प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१५ pp. २०-२५
  • पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक जीवन खतरामा
  • पारिवारिक समस्या किन?
  • महत्त्वपूर्ण चार सिद्धान्त
  • ईश्‍वरीय शान्ति खोजिरहनुहोस्‌
  • आफ्नो परिवारका लागि अनन्तकालीन भविष्य हासिल गर्नुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
    पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
  • परिवार—मानव आवश्‍यकता!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१५ pp. २०-२५

पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌

“हे विभिन्‍न जातिका [“परिवार,” NW] हो, परमप्रभुलाईनै महिमा र शक्‍ति देओ।”—भजन ९६:७.

१. यहोवाले पारिवारिक जीवनको कस्तो सुरुआत गर्नुभयो?

यहोवाले आदम र हव्वालाई वैवाहिक बन्धनमा बाँध्नुभएपछि पारिवारिक जीवनको शान्तिपूर्ण र आनन्दमय सुरुआत भयो। वास्तवमा, आदम यत्ति धेरै खुशी थिए, तिनले प्रथम लिपिबद्ध कवितामा आफ्नो आनन्द यसरी व्यक्‍त गरे: “ ‘यो ता मेरै हाड़को हाड़ र मासुको मासु हो। उसलाई स्त्री भनिनेछ।’ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”—उत्पत्ति २:२३.

२. परमेश्‍वरले विवाहको प्रबन्ध गर्नुमा आफ्ना मानव सन्तानहरू आनन्दित होऊन्‌ भन्‍ने उद्देश्‍य मात्र थियो कि अरू पनि उद्देश्‍य थियो?

२ परमेश्‍वरले विवाह र पारिवारिक प्रबन्ध स्थापना गर्नुको उद्देश्‍य मानव सन्तानहरूलाई आनन्द दिनु मात्र थिएन। तिनीहरूले उहाँको इच्छा गरेको उहाँ चाहनुहुन्थ्यो। परमेश्‍वरले प्रथम जोडीलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) निस्सन्देह, त्यो इनामदायी कार्यभार थियो। यस प्रथम विवाहित दम्पतीले आज्ञाकारी हुँदै यहोवाको इच्छा पालन गरेका भए आदम र हव्वालगायत तिनीहरूका भावी सन्ततिहरू कत्ति खुशी हुनेथिए!

३. ईश्‍वरीय भक्‍तिसाथ जीवन बिताउन चाहने परिवारले के गर्नुपर्छ?

३ आज पनि एकअर्कासित मिलेर परमेश्‍वरको इच्छा गर्दा परिवारहरू सबैभन्दा सुखी हुन्छन्‌। अनि ती आज्ञाकारी परिवारहरूसमक्ष कस्ता अत्युत्तम प्रत्याशाहरू छन्‌! प्रेरित पावलले यसप्रकार लेखे: “[ईश्‍वरीय] भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) साँचो ईश्‍वरीय भक्‍तिअनुरूप जीवन बिताइरहेका परिवारहरूले यहोवाको वचनका सिद्धान्तहरू पछ्याउँछन्‌ र उहाँको इच्छाअनुरूप गर्छन्‌। तिनीहरूले ईश्‍वरीय शान्ति खोज्छन्‌ र ‘अहिले भइरहेको जीवनमा’ आनन्द पाउँछन्‌।

पारिवारिक जीवन खतरामा

४, ५. संसारभरि नै पारिवारिक जीवन खतरामा परेको छ भनेर हामी किन भन्‍नसक्छौं?

४ निस्सन्देह, हामी प्रत्येक परिवारमा शान्ति र आनन्द पाउँदैनौं। पपुलेशन काउन्सिल नामक जनसंख्या गणना गर्ने संस्थाले गरेको अध्ययनलाई उद्धरण गर्दै द न्यु योर्क टाइम्स यसो भन्छ: “धनी तथा गरिब दुवै देशहरूमा पारिवारिक जीवनको संरचनामा गम्भीर परिवर्तनहरू भइरहेका छन्‌।” उक्‍त विवरणअनुसार यस अध्ययनका लेखिकाले यसो भनिन्‌: “परिवार एउटा स्थायी तथा सम्बद्ध एकाइ हो र पिताले आर्थिक प्रबन्ध गर्छन्‌ अनि आमाले भावनात्मक हेरचाह गर्छिन्‌ भन्‍ने धारणा निराधार छ। यथार्थ के हो भने, अविवाहित आमा, पारपाचुके दरमा वृद्धि [र] सानो परिवारको . . . प्रवाह संसारभरि चलिरहेको छ।” त्यस्तो प्रवाहको कारण लाखौं परिवारहरूमा स्थायित्व, शान्ति र आनन्दको अभाव छ अनि धेरै परिवारहरू टुक्रिरहेका पनि छन्‌। स्पनेमा यस २० औं शताब्दीको अन्तिम दशकको सुरुतिर ८ वटा विवाहमा एउटा विवाह पारपाचुकेमा टुंगिन थाल्यो। पारपाचुकेको दरमा यो चर्को वृद्धि हो। करिब २५ वर्षअघि त्यहाँ १०० वटा विवाहमा एउटा मात्र पारपाचुके हुन्थ्यो। युरोपभरिमा सबैभन्दा बढी पारपाचुके हुने देश बेलाइत हो। त्यहाँ हरेक १० विवाहमध्ये ४ वटाको सम्बन्ध विच्छेद हुन्छ। यसको साथै, आमा वा बाबु मात्र भएका परिवारहरू पनि एक्कासि बढेको देखिन्छ।

५ केही मानिसहरू त पारपाचुके गर्न सानोतिनो निहुँ मात्र खोजिरहेको जस्तो देखिन्छ। जापानमा टोकियो नजीकैको “सम्बन्ध विच्छेदक तीर्थस्थल[मा]” धेरै मानिसको भीड लाग्छ। यस शिन्टो मन्दिरले पारपाचुके र अनिच्छित सम्बन्ध विच्छेदका लागि गरिएका बिन्तीहरू स्वीकार्छ। हरेक उपासकले काठको पातलो पाटीमा आफ्नो बिन्ती लेख्छ र मन्दिरको हाताभित्र झुन्डाएर जवाफको लागि प्रार्थना गर्छ। टोकियोको एउटा अखबारअनुसार झन्डै एक शताब्दीअघि उक्‍त तीर्थस्थल स्थापना गर्दा “स्थानीय धनी व्यापारीहरूका पत्नीहरू त्यहाँ आउने गर्थे र आफ्नो पतिले तिनको प्रेमिकालाई छोडेर आओस्‌ भनी प्रार्थनाहरू लेख्ने गर्थे।” तर अहिले त्यहाँ पुनर्मिलनको लागि नभई पारपाचुकेको लागि अधिकांश बिन्तीहरू गरिन्छन्‌। निस्सन्देह, संसारभरि पारिवारिक जीवन खतरामा परेको छ। के यसले हामी मसीहीहरूलाई छक्क पार्छ? पटक्कै पार्दैन। किनभने बाइबलले हामीलाई वर्तमान समयमा पारिवारिक संकट आइपर्नुको कारण बताउँछ।

पारिवारिक समस्या किन?

६. हिजोआजको पारिवारिक कलहसित १ यूहन्‍ना ५:१९ कसरी सम्बन्धित छ?

६ वर्तमान पारिवारिक समस्याको एउटा कारण “सारा संसार त्यस दुष्टको अधीनमा परेको[ले]” हो। (१ यूहन्‍ना ५:१९) हामीले दुष्ट शैतान अर्थात्‌ दियाबलबाट के अपेक्षा गर्नसक्छौं? त्यो दुष्ट, अनैतिक फटाहा हो। (यूहन्‍ना ८:४४) पारिवारिक जीवनको लागि अति ध्वंसात्मक कुराहरू अर्थात्‌ छल तथा अनैतिकतामा त्यो रमाउनु कुनै आश्‍चर्यको कुरा होइन! परमेश्‍वरको संगठनबाहिर शैतानी प्रभावले यहोवाद्वारा स्थापित विवाहलाई खतरामा पार्छ र शान्तिपूर्ण पारिवारिक जीवनलाई भताभुंग गर्न खोज्छ।

७. यी आखिरी दिनमा धेरै मानिसहरूले देखाउने अवगुनहरूले परिवारलाई कसरी असर गर्नसक्छ?

७ अहिले मानवजातिलाई पीडित तुल्याउने पारिवारिक समस्याहरूको अर्को कारण २ तिमोथी ३:१-५ मा उल्लेख गरिएको छ। पावलको भविष्यवाणीले देखाएअनुसार हामी “आखिरी दिनमा” बाँचिरहेका छौं। परिवारका सदस्यहरू “स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने” छन्‌ भने परिवार शान्तिमय र सुखी हुन सक्दैन। परिवारको कुनै एक सदस्यसित स्वाभाविक प्रेम छैन वा तिनी वफादार छैनन्‌ भने परिवार पूर्णतया आनन्दित हुन सक्दैन। परिवारको कुनै एक जना सदस्य जंगी वा जिद्दीवाल छ भने के त्यो परिवारमा शान्ति होला र? परिवारका सदस्यहरूले परमेश्‍वरभन्दा बरु सुखविलास निको मान्छन्‌ भने त्यो परिवारमा अलिकता पनि शान्ति र आनन्द सम्भव होला र? ती सबै शैतानले शासन गर्ने यस संसारका मानिसहरूका गुनहरू हुन्‌। यस आखिरी दिनमा पारिवारिक शान्ति र आनन्द पाउन गाह्रो हुनु कुनै आश्‍चर्यको कुरा होइन!

८, ९. छोराछोरीको आचरणले पारिवारिक आनन्दमा कस्तो असर पर्नसक्छ?

८ धेरै परिवारहरूमा शान्ति र आनन्द नहुनुको अर्को कारण छोराछोरीहरूको खराब आचरणले गर्दा हो। पावलले आखिरी दिनको परिस्थितिबारे भविष्यवाणी गर्दा आमाबाबुको आज्ञा पालन नगर्ने छोराछोरी धेरै हुनेछन्‌ भने। तपाईं जवान हुनुहुन्छ भने के तपाईंको बानीबेहोराले परिवारलाई शान्तिपूर्ण तथा आनन्दमय बनाउन मदत दिन्छ?

९ निस्सन्देह, केही छोराछोरीहरूको बानीबेहोरा सधैं अनुकरणीय हुँदैन। उदाहरणका लागि, एक ठिटोले आफ्नो बुबालाई यस्तो नमीठो पत्र लेखे: “मलाई आलेक्सान्ड्रियामा लैजानुभएन भने म तपाईंलाई कहिल्यै चिठी लेख्दिनँ, बोल्दा पनि बोल्दिनँ, तपाईंको बिदाइसमेत गर्दिनँ। अनि तपाईं एक्लै आलेक्सान्ड्रियामा जानुभयो भने म तपाईंको हात कहिल्यै समाउँदिनँ र तपाईंलाई कहिल्यै अभिवादन गर्दिनँ। मलाई लैजानुभएन भने साँच्चै त्यस्तै गर्नेछु . . . तर बिन्ती छ, मलाई एउटा [वीणा] पठाइदिनुस्‌। पठाउनुभएन भने म केही पनि खाँदिनँ, पिउन पनि पिउँदिनँ। कुरा त्यही हो, अरू भन्‍नु केही छैन!” यो आजकल भइरहने घटनाजस्तै लाग्दैन र? वास्तवमा, त्यो चिठी पुरातन मिश्रमा २,००० वर्षभन्दा अघि एक ठिटोले आफ्नो बुबालाई लेखेका थिए।

१०. ईश्‍वरीय शान्ति खोज्न केटाकेटीहरूले कसरी आफ्नो परिवारलाई मदत गर्नसक्छन्‌?

१० स्पष्ट छ, त्यस मिश्री ठिटोको मनोवृत्तिले पारिवारिक शान्ति बढाएन। अहिलेका आखिरी दिनहरूमा परिवारभित्र त्योभन्दा जटिल कुराहरू हुन्छन्‌। यद्यपि, तपाईं जवानहरूले ईश्‍वरीय शान्ति खोज्न आफ्नो परिवारलाई मदत दिन सक्नुहुन्छ। कसरी? बाइबलको यो सल्लाह पालन गरेर: “ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।”—कलस्सी ३:२०.

११. आफ्ना छोराछोरीलाई यहोवाका विश्‍वासी सेवकहरू बनाउन आमाबाबुले कसरी मदत गर्नसक्छन्‌?

११ तपाईं आमाबाबुहरू नि? तपाईंका छोराछोरीहरूलाई यहोवाका विश्‍वासी सेवकहरू हुन मायालु ढंगमा मदत दिनुहोस्‌। हितोपदेश २२:६ यसो भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” धर्मशास्त्रीय राम्रो शिक्षा र आमाबाबुको असल उदाहरणको फलस्वरूप धेरै केटाकेटीहरूले हुर्किसकेपछि पनि सही बाटो त्याग्दैनन्‌। तर, यसमा कस्तो खालको बाइबल प्रशिक्षण दिइएको छ, कति मात्रामा दिइएको छ र साथै जवान व्यक्‍तिको हृदयको अवस्था कस्तो छ त्यसमा पनि धेरै कुरा निर्भर गर्छ।

१२. मसीहीको घर किन शान्तिमय हुनुपर्छ?

१२ परिवारका सबै सदस्यहरूले यहोवाको इच्छा गर्न खोजिरहेका छन्‌ भने हामीले ईश्‍वरीय शान्तिको आनन्द उठाइरहेको हुनुपर्छ। मसीही घर ‘शान्तिको सन्तानले’ भरिएको हुनुपर्छ। लूका १०:१-६ ले देखाएअनुसार येशूले आफ्ना ७० चेलाहरूलाई सेवकहरूको हैसियतमा पठाउनुहुँदा उहाँको मनमा यस्तै व्यक्‍तिहरू थिए र उहाँले यसो भन्‍नुभयो: “जुन घरमा पसौला पहिले भन, ‘यस घरलाई शान्ति होस्‌।’ यदि त्यहाँ शान्तिको सन्तान रहेछ भने तिमीहरूको शान्ति त्यसमा रहनेछ।” यहोवाका सेवकहरूले शान्तिपूर्वक घर-घरमा “शान्तिको सुसमाचार” सुनाएर ‘शान्तिको सन्तान’ खोज्छन्‌। (प्रेरित १०:३४-३६; एफिसी २:१३-१८) शान्तिको सन्तानहरू मिलेर बनेको मसीही घराना पक्कै शान्तिमय हुनुपर्ने हो।

१३, १४. (क) नाओमीले रूथ र ओर्पाको लागि कस्तो कामना राखिन्‌? (ख) मसीहीको घर कस्तो प्रकारको विश्रामस्थल हुनुपर्छ?

१३ घर शान्तिमय विश्रामस्थल हुनुपर्छ। वृद्धा विधवी नाओमीले आफ्नी जवान विधवा बुहारीहरू, रूथ र ओर्पालाई परमेश्‍वरले विश्राम र सान्त्वना प्रदान गर्नुहुनेछ भन्‍ने आशा गरिन्‌। नाओमीले यसो भनिन्‌: “उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आफ्ना आफ्ना पतिका घरमा सुरक्षित राखून्‌।” (रूथ १:९) नाओमीको इच्छाबारे एक शास्त्रविद्‌ले भने, त्यस्तो घरमा रूथ र ओर्पाले “अशान्ति र चिन्ताबाट छुटकारा पाउनेथिए। तिनीहरूले मनोशान्ति पाउनेथिए। त्यस्तो घरमा तिनीहरूले जीवन निर्वाह गर्नसक्थे र तिनीहरूका अति कोमल भावना तथा सबैभन्दा आदरणीय इच्छाहरूले सन्तुष्टि र शान्ति पाउनेथियो। त्यहाँ प्रयोग गरिएको हिब्रू शब्दको अनौठो भावलाई . . . [यशैया ३२:१७, १८] का सम्बन्धित अभिव्यक्‍तिहरूले राम्ररी प्रकट गर्छन्‌।”

१४ कृपया, यहाँ उल्लिखित यशैया ३२:१७, १८ लाई ध्यान दिनुहोस्‌। त्यहाँ हामी यसो लेखिएको पाउँछौं: “धार्मिकताको परिणाम शान्ति हुनेछ, र त्यसको नतीजा चाहिं सदाको शान्ति र निश्‍चयता हुनेछ। मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।” मसीही घर भनेको धार्मिकता, सुरक्षा र ईश्‍वरीय शान्तिको विश्रामस्थल हुनुपर्छ। तर परीक्षा, मतभेद तथा अन्य समस्याहरू आइपऱ्‍यो भने चाहिं के गर्ने नि? त्यस्तो बेला विशेष गरेर हामीलाई पारिवारिक आनन्दको रहस्य थाह हुनुपर्छ।

महत्त्वपूर्ण चार सिद्धान्त

१५. पारिवारिक आनन्दको रहस्यलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ?

१५ पृथ्वीमा भएका हरेक परिवारको नाउँ परिवारका रचयिता, यहोवाबाट राखिएको छ। (एफिसी ३:१४, १५) त्यसकारण, पारिवारिक आनन्द प्राप्त गर्न चाहनेहरूले यहोवाको निर्देशन खोज्नुपर्छ र उहाँको महिमा गर्नुपर्छ। एक भजनरचयिताले पनि त्यसै गरे: “हे विभिन्‍न जातिका [“परिवार,” NW] हो, परमप्रभुलाईनै महिमा र शक्‍ति देओ।” (भजन ९६:७) पारिवारिक आनन्दको रहस्य, बाइबल र त्यसका सिद्धान्तहरूको उपयोगमा निर्भर छ। यी सिद्धान्तहरू पालन गर्ने परिवार आनन्दित हुनेछ र ईश्‍वरीय शान्ति पाउनेछ। त्यसैले आउनुहोस्‌, हामी चारवटा महत्त्वपूर्ण सिद्धान्तहरूलाई केलाऔं।

१६. पारिवारिक जीवनमा आत्मसंयमले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?

१६ पहिलो हो: पारिवारिक जीवनमा ईश्‍वरीय शान्तिको लागि आत्मसंयम अत्यावश्‍यक छ। राजा सुलेमानले यसो भने: “जुन मानिसले आफ्नो रीस थाम्नसक्‍तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खालबिनाको शहरजस्तै हो।” (हितोपदेश २५:२८) यदि हामी आफ्नो परिवार शान्तिमय र आनन्दित बनाउन चाहन्छौं भने, ‘रीस थाम्नु’ अर्थात्‌ आत्मसंयम राख्नु अत्यावश्‍यक छ। हामीहरू असिद्ध भए तापनि आत्मसंयमी हुने अभ्यास गर्नुपर्छ। यो परमेश्‍वरको आत्माको फल हो। (रोमी ७:२१, २२; गलाती ५:२२, २३) हामीले आत्मसंयमको लागि प्रार्थना गऱ्‍यौं, त्यससम्बन्धी बाइबलको सल्लाह पालन गऱ्‍यौं र त्यो गुन प्रकट गर्ने व्यक्‍तिहरूसित संगत गऱ्‍यौं भने पवित्र आत्माले हामीमा आत्मसंयम पैदा गर्नेछ। यसले हामीलाई “व्यभिचारदेखि अलग” रहन मदत दिनेछ। (१ कोरिन्थी ६:१८) आत्मसंयमले हामीलाई हिंसाको विरोध गर्न, मतवालापनबाट जोगिन वा त्यो समस्यामाथि विजयी हुन र कठिन परिस्थितिहरूमा पनि शान्त रहन मदत दिनेछ।

१७, १८. (क) पहिलो कोरिन्थी ११:३ मसीही परिवारमा कसरी लागू हुन्छ? (ख) शिरत्वलाई स्वीकार्नाले परिवारमा कसरी ईश्‍वरीय शान्तिले बास गर्छ?

१७ अर्को अपरिहार्य सिद्धान्तलाई यसरी भन्‍न सकिन्छ: शिरत्वलाई स्वीकारेर परिवारमा ईश्‍वरीय शान्ति खोज्न मदत पाउनेछौं। पावलले यसरी लेखे: “तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टको शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) यसको अर्थ, पतिले परिवारको नेतृत्व गर्छन्‌, पत्नीले वफादारीपूर्वक समर्थन गर्छिन्‌ र छोराछोरीहरू आमाबाबुप्रति आज्ञाकारी हुन्छन्‌। (एफिसी ५:२२-२५, २८-३३; ६:१-४) त्यस्तो आचरणले परिवारमा ईश्‍वरीय शान्ति बढाउनेछ।

१८ धर्मशास्त्रीय शिरत्व तानाशाही होइन भनेर मसीही पतिले बिर्सनु हुँदैन। तिनले आफ्नो शिर, येशूको अनुकरण गर्नै पर्छ। उहाँलाई “सबै कुराको शिर” बनाइए तापनि उहाँ “सेवा पाउनालाई होइन, तर सेवा गर्न” आउनुभयो। (एफिसी १:२२; मत्ती २०:२८) त्यसरी नै, मसीही पुरुषले आफ्नो परिवारको राम्रो हेरचाह गर्न मायालु ढंगमा अगुवाइ गर्छन्‌। मसीही पत्नी, आफ्नो पतिलाई सहयोग दिन पाउँदा खुशी हुन्छिन्‌। तिनी पतिको “सहयोगी” र “पूरक” हुन्‌। तिनले आफ्नो पतिमा नभएका गुनहरूको पूर्ति गर्छिन्‌ र चाहिएको समर्थन दिन्छिन्‌। (उत्पत्ति २:२०; हितोपदेश ३१:१०-३१) शिरत्वलाई सही ढंगमा चलाउँदा पति र पत्नीले एकअर्काप्रति आदरपूर्वक व्यवहार गर्न मदत पाउँछन्‌ र छोराछोरीहरू आज्ञाकारी हुन उत्प्रेरित हुन्छन्‌। हो, शिरत्वलाई स्वीकाऱ्‍यौं भने पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति बढ्‌छ।

१९. पारिवारिक शान्ति र आनन्दको लागि खुलस्त कुराकानी हुनु किन जरुरी छ?

१९ तेस्रो महत्त्वपूर्ण सिद्धान्तलाई यी शब्दहरूमा व्यक्‍त गर्न सकिन्छ: पारिवारिक शान्ति र आनन्दको लागि खुलस्त कुराकानी अत्यावश्‍यक छ। याकूब १:१९ यसो भन्छ: “हरेक मानिस सुन्‍नालाई छिटो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” परिवारका सदस्यहरूबीच खुलस्त कुराकानी हुनु जरुरी छ, किनभने पारिवारिक कुराकानी दुइतर्फी बाटोजस्तै हो। हामीले बताउने कुरा सही नै भए तापनि क्रूर, घमण्डी वा असंवेदनशील ढंगमा भन्यौं भने भलाइभन्दा नोक्सानै बढी हुन्छ। हाम्रो बोली “नूनले स्वादिलो पारेको,” शिष्ट हुनुपर्छ। (कलस्सी ४:६) धर्मशास्त्रीय सिद्धान्तहरू पालन गर्ने र खुलस्त कुराकानी गर्ने परिवारहरूले ईश्‍वरीय शान्ति खोजिरहेका हुन्छन्‌।

२०. पारिवारिक शान्तिको लागि प्रेम नभई नहुने कुरा हो भनेर तपाईं किन भन्‍न सक्नुहुन्छ?

२० चौथो सिद्धान्त हो: ईश्‍वरीय शान्ति र आनन्दको लागि प्रेम अत्यावश्‍यक छ। रोमान्टिक प्रेमले पनि विवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। त्यसबाहेक, परिवारका सदस्यहरूबीच गहिरो स्नेह बढ्‌नसक्छ। तर सबैभन्दा महत्त्वपूर्ण प्रेम त युनानी शब्द, अगापे-ले बुझाउने प्रेम हो। हामी यहोवा, येशू र आफ्नो छिमेकीप्रति त्यस्तो प्रेम खेती गर्छौं। (मत्ती २२:३७-३९) यहोवा परमेश्‍वरले ‘उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌ तर त्यसले अनन्त जीवन पाओस्‌ भनेर आफ्नो एकमात्र पुत्रलाई दिनुभएर’ मानवजातिप्रति त्यही प्रेम प्रकट गर्नुभयो। (यूहन्‍ना ३:१६) हामीले परिवारका सदस्यहरूप्रति त्यस्तै प्रेम देखाउनसक्नु साँच्चै राम्रो कुरा हो! यस उच्चतम प्रेम, “सिद्धताको गाँठो” हो। (कलस्सी ३:१४) यसले विवाहित दम्पतीलाई मिलापमा राख्छ र एकअर्का अनि आफ्ना छोराछोरीका लागि हित हुने काम कुरा गर्न प्रेरित गर्छ। समस्या पर्दा प्रेमले तिनीहरूलाई सबैजना मिलेर समाधान गर्न मदत दिन्छ। हामी यसबारे निश्‍चित हुनसक्छौं किनभने “प्रेमले . . . आफ्नै भलाइ खोज्दैन . . . सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:४-८) निस्सन्देह, एकअर्काप्रतिको प्रेम र यहोवाप्रतिको प्रेमले दह्रोसित बाँधिएका परिवारहरू आनन्दित हुन्छन्‌!

ईश्‍वरीय शान्ति खोजिरहनुहोस्‌

२१. तपाईंको परिवारको शान्ति र आनन्द के ले बढाउन सक्छ जस्तो लाग्छ?

२१ माथि उल्लिखित सिद्धान्तहरू र बाइबलका अन्य सिद्धान्तहरू यहोवाले दयापूर्वक “विश्‍वासी र बुद्धिमान दास” मार्फत प्रबन्ध गरिदिनुभएको प्रकाशनहरूमा पाइन्छन्‌। (मत्ती २४:४५) उदाहरणको लागि, १९९६/९७ मा यहोवाका साक्षीहरूले आयोजना गरेका “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा विमोचन भएको पारिवारिक आनन्दको रहस्य शीर्षक १९२ पन्‍ने नयाँ प्रकाशनमा त्यस्तो जानकारीहरू पाइन्छन्‌। यस्तो प्रकाशनलाई चलाएर धर्मशास्त्रको व्यक्‍तिगत तथा पारिवारिक अध्ययन गर्दा धेरै फाइदा उठाउन सकिन्छ। (यशैया ४८:१७, १८) हो, त्यसरी धर्मशास्त्रीय सल्लाहहरू पालन गर्दा तपाईंको परिवारमा शान्ति र खुशी छाउन सक्छ।

२२. हाम्रो पारिवारिक जीवनलाई के मा केन्द्रित गर्नुपर्छ?

२२ यहोवाको इच्छाअनुरूप गर्ने परिवारहरूका लागि भविष्यको निम्ति उहाँले अद्‌भुत कुराहरू साँचेर राख्नुभएको छ। परमेश्‍वर, हाम्रो प्रशंसा र सेवाको योग्य हुनुहुन्छ। (प्रकाश २१:१-४) अतः तपाईंको परिवारको मुख्य ध्येय साँचो परमेश्‍वरको उपासना होस्‌। अनि, जसै तपाईं आफ्नो परिवारमा ईश्‍वरीय शान्ति खोज्दै जानुहुन्छ, हाम्रो स्वर्गमा हुनुहुने मायालु पिता, यहोवाले तपाईंलाई प्रशस्तसँग आशिष्‌ दिऊन्‌!

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?

◻ ईश्‍वरीय भक्‍तिसहित जीवन बिताउन परिवारले के गर्नु आवश्‍यक छ?

◻ आजभोलिका परिवार किन संकष्टमा परेको छ?

◻ पारिवारिक आनन्दको रहस्य के हो?

◻ पारिवारिक जीवन शान्तिमय र आनन्दमय बनाउन हामीलाई सहयोग गर्ने बाइबल सिद्धान्त के के हुन्‌?

[पृष्ठ २४-मा भएको चित्र]

खुलस्त कुराकानीले पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोजी गर्न सजिलो बनाउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने