माटोबाट बनिएको भए तापनि कटिबद्ध भएर अघि बढ्नुहोस्!
“उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।”—भजनसंग्रह १०३:१४.
शारीरिक तवरमा हेर्ने हो भने हामी माटो हौं। “परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) मानिसको सृष्टिबारे यो सरल वर्णन वैज्ञानिक सत्यसित मेलखान्छ। मानव शरीरमा विद्यमान ९० भन्दा बढी तत्त्वहरू “भूमिको माटोमा” पाइन्छ। एक वयस्कको शरीर ६५ प्रतिशत अक्सिजन, १८ प्रतिशत कार्बन, १० प्रतिशत हाइड्रोजन, ३ प्रतिशत नाइट्रोजन, १.५ प्रतिशत क्याल्सियम, १ प्रतिशत फोस्फरस र बाँकि अन्य तत्त्वहरू मिलेर बनेको हुन्छ भनी एक पटक एक जना रसायनविद्ले दाबी गरेका थिए। यी अनुमानहरू शतप्रतिशत सही हुन् या होइनन् भन्ने कुरा त्यति महत्त्वपूर्ण होइन। तथ्य यो हो: “हामी माटो हौं”!
२ माटो मात्रै प्रयोग गरेर त्यस्ता जटिल प्राणीहरू यहोवाले बाहेक अरू कसले बनाउन सक्थ्यो र? परमेश्वरका कार्यहरू सिद्ध र निष्खोट छन्। अतः यसप्रकार मानिस बनाउनु भएकोमा गुनासो गर्ने कुनै कारण छैन। निस्सन्देह, भूमिको माटोबाट भयानक र आश्चर्यमय ढङ्गमा महान सृष्टिकर्त्ताले मानिस बनाउन सक्नुभएको तथ्यले उहाँको असीमित शक्ति, दक्षता र व्यावहारिक बुद्धिप्रति हाम्रो मूल्याङ्कन बढाउँछ।—व्यवस्था ३२:४; भजनसंग्रह १३९:१४.
परिस्थितिहरूको परिवर्तन
३ भूमिबाट बनिएका प्राणीहरूको सीमाहरू हुन्छन्। तर यी सीमाहरू बोझिला र अत्यन्तै अवरोधपूर्ण होऊन् भनेर परमेश्वरले कहिल्यै चाहनु भएन। निरुत्साहित अथवा दुःखी तुल्याउन ती सीमाहरू राखिएका थिएनन्। तरैपनि, सीमाहरूको अधीनमा परेका मानिसहरू निरुत्साहित र दुःखी हुन सक्छन् भनी भजनसंग्रह १०३:१४ मा दाऊदका शब्दहरूले देखाउँछ। किन? आदम र हव्वा परमेश्वरप्रति अनाज्ञाकारी हुँदा तिनीहरूले आफ्ना भावी परिवारको निम्ति बेग्लै परिस्थिति ल्याए। त्यसपश्चात् माटोबाट बनिनुले नयाँ अर्थ लियो।a
४ यहाँ दाऊदले माटोबाट बनिएको हुनाले सिद्ध मानिसहरूमा पनि हुने स्वाभाविक सीमाहरूको होइन तर वंशाणुगत असिद्धताले गर्दा हुने मानव कमजोरीहरूबारे भन्दैथिए। अन्यथा तिनले यसो भन्ने थिएनन्: “जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ, जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ। जसले तेरो जीवनलाई सर्वनाशबाट मुक्त गर्नुहुन्छ। . . . [जसले] हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ।” (भजनसंग्रह १०३:२-४, १०) माटोबाटै बनिएको भए तापनि सिद्ध मानिसहरू विश्वासी रहेका भए तिनीहरूले भूल गर्ने थिएनन्, पाप गर्ने थिएनन्, अतः तिनीहरूलाई क्षमाको आवश्यकता पनि हुने थिएन; नता रोगहरू निको पार्ने आवश्यकता नै हुने थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, पुनरुत्थानद्वारा मात्र बच्न सकिने मृत्युको खाडलमा तिनीहरू जानु पर्ने थिएन।
५ असिद्ध हुनाकारण हामी सबैले दाऊदले बताएका कुराहरू अनुभव गरेका छौं। असिद्धताले गर्दा हामीसित भएका सीमाहरूबारे हामी निरन्तर सजग छौं। त्यसले गर्दा कहिलेकाहीं यहोवा अथवा हाम्रा मसीही भाइहरूसितको सम्बन्ध कमजोर हुन खोज्दा हामी दुःखी हुन्छौं। हाम्रा असिद्धताहरू र शैतानी संसारको दबाबहरूले हामीलाई बेला बेला नैराश्यतर्फ धकेल्दा हामी पछुताउँछौं। शैतानी शासनको अन्त निकट आइरहेकोले त्यसको संसारले साधारणतया मानिसहरूमा र विशेषगरि मसीहीहरूमाथि झन् बढी दबाब दिइरहेको छ।—प्रकाश १२:१२.
६ के तपाईंलाई मसीही जीवन बिताउनु झन् झन् गाह्रो हुँदै गएको जस्तो लाग्छ? जति बढी समय सच्चाइमा बितायो, उति नै असिद्ध हुँदै गइरहेको जस्तो लाग्छ भनी केही मसीहीहरूले टिप्पणी गरेको पनि सुनिएको छ। सम्भवतः, तिनीहरू आफ्ना असिद्धताहरूबारे बढी सजग हुँदै आएको र आफूले चाहेको ढङ्गमा यहोवाको सिद्ध स्तरअनुरूप गर्न नसकेको झन् झन् महसुस गर्दै आएको मात्र हुन सक्छ। वास्तवमा, यो यहोवाको धार्मिक आवश्यकताहरूको ज्ञान र मूल्याङ्कनमा बढ्दै जाँदा हुन सक्ने परिणाम हो। यद्यपि, यस्तो सजगताले आफूलाई शैतानको हातमा पर्नेसम्म गरी निराश हुन नदिनु अत्यन्तै जरूरी छ। यहोवाका सेवकहरूलाई साँचो उपासना त्याग्न लगाउन त्यसले शदियौंदेखि निराशाको बारम्बार फाइदा उठाइरहेको छ। तर जेसुकै भए तापनि, परमेश्वरप्रति साँचो प्रेम र साथै दियाबलप्रति “औधी घृणा” ले धेरैलाई यसो हुनबाट रोकेको छ।—भजनसंग्रह १३९:२१, २२; हितोपदेश २७:११.
७ यी सबैको बावजूद एक न एक दिन यहोवाका सेवकहरू निरुत्साहित हुन सक्छन्। आफ्नै सफलताहरूप्रति असन्तुष्टि पनि एउटा कारण हुन सक्छ। यसमा शारीरिक कारणहरू अथवा परिवारका सदस्यहरू, साथीहरू वा सहकर्मीहरूसित तनावपूर्ण सम्बन्धहरू समावेश हुन सक्छ। विश्वासी अय्यूब असाध्यै निरुत्साहित भएर परमेश्वरसित यसो भनेर बिन्ती गरे: “तपाईंले मलाई पातालमा लुकाउनुभएता, औ तपाईंको रीस नमरूञ्जेल मलाई गुप्तमा राख्नुभएता, तपाईंले मेरो समयको सीमा तोकिदिएर मलाई सम्झनुभएता हुनेथियो!” “परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने . . . निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस”, अय्यूब त कठिन परिस्थितिले गर्दा पटक पटक निरुत्साहित भए भने हामीलाई पनि त्यसो हुन सक्छ। यसो हुँदा छक्क पर्नु पर्ने कुनै कारण छैन।—अय्यूब १:८, १३-१९; २:७-९, ११-१३; १४:१३.
८ यहोवाले हृदय हेर्नुहुन्छ र असल मनसायलाई बेवास्ता गर्नुहुन्न भनी थाहा पाउनु कति सान्त्वनादायी कुरा हो! उहाँलाई खुशी तुल्याउन साँचो प्रयास गर्ने व्यक्तिहरूलाई उहाँले कहिल्यै तिरस्कार गर्नुहुन्न। वास्तवमा, समय समयमा निरुत्साहित हुनु हामीले यहोवाको सेवालाई हल्कासित लिइरहेका छैनौं भन्ने राम्रो लक्षण हुन सक्छ। यस दृष्टिकोणबाट नियाल्दा कहिल्यै निरुत्साहित नहुने व्यक्ति आफ्ना कमजोरीहरूबारे अरू व्यक्तिहरू जति आध्यात्मिक तवरमा सजग नहुन सक्छ। सम्झनुहोस्: “म खड़ा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्, नत्रता त्यो लड़छ।”—१ कोरिन्थी १०:१२; १ शमूएल १६:७; १ राजा ८:३९; १ इतिहास २८:९.
तिनीहरू पनि माटोबाटै बनिएका थिए
९ दृढ विश्वास देखाउने मसीहीपूर्व यहोवाका साक्षीहरूबारे हिब्रू ११ अध्यायमा सूचीबद्ध गरिएको छ। प्रथम शताब्दी र वर्तमान समयका मसीहीहरूले पनि त्यस्तै गरेका छन्। तिनीहरूबाट सिक्न सकिने शिक्षा अनमोल छ। (हिब्रू १३:७ तुलना गर्नुहोस्।) उदाहरणको लागि, मसीहीहरूले अनुसरण गर्न सक्ने विश्वासको उदाहरण, मोशाको भन्दा सर्वोत्तम कसको होला र? तत्कालीन संसारको सबैभन्दा शक्तिशाली राजा, मिश्रको फिरऊनलाई तिनले न्यायको समाचार घोषणा गर्नु परेको थियो। ख्रीष्टको स्थापित राज्यको विरूद्धमा खडा हुने झूटा धर्म तथा अन्य सङ्गठनहरूलाई पनि आज यहोवाका साक्षीहरूले त्यस्तै न्यायको समाचार सुनाउनुपर्छ।—प्रकाश १६:१-१५.
१० मोशाले देखाएझैं, यो पूरा गर्नु कुनै सजिलो काम होइन। उनले प्रश्न गरे: “फिरऊनकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउनसक्ने म को हुँ र?” अपूर्ण हुनुको उनको भावना हामी बुझ्न सक्छौं। सङ्गी इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाउलान् भनेर पनि उनी चिन्तित थिए: “तिनीहरूले मलाई पत्याउनेछैनन्, तिनीहरूले मेरा कुरा सुन्नेछैनन्।” त्यसपछि आफ्नो अख्तियार उनले कसरी साबित गर्न सक्छन् भनी यहोवाले उनलाई बताउनुभयो तर मोशाको अर्को समस्या पनि थियो। उनले भने: “प्रभो, म बोल्नमा उस्तो सिपालो छैनँ, नता अघि सिपालो थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालो भएको छु, किनकि म बोल्नमा ढिलो छु, र मेरो जिब्रो उत्ति लाग्दैन।”—प्रस्थान ३:११; ४:१, १०.
११ कहिलेकाहीं हामी पनि मोशाले जस्तै महसुस गर्न सक्छौं। ईश्वरतान्त्रिक जिम्मेवारीहरूलाई हामी स्वीकारौंला तर त्यो कसरी पूरा गर्ने भनी सोच्न सक्छौं। ‘उच्च सामाजिक, आर्थिक अथवा शैक्षिकस्तरको मानिसलाई भेटेर परमेश्वरका मार्गहरू सिकाउन म को हुँ र? मसीही सभाहरूमा टिप्पणी दिंदा अथवा ईश्वरतान्त्रिक सेवकाई पाठशालामा मञ्चबाट प्रस्तुतिहरू प्रस्तुत गर्दा मेरा आध्यात्मिक भाइहरूले कस्तो प्रतिक्रिया देखाउलान्? के तिनीहरूले मेरो अपूर्णता देख्ने छैनन्?’ तर सम्झनुहोस्, मोशाले विश्वास दर्साएकोले यहोवा उनीसित हुनुभयो र उनलाई कार्यभार निभाउन सक्षम बनाउनुभयो। (प्रस्थान ३:१२; ४:२-५, ११, १२) मोशाको विश्वास अनुकरण गऱ्यौं भने यहोवा हामीसित हुनुहुनेछ र साथै हाम्रो काम पूरा गर्न सुसज्जित पार्नु हुनेछ।
१२ पाप अथवा गल्तीहरूको कारण दिक्क अथवा निरुत्साहित भएका व्यक्तिहरूले दाऊदका शब्दहरू बुझ्न सक्छन्। उनले भने: “म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ।” यहोवालाई बिन्ती गर्दै दाऊदले यसो पनि भने: “मेरा पापबाट तपाईंको मुख लुकाउनुहोस्। र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।” तर उनले यहोवाको सेवा गर्ने इच्छालाई निराशाले कहिल्यै दब्न दिएनन्। “मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्। र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्।” दाऊद “माटो” नै थिए तर यहोवा उनीबाट तर्किनु भएन किनभने “चूर्ण हृदयलाई” अवहेलना नगर्ने यहोवाको प्रतिज्ञामा तिनले विश्वास राखे।—भजनसंग्रह ३८:१-९; ५१:३, ९, ११, १७.
१३ तर ध्यान दिनुहोस्, “हाम्रा सामने राखिदिएको दौड़ धीरजसँग” दौड्न यो “गवाहीका मेघ” लाई प्रोत्साहनको निम्ति हेर्नु पर्ने भए तापनि तिनीहरूका अनुयायी हुनु भनेर हामीलाई भनिएको छैन। असिद्ध मानिसहरू अथवा प्रथम शताब्दीका विश्वासी प्रेरितहरूका नभई “विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशू” को पाइला पछ्याउन हामीलाई भनिएको छ।—हिब्रू १२:१, २; १ पत्रुस २:२१.
१४ मसीही मण्डलीका खामा, प्रेरित पावल र प्रेरित पत्रुस समेत बेला बेलामा चुके। पावलले यसप्रकार लेखे: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु। हाय, म कस्तो दुःखी मानिस!” (रोमी ७:१९, २४) अनि पत्रुस चाहिं बढ्तै विश्वस्त भएर येशूलाई यसो भने: “सबै जना तपाईंप्रति रूष्ट भए तापनि म कहिल्यै रूष्ट हुनेछैनँ।” पत्रुसले उहाँलाई तीन पटक इन्कार गर्नेछ भनी येशूले भन्नुहुँदा अहङ्कारी भएर असहमति जनाउँदै उनले यसो भने: “मैलै तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” तर उनले येशूलाई इन्कार गरे र यस गल्तीले गर्दा उनी निकै दुःखी भएर रुनुपऱ्यो। हो, पावल र पत्रुस माटोबाट बनिएका थिए।—मत्ती २६:३३-३५.
१५ तर, आफ्ना कमजोरीहरूको बावजूद मोशा, दाऊद, पावल, पत्रुस र तिनीहरूजस्तै अन्य व्यक्तिहरू विजयी भए। किन? किनभने तिनीहरूले यहोवामाथि दृढ विश्वास राखे, उहाँमाथि पूर्ण भरोसा राखे र असफलताहरूको बावजूद उहाँमा लीन भए। “असामान्य शक्ति [न्यु व.]” का लागि तिनीहरूले उहाँमाथि भरोसा राखे। उहाँले अवश्य शक्ति प्रदान गर्नुभयो र उठ्नै नसकिने गरी लोट्न दिनुभएन। हामीले विश्वास गरिरह्यौं भने यी वचनअनुरूप हाम्रो न्याय हुनेछ भनी हामी ढुक्क हुन सक्छौं: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” हामी माटोबाटै बनिएको भए तापनि अघि बढिरहन यसले हामीलाई कस्तो प्रेरणा दिन्छ!—२ कोरिन्थी ४:७; हिब्रू ६:१०.
माटोबाट बनिनुले व्यक्तिगत तवरमा हाम्रो निम्ति के अर्थ राख्छ?
१६ बच्चाहरू अथवा विद्यार्थीहरूलाई दाजु-भाइ दिदी-बहिनी अथवा सहपाठीहरूसित तुलना गर्नुको सट्टा तिनीहरूलाई व्यक्तिगत दक्षताअनुसार जाँच्नुको महत्त्व आमाबाबु र शिक्षकहरूले अनुभवबाट सिकेका छन्। यो कुरा बाइबलको सिद्धान्तअनुरूप छ, जसलाई पछ्याउन मसीहीहरूलाई भनिएको छ: “हरेक मानिसले आफ्नो काम जाँचेर धर्मी ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा [सित दाँजेर, न्यु व.] ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”—गलाती ६:४.
१७ यस सिद्धान्तअनुरूप यहोवाले आफ्ना जनहरूलाई सामूहिक तवरमा व्यवहार गर्नुभए तापनि न्याय भने व्यक्तिगत तवरमा गर्नुहुन्छ। रोमी १४:१२ ले यसो भन्छ: “यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्छ।” आफ्नो प्रत्येक सेवकको आनुवंशिक बनौट यहोवालाई राम्ररी थाहा छ। तिनीहरूको शारीरिक तथा मानसिक बनोट, दक्षताहरू, जन्मजात बल तथा कमजोरीहरू, तिनीहरूका क्षमताहरू र साथै मसीही फल फलाउन तिनीहरूले यी क्षमताहरू कुन हदसम्म प्रयोग गर्छन् भनेर पनि उहाँलाई थाहा छ। अविवेकी भएर आफूलाई अरूसित तुलना गर्दा मसीहीहरू निरुत्साहित हुन सक्छन्। मन्दिरको ढुकुटीमा विधवाले चढाएकी दुई पैसाबारे येशूले गर्नुभएको टिप्पणी र असल माटोमा पर्ने बीऊको दृष्टान्त ती निराश मसीहीहरूका लागि प्रोत्साहनदायी उदाहरण हुन सक्छ।—मर्कूस ४:२०; १२:४२-४४.
१८ माटोबाट बनिनुले व्यक्तिगत तवरमा के अर्थ राख्छ भनी हामीले पक्का गर्नु महत्त्वपूर्ण छ ताकि आफ्नो यथाशक्तिले हामी सेवा गर्न सकौं। (हितोपदेश १०:४; १२:२४; १८:९; रोमी १२:१) हाम्रा व्यक्तिगत कमजोरीहरू र असमर्थताहरूबारे गम्भीरतापूर्वक सजग भएर मात्र प्रगति गर्ने आवश्यकता र सम्भावनाप्रति सतर्क हुन सक्छौं। आत्म-परीक्षण गर्दा हामीलाई प्रगति गर्न मदत दिन सक्ने पवित्र आत्माको शक्तिलाई कहिल्यै नभुलौं। यसैद्वारा ब्रह्माण्ड सृष्टि गरियो, बाइबल लेखियो र खस्कँदै गरेको संसारको माझमा शान्तिपूर्ण नयाँ विश्व समाज सृजिएको छ। निष्ठा कायम राख्न आवश्यक बुद्धि र बल माग्नेहरूलाई सो दिन पवित्र आत्मा निश्चय नै शक्तिशाली छ।—मीका ३:८; रोमी १५:१३; एफिसी ३:१६.
१९ हामी माटो हौं भनी यहोवाले बिर्सनुहुन्न भनेर थाहा पाउनु कति सान्त्वनादायी कुरा हो! तर अल्छी हुन अथवा गल्ती गर्न यो एउटा वैध कारण हो भनी हामीले कहिल्यै तर्क गर्नु हुँदैन। अहँ, हामीले कदापि त्यसो गर्नु हुँदैन! हामी माटो हौं भनी यहोवाले सम्झनु उहाँको अनुग्रहको अभिव्यक्ति हो। तर “हाम्रा परमेश्वरको अनुग्रहलाई लुच्याईंमा फिराएर हाम्रा अद्वितीय स्वामी र प्रभु, येशू ख्रीष्टलाई अस्वीकार गर्ने” अधर्मी मानिसहरू हामी हुन चाहँदैनौं। (यहूदा ४) माटोबाट बनिएको भन्दैमा त्यसलाई अधर्मी हुने बहाना बनाउन मिल्दैन। “पवित्र आत्मालाई सन्ताप” दिनदेखि जोगिन मसीहीले आफ्नो शरीरलाई वशमा राख्छ र दासलाईझैं व्यवहार गरेर गलत प्रवृत्तिहरू विरूद्ध लड्न प्रयत्न गर्छ।—एफिसी ४:३०; १ कोरिन्थी ९:२७.
२० अहिले, शैतानको व्यवस्था अन्त हुनै लाग्दा राज्य प्रचार र परमेश्वरको आत्माको फल अझ बढी फलाउने सन्दर्भमा ढिलासुस्ती गर्ने समय होइन। दुवै क्षेत्रमा हामीले गर्नुपर्ने “प्रशस्त” कुराहरू छन्। कटिबद्ध भएर अघि बढ्ने समय अहिले नै हो किनभने हाम्रो “परिश्रम . . . व्यर्थ हुँदैन” भनेर हामीलाई थाहा छ। (१ कोरिन्थी १५:५८) यहोवाले हामीलाई सँभाल्नुहुनेछ किनभने दाऊदले उहाँबारे यसो भने: “उहाँले धर्मात्माहरूलाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजनसंग्रह ५५:२२) हामी माटोबाट बनिएको भए तापनि असिद्ध मानवहरूले गर्न सक्ने सबैभन्दा महान कार्यमा यहोवाले हामीलाई व्यक्तिगत तवरमा भाग लिन दिनु कति आनन्दको कुरा हो! (w94 9/10)
[फुटनोटहरू]
a भजनसंग्रह १०३:१४ बारे बाइबलको टिप्पणी हर्डस बिबेलकोमेन्टार ले यसो भन्छ: “मानिसहरूलाई परमेश्वरले माटोबाट बनाउनुभएको हो र प्रथम पापदेखि तिनीहरूलाई दबाउने कमजोरीहरू अनि जीवनको क्षणिकताबारे पनि उहाँलाई राम्ररी थाहा छ।”—तेर्सो अक्षर हाम्रो।
के तपाईं बताउन सक्नुहुन्छ?
◻ मानिस माटोबाट बनिएको छ भनी सङ्केत गर्दा उत्पत्ति २:७ र भजनसंग्रह १०३:१४ कसरी भिन्न छ?
◻ आज मसीहीहरूको लागि हिब्रू ११ अध्याय किन प्रोत्साहनको स्रोत हो?
◻ गलाती ६:४ मा दिइएको सल्लाह पालन गर्नु किन बुद्धिमानी हुनेछ?
◻ हिब्रू ६:१० र १ कोरिन्थी १५:५८ ले निरुत्साहित हुनबाट रोक्ने मदत कसरी दिन सक्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. मानिसहरू माटोबाट बनिएका हुन् भनी बाइबलले बताएको कुरा के वैज्ञानिक तवरमा सत्य छ? व्याख्या गर्नुहोस्।
२. परमेश्वरले मानिसहरू सृष्टि गर्नुभएको ढङ्गले तपाईंमा कस्तो प्रतिक्रिया पैदा गर्छ र किन?
३, ४. (क) मानिसहरूलाई माटोबाट बनाउनु हुँदा परमेश्वरको मनसाय के थिएन? (ख) भजनसंग्रह १०३:१४ मा दाऊदले कुन कुरालाई सङ्केत गरिरहेका थिए र यस्तो निष्कर्षमा पुग्न सन्दर्भले कसरी मदत गर्छ?
५. दाऊदका शब्दहरू बुझ्न हामीलाई किन गाह्रो पर्दैन?
६. केही मसीहीहरू किन निरुत्साहित हुन सक्छन् र शैतानले यस्तो भावनाको कसरी फाइदा उठाउन सक्छ?
७. कुन अर्थमा हामी कहिलेकाहीं अय्यूबजस्तै हुन सक्छौं?
८. कहिलेकाहीं निरुत्साहित हुनु असल लक्षण किन हुन सक्छ?
९, १०. (क)मसीहीहरूले कसको विश्वास अनुकरण गर्नु राम्रो हो? (ख) आफ्नो कामप्रति मोशाले कस्तो प्रतिक्रिया देखाए?
११. ईश्वरतान्त्रिक दायित्त्वहरूप्रति हामी मोशाले जस्तै कस्तो प्रतिक्रिया देखाउन सक्छौं तर विश्वास गर्नाले हामी कुन कुरामा ढुक्क हुन सक्छौं?
१२. पाप अथवा गल्तीहरूको कारण निरुत्साहित हुँदा दाऊदको विश्वासले हामीलाई कसरी प्रोत्साहन दिन सक्छ?
१३, १४. (क) हामी किन मानिसहरूको अनुयायी हुनु हुँदैन? (ख) पावल र पत्रुस पनि माटोबाटै बनिएका थिए भनी तिनीहरूका उदाहरणहरूले कसरी देखाउँछन्?
१५. हामी माटोबाटै बनिएको भए तापनि कटिबद्ध भएर अघि बढिरहने कस्तो उत्प्रेरणा हामीसित छ?
१६, १७. न्याय गर्ने सन्दर्भमा गलाती ६:४ को सिद्धान्त यहोवाले कसरी प्रयोग गर्नुहुन्छ?
१८. (क) माटोबाट बनिनुले व्यक्तिगत तवरमा हाम्रो निम्ति के अर्थ राख्छ भनी हामीले किन निश्चय गर्नुपर्छ? (ख) निष्कपट आत्म-परीक्षणले हामीलाई किन निरुत्साहित पार्नु हुँदैन?
१९. हामीहरू माटोबाट बनिनुको अर्थ के गर्ने बहाना होइन?
२०. (क) कुन दुई अर्थमा हामीसित “प्रभुको काममा प्रशस्त” कामकुराहरू छन्? (ख) आशावादी हुन हामीसित के कारण छ?
[पृष्ठ ९-मा भएको चित्र]
मसीहीहरूले सङ्गी उपासकहरूको विश्वास अनुकरण गर्छन् तर तिनीहरूको विश्वासको सिद्धकर्ता, येशूलाई पछ्याउँछन्