प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ७/१५ pp. २८-३०
  • केराइतहरू र तिनीहरूको सत्यको खोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केराइतहरू र तिनीहरूको सत्यको खोज
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाद कसरी सुरु भयो?
  • केराइतहरू तथा रब्बीहरूबीच मतभेद
  • रब्बीहरूले कस्तो प्रतिक्रिया देखाए?
  • केराइत आन्दोलनले आफ्नो गति गुमाउँछ
  • मौखिक व्यवस्था किन लेखियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • रूसको सबैभन्दा जेठो पुस्तकालयले बाइबलमाथि “स्पष्ट ज्योति” छर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ताल्मुद के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मेसोरेट पद भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ७/१५ pp. २८-३०

केराइतहरू र तिनीहरूको सत्यको खोज

“तिमीहरूले [शास्त्रलाई] सम्पूर्णतया केलाउनू र मेरो विचारधारामा भर नपर्नू।” ती शब्दहरू सा.यु. आठौं शताब्दीको केराइत नेताका हुन्‌। केराइतहरू को थिए? के हामी तिनीहरूको उदाहरणबाट केही सिक्नसक्छौं? यी प्रश्‍नहरूको जवाफका लागि हामीले केराइत आन्दोलन सुरु हुनुभन्दा निकै अघिदेखि चल्दै आएको विवादलाई केलाउनुपर्छ।

विवाद कसरी सुरु भयो?

सामान्य युग सुरु हुनुअघि अन्तिम शताब्दीहरूमा यहूदी मतभित्र एउटा नयाँ दर्शन विकास भयो। त्यो परमेश्‍वरले सीनै पर्वतमा लिखित र मौखिक गरी दुइटा व्यवस्था दिनुभयो भन्‍ने धारणा थियो।a सा.यु. प्रथम शताब्दीसम्म यस नयाँ शिक्षा अपनाउने र तिरस्कार गर्नेहरूबीच चर्को विवाद भइसकेको थियो। फरिसीहरू त्यसका समर्थकहरू थिए भने सदुकी तथा एसेनीहरू त्यसका विरोधीहरू थिए।

यो विवाद चलिरहेकै बेला नासरतको येशू प्रतिज्ञा गरिएको मसीहको रूपमा देखा पर्नुभयो। (दानियल ९:२४, २५; मत्ती २:१-६, २२, २३) येशूले विवादमा मुछिएका यहूदीहरूको विभिन्‍न समूहको सामना गर्नुभयो। तिनीहरूले आफ्ना परम्पराअनुसार परमेश्‍वरको व्यवस्थालाई निष्क्रिय तुल्याएका थिए। येशूले तिनीहरूसित तर्क गर्नुहुँदा यसको निन्दा गर्नुभयो। (मत्ती १५:३-९) मसीहले मात्र सिकाउन सक्ने तरिकामा येशूले आध्यात्मिक सत्यहरू पनि सिकाउनुभयो। (यूहन्‍ना ७:४५, ४६) यसबाहेक, येशूका साँचो अनुयायीहरूले मात्र ईश्‍वरीय समर्थन पाएको प्रमाण दिए। तिनीहरू मसीही भनेर चिनिन थाले।—प्रेरित ११:२६.

सा.यु. ७० मा यरूशलेमको मन्दिरको विनाश हुँदा पूर्णतया बच्ने एक मात्र धार्मिक पन्थ फरिसीहरू थिए। अब पौरोहित्य, बलिदान तथा मन्दिरको अभावमा फरिसीहरूको यहूदी पन्थले लिखित व्यवस्थालाई प्रतिस्थापन गर्न परम्परा तथा अर्थहरू राख्न सक्थे। यसले नयाँ “पवित्र पुस्तकहरू” लेख्ने सुअवसर प्रदान गऱ्‍यो। सर्वप्रथम मिश्‍नाह र त्यसपछि तिनीहरूको मौखिक व्यवस्थामा आफ्नै अर्थअनुसार थपथाप गरिए। पछि यसमा अन्य लेखोटहरूको संकलन थपिए र त्यसलाई ताल्मुद भनियो। त्यति नै खेर धर्मत्यागी मसीहीहरूले येशूका शिक्षाहरूलाई आफूखुशी बंग्याउन थाले। दुवै समूहहरूले शक्‍तिशाली धार्मिक प्रणाली विकास गर्न थाले। एकातिर चर्चका अधिकारीहरू थिए भने अर्कोतिर रब्बीहरूका अख्तियार थियो।

पहिले गैरमसीही रोम र पछि “मसीही” रोमसितको यहूदी मतभेदले गर्दा यहूदी मतको केन्द्रबिन्दु अन्ततः बेबिलोनमा सारियो। त्यहीं नै ताल्मुदका लेखोटहरू प्रायजसो संशोधन गरिए। ताल्मुदले परमेश्‍वरको इच्छा अझ पूर्ण ढंगमा प्रकट गर्छ भनी रब्बीहरूले दाबी गरे तापनि धेरै यहूदीहरूले रब्बीहरूको अख्तियारको प्रभावलाई बुझे र मोशा तथा अन्य अगमवक्‍ताहरूद्वारा दिइएको परमेश्‍वरको वचनको लालसा गर्न थाले।

सा.यु. आठौं शताब्दीको अन्ततिर मौखिक व्यवस्थाअन्तर्गत रब्बीहरूका अख्तियार र विश्‍वासलाई विरोध गर्ने बेबिलोनका यहूदीहरूले आनान बेन दाऊद नाउँको पढेलेखेका नेतालाई पछ्याए। रब्बीहरूले खुलाएको अर्थ वा ताल्मुदलाई वास्ता नगरिकन हिब्रू शास्त्र आफूले चाहेजति अध्ययन गर्नु एक जना यहूदीको अधिकार हो भनी तिनले घोषणा गरे। आनानले सिकाए: “तिमीहरूले तोराह [परमेश्‍वरको लिखित व्यवस्थालाई] सम्पूर्णतया केलाउनू र मेरो विचारधारामा भर नपर्नू।” शास्त्रमा यस्तो जोड दिएकोले आनानका अनुयायीहरू केराइम भनेर चिनिन थाले। यस हिब्रू शब्दको अर्थ हो, “पाठकहरू”।

केराइतहरू तथा रब्बीहरूबीच मतभेद

रब्बीका समूहमा तहल्का मचाउने केराइत शिक्षाहरूका केही उदाहरणहरू के के हुन्‌? रब्बीहरूले मासु तथा दूध एकसाथ खान निषेध गरे। यो प्रस्थान २३:१९ को मौखिक व्यवस्थाको स्पष्टीकरण हो भनेर देखाए। त्यहाँ यसो भनिएको छ: “बाख्राको पाठा त्यसको माऊको दूधमा उमालेर नपकाओ।” अर्कोतर्फ, यो पदको अर्थ, त्यहाँ जे लेखिएको छ त्यही हो भनेर केराइतहरूले सिकाए। रब्बीका प्रतिबन्धहरू मानिसले रचेका कुराहरू हुन्‌ भनी तिनीहरूले तर्क गरे।

व्यवस्था ६:८, ९ लाई देखाउँदै यहूदी पुरुषहरूले प्रार्थना गर्दा टेफिलिन लगाउनुपर्ने र ढोकाको चौकोसमा मेजुजाह झुन्ड्याउनुपर्ने धारणा रब्बीहरूको थियो।b यी पदहरू केवल लाक्षणिक तथा प्रतीकात्मक भएकाले रब्बीहरूका त्यस्ता नियमहरूलाई केराइतहरूले तिरस्कार गरे।

केराइतहरूले अन्य कुराहरूमा रब्बीहरूले भन्दा बढी प्रतिबन्धहरू लगाएका थिए। उदाहरणको लागि, प्रस्थान ३५:३ सम्बन्धी तिनीहरूको दृष्टिकोणलाई विचार गर्नुहोस्‌। त्यहाँ यसो भनिएको छ: “तिमीहरूका कुनै घरमा पनि विश्रामको दिनमा आगो नफूक्नू।” विश्राम दिनअघि बत्ती बालेर छोडेको भए तापनि दियोलाई विश्राम दिनमा बलिरहन दिन केराइतहरूले निषेध गरे।

विशेषगरि आनानको मृत्युपश्‍चात्‌ केराइत नेताहरू केही प्रतिबन्धहरूको स्तर र प्रकृतिबारे बारम्बार असहमत हुन्थे र तिनीहरूले सधैं सुस्पष्ट जवाफ दिंदैनथे। केराइतहरूबीच एकता थिएन किनभने तिनीहरूले नेताको रूपमा एक जना व्यक्‍तिलाई स्वीकारेनन्‌ तर रब्बीहरूको अख्तियार विपरीत शास्त्रलाई व्यक्‍तिगत रूपमा पढ्‌ने र अर्थ खुलाउने कुरामा जोड दिएका थिए। तथापि, यसको बावजूद केराइत आन्दोलन लोकप्रिय हुन थाल्यो र त्यसको प्रभाव बेबिलोनी यहूदी समुदायमा मात्र सीमित नभएर मध्यपूर्वभरि फैलिन थाल्यो। यरूशलेममा केराइतको प्रमुख केन्द्रसमेत स्थापित भयो।

नवौं र दशौं शताब्दी सा.यु. को दौडान केराइत विद्वानहरू हिब्रू भाषाको नवीकृत अध्ययनमा निपुण भए र भनौं भने, तिनीहरूले एक प्रकारको सुनौलो युगको अनुभव गरे। तिनीहरूले मौखिक परम्परालाई नभई हिब्रू शास्त्रलाई पवित्र ठाने। केही केराइतहरू हिब्रू शास्त्रका टाठो प्रतिलिपकहरू भए। वास्तवमा भन्‍ने हो भने, केराइतहरूले थालेको यस कठिन कार्यले गर्दा सारा यहूदीहरू शास्त्रको मेसोरेट पद अध्ययन गर्न प्रोत्साहित भए, जसले गर्दा बाइबल हाम्रो समयसम्म सही रूपमा सुरक्षित अवस्थामा छ।

तीव्र वृद्धिको यस अवधिमा केराइत यहूदी मत अन्य यहूदीहरूसमक्ष खुलेआम मिसनरी कार्यमा संलग्न भए। यो रब्बीहरूको यहूदी पन्थको निम्ति खतरा थियो।

रब्बीहरूले कस्तो प्रतिक्रिया देखाए?

रब्बीहरूले धूर्तता र आफूले चाहेअनुसार शिक्षालाई बंग्याएर मौखिक प्रतिकार गरे। आनानले यहूदी मतमाथि आक्रमण गरेपछिको शताब्दीको दौडान रब्बीहरूका यहूदी पन्थले केराइतका थुप्रै तरिकाहरू अपनाए। शास्त्र उद्धरण गर्न केराइतपद्धति र तरिका अपनाएर रब्बीहरू वाक्‌शैलीमा निकै पोख्त भए।

सादिया बेन जोसेफ केराइतहरूमाथि मौखिक प्रहार गर्ने मान्यताप्राप्त नेता थिए र तिनी दशौं शताब्दी सा.यु. को सुरुतिर बेबिलोनका यहूदी समुदायको हाकिम भए। सादियाका प्रमुख कृति, द बूक अफ बिलिफ्स एण्ड ओपिनियन्स-लाई साम्येल रोजेनब्लाटले अंग्रेजीमा अनुवाद गरेका थिए र तिनले त्यसको भूमिकामा यस्तो लेखे: “ताल्मुदमा तिनको प्रमुख अख्तियार भए तापनि . . . [सादियाले] यहूदी परम्पराको कम मात्र उल्लेख गरेका छन्‌। तिनले त्यसो गर्नुको कारण लिखित व्यवस्था मात्र वैध ठान्‍ने केराइतहरूलाई जित्ने मनसायले गर्दा हुनसक्छ।”

सादियाको मार्ग पछ्याउँदा रब्बीहरूको यहूदी पन्थले अन्ततः बढी नियन्त्रण जमाउन थाल्यो। केराइत विवादमाथि विजय हासिल गर्न त्यसलाई लिखित व्यवस्थाअनुरूप मिलाएर त्यसो गरे। यस कार्यमा १२ औं शताब्दीका ताल्मुद लेखक, मोजेस माइमोनायडेसले सबैभन्दा निर्णायक भूमिका खेले। आफूसँगै मिश्रमा बसेका केराइतहरूप्रति सहिष्णु भावना र साथै तिनको विद्वत्तापूर्ण शैलीले गर्दा तिनले केराइतहरूको प्रशंसा पाए र तिनीहरूको नेतृत्वलाई कमजोर तुल्याए।

केराइत आन्दोलनले आफ्नो गति गुमाउँछ

अब एकता तथा सुसंगठित प्रतिकारको अभावमा केराइत आन्दोलनले आफ्नो गति तथा अनुयायीहरू गुमाउन थाल्यो। अन्ततः केराइतहरूले आफ्ना दृष्टिकोण तथा सिद्धान्तहरू संशोधन गरे। केराइत आन्दोलन विषयका लेखक, लिओन निमोय यो लेख्छन्‌: “सैद्धान्तिक तवरमा ताल्मुदमा प्रतिबन्ध लगाइए तापनि ताल्मुदका प्रायजसो विषयवस्तुहरू केराइत व्यवस्था र रीतिथितिमा चालै नपाइकन घुसाउन थालियो।” यसप्रकार केराइतहरूले आफ्नो मौलिक उद्देश्‍य गुमाए र रब्बीहरूको यहूदी मतलाई अपनाए।

अहिले पनि इजराएलमा २५,००० जति केराइतहरू छन्‌। अन्य केही हजार प्रायजसो रूस र संयुक्‍त राज्य अमेरिकाका समुदायहरूमा पाइन्छन्‌। तथापि, आफ्नै मौखिक परम्पराहरूले गर्दा तिनीहरू मौलिक केराइतहरूभन्दा भिन्‍न छन्‌।

केराइतहरूको इतिहासबाट हामी के सिक्नसक्छौं? ‘आफ्नो रीतिले गर्दा परमेश्‍वरको वचनलाई बेकम्मा गराउनु’ गम्भीर गल्ती हो। (मत्ती १५:६) मानिसहरूका बोझिला परम्पराहरूबाट मुक्‍त हुन शास्त्रको सही ज्ञान चाहिन्छ। (यूहन्‍ना ८:३१, ३२; २ तिमोथी ३:१६, १७) हो, परमेश्‍वरको इच्छा जान्‍न र गर्न खोज्नेहरूले मानिसहरूका परम्पराहरूमा भरोसा राख्दैनन्‌। बरु, तिनीहरूले बाइबलमा लगनशील भएर खोजीनिती गर्छन्‌ र परमेश्‍वरको प्रेरित वचनको लाभदायी निर्देशन पालन गर्छन्‌।

[फुटनोटहरू]

a तथाकथित मौखिक व्यवस्थाको स्पष्टीकरणको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इंक-द्वारा प्रकाशित विल देर बि ए वर्ल्ड विदाउट वार? (के युद्धबिनाको संसार कहिल्यै हुनेछ?) पुस्तिकाको पृष्ठ ८-११ हेर्नुहोस्‌।

b टेफिलिन भनेको शास्त्रीय पद्यांशहरू लेखिएका दुइटा चारकुन्‍ने छालाका साना बाकसहरू हुन्‌। यी स-साना बाकसहरूलाई हप्ताभरि बिहान प्रार्थना गर्दा रीतिपूर्वक बायाँ पाखुरा र टाउकोमा लगाइन्थ्यो। मेजुजाह भनेको व्यवस्था ६:४-९ र ११:१३-२१ अभिलेख गरिएको सानो चर्मपत्र हो र यो ढोकाको चौकोसमा राखिन्थ्यो।

[पृष्ठ ३०-मा भएको चित्र]

केराइतहरूको समूह

[स्रोत]

From the book The Jewish Encyclopedia, 1910

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने