प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 नोभेम्बर pp. २८-३०
  • दया—बोली र व्यवहारद्वारा देखाइने गुण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दया—बोली र व्यवहारद्वारा देखाइने गुण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा सबैप्रति दयालु हुनुहुन्छ
  • येसुले अपार दया देखाउनुभयो
  • अरूप्रतिको दया कामद्वारा देखिनुपर्छ
  • हामी कसरी दया विकास गर्न सक्छौँ?
  • दयालु व्यक्‍तिसित मानिसहरू नजिक हुन चाहन्छन्‌
  • दया देखाउँदा कस्तो फाइदा हुन्छ?
  • परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दयाले तपाईँलाई उत्प्रेरित गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • वैरी संसारमा दया देखाउन प्रयास गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरको असीम अनुग्रह पाएकोमा आभारी!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 नोभेम्बर pp. २८-३०

दया बोली र व्यवहारद्वारा देखाइने गुण

  • प्रेम

  • आनन्द

  • शान्ति

  • धीरज

  • दया

  • भलाइ

  • विश्‍वास

  • नम्रता

  • आत्मसंयम

कसैले हामीलाई दयालु व्यवहार गर्दा हामी कत्ति ढुक्क महसुस गर्छौँ अनि सान्त्वना पाउँछौँ! कसैले हाम्रो ख्याल राखेको महसुस गर्दा हामी तिनीप्रति कृतज्ञ हुन्छौँ। हामीलाई अरूले दयालु व्यवहार गरेको मन पर्छ। त्यसोभए हामी यो मनमोहक गुण कसरी विकास गर्न सक्छौँ?

दया देखाउनुमा अरूको हितको लागि साँचो चासो राख्नु समावेश छ। त्यस्तो चासो आश्‍वासनदायी बोली र व्यवहारद्वारा देखाइन्छ। दया भनेको मनमा जाग्ने भावना मात्र होइन अनि केवल देखावटी तरिकाले शिष्ट र भद्र व्यवहार गर्नु होइन। कसैलाई गहिरो माया गर्छौँ र तिनको भावना बुझ्छौँ भने तिनलाई साँचो दया देखाउन उत्प्रेरित हुनेछौँ। अझ महत्त्वपूर्ण कुरा, त्यस्तो दया ख्रिष्टियनहरूले विकास गर्नुपर्ने पवित्र शक्‍तिको फलका पक्षहरूमध्ये एक हो। (गला. ५:२२, २३) यो हामीले विकास गर्नै पर्ने गुण हो। त्यसैले आउनुहोस्‌, यहोवा र येसुले यो गुण कसरी देखाउनुभएको छ अनि हामी कसरी उहाँहरूको अनुकरण गर्न सक्छौँ, विचार गरौँ।

यहोवा सबैप्रति दयालु हुनुहुन्छ

यहोवा सबैप्रति दयालु र विचारशील हुनुहुन्छ। उहाँ “बैगुनी र दुष्टहरूप्रति” पनि दयालु हुनुहुन्छ। (लुका ६:३५) उदाहरणको लागि, यहोवाले “दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।” (मत्ति ५:४५) त्यसैले यहोवालाई सृष्टिकर्ताको रूपमा नस्विकार्नेहरूले समेत जीवन धान्‍न उहाँले गर्नुभएका यस्ता प्रबन्धहरूबाट लाभ उठाउँछन्‌ अनि केही हदसम्म आनन्दित हुन सक्छन्‌।

यहोवाले आदम र हव्वाको लागि गरिदिनुभएको कुरामा उहाँको उत्कृष्ट दया झल्किन्छ। पाप गरेलगत्तै आदम र हव्वाले “अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।” तर अदनको बगैँचाबाहिर जीवन निर्वाह गर्न त्यहाँको अवस्थालाई उपयुक्‍त हुने लुगा चाहिन्छ भनेर यहोवालाई थाह थियो। किनकि भूमि श्रापित भएकोले “काँडा र जङ्‌गली झार” मात्र उम्रने थियो। त्यसैले यहोवाले तिनीहरूको आवश्‍यकतालाई विचार गरेर दयालु हुँदै “छालाको लामा-लामा लुगा” बनाइदिनुभयो।—उत्प. ३:७, १७, १८, २१.

हुनत यहोवा “दुष्ट र सज्जन दुवैमाथि” दयालु हुनुहुन्छ तर उहाँ विशेषगरि आफ्ना वफादार सेवकहरूलाई दया देखाउन चाहनुहुन्छ। उदाहरणको लागि, भविष्यवक्‍ता जकरियाको समयमा यरुसलेमको मन्दिरको पुनर्निर्माणको काम ठप्पै भएको देख्दा एक स्वर्गदूतलाई दुःख लागेको थियो। ती स्वर्गदूतले आफ्नो चिन्ता व्यक्‍त गर्दा यहोवाले तिनको कुरा सुन्‍नुभयो र उहाँले “दयालु अनि सान्त्वनादायी वचन” बोल्दै जवाफ दिनुभयो। (जक. १:१२, १३) यहोवाले भविष्यवक्‍ता एलियासँग पनि यस्तै व्यवहार गर्नुभयो। एक चोटि तिनी अति निराश भए र आफ्नो ज्यान लिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गरे। यहोवाले एलियाको भावना राम्ररी बुझ्नुभयो अनि तिनलाई बलियो बनाउनको लागि स्वर्गदूत पठाउनुभयो। त्यति मात्र होइन, यहोवाले एलियालाई तिनी एक्लो छैनन्‌ भनेर ढुक्क बनाउनुभयो। एलियाले यस्तो दयालु वचन सुनेपछि र आवश्‍यक मदत पाएपछि तिनी आफ्नो असाइनमेन्टमा फेरि लाग्न सके। (१ राजा १९:१-१८) यहोवाको उत्कृष्ट गुण दया देखाउने सन्दर्भमा उहाँका सेवकहरूमध्ये सबैभन्दा राम्रो उदाहरण कसले बसाल्नुभएको छ?

येसुले अपार दया देखाउनुभयो

पृथ्वीमा आफ्नो सेवाको दौडान येसु दयालु र विचारशील व्यक्‍तिको रूपमा चिनिनुहुन्थ्यो। उहाँले कहिल्यै अरूलाई कठोर व्यवहार गर्नुभएन अनि अरूमाथि हैकम जमाउनुभएन। मानिसहरूको भावना बुझ्दै उहाँले यसो भन्‍नुभयो: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु।” (मत्ति ११:२८-३०) येसुले दया देखाउनुभएकोले मानिसहरू उहाँको पछिपछि लागे। तिनीहरूलाई देखेर उहाँ “टिठाउनुभयो।” त्यसैले उहाँले तिनीहरूलाई खुवाउनुभयो, बिरामी र अशक्‍तहरूलाई निको पार्नुभयो अनि आफ्नो बुबाबारे “धेरै कुरा” सिकाउनुभयो।—मर्कु. ६:३४; मत्ति १४:१४; १५:३२-३८.

येसु अरूप्रति अपार दया देखाउनुहुन्थ्यो। त्यसैले अरूको भावना र अवस्था बुझेर उहाँ व्यवहार गर्नुहुन्थ्यो। मानिसहरूले जस्तोसुकै अप्ठ्यारो आग्रह गरे तापनि मनैदेखि उहाँको खोजी गर्नेहरूलाई येसुले “न्यानो” स्वागत गर्नुहुन्थ्यो। (लुका ९:१०, ११) उदाहरणको लागि, व्यवस्थाअनुसार अशुद्ध ठहरिएकी एउटी स्त्रीले निको हुने आसमा डराई-डराई येसुको लुगा छोइन्‌, तैपनि येसुले तिनलाई गाली गर्नुभएन। (लेवी १५:२५-२८) रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको त्यस स्त्रीप्रति करुणा देखाउँदै येसुले यसो भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिमीलाई दुःख दिइरहेको यो रोग निको भयो।” (मर्कु. ५:२५-३४) कस्तो दयालु व्यवहार!

अरूप्रतिको दया कामद्वारा देखिनुपर्छ

माथिका उदाहरणहरूबाट साँचो दया कामद्वारा देखिन्छ भन्‍ने कुरा स्पष्टै थाह पाउन सक्छौँ। दया व्यवहारमा देखिनुपर्छ भन्‍ने कुरा बुझाउन येसुले दयालु सामरियालीको दृष्टान्त चलाउनुभयो। यहुदी र सामरियालीहरू एकअर्कालाई घृणा गर्थे। तैपनि दृष्टान्तको सामरियाली एक जना मानिसको अवस्था देखेर दयाले भरिए। ती मानिस लुटिएका, कुट्‌नसम्म कुटिएका अनि बाटोमा अधमरो छोडिएका थिए। तिनीप्रतिको दयाले गर्दा ती सामरियाली कदम चाल्न अग्रसर भए। ती सामरियालीले तिनको घाउमा पट्टी बाँधिदिए र तिनलाई पौवामा लगे। त्यसपछि सामरियालीले तिनको हेरविचार गर्न पौवाको मालिकलाई पैसा तिरे अनि आइपर्ने थप खर्च बेहोर्नसमेत तयार भएको कुरा बताए।—लुका १०:२९-३७.

दया अक्सर कामद्वारा देखाइन्छ तर सोचविचार गरेर बोलेको बोली र प्रोत्साहनदायी शब्दहरूद्वारा पनि दया देखाउन सकिन्छ। बाइबल यसो भन्छ: “चिन्ताले मन भारी बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।” (हितो. १२:२५) अरूप्रति दया देखाउने र तिनीहरूको भलाइ गर्ने उद्देश्‍यले तिनीहरूसँग उत्थानदायी कुरा गऱ्‍यौँ भने हामी तिनीहरूको मन हल्का पार्न सक्छौँ।a दयालु भई बोल्दा हामी अरूको ख्याल राख्छौँ भन्‍ने देखिन्छ। यस्तो प्रोत्साहन पाएपछि जीवनमा आइपर्ने गाह्रो-साह्रो परिस्थितिको अझ राम्ररी सामना गर्न तिनीहरूले मदत पाउनेछन्‌।—हितो. १६:२४.

हामी कसरी दया विकास गर्न सक्छौँ?

मानिसहरू परमेश्‍वरको “स्वरूपमा” सृष्टि गरिएको हुनाले हामी सबैसित दया देखाउने क्षमता छ। (उत्प. १:२७) उदाहरणको लागि प्रेषित पावल रोममा यात्रा गर्दा तिनी रोमी सेनाका अफिसर जुलियसको निगरानीमा थिए। सिदोनमा छँदा ती अफिसरले “पावललाई दया देखाए र तिनलाई आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने अनुमति दिए।” (प्रेषि. २७:३) पछि पावल यात्रा गरिरहेको जहाज माल्टा टापुनजिकै दुर्घटना हुँदा त्यस टापुका मानिसहरूले पावल र अरूलाई “असाधारण दया” देखाए। त्यस टापुका मानिसहरूले तिनीहरूलाई न्यानो होस्‌ भनेर आगो पनि बालिदिए। (प्रेषि. २८:१, २) हुनत तिनीहरूले गरेको काम प्रशंसनीय छ तर दयालु हुनु भनेको कहिलेकाहीँ मात्र दया देखाउनु होइन।

परमेश्‍वरलाई साँच्चै खुसी पार्न चाहन्छौँ भने हामीले दया विकास गर्दै लैजानुपर्छ अनि त्यो हाम्रो व्यक्‍तित्व र जीवनशैलीको अभिन्‍न भाग हुनुपर्छ। त्यसैले यहोवा हामीलाई दया “धारण” गर भन्‍नुहुन्छ। (कल. ३:१२) तर यस ईश्‍वरीय गुणलाई आफ्नो जीवनको अभिन्‍न भाग बनाइरहन सधैँ सजिलो हुँदैन। किन? लाज, आत्मविश्‍वासको कमी, विरोध अथवा आफूभित्र कता-कता लुकेको स्वार्थी झुकावले गर्दा कहिलेकाहीँ दया देखाउनदेखि पछि हटिरहेका हुन सक्छौँ। तर हामी यस्ता कमीकमजोरीहरूलाई हटाउन सक्छौँ। त्यसको लागि परमेश्‍वरको पवित्र शक्‍तिमा भरोसा राख्नुपर्छ अनि यहोवा कसरी दया देखाउनुहुन्छ, त्यसको अनुकरण गर्नुपर्छ।—१ कोरि. २:१२.

दया देखाउने सन्दर्भमा हामीले उन्‍नति गर्नुपर्ने ठाउँहरू छन्‌ कि? हामीले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के म अरूले आफ्नो कुरा बताउँदा तिनको भावना बुझ्ने कोसिस गर्छु? अरूलाई के-कस्ता कुराको खाँचो परिरहेको छ भन्‍ने कुरामा के म सजग छु? मैले आफ्नो परिवारको सदस्य वा नजिकको साथीबाहेक अरूलाई दया नदेखाएको कति समय भयो?’ यी प्रश्‍नहरूको जवाफको आधारमा हामी केही लक्ष्य राख्न सक्छौँ। जस्तै, हाम्रो वरपरका मानिसहरू विशेषगरि ख्रिष्टियन मण्डलीका सदस्यहरूलाई राम्ररी चिन्‍ने प्रयास गर्न सक्छौँ। यसो गऱ्‍यौँ भने तिनीहरूको परिस्थिति र आवश्‍यकताबारे अझ सजग हुनेछौँ। साथै अरूलाई दया देखाउँदा आफू त्यस व्यक्‍तिको ठाउँमा भएको भए कसरी दया देखाइएको आशा गर्थ्यौँ, त्यो विचार गर्न सक्छौँ। (मत्ति ७:१२) अन्तमा, यहोवाको मदत माग्यौँ भने हामीले दया विकास गर्न गरेको प्रयासमा उहाँले आशिष्‌ दिनुहुनेछ।—लुका ११:१३.

दयालु व्यक्‍तिसित मानिसहरू नजिक हुन चाहन्छन्‌

प्रेषित पावलले आफूलाई परमेश्‍वरको सेवकको रूपमा चिनाउने कुराहरूमा “दया” पनि समावेश गरे। (२ कोरि. ६:३-६) मानिसहरू पावलको नजिक हुन चाहन्थे किनकि तिनी मानिसहरूलाई व्यक्‍तिगत चासो देखाउँथे र त्यो तिनको दयालु बोली र व्यवहारमा देखिन्थ्यो। (प्रेषि. २८:३०, ३१) त्यस्तैगरि हामी पनि आफ्नो दयालु व्यवहारद्वारा मानिसहरूलाई सत्यतर्फ आकर्षित गराउन सक्छौँ। हामीले सबैलाई दया देखाउनुपर्छ; हाम्रो विरोध गर्नेहरूलाई समेत दया देखाउँदा तिनीहरूको रिस शान्त पार्न अनि तिनीहरूको कठोर मन पगाल्न सक्छौँ। (रोमी १२:२०) समय बित्दै जाँदा बाइबल सन्देशप्रति तिनीहरू आकर्षित पनि हुन सक्छन्‌।

अब चाँडै आउन लागेको प्रमोदवनमा फेरि जीवित हुने अनगिन्ती मानिसहरूले साँचो दया महसुस गर्न पाउँदा पक्कै खुसी हुनेछन्‌। सायद तिनीहरूमध्ये कोही-कोहीले पहिलो चोटि त्यस्तो दया महसुस गर्नेछन्‌। कृतज्ञताले ओतप्रोत भई तिनीहरू अरूलाई पनि दया देखाउन उत्प्रेरित हुनेछन्‌। त्यतिबेला कोही अरूलाई दया देखाउन र मदत गर्न चाहँदैनन्‌ भने तिनी परमेश्‍वरको राज्यमा सधैँभरि बस्न पाउनेछैनन्‌। तर अर्कोतर्फ परमेश्‍वरले अनन्त जीवनको लागि छान्‍नुभएका सबैले एक अर्कालाई मायालु अनि दयालु व्यवहार गर्नेछन्‌। (भज. ३७:९-११) त्यतिखेर संसार साँच्चै सुरक्षित अनि शान्तिमय हुनेछ! हुनत त्यस्तो राम्रो समय आइसकेको छैन, तैपनि दया देखाउँदा हामी अहिले पनि कस्तो फाइदा उठाउन सक्छौँ?

दया देखाउँदा कस्तो फाइदा हुन्छ?

बाइबल भन्छ: “दयालु हुँदा आफ्नै भलो हुन्छ।” (हितो. ११:१७) दयालु मानिससित सबै जना नजिकिन रुचाउँछन्‌ अनि तिनीसित पनि दयालु हुन खोज्छन्‌। येसुले भन्‍नुभयो: “तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।” (लुका ६:३८) त्यसैले दयालु मानिसलाई राम्रा साथीहरू भेटाउन र तिनीहरूसित मित्रता कायम गरिराख्न गाह्रो हुँदैन।

प्रेषित पावलले एफिसी मण्डलीलाई लेखेको पत्रमा यस्तो आग्रह गरे: “एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ, . . . एकअर्कालाई खुला मनले क्षमा गर।” (एफि. ४:३२) मण्डलीका सदस्यहरू एकअर्काको भावना बुझ्छन्‌, दयालु व्यवहार गर्छन्‌ र एकअर्कालाई मदत गर्न जुरमुरिन्छन्‌ भने त्यसले मण्डलीलाई ठूलो फाइदा पुऱ्‍याउँछ। यस्ता व्यक्‍तिहरू कहिल्यै पनि कठोर बोली बोल्ने, तीखा वचनले अरूलाई घोच्ने अथवा चोट पुऱ्‍याउने उद्देश्‍यले व्यङ्‌ग्य गर्ने गर्दैनन्‌। तिनीहरू एकअर्काको कुरा काटेर नराम्रो हल्ला फैलाउन आफ्नो बोली प्रयोग गर्दैनन्‌ बरु एकअर्कालाई मदत गर्न प्रयास गर्छन्‌। (हितो. १२:१८) यसो गर्दा मण्डली बलियो हुन्छ र सबैले आनन्दित भई यहोवाको सेवा गर्न सक्छन्‌।

हो, दया बोली र व्यवहारमा देखाइने गुण हो। हामी दयालु हुँदा यहोवा परमेश्‍वरको न्यानो र उदार व्यक्‍तित्व आफ्नो जीवनमा झल्काइरहेका हुन्छौँ। (एफि. ५:१) यसो गर्दा हामी मण्डलीलाई अझ सुदृढ बनाइरहेका अनि अरूलाई शुद्ध उपासनातर्फ आकर्षित गरिरहेका हुन्छौँ। हामी दया देखाउने मानिसहरू हौँ भनेर अरूले सधैँ चिनिरहून्‌!

a भलाइबारे हामी “पवित्र शक्‍तिको फलका पक्षहरू” भन्‍ने नौ भाग भएको यस शृङ्‌खलामा पछि आउने लेखमा विचार गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने