प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ६/१५ pp. १७-२१
  • यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा वफादार हुनुहुन्छ
  • यहोवाको वफादारी अनुकरण गर्नुहोस्‌
  • यहोवा क्षमाशील हुनुहुन्छ
  • यहोवाको क्षमा अनुकरण गर्नुहोस्‌
  • यहोवाका गुणहरूको अझ धेरै मोल गरिरहनुहोस्‌
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ६/१५ pp. १७-२१

यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्‌

“हे परमप्रभु, तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरूमाथि तपाईं अति कृपालु हुनुहुन्छ।”—भज. ८६:५.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • हामी कसरी यहोवाको वफादारी अनुकरण गर्न सक्छौं?

  • हामी कसरी यहोवाको क्षमा अनुकरण गर्न सक्छौं?

  • तपाईं यहोवाका मनमोहक गुणहरूको किन अझ धेरै मोल गरिरहन चाहनुहुन्छ?

१, २. (क) वफादार अनि क्षमाशील साथीहरूको हामी किन मोल गर्छौं? (ख) हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

तपाईं कस्तो व्यक्‍तिलाई साँचो मित्र भन्‍नुहुन्छ? एश्‍ली नाम गरेकी बहिनी भन्छिन्‌: “साँचो मित्र त्यो हो, जो मदत गर्न सधैं तयार हुन्छ; जसले क्षमा दिन्छ।” हामी सबै जना वफादार अनि क्षमाशील मित्रहरूको मोल गर्छौं। तिनीहरूबाट हामी सुरक्षा र माया पाउँछौं।—हितो. १७:१७.

२ यहोवा हाम्रो सबैभन्दा वफादार अनि क्षमाशील मित्र हुनुहुन्छ। भजनरचयिताले उहाँबारे यसो भने: “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरूमाथि तपाईं अति कृपालु [अर्थात्‌ “वफादार भई प्रेम गर्ने”] हुनुहुन्छ।” (भज. ८६:५) वफादार र क्षमाशील हुनुको अर्थ के हो? यहोवा यी आकर्षक गुणहरू कसरी देखाउनुहुन्छ? अनि हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफले हाम्रो सबैभन्दा मिल्ने साथी यहोवाप्रतिको प्रेमलाई अझ गहिरो बनाउन मदत गर्नेछ। साथै भाइबहिनीसितको मित्रतालाई बलियो बनाउन पनि मदत गर्नेछ।—१ यूह. ४:७, ८.

यहोवा वफादार हुनुहुन्छ

३. वफादार हुनुको अर्थ के हो?

३ वफादारीमा भक्‍ति, विश्‍वास र अटल निष्ठा समावेश छ। वफादार व्यक्‍ति ढुलमुले अनि अस्थिर स्वभावको हुँदैन। बरु ऊ जस्तोसुकै कठिन परिस्थितिमा पनि कुनै व्यक्‍ति वा कुनै कुरासित टाँसिरहन्छ। बाइबलमा यहोवा “वफादार” हुनुहुन्छ भनी बताइएको छ। उहाँजस्तो वफादार अरू कोही छैन।—प्रका. १६:५.

४, ५. (क) यहोवा कसरी वफादारी देखाउनुहुन्छ? (ख) यहोवाले देखाउनुभएको वफादारीमा मनन गरेर हामी कसरी बल पाउन सक्छौं?

४ यहोवा कसरी वफादारी देखाउनुहुन्छ? उहाँ आफ्ना वफादार उपासकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। यहोवाको उपासक राजा दाऊदले उहाँको वफादारीको महिमा गरे। (२ शमूएल २२:२६, NRV पढ्‌नुहोस्‌) परीक्षाको समयमा यहोवाले दाऊदलाई डोऱ्‍याउनुभयो, सुरक्षा दिनुभयो र छुटकारा दिनुभयो। (२ शमू. २२:१) यहोवाको वफादारी शब्दमा मात्र सीमित छैन भनेर दाऊदलाई थाह थियो। यहोवा दाऊदप्रति किन वफादार हुनुभयो? किनभने दाऊद स्वयम्‌ “वफादार” थिए। यहोवालाई आफ्ना उपासकहरूको वफादारी मन पर्छ र त्यसबापत उहाँ पनि तिनीहरूलाई वफादारी देखाउनुहुन्छ।—हितो. २:६-८.

५ यहोवाले देखाउनुभएको वफादारीमा मनन गरेर हामी बल पाउन सक्छौं। रीड नामका वफादार भाइ यसो भन्छन्‌, “कठिन समयमा यहोवाले दाऊदसित गर्नुभएको व्यवहारबारे पढ्‌दा साँच्चै मदत पाउँछु। दाऊदले कहिले गुफामा त कहिले गुफाबाहिर भगुवा जीवन बिताउनुपऱ्‍यो। यस्तो अवस्थामा समेत यहोवाले तिनलाई सधैं सम्हाल्नुभयो। यस विवरणबाट ठूलो सान्त्वना पाउँछु। परिस्थिति जस्तोसुकै किन नहोस्‌ अनि जतिसुकै विकराल किन नदेखियोस्‌, यहोवाप्रति वफादार भएमा उहाँले मलाई मदत गर्नुहुनेछ भनेर सम्झन यस विवरणले मलाई मदत गर्छ।” तपाईं पनि पक्कै यस्तो महसुस गर्नुहुन्छ।—रोमी ८:३८, ३९.

६. यहोवा अरू कुन तरिकामा वफादारी देखाउनुहुन्छ र उहाँका उपासकहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

६ यहोवा अरू कुन तरिकामा वफादारी देखाउनुहुन्छ? उहाँ आफ्नो स्तरमा कहिल्यै सम्झौता गर्नुहुन्‍न। उहाँ हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु।” (यशै. ४६:४) उहाँ सधैं आफ्नो अपरिवर्तनीय स्तरबमोजिम निर्णय गर्नुहुन्छ। (मला. ३:६) साथै आफ्नो वचन कहिल्यै नतोडेर आफू वफादार भएको देखाउनुहुन्छ। (यशै. ५५:११) यहोवाको वफादारीबाट उहाँका सबै वफादार उपासकले लाभ उठाउन सक्छन्‌। कस्तो लाभ? यहोवाको स्तरबमोजिम गर्न भरमग्दुर कोसिस गऱ्‍यौं भने उहाँले आफ्नो प्रतिज्ञाअनुरूपै हामीलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौं।—यशै. ४८:१७, १८.

यहोवाको वफादारी अनुकरण गर्नुहोस्‌

७. यहोवाको वफादारी अनुकरण गर्न सक्ने एउटा तरिका के हो?

७ हामी कसरी यहोवाको वफादारी अनुकरण गर्न सक्छौं? एउटा तरिका हो, कठिन परिस्थितिको सामना गरिरहेकाहरूको खातिर कदम चाल्नु। (हितो. ३:२७) उदाहरणको लागि: स्वास्थ्य समस्या, व्यक्‍तिगत कमीकमजोरी वा परिवारको विरोधले गर्दा निराश भएका कुनै भाइबहिनीबारे तपाईंलाई थाह छ कि? तिनीहरूलाई केही “सान्त्वनाका वचन” सुनाउन अग्रसर हुनुभए कसो होला? (जक. १:१३, NRV)a यसो गर्दा तपाईंले आफूलाई “दाजुभाइभन्दा पनि नजिकको” वफादार अनि साँचो मित्र साबित गरिरहनुभएको हुनेछ।—हितो. १८:२४.

८. वैवाहिक सम्बन्धजस्ता क्षेत्रमा हामी कसरी यहोवाको वफादारी अनुकरण गर्न सक्छौं?

८ आफूले माया गर्नेहरूप्रति वफादार भएर पनि हामी यहोवाको वफादारी अनुकरण गर्न सक्छौं। जस्तै, विवाहित हौं भने आफ्नो जीवनसाथीप्रति वफादार हुनै पर्छ भनेर हामीलाई थाह छ। (हितो. ५:१५-१८) त्यसकारण अवैध यौनसम्बन्धतर्फ डोऱ्‍याउन सक्ने कुनै पनि कामकुरादेखि हामी अलगै बस्छौं। (मत्ती ५:२८) साथै भाइबहिनीको निन्दा नगरेर, उनीहरूबारे नचाहिंदो हल्ला नफैलाएर अनि त्यस्तो हल्ला सुन्दासमेत नसुनेर हामी उनीहरूप्रति वफादार हुन्छौं।—हितो. १२:१८.

९, १०. (क) हामी विशेषगरि कोप्रति वफादार हुन चाहन्छौं? (ख) यहोवाका आज्ञाहरू पालन गर्न किन सधैं सजिलो हुँदैन?

९ सबैभन्दा महत्त्वपूर्ण कुरा हामी यहोवाप्रति वफादार हुन चाहन्छौं। हामी कसरी वफादार हुन सक्छौं? यहोवाले प्रेम गर्ने कुरालाई प्रेम गरेर अनि उहाँले घृणा गर्ने कुरालाई घृणा गरेर। अनि यहोवा खुसी हुने तरिकामा जीवन बिताएर। (भजन ९७:१० पढ्‌नुहोस्‌) यहोवाको जस्तै सोचाइ राख्न सिक्दै जाँदा उहाँका आज्ञाहरू पालन गर्न झन्‌झनै सजिलो हुनेछ।—भज. ११९:१०४.

१० हो, यहोवाका आज्ञाहरू पालन गर्न सधैं सजिलो हुँदैन। वफादार रहन सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि, केही अविवाहित ख्रीष्टियनलाई विवाह गर्ने चाहना होला तर उनीहरूले यहोवाका उपासकहरूमाझ सुहाउँदो जोडी पाएका छैनन्‌ होला। (१ कोरि. ७:३९) जस्तै, एक अविवाहित बहिनीलाई काम गर्ने ठाउँका गैर-ख्रीष्टियन साथीहरूले सम्भाव्य जोडी खोजिदिने प्रयास गर्लान्‌। अनि ती बहिनीले एकाकीपनसित सङ्‌घर्ष गरिरहेकी हुन सक्छिन्‌। तैपनि यहोवाप्रतिको सत्यनिष्ठा कायम राख्न तिनी कटिबद्ध छिन्‌। वफादारीको राम्रो उदाहरण बसालेका त्यस्ता भाइबहिनीको के हामी मोल गर्दैनौं र? गाह्रोसाह्रो परिस्थितिमा पनि वफादार रहने सबैलाई यहोवाले पक्कै इनाम दिनुहुनेछ।—हिब्रू ११:६.

“मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ।”—हितो. १८:२४ (अनुच्छेद ७ हेर्नुहोस्‌)

“एक-अर्कालाई खुला मनले क्षमा गर।”—एफि. ४:३२ (अनुच्छेद १६ हेर्नुहोस्‌)

यहोवा क्षमाशील हुनुहुन्छ

११. क्षमाशील हुनुको अर्थ के हो?

११ यहोवाका मनमोहक गुणहरूमध्ये एउटा हो, क्षमा दिने इच्छुकता। क्षमाशील हुनुको अर्थ के हो? यसमा गल्ती गर्ने व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेमा माफी दिनु समावेश छ। तर यसको मतलब क्षमाशील व्यक्‍तिले गल्तीप्रति आँखा चिम्लन्छ वा कुनै गल्ती नै नभएजस्तो व्यवहार गर्छ भन्‍ने होइन। बरु उसले मनमा रिस पालेर राख्दैन। साँचो पश्‍चात्ताप गर्नेहरूलाई यहोवा “क्षमा” दिनुहुन्छ भनेर बाइबल सिकाउँछ।—भज. ८६:५.

१२. (क) यहोवा आफू क्षमाशील भएको कसरी देखाउनुहुन्छ? (ख) कसैको ‘पाप मेटिनुको’ अर्थ के हो?

१२ यहोवा आफू क्षमाशील भएको कसरी देखाउनुहुन्छ? यहोवा “प्रशस्त गरी” क्षमा दिनुहुन्छ। यसको अर्थ उहाँले पूर्णरूपमा र सदाको लागि क्षमा दिनुहुन्छ। (यशै. ५५:७) यहोवाले पूर्णरूपमा क्षमा दिनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं? प्रेषित ३:१९ मा पाइने आश्‍वासन विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌) प्रेषित पत्रुसले श्रोताहरूलाई ‘पश्‍चात्ताप गर्न अनि फर्केर परमेश्‍वरकहाँ आउन’ आग्रह गरे। साँचो पश्‍चात्ताप गर्ने व्यक्‍तिले आफ्नो गल्तीप्रति गहिरो खेद प्रकट गर्छ। साथै ऊ गल्ती नदोहोऱ्‍याउन कटिबद्ध हुन्छ। (२ कोरि. ७:१०, ११) साँचो पश्‍चात्तापले गल्ती गर्ने व्यक्‍तिलाई ‘फर्केर आउन’ अर्थात्‌ खराब मार्ग त्यागेर परमेश्‍वरलाई खुसी तुल्याउने मार्गमा हिंड्‌न उत्प्रेरित गर्छ। पत्रुसका श्रोताहरूले साँचो पश्‍चात्ताप गरेमा परिणाम कस्तो हुने थियो? पत्रुसले बताएअनुसार तिनीहरूको ‘पाप मेटिने थियो।’ त्यसकारण यहोवाले क्षमा दिएपछि गल्ती कोट्ट्याइराख्नुहुन्‍न; पूर्णरूपमा क्षमा दिनुहुन्छ।—हिब्रू १०:२२; १ यूह. १:७.

१३. “म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ” भन्‍ने शब्दहरूबाट यहोवाबारे के सिक्न सक्छौं?

१३ यहोवाले सदाको लागि क्षमा दिनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं? नयाँ करारबारे यर्मियाले गरेको भविष्यवाणी विचार गर्नुहोस्‌। अभिषिक्‍त ख्रीष्टियनहरूसित बाँधिएको त्यस करारले गर्दा फिरौतीको बलिदानमा विश्‍वास गर्नेहरूले क्षमा पाउन सम्भव भएको छ। (यर्मिया ३१:३४ पढ्‌नुहोस्‌) यहोवाले यसो भन्‍नुभयो: “म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।” त्यसैले एक चोटि क्षमा दिइसकेपछि हामीलाई दोषी ठहऱ्‍याउन वा सजाय दिन यहोवाले विगतका गल्तीहरू कोट्ट्याइरहनुहुन्‍न। बरु ती गल्तीहरूलाई सदाको लागि बिर्सनुहुन्छ।—रोमी ४:७, ८.

१४. यहोवा कत्ति क्षमाशील हुनुहुन्छ भन्‍ने कुरामा मनन गर्दा कसरी सान्त्वना पाउन सक्छौं? उदाहरण दिनुहोस्‌।

१४ यहोवा कत्ति क्षमाशील हुनुहुन्छ भन्‍ने कुरामा मनन गर्दा हामी सान्त्वना पाउन सक्छौं। जस्तै, वर्षौंअघि बहिष्कार भएकी एक बहिनीको उदाहरण विचार गर्नुहोस्‌। तिनी पछि पुनर्बहाली भइन्‌। तिनी भन्छिन्‌, “यहोवाले मलाई क्षमा दिनुभयो भनेर सोचे तापनि अनि यसबारे अरूलाई बताए तापनि यहोवा मदेखि टाढा हुनुहुन्छ जस्तो लाग्थ्यो। अनि अरूचाहिं उहाँसित मभन्दा नजिक छन्‌ र उहाँ तिनीहरूको लागि अझ वास्तविक हुनुहुन्छ जस्तो लाग्थ्यो।” तर यहोवाको क्षमाबारे बाइबलमा प्रयोग गरिएका केही उपमा पढेर त्यसमा मनन गरेपछि तिनले सान्त्वना पाइन्‌। तिनी यसो पनि भन्छिन्‌, “मैले पहिला कहिल्यै महसुस नगरेको तरिकामा यहोवाको प्रेम र कोमलता महसुस गरें।” विशेषगरि यस कुराले तिनको मन छोयो, “यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा हामीले यस्ता पापहरूको दाग जिन्दगीभरि रहिरहन्छ भनेर सोच्नु पर्दैन।”b तिनी भन्छिन्‌, “यहोवाले मलाई पूर्णरूपमा क्षमा दिन सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गरेकी थिइनँ भनेर बल्ल बुझें। आफ्नो पापको बोझ जिन्दगीभर बोक्नुपर्नेछ जस्तो लाग्थ्यो। मलाई थाह छ, यस्तो सोचाइ हटाउन समय लाग्छ। तर अहिले भने यहोवासित साँच्चै नजिक हुन सक्छु जस्तो लाग्न थालेको छ अनि मबाट गह्रौं बोझ हटेको महसुस हुँदै छ।” हामी कत्ति मायालु अनि क्षमाशील परमेश्‍वरको सेवा गर्छौं!—भज. १०३:९.

यहोवाको क्षमा अनुकरण गर्नुहोस्‌

१५. हामी कसरी यहोवाको क्षमा अनुकरण गर्न सक्छौं?

१५ साँचो पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई क्षमा दिएर हामी यहोवाको क्षमा अनुकरण गर्न सक्छौं। (लूका १७:३, ४ पढ्‌नुहोस्‌) यो कुरा मनमा राख्नुहोस्‌, क्षमा दिइसकेको गल्तीलाई यहोवा कोट्ट्याइरहनुहुन्‍न। यस अर्थमा उहाँ हाम्रो गल्ती बिर्सनुहुन्छ। अरूलाई क्षमा दिइसकेपछि गल्ती नकोट्ट्याएर हामी पनि उनीहरूको गल्ती बिर्सन सक्छौं।

१६. (क) क्षमाशील हुनुको अर्थ अरूको गल्तीप्रति आँखा चिम्लनु वा अरूलाई हामीबाट नाजायज फाइदा उठाउन दिनु हो? व्याख्या गर्नुहोस्‌। (ख) परमेश्‍वरबाट क्षमा पाउन हामीले के गर्नै पर्छ?

१६ क्षमाशील हुनुको अर्थ अरूको गल्तीप्रति आँखा चिम्लनु वा अरूलाई हामीबाट नाजायज फाइदा उठाउन दिनु होइन। यसको अर्थ मनमा रिस नपाल्नु हो। परमेश्‍वरबाट क्षमा पाउन हामीले पनि उहाँको अनुकरण गर्दै अरूलाई क्षमा दिनै पर्छ। (मत्ती ६:१४, १५) यहोवा समानुभूतिशील हुनुभएकोले “मानिसहरू माटोनै हुन्‌” भनी सम्झनुहुन्छ। (भज. १०३:१४) त्यसकारण समानुभूतिले हामीलाई पनि अरूको त्रुटिपूर्ण अवस्था बुझेर खुला मनले क्षमा दिन उत्प्रेरित गर्नुपर्दैन र?—एफि. ४:३२; कल. ३:१३.

कसैको कारणले गर्दा चित्त दुखेको छ भने उनको लागि निष्कपट प्रार्थना गर्नुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. कुनै सँगी विश्‍वासीले गर्दा चित्त दुखेको छ भने हामी के गर्न सक्छौं?

१७ हो, क्षमा दिन सधैं सजिलो हुँदैन। प्रथम शताब्दीका केही अभिषिक्‍त ख्रीष्टियनलाई समेत आफूहरूबीचको मतभेद सुल्झाउन गाह्रो भएको थियो। (फिलि. ४:२) कुनै सँगी विश्‍वासीले गर्दा चित्त दुखेको छ भने हामी के गर्न सक्छौं? अय्यूबलाई विचार गरौं। तिनका साथीहरू एलीपज, बिल्दद र सोपरले झूटो आरोप लगाउँदा तिनको साह्रै चित्त दुख्यो। (अय्यू. १०:१; १९:२) पछि यहोवाले ती आरोपकहरूलाई सच्याउनुभयो। परमेश्‍वरले तिनीहरूलाई अय्यूबकहाँ जान र आफ्नो गल्तीको लागि बलि चढाउन निर्देशन दिनुभयो। (अय्यू. ४२:७-९) तर यहोवाले अय्यूबबाट पनि केही माग गर्नुभयो। कस्तो माग? आफूलाई आरोप लगाउनेहरूका लागि प्रार्थना गर्न यहोवाले अय्यूबलाई निर्देशन दिनुभयो। तिनले यहोवाले भनेबमोजिम गरे र क्षमाशील भएकोमा उहाँले तिनलाई आशिष्‌ दिनुभयो। (अय्यूब ४२:९, १०, १२, १६, १७ पढ्‌नुहोस्‌) यसबाट हामी के सिक्न सक्छौं? कसैको कारणले गर्दा चित्त दुखेको छ भने उनको लागि निष्कपट प्रार्थना गर्दा द्वेष हटाउन मदत पाउनेछौं।

यहोवाका गुणहरूको अझ धेरै मोल गरिरहनुहोस्‌

१८, १९. हामी कसरी यहोवाका मनमोहक गुणहरूको अझ धेरै मोल गरिरहन सक्छौं?

१८ यहोवाका मनमोहक गुणहरूबारे सिक्न पाएकोमा हामी निकै आनन्दित छौं। उहाँ नजिकिन सजिलो, निष्पक्ष, उदार, व्यावहारिक, वफादार र क्षमाशील हुनुहुन्छ भनेर हामीले बुझ्यौं। तर उहाँबारे सिक्नुपर्ने कुरा अझ थुप्रै छन्‌। हामीले उहाँबारे अझ धेरै सिक्ने मौका अनन्तसम्म पाउनेछौं। (उप. ३:११) हामी प्रेषित पावलका यी शब्दहरूसित सहमत छौं: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ!” (रोमी ११:३३) यी लेखहरूमा छलफल गरिएका छवटा गुणलगायत परमेश्‍वरका अन्य गुणबारे पनि यस्तै भन्‍न सकिन्छ।

१९ त्यसैले यहोवाका मनमोहक गुणहरूको अझ धेरै मोल गरिरहौं। उहाँका गुणहरूबारे सिकेर, मनन गरेर अनि ती गुणहरू अनुकरण गरेर हामी त्यसो गर्न सक्छौं। (एफि. ५:१) परिणामस्वरूप हामी भजनरचयिताका यी शब्दहरू झन्‌झनै महसुस गर्न सक्नेछौं: “परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ।”—भज. ७३:२८.

a यसबारे मदतकारी जानकारीको लागि प्रहरीधरहरा, जनवरी १५, १९९५ को “हालै के तपाईंले कसैलाई प्रोत्साहन दिनुभएको छ?” भन्‍ने लेख र प्रहरीधरहरा, अप्रिल १, १९९५ को “प्रेम र सुकर्ममा उत्तेजित गराउनुहोस्‌—कसरी?” भन्‍ने लेख हेर्नुहोस्‌।

b जुलाई १, २००३ को प्रहरीधरहरा, पृष्ठ १७, अनुच्छेद १६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने