प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी pp. २०-२५
  • यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन समयमा
  • प्रथम शताब्दीमा
  • आज हाम्रो समयमा
  • यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा हाम्रै भलाइ हुन्छ
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के तपाईँ सत्य र झूटबीचको भिन्‍नता छुट्ट्याउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी pp. २०-२५

अध्ययन लेख ८

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहनुहोस्‌

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ . . . म तिमीहरूलाई डोऱ्‍याउँछु।”​—यसै. ४८:१७.

सिक्न सकिने कुरा

यहोवा आज आफ्ना सेवकहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ र उहाँको डोऱ्‍याइ पछ्याउँदा हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ?

१. हामीले किन यहोवालाई आफ्नो गाइड बनाउनुपर्छ, उदाहरणसहित बताउनुहोस्‌।

कल्पना गर्नुहोस्‌, तपाईँ एउटा घना जङ्‌गलमा हराउनुभयो। त्यहाँ जङ्‌गली जनावरहरू, विषालु बोटबिरुवा अनि किराफट्याङ्‌ग्राहरू छन्‌। अनि बाटो पनि चट्टाने छ। तर तपाईँसित एक जना अनुभवी गाइड छन्‌ भने तपाईँ ढुक्क महसुस गर्नुहुन्छ। किनभने तिनलाई खतरा कहाँ छ भनेर थाह हुन्छ र तिनी त्यस्तो खतराबाट तपाईँलाई जोगाउन सक्छन्‌। अहिलेको संसारको अवस्था त्यस जङ्‌गलको जस्तै छ। चारैतिर विभिन्‍न किसिमका खतरा छन्‌, विशेषगरि आध्यात्मिक स्वास्थ्यलाई हानि पुऱ्‍याउने खतराहरू। तर हामीसित सर्वोत्कृष्ट गाइड यहोवा हुनुहुन्छ। उहाँ हामीलाई बाटोहरूमा आइपर्ने खतराहरूदेखि सचेत गराउनुहुन्छ र हाम्रो गन्तव्यतर्फ अर्थात्‌ नयाँ संसारमा अनन्त जीवनतर्फ डोऱ्‍याउनुहुन्छ।

२. यहोवा हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ?

२ यहोवा हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ? मुख्यतः आफ्नो वचन बाइबलद्वारा। तर उहाँ मानिसहरूलाई पनि प्रयोग गर्नुहुन्छ। जस्तै: “विश्‍वासी र बुद्धिमान्‌ दास,” जसले बुद्धिमानी निर्णयहरू गर्न मदत मिल्ने आध्यात्मिक भोजनको प्रबन्ध गर्छ। (मत्ति २४:४५) हामीलाई डोऱ्‍याउन यहोवा अन्य योग्य पुरुषहरूलाई पनि चलाउनुहुन्छ। जस्तै: क्षेत्रीय निरीक्षक र मण्डलीका एल्डरहरू। तिनीहरूले दिने प्रोत्साहन र निर्देशनबाट हामी गाह्रो अवस्थाको सामना गर्न मदत पाउँछौँ। अन्त आउनै लागेको यस कठिन समयमा यस्तो भरपर्दो डोऱ्‍याइ पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ नि, होइन? यस्तो डोऱ्‍याइले हामीलाई यहोवाको अनुमोदन पाइरहन र जीवनको बाटोमा हिँडिरहन मदत गर्छ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ तर कहिलेकाहीँ हामीलाई यहोवाको निर्देशन पछ्याउन गाह्रो लाग्न सक्छ। खासगरि त्यो निर्देशन त्रुटिपूर्ण मानिसहरूबाट आएको हो भने। किन? किनभने त्यो निर्देशन हामीलाई मन नपर्न सक्छ। अथवा त्यो निर्देशन त्यत्ति बुद्धिमानी छैन जस्तो लागेकोले यहोवाबाट आएको हुनै सक्दैन जस्तो लाग्न सक्छ। त्यस्तो बेलामा यहोवाले नै आफ्ना जनहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ र उहाँको डोऱ्‍याइअनुसार हिँड्‌दा आशिष्‌ पाउन सक्छौँ भन्‍ने कुरामा अझ विश्‍वस्त हुनु जरुरी छ। त्यसैले यस लेखमा हामी यी कुराहरू विचार गर्नेछौँ: (१) यहोवाले पुरातन समयमा आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउनुभयो? (२) आज उहाँ हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ? र (३) उहाँको डोऱ्‍याइअनुसार हिँडिरहँदा हामीलाई कस्तो लाभ हुन्छ?

चित्रहरूको सँगालो: १. मोसाले बोल्दा यहोसु आदरपूर्वक सुन्दै छन्‌। २. भविष्यवक्‍ता यसैयाले एउटा मुठाबाट बताउँदै गर्दा राजा हिजकियाह आदरपूर्वक सुन्दै छन्‌। ३. यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरू एकसाथ भेला भएका छन्‌। ४. आज परिचालक निकायको सभा।

पुरातन समयदेखि आज हाम्रो समयसम्मै यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन मानिसहरूलाई प्रयोग गर्दै आउनुभएको छ (अनुच्छेद ३ हेर्नुहोस्‌)


पुरातन समयमा

४-५. इस्राएलीहरूलाई डोऱ्‍याउन मोसालाई नै प्रयोग गरेको कुरा यहोवाले कसरी देखाउनुभयो? (आवरण चित्र हेर्नुहोस्‌।)

४ इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाएपछि तिनीहरूलाई डोऱ्‍याउन यहोवाले मोसालाई नियुक्‍त गर्नुभयो। उहाँले मोसामार्फत इस्राएलीहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट पार्न दृश्‍य प्रमाण दिनुभयो। जस्तै: उहाँले तिनीहरूलाई डोऱ्‍याउन दिनमा बादलको खामो र रातमा आगोको खामो प्रयोग गर्नुभयो। (प्रस्थ. १३:२१) त्यस खामोको पछिपछि लाग्दै मोसा र इस्राएलीहरू लाल समुद्रमा पुगे। त्यतिबेला मिश्रीहरूले इस्राएलीहरूलाई खेदिरहेका थिए। अगाडि विशाल समुद्र अनि पछाडि विशाल सेना! उम्कने कुनै बाटो नै छैन जस्तो लागेकोले तिनीहरू निकै आत्तिए। तिनीहरूलाई लाल समुद्रमा ल्याउनु मोसाको गल्ती थियो भनेर तिनीहरूले सोचे। तर त्यो कुनै गल्ती थिएन। यहोवाले जानीबुझीकनै मोसामार्फत तिनीहरूलाई त्यहाँ डोऱ्‍याउनुभएको थियो। (प्रस्थ. १४:२) त्यसपछि उहाँले तिनीहरूलाई अचम्मलाग्दो तरिकामा छुटकारा दिनुभयो।​—प्रस्थ. १४:२६-२८.

निर्जनभूमिमा इस्राएली पुरुष, स्त्री र केटाकेटीको ठूलो समूह बादलको खामोको पछिपछि हिँड्‌दै छन्‌।

निर्जनभूमिमा इस्राएलीहरूलाई डोऱ्‍याउन मोसा बादलको खामोमा भर परे (अनुच्छेद ४-५ हेर्नुहोस्‌)


५ त्यसको ४० वर्षपछिसम्म पनि मोसा इस्राएलीहरूलाई निर्जनभूमिमा डोऱ्‍याउन बादलको खामोमा भर परे।a त्यस ४० वर्षको कुनै खास समयावधिमा यहोवाले मोसाको पालको प्रवेशद्वारमा त्यो खामो राखिदिनुभयो, जुन सबै इस्राएलीले देख्न सक्थे। (प्रस्थ. ३३:७, ९, १०) त्यही खामोबाट यहोवा मोसासित बोल्नुहुन्थ्यो र उहाँबाट पाएको निर्देशन मोसा इस्राएलीहरूलाई सुनाउँथे। (भज. ९९:७) इस्राएलीहरूलाई डोऱ्‍याउन यहोवाले मोसालाई प्रयोग गरिरहनुभएको छ भन्‍ने कुराको स्पष्ट प्रमाण तिनीहरूकै आँखाअगाडि थियो।

मोसाले बोल्दा यहोसु आदरपूर्वक सुन्दै छन्‌।

मोसा र तिनका उत्तराधिकारी यहोसु (अनुच्छेद ५, ७ हेर्नुहोस्‌)


६. इस्राएलीहरूले यहोवाको प्रतिनिधिसित कस्तो व्यवहार गरे? (गन्ती १४:२, १०, ११)

६ तर दुःखको कुरा, मोसाले यहोवाको प्रतिनिधित्व गर्दै छन्‌ भन्‍ने कुराको स्पष्ट प्रमाण देख्दादेख्दै पनि अधिकांश इस्राएलीले त्यो कुरा स्विकारेनन्‌। (गन्ती १४:२, १०, ११ पढ्‌नुहोस्‌।) यहोवाले मोसालाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई तिनीहरूले बारम्बार इन्कार गरे। नतिजास्वरूप मोसालाई इन्कार गर्ने त्यस पुस्तालाई यहोवाले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न दिनुभएन।—गन्ती १४:३०.

७. यहोवाको डोऱ्‍याइअनुसार हिँडेका केही सेवकबारे बताउनुहोस्‌। (गन्ती १४:२४) (चित्र पनि हेर्नुहोस्‌।)

७ तर केही इस्राएली यहोवाको डोऱ्‍याइअनुसार हिँडे। जस्तै, यहोवाले यसो भन्‍नुभयो: ‘कालेबले पूरा तनमनले मेरो आज्ञा पालन गरे।’ (गन्ती १४:२४ पढ्‌नुहोस्‌।) यहोवाले कालेबलाई कनानमा तिनले रोजेकै जमिन इनामस्वरूप दिनुभयो। (यहो. १४:१२-१४) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नपाएका इस्राएलीहरूका सन्तानले पनि यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌ने सन्दर्भमा राम्रो उदाहरण बसाले। मोसापछि यहोसुलाई तिनीहरूको अगुवाको रूपमा नियुक्‍त गरियो र तिनीहरूले ‘यहोसु बाँचुन्जेल तिनलाई गहिरो आदर गरे।’ (यहो. ४:१४) फलस्वरूप यहोवाले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देश दिनुभयो।​—यहो. २१:४३, ४४.

८. राजाहरूको समयमा यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउनुभयो, व्याख्या गर्नुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

८ वर्षौँपछि यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन न्यायकर्ताहरूलाई नियुक्‍त गर्नुभयो। अनि राजाहरूको समयमा भविष्यवक्‍ताहरूलाई नियुक्‍त गर्नुभयो। वफादार राजाहरूले भविष्यवक्‍ताहरूको सल्लाह स्विकारे। जस्तै: भविष्यवक्‍ता नातानले राजा दाउदलाई सुधार्दा तिनले नम्र भई स्विकारे। (२ समु. १२:७, १३; १ इति. १७:३, ४) राजा यहोसापात डोऱ्‍याइको लागि भविष्यवक्‍ता याहजिएलमा भर परे र तिनले यहुदाका मानिसहरूलाई पनि ‘यहोवाका भविष्यवक्‍ताहरूमा विश्‍वास गर्न’ सल्लाह दिए। (२ इति. २०:१४, १५, २०) आपत्‌को समयमा राजा हिजकियाहले भविष्यवक्‍ता यसैयामार्फत परमेश्‍वरको मदत मागे। (यसै. ३७:१-६) यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा राजाहरूले आशिष्‌ पाए र पूरै इस्राएल राष्ट्र सुरक्षित भयो। (२ इति. २०:२९, ३०; ३२:२२) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन भविष्यवक्‍ताहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरा स्पष्टै थियो। तैपनि अधिकांश राजा र इस्राएलीहरूले यहोवाका भविष्यवक्‍ताहरूलाई तिरस्कार गरे।​—यर्मि. ३५:१२-१५.

भविष्यवक्‍ता यसैयाले एउटा मुठाबाट बताउँदै गर्दा राजा हिजकियाह आदरपूर्वक सुन्दै छन्‌।

राजा हिजकियाह र भविष्यवक्‍ता यसैया (अनुच्छेद ८ हेर्नुहोस्‌)


प्रथम शताब्दीमा

९. प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई डोऱ्‍याउन यहोवाले कसलाई चलाउनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

९ इस्वी संवत्‌ प्रथम शताब्दीमा यहोवाले ख्रिष्टियन मण्डली स्थापना गर्नुभयो। उहाँले त्यतिबेलाका ख्रिष्टियनहरूलाई कसरी डोऱ्‍याउनुभयो? उहाँले येसु ख्रिष्टलाई मण्डलीको शिर नियुक्‍त गर्नुभयो। (एफि. ५:२३) तर येसुले प्रत्येक चेलालाई व्यक्‍तिगत रूपमा निर्देशन दिनुभएन। बरु उहाँले नेतृत्व लिन यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूलाई चलाउनुभयो। (प्रेषि. १५:१, २) साथै मण्डलीहरूमा एल्डरहरू पनि नियुक्‍त गरियो।​—१ थिस्स. ५:१२; ति. १:५.

यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरू एकसाथ भेला भएका छन्‌।

यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरू (अनुच्छेद ९ हेर्नुहोस्‌)


१०. (क) प्रथम शताब्दीका अधिकांश ख्रिष्टियनले आफूले पाएको निर्देशनप्रति कस्तो प्रतिक्रिया देखाए? (प्रेषित १५:३०, ३१) (ख) बाइबलकालीन समयमा कसै-कसैले किन यहोवाका प्रतिनिधिहरूलाई स्विकारेनन्‌? (“कसै-कसैले किन स्पष्ट प्रमाणलाई इन्कार गरे?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१० के प्रथम शताब्दीका ख्रिष्टियनहरूले निर्देशनहरू स्विकारे? अधिकांश ख्रिष्टियनले राजीखुसीले ती निर्देशनहरू स्विकारे। अझ भन्‍नुपर्दा तिनीहरू आफूले पाएको “प्रोत्साहनले गर्दा रमाए।” (प्रेषित १५:३०, ३१ पढ्‌नुहोस्‌।) त्यसोभए आज यहोवा आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ?

कसै-कसैले किन स्पष्ट प्रमाणलाई इन्कार गरे?

आफ्ना जनहरूलाई डोऱ्‍याउन यहोवाले मानिसहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुराको स्पष्ट प्रमाणलाई किन कसै-कसैले इन्कार गरे? यसको एउटा मुख्य कारण हो, स्वार्थी मनोभाव। (युह. ३:१९; २ पत्रु. ३:३, ४; यहु. १८) जस्तै: यहोवाले मोसालाई अगुवा नियुक्‍त गर्नुभएको कुरालाई इस्राएलीहरूले इन्कार गरे किनभने तिनीहरू आफ्नो मानसम्मान गुम्ला कि भनेर अचाक्ली चिन्ता गर्थे। (गन्ती १६:१-३) येसुले थुप्रै चमत्कार गर्नुभए तापनि यस्तै कारणहरूले गर्दा थुप्रैले उहाँलाई इन्कार गरे। (युह. १२:३७, ४३) अर्कोतर्फ यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन नियुक्‍त पुरुषहरूलाई चलाइरहनुभएको छ भन्‍ने कुराको स्पष्ट प्रमाण नम्रहरूले देखेका छन्‌। (मत्ति १६:१६, १७) यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा सधैँ हाम्रै भलाइ हुन्छ।

आज हाम्रो समयमा

११. यहोवाले आज हाम्रो समयमा पनि नेतृत्व लिइरहेकाहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्‌।

११ यहोवा आज पनि आफ्ना जनहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ। उहाँ आफ्नो वचन बाइबल र मण्डलीका शिर येसु ख्रिष्टमार्फत त्यसो गर्दै हुनुहुन्छ। यहोवाले आज आफ्ना जनहरूलाई डोऱ्‍याउन मानिसहरूलाई प्रयोग गरिरहनुभएको छ भन्‍ने कुराको के कुनै प्रमाण छ? पक्कै छ। जस्तै: सन्‌ १८७० पछि भएका घटनाहरू विचार गरौँ। चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले परमेश्‍वरको राज्य स्थापना हुने सन्दर्भमा १९१४ एउटा महत्त्वपूर्ण वर्ष हुनेछ भनेर बुझ्नुभयो। (दानि. ४:२५, २६) उहाँहरू बाइबलका भविष्यवाणीहरूको आधारमा त्यस निष्कर्षमा पुग्नुभएको थियो। के उहाँहरूले गर्नुभएको अनुसन्धानमा यहोवाको डोऱ्‍याइ थियो? पक्कै थियो! सन्‌ १९१४ मा भएका घटनाहरूले परमेश्‍वरको राज्यले शासन गर्न थालेको कुरा स्पष्टै देखायो। प्रथम विश्‍वयुद्ध सुरु भयो, महामारी फैलियो, भूकम्पहरू गए र ठाउँठाउँमा अनिकाल पऱ्‍यो। (लुका २१:१०, ११) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन ती निष्कपट पुरुषहरूलाई प्रयोग गरिरहनुभएको थियो।

१२-१३. सुसमाचार सुनाउने र सिकाउने कामलाई तीव्रता दिन दोस्रो विश्‍वयुद्धको दौडान कस्ता प्रबन्धहरू गरिए?

१२ दोस्रो विश्‍वयुद्धको बेला के भयो, त्यो पनि विचार गरौँ। विश्‍व मुख्यालयका जिम्मेवार भाइहरूले प्रकाश १७:८ अध्ययन गरे। त्यस अध्ययनबाट तिनीहरूले दोस्रो विश्‍वयुद्ध नै आरमागेडोनको सुरुवात होइन भनेर बुझे। बरु केही समय शान्ति छाउनेछ र अझ धेरै मानिसलाई सुसमाचार सुनाउने मौका मिल्नेछ भनेर पनि बुझे। त्यसैले त्यतिबेला खासै व्यावहारिक नदेखिए पनि भाइहरूले वाचटावर बाइबल कलेज अफ गिलियडb स्थापना गरे। त्यस कलेजमार्फत मिसनरीहरूले संसारको विभिन्‍न ठाउँमा सुसमाचार सुनाउन र सिकाउन तालिम पाए। युद्ध भइरहेको बेला पनि मिसनरीहरूलाई विभिन्‍न ठाउँमा खटाइयो। साथै विश्‍वासी दासले सबै मण्डलीका भाइबहिनीलाई अझ राम्रो प्रचारक र शिक्षक हुन तालिम दिनको लागि ईश्‍वरतान्त्रिक सेवा स्कुलको पाठ्यक्रमकोc प्रबन्ध मिलायो। यसरी परमेश्‍वरका जनहरू अझ विस्तृत रूपमा साक्षीकार्यमा लाग्न तयार भए।

१३ त्यस कठिन समयमा पनि यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउँदै हुनुहुन्थ्यो भन्‍ने कुरा स्पष्टै छ। दोस्रो विश्‍वयुद्धपछि थुप्रै देशमा शान्ति छाएकोले यहोवाका जनहरूले खुलेआम साक्षीकार्यमा भाग लिन पाए। वास्तवमा यो काम तीव्र गतिमा अघि बढिरहेको छ।

१४. यहोवाको सङ्‌गठन र एल्डरहरूबाट पाएको निर्देशनमा हामी किन भर पर्न सक्छौँ? (प्रकाश २:१) (तस्बिर पनि हेर्नुहोस्‌।)

१४ आज पनि परिचालक निकायका सदस्यहरू डोऱ्‍याइको लागि ख्रिष्टमा भर पर्छन्‌। तिनीहरू भाइबहिनीलाई यहोवा र येसुको सोचाइ झल्किने निर्देशनहरू दिन चाहन्छन्‌। तिनीहरू क्षेत्रीय निरीक्षक र एल्डरहरूमार्फत सबै मण्डलीलाई निर्देशनहरू दिन्छन्‌।d अभिषिक्‍त एल्डरहरू र अरू सबै एल्डर ख्रिष्टको “दाहिने हातमा” छन्‌। (प्रकाश २:१ पढ्‌नुहोस्‌।) तर सबै एल्डर त्रुटिपूर्ण छन्‌ र गल्तीहरू गर्छन्‌। मोसा, यहोसु र प्रेषितहरूले पनि गल्तीहरू गरे। (गन्ती २०:१२; यहो. ९:१४, १५; रोमी ३:२३) तर ख्रिष्टले परिचालक निकाय र एल्डरहरूलाई होसियारीसाथ डोऱ्‍याइरहनुभएको छ अनि ‘यस युगको आखिरी समयसम्म सधैँभरि’ डोऱ्‍याइरहनुहुनेछ। (मत्ति २८:२०) त्यसैले येसुले नै नेतृत्व लिइरहेकाहरूलाई डोऱ्‍याइरहनुभएको छ भनेर विश्‍वास गर्ने हरकारण हामीसित छ।

आज परिचालक निकायको सभा।

अहिलेको परिचालक निकाय (अनुच्छेद १४ हेर्नुहोस्‌)


यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा हाम्रै भलाइ हुन्छ

१५-१६. यहोवाको डोऱ्‍याइअनुसार हिँडेका व्यक्‍तिहरूको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ यहोवाको डोऱ्‍याइअनुसार हिँडिरह्‍यौँ भने हामीले अहिले पनि थुप्रै आशिष्‌ पाउन सक्छौँ। एन्डि र रोबिनको अनुभव विचार गरौँ। तिनीहरूले आफ्नो जीवन सरल बनाओ भन्‍ने सल्लाह लागू गरे। (हिब्रू १३:५) त्यसैले तिनीहरूले विभिन्‍न निर्माण परियोजनामा सेवा गर्न सके। रोबिन भन्छिन्‌: “हामी कहिलेकाहीँ यत्ति सानो कोठामा बस्यौँ, जहाँ खाना पकाउने ठाउँसमेत हुँदैनथ्यो। फोटो खिच्न मलाई एकदमै मन पर्छ। तर फोटो खिच्नको लागि प्रयोग गर्ने विभिन्‍न सरसामान मैले बेचेँ। ती सामानहरू बेच्दा मेरो आँखामा आँसु नै आयो। तर अब्राहामकी पत्नी साराजस्तै म पनि पछाडिका कुराहरूमा होइन, अगाडिका कुराहरूमा ध्यान दिन कटिबद्ध थिएँ।” (हिब्रू ११:१५) आफ्नो जीवन सरल बनाउँदा तिनीहरूलाई कस्तो फाइदा भयो? रोबिन भन्छिन्‌: “हामी यहोवाको लागि आफ्नो तर्फबाट सक्दो गर्दै छौँ। त्यसैले हामी सन्तुष्ट छौँ। अहिले विभिन्‍न असाइनमेन्टमा भाग लिँदा पछि नयाँ संसारमा जीवन कस्तो हुनेछ भन्‍ने झलक पाउँछौँ।” रोबिनको कुरामा सहमति जनाउँदै एन्डि भन्छन्‌: “राज्य गतिविधिको लागि आफ्नो सम्पूर्ण समय र शक्‍ति खर्च गर्न पाएकोमा हामी निकै खुसी छौँ।”

१६ निरन्तर यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा हामी अरू कस्ता लाभहरू उठाउन सक्छौँ? मार्सियाको अनुभव विचार गरौँ। उनले स्कुलको पढाइ सकिएपछि यहोवाको सेवालाई नै करियर बनाउने सल्लाह लागू गरिन्‌। (मत्ति ६:३३; रोमी १२:११) उनी भन्छिन्‌: “मैले एउटा विश्‍वविद्यालयमा चार वर्षको छात्रवृत्ति पाएकी थिएँ। तर म आध्यात्मिक लक्ष्यहरू हासिल गर्न चाहन्थेँ। त्यसैले विश्‍वविद्यालय जानुको साटो मैले सीपमूलक तालिम लिने विचार गरेँ। त्यसो गर्दा म अग्रगामीको रूपमा सेवा गर्दै आफ्नो जीविका पनि चलाउन सक्थेँ। मैले गरेका उत्तम निर्णयहरूमध्ये त्यो एउटा थियो। अहिले म नियमित अग्रगामी गर्दै छु अनि कामको तालिका आफै मिलाउन सक्ने भएकोले बेथेलमा पनि स्वयंसेवा गर्दै छु। साथै मैले यहोवाको सेवामा अरू थुप्रै कुरा गर्न सकेकी छु।”

१७. निरन्तर यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा हामीले अरू कस्ता आशिष्‌हरू पाउँछौँ? (यसैया ४८:१७, १८)

१७ हामीले पैसालाई प्रेम गर्नु हुँदैन अनि यहोवाको आज्ञा उल्लङ्‌घन गर्न लगाउने कुराहरूदेखि अलग्गै रहनुपर्छ भन्‍ने सल्लाह पनि बेलाबेलामा पाउने गर्छौँ। यी सल्लाहहरू लागू गर्दा हाम्रै भलाइ हुन्छ। हामी सफा अन्तस्करण कायम राख्न सक्छौँ र आफूलाई अनावश्‍यक चिन्ता-फिक्रीदेखि जोगाउन सक्छौँ। (१ तिमो. ६:९, १०) नतिजास्वरूप हामी तनमनले यहोवाको सेवा गर्न सक्छौँ। त्यसबाट पाइने आनन्द, शान्ति र सन्तुष्टिलाई अरू कुनै कुरासित तुलना गर्न सकिँदैन!​—यसैया ४८:१७, १८ पढ्‌नुहोस्‌।

१८. तपाईँ किन यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌न कटिबद्ध हुनुहुन्छ?

१८ महासङ्‌कष्टको दौडान अनि हजार वर्षीय शासनमा यहोवाले हामीलाई डोऱ्‍याउन पक्कै पनि मानिसहरूलाई प्रयोग गरिरहनुहुनेछ। (भज. ४५:१६) के त्यतिबेला हामी आफ्नो रुचिलाई पन्छाउनुपरे तापनि आफूले पाएको निर्देशन पालन गर्नेछौँ? यो कुरा हामी अहिले यहोवाले दिनुभएको डोऱ्‍याइअनुसार चल्छौँ कि चल्दैनौँ, त्यसमै भर पर्छ। त्यसैले सधैँ यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहौँ। यसमा हाम्रो हेरविचार गर्न नियुक्‍त गरिएका पुरुषहरूको डोऱ्‍याइअनुसार चल्नु समावेश छ। (यसै. ३२:१, २; हिब्रू १३:१७) हामीसित हाम्रो गाइड यहोवामा भर पर्नुपर्ने हरकारण छ, जसले हामीलाई बाटोहरूमा आइपर्ने खतराहरूदेखि सचेत गराउनुहुन्छ र हाम्रो गन्तव्यतर्फ अर्थात्‌ नयाँ संसारमा अनन्त जीवनतर्फ डोऱ्‍याउनुहुन्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवाले इस्राएलीहरूलाई कसरी डोऱ्‍याउनुभयो?

  • यहोवाले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई कसरी डोऱ्‍याउनुभयो?

  • निरन्तर यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा हामीलाई कस्तो लाभ हुन्छ?

गीत ४८ दिनहुँ परमेश्‍वरसित हिँडौँ!

a यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा डोऱ्‍याउन एक जना स्वर्गदूतलाई पनि नियुक्‍त गर्नुभएको थियो, जो ‘इस्राएलीहरूको अघिअघि जान्थे।’ ती स्वर्गदूत माइकल हुनुपर्छ। पृथ्वीमा आउनुअघि सबै स्वर्गदूतको अगुवाइ गर्दा येसु यस नामले चिनिनुहुन्थ्यो।—प्रस्थ. १४:१९; ३२:३४.

b अहिले वाचटावर बाइबल स्कुल अफ गिलियड भनिन्छ।

c यसलाई पछि ईश्‍वरतान्त्रिक सेवा स्कुल भनियो। यस स्कुलबाट पाइने तालिम अहिले हामी मध्यहप्ताको सभाबाट पाउँछौँ।

d फेब्रुअरी २०२१, प्रहरीधरहरा, पृ. १८ मा “परिचालक निकायको भूमिका” भन्‍ने पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने