प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ९/१५ pp. ८-९
  • “समुद्रको सम्पत्ति”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “समुद्रको सम्पत्ति”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • समुद्र
    ब्यूँझनुहोस्‌!—२०२३
  • नामिबियाको बदलिंदो आकृति
    ब्यूँझनुहोस्‌!—२००१
  • अद्‌भुत सृष्टिले यहोवालाई उच्च पार्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ९/१५ pp. ८-९

यहोवाको सृष्टिको वैभव

“समुद्रको सम्पत्ति”

सूर्यास्त सँगसँगै आएको मन्द हावाको झोक्काले समुद्रको सतह चलमलाउँछ र छालहरू चाहिं भद्र किसिमले किनारमा ठोक्किन्छन्‌। अनि मन नै आनन्दित तुल्याउने छालको आवाजले थुप्रै मानिसहरूलाई मन्त्रमुग्ध बनाउँछ र तिनीहरू आराम र सौम्यको लागि समुद्री किनारमा ताँती लाग्ने गर्छन्‌।a

कहिल्यै नटुङ्‌गिने जस्तो देखिने सयौं किलोमिटर लामा समुद्री किनारहरू संसारमा थुप्रै छन्‌। बालुवा र पानी छुट्याउने यो सदा परिवर्तनशील सीमाङ्‌कनले समुद्रको प्रभुत्वलाई नियन्त्रणमा राख्छ। सृष्टिकर्ताले ती त्यसरी नै रचना गर्नुभएको थियो। “बालुवालाई समुद्र[को] . . . सीमाना ठहराई दिएँ” भनेर आफूबारे बताउँदै परमेश्‍वर अझ यसो भन्‍नुहुन्छ: “छालहरू उठे तापनि तिनीहरू त्यसमाथि विजयी हुनसक्‍तैनन्‌। ती गर्जे तापनि त्यसलाई नाघ्नसक्‍तैनन्‌।”—यर्मिया ५:२२; अय्यूब ३८:८; भजन ३३:७.

सौर्यमण्डलभरि हाम्रो ग्रहमा जत्तिको पानी अरू कुनैमा छैन। पृथ्वीको ७० प्रतिशतभन्दा बढी भाग पानीले ओगटेको छ। मानिसहरू बस्न पृथ्वी तयार गर्नुहुँदा यहोवाले यसो भन्‍नुभयो: “आकाशमनि भएको पानी एक ठाउँमा जम्मा होस्‌, र ओबानो भूमि देखा परोस्‌।” अनि “त्यस्तै भइहाल्यो।” विवरण अझ यसो भन्छ: “परमेश्‍वरले ओबानो भूमिलाई ‘पृथ्वी’ भन्‍नुभयो, र जम्मा भएको पानीलाई ‘समुद्र’ भन्‍नुभयो। औ परमेश्‍वरले हेर्नुभयो, त्यो असल थियो।” (उत्पत्ति १:९, १०) समुद्रले कस्तो काम गर्छ?

विभिन्‍न उल्लेखनीय तरिकामा समुद्रको पानी जीवन धान्‍न सक्ने किसिमले रचिएको थियो। उदाहरणका लागि, पानीमा ताप सञ्चय गर्ने क्षमता छ। त्यसकारण, अत्यन्तै जाडो यामलाई सन्तुलनमा राख्न समुद्रले विशाल ताप भण्डारको काम गर्छ।

पानीसित जीवन धान्‍ने अर्को क्षमता पनि छ। तत्त्वहरू पानीमा जति सजिलै अरू तरल पदार्थहरूमा घुल्न सक्दैनन्‌। रासायनिक प्रतिक्रियाद्वारा मात्र जीवनसित सम्बन्धित प्रक्रिया सम्भव हुने भएकोले रासायनिक प्रतिक्रियाबाट उत्पन्‍न तत्त्वहरूको घोलन र तिनीहरूको अणु संयोजनको लागि पानी हुनु जरुरी छ। जीवित तन्तुहरूमा पाइने थुप्रै तत्त्वहरूमा पानीको मात्रा पाइन्छ। द सी (अङ्‌ग्रेजी) भन्‍ने पुस्तक यस्तो टिप्पणी गर्छ: “सबै प्रकारका प्राणीहरूलाई पानी चाहिन्छ जुन अन्ततः समुद्रबाट नै प्राप्त हुन्छ र जमिनमा पाइने बोटबिरुवा र पशुपक्षीलाई समेत पानी चाहिन्छ।”

वातावरण शुद्ध पार्ने काममा पनि पृथ्वीको समुद्रले महत्त्वपूर्ण भूमिका खेल्छ। समुद्रको सतहमा पाइने अति सूक्ष्म जीवहरूले कार्बन-डाइअक्साइड सोस्छन्‌ र अक्सिजन फाल्छन्‌। एक जना अनुसन्धाताअनुसार “वायुमण्डलमा थपिने ७० प्रतिशत अक्सिजन प्रत्येक वर्ष समुद्रको सतहमा पाइने अति सूक्ष्म जीवहरूबाट प्राप्त हुन्छ।”

समुद्रले औषधोपचारको लागि आवश्‍यक प्राकृतिक औषधीहरू पनि उत्पादन गर्न सक्छ। सदियौंदेखि माछाबाट निकालिएका तत्त्वहरू औषधीको रूपमा प्रयोगमा ल्याइएका छन्‌। कड-लिभर आयल मानिसहरूले चलाउन थालेको निकै भइसक्यो। हालैको कुरा गर्ने हो भने, माछा तथा अन्य समुद्री प्राणीहरूबाट निकालिएका रसायनहरू जीवाणुहरूको प्रतिरोध गर्न तथा दम र क्यान्सरको उपचार गर्न प्रयोग गरिएको छ।

समुद्रबाट उत्पादित चीजबीज र यसले पुऱ्‍याउने सेवाको हिसाब निकाल्ने प्रयास गरिएको छ। सही हिसाब निकाल्न सम्भव नभए तापनि अनुसन्धाताहरूले विश्‍वव्यापी पर्यावरणीय सेवाको दुई तिहाइ मोल समुद्रबाट प्राप्त हुने अनुमान लगाएका छन्‌। यस कुराले समुद्र सृजनुमा उद्देश्‍य थियो अर्थात्‌ जीवनका आवश्‍यकताहरू पूरा गर्न र जीवन धान्‍न हो भनी स्पष्ट हुन्छ। “समुद्रको सम्पत्ति” भनी बाइबलमा बताइएको कुरासित यो कत्ति मेल खान्छ!—व्यवस्था ३३:१९.

यस सम्पत्तिको महान्‌ रचनाकार र सृष्टिकर्ताको रूपमा यहोवाको महिमा गरिएको छ। निम्न शब्दहरूमा नेहम्याह उहाँको प्रशंसा गर्न उत्प्रेरित भए: “तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंलेनै स्वर्ग सर्वोच्च स्वर्ग, . . . समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंलेनै तिनीहरू सबैको रक्षा गर्नुहुन्छ।”—नहेम्याह ९:६.

[फुटनोट]

a २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर, सेप्टेम्बर/अक्टोबर हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्रहरू]

पानी, हावा र छाल

हावा र पानीले बडेमाको छाल बनाउँछ र यो संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्नियामा पाइने जस्तो चट्टाने भीरमा ठूलो गर्जनसहित ठोक्किन्छ। छालहरू सधैं नै समुद्रको एउटा अद्‌भुत पक्ष भएको छ र यसले आफ्नो अवर्णनीय शक्‍तिको प्रमाण दिन्छ। यसले सृष्टिकर्ताको अद्‌भुत शक्‍तिको सम्झना पनि दिलाउँछ। यहोवा “समुद्रका छालहरूमाथि हिंड्‌नुहुन्छ।” “आफ्नो बलियो बाहुले उहाँले समुद्रलाई साम्य गराउनुभयो, र आफ्नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।” (अय्यूब ९:८; २६:१२, NRV) साँच्चै, “धेरै नदीहरूको आवाजभन्दा समुद्रका शक्‍तिशाली तरङ्‌गहरूभन्दा पनि उच्चमा रहनुहुने परमप्रभु प्रतापी हुनुहुन्छ।”—भजन ९३:४.

बालुवाको आकृति

समुद्र किनारमा बेलाबेलामा बालुवाको मनमोहक आकृतिहरू देख्न पाइन्छ। यसको एउटा उदाहरण दक्षिणी अफ्रिकामा नामिबियाको तटमा देखिने यी बालुवाका ढिस्काहरू हुन्‌। बालुवालाई विभिन्‍न आकृति दिने मुख्य तत्त्व हावा हो। केही ढिस्काहरू फुच्चे देखिन्छन्‌ भने अन्य केहीको उचाइ ४०० मिटरभन्दा अग्लो हुन्छ। बालुवाको त्यति ठूलो परिमाणले हामीलाई “समुद्र किनारका बालुवासरह” भन्‍ने बाइबलको अभिव्यक्‍ति बुझ्न मदत गर्छ। गन्‍न नसकिने र नाप्न गाह्रो हुने कुरालाई बुझाउन यसको प्रयोग गरिन्छ। (उत्पत्ति २२:१७) सृष्टिकर्तासामु हामी आश्‍चर्यचकित हुँदै उभिन्छौं जसले तुफानी समुद्रको चढाइको प्रतिरोध गर्दै बलौटे किल्लाको प्रबन्ध गर्नुभयो।

[पृष्ठ ९-मा भएको चित्र]

सूर्यास्त हुनेबेलाको समुद्री तट, बाइट अफ बियाफ्रा, क्यामरून

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने