प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अगस्त pp. २०-२५
  • धीरजी भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धीरजी भइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धीरजी हुनु भनेको के हो?
  • धीरजी हुनु किन एकदमै महत्त्वपूर्ण छ?
  • हामी कसरी अझ धीरजी हुन सक्छौँ?
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • धीरज राम्रो कुराको आशा गर्दै सहनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • धीरज किन यति दुर्लभ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अगस्त pp. २०-२५

अध्ययन लेख ३५

धीरजी भइरहनुहोस्‌

“धीरज धारण गर।”—कल. ३:१२.

गीत ११४ “धैर्य गर”

परिचयa

१. हामीलाई धीरजी मानिसहरू किन मन पर्छ?

हामीलाई धीरजी मानिसहरू मन पर्छ। किन? तिनीहरू कुनै कुराको लागि पर्खनुपर्दा पनि दिक्क मान्दैनन्‌। हामीले गल्ती गर्दा पनि रिसाइहाल्दैनन्‌। अनि हामीलाई बाइबलको कुनै शिक्षा सिक्न, स्विकार्न र त्यो लागू गर्न गाह्रो हुँदा हाम्रो अध्ययन सञ्चालक धीरजी भएकोमा हामी तिनीप्रति आभारी छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले हामीप्रति धीरज देखाउनुभएकोमा हामी धेरै कृतज्ञ छौँ!—रोमी २:४.

२. हामीलाई कस्ता अवस्थाहरूमा धीरजी हुन गाह्रो लाग्न सक्छ?

२ हुनत हामीलाई अरू मानिस धीरजी भएको मन पर्छ। तर हामी आफैलाई भने धीरजी भइरहन सधैँ सजिलो नहुन सक्छ। जस्तै: हतार भइरहेको बेला ट्राफिक जाममा पर्दा शान्त भई पर्खिरहन झिजो लाग्न सक्छ। अरूको कुनै कुरा वा व्यवहारले गर्दा हामीलाई झनक्क रिस उठ्‌न सक्छ। अनि यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसार पर्खेर बस्न पनि हामीलाई गाह्रो लाग्न सक्छ। के तपाईँ अझ धीरजी हुन चाहनुहुन्छ? यस लेखमा धीरजी हुनु भनेको के हो र यो किन महत्त्वपूर्ण छ भनेर छलफल गर्नेछौँ। साथै अझ धीरजी हुन हामीलाई कुन कुराले मदत गर्न सक्छ भनेर पनि जाँच्नेछौँ।

धीरजी हुनु भनेको के हो?

३. अरूले रिस उठाउँदा धीरजी व्यक्‍तिले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

३ धीरजी भएको देखाउने चार वटा तरिका विचार गरौँ। पहिलो, धीरजी व्यक्‍ति हतपती रिसाउँदैनन्‌। अरूले रिस उठाउँदा जस्तालाई त्यस्तै गर्दैनन्‌ बरु शान्त रहन्छन्‌। तनाव हुँदा पनि अरूसित रुखो व्यवहार गर्दैनन्‌। यहोवाले आफूबारे यसो भन्‍नुभयो: “म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु।” (प्रस्थ. ३४:६) ‘हतपती नरिसाउने’ भन्‍ने वाक्यांश बाइबलमा पहिलो चोटि प्रयोग भएको यहीँ नै हो।

४. पर्खनुपर्दा धीरजी व्यक्‍तिले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

४ दोस्रो, धीरजी व्यक्‍ति शान्त भई पर्खन्छन्‌। कुनै कुराको लागि आफूले सोचेभन्दा लामो समय पर्खनुपऱ्‍यो भने त्यस्तो व्यक्‍ति अधीर हुँदैनन्‌ वा रिसाउँदैनन्‌। (मत्ति १८:२६, २७) हामीले शान्त भई पर्खनुपर्ने अवस्थाहरू थुप्रै हुन्छन्‌। जस्तै: कसैले बोलिरहेको बेला बीचैमा कुरा नकाटी धीरजी भई सुन्‍नुपर्छ। (अय्यु. ३६:२) बाइबल विद्यार्थीलाई बाइबलको कुनै शिक्षा बुझाउन वा तिनलाई कुनै खराब बानी त्याग्न हामीले धीरजी भई मदत गर्नुपर्ने हुन सक्छ।

५. धीरजी भएको देखाउने अर्को एउटा तरिका के हो?

५ तेस्रो, धीरजी व्यक्‍ति हडबडाउँदैनन्‌। हुनत कुनै-कुनै अवस्थामा तुरुन्तै कदम चाल्नुपर्ने हुन्छ। तर कुनै महत्त्वपूर्ण काम गर्नुपर्दा धीरजी व्यक्‍तिले हतारमा काम सुरु गर्ने वा सिद्ध्याउने गर्दैनन्‌। बरु त्यो काम कसरी पूरा गर्ने भनेर योजना बनाउन समय छुट्ट्याउँछन्‌। अनि काम राम्ररी सिद्ध्याउन पर्याप्त समय दिन्छन्‌।

६. परीक्षाहरूको सामना गर्नुपर्दा धीरजी व्यक्‍तिले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

६ चौथो, धीरजी व्यक्‍ति गनगन नगरी परीक्षाहरू सहने कोसिस गर्छन्‌। यस अर्थमा धीरज र सहनशीलताबीच नजिकको सम्बन्ध छ। हुनत मिल्ने साथीलाई आफूले कस्तो परीक्षा भोगिरहनुपरेको छ र कस्तो लागिरहेको छ भनेर बताउनु गलत होइन। तर धीरजी व्यक्‍तिले सकारात्मक मनोवृत्ति कायम राख्दै सहिरहन सक्दो कोसिस गर्छन्‌। (कल. १:११) हामी ख्रिष्टियनहरूले यी विभिन्‍न तरिकामा धीरजी भएको देखाउनुपर्छ। किन? आउनुहोस्‌, केही कारण विचार गरौँ।

धीरजी हुनु किन एकदमै महत्त्वपूर्ण छ?

चित्रहरूको सँगालो: १. एक किसान खेतमा बिउ छर्छन्‌। २. तिनी खेतमा बिउ अङ्‌कुराएको छ कि भनेर हेर्दै छन्‌। ३. तिनी बिउ उम्रेकोमा खुसी छन्‌ र पानी परिरहेको बेला खेतमा उभिरहेका छन्‌।

किसानले कटनी गर्ने समय पक्कै आउँछ भन्‍ने कुरामा भरोसा गर्दै धीरजी भई पर्खन्छ। हामी यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुनेछ भनेर भरोसा गर्छौँ र धैर्य गर्दै पर्खन्छौँ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. याकुब ५:७, ८ अनुसार धीरजी हुनु किन एकदमै महत्त्वपूर्ण छ? (चित्र पनि हेर्नुहोस्‌।)

७ अनन्त जीवन पाउन हामी धीरजी हुनै पर्छ। विगतका वफादार सेवकहरूले जस्तै हामीले पनि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर धीरजी भई पर्खनुपर्छ। (हिब्रू ६:११, १२) बाइबलमा हामीलाई किसानसित तुलना गरिएको छ। (याकुब ५:७, ८ पढ्‌नुहोस्‌।) किसानले आफ्नो बालीनाली रोप्न र गोडगाड गर्न धेरै मेहनत गर्छ। तर घाम कहिले लाग्छ वा पानी कहिले पर्छ भनेर थाह नहुने भएकोले उसलाई आफ्नो बाली ठ्याक्कै कहिले बढ्‌छ भनेर थाह हुँदैन। त्यसैले कटनी गर्ने समय पक्कै आउँछ भन्‍ने कुरामा भरोसा गर्दै ऊ धीरजी भई पर्खन्छ। त्यसैगरि ‘प्रभु कुन दिन आउनुहुन्छ भनेर हामीलाई थाह छैन’ तैपनि हामी आध्यात्मिक गतिविधिमा व्यस्त रहन्छौँ। (मत्ति २४:४२) यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुनेछ भनेर भरोसा गर्छौँ र धैर्य गर्दै पर्खन्छौँ। हामी अधीर भयौँ भने पर्खँदापर्खँदै थाक्न सक्छौँ र सत्यबाट बिस्तारै तर्कन सक्छौँ। अनि क्षणिक आनन्द दिने कुराहरूको पछि लाग्न सक्छौँ। तर धीरजी भयौँ भने हामीले अन्तसम्मै सहन र उद्धार पाउन सक्छौँ।—मिका ७:७; मत्ति २४:१३.

८. अरूसित राम्रो सम्बन्ध बनाइराख्न धीरजले कसरी मदत गर्छ? (कलस्सी ३:१२, १३)

८ धीरजले हामीलाई अरूसित राम्रो सम्बन्ध बनाइराख्न मदत गर्छ। यसले अरूले बोलिरहेको बेला ध्यान दिएर सुन्‍न मदत गर्छ। (याकु. १:१९) साथै शान्ति कायम गर्न पनि मदत गर्छ। यसले तनावमा भएको बेला प्याच्च केही कुरा भन्‍नदेखि पनि रोक्छ। अनि धीरजी छौँ भने कसैले हाम्रो चित्त दुखाउँदा हामी रिसाइहाल्दैनौँ। बदला लिनुको साटो हामी ‘एकअर्कालाई सहिरहन्छौँ अनि खुला मनले क्षमा गरिरहन्छौँ।’—कलस्सी ३:१२, १३ पढ्‌नुहोस्‌।

९. निर्णयहरू गर्नुपर्दा धीरजले कसरी मदत गर्न सक्छ? (हितोपदेश २१:५)

९ धीरजले बुद्धिमानी निर्णयहरू गर्न पनि मदत गर्न सक्छ। धीरजले हामीलाई हतारमा निर्णय गर्नुको सट्टा आफूसित के-कस्ता विकल्पहरू छन्‌ भनेर राम्ररी सोचविचार गर्न मदत गर्छ। (हितोपदेश २१:५ पढ्‌नुहोस्‌।) जस्तै: हामी कुनै काम खोज्दै छौँ भने सुरुमा जुन काम भेट्टियो, त्यही स्विकारिहाल्ने झुकाव हामीमा हुन सक्छ। तर त्यस कामले यहोवाको उपासनामा बाधा पुऱ्‍याउन सक्छ। अर्कोतर्फ, हामी धीरजी छौँ भने विभिन्‍न कुराबारे राम्ररी सोचविचार गर्छौँ। जस्तै: काम गर्ने ठाउँ कति टाढा छ? कति घण्टा काम गर्नुपर्छ? अनि त्यस कामले पारिवारिक र आध्यात्मिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ? यसरी धीरजी हुँदा गलत निर्णय गर्नदेखि जोगिन सक्छौँ।

हामी कसरी अझ धीरजी हुन सक्छौँ?

१०. ख्रिष्टियनहरूले कसरी धीरज विकास गर्न र त्यसलाई कायम राख्न सक्छन्‌?

१० अझ धीरजी हुन प्रार्थना गर्नुहोस्‌। धीरज पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) त्यसैले हामी पवित्र शक्‍तिको लागि प्रार्थना गर्न सक्छौँ र यसको फलका पक्षहरू विकास गर्न यहोवासित मदत माग्न सक्छौँ। यदि हामी धीरजको जाँच हुने परिस्थितिमा पऱ्‍यौँ भने धीरजी हुन पवित्र शक्‍ति ‘मागिरहनुपर्छ।’ (लुका ११:९, १३) साथै कुनै मामिलालाई यहोवाको नजरले हेर्न सकौँ भनेर उहाँसित मदत माग्न सक्छौँ। प्रार्थना गरेपछि हरेक दिन धीरजी हुन हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। हामी जत्ति धेरै धीरजको लागि प्रार्थना गर्छौँ र धीरजी हुने प्रयास गर्छौँ, त्यत्ति नै यस गुणले हाम्रो हृदयमा जरा गाड्‌नेछ र यो हाम्रो व्यक्‍तित्वको अभिन्‍न भाग बन्‍नेछ।

११-१२. यहोवाले कसरी धीरज देखाउनुभएको छ?

११ बाइबलका उदाहरणहरूमा मनन गर्नुहोस्‌। बाइबलमा धीरज देखाएका थुप्रै व्यक्‍तिको विवरण पाउँछौँ। ती विवरणहरूमा मनन गरेर हामी धीरज देखाउने तरिकाहरू सिक्न सक्छौँ। आउनुहोस्‌, अब हामी धीरज देखाउने सन्दर्भमा सबैभन्दा उत्कृष्ट उदाहरण बसाल्नुहुने यहोवाबारे विचार गरौँ।

१२ अदनको बगैँचामा सैतानले हव्वाको मनमा शङ्‌का उब्जाउन खोज्यो। त्यसले यहोवा न्यायी अनि मायालु शासक हुनुहुन्‍न भन्‍ने भान पार्न खोज्यो र परमेश्‍वरको नामको निन्दा गऱ्‍यो। तर यहोवाले त्यस निन्दकलाई तुरुन्तै नाश गर्नुभएन। आफ्नो शासन सबैभन्दा उत्कृष्ट छ भनेर प्रमाणित गर्न समय लाग्छ भन्‍ने कुरा उहाँलाई थाह छ। त्यसैले उहाँले धीरज र आत्मसंयम देखाउँदै आफ्नो नाममा लागेको कलङ्‌क सहँदै आउनुभएको छ। साथै धेरैभन्दा धेरै मानिसले अनन्त जीवन पाउन सकून्‌ भनेर धीरजी भई पर्खिरहनुभएको छ। (२ पत्रु. ३:९, १५) फलस्वरूप, लाखौँ मानिसले उहाँलाई चिन्‍न पाएका छन्‌। यदि हामीले यहोवाको धीरजले गर्दा भएका फाइदाहरूमा ध्यान दियौँ भने यस दुष्ट संसारको अन्त हुने समय पर्खन अझ सजिलो हुनेछ।

एक दम्पती साक्षीकार्यमा रिसाएको घरधनीसित शान्तपूर्वक कुरा गर्दै छ।

कसैले रिस उठाउँदा आफूलाई काबूमा राख्न धीरजले हामीलाई मदत गर्छ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. येसुले आफ्नो बुबाको धीरज कसरी हुबहु अनुकरण गर्नुभयो? (तस्बिर पनि हेर्नुहोस्‌।)

१३ येसु आफ्नो बुबाको धीरजको हुबहु अनुकरण गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले यो गुण देखाउनुभयो। तर त्यसो गर्न उहाँलाई सधैँ सजिलो भने थिएन, विशेषगरि कपटी धर्मगुरु र फरिसीहरूप्रति। (युह. ८:२५-२७) येसु हतपती रिसाउनुभएन। अरूले अपमान गर्दा वा रिस उठाउँदा उहाँले बदला लिनुभएन। (१ पत्रु. २:२३) उहाँले गनगन नगरी धीरजी भई परीक्षाहरू सहनुभयो। त्यसैले बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो।” (हिब्रू १२:२, ३) यहोवाको मदत पाएर हामी पनि जस्तोसुकै परीक्षा धीरजी भई सहन सक्छौँ।

एक वृद्ध भाइ अब्राहामको बाइबल विवरणमा मनन गर्दै छन्‌। पछाडिपट्टि अब्राहाम टिलपिल ताराहरूले भरिएको आकाश हेरिरहेका छन्‌।

अब्राहामजस्तै धीरजी भयौँ भने यहोवाले हामीलाई अहिल्यै इनाम दिनुहुनेछ र नयाँ संसारमा अझ धेरै आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. अब्राहामले देखाएको धीरजबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (हिब्रू ६:१५) (चित्र पनि हेर्नुहोस्‌।)

१४ यस संसारको अन्तबारे हामीले आशा गरेको कुरा पूरा भएको छैन भने नि? सायद हामीले धेरै वर्षअघि नै अन्त आइसक्छ भनेर आशा गरेका थियौँ होला। अथवा आफ्नै आँखाले अन्त आएको देख्न पाउँदिनँ कि भन्‍ने चिन्ता लागेको छ होला। त्यसो हो भने हामीलाई धीरजी भई पर्खिरहन कुन कुराले मदत गर्न सक्छ? अब्राहामलाई विचार गरौँ। अब्राहाम ७५ वर्षको हुँदासम्म पनि तिनको कुनै सन्तान थिएन। त्यतिबेला यहोवाले तिनलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।” (उत्प. १२:१-४) के अब्राहामले त्यो प्रतिज्ञा पूरा भएको देखे? पूर्ण रूपमा त देखेनन्‌। युफ्रेटिस नदी पार गरेर २५ वर्ष पर्खेपछि अब्राहामले आशै नगरेको कुरा भयो। तिनले आफ्नो छोरा इसहाक जन्मेको अनि त्यसको ६० वर्षपछि नातिहरू एसाव र याकुब जन्मेको देखे। (हिब्रू ६:१५ पढ्‌नुहोस्‌।) तर अब्राहामले आफ्ना सन्तानहरू एउटा ठूलो जाति भएको र तिनीहरूले प्रतिज्ञा गरिएको देशमा बसोबास गरेको भने कहिल्यै देखेनन्‌। तैपनि यी वफादार पुरुषले आफ्नो सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध गाँसे। (याकु. २:२३) अब्राहामले विश्‍वास र धीरज देखाएकोले सबै राष्ट्रका मानिसहरूले आशिष्‌ पाए। (उत्प. २२:१८) तिनी फेरि जीवित भएपछि यो कुरा थाह पाउँदा कत्ति खुसी हुन्छन्‌ होला! यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाका सबै प्रतिज्ञा पूरा भएको आफ्नै आँखाले नदेखौँला। तर अब्राहामजस्तै धीरजी भयौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवाले हामीलाई अहिल्यै इनाम दिनुहुनेछ र नयाँ संसारमा अझ धेरै आशिष्‌ दिनुहुनेछ।—मर्कु. १०:२९, ३०.

१५. व्यक्‍तिगत अध्ययन गर्दा हामी कुन कुरा विचार गर्न सक्छौँ?

१५ बाइबलमा धीरज देखाएका अरू थुप्रै उदाहरण पाउँछौँ। (याकु. ५:१०) तिनीहरूबारे अनुसन्धान गर्नुभए कसो होला?b जस्तै: दाउदलाई सानै उमेरमा इस्राएलको भावी राजा अभिषेक गरिएको थियो। तर तिनले राज्याधिकार पाउन धेरै वर्ष पर्खनुपरेको थियो। सिमियोन र हन्‍नाले प्रतिज्ञा गरिएको मसीहलाई पर्खे अनि वफादार भई यहोवाको उपासना गरे। (लुका २:२५, ३६-३८) यस्ता विवरणहरू अध्ययन गर्दा यी प्रश्‍नहरूको जवाफ खोज्नुहोस्‌: ‘यी व्यक्‍तिलाई धीरज देखाउन केले मदत गरेको हुन सक्छ? धीरजी हुँदा तिनले कस्तो आशिष्‌ पाए? म कसरी तिनको अनुकरण गर्न सक्छु?’ तपाईँ धीरज नदेखाएका व्यक्‍तिहरूबारे पढेर पनि लाभ उठाउन सक्नुहुन्छ। (१ समु. १३:८-१४) तिनीहरूबारे पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘तिनीहरूले किन धीरज देखाउन सकेनन्‌? अधीर भएकोले तिनीहरूले कस्ता नतिजाहरू भोग्नुपऱ्‍यो?’

१६. धीरज देखाउँदा हुने फाइदाहरू के-के हुन्‌?

१६ धीरज देखाउँदा हुने फाइदाहरू विचार गर्नुहोस्‌। हामी धीरजी भयौँ भने अझ खुसी हुन र शान्त रहन सक्छौँ। त्यसैले धीरजी हुँदा हाम्रो मानसिक र शारीरिक स्वास्थ्य अझै राम्रो हुन सक्छ। हामीले अरूप्रति धीरज देखाउँदा तिनीहरूसितको सम्बन्ध अझै राम्रो हुन्छ। अनि मण्डलीका भाइबहिनीबीचको एकता पनि अझ बलियो हुन्छ। साथै कसैले रिस उठाउँदा हामी आफूलाई काबूमा राख्छौँ र यसले गर्दा अवस्था अझै बिग्रन पाउँदैन। (भज. ३७:८, फुटनोट; हितो. १४:२९) सबैभन्दा महत्त्वपूर्ण कुरा, धीरजी हुँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ र उहाँसित अझ नजिक हुन्छौँ।

१७. हामी सबैले के गर्नुपर्छ?

१७ धीरज साँच्चै मनमोहक गुण हो। यसले सबैलाई लाभ पुऱ्‍याउँछ। हुनत धीरजी हुन सधैँ सजिलो नहुन सक्छ तर यहोवाको मदत पायौँ भने हामी यो गुण विकास गरिरहन सक्छौँ। धीरजी भई नयाँ संसारको बाटो हेरिरह्‍यौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: “यहोवासित डराउनेहरूमाथि र उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ।” (भज. ३३:१८) त्यसैले हामी धीरज धारण गरिरहौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • धीरजी हुनु भनेको के हो?

  • धीरजी हुनु किन एकदमै महत्त्वपूर्ण छ?

  • हामी कसरी अझ धीरजी हुन सक्छौँ?

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

a आजभोलि धीरजी मानिसहरू भेट्टाउन गाह्रो छ। तर बाइबलले हामीलाई धीरज धारण गर्न प्रोत्साहन दिन्छ। यस लेखमा यो गुण किन एकदमै महत्त्वपूर्ण छ र हामी कसरी अझ धीरजी हुन सक्छौँ भनेर विचार गर्नेछौँ।

b धैर्यसित सम्बन्धित बाइबल विवरणहरू भेट्टाउन यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा “भावना, गुण र व्यवहार” शीर्षकअन्तर्गत “धैर्य” भन्‍ने उपशीर्षक हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने