?” भन्ने लेख पढ्नुहोस्।