प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जनवरी pp. ७-११
  • “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌
  • भाइबहिनीले हाम्रो चित्त दुखाउँदा
  • विगतमा गरेको गल्तीले पिरोल्दा
  • यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाले थकितहरूलाई बल दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मानव कमजोरीले यहोवाको शक्‍तिको प्रशंसा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जनवरी pp. ७-११
एउटी बहिनी डाक्टरसित कुरा गर्छिन्‌, जागिर खान्छिन्‌, वृद्ध आफन्तको हेरचाह गर्छिन्‌, बाइबल पढ्‌छन्‌

“उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”

सन्‌ २०१८ को वार्षिक पद: यहोवाको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌।—यशै. ४०:३१.

गीत: ३, ४७

यी शास्त्रपदहरूले वार्षिक पदको अर्थलाई कसरी प्रस्ट पार्छन्‌?

  • यशैया ४०:२६

  • मत्ती ११:२८-३०

  • २ कोरिन्थी १२:९, १०

१. हामीले कस्ता समस्याहरू भोगिरहेका छौं? तर यहोवा आफ्ना वफादार सेवकहरूलाई देख्दा किन खुसी हुनुहुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

अहिलेको संसारमा जीवन बिताउन सजिलो छैन। हाम्रा थुप्रै प्यारा दाजुभाइ दिदीबहिनीलाई गम्भीर रोगले पिरोलिरहेको छ। कतिपय भाइबहिनीको आफ्नै उमेर ढल्किसकेको भए तापनि उनीहरू आफूभन्दा वृद्ध आफन्तहरूको हेरचाह गरिरहेका छन्‌। अरूले भने परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न घोटिएर काम गरिरहनुपरेको छ। हाम्रा कतिपय भाइबहिनीले कुनै एउटा मात्र होइन, थुप्रै समस्या झेलिरहेका छन्‌ र त्यो पनि, एकै पटकमा। यस्ता समस्याहरूसित जुझ्न निकै समय खर्च हुन्छ अनि यसले भावनात्मक रूपमा लखतरान बनाउँछ। त्यसमाथि आर्थिक भार त छँदै छ। तैपनि परमेश्‍वरका प्रतिज्ञाहरूमाथि तपाईंको विश्‍वास ढलपल भएको छैन। तपाईंले उज्ज्वल भविष्यको आशालाई दह्रोसित पक्रिराख्नुभएको छ। यो देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला!

२. यशैया ४०:२९ बाट हामी कस्तो प्रोत्साहन पाउँछौं? तर कस्तो सोचाइ राख्नु गम्भीर गल्ती हुनेछ?

२ के तपाईंलाई कहिलेकाहीं आफूले भोगिरहेका समस्याहरू अब सहन सक्दिनँ जस्तो लाग्छ? यदि लाग्छ भने त्यस्तो महसुस गर्ने तपाईं मात्र हुनुहुन्‍न। विगतका वफादार सेवकहरूले पनि त्यस्तै महसुस गरेका थिए भनेर बाइबल बताउँछ। (१ राजा १९:४; अय्यू. ७:७) तर तिनीहरूले हार मानेनन्‌ बरु यहोवासित बल मागे। अनि यहोवाले तिनीहरूलाई मदत गर्नुभयो किनभने “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ।” (यशै. ४०:२९) दुःखको कुरा, हाम्रो समयमा परमेश्‍वरका कोही-कोही सेवकले समस्याहरूसित जुझ्ने सबैभन्दा राम्रो तरिका ‘केही समयको लागि सत्यबाट विश्राम लिनु हो’ भन्ठानेका छन्‌। तिनीहरू हाम्रा ईश्‍वरतान्त्रिक गतिविधिलाई आशिष्‌ नभई बोझजस्तो ठान्छन्‌। त्यसैले तिनीहरू परमेश्‍वरको वचन पढ्‌न, मण्डलीका सभाहरूमा जान अनि प्रचारकार्यमा भाग लिन छोड्‌छन्‌। सैतानले चाहेको कुरा पनि त्यही हो।

३. (क) हामीलाई कमजोर पार्ने सैतानको उद्देश्‍यलाई कसरी विफल पार्न सक्छौं? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

३ ईश्‍वरतान्त्रिक गतिविधिमा पुरापुर भाग लियौं भने हामी बलिया हुन्छौं भनेर सैतानलाई राम्ररी थाह छ। अनि हामी बलियो भएको त्यो चाहँदैन। त्यसैले शारीरिक र भावनात्मक रूपमा लखतरान हुँदा आफूलाई यहोवाबाट टाढा नलैजानुहोस्‌। उहाँसित अझ नजिक हुनुहोस्‌ किनभने उहाँले ‘तपाईंलाई स्थिर बनाउनुहुनेछ र तपाईंलाई बलियो पार्नुहुनेछ।’ (१ पत्रु. ५:१०; याकू. ४:८) परमेश्‍वरको सेवामा हाम्रो जोस कम गराउने दुई वटा अवस्थाबारे हामी यस लेखमा चर्चा गर्नेछौं। अनि ती अवस्थामा बाइबलका सिद्धान्तहरू लागू गर्दा कसरी मदत पाउन सक्छौं भनी छलफल गर्नेछौं। तर सुरुमा आउनुहोस्‌, हामीलाई बलियो बनाउने यहोवाको क्षमताबारे बुझ्न यशैया ४०:२६-३१ लाई ध्यान देऔं।

यहोवाको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌

४. यशैया ४०:२६ बाट कस्तो पाठ सिक्न सक्छौं?

४ यशैया ४०:२६ पढ्‌नुहोस्‌। ब्रह्‍माण्डमा कति तारा छन्‌ भनेर कसैले पनि गन्‍न सकेको छैन। वैज्ञानिकहरूको विचारमा आकाशगङ्‌गा तारापुञ्जमा मात्र चार खरबजति ताराहरू छन्‌। तर यहोवाले प्रत्येक तारालाई नाम दिनुभएको छ। यसबाट हामी यहोवाबारे के थाह पाउँछौं? यहोवा आफूले बनाउनुभएका निर्जीव सृष्टिमा त व्यक्‍तिगत चासो लिनुहुन्छ भने झन्‌ उहाँको सेवा गर्ने मानिसहरूबारे कस्तो महसुस गर्नुहुन्छ होला! मानिसहरूले बाध्य महसुस गरेकाले होइन तर उहाँलाई माया गरेकोले उहाँको सेवा गरेको देख्दा कत्ति खुसी लाग्छ होला! (भज. १९:१, ३, १४) हाम्रो मायालु बुबा यहोवालाई तपाईंको एक-एक कुरा थाह छ। तपाईंको “कपालसमेत उहाँले गन्‍नुभएको छ।” (मत्ती १०:३०) अनि भजनहार हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ।” (भज. ३७:१८, NRV) हो, तपाईंले भोगिरहनुभएका समस्याहरू उहाँ याद गर्नुहुन्छ। अनि उहाँले ती प्रत्येक समस्या सहन चाहिने बल तपाईंलाई दिन सक्नुहुन्छ।

५. यहोवा हामीलाई बल दिन सक्नुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौं?

५ यशैया ४०:२८ पढ्‌नुहोस्‌। यहोवा अथाह शक्‍तिको स्रोत हुनुहुन्छ। उदाहरणको लागि, उहाँले सूर्यलाई मात्र कति शक्‍ति दिनुहुन्छ, विचार गर्नुहोस्‌। विज्ञानसम्बन्धी लेखक डेभिड बोडानिसले यस्तो लेखे: “अरबौं अणु बम विस्फोट हुँदा जति शक्‍ति निस्कन्छ, त्यति शक्‍ति त सूर्यले एक सेकेन्डमा निकाल्छ।” अर्को एक जना अनुसन्धानकर्ताले हिसाब गरेअनुसार सूर्यले “एक सेकेन्डमा निकाल्ने शक्‍तिले संसारभरिका मानिसहरूको जीवनलाई २,००,००० वर्षसम्म धान्‍न सक्छ!” सूर्यलाई यति धेरै शक्‍ति दिनुहुनेले हामीलाई आफ्ना हर समस्यासित जुझ्न चाहिने बल दिन नसक्नु होला त?

६. येशूको जुवा कुन अर्थमा सजिलो छ? यो कुरा थाह पाउँदा हामीमा कस्तो असर पर्छ?

६ यशैया ४०:२९ पढ्‌नुहोस्‌। यहोवाको सेवा गर्दा हामी खुसी हुन सक्छौं। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो जुवा बोक।” उहाँले यसो पनि भन्‍नुभयो: “तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२८-३०) यो भनाइ कत्ति सत्य छ! कहिलेकाहीं हामी लखतरान भएकोले सभा वा प्रचारमा जान घरबाट निस्कने बल नै नहुन सक्छ। तैपनि सभा वा प्रचारबाट फर्कंदा कस्तो महसुस हुन्छ? स्फूर्ति पाएको अनि आफ्ना समस्याहरूको सामना गर्न अझ तयार भएको महसुस हुन्छ। हो, येशूको जुवा साँच्चै सजिलो छ!

७. मत्ती ११:२८-३० मा लेखिएको कुरा सत्य हो भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

७ एउटी बहिनीको अवस्था विचार गरौं। उनलाई अत्यधिक थकान हुने रोग (क्रोनिक फटिग सिन्ड्रोम), डिप्रेशन र माइग्रेनले सताइरहेको छ। त्यसैले उनलाई कहिलेकाहीं सभामा जान गाह्रो लाग्छ। तर एक चोटि उनी असाध्यै गाह्रो भए पनि सभामा गइन्‌। पछि उनले यस्तो लेखिन्‌: “निराशाबारे भाषण दिइएको थियो। त्यो भाषण असाध्यै मायालु अनि कोमल ढङ्‌गमा प्रस्तुत गरिएको थियो। मैले आफ्नो आँसु थाम्नै सकिनँ। मण्डलीका सभाहरू मेरो लागि नभई नहुने कुरा हो भनेर फेरि पनि महसुस गरें।” सभा जान प्रयास गरेकीले उनी कत्ति खुसी हुन सकिन्‌!

८, ९. प्रेषित पावलले “जब म कमजोर हुन्छु, तब म शक्‍तिशाली हुन्छु” भन्‍नुको अर्थ के थियो?

८ यशैया ४०:३० पढ्‌नुहोस्‌। आफू जति नै सिपालु भए पनि हामीले आफ्नै बलको भरमा गर्न सक्ने कुरा सीमित छन्‌। यो हामी सबैले सिक्नुपर्ने पाठ हो। प्रेषित पावल थुप्रै कुरा गर्न सक्षम थिए तैपनि तिनले आफूले चाहेजति सबै कुरा गर्न सकेनन्‌। तिनले आफ्नो सीमितताबारे यहोवालाई चिन्ता व्यक्‍त गर्दा उहाँले यसो भन्‍नुभयो: “कमजोर हुँदा तिमीले मेरो पूरा शक्‍ति पाउँछौ।” यहोवाले भन्‍न खोज्नुभएको कुरा पावलले बुझे। त्यसैकारण तिनले यसो भने: “जब म कमजोर हुन्छु, तब म शक्‍तिशाली हुन्छु।” (२ कोरि. १२:७-१०) तिनी के भन्‍न खोज्दै थिए?

९ आफ्नै बलको भरमा गर्न सक्ने कुरा सीमित छ, त्यसैले अझ शक्‍तिशाली स्रोतको मदत चाहिन्छ भनेर पावलले बुझेका थिए। कमजोर हुँदा पावललाई परमेश्‍वरको पवित्र शक्‍तिले मदत दिने थियो। त्यति मात्र होइन, परमेश्‍वरको पवित्र शक्‍ति पाएपछि तिनले आफ्नै बलको भरमा कहिल्यै गर्न नसक्ने कुराहरू पनि गर्न सक्ने थिए। हाम्रो सन्दर्भमा पनि कुरा त्यही हो। यहोवाले दिनुहुने पवित्र शक्‍ति पायौं भने हामी बलियो हुनेछौं!

१०. समस्याहरूसित जुझ्न यहोवाले दाऊदलाई कसरी मदत गर्नुभयो?

१० भजनहार दाऊदले धेरै चोटि परमेश्‍वरको पवित्र शक्‍ति पाएको महसुस गरे। तिनले यस्तो भजन गाए: “तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्छु। र मेरै परमेश्‍वरको सहायताले म पर्खाल नाघ्छु।” (भज. १८:२९) कहिलेकाहीं हाम्रा समस्याहरू ‘नाघ्नै’ नसकिने पर्खालजस्तो हुन सक्छ। त्यतिबेला हामीलाई यहोवाको मदत चाहिन्छ।

११. समस्याहरूसित जुझ्न हामीलाई पवित्र शक्‍तिले कसरी मदत गर्छ?

११ यशैया ४०:३१ पढ्‌नुहोस्‌। चीलले आफ्नै बलको भरमा माथि-माथि उड्‌न अनि टाढा-टाढासम्म कावा खान सक्दैन। मास्तिर बहिरहेको तातो हावाले चीललाई उचाल्छ, जसले गर्दा चीलले धेरै शक्‍ति खर्च गर्नु पर्दैन। तपाईंको जीवनमा पनि ठूलो समस्या आइपर्दा चीललाई सम्झनुहोस्‌। “मदतगार अर्थात्‌ पवित्र शक्‍ति”-द्वारा बल दिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌। (यूह. १४:२६) पवित्र शक्‍तिको लागि हामी उहाँसित जुनसुकै बेला बिन्ती गर्न सक्छौं; यो हाम्रो लागि २४ सै घण्टा उपलब्ध छ। मण्डलीका कुनै भाइ वा बहिनीसित मनमुटाव हुँदा हामीलाई परमेश्‍वरको पवित्र शक्‍तिको मदत अझै खाँचो पर्छ। तर भाइबहिनीसित किन मतभेद हुन्छ?

१२, १३. (क) कहिलेकाहीं हाम्रा भाइबहिनीसित किन मनमुटाव हुन्छ? (ख) यूसुफको घटनाबाट हामी यहोवाबारे के सिक्न सक्छौं?

१२ हामी त्रुटिपूर्ण छौं। त्यसैले एकअर्कासित मनमुटाव हुन्छ। कहिलेकाहीं कुनै भाइ वा बहिनीको बोली वा व्यवहारले गर्दा हामीलाई रिस उठ्‌न सक्छ। अथवा हाम्रो बोली वा व्यवहारले अरूलाई रिस उठाउन सक्छ। यस्तो अवस्था सहन गाह्रो हुन्छ। तर यस्तो अवस्थामा हामी यहोवाप्रतिको वफादारी देखाउने मौका पाउँछौं। कसरी? हाम्रा दाजुभाइ दिदीबहिनीसित एकताबद्ध भई काम गर्न सिकेर। हाम्रा भाइबहिनीहरू त्रुटिपूर्ण भए पनि यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ। त्यसैले हामीले पनि तिनीहरूलाई माया गर्नुपर्छ।

यूसुफ झ्यालखानामा

यहोवाले यूसुफलाई त्याग्नुभएन; उहाँले तपाईंलाई पनि त्याग्नुहुनेछैन (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३ यहोवाले आफ्ना सेवकहरूलाई परीक्षामा पर्नै दिनुहुन्‍न भन्‍ने होइन। यो कुरा हामी यूसुफको घटनाबाट बुझ्न सक्छौं। यूसुफका सौतेनी दाइहरूले तिनको डाह गर्थे। त्यसैले उनीहरूले यूसुफ जवानै छँदा तिनलाई बेचिदिए र तिनी दासको रूपमा मिश्र लगिए। (उत्प. ३७:२८) यो सब यहोवाले हेरिरहनुभएको थियो। आफ्नो मित्र यूसुफ, जो असल मानिस थिए, तिनले यस्तो दुर्व्यवहार भोग्नुपरेको देख्दा उहाँ पक्कै दुःखी हुनुभयो। तैपनि उहाँले यूसुफलाई बचाउनुभएन। केही समयपछि, यूसुफलाई पोतीफरकी पत्नीको बलात्कार गर्न खोजेको आरोपमा झ्यालखानामा थुनियो। यस पटक पनि यहोवाले केही गर्नुभएन। के यसको मतलब यहोवाले यूसुफलाई त्याग्नुभएको थियो त? त्यसो त पटक्कै होइन किनभने बाइबल यसो भन्छ: “यूसुफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।”—उत्प. ३९:२१-२३.

१४. रिसाउन ‘छोड्‌दा’ आध्यात्मिक र शारीरिक तवरमा कस्ता फाइदाहरू हुन्छन्‌?

१४ अर्को उदाहरण विचार गरौं। परमेश्‍वरको मित्र दाऊदले जत्तिको दुर्व्यवहार त कमै मानिसले मात्र भोगेका होलान्‌। तैपनि तिनले मनमा रिस पालिराखेनन्‌। बरु तिनले यस्तो लेखे: “रिसाउन छोड्‌ र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भज. ३७:८) रिसाउन ‘छोड्‌नुपर्ने’ मुख्य कारण के हो? हामी यहोवाको अनुकरण गर्न चाहन्छौं, जसले “हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन।” (भज. १०३:१०) रिसाउन ‘छोड्‌दा’ अरू फाइदा पनि हुन्छन्‌। किनभने रिस पालिराख्दा उच्च रक्‍तचाप र श्‍वासप्रश्‍वाससम्बन्धी समस्या हुन सक्छ। यसले हाम्रो कलेजो, प्याङ्‌क्रियाज र पाचन प्रणालीमा असर गर्न सक्छ। रिसाएको बेला हामी अक्सर ठीकसित सोच्न सक्दैनौं। अनि कहिलेकाहीं रिसको झोंकमा हामीले बोलेको कुरा वा गरेको व्यवहारले अरूको चित्त दुख्न सक्छ। यसरी अरूको चित्त दुखाएको कुरा सम्झँदा त्यसले हामीलाई लामो समयसम्म निराश बनाउन सक्छ। त्यसैले रिसाउनुभन्दा शान्त रहनु बेस हो किनभने बाइबल यसो भन्छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितो. १४:३०) त्यसोभए अरूले हाम्रो चित्त दुखाउँदा के गर्न सक्छौं? अनि आफ्नो भाइसित कसरी शान्ति कायम गर्न सक्छौं? बाइबलमा पाइने बुद्धिमानी सल्लाह लागू गरेर।

भाइबहिनीले हाम्रो चित्त दुखाउँदा

१५, १६. कसैले हाम्रो चित्त दुखाउँदा के गर्न सक्छौं?

१५ एफिसी ४:२६ पढ्‌नुहोस्‌। यहोवाको उपासना नगर्ने मानिसहरूले हामीसित कठोर व्यवहार गर्दा हामी अचम्म मान्दैनौं। तर सङ्‌गी उपासक वा परिवारको सदस्यले हाम्रो चित्त दुखाउने केही कुरा भन्यो वा गऱ्‍यो भने हाम्रो मन छियाछिया हुन सक्छ। जति प्रयास गरे पनि हामीले त्यो कुरा बिर्सनै सकेनौं भने नि? के हामी वर्षौंसम्म मनमा रिस पालिराख्छौं? अथवा बाइबलको सल्लाह पालन गरेर सकेसम्म छिटो मतभेद सुल्झाउँछौं? मतभेद सुल्झाउन हामी जति ढिलो गर्छौं, शान्ति कायम गर्न उति नै गाह्रो हुन्छ।

१६ मानौं, एक जना भाइले तपाईंको चित्त दुखाए अनि तपाईंले त्यो कुरा बिर्सनै सक्नुभएन। तिनीसित शान्ति कायम गर्न तपाईं कस्तो कदम चाल्न सक्नुहुन्छ? पहिलो कदम, यहोवासित व्यग्र प्रार्थना गर्नुहोस्‌। त्यस भाइसित राम्ररी कुरा गर्न सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। तिनी पनि उहाँकै मित्र हुन्‌ भनेर नबिर्सनुहोस्‌। (भज. २५:१४) उहाँ तिनलाई माया गर्नुहुन्छ। उहाँ आफ्ना मित्रहरूसित दयालु व्यवहार गर्नुहुन्छ। अनि हामीले पनि त्यसै गरेको आशा गर्नुहुन्छ। (हितो. १५:२३; मत्ती ७:१२; कल. ४:६) दोस्रो कदम, तिनलाई भेटेर के भन्‍ने भनेर पहिल्यै राम्ररी सोच्नुहोस्‌। तिनले जानाजानी तपाईंको चित्त दुखाएका हुन्‌ भन्‍ने नसोच्नुहोस्‌; तिनको मनसायमाथि शङ्‌का नगर्नुहोस्‌। अनि तिनीसित यस्तो मतभेद हुनुमा आफ्नो पनि केही दोष हुन सक्छ भनेर मानिलिन तयार हुनुहोस्‌। तपाईं तिनीसित यस्तै केही भनेर कुराकानी सुरु गर्न सक्नुहुन्छ, “मलाई थाह छ, तपाईंले जानाजानी त्यसो गर्नुभएको होइन तर हिजो तपाईंले भन्‍नुभएको कुराले मेरो . . .।” यसरी कुरा थालेपछि पनि तपाईंले सोचेजस्तो कुरा अघि बढेन भने शान्ति कायम गर्ने अर्को मौका खोज्नुहोस्‌। त्यतिन्जेल तिनको लागि प्रार्थना गर्नुहोस्‌; यहोवासित तिनको लागि आशिष्‌ माग्नुहोस्‌। तिनका राम्रा गुणहरूमा ध्यान दिन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। यो कुरा नबिर्सनुहोस्‌, तिनी पनि परमेश्‍वरका मित्र हुन्‌। त्यसैले परिणाम जस्तोसुकै होस्‌, आफ्नो सङ्‌गी भाइसित शान्ति कायम गर्न तपाईंले गर्नुभएको निष्कपट प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌।

विगतमा गरेको गल्तीले पिरोल्दा

१७. हामीले पाप गरेका छौं भने यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? हामीले किन त्यो मदत स्विकार्नुपर्छ?

१७ विगतमा गम्भीर पाप गरेकोले कोही-कोही यहोवाको सेवा गर्न अयोग्य महसुस गर्छन्‌। दोषी भावनाले हाम्रो शान्ति, आनन्द र बल खोस्न सक्छ। दोषी भावनाले पिरोलिएका राजा दाऊदले यस्तो लेखे: “जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कलाशब्दले गर्दा मक्किए। किनकि दिन रात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो।” खुसीको कुरा, यहोवा आफ्ना सेवकहरूले जे गरेको चाहनुहुन्छ, दाऊदले त्यसै गरे। तिनले लेखे: “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें . . . र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।” (भज. ३२:३-५) तपाईंले गम्भीर पाप गर्नुभएको छ भने पनि यहोवा तपाईंलाई मदत गर्न तयार हुनुहुन्छ। तर मण्डलीमार्फत उहाँले दिनुहुने मदत तपाईंले स्विकार्नुपर्छ। (हितो. २४:१६; याकू. ५:१३-१५) ढिलो नगर्नुहोस्‌, यसमा तपाईंको अनन्त जीवन निर्भर छ! तर मानौं, पापको क्षमा पाएको धेरै पछि पनि तपाईं अझै दोषी महसुस गर्नुहुन्छ। त्यसो हो भने तपाईंले के गर्नुपर्छ?

१८. यहोवाको सेवा गर्न अयोग्य महसुस गरिरहेकाहरूले पावलको उदाहरणबाट कस्तो मदत पाउन सक्छन्‌?

१८ विगतमा गरेका पापहरूले गर्दा प्रेषित पावल कहिलेकाहीं निराश भएका थिए। तिनले यसो भने: “प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ, किनभने मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरें।” तैपनि पावलले यसो भने: “तर म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हो।” (१ कोरि. १५:९, १०) पावल त्रुटिपूर्ण छन्‌ भनेर यहोवालाई थाह थियो। त्यसैले पावलले विगतमा गम्भीर गल्ती गरेको भए तापनि यहोवाले तिनलाई स्विकार्नुभयो। पावलले पनि यो कुरा बुझेको उहाँ चाहनुहुन्थ्यो। आफूले विगतमा गरेका पापहरूको लागि तपाईंले साँचो पश्‍चात्ताप गर्नुभएको छ, यहोवासामु त्यो स्विकार्नुभएको छ र गम्भीर पाप हुँदा एल्डरहरूसामु पनि स्विकारिसक्नुभएको छ भने यहोवाले तपाईंलाई पक्कै क्षमा गर्नुहुनेछ। त्यसैले यहोवाले क्षमा गर्नुभएको छ भनेर ढुक्क हुनुहोस्‌ र उहाँको क्षमा स्विकार्नुहोस्‌!—यशै. ५५:६, ७.

१९. सन्‌ २०१८ को वार्षिक पद के हो? यो किन उपयुक्‍त छ?

१९ यस युगको अन्त नजिकिंदै जाँदा अझ धेरै समस्याहरू आइपर्नेछन्‌। तर यो कुरामा ढुक्क हुनुहोस्‌, ‘दुर्बलहरूलाई बल दिनुहुने र शक्‍तिहीनको शक्‍ति बढाइदिनुहुने’ परमेश्‍वरले तपाईंलाई पनि आवश्‍यक बल दिन सक्नुहुन्छ। (यशै. ४०:२९; भज. ५५:२२; ६८:१९) सन्‌ २०१८ मा प्रत्येक चोटि राज्यभवन जाँदा यस महत्त्वपूर्ण सत्यलाई सम्झनेछौं। वार्षिक पदका यी शब्दहरूमा पनि यही सत्य व्यक्‍त गरिएको छ: यहोवाको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌।—यशै. ४०:३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने