प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १०/१ pp. ८-११
  • यहोवा सबैलाई जाँच्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा सबैलाई जाँच्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हृदय हेर्नुहुन्छ
  • मायालु तरिकामा जाँचिएको
  • यहोवा सबैलाई हेर्नुहुन्छ र त्यहीअनुसार कदम चाल्नुहुन्छ
  • लुकाउन सकिने कुनै पाप छैन
  • सधैं निष्ठा कायम राख्नुहोस्‌
  • पूर्ण हृदयले सेवा गरिरहनुहोस्‌
  • भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • रिसले गलत काम गर्न लगाउन सक्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १०/१ pp. ८-११

यहोवा सबैलाई जाँच्नुहुन्छ

“मानिसहरूको परीक्षा [ यहोवा] नियालेर गर्नुहुन्छ।”—भज. ११:४.

१. कस्ता व्यक्‍तिप्रति हामी खिचिन्छौं?

तपाईंलाई साँचो चासो देखाउने व्यक्‍तिप्रति कस्तो महसुस गर्नुहुन्छ? तपाईंले उनीहरूको राय माग्नुहुँदा इमानदारीसाथ आफ्नो राय दिन्छन्‌। मदतको दरकार पर्दा उदारभाव देखाउँछन्‌। सल्लाह चाहिंदा मायालु ढंगमा सल्लाह दिन्छन्‌। (भज. १४१:५; गला. ६:१) यस्ता व्यक्‍तिहरूप्रति के तपाईं खिचिनु हुन्‍न र? यहोवा र उहाँका पुत्र पनि यस्तै व्यक्‍ति हुनुहुन्छ। वास्तवमा, मानिसले भन्दा उहाँहरूले तपाईंमा बढी चासो राख्नुहुन्छ र उहाँहरूको मनसाय पूर्णतया निःस्वार्थ छ। “त्यो जीवन, जो साँच्चै[को] जीवन हो, सो पक्री” राख्न उहाँहरू तपाईंलाई मदत दिन चाहनुहुन्छ।—१ तिमो. ६:१९; प्रका. ३:१९.

२. यहोवा आफ्ना सेवकहरूको कुन हदसम्म चासो राख्नुहुन्छ?

२ हामीप्रति यहोवा कत्ति गहिरो चासो राख्नुहुन्छ, त्यो कुरा भजनरचयिता दाऊदले यसरी व्यक्‍त गरे: “मानिसका सन्तानलाई [यहोवाले] हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ नियालेर गर्नुहुन्छ।” (भज. ११:४) हो, परमेश्‍वर हामीलाई हेर्नु मात्र हुन्‍न; तर जाँच पनि गर्नुहुन्छ। दाऊदले यस्तो पनि लेखे: “तपाईंले मेरो हृदय जाँच्नुभएको छ, तपाईंले मलाई राती . . . जाँच्नुभएको छ, तर मभित्र केही खराबी भेट्टाउनुहुन्‍न।” (भज. १७:३) स्पष्ट छ, यहोवाले आफूप्रति कत्ति गहिरो चासो राख्नुहुन्छ, त्यो कुरा दाऊदलाई थाह थियो। यदि पापी विचार पालेमा वा छली हृदय विकास गरेमा यहोवालाई चोट पुग्नेछ र उहाँ दुःखी हुनुहुनेछ भन्‍ने कुरा तिनलाई थाह थियो। के दाऊदलाई जस्तै तपाईंलाई पनि यहोवा वास्तविक लाग्छ?

यहोवा हृदय हेर्नुहुन्छ

३. हाम्रो असिद्धताप्रति यहोवा सन्तुलित दृष्टिकोण देखाउनुहुन्छ, कसरी?

३ यहोवा मुख्यतया भित्री मनुष्यत्वमा चासो राख्नुहुन्छ, मतलब हाम्रो हृदय साँच्चै कस्तो छ त्यो हेर्नुहुन्छ। (भज. १९:१४; २६:२) उहाँ मायालु हुनुहुन्छ, त्यसैले स-साना गल्तीहरू कोट्याइ राख्नुहुन्‍न। उदाहरणको लागि, अब्राहामकी पत्नी साराले मानव रूपमा देखा परेका स्वर्गदूतसित झूट बोल्दा उनी डराएकी र अप्ठ्यारोमा परेकी छिन्‌ भनेर उक्‍त स्वर्गदूतले बुझे। त्यसकारण, तिनले उनलाई हल्का हप्की मात्र दिए। (उत्प. १८:१२-१५) कुलपिता अय्यूबले “आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी” तुल्याउँदा उहाँले तिनलाई आशिष्‌ दिन छाड्‌नुभएन किनकि तिनले शैतानको हातबाट अचाक्ली दुःखकष्ट भोग्नुपरेको छ भनी उहाँलाई थाह थियो। (अय्यू. ३२:२; ४२:१२) त्यस्तैगरि, अगमवक्‍ता एलियालाई सारपतकी विधवाले आफ्नो कुरा खुलस्त भन्दा यहोवा रिसाउनुभएन। उहाँले बुझ्नुभयो कि एक मात्र सन्तान गुमेकोले उनी एकदमै दुःखी भएकी थिइन्‌।—१ राजा १७:८-२४.

४, ५. अबीमेलेकसितको व्यवहारमा यहोवाले कसरी दया देखाउनुभयो?

४ यहोवा हृदय जाँच्नुहुन्छ, त्यसैले अविश्‍वासीहरूप्रति समेत विचार पुऱ्‍याउनुहुन्छ। पलिश्‍ती सहर गरारका राजा अबीमेलेकसित यहोवाले कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्‌। अब्राहाम र सारा पति-पत्नी हुन्‌ भन्‍ने कुरा थाह नभएकोले अबीमेलेकले सारालाई स्वास्नी तुल्याउन लिएर गए। तर स्वास्नी तुल्याउनुअघि नै यहोवाले तिनलाई सपनामा यसो भन्‍नुभयो: “हो, मलाई यो कुरो थाह छ कि तेरा शुद्ध विवेकले यो तैंले गरेको होस्‌ र मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि मनै हुँ। यसैले ता त्यसलाई छुन मैले तँलाई दिइनँ। अब त्यस मानिसकी स्वास्नी फर्काइदे, किनभने त्यो एक अगमवक्‍ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्नेछस्‌।”—उत्प. २०:१-७.

५ अवश्‍यै पनि, झूटो देवताहरूको उपासक अबीमेलेकसित यहोवाले कठोर व्यवहार गर्न सक्नुहुन्थ्यो। तर परमेश्‍वरले बुझ्नुभयो कि तिनले यो सब गलत मनसायले गरिरहेका थिएनन्‌। यहोवाले दया गरेर यस कुरालाई मानिलिनुभयो र राजालाई माफी पाउन र ‘बाँच्न’ कसरी सकिन्छ, बताइदिनुभयो। के तपाईंले पुज्न चाहनुभएको परमेश्‍वर यस्तै होइन र?

६. येशूले कुन तरिकामा आफ्ना पिताको नक्कल गर्नुभयो?

६ येशूले आफ्ना पिताको हुबहु नक्कल गर्नुभयो। मतलब, आफ्ना चेलाहरूको असल कुरामा ध्यान लगाउनुभयो र तिनीहरूका गल्ती राजीखुसी माफ गरी दिनुभयो। (मर्कू. १०:३५-४५; १४:६६-७२; लूका २२:३१, ३२; यूह. १५:१५) येशूको दृष्टिकोण यूहन्‍ना ३:१७ मा उहाँले भनेका शब्दहरू अनुरूपै थियो: “परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बचोस्‌ भनेर पठाउनुभयो।” हो, हामीप्रति यहोवा र येशूको प्रेम गहिरो अनि स्थिर छ। यो कुरा, हामीले जीवन पाओस्‌ भन्‍ने उहाँहरूको चाहनामा प्रस्टै देखिन्छ। (अय्यू. १४:१५) यस्तो गहिरो र स्थिर प्रेमले बताउँछ कि यहोवा हामीलाई किन जाँच्नुहुन्छ, कसरी हेर्नुहुन्छ अनि आफूले देखेअनुसार कसरी कदम चाल्नुहुन्छ।।—१ यूहन्‍ना ४:८, १९ पढ्‌नुहोस्‌।

मायालु तरिकामा जाँचिएको

७. यहोवाले हामीलाई कुन मनसायले जाँच्नुहुन्छ?

७ त्यसकारण यहोवाले हाम्रो पाप पक्रन स्वर्गबाट प्रहरीले झैं चियाएर हेर्नुहुन्छ भनी सोच्नु कत्ति गलत! हामीलाई दोष लगाउने र स्वार्थी भन्‍ने व्यक्‍ति त शैतान हो। (प्रका. १२:१०) हामीले कुनै गलत मनसाय नराख्दा पनि त्यसले गलत मनसाय राखेको आरोप लगाउँछ। (अय्यू. १:९-११; २:४, ५) परमेश्‍वरबारे भजनरचयिताले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र?” (भज. १३०:३) जवाफ हो: कोही पनि खडा हुन सक्‍तैन! (उप. ७:२०) बरु, आफ्ना प्यारा छोराछोरीलाई हानिबाट जोगाउन चाहने मायालु आमाबाबुले जस्तै यहोवाले हामीमाथि दयालु ढंगमा नजर राख्नुहुन्छ। हामी हानिबाट जोगिन सकोस्‌ भनेर उहाँ अक्सर हामीलाई हाम्रो असिद्धता र कमजोरीप्रति सजग गराउनुहुन्छ।—भज. १०३:१०-१४; मत्ती २६:४१.

८. यहोवा कसरी आफ्ना सेवकहरूलाई सल्लाह-सुझाव र अनुशासन दिनुहुन्छ?

८ परमेश्‍वरको प्रेम कसरी व्यक्‍त हुन्छ? धर्मशास्त्रमा दिइएका सल्लाह-सुझाव तथा अनुशासन र “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिने आध्यात्मिक खानेकुरा मार्फत। (मत्ती २४:४५; हिब्रू १२:५, ६) ख्रीष्टियान मण्डली र “पुरुषहरूमध्ये वरदान” मार्फत पनि उहाँ मदत दिनुहुन्छ। (एफि. ४:८, NW) त्यसमाथि, मायालु बुबाले दिने जस्तो उहाँको प्रशिक्षणलाई हामी कसरी लिन्छौं त्यसमाथि उहाँ ध्यान दिनुहुन्छ र थप मदत दिन लागिपर्नुहुन्छ। भजन ३२:८ यसो भन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” त्यसैले, सधैं यहोवाको कुरा सुन्‍नु कत्ति महत्त्वपूर्ण छ! उहाँ हाम्रो मायालु शिक्षक र पिता हुनुहुन्छ भनी मानिलिंदै उहाँसामु आफूलाई नम्र तुल्याउनु आवश्‍यक छ।—मत्ती १८:४ पढ्‌नुहोस्‌।

९. कस्ता अवगुणहरूदेखि हामी अलग रहनुपर्छ र किन?

९ अर्कोतर्फ घमन्ड, विश्‍वासको कमी र “पापको छलले” गर्दा हामी कहिल्यै कठोर नहोऔं। (हिब्रू ३:१३; याकू. ४:६) अस्वास्थ्यकर विचार वा इच्छा पाल्दै जाँदा अक्सर यस्ता अवगुणहरू टुसाउन थाल्छ। उपयुक्‍त धर्मशास्त्रीय सल्लाह इन्कार गर्ने हदसम्म समेत पुग्न सक्छौं। अझै खराब त, हामीले नराम्रो दृष्टिकोण वा तरिकाहरूलाई यत्ति महत्त्व दिन सक्छौं जसले गर्दा परमेश्‍वरको शत्रु बन्‍न पुग्छौं। साँच्चै कस्तो भयावह स्थिति! (हितो. १:२२-३१) अब आदम र हव्वाको पहिलो सन्तान कयिनलाई विचार गर्नुहोस्‌।

यहोवा सबैलाई हेर्नुहुन्छ र त्यहीअनुसार कदम चाल्नुहुन्छ

१०. यहोवाले कयिनको भेटी किन ग्रहण गर्नुभएन र उसले कस्तो प्रतिक्रिया देखायो?

१० कयिन र हाबिलले आ-आफ्नो भेटी चढाउन ल्याउँदा यहोवाले भेटीमा मात्र होइन तर तिनीहरूको मनसायमा पनि चासो राख्नुभयो। नतिजा? परमेश्‍वरमा पूर्ण विश्‍वास राखेर चढाएको हाबिलको भेटी उहाँले ग्रहण गर्नुभयो तर कतै न कतै विश्‍वासको कमी झल्किने कयिनको भेटी भने ग्रहण गर्नुभएन। (उत्प. ४:४, ५; हिब्रू ११:४) त्यसबाट पाठ सिकेर आफ्नो मनोवृत्ति बदल्नुको साटो कयिन आफ्नो भाइसित क्रोधित भयो।—उत्प. ४:६.

११. कयिनको हृदय छली भएको कसरी देखियो अनि यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

११ कयिनको मनोवृत्ति खतरनाक हुँदै गएको यहोवाले देख्नुभयो र तिनीप्रति विचारशील हुँदै असल गरेमा ग्रहणयोग्य होइन्छ भनेर सम्झाउनुभयो। दुःखको कुरा, कयिनले सृष्टिकर्ताको सल्लाह सुनेन र भाइको हत्या गऱ्‍यो। अझ, परमेश्‍वरले “तेरो भाइ हाबिल कहाँ छ?” भनी सोध्दा उहाँलाई दिएको अनादरपूर्ण जवाफले पनि उसको हृदयको खराब अवस्था झल्कियो। उसले यस्तो ओठे जवाफ फर्कायो: “मलाई थाह छैन। के म मेरो भाइको गोठाला हुँ र?” (उत्प. ४:७-९) हृदय कत्तिसम्म छली हुन सक्ने रहेछ! परमेश्‍वरबाट सीधै आएको सल्लाहलाई बेवास्ता गर्ने हदसम्म! (यर्मि. १७:९) तसर्थ, यस्ता घटनाहरूबाट पाठ सिकौं अनि गलत विचार र इच्छालाई तुरुन्तै त्यागौं। (याकूब १:१४, १५ पढ्‌नुहोस्‌) यदि धर्मशास्त्रीय सल्लाह पायौं भने त्यसको मोल गरौं। त्यसलाई परमेश्‍वरको प्रेमको प्रमाण ठानौं।

लुकाउन सकिने कुनै पाप छैन

१२. गलत कार्यप्रति यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?

१२ कतिपयलाई लाग्ला, गल्ती गरेको कसैले देखेको छैन भने त्यसको प्रतिफल भोग्नुपर्दैन। (भज. १९:१२) एक अर्थमा भन्‍नुपर्दा, लुकाउन सकिने कुनै पाप छैन। “उहाँको नजरको सामने सब कुरा स्पष्ट र खुला राखिएका छन्‌।” (हिब्रू ४:१३) यहोवा हाम्रो भित्री मनसाय जाँच्नुहुने न्यायकर्ता हुनुहुन्छ। अनि गलत कार्यप्रति उहाँले राख्ने दृष्टिकोणमा उहाँको सिद्ध न्याय झल्किन्छ। उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ जो “दयालु, . . . रीस गर्नमा ढीलो, कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” यद्यपि, “जानी-जानी पाप” गर्ने वा धूर्त अर्थात्‌ छली मनोवृत्ति देखाउने अपश्‍चात्तापीहरूलाई “कुनै किसिमले पनि निर्दोष” उहाँ ठहराउनुहुन्‍न। (प्रस्थ. ३४:६, ७; हिब्रू १०:२६) यो कुरा उहाँले आकान अनि हननिया र सफीरासित गरेको व्यवहारमा झल्कियो।

१३. आकानको आचरण खराब हुनुमा खराब सोचाइले कसरी टेवा पुऱ्‍यायो?

१३ परमेश्‍वरको आज्ञा ठाडै उल्लंघन गर्दै आकानले यरीहो सहरबाट ल्याएको सामान पालभित्र लुकाए—सायद त्यसमा परिवारको पनि मिलेमतो थियो। तिनको पाप पर्दाफास गरिंदा आफूले कत्ति गम्भीर पाप गरेको रहेछु भनेर तिनले बुझे किनभने तिनले यसो भने: “परमेश्‍वरको विरुद्धमा पाप गरेको छु।” (यहो. ७:२०) कयिनको जस्तै आकानको पनि हृदय खराब हुँदै गएको थियो। आकानको मामिलामा भन्‍नुपर्दा, लोभ मुख्य कारण थियो र त्यसले तिनलाई छली बन्‍न टेवा पुऱ्‍यायो। यरीहो सहरबाट ल्याएको सामान यहोवामा अर्पित थियो। त्यसैकारण, आकानले वास्तवमा परमेश्‍वरको चीज चोरेका थिए जसले गर्दा आफू र आफ्नो परिवारको ज्यान गयो।—यहो. ७:२५.

१४, १५. किन हननिया र सफीरा परमेश्‍वरको अनुमोदन पाउन योग्यका रहेनन्‌ अनि यसबाट हामी के पाठ सिक्न सक्छौं?

१४ हननिया र सफीरा प्रथम शताब्दीको यरूशलेम मण्डलीका सदस्य थिए। इस्वी संवत्‌ ३३ पेन्तिकोस पछि टाढा-टाढाबाट आएर यरूशलेममै बसिरहेका नयाँ विश्‍वासीहरूको भौतिक आवश्‍यकता टार्न एउटा साझा कोष खडा गरियो। त्यो कोष स्वेच्छाकृत अनुदानले चल्थ्यो। हननियाले आफ्नो एउटा जमिन बेच्यो अनि त्यसबाट पाएको पैसाको केही हिस्सा चाहिं उक्‍त कोषलाई दिए। तर तिनले सम्पूर्ण पैसा दिएको ढोंग गरे र यो कुरा तिनकी पत्नीलाई पनि राम्ररी थाह थियो। निस्सन्देह, तिनीहरू मण्डलीमा विशेष निगाह पाउन चाहन्थे। तर तिनीहरूको त्यो काम छली थियो। यहोवाले चमत्कारी ढंगमा त्यो छल प्रेरित पत्रुसलाई प्रकट गरिदिनुभयो। उनले हननियालाई त्यसबारे सोधपुछ गरे। अनि त्यसको लगत्तै हननिया भुइँमा पछारिएर मरे। त्यसको केहीबेर पछि सफीरा पनि मरी।— प्रेरि. ५:१-११.

१५ हननिया र सफीराको कमजोरी एकछिनको थिएन। तिनीहरूले योजना बनाएरै प्रेरितहरूलाई छल्ने हेतुले झूट बोले। अझै खराब त, तिनीहरूले ‘पवित्र आत्मा र परमेश्‍वरसँग झूट बोले।’ त्यतिबेला यहोवाले देखाउनुभएको प्रतिक्रियाबाट, मण्डलीलाई कपटीहरूबाट जोगाउन उहाँ तयार रहेको स्पष्टै भयो। हो, “जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरो हो।”—हिब्रू १०:३१.

सधैं निष्ठा कायम राख्नुहोस्‌

१६. (क) शैतानले कसरी परमेश्‍वरका जनहरूलाई भ्रष्ट पार्न खोजिरहेको छ? (ख) तपाईंको इलाकामा मानिसहरूलाई भ्रष्ट पार्न शैतानले कस्तो तरिका चलाउँछ?

१६ हामीलाई भ्रष्ट बनाउन र यहोवाको अनुमोदन गुमाउने हदमा पुऱ्‍याउन शैतानले भरमग्दुर गरिरहेको छ। (प्रका. १२:१२, १७) शैतानको दुष्ट मनसाय यस संसारमा प्रस्टै झल्किएको छ। यो संसार यौन अनैतिकता र हिंसामा लिप्त छ। अहिले अश्‍लील कुरा कम्प्युटर वा अन्य इलेक्ट्रोनिक उपकरणहरू मार्फत सजिलै हेर्न सकिन्छ। हामी कहिल्यै शैतानको आक्रमणको शिकार नबनौं। बरु, हाम्रो भावना भजनरचयिता दाऊदको जस्तै होस्‌ जसले यस्तो लेखे: “बुद्धिमानीसाथ म सत्य बाटोमा हिंड्‌नेछु। . . . सिद्ध हृदयले म आफ्नो घरभित्र हिंड्डूल गर्नेछु।”—भज. १०१:२.

१७. (क) आखिरमा यहोवाले लुकेका पापहरू किन उदांग पार्नुहुन्छ? (ख) हाम्रो संकल्प कस्तो हुनुपर्छ?

१७ पहिला-पहिला कहिलेकाहीं यहोवाले गम्भीर पाप र छली आचरणलाई चमत्कारी ढंगमा प्रकट गर्नुहुन्थ्यो, तर अहिले त्यसो गर्नुहुन्‍न। तर, अहिले पनि कुनै कुरा उहाँबाट लुकेको छैन। अनि आफ्नै समय र तरिकामा लुकेको कुरा उदांग पार्नुहुन्छ। पावलले यसो भने: “कुनै-कुनै मानिसका पाप प्रत्यक्ष अदालतसम्म पुग्ने, औ कुनै मानिसको ता पछिमात्र थाहा हुन्छ।” (१ तिमो. ५:२४) यहोवाले खराब कुरा उदांग पार्नुको मुख्य मनसाय प्रेम हो। उहाँ मण्डलीलाई प्रेम गर्नुहुन्छ र चोखो बनाइराख्न चाहनुहुन्छ। त्यसबाहेक, पाप गरेको तर अहिले साँचो पश्‍चाताप गर्नेहरूलाई उहाँ दया देखाउनुहुन्छ। (हितो. २८:१३) तसर्थ, परमेश्‍वरलाई पूर्ण हृदयले सेवा चढाउन र सबै भ्रष्ट प्रभावहरूलाई तिरस्कार गर्न प्रयास गरिरहौं।

पूर्ण हृदयले सेवा गरिरहनुहोस्‌

१८. परमेश्‍वरप्रति छोरा सुलेमानले कस्तो भावना राखोस्‌ भन्‍ने राजा दाऊद चाहन्थे?

१८ छोरा सुलेमानलाई दाऊदले यसो भने: “तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान, र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर। किनभने परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ।” (१ इति. २८:९) आफ्नो छोराले परमेश्‍वरमा केवल विश्‍वास राख्ने मात्र नगरोस्‌ भन्‍ने दाऊद चाहन्थे। उनी चाहन्थे, यहोवाले आफ्ना सेवकहरूप्रति राख्ने गहिरो चासोको सुलेमानले मोल गरोस्‌। के तपाईं पनि यहोवालाई त्यसरी नै मोल गर्नुहुन्छ?

१९, २०. भजन १९:७-११ अनुसार केले दाऊदलाई परमेश्‍वरको नजिक हुन मदत गऱ्‍यो अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

१९ यहोवा जान्‍नुहुन्छ: असल झुकाव भएका मानिसहरू उहाँप्रति खिचिन्छन्‌ अनि उहाँका मनमोहक गुणहरू थाह पाएर तिनीहरू उहाँको नजिक भएको महसुस गर्छन्‌। त्यसैले, यहोवा हामीले उहाँलाई चिनेको र उहाँका अद्‌भुत व्यक्‍तित्वसित परिचित भएको चाहनुहुन्छ। हामी त्यो कसरी गर्छौं? उहाँको वचन पढेर अनि उहाँको आशिष्‌ जीवनमा अनुभव गरेर।—हितो. १०:२२; यूह. १४:९.

२० के तपाईं परमेश्‍वरको वचनको मोल गर्दै दिनहुँ पढ्‌नुहुन्छ र पढेको कुरा जीवनमा उतार्नको लागि प्रार्थना गर्नुहुन्छ? बाइबल सिद्धान्तअनुसार जीवन बिताउनुको महत्त्वलाई के तपाईंले बुझ्नुभएको छ? (भजन १९:७-११ पढ्‌नुहोस्‌) छ भने, उहाँप्रतिको तपाईंको विश्‍वास र प्रेम निरन्तर बढ्‌दै जानेछ। नतिजा? उहाँ तपाईंको नजिक आउनुहुनेछ र प्रतीकात्मक अर्थमा तपाईंसित हातेमालो गरेर हिंड्‌नुहुनेछ। (यशै. ४२:६; याकू. ४:८) हो, जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिंड्‌नुहुँदा तपाईंलाई आशिष्‌ र आध्यात्मिक सुरक्षा दिएर उहाँले प्रेमको प्रमाण दिनुहुनेछ।—भज. ९१:१, २; मत्ती ७:१३, १४. (w 08 10/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवा हामीलाई किन जाँच्नुहुन्छ?

• कस्ता कारणले गर्दा कोही-कोही परमेश्‍वरको शत्रु बने?

• यहोवा हाम्रो निम्ति वास्तविक हुनुहुन्छ भनेर कसरी देखाउन सक्छौं?

• हामी कसरी परमेश्‍वरलाई पूर्ण हृदयले सेवा गरिरहन सक्छौं?

[पृष्ठ १०-मा भएको चित्र]

कसरी यहोवाले हामीमाथि मायालु आमाबाबुले जस्तै नजर राख्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने