प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्!
आज साँझ सभा छ तर तपाईंको काम छ। तपाईं केलाई प्राथमिकता दिनुहुनेछ?
तपाईं पति तथा पिता हुनुहुन्छ। लामो, थकाइलाग्दो काम सकेर घर फर्कने बेला तपाईंको मन साँझमा हुने मण्डली सभातिर ढल्किन्छ। तुरुन्तै काम थन्काएर हिंडिहाल्नुभयो भने तपाईंले सभा जानुअघि नुहाइधुवाइ गर्न, कपडा फेर्न र छिटछिटो खाजा खान समय पाउनुहुनेछ। अकस्मात्, तपाईंको हाकिम आउँछन् र अतिरिक्त समय काम गर्न अह्राउँछन्। तिनले तपाईंलाई निकै पैसा दिने कबुल पनि गर्छन्। अनि तपाईंलाई पैसा चाहिएको पनि छ।
अथवा तपाईं पत्नी तथा आमा हुनुहुन्छ। साँझको खाना तयार पारिरहनुहुँदा इस्तिरी लगाउनुपर्ने एक थुप्रो कपडा थन्केको देख्नुहुन्छ। तीमध्ये कति त भोलि नै चाहिन्छ। तपाईं मनमनै सोच्नुहुन्छ, ‘आज साँझ सभामा गएँ भने यति थुप्रो कपडामा इस्तिरी लगाउन कसरी भ्याउने?’ भर्खरै पूर्ण-समय जागिर खान थाल्नुभएको हुँदा जीवन धान्ने कमाइ गर्नुका साथसाथै पारिवारिक जिम्मेवारी पूरा गर्नु कत्ति कठिन रहेछ भन्ने कुरा तपाईंले थाह पाउनुहुँदैछ।
अथवा तपाईं विद्यार्थी हुनुहुन्छ। तपाईंको कोठामा टेबलभरि गृहकार्य थुप्रेको छ। तीमध्ये धेरैजसो त निकै अघिदेखिको छ तर तपाईंले आलेटाले गरेर टार्दै आउनुभएको छ। त्यसैले अहिले आएर एकै खेपमा तपाईंले सकाउनुपर्ने काम एक थुप्रो लागेको छ। तपाईं सभा नगई घरै बसेर गृहकार्य सिध्याउने अनुमति आमाबाबुबाट माग्न प्रलोभित हुनुभएको छ।
तपाईं केलाई प्राथमिकता दिनुहुन्छ: पेशागत थप कामलाई, इस्तिरी लगाउनुपर्ने लुगालाई, गृहकार्यलाई वा मण्डलीका सभालाई? आध्यात्मिक अर्थमा भन्ने हो भने प्राथमिकता दिनुको अर्थ के हो? यहोवाको दृष्टिकोण के हो?
प्राथमिकता केलाई दिनुपर्छ?
इस्राएलीहरूले दस आज्ञा पाएको केही समय नबित्दै एक व्यक्ति विश्राम दिनमा दाउरा बटुल्दै गरेको फेला पऱ्यो। यसो गर्न व्यवस्थामा सख्त मनाही गरिएको थियो। (गन्ती १५:३२-३४; व्यवस्था ५:१२-१५) तपाईं भए यस मामिलालाई कसरी हेर्नुहुन्थ्यो? के तपाईं, आखिर यस मानिसले विलासी जीवन बिताउन नभई परिवारको आवश्यकता पूरा गर्न काम गरिरहेको थियो भनेर बहस गर्दै तिनलाई माफी दिनुहुन्थ्यो? विश्राम दिन मनाउन वर्षभरि थुप्रै अवसरहरू छँदै छन् नि, यस व्यक्तिले सायद अग्रिम योजना नबनाएको कारण विश्राम दिन मनाउने यो अवसर गुमाएको होला, त्यसैले उसलाई सजिलै क्षमा दिन सकिन्छ भनेर तर्क गर्नुहुन्थ्यो कि?
यहोवाले त्यस मामिलालाई निकै गम्भीरतापूर्वक हेर्नुभयो। बाइबल बताउँछ, “अनि परमप्रभुले मोशालाई भन्नुभयो, ‘त्यो मानिस मारिनैपर्छ। सारा समुदायले त्यसलाई छाउनी बाहिर ढुंगा हानेर मारून्।’ ” (गन्ती १५:३५) त्यस मानिसको कामलाई यहोवाले किन यति गम्भीर ठान्नुभयो?
मानिसहरूले दाउरा बटुल्नका साथै खानेकुरा, कपडा र आवाससम्बन्धी आवश्यकताहरूको प्रबन्ध मिलाउन छ दिन पाएका थिए। तिनीहरूले सातौं दिन आफ्नो आध्यात्मिक खाँचो पूरा गर्न लगाउनुपर्थ्यो। दाउरा बटुल्नु गलत नभए तापनि यहोवाको उपासना गर्न छुट्याइएको समयलाई त्यसरी प्रयोग गर्नु अनुचित थियो। मसीहीहरू मोशालाई दिइएको व्यवस्थाको अधीनमा नभए तापनि आज हामीले प्राथमिकता दिंदा सही ढंगमा दिनुपर्छ भनेर के यस घटनाबाट शिक्षा पाउँदैनौं र?—फिलिप्पी १:१०.
उजाडस्थानमा ४० वर्ष बिताएपछि इस्राएलीहरू प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न तयार भए। परमेश्वरले उजाडस्थानमा प्रबन्ध गर्नुभएको मन्न खाँदा खाँदा कतिपय मानिसहरूलाई वाक्क लागिसकेको थियो र निस्सन्देह, तिनीहरू अर्कै परिकारको पर्खाइमा थिए। तिनीहरूले “दूध र मह बहने” देशमा प्रवेश गर्दा उचित दृष्टिकोण राख्न सकून् भनेर यहोवाले पहिल्यै यसो भन्नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ।”—प्रस्थान ३:८; व्यवस्था ८:३.
इस्राएलीहरूले “दूध र मह[को]” लागि कडा मेहनत गर्नुपर्ने थियो। त्यहाँको सैन्यलाई जित्नुपर्थ्यो, घरहरू बनाउनुपर्थ्यो, जमिन खनजोत गर्नुपर्थ्यो। तैपनि, यहोवाले मानिसहरूलाई आध्यात्मिक कुराहरू मनन गर्न प्रत्येक दिन समय छुट्याउनू भनेर आज्ञा दिनुभयो। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्वरको तौरतरिका सिकाउन पनि समय निकाल्नुपर्थ्यो। यहोवाले यसो भन्नुभयो: “आफ्नो घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गर, र आफ्ना छोरा-छोरीहरूलाई [मेरा आज्ञाहरू] सिकाओ।”—व्यवस्था ११:१९.
प्रत्येक इस्राएली पुरुष र धर्मपरिवर्तन गरेर यहूदी बनेका पुरुषहरूलाई वर्षमा तीन पटक यहोवाको अघि देखा पर्नू भनेर आज्ञा दिइएको थियो। यस्ता अवसरहरूमा जाँदा सम्पूर्ण परिवारकै आध्यात्मिक फाइदा हुने बुझेर थुप्रै परिवारका शिरहरूले पत्नी र छोराछोरीलाई पनि आफूसितै लग्ने प्रबन्ध गरे। तर त्यसरी परिवारको कोही पनि घरमा नहुँदा घर र जमीनलाई शत्रुको आक्रमणबाट कसले रक्षा गर्थ्यो? यहोवाले प्रतिज्ञा गर्नुभयो: “जब तिमीहरू आफ्नो परमप्रभु परमेश्वरको सामने वर्षमा तीनपल्ट देखा परौला, तब कसैले तिमीहरूको जमीनको लोभ गर्नेछैन।” (प्रस्थान ३४:२४) आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिएको खण्डमा भौतिक कुरा गुमाउनुपर्नेछैन भनेर पत्याउन इस्राएलीहरूलाई विश्वास चाहिन्थ्यो। के यहोवाले आफ्नो वचन पूरा गर्नुभयो? अवश्य पूरा गर्नुभयो!
पहिला राज्यको खोजी गर्ने
अरू कुराभन्दा आध्यात्मिक मूल्यहरूलाई प्राथमिकता दिनू भनेर येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो। उहाँले डाँडाको उपदेशमा आफ्ना श्रोताहरूलाई यस्तो सल्लाह दिनुभयो: “के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर, . . . पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३१, ३३) येशूको मृत्युको तुरुन्तैपछि भर्खरै बप्तिस्मा लिएका मसीहीहरूले उपरोक्त सल्लाह पालन गरे। सा.यु. ३३ पेन्तिकोसको उत्सव मनाउन यरूशलेम जानेहरूमा यहूदीहरू र धर्मपरिवर्तन गरी यहूदी भएकाहरू थुप्रै थिए। तर त्यहाँ मनमै नचिताएको घटना भयो। तिनीहरूले येशू ख्रीष्टबारे सुसमाचार सुने र ग्रहण गरे। आफूले पाएको नयाँ विश्वासबारे अझ सिक्न उत्सुक भएर तिनीहरू यरूशलेममै बसे। तिनीहरूको आर्थिक स्थिति खस्किंदै गयो तर भौतिक सुखसुविधा सर्वमहत्त्वपूर्ण थिएन। किनकि तिनीहरूले मसीह पाएका थिए! तिनीहरूका मसीही भाइहरूले आफूसित भएका भौतिक कुराहरू बाँडचुँड गरे ताकि सबै जना “प्रेरितहरूका शिक्षा . . . र प्रार्थनामा” लागिरहन सकून्।—प्रेरित २:४२.
समयको दौडान, कतिपय मसीहीहरूले सभाहरूमा नियमित संगति गर्नुपर्ने कुरालाई हल्का ठान्न थाले। (हिब्रू १०:२३-२५) सायद आफू र आफ्नो परिवारको लागि आर्थिक सुरक्षाको प्रबन्ध गर्न खोज्दा आध्यात्मिक कुराको बेवास्ता हुन गई तिनीहरू भौतिकवादी भए होलान्। प्रेरित पावलले भाइहरूलाई सभा नछोड्नू भनेर आग्रह गरेपछि यस्तो लेखे: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ आफैले भन्नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्यागनेछैनँ।’ ”—हिब्रू १३:५.
पावलको सल्लाह एकदमै समयानुकूल साबित भयो। पावलले हिब्रूहरूलाई पत्र लेखेको झन्डै पाँच वर्षपछि सेस्तियस ग्यालसको रोमी सेनाले यरूशलेम घेऱ्यो। विश्वासी मसीहीहरूले येशूको यो चेताउनी सम्झे: “जब तिमीहरू [यो] देखौला, तब . . . घरको कौसीमा हुने तल नओर्लोस् नता आफ्नो घरबाट केही निकाल्नालाई भित्र पसोस्। खेतमा हुने आफ्नो खाष्टो लिनालाई पछाड़ि नफर्कोस्।” (मर्कूस १३:१४-१६) तिनीहरूको बचावट स्थायी जागिर वा भौतिक धनसम्पत्तिमा नभई येशूको सल्लाह पालन गर्नुमा निर्भर थियो भनेर तिनीहरूलाई थाह थियो। रुपियाँ-पैसाको लोभ गर्नेलाई भन्दा पावलको त्यो सल्लाह मान्ने र आध्यात्मिक गतिविधिहरूलाई प्राथमिकता दिने मानिसहरूलाई घर, जागिर, कपडा तथा मूल्यवान् चीजबीजहरू छोडेर डाँडातिर भाग्नु सजिलो भयो।
आज कसै कसैले कसरी प्राथमिकता दिन्छन्
विश्वासी मसीहीहरूले आज भाइहरूसितको नियमित संगतिको मूल्यांकन गर्छन् र थुप्रैले सभाहरू धाउन त्यागहरू गर्छन्। कुनै कुनै ठाउँहरूमा पालो फेरेर गर्नुपर्ने जागिर मात्र पाइन्छ। एक भाइले सभाहरू हुने साँझ आफ्ना सहकर्मीहरूलाई तिनको साटोमा काम गरिदिन आग्रह गरे। बदलामा त्यस भाइले शनिबारको रात अर्थात् त्यस समुदायमा मनोरञ्जन गर्न प्रयोग गरिने रात तिनीहरूको साटो काम गरिदिने वचन दिए। पालो फेर्दै काम गर्ने अरू भाइहरू कामले गर्दा आफ्नो मण्डलीका सभा धाउन सकेनन् भने नजिकैको मण्डलीका सभाहरू धाउँछन्। यसप्रकार, तिनीहरू प्रायः एउटै सभा छुटाउँदैनन्। क्यानाडामा एक नयाँ जिज्ञासु व्यक्तिले ईश्वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभाको महत्त्व चाँडै बुझिन् तर तिनलाई कामको चापाचापले ती सभाहरू धाउन मुश्किल पऱ्यो। तसर्थ, तिनले आफ्नो पालोमा काम गरिदिन भनी सहकर्मीलाई पैसा दिइन्। त्यसरी तिनी यी महत्त्वपूर्ण सभाहरू धाउन सकिन्।
दीर्घकालीन रोग भएका थुप्रै व्यक्तिहरू विरलै सभा छुटाउँछन्। तिनीहरू राज्यभवन जान नसक्दा टेलिफोन वा टेप रेकर्डिङ मार्फत कार्यक्रम सुन्छन्। यहोवाले आफ्नो “विश्वासी अनि बुद्धिमान्” दास मार्फत दिनुभएको आध्यात्मिक प्रबन्धहरूप्रति तिनीहरू प्रशंसनीय मूल्यांकन देखाउँछन्! (मत्ती २४:४५) वृद्ध आमाबाबुको स्याहारसुसारमा लागिरहेका मसीहीहरूलाई कुनै भाइ वा बहिनीले पालो दिने प्रस्ताव राख्दा तिनीहरू त्यस प्रस्तावको साँच्चै मूल्यांकन गर्छन् किनभने यसो गर्दा तिनीहरू पनि मसीही मण्डलीका सभामा जानसक्छन्।
अग्रिम योजना बनाउनुहोस्!
आध्यात्मिक खाँचोहरूप्रति सजग रहने आमाबाबुले आफ्ना छोराछोरीलाई मसीही सभाहरूको मूल्यांकन गर्न मदत गर्छन्। साधारणतया, तिनीहरू आफ्ना छोराछोरीले आलेटाले नगरी झटपट गृहकार्य गरून् भन्ने चाहन्छन्। सभाहरू हुने साँझ स्कूलबाट आउनसाथ बच्चाहरू गृहकार्य गर्छन्। रुचि र अरू क्रियाकलापहरूलाई मण्डली सभाहरू धाउन बाधा बन्न दिंदैनन्।
पति तथा पिताको हैसियतमा के तपाईं सभाहरूलाई प्राथमिकता दिनुहुन्छ? पत्नी तथा आमाको हैसियतमा के तपाईं सभाहरू धाउन आफ्ना जिम्मेवारीहरू मिलाउने कोसिस गर्नुहुन्छ? के तपाईं किशोरकिशोरीको हैसियतमा गृहकार्य हेरेर सभाहरू धाउनुहुन्छ कि सभाहरूलाई प्राथमिकता दिएर गृहकार्य गर्नुहुन्छ?
मण्डलीको सभा यहोवाको मायालु प्रबन्ध हो। यस प्रबन्धमा भाग लिन हर प्रयास गर्नुपर्छ। प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुभयो भने यहोवाले तपाईंलाई प्रशस्त आशिष् दिनुहुनेछ!