प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ६/१५ पृ. १२-१६
  • यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा उदार हुनुहुन्छ
  • यहोवाको उदारता अनुकरण गर्नुहोस्‌
  • यहोवा व्यावहारिक हुनुहुन्छ
  • यहोवाको व्यावहारिकता अनुकरण गर्नुहोस्‌
  • उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • व्यावहारिकता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको अनुकरण गर्नुहोस्‌ र व्यावहारिक हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवा व्यावहारिक हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ६/१५ पृ. १२-१६

यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्‌

“परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।”—भज. १४५:९.

तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

  • हामीले अझ धेरै मोल गर्नुपर्ने यहोवाका दुइटा गुण के-के हुन्‌?

  • हामी कसरी यहोवाको उदारता अनुकरण गर्न सक्छौं?

  • हामी कसरी यहोवाको व्यावहारिकता अनुकरण गर्न सक्छौं?

१, २. यहोवाका मित्रहरूसित कस्तो मौका छ?

मोनिका नाम गरेकी एक बहिनीले यसो भनिन्‌: “हाम्रो विवाह भएको ३५ वर्ष जति भयो। हामी एकअर्कालाई राम्ररी चिन्छौं। सँगै समय बिताएको यति धेरै भइसक्यो तैपनि हामी एकअर्काबारे अझै नयाँ-नयाँ कुरा थाह पाउँदै छौं!” अरू थुप्रैको वैवाहिक सम्बन्ध र मित्रताबारे पनि यस्तै भन्‍न सकिन्छ।

२ आफूले माया गर्ने व्यक्‍तिलाई अझ राम्ररी चिन्‍न पाउँदा हामीलाई रमाइलो लाग्छ। हाम्रो सबैभन्दा असल मित्र यहोवालाई अझ राम्ररी चिन्‍न पाउँदा हामीलाई झनै रमाइलो लाग्छ। तर हामी उहाँबारे सबै कुरा कहिल्यै पनि थाह पाउन सक्दैनौं। (रोमी ११:३३) हामीले यहोवाका गुणहरूबारे सिक्ने र त्यसको अझ धेरै मोल गर्ने मौका अनन्तसम्म पाउनेछौं।—उप. ३:११.

३. यस लेखमा के छलफल गर्नेछौं?

३ अघिल्लो लेखबाट हामीले यहोवा नजिकिन सजिलो अनि निष्पक्ष हुनुहुन्छ भनेर सिक्यौं। अनि ती गुणहरूको अझ धेरै मोल गर्ने मदत पायौं। आउनुहोस्‌, उहाँका अरू दुइटा मनमोहक गुणबारे छलफल गरौं: उदारता र व्यावहारिकता। यी गुणहरूबारे सिक्दा “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌” भनेर अझ राम्ररी बुझ्नेछौं।—भज. १४५:९.

यहोवा उदार हुनुहुन्छ

४. उदार हुनुको अर्थ के हो?

४ उदार हुनुको अर्थ के हो? प्रेषित २०:३५ मा येशूले भन्‍नुभएका शब्दहरूमा यसको जवाफ पाउँछौं: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” यस सरल भनाइबाट येशूले उदार हुनुको वास्तविक अर्थ प्रस्ट्याउनुभयो। उदार व्यक्‍तिले अरूलाई मदत गर्न आफ्नो समय, शक्‍ति र स्रोतसाधन झिजो नमानी खर्च गर्छ। कुनै व्यक्‍तिको उदारता उसले दिएको उपहार कति ठूलो छ त्यसको आधारमा होइन, उसको मनसायको आधारमा नापिन्छ। (२ कोरिन्थी ९:७ पढ्‌नुहोस्‌) हाम्रा “आनन्दित परमेश्‍वर” यहोवा जत्तिको उदार अरू कोही छैन।—१ तिमो. १:११.

५. यहोवा कसरी उदारता देखाउनुहुन्छ?

५ यहोवा कसरी उदारता देखाउनुहुन्छ? उहाँ सबै मानिसको आवश्‍यकता पूरा गर्नुहुन्छ, उहाँको उपासना नगर्नेहरूको समेत। हो, “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ।” “उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।” (मत्ती ५:४५) त्यसैकारण त प्रेषित पावलले गैर-ख्रीष्टियनहरूलाई यसो भन्‍न सके: “भलो हुने काम गरेर . . . [यहोवाले] तपाईंहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुरा अनि आनन्दले तपाईंहरूको मन भरिदिनुभयो।” (प्रेषि. १४:१७) स्पष्ट छ, यहोवा सबै मानिसप्रति उदार हुनुहुन्छ।—लूका ६:३५.

६, ७. (क) विशेषगरि कसको आवश्‍यकता पूरा गर्न यहोवा खुसी हुनुहुन्छ? (ख) परमेश्‍वर आफ्ना वफादार उपासकहरूको आवश्‍यकता कसरी पूरा गर्नुहुन्छ, उदाहरण दिनुहोस्‌।

६ विशेषगरि आफ्ना वफादार उपासकहरूको आवश्‍यकता पूरा गर्न यहोवा खुसी हुनुहुन्छ। राजा दाऊदले यसो भने: “जवान थिएँ, र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भज. ३७:२५) थुप्रै वफादार ख्रीष्टियनले यो कुरा अनुभव गरेका छन्‌। एउटा अनुभव विचार गरौं।

७ पूर्ण-समय सेवामा लागेकी न्यान्सीले केही वर्षअघि निकै कठिन परिस्थिति सामना गरिन्‌। तिनी रेस्टुराँमा वेटरको काम गर्थिन्‌। तिनी भन्छिन्‌: “कोठा भाडा तिर्न मलाई ६६ डलर (करिब ५,७०० रुपैयाँ) चाहिएको थियो; त्यो पनि भोलिपल्टै। कहाँबाट पैसा जुटाउने, केही सोच्नै सकिरहेकी थिइनँ। यसबारे प्रार्थना गरें अनि काममा गएँ। त्यो साँझ धेरै टिप्स पाउने आशा पनि गरेकी थिइनँ किनभने त्यो दिन ग्राहकहरू त्यत्ति आउने दिन थिएन। तर अचम्मको कुरा, रेस्टुराँमा थुप्रै ग्राहक आए। काम सकेपछि टिप्स गन्‍न थालें, ठ्याक्कै ६६ डलर भयो।” आफूलाई चाहिएकै रकम जुटाइदिनुहुने यहोवा नै हुनुहुन्छ भन्‍ने कुरामा न्यान्सी विश्‍वस्त छिन्‌।—मत्ती ६:३३.

८. यहोवाले उदार भएर दिनुभएको सबैभन्दा अनमोल उपहार के हो?

८ यहोवाले उदार भएर सबैका लागि एउटा अनमोल उपहार दिनुभएको छ। त्यो के हो? आफ्नो छोराको फिरौतीको बलिदान। येशूले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) यस पदमा प्रयोग गरिएको “संसार”-ले मानिसजातिलाई बुझाउँछ। यहोवाले उदार भएर दिनुभएको यो अनमोल उपहार इच्छुक सबैले पाउन सक्छन्‌। येशूमा विश्‍वास गर्ने जति सबैले अनन्त जीवन पाउनेछन्‌! (यूह. १०:१०) यहोवा उदार हुनुहुन्छ भन्‍ने कुराको योभन्दा ठूलो प्रमाण अरू के होला र?

यहोवाको उदारता अनुकरण गर्नुहोस्‌

इस्राएलीहरूले यहोवाको उदारता अनुकरण गर्न प्रोत्साहन पाए (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. हामी कसरी यहोवाको उदारता अनुकरण गर्न सक्छौं?

९ हामी कसरी यहोवाको उदारता अनुकरण गर्न सक्छौं? यहोवा “हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित” दिनुहुन्छ; त्यसैले अरूको आनन्दको लागि हामी पनि “बाँडचुँड गर्न तत्पर” हुनुपर्छ। (१ तिमो. ६:१७-१९) आफ्ना साथीभाइ तथा परिवारलाई उपहार दिन अनि खाँचोमा परेकाहरूलाई मदत दिन हामी आफ्नो स्रोतसाधन खुसीसाथ प्रयोग गर्छौं। (व्यवस्था १५:७ पढ्‌नुहोस्‌) उदार हुनुपर्ने कुरा नबिर्सन हामी के गर्न सक्छौं? केही ख्रीष्टियनले यस्तो व्यावहारिक तरिका अपनाएका छन्‌: कुनै भाइबहिनीबाट उपहार पाउँदा तिनीहरू पनि अरू कसैलाई उपहार दिने मौका खोज्छन्‌। उदारता देखाउने सम्बन्धमा आज थुप्रै भाइबहिनीले असल उदाहरण बसालेका छन्‌।

१०. उदार हुने एउटा राम्रो तरिका के हो?

१० उदार हुने एउटा राम्रो तरिका आफ्नो समय र शक्‍ति अरूलाई मदत अनि प्रोत्साहन दिन प्रयोग गर्नु हो। (गला. ६:१०) यससम्बन्धमा हामी कस्तो छौं भनी जाँच्न आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के म अरूको कुरा सुन्‍न इच्छुक भएको देखाउँछु? कसैले कुनै मदत माग्दा वा केही कुरा ल्याइदिन आग्रह गर्दा के म मदत गर्न तयार हुन्छु? मैले परिवारको सदस्य वा सँगी विश्‍वासीको प्रशंसा अन्तिम पटक कहिले गरेको थिएँ?’ ‘दिने गऱ्‍यौं’ भने यहोवा र आफ्ना साथीहरूसित अझ घनिष्ठ हुनेछौं।—लूका ६:३८; हितो. १९:१७.

११. यहोवाप्रति उदार हुने केही तरिका के-के हुन्‌?

११ हामी यहोवाप्रति पनि उदार हुन सक्छौं। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ, “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌।” (हितो. ३:९) ती “धन-सम्पत्ति”-मा हाम्रो समय, शक्‍ति र स्रोतसाधन पर्छ, जुन हामी यहोवाको सेवामा खुसीसाथ प्रयोग गर्न सक्छौं। साना केटाकेटीले समेत यहोवाप्रति उदार हुने तरिका सिक्न सक्छन्‌। जेसन नाम गरेका बुबा भन्छन्‌, “राज्यभवनमा अनुदान खसाल्दा छोराछोरीलाई पनि अनुदान खसाल्न दिन्छौं। अनुदान खसाल्न तिनीहरूलाई रमाइलो लाग्छ किनभने तिनीहरूले ‘यहोवालाई दिइरहेका हुन्छन्‌।’” यहोवालाई दिंदा प्राप्त हुने आनन्द सानै उमेरदेखि अनुभव गरेका केटाकेटीले ठूलो भएपछि पनि उहाँप्रति उदारता देखाइरहनेछन्‌।—हितो. २२:६.

यहोवा व्यावहारिक हुनुहुन्छ

१२. व्यावहारिक हुनुको अर्थ के हो?

१२ यहोवाको अर्को मनमोहक गुण व्यावहारिकता हो। व्यावहारिक हुनुको अर्थ के हो? (ती. ३:१, २) ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं व्यावहारिक व्यक्‍तिले सधैं एक-एक नियम मान्‍नै पर्छ भनेर जिद्दी गर्दैन। ऊ कडा अनि रूखो स्वभावको पनि हुँदैन। उसले मानिसहरूको परिस्थिति विचार गरेर दयालु व्यवहार गर्न सक्दो कोसिस गर्छ। ऊ अरूको कुरा सुन्‍न इच्छुक हुन्छ अनि उचित छ भने तिनीहरूले भनेअनुसारै गर्न तयार हुन्छ।

१३, १४. (क) यहोवा कसरी व्यावहारिकता देखाउनुहुन्छ? (ख) परमेश्‍वरले लूतसित गर्नुभएको व्यवहारबाट व्यावहारिकताबारे के सिक्न सक्छौं?

१३ यहोवा कसरी व्यावहारिकता देखाउनुहुन्छ? उहाँ आफ्ना सेवकहरूको भावना बुझ्नुहुन्छ र तिनीहरूको मागलाई अक्सर पूरा गर्नुहुन्छ। जस्तै: लूतसित उहाँले कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्‌। यहोवाले सदोम र गमोरा सहर नाश गर्ने निर्णय गरेपछि लूतलाई पहाडहरूतिर भाग्न स्पष्ट निर्देशन दिनुभयो। तर केही कारणले गर्दा लूतले अर्कै ठाउँमा भाग्ने अनुमति मागे। एकछिन सोच्नुहोस्‌ त, वास्तवमा लूतले यहोवालाई उहाँको निर्देशन बदल्न आग्रह गरिरहेका थिए!—उत्पत्ति १९:१७-२० पढ्‌नुहोस्‌।

१४ यो विवरण पढ्‌दा कसै-कसैलाई लूतको विश्‍वास कमजोर भएको अथवा तिनी अनाज्ञाकारी भएको जस्तो लाग्न सक्छ। हुन पनि यहोवाले लूतलाई तिनी जहाँसुकै भए पनि बचाउन सक्नुहुन्थ्यो; त्यसैले तिनी डराउनुपर्दैनथ्यो। तैपनि तिनी डराए। यहोवाले तिनको भावना बुझ्नुभयो। लूत जान चाहेको सहर आफूले नाश गर्ने निर्णय गरेको सहर भए पनि उहाँले तिनलाई त्यहीं भाग्न दिनुभयो। (उत्पत्ति १९:२१, २२ पढ्‌नुहोस्‌) स्पष्ट छ, यहोवा न कडा हुनुहुन्छ न त रूखो। उहाँ सधैं व्यावहारिक हुनुहुन्छ।

१५, १६. मोशाको व्यवस्थाले यहोवा व्यावहारिक हुनुहुन्छ भनेर कसरी देखाउँथ्यो? (शीर्षकसँगैको चित्र हेर्नुहोस्‌)

१५ मोशाको व्यवस्थामा पनि यहोवाको व्यावहारिकता झल्किन्छ। उदाहरणको लागि, कुनै गरिब इस्राएलीले बलिको रूपमा भेडा वा बाख्राको पाठी चढाउन नसकेमा त्यसको सट्टा दुइटा ढुकुर वा दुइटा परेवा चढाउन सक्थ्यो। तर उसको त्यति औकात पनि थिएन भने नि? त्यस्तो अवस्थामा उसले पीठो चढाउन सक्थ्यो। तर यो महत्त्वपूर्ण तथ्य याद गर्नुहोस्‌: जस्तो पायो त्यस्तै पीठो चल्दैनथ्यो, विशेष पाहुनाहरूका लागि प्रयोग गरिने “मसिनो पीठो” हुनुपर्थ्यो। (उत्प. १८:६) यस व्यवस्थाबाट यहोवा व्यावहारिक हुनुहुन्छ भनेर कसरी देखिन्छ?—लेवी ५:७, ११ पढ्‌नुहोस्‌।

१६ कल्पना गर्नुहोस्‌, तपाईं असाध्यै गरिब इस्राएली हुनुहुन्छ। पीठो चढाउन बासस्थानमा पुग्दा धनी इस्राएलीहरूले बलिको लागि पशु ल्याइरहेको देख्नुहुन्छ। अरूको तुलनामा आफ्नो भेटी नगण्य देखिएकोले तपाईंलाई लाज वा अप्ठ्यारो लाग्छ होला। तर तपाईं यहोवाको नजरमा आफ्नो भेटी अनमोल छ भनेर सम्झनुहुन्छ। किन? यहोवाले उच्च गुणस्तरको पीठोको माग गर्नुभएको थियो। मानौं, यहोवाले तपाईंलाई यसो भन्दै हुनुहुन्थ्यो: ‘म बुझ्छु, तिमी अरूले जस्तो चढाउन सक्दैनौ। तर तिमी मलाई जे दिंदै छौ, आफूसित भएको सबैभन्दा असल कुरा दिंदै छौ।’ यहोवा आफ्ना सेवकहरूको सीमितता र परिस्थिति विचार गरेर व्यावहारिकता देखाउनुहुन्छ भन्‍ने कुरा यस उदाहरणबाट स्पष्ट हुन्छ।—भज. १०३:१४.

१७. यहोवा कस्तो सेवा स्वीकार्नुहुन्छ?

१७ यहोवा व्यावहारिक हुनुहुन्छ र उहाँ हाम्रो तनमनको सेवा स्वीकार्नुहुन्छ भनेर थाह पाउनु सान्त्वनादायी छ। (कल. ३:२३) इटालीकी एक वृद्ध बहिनी कोन्सटन्सले यसो भनिन्‌: “मलाई सबैभन्दा मन पर्ने काम आफ्नो सृष्टिकर्ताबारे अरूसित कुरा गर्नु हो। त्यसैकारण म सधैं प्रचार जान्छु अनि बाइबल अध्ययन सञ्चालन गर्छु। स्वास्थ्यको कारण चाहेजति गर्न नसक्दा कहिलेकाहीं दुःख लाग्छ। तर मलाई थाह छ, यहोवा मेरो सीमितता बुझ्नुहुन्छ, मलाई माया गर्नुहुन्छ अनि मैले जति गर्न सकेकी छु, त्यसको मोल गर्नुहुन्छ।”

यहोवाको व्यावहारिकता अनुकरण गर्नुहोस्‌

१८. आमाबाबुले यहोवाको उदाहरण अनुकरण गर्न सक्ने एउटा तरिका के हो?

१८ हामी कसरी यहोवाको व्यावहारिकता अनुकरण गर्न सक्छौं? यहोवाले लूतसित कस्तो व्यवहार गर्नुभयो, फेरि सम्झनुहोस्‌। लूतलाई कहाँ पठाउने भनेर निर्देशन दिने अधिकार यहोवासित थियो। तैपनि लूतले आफ्नो मनको कुरा बताउँदा यहोवाले ध्यान दिएर सुन्‍नुभयो। उहाँले तिनको आग्रह स्वीकार्नुभयो। यदि तपाईं आमाबाबु हुनुहुन्छ भने के तपाईं यहोवाको अनुकरण गर्न सक्नुहुन्छ? के तपाईं छोराछोरीको आग्रह सुनेर उचित भएमा उनीहरूको माग पूरा गर्न सक्नुहुन्छ? सेप्टेम्बर १, २००७ को प्रहरीधरहरा-ले बताएअनुसार आमाबाबुले घरको नियम बनाउँदा छोराछोरीलाई पनि छलफलमा सँगै राख्न सक्छन्‌। जस्तै, आमाबाबुले छोराछोरी घरमा आइपुग्नुपर्ने निश्‍चित समय तोक्छन्‌। त्यसो गर्ने अधिकार आमाबाबुसित भए तापनि छोराछोरीलाई कस्तो लाग्छ भनेर तिनीहरूको विचार बुझ्न सक्छन्‌। छोराछोरी आइपुग्नुपर्ने समयमा केही छाँटकाँट गर्दा बाइबल सिद्धान्तविपरीत हुँदैन भने कुनै-कुनै परिस्थितिमा आमाबाबुले छाँटकाँट गर्ने निर्णय गर्न सक्छन्‌। घरको नियम बनाउनुअघि छोराछोरीको विचार बुझ्दा तिनीहरूले ती नियम राम्ररी बुझ्नेछन्‌ र ती पालन गर्न अझै इच्छुक हुनेछन्‌।

१९. एल्डरहरूले यहोवाको व्यावहारिकता अनुकरण गर्न कसरी सक्दो कोसिस गर्न सक्छन्‌?

१९ मण्डलीका भाइबहिनीको परिस्थिति बुझेर एल्डरहरूले यहोवाको व्यावहारिकता अनुकरण गर्न सक्दो कोसिस गर्छन्‌। याद गर्नुहोस्‌, यहोवाले गरिब इस्राएलीहरूले चढाएको बलिदानको समेत मोल गर्नुभयो। त्यसैगरि केही भाइबहिनी आफ्नो स्वास्थ्य वा ढल्कँदो उमेरले गर्दा क्षेत्र सेवामा धेरै समय बिताउन सक्दैनन्‌। आफ्नो सीमितताले गर्दा यी भाइबहिनी निराश भएमा एल्डरहरूले के गर्न सक्छन्‌? यहोवाको सेवामा सक्दो गर्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ भनेर तिनीहरूलाई दयालुपूर्वक सम्झाउन सक्छन्‌।—मर्कू. १२:४१-४४.

२०. व्यावहारिक हुनुको अर्थ परमेश्‍वरको सेवामा सक्नेजति पनि नगरी बस्नु हो? व्याख्या गर्नुहोस्‌।

२० व्यावहारिक हुनुको अर्थ ‘आफूमाथि दया गर्दै’ परमेश्‍वरको सेवामा सक्नेजति पनि नगरी बस्नु होइन। (मत्ती १६:२२, फुटनोट) सक्नेजति पनि नगरेर त्यसलाई हामी व्यावहारिकताको नाम दिन चाहँदैनौं। बरु हामी सबैले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई समर्थन गर्न “भरमग्दुर कोसिस” गर्नुपर्छ। (लूका १३:२४) हामी दुइटा कुरामा सन्तुलित हुनै पर्छ। एकातर्फ यहोवाको सेवामा भरमग्दुर कोसिस गर्छौं भने अर्कोतर्फ यो कुरा पनि सम्झन्छौं, यहोवा हाम्रो क्षमताभन्दा बढी कहिल्यै माग गर्नुहुन्‍न। सक्दो गऱ्‍यौं भने उहाँ खुसी हुनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौं। यस्तो व्यावहारिक मालिकको सेवा गर्न पाएकोमा के हामी खुसी छैनौं र? अर्को लेखमा यहोवाका अरू दुई मनमोहक गुणबारे छलफल गर्नेछौं।—भज. ७३:२८.

“आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌।”—हितो. ३:९ (अनुच्छेद ११ हेर्नुहोस्‌)

“चाहे तिमीहरू जेसुकै गर, . . . तनमनले गर।”—कल. ३:२३ (अनुच्छेद १७ हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने