प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ९/१५ pp. २८-३१
  • विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेरित अनुवाद?
  • शेमको पालमा येपेत?
  • यहूदीधर्म अपनाउनेहरू तथा ईश्‍वरभीरुहरू
  • बाटो तयार पार्न सेप्टुआजिन्ट-ले मदत गऱ्‍यो
  • सेप्टुआजिन्ट-ले “प्रेरणा” गुमाउँछ
  • “सेप्टुआजिन्ट” विगत अनि वर्तमान दुवैका लागि उपयोगी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बाइबल किन यत्ति थरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग एक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ९/१५ pp. २८-३१

विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद

परमेश्‍वरका अगमवक्‍ता मोशाले झन्डै ३,५०० वर्षअघि बाइबल लेख्न थाल्दा एउटा सानो राष्ट्रले मात्र पढ्‌नसक्थ्यो। (व्यवस्था ७:७) त्यसो हुनुको कारण धर्मशास्त्र त्यस राष्ट्रको मूल भाषा हिब्रूमा मात्र उपलब्ध थियो। तथापि, समयमा त्यो परिवर्तन हुनेथियो।

शताब्दीऔंदेखि बाइबल सन्देश तथा यसको सकारात्मक प्रभाव फैलाउन प्रथम अनुवाद, सेप्टुआजिन्ट धेरै हदसम्म जिम्मेवार छ। यो किन तयार पारियो? अनि यस बाइबलले संसारलाई परिवर्तन गऱ्‍यो भनी भन्‍नु किन ठीक छ?

प्रेरित अनुवाद?

सा.यु.पू. सातौं र छैठौं शताब्दीको दौडान बेबिलोनमा निर्वासन भएपछि थुप्रै यहूदीहरू प्राचीन इस्राएल र यहूदाबाहिरै बसोबास गर्न थाले। फलतः निर्वासनमा जन्मेका यहूदीहरूको निम्ति हिब्रू दोस्रो भाषा हुन गयो। सा.यु.पू. तेस्रो शताब्दीसम्ममा युनानी साम्राज्यको प्रमुख सांस्कृतिक केन्द्र अलेक्सजान्ड्रा र इजिप्टमा यहूदी समुदाय स्थापित भइसकेको थियो। ती यहूदीहरूले पवित्र धर्मशास्त्रलाई युनानीमा अनुवाद गर्नुपर्ने आवश्‍यकता देखे जुन त्यतिबेलासम्म तिनीहरूको मातृ भाषा भइसकेको थियो।

त्यतिबेलासम्म बाइबलको प्रेरित सन्देश हिब्रू र केही अंश अरामीसित मिल्दोजुल्दो भाषामा लिपिबद्ध थियो। अर्कै भाषामा परमेश्‍वरको वचन व्यक्‍त गर्दा ईश्‍वरीय प्रेरणाका शक्‍तिशाली प्रभाव कम्ती हुने वा अर्थ नै गलत लगाइने हो कि? प्रेरित वचनको अभिभारा पाएका यहूदीहरूले अनुवादद्वारा सन्देशको गलत अर्थ लगाउन दिने थिए कि?—भजन १४७:१९, २०; रोमी ३:१, २.

यी संवेदनशील विषयहरूको कारण डर उत्पन्‍न हुनथाल्यो। यद्यपि, परमेश्‍वरको वचन यहूदीहरूले अब उप्रान्त बुझ्ने छैनन्‌ भन्‍ने फिक्री नै अन्ततः अन्य कुराहरूभन्दा महत्त्वपूर्ण हुन गयो। तोरह अर्थात्‌ मोशाद्वारा लिखित बाइबलका प्रथम पाँच पुस्तकहरूको युनानी अनुवाद उपलब्ध गर्ने निर्णय गरियो। तर वास्तविक अनुवाद कसरी भयो भन्‍ने कुरा चाहिं अस्पष्ट छ। अरसटियसका पत्र-अनुसार (अंग्रेजी) मिश्री शासक टलमी द्वितीयले (सा.यु.पू. २८५-२४६) व्यवस्थाको पाँच पुस्तक (वा तोरह) आफ्नो राजकीय पुस्तकालयमा राख्न एक प्रति युनानीमा अनुवाद गरेको चाहन्थे। तिनले यस कामको लागि ७२ यहूदी शास्त्रविद्‌हरूलाई अह्राए जो इस्राएलबाट मिश्र आए र अनुवाद कार्य ७२ दिनमै सिद्धाए। त्यसपछि यो अनुवाद यहूदी समुदायलाई पढेर सुनाइयो र तिनीहरूले सुन्दर तथा सही भनी घोषणा गरे। पछि एउटा किंवदन्तीले हरेक अनुवादकलाई बेग्लाबेग्लै कोठामा राखिए तापनि सबैको अनुवाद शब्द शब्दपिच्छे दुरुस्त भएको दाबी गऱ्‍यो। यी ७२ अनुवादकहरूसित सम्बन्धित यस्तो कथाको कारण यस युनानी बाइबल अनुवादलाई सेप्टुआजिन्ट भनियो जसको अर्थ ल्याटिन भाषामा “सत्तरी” हो।

वर्तमान समयका अधिकांश शास्त्रविद्‌हरू अरसटियसका पत्र अप्रमाणिक लेखोट हो भनी मानि लिन्छन्‌। टलमी द्वितीय होइन तर अलेक्सजान्ड्राका यहूदी समुदायका नेताहरू अनुवाद गर्न अग्रसर भएका हुन्‌ भनेर पनि तिनीहरू विश्‍वास गर्छन्‌। तर अलेक्सजान्ड्राका यहूदी दार्शनिक फिलो र यहूदी इतिहासकार जोसेफसका लेखोटहरूका साथसाथै ताल्मुद सबैले प्रथम शताब्दीका यहूदीहरूमाझ सेप्टुआजिन्ट पनि मूल धर्मशास्त्रझैं प्रेरित थियो भन्‍ने धारणा व्याप्त भएको देखाउँछ। निस्सन्देह सेप्टुआजिन्ट विश्‍वभरिका यहूदी समुदायले स्वीकारोस्‌ भन्‍ने हेतुले त्यस्तो धारणाको प्रचारप्रसार गरिएको थियो।

सुरुमा मोशाका पाँचवटा पुस्तकहरूको मात्र अनुवाद गरिएको भए तापनि पछि युनानीमा अनुवाद गरिएको सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई नै सेप्टुआजिन्ट भनिन थालियो। बाँकी पुस्तकहरू अर्को सय वर्ष वा त्यस्तैमा अनुवाद गरियो। सम्पूर्ण सेप्टुआजिन्ट अनुवादकहरूका समन्वयपूर्ण संयुक्‍त प्रयासको नतिजा हुनुको साटो टुक्रा टुक्रा गरी छुट्टा छुट्टै समयमा तयार पारिएको थियो। अनुवादकहरू सबैको योग्यता पनि समान थिएन साथै हिब्रूको ज्ञान पनि उत्तिकै थिएन। अधिकांश पुस्तकहरूको शाब्दिक अनुवाद गरियो र कुनै कुनै त अत्यन्तै शाब्दिक थिए। अन्य कतिको चाहिं सही अनुवाद गरिएन। हिब्रू धर्मशास्त्रको केही पुस्तकहरू लामो र छोटो दुवै संस्करणमा पाइन्छ। सा.यु.पू. दोस्रो शताब्दीको अन्तसम्ममा हिब्रू धर्मशास्त्रको सबै पुस्तकहरू युनानी भाषामा उपलब्ध भइसकेका थिए। अनुवादमा एकरूपता नभए तापनि हिब्रू धर्मशास्त्र युनानीमा अनुवाद गर्दाका प्रभाव अनुवादकहरूले सोचेभन्दा धेरै थियो।

शेमको पालमा येपेत?

सेप्टुआजिन्ट-को छलफल गर्दै ताल्मुदले उत्पत्ति ९:२७ उद्धरण गर्छ: “येपेत . . . शेमको पालमा बास गरोस्‌।” (मेगिल्ला ९ख, बेबिलोनी ताल्मुद) युनानी भाषाको शैली चलाएर सेप्टुआजिन्ट-ले येपेत (युनानीहरूका पुर्खा यावानका पिता) शेमको (इस्राएल राष्ट्रको पुर्खा) पालमा बसे भनी प्रतीकात्मक रूपमा संकेत गर्छ। तथापि, सेप्टुआजिन्ट-द्वारा शेम येपेतको पालमा बसे पनि भन्‍न सकिन्छ। कसरी?

सा.यु.पू. चौथो शताब्दीको अन्ततिर महान्‌ सिकन्दरले विजय हासिल गरेको सम्पूर्ण इलाकामा युनानी भाषा र संस्कृति फैलाउन भरमग्दूर प्रयास गरियो। यस नीतिलाई युनानीकरण भनिन्छ। यहूदीहरूले आफू बारम्बार सांस्कृतिक हमलामा परेको महसुस गरे। युनानी संस्कृति र दर्शन व्याप्त भएमा यहूदीहरूको धर्म नै लुप्त हुनेथियो। यस्तो हमलालाई केले रोक्नसक्थ्यो?

यहूदीहरूले सेप्टुआजिन्ट अनुवाद गर्नुको एउटा सम्भाव्य कारणको सन्दर्भमा यहूदी बाइबल अनुवादक म्याक्स मारगोलिस टिप्पणी गर्छन्‌: “कसै कसैले बाइबल अनुवाद गर्ने योजना यहूदी समुदायहरूले गरे भन्‍ने सोच्छन्‌ भने अनुवाद गर्नुपछाडि अर्को उद्देश्‍य पनि लुकेको हुनसक्छ, मुख्यतः यहूदीहरूको व्यवस्था अन्यजातिहरूको निम्ति पनि उपलब्ध गर्ने अनि हेलासको [युनानीहरूको] बौद्धिकतासित यहूदी संस्कृतिले टक्कर लिनसक्छ भनी संसारलाई विश्‍वस्त गर्न थियो।” अतः युनानी बोल्ने समुदायहरूका लागि हिब्रू धर्मशास्त्र उपलब्ध गराउनुको उद्देश्‍य आत्मसुरक्षा र प्रत्याक्रमण दुवै हुनसक्छ।

सिकन्दरको युनानीकरणको नीतिले गर्दा युनानी एउटा अन्तरराष्ट्रिय भाषा भइसकेको थियो। रोमीहरूले युनानीहरूलाई परास्त गरेपश्‍चात्‌ पनि सामान्य जनसमुदायले (वा कोइन) बोल्ने युनानी व्यापार तथा राष्ट्रहरूबीच सञ्चारको भाषा नै रहिरह्‍यो। चाहे यो अनुवाद युनानी भाषा फैलाउन जानाजानी गरिएको प्रयास होस्‌ वा स्वतः भएको होस्‌, हिब्रू धर्मशास्त्रको सेप्टुआजिन्ट संस्करण चाँडै मानिसहरूले आ-आफ्नो घरमा राख्न थाले र पहिला परमेश्‍वर अनि यहूदीहरूको व्यवस्थासित परिचित नभएका गैरयहूदीहरूले पनि त्यसलाई चाँडै स्वीकार्न थाले। फलतः आश्‍चर्यजनक नतिजाहरू भए।

यहूदीधर्म अपनाउनेहरू तथा ईश्‍वरभीरुहरू

सा.यु. प्रथम शताब्दीभित्रमा फिलोले “मोशाको विधानको सौन्दर्य र श्रेष्ठतालाई यहूदीहरूले मात्र नभई अन्य राष्ट्रहरूले पनि कदर गरे” भनेर लेख्नसके। प्रथम शताब्दीताक प्यालेस्टाइनबाहिर बसिरहेका यहूदीहरूबारे यहूदी इतिहासकार योसेफ क्लाउजनर भन्छन्‌: “त्यो सानो प्यालेस्टाइनबाट मात्रै बसाइँ सरेर यी लाखौं यहूदीहरू भेला भए भनी विश्‍वास गर्न गाह्रो छ। यहूदीहरूको यस्तो वृद्धि हुनुको कारण ठूलो संख्यामा यहूदीधर्म अपनाउने पुरुष तथा स्त्रीहरूलाई स्वीकार्नु पनि हो भनी नकार्न सकिंदैन।”

तथापि, सम्पूर्ण परिस्थिति बुझ्न यी प्रभावकारी विवरणहरू मात्र पर्याप्त छैनन्‌। यहूदी इतिहासका प्राध्यापक अर्थर शा जे. डि. कोहेन भन्छन्‌: “सा.यु.पू. को अन्तिम शताब्दी र सा.यु. प्रथम दुई शताब्दीताक अन्यजातिका थुप्रै पुरुष तथा स्त्रीहरूले यहूदीधर्म अपनाए। तथापि, यस्ता मानिसहरू झनै थुप्रै थिए जसले यहूदीधर्मका केही पक्षहरू स्वीकारे तर धर्म परिवर्तन भने गरेनन्‌।” क्लाउजनर र कोहेन दुवैले धर्म परिवर्तन नगर्ने यस्ताहरूलाई ईश्‍वरभीरुहरू भनेका छन्‌ र यो अभिव्यक्‍ति त्यस समयको युनानी साहित्यहरूमा बारम्बार उल्लेख गरिएको पाइन्छ।

यहूदीधर्म अपनाउनेहरू र ईश्‍वरभीरुहरूबीच के अन्तर छ? यहूदीधर्म अपनाउनेहरूले पूर्णतया यहूदीधर्मलाई स्वीकारे र तिनीहरूलाई हरेक पक्षबाट यहूदी ठानिन्थ्यो किनभने (अन्य सबै देवताहरूलाई त्यागेर) तिनीहरूले इस्राएलको परमेश्‍वरलाई स्वीकारे, खतना गरे र इस्राएल राष्ट्रको सदस्य भए। त्यसको विपरीत ईश्‍वरभीरुहरूको सन्दर्भमा कोहेन भन्छन्‌: “यी अन्यजातिहरूले थुप्रै यहूदी प्रचलनहरू मान्‍नुका साथै यहूदीहरूको परमेश्‍वरलाई कुनै न कुनै तरिकामा सम्मान गरे तापनि तिनीहरूले आफूलाई यहूदी ठान्दैनथे र अरूले पनि तिनीहरूलाई यहूदीको रूपमा लिंदैनथे।” क्लाउजनरले तिनीहरूलाई “बीचको” भन्छन्‌ किनभने तिनीहरूले यहूदीधर्म स्वीकारे र “यसका केही प्रचलनहरू अपनाए तर . . . पूर्णतया यहूदी भएनन्‌।”

मिसनरी कार्यमा लागेका यहूदीहरूसितको छलफलपछि वा यहूदी आचरण, चलन र बानीबेहोरा भिन्‍न भएको देखेर सायद कोही कोही परमेश्‍वरबारे जान्‍न इच्छुक भएका हुनसक्छन्‌। यद्यपि, यी ईश्‍वरभीरुहरूलाई यहोवा परमेश्‍वरबारे सिक्न मदत दिने मुख्य औजार सेप्टुआजिन्ट नै थियो। प्रथम शताब्दीमा ईश्‍वरभीरुहरूको सही संख्या किटान गर्न असम्भव भए तापनि रोमी साम्राज्यभरि सेप्टुआजिन्ट-ले पक्कै पनि परमेश्‍वरबारे केही ज्ञान फैलाएको हुनुपर्छ। सेप्टुआजिन्ट मार्फत महत्त्वपूर्ण जग पनि बसालियो।

बाटो तयार पार्न सेप्टुआजिन्ट-ले मदत गऱ्‍यो

मसीहीधर्म फैलाउन सेप्टुआजिन्ट-ले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो। सा.यु. ३३ को निस्तार चाडमा मसीही मण्डली स्थापना गर्दा थुप्रै युनानीभाषी यहूदीहरू पनि उपस्थित थिए। भर्खर भर्खर मण्डलीहरू स्थापना भएको समयमा यहूदीधर्म अपनाउने थुप्रै मानिसहरू ख्रीष्टको चेला भए। (प्रेरित २:५-११; ६:१-६; ८:२६-३८) येशूका प्रेरितहरू तथा अन्य प्रारम्भिक चेलाहरूका प्रेरित लेखोटहरू सकेसम्म सबै मानिसहरूकहाँ पुऱ्‍याउने उद्देश्‍य राखिएको हुँदा तिनीहरू युनानी भाषामा अनुवाद गरियो।a अतः मसीही युनानी धर्मशास्त्रमा उद्धृत थुप्रै हिब्रू धर्मशास्त्रका कथनहरू सेप्टुआजिन्ट-मा आधारित थिए।

यहूदी नागरिक तथा यहूदीधर्म अपनाउनेहरूबाहेक अन्य मानिसहरू पनि परमेश्‍वरको राज्यको समाचार स्वीकार्न तयार थिए। अन्यजाति कर्नीलियस “भक्‍त थिए, र तिनको सारा घरानासमेत परमेश्‍वरको भय मान्थे, र मानिसहरूलाई दान-पुण्य गरी परमेश्‍वरमा सधैं प्रार्थना गर्नेगर्थे।” सा.यु. ३६ मा कर्नीलियसको घरमा जम्मा भएका तिनको परिवार र तिनको घरका अन्य मानिसहरू र स्वयं कर्नीलियस ख्रीष्टको अनुयायीको रूपमा बप्तिस्मा लिने पहिलो अन्यजाति थिए। (प्रेरित १०:१, २, २४, ४४-४८; तुलना गर्नुहोस्‌ लूका ७:२-१०) सम्पूर्ण एसिया माइनर र ग्रीसमा यात्रा गर्दा प्रेरित पावलले परमेश्‍वरको डर मान्‍ने थुप्रै अन्यजातिहरूका साथै “भक्‍त ग्रीकहरू[लाई]” प्रचार गरे। (प्रेरित १३:१६, २६; १७:४) कर्नीलियस तथा अरू अन्यजातिहरू किन सुसमाचार स्वीकार्न तयार थिए? बाटो तयार पार्न सेप्टुआजिन्ट मदतकारी साबित भएको हुँदा एक शास्त्रविद्‌ले सेप्टुआजिन्ट “एउटा यस्तो उल्लेखनीय पुस्तक हो जसबिना मसीहीजगत्‌ र पश्‍चिमी संस्कृति दुवैको कल्पना समेत गर्न सकिंदैन” भने।

सेप्टुआजिन्ट-ले “प्रेरणा” गुमाउँछ

सेप्टुआजिन्ट व्यापक रूपमा प्रयोग गरेकाले अन्ततः यहूदीहरूमाझ नराम्रो प्रतिक्रिया देखा पऱ्‍यो। मसीहीहरूसित छलफल गर्दा उदाहरणका लागि, यहूदीहरूले सेप्टुआजिन्ट-को अनुवाद सही नभएको दाबी गरे। सा.यु. दोस्रो शताब्दीसम्ममा यहूदी समुदायले एक समय प्रेरित भनी गुनगान गरेको अनुवादलाई पूर्णतया अस्वीकार गरिसकेका थिए। रब्बीहरूले ७२ अनुवादकहरूको दन्त्यकथालाई अस्वीकार गर्दै यसो भने: “एक समय ती पाँच प्राचीनहरूले ग्रीसका राजा टलमीको निम्ति तोरह लेखे र सुनको बाछो बनाइएको दिन इस्राएलको निम्ति जति अशुभ थियो त्यति नै अशुभ तोरहको अनुवाद सही नभएको कारण पनि छ।” रब्बीहरूको विचारधारासित मिल्दोजुल्दो होस्‌ भन्‍ने हेतुले रब्बीहरूले युनानीमा नयाँ अनुवाद निकाल्न आदेश दिए। यो सा.यु. दोस्रो शताब्दीमा रब्बी अकिभाका शिष्य अक्विलाले गरे, तिनले पनि यहूदीधर्म अपनाएका थिए।

यहूदीहरूले सेप्टुआजिन्ट प्रयोग गर्न छोडे तापनि भर्खरै सुरु भइरहेको क्याथोलिक चर्चमा जेरोमको ल्याटिन भलगेट नआउञ्जेल सेप्टुआजिन्ट नै “पुरानो नियम”-को आधारभूत पुस्तकको रूपमा चलाइयो। अनुवादले कहिल्यै मूल स्रोतको ठाउँ लिन नसक्ने भए तापनि यहोवा परमेश्‍वरको ज्ञान अनि येशू ख्रीष्ट मार्फत आउने उहाँको राज्यको ज्ञान फैलाउन सेप्टुआजिन्ट-ले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो। साँच्चै, सेप्टुआजिन्ट एउटा यस्तो बाइबल अनुवाद हो जसले विश्‍वलाई परिवर्तन गऱ्‍यो।

[फुटनोट]

a मत्तीको सुसमाचारको पुस्तक पहिला हिब्रूमा लेखिएर पछि मात्र युनानी संस्करण उपलब्ध गरिएको हुनसक्छ।

[पृष्ठ ३१-मा भएका चित्र]

पावलले सुसमाचार प्रचार गरेका थुप्रै मानिसहरूले “सेप्टुआजिन्ट” बुझ्थे

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

इजरायल एन्टिक्विटीज्‌ अथोरिटिबाट साभार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने