प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia chap. ३ pp. २५-३२
  • ‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जलप्रलयपछि यहोवाको उपासना
  • ‘तिम्रो देश छोडेर जाऊ’
  • तिनीहरूले यूफ्रेटिस नदी तरे
  • अब्राहाम विश्‍वासको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाले किन अब्राम र साराईको नाम परिवर्तन गरिदिनुभयो?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • के तपाईं आवश्‍यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia chap. ३ pp. २५-३२
अब्राहाम, विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा

अध्याय तीन

‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’

१, २. नूहको समयपछि संसारको अवस्था कस्तो भयो? त्यो देखेर अब्राहामलाई कस्तो लाग्यो?

अब्राहाम बिस्तारै आफ्नो नजर जिगुरात मन्दिरतिर लगाउँछन्‌।a ऊर सहरको काखमा रहेको पिरामिड आकारको त्यो विशाल मन्दिर छाती फुलाएर बसेको जस्तो देखिन्छ। त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिन्छ, धुवाँको मुस्लो पनि उडिरहेको छ। चन्द्रदेवका पुजारीहरू बलि चढाउने तामझाम मिलाउँदैछन्‌। यो दृश्‍य देखेर अब्राहाम फनक्क फर्किन्छन्‌, खुइय्य गर्दै निधार खुम्चाउँछन्‌ र आफ्नो बाटो तताउँछन्‌। मानिसहरूको घुइँचो छिचोल्दै घरतिर लागिरहेका यी व्यक्‍ति सायद ऊरमा फैलिएको मूर्तिपूजाबारे सोचिरहेका छन्‌। नूहको समयपछि साँचो उपासनामा लागेको यो दाग महामारीजस्तै कत्ति छिटो संसारभर फैलिएको!

२ अब्राहाम जन्मनुभन्दा दुई वर्षअघि मात्र नूहको मृत्यु भएको थियो। जलप्रलयको विनाशपछि नूह र तिनको परिवार जहाजबाट बाहिर निस्के। त्यसपछि यी कुलपिताले यहोवा परमेश्‍वरलाई बलिदान चढाए। जवाफस्वरूप यहोवाले पनि आकाशमा इन्द्रेनी देखाउनुभयो। (उत्प. ८:२०; ९:१२-१४) त्यतिबेला सबैले यहोवाको मात्र उपासना गर्थे। नूहको दसौं पुस्ता अब्राहामको पालासम्ममा तिनका सन्तानहरू पृथ्वीभरि फैलिसकेका थिए। सँगसँगै साँचो उपासना पनि ओझेलमा पर्दै गयो। जताततै मानिसहरू झूटा देवताको उपासना गर्थे। यहाँसम्म कि अब्राहामका बुबा तेरहसमेत मूर्तिपूजामा संलग्न थिए। सायद उनले मूर्ति नै बनाउन थालेका थिए।—यहो. २४:२.

अब्राहाम कसरी हाम्रो लागि विश्‍वासको उत्कृष्ट उदाहरण भए?

३. कुन गुणले गर्दा अब्राहाम अरू मानिसभन्दा भिन्‍न थिए? यसबाट हामी के सिक्न सक्छौं?

३ तर अब्राहाम भने भिन्‍न थिए। किनभने जीवनको गोरेटोमा हिंड्‌दा हिंड्‌दै तिनले एउटा असल गुण विकास गरे। त्यो हो—विश्‍वास। वास्तवमा भन्‍ने हो भने पछि प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर तिनलाई ‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’ भने। (रोमी ४:११ पढ्‌नुहोस्‌) अब्राहामलाई विश्‍वास बलियो बनाउन केले मदत गऱ्‍यो, अब हामी हेरौं। आफ्नो विश्‍वास कसरी बलियो बनाउने भनेर हामी अब्राहामबाट धेरै कुरा सिक्न सक्छौं।

जलप्रलयपछि यहोवाको उपासना

४, ५. अब्राहामले कोमार्फत यहोवा परमेश्‍वरबारे थाह पाएको हुनुपर्छ? हामी किन त्यसो भन्‍न सक्छौं?

४ अब्राहामले यहोवा परमेश्‍वरबारे कसरी थाह पाए? अब्राहामको पालामा पनि यहोवाको सेवा गर्ने विश्‍वासी सेवकहरू थिए भनेर हामीलाई थाह छ। तीमध्ये एक जना शेम पनि हुन्‌। हुन त उनी नूहका तीनभाइ छोरामध्ये जेठा थिएनन्‌, तैपनि प्रायजसो उनकै नाम पहिला उल्लेख गरिएको छ।b सायद उनले असाधारण विश्‍वास देखाएकोले होला। जलप्रलय भएको केही समयपछि नूहले यहोवा परमेश्‍वरलाई “शेमका परमप्रभु” भने। (उत्प. ९:२६) शेम यहोवा परमेश्‍वर र साँचो उपासनाको कदर गर्थे।

५ के अब्राहामलाई शेमको विषयमा थाह थियो? सायद थाह थियो। अब्राहाम सानो छँदाको दृश्‍य कल्पना गर्नुहोस्‌। चार सय वर्षको मानव इतिहासका प्रत्यक्षदर्शी आफ्ना पुर्खा जीवितै छन्‌ भनेर सुन्दा अब्राहामलाई कत्ति खुसी लाग्यो होला! जलप्रलयअघि कत्तिसम्म दुष्टता चुलिएको थियो, जलप्रलयले त्यो सबै कसरी विनाश गऱ्‍यो, मानिसहरू कसरी पृथ्वीमा फैलिंदै गए र तिनीहरूले कसरी आ-आफ्नो देश बनाउँदै गए अनि बाबेलको धरहरा बनाएर निम्रोदले कसरी विद्रोह गऱ्‍यो, शेमले त्यो सब आफ्नै आँखाले देखेका थिए। निम्रोदले विद्रोह गर्दा शेम विश्‍वासी नै रहे। त्यसकारण यहोवाले धरहरा बनाउने मानिसहरूको भाषा खलबल्याइदिंदा शेम र उनको परिवारलाई कुनै असर परेन। उनीहरू पहिला जुन भाषा बोल्थे, पछि पनि उनीहरूले त्यही भाषा बोलिरहे अर्थात्‌ नूहको भाषा। अब्राहाम पनि शेमकै परिवारका थिए। त्यसैले तिनी सानैदेखि शेमलाई आदर गर्थे। त्यतिमात्र होइन, तिनी ठूलो भइसकेपछि पनि शेम जीवितै थिए। त्यसकारण तिनले शेमबाट नै यहोवा परमेश्‍वरको विषयमा थाह पाएको हुनुपर्छ।

मूर्तिपूजाले भरिएको ऊर सहर छोडेर गइरहेका अब्राम

ऊरमा व्याप्त मूर्तिपूजाबाट अब्राहाम अलग रहे

६. (क) जलप्रलयको विनाशबाट ठूलो पाठ सिकेको कुरा अब्राहामले कसरी देखाए? (ख) अब्राहाम र साराको जीवन कस्तो थियो?

६ जेहोस्‌, जलप्रलयको विनाशबाट अब्राहामले ठूलो पाठ सिके। नूह परमेश्‍वरसँगसँगै हिंडेझैं तिनले पनि परमेश्‍वरसँगसँगै हिंड्‌ने प्रयास गरे। त्यसैले तिनी मूर्तिपूजाबाट अलग्गै रहे। ‘कागको बीचमा बकुल्लो’ भनेझैं मूर्तिपूजकहरूको बीचमा पनि तिनले भिन्‍नै जीवन बिताए। सायद आफ्नै परिवारका सदस्यहरू मूर्तिपूजक भए पनि तिनले यस्तो कदम चाले। तिनले पछि असल जीवनसाथी भेट्टाए। तिनले सारासित विवाह गरे।c सारा अत्यन्तै सुन्दरी थिइन्‌ र यहोवाप्रतिको तिनको विश्‍वास पनि उल्लेखनीय थियो। निस्सन्तान भए तापनि यी जोडीले आनन्दित भई यहोवाको सेवा गरिरहे। तिनीहरूले आफ्नो अनाथ भतिजा लूतको पालनपोषण गरे।

७. येशूका अनुयायीहरूले कसरी अब्राहामको अनुकरण गर्न सक्छन्‌?

७ ऊरमा मूर्तिपूजाको जगजगी भए पनि अब्राहामले यहोवालाई त्यागेनन्‌। वरपरको समाज मूर्तिपूजामा चुर्लुम्मै डुबेको थियो। तैपनि अब्राहाम र सारा यहोवाको सेवामा लागिरहे। साँचो विश्‍वास खेती गर्ने हो भने हामीले पनि तिनीहरूको जस्तै कदम चाल्नुपर्छ। हामी पनि ‘बकुल्ला’ बन्‍न तयार हुनुपर्छ। येशूले आफ्ना अनुयायीहरू ‘यस संसारका होइनन्‌’ भन्‍नुभयो र संसारले तिनीहरूलाई घृणा गर्नेछ भनेर पनि बताउनुभयो। (यूहन्‍ना १५:१९ पढ्‌नुहोस्‌) यहोवाको सेवा गरेकोले तपाईं आफ्नो परिवार वा समाजबाट तिरस्कृत हुनुपरेको छ भने चिन्ता नगर्नुहोस्‌। यस्तो अवस्था भोग्ने तपाईं मात्र हुनुहुन्‍न। बरु तपाईंले वफादार भई परमेश्‍वरको सेवा गर्न अब्राहाम र साराको असल उदाहरण पछ्याइरहनुभएको हुनेछ।

‘तिम्रो देश छोडेर जाऊ’

८, ९. (क) अब्राहामको जीवनमा कस्तो अविस्मरणीय घटना घट्यो? (ख) यहोवाले अब्राहामलाई कस्तो सन्देश दिनुभयो?

८ एकदिन अब्राहामको जीवनमा अविस्मरणीय घटना घट्यो। तिनले यहोवा परमेश्‍वरबाट एउटा सन्देश पाए। अब्राहामले त्यो सन्देश कसरी पाए, त्यस विषयमा विस्तृत जानकारी बाइबलमा दिइएको छैन। तैपनि “महिमाका परमेश्‍वर” यी विश्‍वासी पुरुषकहाँ देखा पर्नुभयो भनेर चाहिं बाइबलमा लेखिएको छ। (प्रेषित ७:२, ३ पढ्‌नुहोस्‌) सायद स्वर्गदूतमार्फत तिनले ब्रह्‍माण्डका सार्वभौम सत्ताधारी परमेश्‍वरको महिमाको झल्को पाए। जीवित परमेश्‍वर यहोवा र वरपरका मानिसहरूले पुज्ने निर्जीव मूर्तिहरूबीचको भिन्‍नता देखेर अब्राहाम कत्ति प्रभावित भए होलान्‌!

९ यहोवाले अब्राहामलाई के सन्देश दिनुभयो? उहाँले तिनलाई यसो भन्‍नुभयो: “तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।” अब्राहामलाई ‘फलानो देशमा जाऊ’ भनेर त यहोवाले बताउनुभएन तर ‘मैले देखाउने देशमा जाऊ’ मात्र भन्‍नुभयो। सबभन्दा पहिला अब्राहामले आफ्नो घरबार, नातागोता सबै छोडेर जानुपर्थ्यो। त्यतिबेला मध्यपूर्वमा परिवारलाई ठूलो महत्त्व दिइन्थ्यो। नातागोता छोडेर टाढा जानु एकदमै दुःखलाग्दो कुरा हुन्थ्यो—मृत्युभन्दा पनि दुःखलाग्दो!

१०. ऊरमा भएको घरबार छोड्‌नु अब्राहाम र साराको लागि किन सजिलो थिएन?

१० आफू हुर्केबढेको ठाउँ चटक्कै छोडेर जानु सजिलो कुरा होइन। प्रमाणहरूले देखाएअनुसार ऊर सहर एकदमै व्यस्त अनि सम्पन्‍न थियो। (“अब्राहाम र साराले छोडेको सहर” शीर्षकको पेटी हेर्नुहोस्‌) उत्खननबाट पत्ता लागेअनुसार ऊरमा निकै सुविधायुक्‍त घरहरू थिए; कुनै-कुनै घरको बीचमा ढुङ्‌गा छापिएका चोकहरू हुन्थे अनि त्यो चोकको वरिपरि परिवार र नोकर-चाकरहरूको लागि भनेर एक दर्जन वा त्योभन्दा धेरै कोठाहरू बनाइएका हुन्थे। त्यहाँ धारा, शौचालय अनि ढलनिकासको समेत सुविधा थियो। नबिर्सनुहोस्‌, अब्राहाम र साराको उमेर ढल्किसकेको थियो। अब्राहामले ७० र साराले ६० वसन्त पार गरिसकेका थिए। आफ्नी प्यारी पत्नीका लागि अब्राहाम पक्कै पनि सुविधायुक्‍त घर चाहन्थे र तिनले अलिकता पनि दुःख बेसाउनु नपरोस्‌ भन्‍ने चाहन्थे। हरेक असल पतिले आफ्नी पत्नीबारे यस्तो सोच्नु स्वाभाविकै हो। तर यहोवाबाट यस्तो सन्देश पाइसकेपछि यी जोडीबीच कस्तो कुराकानी भयो होला? तिनीहरूको मनमा कस्तो-कस्तो प्रश्‍न उठ्यो होला? कस्तो-कस्तो तर्कना आयो होला? तैपनि साराले यो चुनौती स्वीकार्दा अब्राहाम कत्ति दङ्‌ग परे होलान्‌! अब्राहामजस्तै सारा पनि आफ्नो सुख-सुविधा सबै त्याग्न राजी थिइन्‌।

११, १२. (क) ऊर छोड्‌नुअघि के-कस्तो तयारी तथा निर्णय गर्नुपर्थ्यो? (ख) यात्रामा निस्कँदाको क्षण वर्णन गर्नुहोस्‌।

११ अब्राहाम र साराले यात्रामा निस्कन विभिन्‍न निर्णय गर्नुका साथसाथै थुप्रै काम पनि गर्नुपर्थ्यो। यात्राको लागि तिनीहरूले पोकोपन्तरो कस्नुपर्थ्यो। फेरि के-के पोको पार्ने, के-के नपार्ने त्यो पनि विचार पुऱ्‍याउनुपर्थ्यो। मालसामानभन्दा पनि महत्त्वपूर्ण त परिवारका सदस्यहरू थिए। वृद्ध अवस्थामा पुगिसकेका बुबा तेरहको कसरी हेरविचार गर्ने? हो, तिनीहरूले उनलाई सँगै लाने निर्णय गरे; अन्तसम्मै बुबाको हेरविचार गर्ने सङ्‌कल्प गरे। तेरहले पनि तिनीहरूको निर्णय सहर्ष स्वीकारेको जस्तो देखिन्छ किनभने तेरहले आफ्नो परिवारलाई लिएर गए भनेर बाइबलमा लेखिएको छ। यतिबेलासम्ममा त तेरहले पक्कै पनि मूर्तिपूजा त्यागिसकेको हुनुपर्छ। अब्राहामको भतिजा लूतले पनि तिनीहरूको यात्रामा साथ दिए।—उत्प. ११:३१.

१२ अन्ततः यात्रामा निस्कने दिन पनि आयो। ऊर सहरको पर्खालबाहिर अनि कुवाको वरपर हेर्नुस्‌ त: यात्रामा निस्कन तम्तयार मानिसहरूको घुइँचो नै छ। ऊँट र गधालाई टन्‍नै सामान लदाइएको छ; भेडा-बाख्राको झुन्ड पनि चलमलाइरहेको छ; कहाँ पुग्ने हो केही थाह छैन, तैपनि परिवारका सदस्यहरू अनि चाकरहरू सबै नै यात्रामा निस्कन ठिक्क परेका छन्‌।d सबै जना अब्राहामलाई हेर्दैछन्‌। तिनले कहिले इसारा गर्लान्‌ र जाउँला भन्दै तिनीहरू पर्खिरहेका छन्‌। अन्ततः तिनीहरू आफ्नो पाइला अघि सार्छन्‌ र ऊरलाई सदा-सदाको लागि बिदा गर्छन्‌।

१३. अहिले यहोवाका थुप्रै सेवकहरूले कसरी अब्राहाम र साराको जस्तै मनोवृत्ति देखाइरहेका छन्‌?

१३ अहिले यहोवाका थुप्रै सेवकहरू अझ धेरै प्रचारक चाहिएको ठाउँमा बसाइँ सर्ने निर्णय गर्छन्‌। अरू कतिपय भने प्रचारकार्यलाई विस्तार गर्न नयाँ भाषा सिक्ने जमर्को गर्छन्‌। कोही-कोहीचाहिं आफूलाई असहज भए पनि प्रचार गर्ने नयाँ-नयाँ तरिका अपनाउने निर्णय गर्छन्‌। यस्तो निर्णय गर्न अनेकौं त्याग गर्नुपर्ने हुन्छ, आफूसित भएको सुख-सुविधा त्याग्नुपर्ने पनि हुन सक्छ। तैपनि यस्तो निर्णय गर्न पछि नपर्नेहरू प्रशंसाको योग्य छन्‌ नि, होइन र? अब्राहाम र साराजस्तै! त्यस्तो विश्‍वास देखायौं भने यहोवाले हामीलाई सोचेको भन्दा पनि धेरै इनाम दिनुहुनेछ। विश्‍वासीहरूलाई इनाम दिन यहोवा कहिल्यै पछि पर्नुहुन्‍न। (हिब्रू ६:१०; ११:६) त्यसोभए यहोवाले अब्राहामलाई इनाम दिनुभयो त?

तिनीहरूले यूफ्रेटिस नदी तरे

१४, १५. ऊरदेखि हारानसम्मको यात्रा कस्तो थियो? अब्राहामले किन केही समय हारानमै बस्ने निर्णय गरेका हुन सक्छन्‌?

१४ बिस्तारै-बिस्तारै यात्रा गर्ने बानी पनि बस्न थाल्यो। अब्राहाम र साराको यात्राको दृश्‍य कल्पना गर्नुहोस्‌: दुई जना कहिले जनावरमाथि चढ्‌छन्‌ त कहिले हिंड्‌छन्‌। तिनीहरूको कुराकानीको गुनगुन-गुनगुन आवाज आइरहेको छ। जनावरहरूको घाँटीमा भएको घण्टीको टिङ्‌टिङ्‌-टिङ्‌टिङ्‌ आवाज पनि आइरहेको छ। सुरु-सुरुमा त यी यात्रीहरूलाई पाल टाँग्न पनि मुस्किल पर्थ्यो तर अहिले बिस्तारै बानी परिसकेको छ। तेरहलाई ऊँट वा गधामा सुबिस्तासित राख्न पनि यी यात्रीहरू खप्पिस भइसकेका छन्‌। तिनीहरू यूफ्रेटिस नदी हुँदै उत्तर-पश्‍चिम लाग्छन्‌। एक दिन, दुई दिन गर्दै महिनौं बितेको पत्तै हुँदैन।

१५ लगभग ९६० किलोमिटर पार गरिसकेपछि तिनीहरू मौरीको चाकाजस्तै देखिने स-साना घरहरू भएको सम्पन्‍न सहर हारानसम्म आइपुगे। यो सहर पूर्व-पश्‍चिमको व्यापारिक मार्गमा पर्थ्यो। यहाँ आइपुगेपछि यी यात्रीहरू रोकिए र केही समय यहीं बसे। तेरह अब यात्रा गर्न नसक्ने अवस्थामा पुगेजस्तो देखिन्छ।

१६, १७. (क) कुन करारले गर्दा अब्राहाममा नयाँ उमङ्‌ग आयो? (ख) हारानमा बसुन्जेल यहोवाले अब्राहामलाई कस्तो आशिष्‌ दिनुभयो?

१६ हारानमा २०५ वर्षको उमेरमा तेरहको मृत्यु भयो। (उत्प. ११:३२) आफ्नो प्यारो बुबा गुमाउनुपर्दा अब्राहामको मुटु कत्ति छियाछिया भयो होला! तर यहोवाले तिनीसित फेरि कुरा गर्दा तिनको घाउमा मलहम लगाएझैं भयो। उहाँले अब्राहामलाई ऊरमा गरेको प्रतिज्ञा फेरि दोहोऱ्‍याउनुभयो र थप जानकारी पनि दिनुभयो। अब्राहामबाट “एउटा ठूलो जाति खडा” हुनेछ र तिनकै कारणले पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ भनेर यहोवाले बताउनुभयो। (उत्पत्ति १२:२, ३ पढ्‌नुहोस्‌) उहाँले अब्राहामसित यस्तो करार बाँधेपछि अब्राहाममा नयाँ उमङ्‌ग आयो र तिनी यात्रा अघि बढाउन हौसिए।

१७ यस पटक भने अझ धेरै पोकापन्तरा कस्नुपर्ने थियो। किनभने यहोवाले अब्राहामलाई हारानमा बसुन्जेल निकै आशिष्‌ दिनुभएको थियो। ती यात्रीहरूबारे बाइबल विवरण यसो भन्छ: “तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई [तिनीहरू] निस्के।” (उत्प. १२:५) एउटा ठूलो जाति बन्‍नको लागि अब्राहामको घराना पनि ठूलै हुनुपर्थ्यो, तिनीसित मनग्गे धनसम्पत्ति र नोकर-चाकरहरू हुनुपर्थ्यो। यहोवा आफ्ना सेवकहरूलाई सधैं धनी बनाउनु त हुन्‍न तर आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ तिनीहरूलाई चाहिने जति सबै कुरा दिनुहुन्छ। यहोवाबाट प्रशस्त आशिष्‌ पाएका यी व्यक्‍ति आफ्नो पाइला अघि सार्छन्‌। तर पुग्नुपर्ने कहाँ हो, तिनलाई थाह छैन।

थोरै सरसामान लिएर ऊरबाट हिंडिरहेका अब्राम र साराई

ऊरको सुख-सुविधालाई चटक्कै छोडेर जानु अब्राहाम र साराको लागि कहाँ सजिलो थियो र!

१८. (क) यहोवाका जनहरूलाई असर गर्ने इतिहास बोकेको विशेष ठाउँमा अब्राहाम कहिले पुगे? (ख) नीसान १४ कै दिनमा पछि के-कस्ता महत्त्वपूर्ण घटना घटे? (“बाइबल-इतिहासकै महत्त्वपूर्ण मिति” शीर्षकको पेटी हेर्नुहोस्‌)

१८ केही दिनको यात्रापछि यो विशाल टोली कर्कमीश आइपुग्छ। यहाँ यात्रीहरूले यूफ्रेटिस नदी तर्नुपर्ने हुन्छ। अब्राहामले यूफ्रेटिस नदी तरेको ठाउँबाटै यहोवाका जनहरूलाई असर गर्ने इतिहास सुरु भयो। त्यसकारण तिनले नदी तरेको समय विशेष साबित भयो। ईसापूर्व १९४३ को नीसान महिनाको १४ औं दिनमा अब्राहामको टोलीले यो नदी तरेको हुनुपर्छ। नीसान महिना भन्‍ने नामचाहिं पछि राखिएको थियो। (प्रस्थ. १२:४०-४३) दक्षिणतिर यहोवाले अब्राहामलाई दिन्छु भनेर प्रतिज्ञा गरेको भूमि थियो। यहोवाले अब्राहामसित बाँधेको करार त्यही दिनदेखि लागू हुन थाल्यो।

१९. यहोवाले अब्राहामलाई कस्तो थप जानकारी दिनुभयो? त्यसले गर्दा तिनले कुन कुरा सम्झेको हुनुपर्छ?

१९ त्यसपछि तिनीहरू दक्षिणतिर रहेको प्रतिज्ञा गरिएको देशतिर लाग्छन्‌। यस क्रममा तिनीहरू शकेमको नजिकै ठूलठूला रूखहरू भएको मोरे भन्‍ने ठाउँमा रोकिन्छन्‌। यहाँ फेरि एक चोटि अब्राहामले यहोवाबाट सन्देश पाउँछन्‌। यसपटकचाहिं यहोवाले अब्राहामलाई तिनकै सन्तानले यो भूमि अधिकार गर्नेछन्‌ भनेर बताउनुहुन्छ। यतिबेला अब्राहामले अदनमा यहोवाले गर्नुभएको प्रतिज्ञा सम्झे कि? किनभने मानवजातिलाई मुक्‍त गर्ने “सन्तान” आउनेछ भनेर यहोवाले अदनमा प्रतिज्ञा गर्नुभएको थियो। (उत्प. ३:१५; १२:७) सायद तिनले त्यो प्रतिज्ञा सम्झेका हुन सक्छन्‌। यहोवाले आफ्नो महान्‌ उद्देश्‍य पूरा गर्न अब्राहामलाई चलाइरहनुभएको थियो भन्‍ने कुरा अब्राहाम आफैले पनि केही हदसम्म बुझेका हुन सक्छन्‌।

२०. यहोवाले ठूलो सुअवसर दिनुभएकोमा अब्राहामले कसरी कृतज्ञता व्यक्‍त गरे?

२० यहोवाले यस्तो ठूलो सुअवसर दिनुभएकोमा अब्राहाम पक्कै पनि कृतज्ञ भए। प्रतिज्ञा गरिएको देशतिर यात्रा गर्दा अब्राहाम निकै होसियार हुनुपरेको थियो किनभने त्यहाँ कनानीहरू बस्थे। सुरुमा तिनी मोरेमा फलाँटको रूख भएको ठाउँमा रोकिए र त्यहाँ यहोवाको लागि वेदी बनाएर उहाँको नामको पुकारा गरे। त्यसपछि बेतेल नजिकै पनि त्यसै गरे। तिनले यहोवालाई प्रार्थना गर्दा आफ्ना सन्तानले भविष्यमा पाउने आशिष्‌बारे सम्झेर धन्यवाद पनि चढाएको हुनुपर्छ। सायद तिनले आफ्ना कनानी छिमेकीहरूलाई पनि यहोवाबारे बताए। (उत्पत्ति १२:७, ८ पढ्‌नुहोस्‌) भविष्यमा अब्राहामले आफ्नो विश्‍वासलाई थामिराख्न पक्कै पनि ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्ने थियो। खुसीको कुरा, ऊरमा छँदाको आफ्नो भव्य घर र सुख-सुविधा सम्झिंदै अब्राहाम पछुताएनन्‌। तिनले विगतका कुराहरूमा होइन तर भविष्यका कुराहरूमा ध्यान केन्द्रित गरे। हिब्रू ११:१० मा अब्राहामबारे यस्तो लेखिएको छ: “तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको निर्माता र रचनाकार परमेश्‍वर हुनुहुन्छ।”

२१. परमेश्‍वरको राज्यबारे अब्राहामले थाह नपाएका कस्ता कुरा आज हामीले थाह पाउन सकेका छौं? यसबाट तपाईंले कस्तो प्रोत्साहन पाउनुभयो?

२१ लाक्षणिक सहर अर्थात्‌ परमेश्‍वरको राज्यबारे अब्राहामले थाह नपाएका धेरै कुरा आज हामीले थाह पाउन सकेका छौं। त्यस राज्यले स्वर्गमा शासन गर्दैछ र छिट्टै नै यस युगको विनाश गर्नेछ भनेर हामीलाई थाह छ। हामीलाई यो पनि थाह छ, अब्राहामलाई प्रतिज्ञा गरिएको सन्तान येशू ख्रीष्ट अहिले त्यस राज्यको राजा हुनुहुन्छ। अब्राहाम पुनर्जीवित भएपछि यो ईश्‍वरीय प्रतिज्ञा कसरी पूरा भयो भनेर तिनले प्रस्टसँग बुझ्नेछन्‌। त्यो क्षण देख्न पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! यहोवाले गर्नुभएको हरेक प्रतिज्ञा पूरा भएको हेर्न तपाईं इच्छुक हुनुहुन्‍न र? पक्कै हुनुहुन्छ! त्यसोभए अब्राहामले जसो गरे त्यसै गर्न तपाईंले पनि भरमग्दुर प्रयास गर्नुपर्ने हुन्छ। आत्मत्यागी जीवन बिताउनुहोस्‌ अनि आज्ञाकारी हुनुहोस्‌। यहोवाले दिनुभएको सुअवसरको लागि प्रार्थना गरेर उहाँलाई कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। अब्राहामको विश्‍वास अनुकरण गर्नुभयो भने “विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा” तपाईंका पनि बुबा!

अब्राहाम र साराले छोडेको सहर

बाइबल पात्रहरू अनि तिनीहरूको पृष्ठभूमिलाई जीवन्त बनाउन यहोवाको सङ्‌गठनले लामो समयदेखि निकै प्रयास गर्दै आएको छ। जस्तै, मे २२, १९८८ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिकामा अब्राहाम र साराले छोडेको सहरबारे यस्तो विवरण दिइएको थियो:

“फारसको खाडी र बग्दाद सहरको बीचमा इँटाको रास हेर्दै उराठलाग्दो गरी ठाउँ-ठाउँमा थुप्रिएको छ। यो भग्नावशेष विशाल मरुभूमिको बीचमा ठिङ्‌ग उभिएको एक्लो पहरेदार जस्तो देखिन्छ। धुलाम्मे आँधीको झोक्का खाँदै अनि टन्टलापुर घाममा सेकिंदै बसेको यो भग्नावशेष वरपर सन्‍नाटा छाएको छ। राती यदाकदा पशुहरूको आवाज सुनिन्छ। यस्तै छ कुनै समय ठाँटिएर बसेको ऊर सहरको हालत!

“चार हजार वर्षको इतिहास पल्टाएर हेरौं। त्यहाँको अवस्था एकदम फरक छ। यूफ्रेटिस नदीको पूर्वी किनारमा रहेको ऊर सहर निकै सम्पन्‍न छ। सेतो चुनले पोतेका घरहरूको चमक वर्णन गरिसाध्य छैन। गल्ली-गल्लीमा थापेका पसलहरूमा व्यापारी र ग्राहकहरू मोलतोल गरिरहेको कल्याङमल्याङ सुनिन्छ। हिउँजस्तै सेतो ऊनको थुप्रोबाट धागो कात्न कामदारहरू खलखली पसिना बगाइरहेका छन्‌। जहाजमा ल्याइएका मालसामानहरू ओसार-पसार गर्न भरियाहरू दौडधूप गरिरहेका छन्‌। जहाजबाट भारी बोकेर झर्दा तिनीहरूले टेकेको फल्याकहरूको चाइँचाइँ-चुइँचुइँ आवाज निस्किरहेको छ।

“विशाल जिगुरात मन्दिरको काखमै यी सबै घटना भइरहेका छन्‌। भक्‍तालुहरू चन्द्रदेव नान्‍नाको उपासना गर्न यस ठाउँमा आउने गर्छन्‌। नान्‍ना देवले गर्दा नै ऊर सहर सम्पन्‍न भएको हो भन्‍ने तिनीहरूको विश्‍वास छ।

“पिरामिड आकारको यो विशाल मन्दिरमा चढाइएका बलिदानहरूको गन्ध एक जना मानिसलाई फिटिक्कै मन परेको छैन। ती हुन्‌—अब्राहाम।”

बाइबल-इतिहासकै महत्त्वपूर्ण मिति

अब्राहामले यूफ्रेटिस नदी तरेको मिति बाइबलको इतिहासमा एकदमै महत्त्वपूर्ण छ। त्यही मितिमा पछि अरू महत्त्वपूर्ण घटनाहरू घटे। अब्राहामले यूफ्रेटिस नदी तरेको ठ्याक्कै ४३० वर्षपछि अर्थात्‌ ईसापूर्व १५१३, नीसान १४ को दिन यहोवाले इस्राएलीहरूलाई मिश्रीहरूको दासत्वबाट छुटकारा दिनुभयो, जसले गर्दा इस्राएलीहरू अब्राहामलाई प्रतिज्ञा गरिएको देशमा गएर बस्न सके। (प्रस्थ. १२:४०, ४१; गला. ३:१७) पछि इस्वी संवत्‌ ३३ को नीसान १४ मै येशूले आफ्ना प्रेषितहरूलाई एक ठाउँमा भेला गराउनुभयो र तिनीहरूलाई स्वर्गमा भएको सरकारको भाग बनाउने करार बाँध्नुभयो। त्यस सरकारले चाँडै नै मानिसजातिको दुःखकष्ट हटाउनेछ। (लूका २२:२९) अहिले पनि यहूदीहरूको पात्रोअनुसार सोही मितिमा अर्थात्‌ नीसान १४ कै दिन यहोवाका साक्षीहरू हरेक वर्ष प्रभुको साँझको भोज मनाउने गर्छन्‌।—लूका २२:१९.

a यतिबेलासम्म अब्राहामको नाम अब्राम थियो। तर वर्षौंपछि परमेश्‍वरले तिनको नाम अब्राहाम राख्नुभयो, जसको अर्थ हो, “असङ्‌ख्य जाति-समूहका पिता।”—उत्प. १७:५.

b त्यसैगरि अब्राहाम तेरहको जेठो सन्तान नभए तापनि अक्सर तिनकै नाम पहिला उल्लेख गरिएको छ।

c यतिबेलासम्म साराको नाम साराई थियो। तर वर्षौंपछि परमेश्‍वरले तिनको नाम सारा राख्नुभयो, जसको अर्थ हो, “राजकुमारी।”—उत्प. १७:१५.

d अब्राहामको पालामा ऊँटलाई घरपालुवा जनावरको रूपमा राखिन्थ्यो कि राखिंदैनथ्यो, त्यसबारे केही विज्ञहरूले शङ्‌का व्यक्‍त गरेका छन्‌। तर तिनीहरूको भनाइको कुनै आधार छैन। बाइबलमा थुप्रै चोटि ऊँटलाई अब्राहामको सम्पत्तिको रूपमा उल्लेख गरिएको छ।—उत्प. १२:१६; २४:३५.

यसबारे सोच्नुहोस्‌ . . .

  • वरपर मूर्तिपूजाको जगजगी भए पनि अब्राहामले कसरी विश्‍वास देखाए?

  • ऊर छोड्‌न अब्राहाम इच्छुक भएको विवरणको कुन पक्षले तपाईंको मन छोयो?

  • विश्‍वास देखाएको कारण अब्राहामले कस्ता आशिष्‌ र सुअवसर पाए?

  • तपाईंले अब्राहामको विश्‍वासको अनुकरण कसरी गर्ने विचार गर्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने