“घोर अन्धकारमा” सान्त्वना पाएँ
बार्बरा स्वाइजरको वृत्तान्तमा आधारित
कहिलेकाहीं सबै कुरा सुचारु रूपले चल्दा मेरो जीवन आनन्ददायी “हरियो खर्क” जस्तो भएको छ। तर मलाई “घोर अन्धकारमा” हिंड्नु पर्दा कस्तो हुन्छ, त्यो पनि थाह छ। तथापि, यहोवा हाम्रो गोठालो हुनुभएकोले जस्तोसुकै परिस्थिति आइपरे तापनि सामना गर्नसक्छौं भनी म विश्वस्त छु।—भजन २३:१-४.
सन् १९९३ मा झन्डै ७० वर्ष पुग्न लागेका हामी बूढाबूढी दुवै नयाँ ठाउँमा बसाइँ सर्न तम्सियौं। हामीले बाइबल शिक्षकहरूको धेरै खाँचो भएको ठाउँ इक्वेडरमा सेवा गर्ने निर्णय गऱ्यौं। अमेरिकी नागरिक भए तापनि हामी दुवैलाई स्पेनी भाषा आउँथ्यो र कुनै आर्थिक दायित्वहरू थिएनन्। इक्वेडरमा “जलाहारी[को]” काम फलदायी छ भन्ने थाह भएकोले त्यस उत्पादनशील पानीमै जाल फिजाउने विचार गऱ्यौं।—मत्ती ४:१९.
वाच टावर सोसाइटीको इक्वेडर शाखा कार्यालयमा केही दिन रमाइलोसित बिताएपछि हामी विशेष खाँचो भएको एउटा शहर, माखाला जान उत्सुक हुँदै गुयाक्युल बस स्टेसन गयौं। तथापि, बस पर्खंदा पर्खंदै मेरो श्रीमान् फ्रेडलाई अचानक बिसञ्चो भयो, त्यसैले हामीले अलि पछि जाने निर्णय गऱ्यौं। शाखा कार्यालयमा फर्कन प्रबन्धहरू मिलाउन म फोन गर्न गएँ र फ्रेड चाहिं हाम्रो सामानहरू लिएर बसिरहनु भएको थियो। एकछिन पछि म त्यहाँ फर्किंदा मेरो श्रीमान्को अत्तोपत्तो थिएन!
मैले त्यसपछि फ्रेडलाई कहिल्यै जीवित देखिनँ। म एकछिन जाउञ्जेल त्यहीं बस स्टेसनमै उहाँलाई निकै ठूलो हृदयघात भएछ। अत्तालिंदै उहाँलाई खोजिराख्दा बस स्टेसनको अधिकारी मकहाँ आएर फ्रेडलाई अस्पताल लगेको कुरा बताए। अस्पताल पुग्दा फ्रेडको मृत्यु भइसकेको थाह पाएँ।
अचानक विरानो मुलुकमा एक्लै भएँ, न घर थियो नता आड लिन पति नै थियो। म “आड लिन” भन्छु किनभने फ्रेडले नै सधैं नेतृत्व लिनुहुन्थ्यो र हामी दुवैको निम्ति कामकुराहरू मिलाउनुहुन्थ्यो। ममा त्यति आत्मविश्वास थिएन र उहाँले गर्नुभएको कामकुरामै म खुसी थिएँ। तर अहिले आफैले निर्णयहरू गर्नुका साथै आफ्नो जीवनलाई व्यवस्थित गर्नुपऱ्यो र त्यसमाथि म अझै शोकित थिएँ। मैले आफू बरबाद भएको महसुस गरें, त्यतिबेला त “घोर अन्धकारमा” परेझैं भयो। के मैले कहिल्यै एक्लै यी सबै कुराहरूको सामना गर्न सिक्नेछु?
सच्चाइ सिक्दै हाम्रो जीवनलाई सरल बनाउँदै
फ्रेड र मेरो पहिलो चोटि भेट हुँदा हामी दुवैको विवाह भएर पनि पारपाचुके भइसकेको थियो। असल मित्रता घनिष्ठ सम्बन्धमा परिणत भयो र हामीले विवाह गर्ने निर्णय गऱ्यौं। सियाटल, वशिङटन, सं.रा.अ.-मा हामी चर्च विरलै जान्थ्यौं। हाम्रो जीवनमा धर्म त्यति महत्त्वपूर्ण थिएन तर त्यो सबै हाम्रो घरमा जवान हँसिली अग्रगामी (पूर्ण-समय प्रचारक) जेमी आएपछि परिवर्तन भयो। तिनी यति मजाकी थिइन् कि मैले बाइबल अध्ययन गर्ने तिनको प्रस्ताव स्वीकारें।
फ्रेडले पनि चासो देखाउनुभएएको हुँदा जेमीको आमाबुबाले हामीसित अध्ययन गर्न थाले र एक वर्षपछि, १९६८ मा हामी दुवैले बप्तिस्मा लियौं। सुरुदेखि नै हामी आफ्नो जीवनमा परमेश्वरको राज्यलाई प्राथमिकता दिन इच्छुक थियौं। (मत्ती ६:३३) हामीसित अध्ययन गरेको दम्पती लोर्न र रुडी नस्टले पक्कै पनि यस सन्दर्भमा असल नमुना बसाले। हाम्रो बप्तिस्माको केही समयपछि नै तिनीहरू आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने हेतुले संयुक्त राज्यको पूर्वी तटको एउटा शहरमा बसाइँ सरे। यसले गर्दा आवश्यकाता बढी भएको ठाउँमा सेवा गर्ने इच्छा हामीमा पनि पलायो।
हामीले बसाइँ सर्ने विचार गर्नुमा अर्को एउटा कारण पनि थियो। फ्रेड एउटा ठूलो डिपार्टमेन्ट स्टोरका मेनेजर हुनुहुन्थ्यो। उहाँको काम असाध्यै समय खाने खालको थियो र अर्कै ठाउँमा सऱ्यो भने जीवनलाई सरल बनाउनसक्नुका साथै सच्चाइ अनि हाम्रो दुई बच्चालाई बढी ध्यान दिनसक्ने उहाँले महसुस गर्नुभयो। मेरो पहिलो विवाहबाट जन्मेकी एउटी छोरी पनि छ जसको अहिले विवाह भइसक्यो। तिनी र तिनको पति दुवैले पनि सत्य स्वीकारेका थिए। अतः सियाटल छोड्न त्यति सजिलो भएन। यद्यपि, तिनीहरूले हाम्रो उद्देश्य बुझे र हाम्रो निर्णयको समर्थन गरे।
अतः १९७३ मा हामी स्पेन गयौं जहाँ त्यतिबेला सुसमाचारका प्रचारकहरू र अगुवा लिने भाइहरूको अत्यन्तै दरकार परेको थियो। सरल जीवन बितायौं भने हाम्रो बचतबाटै स्पेनमा खर्च टर्ने फ्रेडले हिसाब निकाल्नुभयो र यसरी हामीले आफ्नो अधिकांश समय सेवकाईमा लगाउन सक्थ्यौं। अनि हामीले त्यसै गऱ्यौं पनि। केही समय नबित्दै फ्रेडले प्राचीनको हैसियतमा सेवा गर्न थाल्नुभयो र १९८३ देखि त हामी दुवैले अग्रगामी गर्न थाल्यौं।
बीस वर्षसम्म हामीले स्पेनमै सेवा गऱ्यौं। त्यसै समयको दौडान हामीले स्पेनी भाषा पनि सिक्यौं र थुप्रै राम्रा अनुभवहरू बटुल्यौं। फ्रेड र म अक्सर सँगै प्रचारमा जान्थ्यौं र दम्पतीहरूसित अध्ययन गर्थ्यौं जसमध्ये कोही कोही अहिले बप्तिस्माप्राप्त साक्षीहरू भएका छन्। स्पेनमा केही समय बिताएपछि हाम्रा दुई छोराछोरी हाइडी र माइकले पनि अग्रगामी सेवा गर्न थाले। भौतिक तवरमा हामी सम्पन्न नभए तापनि त्यो मेरो जीवनको सबैभन्दा आनन्दमय क्षण थियो। हाम्रो जीवन सरल थियो। परिवारको रूपमा हामीले सँगै निकै समय बिताउँथ्यौं र बाइबल विवरणमा विधवाको तेलजस्तै होसियारीपूर्वक बजेट मिलाउँदा कहिल्यै अपुग भएन।—१ राजा १७:१४-१६.
फेरि एकचोटि अर्कै देशमा गइयो
सन् १९९२ मा हामीले फेरि एकचोटि बसाइँ सर्ने विचार गर्न थाल्यौं। हाम्रा बच्चाहरू हुर्किसकेका थिए र स्पेनमा पहिलाजस्तो त्यति आवश्यकता पनि थिएन। इक्वेडरमा सेवा गरेको एक मिसनरीलाई हामीले चिनेका थियौं र तिनले हामीलाई त्यस देशमा अग्रगामी र प्राचीनहरूको अत्यन्तै आवश्यकता भएको बताए। नयाँ देशमा गएर सेवा गर्न के बूढो भइसक्यौं? हामीले त्यस्तो सोचेनौं किनभने हामी दुवै तन्दुरुस्त नै थियौं र प्रचारकार्यमा रमाउँथ्यौं। त्यसैले हामीले इक्वेडर शाखा कार्यालयसित सम्पर्क राख्यौं र योजनाहरू बनाउन थाल्यौं। वास्तवमा उत्तरी स्पेनमा सेवा गरिरहेकी मेरी छोरी हाइडी र तिनका पति जुवान म्यानुयल पनि हामीसँगै जान उत्सुक थिए।
बल्ल फेब्रुअरी १९९३ मा हामीले आफ्ना कामहरू सबै टाकटुक मिलायौं र नयाँ देशमा पुग्यौं। बाइबल अध्ययन गर्न इच्छुक थुप्रै मानिसहरू भएको इक्वेडरमा अग्रगामी गर्ने विचारले हामी रोमाञ्चित थियौं। शाखा कार्यालयमा हार्दिक स्वागतपछि विशेष खाँचो भएको केही शहरहरूमा जाने योजना बनायौं। तर त्यति नै बेला मेरो श्रीमान्को मृत्यु भयो।
“घोर अन्धकारमा”
पहिला त मेरो होसहवास नै गुम भयो तर पछि होस खुल्दा पत्यार गर्नै सकिनँ। फ्रेड पहिले त्यस्तो बिरामी हुनुभएको मलाई यादै छैन। अब म के गर्ने? कहाँ जाने? मेरो दिमागले केही कामै गरेन।
मेरो जीवनको सबैभन्दा दुःखद् घडीमा मैले अनुकम्पापूर्ण आध्यात्मिक भाइबहिनीहरूको समर्थन पाएँ जसमध्ये कत्तिले त मलाई चिनेका समेत थिएनन्। शाखा कार्यालयका भाइहरू अत्यन्तै दयालु थिए र अन्त्येष्टिका प्रबन्धहरूदेखि लिएर अन्य सबै कुराहरू मिलाए। भाइ तथा बहिनी बोनोले मप्रति देखाएको प्रेम म विशेषगरि सम्झन्छु। उहाँहरूले मलाई कहिल्यै एक्लै छोड्नुभएन र म एक्लो नहोस् भनेर एडिथ बोनो त केही रात मसितै सुत्नु समेत भयो। वास्तवमा, पूरा बेथेल परिवारले मलाई यति प्रेम र माया देखायो कि मलाई मायाको न्यानो सिरक ओडाए जस्तो लाग्यो।
दुई चार दिनभित्र मेरा तीनै छोराछोरी पनि आए र तिनीहरूले मलाई दिएको समर्थनको लागि सधैं आभारी हुनेछु। दिउँसोभरि वरिपरि मायालु मानिसहरू भए तापनि लामो रात काट्न एकदमै गाह्रो हुन्थ्यो। त्यतिबेला यहोवाले मलाई सँभाल्नुभयो। अत्यन्तै एक्लो महसुस गर्दा म सधैं उहाँलाई प्रार्थना गर्थें र उहाँले मलाई सान्त्वना दिनुभयो।
अन्त्येष्टिपछि अब के गर्ने भन्ने प्रश्न खडा भयो। म इक्वेडरमै बस्न चाहन्थें किनभने हामी दुवैको निर्णय त्यही थियो तर एक्लै सेवा गर्ने ममा आँट थिएन। अलिक पछि मात्र इक्वेडर जाने विचार गरिरहेका हाइडी र जुवान म्यानुयल आफ्नो योजनामा छाँटकाँट गरेर तुरुन्तै आइहाले र हामी तीनै जनाले सँगसँगै सेवा गर्नसक्यौं।
एक महिनाभित्रै शाखा कार्यालयले सुझाउ दिएको एउटा शहर लोहामा हामीले घर पायौं। नयाँ घरमा चीजबीजहरू थन्कोमन्को लाउन र व्यवस्थित हुन तथा नयाँ देशमा प्रचारमा जाँदा तुरुन्तै व्यस्त हुन थालें। केही हदसम्म यी सबै क्रियाकलापले मेरो शोक अलि कम गर्न मदत गऱ्यो। यसबाहेक, फ्रेडसित असाध्यै मिल्ने मेरी छोरी हाइडीलाई दुःख पोखाउँदै रुन्थें र यसरी आफ्नो भावनाहरू पोखाउँदा अलि हल्का महसुस गर्थें।
तथापि, पूर्णतया व्यवस्थित भएपछि आफूले भोगेको क्षति झन् झनै खड्किन थाल्यो। फ्रेड र मैले बिताएको आनन्दमय क्षणहरूबारे त सोच्नै नसक्ने भएँ किनभने सोच्नेबित्तिकै असाध्यै निराश हुन्थें। पहिलेको कुरालाई जबरजस्ती भुल्ने कोसिस गर्दै दिन काट्न थालें र भविष्यबारे पनि केही सोच्दिनथें। तर हरेक दिन विशेषगरि प्रचारकार्यमा केही अर्थपूर्ण कुराहरू गर्ने प्रयास भने गरें। यही कुराले नै मलाई सँभाली राख्यो।
बाइबलबारे प्रचार गर्ने तथा सिकाउने कार्य मलाई पहिलादेखि मन पर्थ्यो र यस्तो सुन्ने मानिसहरू भएको इक्वेडरमा यस कार्य साँच्चै आनन्दमय छ। घर-घरको प्रचार कार्यमा पहिलो चोटि जाँदा मैले एक जवान विवाहित महिला भेटेकी थिएँ। तिनले यसो भनिन्: “म बाइबलबारे सिक्न चाहन्छु!” इक्वेडरमा मेरो प्रथम बाइबल अध्ययन तिनी नै थिइन्। त्यसप्रकारका अनुभवहरूमा मैले बढी ध्यानकेन्द्रित गर्न थालें र आफ्नै शोकबारे धेरै विचार गरी नराख्न मदत पाएँ। मेरो क्षेत्र सेवकाईमा यहोवाले प्रचुर मात्रामा आशिष् दिनुभयो। सुसमाचार प्रचार गर्न जुनै बेला बाहिर गए पनि राम्रा राम्रा अनुभवहरू बटुल्थें।
निस्सन्देह, अग्रगामीको रूपमा सेवा गरिरहनु एउटा आशिष् नै थियो। बाँच्नको लागि एउटा कारण पाएँ र हरेक दिन कुनै सकारात्मक कुराको आशा गर्नसक्थें। छोटो समयमै मैले छवटा बाइबल अध्ययन सुरु गरें।
सेवकाईबाट पाएको सन्तुष्टिको उदाहरणस्वरूप म एक अधबैंसे आइमाईबारे बताउन चाहन्छु। तिनले हालै बाइबल शिक्षाहरू मूल्यांकन गर्न थालेकी छिन्। मैले तिनलाई शास्त्रपद देखाउँदा पहिला त्यस पदको अर्थ विस्तृत रूपमा बुझ्छिन् अनि त्यस सल्लाह व्यवहारमा उतार्न इच्छुक हुन्छिन्। पहिला तिनले अनैतिक जीवनशैली बिताए तापनि हालै एक पुरुषले विवाह नगरी सँगै बस्ने प्रस्ताव राख्दा तिनले दृढतापूर्वक इन्कार गरिन्। तिनले पहिला कहिल्यै अनुभव नगरेको मनोशान्ति पाएकीले धर्मशास्त्रीय स्तरअनुरूप जीवन बिताउन तिनी औधी खुसी छिन् भनेर मलाई भनिन्। त्यस्ता अध्ययनहरू देखेर म खुसी हुन्छु र आफ्नो केही मोल भएको महसुस गर्छु।
मेरो आनन्द कायम राख्दै
चेला बनाउने कार्य गर्न पाउँदा हर्षित भए तापनि म तुरुन्तै शोकबाट मुक्त भइनँ। मेरो सन्दर्भमा दुःख आउने जाने गर्छ। मेरा छोरीज्वाइँले मलाई बहुमूल्य समर्थन दिएका छन् तर कहिलेकाहीं तिनीहरू दुई जना सँगै रमाइला क्षणहरू बिताइरहेका देख्दा म असाध्यै एक्लै महसुस गर्छु। हामी अत्यन्तै नजिक भएकोले मात्र मैले मेरो पतिको अभाव महसुस गरेकी होइन तर म अन्य थुप्रै कुराको लागि उहाँमै भर पर्थें। कहिलेकाहीं उहाँसित कुरा गर्न नपाउँदा, उहाँको सल्लाह लिन नपाउँदा वा क्षेत्र सेवकाईको अनुभव बाँड्न नपाउँदा अत्यन्तै दुःखी र शून्य महसुस गर्छु। यो सामना गर्न पक्कै पनि सजिलो छैन।
त्यस्ता अवसरहरूमा मलाई कुन कुराले मदत गर्छ? म यहोवालाई इमानदारीपूर्वक प्रार्थना गर्छु र अरू नै केही सकारात्मक कुराहरूबारे सोच्न मदत माग्छु। (फिलिप्पी ४:६-८) अनि उहाँले मलाई साँच्चै मदत दिनुहुन्छ। अहिले केही वर्षपछि फ्रेडसित बिताएका आनन्दमय क्षणहरूबारे अलिअलि कुरा गर्नसक्ने भएकी छु। अतः स्पष्टतया म बिस्तारै बिस्तारै बलियो हुँदैछु। भजनरचयिता दाऊदले भनेझैं म पनि “घोर अन्धकारमा” हिंडेको थिएँ जस्तो लाग्छ। तर यहोवाले मलाई सान्त्वना दिनुभयो र विश्वासी भाइहरूले मलाई दयापूर्वक सही निर्देशन दिए।
मैले सिकेका पाठहरू
फ्रेडले सधैं अगुवाइ लिनुहुने भएकोले म एक्लैले कामकुराहरू गर्नसक्छु जस्तो कहिल्यै लागेको थिएन। तर यहोवा, मेरो परिवार र भाइहरूको मदतले एक्लै कामकुराहरू गर्न सफल भएकी छु। केही कुराहरूमा म पहिलाभन्दा बलियो छु। पहिलाभन्दा धेरै यहोवालाई पुकार्छु र आफै निर्णयहरू गर्न सिकिरहेकी छु।
फ्रेडसँगै २० वर्ष स्पेनमा सेवा गर्न पाएकोमा म अत्यन्तै खुसी छु। त्यतिबेला त्यहाँ धेरै खाँचो थियो। यस रीतिरिवाजमा भोलि के हुन्छ भन्न सकिंदैन त्यसैले मेरो विचारमा मौका छँदै यहोवा अनि आफ्नो परिवारको लागि के उत्तम छ, त्यही गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। ती वर्षहरू हाम्रो जीवनका अत्यन्तै रमाइला क्षणहरू थिए र हाम्रो विवाह पनि सुदृढ भयो अनि त्यसैले गर्दा मैले त्यति ठूलो दुःख पनि सहन सकेकी हुँ भनी निश्चित छु। फ्रेडको मृत्युअघि नै अग्रगामी मेरो जीवनको भाग भइसकेकोले वास्तविकतालाई स्वीकार्न कोसिस गर्दा मैले बाँच्नको निम्ति एउटा कारण पाएँ।
फ्रेडको मृत्यु हुँदा पहिला त मेरो जीवनको पनि अन्त भएजस्तो लागेको थियो। तर पक्कै पनि त्यस्तो होइन। यहोवाको सेवामा मैले गर्नुपर्ने कामहरू थिए र मैले मानिसहरूलाई मदत गर्नुपर्थ्यो। म वरिपरि सत्य थाह नपाएका मानिसहरू यत्तिका धेरै छन्, मैले कसरी अग्रगामी छोड्ने? येशूले भन्नुभएझैं अरूलाई मदत गर्दा मलाई फाइदै भयो। (प्रेरित २०:३५) क्षेत्र सेवकाईका अनुभवहरूले गर्दा केही कुराको आशा गर्नसकें र योजनाहरू बनाउनसकें।
केही दिनअघिको कुरा हो, मैले फेरि त्यस्तै एक्लो महसुस गरें। तर बाइबल अध्ययनको निम्ति घरबाट निस्किने बित्तिकै आनन्दित महसुस गर्न थालें। दुई घण्टापछि सन्तुष्ट र प्रोत्साहित हुँदै घर फर्कें। भजनरचयिताले भनेझैं हामीले कहिलेकाहीं ‘रूँदै बीउ छर्छौं’ तर यहोवाले हाम्रो प्रयासमा आशिष् दिनुहुन्छ र ‘आनन्दले कराउँदै कटनी गर्नेछौं।’—भजन १२६:५, ६.
हालै उच्च रक्तचापको कारण मैले मेरो तालिकामा छाँटकाँट गर्नुपरेको छ र अहिले नियमित तवरमा सहायक अग्रगामी गर्दैछु। यस रीतिरिवाज छउञ्जेल मैले आफ्नो क्षतिलाई पूर्णतया स्वीकार्न नसके तापनि अहिले मैले सन्तोषजनक जीवन बिताइरहेकी छु। मेरा तीनै छोराछोरी पूर्ण-समय सेवामा लागिरहेका देख्दा आनन्द महसुस गर्छु। सबैभन्दा बढी त, नयाँ संसारमा फ्रेडलाई भेट्न उत्सुक छु। मैले इक्वेडरमा गरेको कार्यहरू सुन्दा पक्कै पनि उहाँ रोमाञ्चित हुनुहुनेछ। हाम्रो योजना निश्चय पनि विफल भएन।
भजनरचयिताका शब्दहरू मेरोनिम्ति पनि सत्य साबित होस् भनी प्रार्थना गर्छु। “निश्चय मेरो जीवनभरि भलाइ र करुणा मपछि लाग्नेछ। र परमप्रभुको घरमा म सदा रहनेछु।”—भजन २३:६.
[पृष्ठ १२-मा भएको चित्र]
स्यान लुकस, लोजा, इक्वेडरमा सेवकाईमा