परमेश्वरको वचन पढेर प्रसन्न हुनुहोस्
‘परमप्रभुको व्यवस्थामा प्रसन्न रहने मानिस’ धन्य हो। यस्तो मानिसले परमेश्वरको वचनमा ‘दिनरात ध्यान दिन्छ।’ (भज. १:१, २) के तपाईं त्यसरी प्रसन्न हुनुभएको छ? परमेश्वरको वचन पढेर तपाईं कसरी अझै रमाउन सक्नुहुन्छ?
यहोवा बोल्दा सुन्नुहोस्
बाइबल खरर्र पढ्ने मात्र नगर्नुहोस्। जे पढ्दै हुनुहुन्छ, त्यसबारे कल्पना गर्नुहोस्। जसले बोलिरहेको छ, तिनको आवाज सुन्ने प्रयास गर्नुहोस्। बाइबलका सुरुका अध्याय पढ्दा पृथ्वीलाई मानिस बस्न लायकको बनाउन के-के गरियो भनी यहोवा आफैले बताउँदै गरेको कल्पना गर्नुहोस्। पृथ्वीमा पहिलो मानिस बनाउने विषयमा आफ्नो छोरा मुख्य कालिगडसँग यहोवाले गरेको कुराकानी सुन्नुहोस्। यी दृश्य कल्पना गर्नुहोस्:- आदम र हव्वाले यहोवाको विद्रोह गरेको, उहाँले तिनीहरूलाई सजाय सुनाएको र बगैंचाबाट निकालिदिएको। (उत्पत्ति अध्याय १-३) येशू ख्रीष्टलाई परमेश्वरको प्यारो छोराको रूपमा र मानिसजातिको लागि ज्यान दिन परमेश्वरले पठाएको व्यक्तिको रूपमा चिनाउने आवाज स्वर्गबाट निस्केको विवरण पढ्दा श्रद्धा र भय महसुस गर्नुहोस्। (मत्ती ३:१६, १७) यहोवाले “हेर, म सबै थोक नयाँ बनाउँदैछु” भनेको सुन्दा प्रेषित यूहन्नालाई कस्तो लाग्यो होला विचार गर्नुहोस्। (प्रका. २१:५) वास्तवमा यस्तो तरिकाले परमेश्वरको वचन पढ्दा प्रसन्न हुन सक्छौं।
प्रेरित वचन पढ्न नछोड्नुहोस्। त्यसो गर्नुभयो भने मात्र यहोवालाई वैभवशाली र श्रद्धेय भय योग्य परमेश्वरको रूपमा चिन्नुहुनेछ। अनि हामीलाई प्रेम गर्ने, दयालु व्यवहार गर्ने, नम्र भएर उहाँको इच्छा पूरा गर्न कोसिस गर्दा मदत गर्ने र हरेक क्षेत्रमा कसरी सफल हुने भनी देखाउने व्यक्तिप्रति अझै नजिकिएको महसुस गर्नुहुनेछ।—यहो. १:८; भज. ८:१; यशै. ४१:१०.
बाइबल पढ्न जत्ति समय दिनुहुन्छ तपाईं त्यत्ति नै सन्तुष्ट हुनुहुनेछ। किनकि परमेश्वरले तपाईंबाट के चाहनुहुन्छ तपाईंले त्यो स्पष्ट बुझ्नुहुनेछ। त्यति मात्र होइन, बाइबल पढेर बुद्धिमानीसाथ समस्याहरू समाधान गर्ने मदत पाउँदा तपाईंले भजनरचयिताले जस्तै महसुस गर्नुहुनेछ। तिनले यसो भने: “तपाईंका साक्षी-वचनहरू अचम्मका छन्, यसकारण मेरो हृदयले तिनलाई पालन गर्दछ।” (भज. ११९:१२९) तपाईंको सोचाइ र इच्छालाई परमेश्वरको तौरतरिकाबमोजिम ढाल्न मदत दिने सिद्धान्तहरू बाइबलबाट सिक्दै जाँदा पनि तपाईं रमाउनुहुनेछ।—यशै. ५५:८, ९.
हामीलाई हानिबाट जोगाउने र सही मार्ग देखाउने नैतिक शिक्षा बाइबलमा दिइएको छ। त्रुटिपूर्ण मानव इच्छाको पछि लाग्दा कस्ता समस्या भोग्छौं, त्यो बुझ्ने बुबा यहोवा हुनुहुन्छ भनेर बाइबल पढेरै थाह पाउँछौं। उहाँका उच्च नैतिक स्तर बेवास्ता गर्दा भोग्नै पर्ने गम्भीर परिणामबाट उहाँ हामीलाई जोगाउन चाहनुहुन्छ। उहाँ हाम्रो चिन्ता गर्नुहुन्छ र हामीले सर्वोत्तम तरिकामा जीवन बिताएको चाहनुहुन्छ। यहोवा हाम्रो परमेश्वर र स्वर्गमा बस्ने मायालु बुबा हुनुहुन्छ भन्ने तथ्य उहाँको वचन पढेर स्पष्ट बुझ्न सक्यौं। हाम्रो कत्रो अहोभाग्य!
बाइबल दिनहुँ पढ्नुहोस्
परमेश्वरको वचन दिनहुँ पढ्ने मानिसबारे भजनरचयिताले यसो भने: “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भज. १:३) हामी त्रुटिपूर्ण छौं, सैतानको संसारमा बाँचिरहेका छौं र दियाबलले हामीलाई जिउँदै निल्ने प्रयास गर्छ। तैपनि हामी दिनहुँ बाइबल पढ्छौं र पढेको कुरा जीवनमा उतार्छौं भने यहोवा परमेश्वरसितको हाम्रो सम्बन्ध बलियो बनाउन जे-जति गर्छौं, त्यसमा सफल हुनेछौं।
यस दुष्ट युगले निरन्तर दबाब दिने भएकोले हरेक दिन एकछिनको लागि भए पनि सृष्टिकर्ता यहोवाको विचारमा मग्न हुँदा बल पाउन सक्छौं। आफ्नो धार्मिक विश्वास नत्यागेको कारण थुनामा परेका केही व्यक्तिहरूले खबर पत्रिकामा छापिएका बाइबलका केही पद मात्र पढ्न पाउँथे। तिनीहरू यी पद काटेर जम्मा गर्थे, कण्ठ पार्थे र मनन गर्थे। परिस्थितिले दिएबमोजिम परमेश्वरको वचनबाट सिक्न तिनीहरूले जे-जस्तो प्रयास गरे, त्यसमा यहोवा प्रसन्न हुनुभयो। (मत्ती ५:३) तर हामीमध्ये धेरैजसोले त्यस्तो अवस्थाको सामना गर्नुपरेको छैन। दिनमा एक पटक खरर्र बाइबल पढ्दैमा नतिजा निकै राम्रो हुन्छ भनेर आशा गर्न मिल्दैन। हरेक दिन बाइबल पढ्न, मनन गर्न र पढेका कुरा जीवनमा लागू गर्न आफ्नो प्राथमिकता मिलायौं भने मात्र आशिष् पाउनेछौं।
नबिर्सनुहोस्, जतिसुकै राम्रो योजना बनाए तापनि कहिलेकाहीं योजना विफल हुन सक्छ। त्यसो भयो भने हामी सबैभन्दा महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिन्छौं। उदाहरणका लागि हामी जानाजानी एक/दुई दिनसम्म पानी नपिई बस्दैनौं। त्यसैगरि दैनिक जीवनमा जस्तोसुकै परिस्थिति आइपरे तापनि सत्यको पानीबाट स्फूर्ति पाउन हामीले केही समय निकाल्नै पर्छ।—प्रेषि. १७:११.
परमेश्वरको वचन पूरै पढ्नुहोस्
के तपाईंले पूरै बाइबल पढिसक्नुभयो? उत्पत्तिदेखि प्रकाशसम्म पूरै बाइबल पढ्न कसै-कसैलाई एकदमै गाह्रो लाग्छ। त्यसकारण पूरै बाइबल पढ्न चाहनेहरूले सर्वप्रथम मत्तीदेखि प्रकाशसम्म पढ्ने गर्छन्। किन? सायद यी पुस्तकहरूले ख्रीष्टको पाइलामा हिंड्ने प्रयास गर्दा मदत गर्न सक्ने कुरा तिनीहरूले सजिलै बुझ्न सक्ने भएकोले। अथवा मत्तीदेखि प्रकाशसम्मका पुस्तकहरू एकचौथाइभन्दा अलि धेरै मात्र भएकोले ती पुस्तक पढ्न तिनीहरूलाई खासै धेरै हो जस्तो नलागेको हुन सक्छ। तर यी २७ वटा पुस्तकहरू पढिसकेपछि तिनीहरू हिब्रू धर्मशास्त्रका ३९ वटा पुस्तक पढ्न थाल्छन् र धेरै रमाइलो मान्छन्। हिब्रू धर्मशास्त्र पढिसिध्याउन्जेलसम्ममा त दिनहुँ बाइबल पढ्ने बानी नै बसिसकेको हुन्छ। त्यसपछि तिनीहरू मत्तीदेखि प्रकाशसम्म फेरि पढ्न थाल्छन् र यसरी पूरै बाइबल पढ्ने बानी तिनीहरूले छोडेका छैनन्। यसरी नै तपाईंको पनि दिनदिनै परमेश्वरको वचन बाइबल पढ्ने बानी आजीवन बसोस्!
तपाईंको परिवारमा वा मण्डलीमा पढ्न नसक्ने कोही छन् कि? छन् भने नियमित रूपमा बाइबल पढेर सुनाइदिने गर्नुहोस्! यसो गर्दा तपाईंलाई पनि फाइदा हुन्छ र तपाईंले पढेको सुन्ने व्यक्तिले पनि मनन गरेर लाभ उठाउन सक्छन्।—प्रका. १:३.
समय बित्दै जाँदा बाइबल पढाइलाई रोचक बनाइराख्न कुनै खास लक्ष्य राख्न सक्नुहुन्छ। यस्ता लक्ष्यमध्ये कुनै-कुनैले बाइबलका विभिन्न भागहरू आपसमा कसरी मेल खान्छन् भनेर बुझ्न मदत दिनेछ। तपाईंले बुझ्ने भाषाको बाइबलमा सन्दर्भ बुझ्न थप पद दिइएका छन् भने (मार्जिनल/क्रस रिफरेन्स) तपाईं त्यसको मदत लिएर बाइबलका ऐतिहासिक घटनाहरू र अन्य किताबमा भएका त्यस्तै विवरणहरू जाँच्न सक्नुहुन्छ। यसबाट विभिन्न भजन लेख्नुको कारण र येशूका प्रेषितहरूले पत्रहरू लेख्नुको कारण पनि तपाईं थाह पाउन सक्नुहुन्छ। बाइबलमा उल्लेख गरिएका मानिसहरूबारे, ठाउँबारे र विभिन्न गुणबारे धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्ग्रेजी) पुस्तकले प्रशस्त जानकारी दिन्छ। यसमा भएका तथ्याङ्क र चित्रले बाइबल भविष्यवाणीहरूको पूर्ति, बाइबलमा उल्लेख गरिएका विभिन्न कुराको तिथिमिति अनि कुन राजा र कुन अगमवक्ता एउटै समयका थिए, त्यो बुझ्न मदत दिन्छ।
सिकेको कुरा मनन गर्दै जानुभयो भने परमेश्वरका जनहरूमाझ बेला-बेलामा कुनै खास परिस्थिति किन सृजना भयो भनेर तपाईं बुझ्न सक्नुहुन्छ। यहोवाले आफ्ना जनहरूसँग कुनै किसिमको व्यवहार किन गर्नुभयो, त्यो पनि तपाईं बुझ्न सक्नुहुन्छ। कुनै व्यक्ति, मानिस र सरकारको कामकुरालाई यहोवा कसरी जाँच्नुहुन्छ, तपाईं देख्न सक्नुहुन्छ। यहोवाको सोच्ने तरिका कस्तो छ भनी तपाईं झनै राम्ररी बुझ्न सक्नुहुन्छ।
कुन घटना कुन ठाउँमा भएको थियो भनेर कल्पना गर्दै पढ्नुभयो भने बाइबलको त्यो ऐतिहासिक विवरण झनै रोचक हुन्छ। बाइबलमा उल्लेख गरिएका ठाउँहरूको नक्साले उक्त ठाउँ कस्तो थियो, एउटा ठाउँ अर्को ठाउँभन्दा कति टाढा थियो भन्ने कुरा बुझाउँछ। जस्तै:- इस्राएलीहरूले कुन ठाउँबाट लाल समुद्र तरे? प्रतिज्ञा गरिएको देश कत्रो थियो? पृथ्वीमा छँदा सेवाको काम पूरा गर्न येशू कति टाढासम्म पुग्नुभयो? पावलले मिसनरी भएर यात्रा गर्दा के-के देखे? नक्सा र भौगोलिक विवरणबाट थप कुरा बुझ्न सक्नुहुन्छ। यसले गर्दा तपाईंको बाइबल पढाइ जीवन्त हुन्छ। तपाईं बाइबलमा उल्लिखित ठाउँहरूको नक्सा कहाँ पाउन सक्नुहुन्छ? त्यो असल भूमिलाई हेर्नुहोस् (अङ्ग्रेजी) पुस्तिकामा थुप्रै नक्सा छन्। केही नक्सा पवित्र बाइबल-मा पाइन्छन्। अन्तरदृष्टि पुस्तकमा लगभग ७० वटा नक्सा छन् अनि यसको पहिलो खण्डको अन्ततिर नक्साको अनुक्रमणिका विषयसूची दिइएको छ। अरू नक्सा कहाँ छन् भनेर पत्ता लगाउन यहोवाका साक्षीहरूको प्रकाशन सूचीमा हेर्नुहोस्। अन्यथा प्रहरीधरहरा-मा छापिएका नक्साहरू हेरेर बाइबल पढ्दा मदत पाउन सक्नुहुनेछ।
राजा दाऊदले यहोवाको प्रशंसा गर्दै भनेको कुरा हिब्रू धर्मशास्त्रमा यसरी लेखिएको छ: “हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्। तिनीहरूको सङ्ख्याको सार कति ठूलो छ।” (भज. १३९:१७) त्यसैगरि पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म)-मा प्रेषित पावलले यहोवाको प्रशंसा गरेको कारणबारे यस्तो लेखिएको छ: “ख्रीष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो मनमा चम्कनुभएको छ।” (२ कोरि. ४:६) दाऊद र पावल एकै समयका व्यक्ति थिएनन्। तिनीहरू सयौं वर्ष अघिपछिका मानिस थिए, तैपनि परमेश्वरको वचन पढेर दुवै आनन्दित भए। यहोवा परमेश्वरले तपाईंको लागि दिएको उहाँको वचन पढ्न समय निकाल्नुभयो भने तपाईं पनि त्यसरी नै आनन्दित हुन सक्नुहुन्छ।