विश्वशान्ति वास्तवमा यसको अर्थ के हुनेछ?
परमेश्वरले ल्याउनु हुने विश्व-शान्तिमा विश्व-व्यापी युद्धविराम अथवा एउटा आणविक गतिरोध मात्र समावेश हुने होइन। बाइबलमा “शान्ति” शब्दको प्रयोग द्वारा यो स्पष्ट देखिन्छ।
उदाहरणार्थ, हिब्रू शास्त्रमा (“पुरानो नियम”) शान्ति शब्दकालागि शलोम शब्द प्रयोग गरिएको छ। यस शब्दको एउटा रूप उत्पत्ति ३७:१४ मा प्रयोग भएको छ, जहाँ कुल-पिता याकूबले आफ्ना छोरा यूसुफलाई भन्दछन्: “गएर हेर्, तेरा दाज्यूहरू र भेड़ा-बाख्राहरू राम्रै छन् कि छैनन्। औ मकहाँ समाचार ले।”a शलोम शब्द फेरि उत्पत्ति ४१:१६ मा प्रयोग गरिएको छ र यहाँ त्यसलाई “हित” भन्ने अर्थ दिइएको छ।
त्यसकारण, बाइबलको समझ अनुसार, वास्तविक शान्तिको अर्थ सिर्फ द्वन्दको अन्त मात्र होइन तर त्यसमा स्वास्थ्य, सुरक्षा, र कल्याण समेत सामेल छन्। हाम्रो अगस्त १, १९९१ को अङ्कको लेखमा देखाइएको थियो कि, शान्ति ल्याउने समस्याको समाधान मानिसहरूले गर्न सक्तैनन्। “शान्तिका राजकुमार” येशू ख्रीष्टले मात्र सबै अल्झोहरू मिलाउनु भएर पृथ्वीमा साँचो शान्ति ल्याउनु हुनेछ। (यशैया ९:६, ७) उदाहरणकालागि, उहाँका शासनबारे भजनसंग्रह ७२:७, ८ मा बाइबलले गरेको भविष्यवाणीबारे यसो बिचार गर्नुहोस्: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुनञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्र देखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ।” कल्पना गर्नुहोस्—स्वास्थ्य, सुरक्षा, र कल्याण विश्व-व्यापी स्तरमा हुने कुरा! कुनै पनि राजनैतिक सन्धि-पत्रले यस प्रकारका कुराहरू सम्पन्न गर्न सक्तैन। परमेश्वरको राज्यले मात्र गर्न सक्तछ, र त्यसले यस बाहेक अझ धेरै कुरा सम्पन्न गर्नेछ। बाइबलमा भविष्यवाणीहरू द्वारा भविष्यमा हुने यस विश्वशान्तिबारे प्रशस्त अग्रिम झल्कोहरू दिइएको छ। ती मध्य केहीलाई विचार गरौं।
विश्वव्यापी निःशस्त्रीकरण—परमेश्वरको तरिका अनुसार!
भजनसंग्रह ४६:८, ९ ले भन्दछ: “आओ, परमप्रभुका [यहोवाका न्यु.व.] काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।” “धनु,” “भाला,” र “रथ,” युद्धका अस्त्र वा यन्त्रका प्रतीकहरू हुन्। यस प्रकार यहोवाले हतियारहरूलाई सीमित पार्नु वा पूर्ण निःशस्त्रीकरण मात्र गर्नु हुने छैन। उहाँले आणविक हतियारहरू, तोपहरू, ट्यांकहरू, राकेट छाड़नेहरू, हत्गोलाहरू, प्लास्टिक विस्फोटकहरू, राइफल र हाते बन्दूकहरू—अथवा विश्वशान्तिमा खलल पुऱ्याउने प्रत्येक कुरालाई बिल्कुलै नष्ट गरी दिनुहुनेछ!
तथापि, युद्धको मूल कारण हतियारहरू मात्र होइनन्। अक्सर, युद्धको जरो, असिद्ध मानिसहरूको घृणास्पद, लोभयुक्त, अथवा हिंसात्मक प्रकृतिमा गाड़िएको हुन्छ। (याकूब ४:१-३ सँग तुलना गर्नुहोस्) त्यसकारण परमेश्वरको राज्यले मानिसहरूमा हुने त्यस प्रकारका घृणित व्यक्तित्वलाई हटाएर युद्धको मूल कारण माथि नै आक्रमण गर्नेछ। कसरी? एउटा विश्व-व्यापी शैक्षिक कार्यक्रम द्वारा। “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको [यहोवाको न्यु. व.] ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.
यस प्रकार “यहोवाबाट सिकाइए” पछि, जाति भेदको आधारमा हुने द्वन्द, द्वेष, वा तिरस्कार फेरि देखि मानवजातिमा हुनेछैन। (यूहन्ना ६:४५) “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न,” र पृथ्वीका बासिन्दाहरूले उहाँको निष्पक्षतालाई प्रतिबिम्बित गर्नेछन्। (प्रेरित १०:३४) ईश्वरको राज्यले राष्ट्रिय सिमानाहरूलाई खतम पारेर राष्ट्रिय विवाद हुन सक्ने कुनै सम्भावना समेतलाई समाप्त गर्नेछ। ‘एक समुद्रदेखि अर्को समुद्रसम्म र पृथ्वीको पल्लो छेउसम्म’ सबैले नै ख्रीष्टका शासन प्रति आफ्नो स्वेच्छापूर्ण र कृतज्ञतापूर्ण निष्ठा जनाउनेछन्।—भजनसंग्रह ७२:८.
यस प्रकारको शान्ति कायम रहिरहोस् भनेर, मानव इतिहासमा पाइने सबै भन्दा विभाजक शक्ति, झूटो धर्म समेतलाई राज्यले अन्त गर्नेछ। (सपन्याह २:११) मानवजाति एक मात्र साँचो परमेश्वरको आफ्नो उपासनामा एकताबद्ध हुनेछ। (यशैया २:२, ३) एउटा विश्व-व्यापी बन्धुत्व कायम हुनेछ!
घरमा शान्ति
तथापि, व्यक्तिगत घरहरू युद्ध-क्षेत्र भएर त्यहाँ सँधै गाली-गलौज र झैं-झगड़ा भइरहेमा, विश्वशान्तिको के महत्व। आज धेरै जसो परिवारको यस्तै अवस्था छ। कति परिवारले आफ्ना भित्री वैर भावहरूलाई मन मिचेर सहिरहेका छन्।
त्यसकारण, साँचो शान्ति भन्नाले त्यसमा पारिवारिक शान्ति पनि समावेश हुनु पर्दछ। राज्यको शैक्षिक कार्यक्रम अन्तर्गत, पति र पत्नीलाई आपसमा प्रेम र आदर साथ व्यवहार गर्न सिकाइने छ। (कलस्सी ३:१८, १९) केटा-केटीहरूलाई ‘सबै कुरामा आमा-बाबुका आज्ञा पालन गर्न’ सिकाइने छ। (कलस्सी ३:२०) आफ्ना आमा-बाबुहरूलाई दिक्क पार्ने खालका विद्रोही युवा-युवती त्यहाँ हुने छैनन्। सबै नै आज्ञाकारी र सहयोगी हुनेछन्। केटा-केटीहरू हेर्नमा आनन्ददायक हुनेछन् र तिनीहरूका नजिक हुन एउटा खुशीको कुरा हुनेछ।
आजकल, आर्थिक दबाउको कारण, पारिवारिक तनाव धेरै नै बढ़ेको छ, किनकि आमा-बाबु दुवैले सांसारिक जागिरको भारी बोझ उठाउनु परेको छ। तर येशूका शासन अन्तर्गत्, चर्को घर-भाड़ा, धितो बन्धकको व्याज, बढ्दो करहरू, बेरोजगारी जस्ता आर्थिक बोझको दबाउबाट परिवारहरूले छुटकारा पाउनेछन्। सन्तोषजनक र चुनौतीपूर्ण कामहरू प्रशस्त मात्रामा हुनेछन्। र कसैलाई पनि घर-विहीन हुने खाँचो पर्ने छैन। यी तथ्यहरू माथि यशैया ६५:२१-२३ मा उल्लेखित् भविष्यवाणीले कसरी ज्योति दिन्छ, त्यसलाई ध्यान दिनु होस्: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन् . . . तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन . . . छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। किनभने तिनीहरू व्यर्थमा परिश्रम गर्नेछैनन्, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्, किनकि तिनीहरू आफ्ना बाल-बच्चाहरू समेत परमप्रभुको [यहोवाको न्यु. व.] आशिष पाएको वंश हुन्।”
एउटा यस्तो वातावरणमा बसेको अनुमान गर्नुहोस्, जहाँ बिग्रँदो शहरहरूको गन्ध, दृश्य, र आवाजले आक्रमण गर्दैन! राम्रोसँग विकास गरेर, एउटा सुन्दर र सफा बगैंचामा परिणत भएको—तपाईंको आफ्नै हरियो जग्गामा घर बसाल्नु भएको कल्पना गर्नु होस्। आनन्ददायक सफा र सुग्घर हावामा सास लिन पाएको र आधुनिक सभ्यताको कर्कस आवाजको ठाउँमा शान्त, स्वभाविक आवाजहरू सुनेको कल्पना गर्नुहोस्। हो, केही भाग्यवान व्यक्तिहरूले अहिले पनि केही हदसम्म ती कुराहरूको आनन्द उठाइ रहेका छन्। तर परमेश्वरको राज्य अन्तर्गत, शान्तमय ढङ्गले बस्ने अवस्थाको आनन्द सबैले पाउनेछन्। कोही पनि गरीब, भोको, र सुविधारहित हुनेछैनन्।—भजनसंग्रह ७२:१३, १४, १६.
बाइबलले अझै प्रतिज्ञा गर्दछ कि “दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्।” (हितोपदेश २:२२) अर्थात् अपराधको अन्त हुनेछ। तपाईंको सानो नानी बाहिर खेल्न गएको बेलामा, केटा-केटीहरूलाई अपहरण गर्ने वा तिनीहरूलाई शारीरिक हानि पुर्याउने मौका छोप्न लुकेर बसेका व्यक्तिहरू, जड्याहा, वाहन-चालकहरू अथवा लागू पदार्थ पछि बेहाल हुने युवाहरूका घुमती टोलीहरूबारे तपाईंले चिन्ता गर्नु पर्ने छैन। तपाईंका छोरा-छोरीहरू एकदमै सुरक्षित अवस्थामा चैनका साथ खेल्ने छन्।
शान्ति र तपाईंको व्यक्तिगत भलाइ
अन्तमा, तपाईंको व्यक्तिगत भलाइको कुरा पनि आउँछ। कतिकै प्रमोदवनीय अवस्था भएता पनि, क्यान्सरको दुखाइ अथवा जोर्नीको सुजबाट हुने वेदना कम हुदैन। त्यसकारण, साँचो शान्तिले रोग, व्यथा, र मृत्युलाई समेत हटाउन सक्नु पर्दछ। के यो सम्भव छ? पृथ्वीमा हुनु हुँदा, मानवीय व्यथाहरूमाथि उहाँको प्रभुत्व छ भन्ने कुरा येशू ख्रीष्टले बार-बार जाहेर गर्नुभयो। (मत्ती ८:१४-१७) आफ्नो स्वर्गीय श्रेष्ठपदबाट, ख्रीष्टले विश्वभरि चमत्कार गर्न सक्नु हुनेछ! बाइबल प्रतिज्ञा गर्दछ, “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।” यशैया ३३:२४; ३५:५, ६.
तथापि, मानवीय दुःखका विरुद्ध ख्रीष्टको अभियान त्यत्तिकैमा टुङ्गिने छैन। ख्रीष्टको राजसत्ता बारे प्रेरित पावल व्याख्या गर्दछन्: “किनकि उहाँले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२५, २६) यसको अर्थ, शुरू देखि नै मानवजातिमाथि मृत्युले गरेको अन्यायको अन्त गर्नु हो। यस कुरालाई येशू ख्रीष्ट स्वयंले यसरी व्याख्या गर्नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको (ख्रीष्टको) सोर सुन्नेछन् र निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) लाखौं अनगिन्ती मानिसहरू जो दुःखका साथ बाँचे, अनि मरे, तिनीहरू सबैले नै त्यस आउने विश्वशान्तिमा सहभागी हुने अवसर पाउनेछन्।
के तपाईं पनि त्यसमा भाग लिनु हुनेछ? बाइबलले यसबारे के सिकाउँछ भनी अझ बढ़ी बुझ्नकालागि यहोवाका साक्षीहरूले तपाईंलाई आग्रह गर्दछन्।b विश्वशान्तिको आशा यति रोमाञ्चकारी, र यति वास्तविक छ कि त्यसको उपेक्षा गर्न सकिंदैन। यस कुरामा तपाईं आश्वस्त रहनुहोस् कि परमेश्वरको वचन सिक्न र प्रयोग गर्न तपाईंले परिश्रम गर्नु भयो भने, “शान्तिका परमेश्वर तपाईंसँग हुनुहुनेछ।”—फिलिप्पी ४:९. (w90 4/15)
[फुटनोटहरु]
a शाब्दिक रूपमा भन्ने हो भने “आफ्नो भाइको शान्ति र बगालको शान्तिमा चासो लिनुहोस्।”
b यस पत्रिकाका प्रकाशकहरूलाई लेख्नु भयो भने निश्शुल्क बाइबल अध्ययनको व्यवस्था मिलाउन सकिन्छ।
[पृष्ठ ५-मा भएको चित्र]
यहोवाले “पृथ्वीको अन्तसम्मै” युद्धहरू खतम गर्नु हुनेछ
[चित्रको स्रोत]
USAF Official Photo
[पृष्ठ ६-मा भएको चित्र]
पति र पत्नीहरूलाई एक अर्कासँग शान्ति सित व्यवहार गर्न सिकाइनेछन्