प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर pp. ८-१३
  • “तिमी मसित प्रमोदवनमा हुनेछौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमी मसित प्रमोदवनमा हुनेछौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवनमा जीवन कस्तो हुनेछ?
  • राजा सुलेमानको शासनकाल —प्रमोदवनको पूर्वझलक
  • अभिषिक्‍त जनहरूले कस्ता कामहरू गर्नेछन्‌?
  • प्रमोदवनमा बस्न “अरू भेडा”-ले के गर्नुपर्छ?
  • तपाईँ प्रमोदवनमा सधैँभरि बाँच्न सक्नुहुन्छ
  • एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर pp. ८-१३

अध्ययन लेख ५०

“तिमी मसित प्रमोदवनमा हुनेछौ”

“म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लुका २३:४३.

गीत १४५ वाचा नयाँ संसारको

परिचयa

१. येसुले आफूसँगै झुन्ड्याइएको अपराधीलाई के भन्‍नुभयो? (लुका २३:३९-४३)

येसु र उहाँसँगै यातनाको खम्बामा झुन्ड्याइएका दुई जना अपराधी असह्‍य पीडाले छटपटाइरहनुभएको थियो। (लुका २३:३२, ३३) ती अपराधीहरूले येसुको गिल्ला गरिरहेका थिए। (मत्ति २७:४४; मर्कु. १५:३२) त्यसैले तिनीहरू येसुका चेला थिएनन्‌ भनेर स्पष्ट छ। तर तिनीहरूमध्ये एक जनाको मनोवृत्ति परिवर्तन भयो। उसले यसो भन्यो: “हे येसु, तपाईँ राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।” येसुले उसलाई भन्‍नुभयो: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लुका २३:३९-४३ पढ्‌नुहोस्‌।) त्यस अपराधीले येसुले मानिसहरूलाई सुनाउनुभएको “स्वर्गको राज्य”-को सन्देश स्विकारेको थियो भन्‍ने छनक बाइबलमा कतै पाइँदैन। अनि येसुले पनि ऊ स्वर्गको राज्यमा हुनेछ भन्‍नुभएन। (मत्ति ४:१७) त्यसैले येसुले पृथ्वीमा आउने प्रमोदवनबारे कुरा गर्दै हुनुहुन्थ्यो। हामी किन त्यसो भन्‍न सक्छौँ?

येसुलाई यातनाको खम्बामा झुन्ड्याइएको छ। एक अपराधी उहाँसित कुरा गर्दै छ।

येसुसँगै झुन्ड्याइएको अपराधी को हुन सक्छ र उसलाई कुन कुरा थाह भएको हुन सक्छ? (अनुच्छेद २-३ हेर्नुहोस्‌)

२. त्यो पश्‍चात्तापी अपराधी यहुदी थियो भनेर केले देखाउँछ?

२ त्यो पश्‍चात्तापी अपराधी यहुदी हुन सक्छ। उसले अर्को अपराधीलाई यसो भन्यो: “तैँले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस्‌ तैपनि के तँलाई परमेश्‍वरको अलिकता पनि डर लाग्दैन?” (लुका २३:४०) यहुदीहरू एक जना मात्र परमेश्‍वरको उपासना गर्थे तर अन्यजातिका मानिसहरू भने थुप्रै देवीदेवता पुज्थे। (प्रस्थ. २०:२, ३; १ कोरि. ८:५, ६) ती अपराधीहरू अन्यजाति भएका भए सायद उसले यस्तो प्रश्‍न सोध्थ्यो होला: “के तँलाई ईश्‍वरहरूको अलिकता पनि डर लाग्दैन?” अनि अर्को कुरा, येसुले साधारणतया अन्यजातिलाई साक्षी दिनुभएन किनकि उहाँलाई अन्यजातिकहाँ होइन, ‘इस्राएलको घरानाका हराएका भेडाहरूकहाँ’ पठाइएको थियो। (मत्ति १५:२४) यसबाहेक परमेश्‍वरले इस्राएलीहरूलाई मरेकाहरू फेरि जीवित हुनेछन्‌ भनेर प्रकट गर्नुभएको थियो। अनि यो कुरा त्यस पश्‍चात्तापी अपराधीलाई पनि थाह भएको हुनुपर्छ। यहोवाले येसुलाई आफ्नो राज्यको राजा हुन फेरि जीवित पार्नुहुनेछ भनेर उसले मानिलिएको कुरा उसका शब्दहरूबाट देखिन्छ। त्यस अपराधीले परमेश्‍वरले उसलाई पनि जीवित पार्नुहुनेछ भनेर आशा गरेको हुन सक्छ।

३. येसुले प्रमोदवनबारे बताउनुहुँदा त्यस अपराधीले के सोचेको हुनुपर्छ? व्याख्या गर्नुहोस्‌। (उत्पत्ति २:१५)

३ त्यो पश्‍चात्तापी अपराधी यहुदी भएकोले उसलाई आदम र हव्वाबारे अनि यहोवाले तिनीहरूलाई राख्नुभएको प्रमोदवनबारे थाह भएको हुन सक्छ। त्यसैले येसुले बताउनुभएको प्रमोदवन पृथ्वीमै हुने सुन्दर बगैँचा हो भनेर त्यस अपराधीले बुझेको हुनुपर्छ।—उत्पत्ति २:१५ पढ्‌नुहोस्‌।

४. येसुले त्यस अपराधीलाई भन्‍नुभएको कुराले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

४ येसुले त्यस अपराधीलाई भन्‍नुभएको कुराले हामीलाई प्रमोदवनमा जीवन कस्तो हुनेछ भनेर सोच्न उत्प्रेरित गर्नुपर्छ। राजा सुलेमानको शासनमा छाएको शान्तिबाट प्रमोदवनबारे केही कुरा सिक्न सक्छौँ। महान्‌ सुलेमान येसु ख्रिष्टले यस पृथ्वीलाई सुन्दर प्रमोदवन बनाउन आफ्ना सहशासकहरूसित मिलेर काम गर्नुहुनेछ भनेर हामीलाई थाह छ। (मत्ति १२:४२) त्यसैले “अरू भेडा”-ले प्रमोदवनमा सधैँभरि बाँच्न के गर्नुपर्छ भन्‍ने कुरामा चासो राख्नुपर्छ।—युह. १०:१६.

प्रमोदवनमा जीवन कस्तो हुनेछ?

५. तपाईँलाई प्रमोदवनमा जीवन कस्तो हुनेछ जस्तो लाग्छ?

५ प्रमोदवनबारे सोच्दा तपाईँको दिमागमा कस्तो कुरा आउँछ? सायद तपाईँ अदनको बगैँचाजस्तै सुन्दर बगैँचाको कल्पना गर्नुहुन्छ होला। (उत्प. २:७-९) अथवा परमेश्‍वरका मानिसहरू “आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌” भनेर मिकाले गरेको भविष्यवाणी सम्झनुहुन्छ होला। (मिका ४:३, ४) पृथ्वीमा प्रशस्त खानेकुरा हुनेछ भनेर पनि बाइबलमा सङ्‌केत गरिएको छ। (भज. ७२:१६; यसै. ६५:२१, २२) त्यसैले तपाईँ थरीथरीका स्वादिष्ठ खानेकुरा राखिएको टेबुलमा बसेर खाइरहेको कल्पना गर्नुहुन्छ होला। अनि विभिन्‍न बोटबिरुवा र फूलहरूबाट मीठो बास्ना आइरहेको पनि कल्पना गर्नुहुन्छ होला। साथै तपाईँको मनमा आफ्नो परिवार, साथीभाइ अनि फेरि जीवित भएर आएका अरू मानिसहरूसँगै हाँस्दै रमाइलो गरिरहेको दृश्‍य पनि आउँछ होला। यी कुराहरू केवल सपना मात्र होइन। यी कुराहरू साँच्चै यसै पृथ्वीमा पूरा हुनेछन्‌। हामी प्रमोदवनमा स्फूर्तिदायी कामहरू पनि गर्नेछौँ।

अघिल्लो लेखमा उल्लेख गरिएका वृद्ध भाइ प्रमोदवनमा जवान भएका छन्‌ र तिनी येसुसँगै झुन्ड्याइएको अपराधीलाई सिकाउँदै छन्‌।

हामीले फेरि जीवित भएकाहरूलाई सिकाउने महत्त्वपूर्ण काम पाउनेछौँ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. हामीले प्रमोदवनमा के-कस्ता कामहरू गर्नेछौँ? (चित्र हेर्नुहोस्‌।)

६ यहोवाले हामीलाई आफ्नो कामबाट सन्तुष्टि पाउनेगरि सृष्टि गर्नुभएको छ। (उप. २:२४) हामी ख्रिष्टको हजार वर्षीय शासनको दौडान निकै व्यस्त हुनेछौँ। महासङ्‌कष्ट जिउँदै पार गरेकाहरू र फेरि जीवित भएका लाखौँ मानिसलाई गाँस, बास र कपासको आवश्‍यकता पर्नेछ। त्यसको लागि हामीले धेरै काम गर्नुपर्नेछ र त्यस कामबाट हामीले सन्तुष्टि पाउनेछौँ। आदम र हव्वाले आफ्नो बगैँचारूपी घरलाई फैलाउँदै लैजानुपर्ने थियो। हामीले पनि यस पृथ्वीलाई सुन्दर प्रमोदवन बनाउने रमाइलो काम पाउनेछौँ। फेरि जीवित भएका लाखौँ मानिसलाई यहोवा र उहाँको उद्देश्‍यबारे सिकाउने अनि येसुअघिका वफादार सेवकहरूलाई तिनीहरू मरेपछि के-के भयो भनेर सुनाउने मौका पाउनेछौँ। यो काम कत्ति रमाइलो हुनेछ, कल्पना गर्नुहोस्‌!

७. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ र किन?

७ प्रमोदवनमा शान्ति र समृद्धि छाउनेछ अनि सबै कुरा व्यवस्थित हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। किन? किनभने यहोवाले उहाँको छोराको शासनमा मानिसको जीवन कस्तो हुनेछ भन्‍ने कुराको पूर्वझलक देखाइसक्नुभएको छ। राजा सुलेमानको शासनकालको विवरणबाट हामी यो कुरा थाह पाउन सक्छौँ।

राजा सुलेमानको शासनकाल —प्रमोदवनको पूर्वझलक

८. भजन ३७:१०, ११, २९ मा राजा दाउदले लेखेका शब्दहरू पुरातन समयमा कसरी पूरा भए? (यस अङ्‌कको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।)

८ राजा दाउदले भविष्यमा एक जना बुद्धिमान्‌ र वफादार राजाले शासन गर्दा जीवन कस्तो हुनेछ भनेर लेख्ने प्रेरणा पाए। (भजन ३७:१०, ११, २९ पढ्‌नुहोस्‌।) मानिसहरूसित प्रमोदवनबारे कुरा गर्दा हामी अक्सर भजन ३७:११ पढेर सुनाउँछौँ। येसुले पनि भविष्यमा यो कुरा पूरा हुनेछ भनेर सङ्‌केत गर्दै डाँडाको उपदेशमा यो पद उद्धरण गर्नुभएको थियो। (मत्ति ५:५) तर दाउदका यी शब्दहरूले राजा सुलेमानको शासनकालमा जीवन कस्तो हुनेछ भनेर पनि देखायो। सुलेमानले इस्राएलमा शासन गर्दा परमेश्‍वरका मानिसहरूले “दूध र मह बग्ने” त्यस देशमा अपार शान्ति र समृद्धिको आनन्द उठाए। परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्‍यौ . . . भने मेरो आशिष्‌ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ; कसैले तिमीहरूलाई डर देखाउनेछैन र तिमीहरू मस्त निदाउन सक्नेछौ।” (लेवी २०:२४; २६:३, ६) यी प्रतिज्ञाहरू सुलेमानको शासनकालमा पूरा भए। (१ इति. २२:९; २९:२६-२८) अनि यहोवाले दुष्टहरूको “नामोनिसान मेटिनेछ” भनेर प्रतिज्ञा गर्नुभयो। (भज. ३७:१०) त्यसैले भजन ३७:१०, ११, २९ का शब्दहरू पुरातन समयमा पूरा भए र भविष्यमा पनि पूरा हुनेछन्‌।

९. राजा सुलेमानको शासनबारे सेबाकी महारानीले के भनिन्‌?

९ सुलेमानको शासनमा इस्राएलमा छाएको शान्ति र समृद्धिबारे सुनेपछि त्यो हेर्न सेबाकी महारानी लामो यात्रा गरेर यरुसलेम आइन्‌। (१ राजा १०:१) सबै कुरा आफ्नै आँखाले देखेपछि तिनले यसो भनिन्‌: “मलाई त यसको आधा पनि बताइएको रहेनछ। . . . तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्‍न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्‌!” (१ राजा १०:६-८) तर सुलेमानको शासनकालमा छाएको शान्ति र समृद्धि भविष्यमा येसुले पृथ्वीमा शासन गर्नुहुँदा मानिसहरूले अनुभव गर्ने कुराको एउटा सानो झलक मात्र थियो।

१०. येसु कुन-कुन तरिकामा सुलेमानभन्दा उत्कृष्ट हुनुहुन्छ?

१० येसु हरेक कुरामा सुलेमानभन्दा उत्कृष्ट हुनुहुन्छ। सुलेमान त्रुटिपूर्ण थिए र तिनले आफ्नो शासनकालमा गम्भीर गल्तीहरू गरे, जसले गर्दा परमेश्‍वरका मानिसहरूले धेरै दुःख पाए। अर्कोतर्फ, येसु त्रुटिरहित शासक हुनुहुन्छ र उहाँ कुनै गल्ती गर्नुहुन्‍न। (लुका १:३२; हिब्रू ४:१४, १५) सैतानले कठिन परीक्षाहरू ल्याउँदा समेत उहाँ वफादार रहनुभयो। येसुले कहिल्यै पाप गर्नुहुनेछैन र आफ्नो वफादार प्रजालाई हानि हुने कुनै काम गर्नुहुनेछैन भनेर उहाँले प्रमाणित गर्नुभएको छ। उहाँलाई हाम्रो राजाको रूपमा पाउनु साँच्चै सम्मानको कुरा हो!

११. शासन गर्न येसुलाई कसले साथ दिनेछन्‌?

११ मानिसजातिको ख्याल राख्न र पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य पूरा गर्न येसुलाई १ लाख ४४ हजार सहशासकले साथ दिनेछन्‌। (प्रका. १४:१-३) पृथ्वीमा छँदा यी पुरुष तथा स्त्रीहरूले थुप्रै परीक्षा र दुःखकष्ट भोगेका थिए। त्यसैले तिनीहरू मानिसहरूको भावना राम्ररी बुझ्न सक्छन्‌। ती सहशासकहरूले कस्ता कामहरू गर्नेछन्‌?

अभिषिक्‍त जनहरूले कस्ता कामहरू गर्नेछन्‌?

१२. यहोवाले १ लाख ४४ हजार सहशासकलाई कस्तो जिम्मेवारी दिनुहुनेछ?

१२ येसु र उहाँका सहशासकहरूलाई दिइएको जिम्मेवारी सुलेमानलाई दिइएको भन्दा कता हो कता ठूलो छ। राजा सुलेमानले एउटा मात्र देशका लाखौँ मानिसको ख्याल राख्नुपर्थ्यो। तर परमेश्‍वरको राज्यमा शासन गर्नेहरूले संसारभरिका करोडौँ मानिसको ख्याल राख्नुपर्नेछ। यहोवाले ती १ लाख ४४ हजार सहशासकलाई ठूलो सुअवसर दिनुभएको छ!

१३. येसुका सहशासकहरूले कस्तो विशेष जिम्मेवारी पाउनेछन्‌?

१३ येसुले जस्तै १ लाख ४४ हजार सहशासकले राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌। (प्रका. ५:१०) मोसाको व्यवस्थाअन्तर्गत मुख्यतया पुजारीहरूले मानिसहरूको शारीरिक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुपर्थ्यो। तर त्यो व्यवस्था “आउन लागेका असल कुराहरूको छाया मात्र” थियो। (हिब्रू १०:१) त्यसैले येसुका सहशासकहरूले परमेश्‍वरका मानिसहरूको भौतिक र आध्यात्मिक आवश्‍यकताको ख्याल राख्ने विशेष जिम्मेवारी पाउनेछन्‌ भन्‍ने निष्कर्षमा पुग्नु तर्कसङ्‌गत छ। तर ती राजा र पुजारीहरूले आफ्नो प्रजासित कसरी सञ्चार कायम गर्नेछन्‌ भन्‍ने कुराचाहिँ भविष्यले नै देखाउनेछ। जेहोस्‌, प्रमोदवनमा रहने मानिसहरूले परमेश्‍वरबाट आवश्‍यक डोऱ्‍याइ पाउनेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—प्रका. २१:३, ४.

प्रमोदवनमा बस्न “अरू भेडा”-ले के गर्नुपर्छ?

१४. “अरू भेडा” र ख्रिष्टका भाइहरूबीच कस्तो सम्बन्ध छ?

१४ येसुले भविष्यमा आफूसँगै शासन गर्नेहरूलाई “सानो बगाल” भन्‍नुभयो। (लुका १२:३२) उहाँले अर्को समूहबारे पनि बताउनुभयो, जसलाई उहाँले “अरू भेडा” भन्‍नुभयो। यी दुई समूह मिलेर एउटा बगाल बनेको छ। (युह. १०:१६) यी दुइटै समूह सँगै मिलेर काम गर्दै छन्‌ र प्रमोदवनमा पनि यसरी नै काम गर्नेछन्‌। तर त्यतिबेला “सानो बगाल”-काहरू स्वर्ग गइसकेका हुनेछन्‌ भने “अरू भेडा”-ले यसै पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाउनेछन्‌। तर “अरू भेडा”-ले प्रमोदवनमा बस्न अहिल्यै केही आवश्‍यकता पूरा गर्नुपर्छ।

सोही भाइ औषधी पसलेसित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट छलफल गर्दै छन्‌।

हामी अहिल्यैदेखि प्रमोदवनको लागि तयारी गर्न सक्छौँ (अनुच्छेद १५ हेर्नुहोस्‌)b

१५. (क) “अरू भेडा”-ले ख्रिष्टका भाइहरूलाई कसरी साथ दिइरहेका छन्‌? (ख) तपाईँ कसरी औषधी किन्‍न गएका भाइको अनुकरण गर्न सक्नुहुन्छ? (तस्बिर हेर्नुहोस्‌।)

१५ येसुसँगै झुन्ड्याइएको पश्‍चात्तापी अपराधीले उहाँले गर्नुभएको त्यागको लागि कृतज्ञ भएको देखाउने पर्याप्त मौका पाएन। तर “अरू भेडा”-का हामीले भने येसुप्रति कृतज्ञ भएको देखाउने थुप्रै मौका पाएका छौँ। जस्तै, हामी येसुका अभिषिक्‍त भाइहरूलाई असल व्यवहार गरेर उहाँलाई प्रेम गरेको देखाउँछौँ। भेडा र बाख्राको न्याय त्यसैको आधारमा गरिनेछ भनेर येसुले बताउनुभयो। (मत्ति २५:३१-४०) साक्षीकार्य र चेला बनाउने काममा जोसिलो भई भाग लिएर हामी ख्रिष्टका भाइहरूलाई साथ दिन सक्छौँ। (मत्ति २८:१८-२०) यसको लागि तिनीहरूले प्रबन्ध गरेको सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!-जस्ता बाइबल अध्ययन सामग्रीहरूको सदुपयोग गर्न चाहन्छौँ। यदि तपाईँले अहिलेसम्म कसैलाई बाइबल अध्ययन गराउनुभएको छैन भने धेरैभन्दा धेरै मानिसलाई बाइबल अध्ययनको प्रस्ताव राख्ने लक्ष्य राख्नुभए कसो होला?

१६. परमेश्‍वरको राज्यको प्रजा हुन हामी अहिल्यैदेखि के-कस्तो तयारी गर्न सक्छौँ?

१६ हामी अहिल्यैदेखि यहोवाले प्रमोदवनमा राख्न चाहनुहुने किसिमको मानिस बन्‍न कोसिस गर्न सक्छौँ। जस्तै, हामी आफ्नो बोली र व्यवहारमा इमानदार हुन अनि आनीबानी सन्तुलित बनाउन सक्छौँ। हामी यहोवा, आफ्नो जीवनसाथी र भाइबहिनीप्रति वफादार हुन सक्छौँ। हामी यस दुष्ट संसारमा जत्ति धेरै यहोवाको स्तरअनुसार चल्न कोसिस गर्छौँ, हामीलाई प्रमोदवनमा त्यसअनुसार जिउन त्यत्ति नै सजिलो हुनेछ। साथै नयाँ संसारमा काम लाग्ने सीपहरू र असल गुणहरू विकास गर्न सक्छौँ। यस अङ्‌कको “के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

१७. के हामीले विगतमा गरेका गम्भीर पापहरूले गर्दा अचाक्ली दोषी महसुस गर्नुपर्छ? व्याख्या गर्नुहोस्‌।

१७ विगतमा गरेका गम्भीर पापहरूले गर्दा अचाक्ली दोषी महसुस गरिरहेका छौँ भने हामीले त्यस्तो भावना हटाउने कोसिस गर्नुपर्छ। तर फिरौतीको बलिदानलाई आड बनाएर ‘जानाजानी पाप गरिरहनु हुँदैन।’ (हिब्रू १०:२६-३१) गम्भीर पापको लागि पश्‍चात्ताप गऱ्‍यौँ, एल्डरहरूले दिने मदत स्विकाऱ्‍यौँ र आफ्नो आचरण सुधाऱ्‍यौँ भने यहोवाले हामीलाई खुला मनले क्षमा दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ। (यसै. ५५:७; प्रेषि. ३:१९) येसुले फरिसीहरूलाई भन्‍नुभएको यो कुरा सम्झनुहोस्‌: “म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” (मत्ति ९:१३) फिरौतीको बलिदानले हाम्रो सबै पाप ढाक्न सक्छ।

तपाईँ प्रमोदवनमा सधैँभरि बाँच्न सक्नुहुन्छ

१८. येसुसँगै मारिएका अपराधीसित तपाईँ कस्तो विषयमा कुरा गर्न चाहनुहुन्छ?

१८ कल्पना गर्नुहोस्‌, प्रमोदवनमा तपाईँ येसुसँगै मारिएका अपराधीसित कुरा गर्दै हुनुहुन्छ। तपाईँहरू एकअर्कालाई येसुको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको कुरा बताउनुहुन्छ होला। अनि तपाईँ तिनलाई येसुको मृत्युको अन्तिम घडीमा के-के भएको थियो र उहाँले “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍नुहुँदा कस्तो महसुस भएको थियो भनेर सोध्नुहुन्छ होला। अर्कोतर्फ, तिनले तपाईँलाई अन्तको दिनमा जीवन कत्तिको कठिन थियो भनेर सोध्लान्‌। तिनी अनि तिनीजस्तै अरू मानिसहरूलाई परमेश्‍वरको वचनबाट सिकाउन पाउनु हाम्रो लागि सम्मानको कुरा हुनेछ!—एफि. ४:२२-२४.

सोही वृद्ध भाइ प्रमोदवनमा जवान भएका छन्‌ र तिनी चित्र बनाउँदै छन्‌ अनि एक बहिनीले हेरिरहेकी छिन्‌। वरपर सुन्दर हिमाल, रूखहरू र फूलहरू छन्‌। नजिकै सिंह, खरायो र जङ्‌गली बाख्रा पनि छ र तिनीहरू सबै शान्तिमा बसिरहेका छन्‌।

ख्रिष्टको हजार वर्षीय शासनको दौडान एक भाइ आफ्नो सोख पूरा गर्न पाएकोमा खुसी देखिन्छन्‌ (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९. प्रमोदवनमा जीवन किन पट्टाइलाग्दो हुनेछैन? (आवरण चित्र हेर्नुहोस्‌।)

१९ प्रमोदवनमा जीवन कहिल्यै पट्टाइलाग्दो हुनेछैन। हामीले विभिन्‍न मानिसलाई भेटेर रमाइलो कुराकानी गर्न सक्नेछौँ र अर्थपूर्ण काम पनि पाउनेछौँ। सबैभन्दा ठूलो कुरा, हामीले स्वर्गमा बस्नुहुने बुबालाई अझ राम्ररी चिन्‍ने अनि उहाँका प्रबन्धहरूबाट आनन्द उठाउने मौका पाउनेछौँ। उहाँबारे र उहाँको सृष्टिबारे सिक्ने काम कहिल्यै सिद्धिनेछैन। समयसँगै यहोवाप्रतिको हाम्रो प्रेम पनि बढ्‌दै जानेछ। प्रमोदवनमा सधैँभरि जिउने सुन्दर आशा दिनुभएकोमा हामी यहोवा र येसुप्रति कृतज्ञ छौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • प्रमोदवनमा जीवन कस्तो हुनेछ?

  • अभिषिक्‍त जनहरूले पृथ्वीलाई प्रमोदवन बनाउन के-कस्तो काम गर्नेछन्‌?

  • “अरू भेडा”-ले प्रमोदवनमा जीवन बिताउन अहिल्यैदेखि के गर्नुपर्छ?

गीत २२ यहोवाको राज्य अब चाँडै आओस्‌!

a के तपाईँ प्रमोदवनमा जीवन कस्तो होला भनेर सोच्नुहुन्छ? यसो गर्नु प्रोत्साहनदायी छ। यहोवाले हाम्रो लागि साँचेर राख्नुभएको कुराबारे जत्ति धेरै सोच्छौँ, मानिसहरूलाई नयाँ संसारबारे त्यत्ति नै उत्साहित भएर सिकाउन सक्नेछौँ। यस लेखले प्रमोदवनबारे येसुले गर्नुभएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासलाई अझ बढाउनेछ।

b तस्बिरको व्याख्या: प्रमोदवनमा फेरि जीवित भएकाहरूलाई सिकाउने आशा राखेका एक भाइ अहिल्यैदेखि अरूलाई सिकाउँदै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने