अध्याय ३३
व्यवहार-कुशल मात्र होइन, दृढ पनि हुनुहोस्
व्यवहार-कुशल हुनु अनावश्यक रूपमा अरूको चित्त नदुखाई व्यवहार गर्न सक्नु हो। यसमा कसरी अनि कुनबेला बोल्ने भन्ने कुरा पनि समावेश छ। यसको मतलब सत्य कुरा थाह पाउँदा पाउँदै पनि सम्झौता गर्नु वा तथ्यलाई बङ्ग्याउनु पनि होइन। व्यवहार-कुशल हुनु मानिससित डराउनु होइन।—हितो. २९:२५.
पवित्र शक्तिको फलले व्यवहार-कुशल हुन निकै मदत गर्छ। प्रेमले उत्प्रेरित भएको मानिसले अरूलाई चिढ्याउन चाहँदैन बरु मदत गर्न चाहन्छ। दयालु र कोमल-स्वभावको व्यक्ति अरूसित भद्र व्यवहार गर्छ। शान्ति कायम गर्ने मानिस अरूसित राम्रो सम्बन्ध राख्न विभिन्न तरिका खोज्छ। मानिसहरूले रूखो व्यवहार गर्दा धैर्यवान् व्यक्ति शान्त रहन्छ।—गला. ५:२२, २३.
बाइबल सन्देश जसरी प्रस्तुत गरे तापनि कोही-कोही मानिसलाई चित्त बुझ्दैन। प्रथम शताब्दीका थुप्रै यहूदीको मन दुष्ट भएको कारण येशू तिनीहरूको निम्ति “ठेस लाग्ने ढुङ्गा र ठक्कर खाने चट्टान” बन्नुभयो। (१ पत्रु. २:७, ८) राज्य घोषणा गर्ने कामको सन्दर्भमा येशूले यसो भन्नुभयो: “म पृथ्वीमा आगो सल्काउन आएँ।” (लूका १२:४९) परमेश्वरको राज्यसम्बन्धी सन्देशमा यहोवाको सार्वभौमिकताको पक्ष लिने कि नलिने, त्यो पनि समावेश छ र यो अहिले पनि सारा मानिसजातिको लागि जल्दोबल्दो विषय भएको छ। परमेश्वरको राज्यले अहिलेको दुष्ट युगलाई हटाउनेछ भन्ने सन्देश थुप्रैलाई राम्रो लाग्दैन। तैपनि हामी परमेश्वरप्रति आज्ञाकारी हुँदै प्रचारकार्यलाई निरन्तरता दिन्छौं। तर यसो गर्दा हामी बाइबलको यो सल्लाह मनमा राख्छौं: “सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।”—रोमी १२:१८.
साक्षी दिंदा व्यवहार-कुशल हुनुहोस्। अरूलाई आफ्नो विश्वासबारे बताउने थुप्रै मौका छन्। प्रचारमा त हामी आफ्नो विश्वासबारे बताइहाल्छौं तर नातेदार, सहकर्मी र सहपाठीसित हुँदा पनि हामी आफ्नो विश्वासबारे बताउने उपयुक्त मौका खोज्छौं। यस्ता सबै परिस्थितिमा व्यवहार-कुशल हुनुपर्छ।
राज्य सन्देशबारे बताउँदा हामीले भाषण छाँटेको पारामा बोल्यौं भने मानिसहरूलाई रिस उठ्न सक्छ। तिनीहरूलाई मदतको आवश्यकता महसुस नहुँदा र तिनीहरूले मदत नमाग्दा पनि हामीले सल्लाह-सुझाव दिएको भान पर्न गयो भने तिनीहरूलाई झोंक चल्न सक्छ। गलत छाप पार्नदेखि हामी कसरी जोगिन सक्छौं? मित्रैलो कुराकानी गर्न सिकेर।
अरूसित कुराकानी थाल्दा तिनीहरूलाई चासो लाग्ने विषय छान्ने प्रयास गर्नुहोस्। नातेदार, सहकर्मी वा सहपाठीसित कुरा गर्दै हुनुहुन्छ भने तिनीहरूलाई चासो लाग्ने विषय तपाईंलाई पहिल्यै थाह हुन्छ। तर पहिला कहिल्यै नभेटेको मानिससित कुरा गर्दै हुनुहुन्छ भने टोल-छिमेकमा वा समाचारमा सुनेको अथवा पत्रपत्रिकाबाट थाह पाएको विषय उल्लेख गर्न सक्नुहुन्छ। यस्तो विषयमा कुरा गर्दा थुप्रैको मनमा के छ, थाह पाउन सकिन्छ। घर-घरको प्रचार गर्दै हुनुहुन्छ भने वरपर हेर्नुहोस्। घरको सजावट, घरमा भएका खेलौना, धर्मसम्बन्धी कुनै सङ्केत आदि कुराहरूबाट घरधनीलाई चासो लाग्ने विषयबारे थप जानकारी पाउन सकिन्छ। घरधनीले आफ्नो विचार व्यक्त गर्दा राम्ररी सुन्नुहोस्। यसो गर्नुभयो भने घरधनीको चासो र दृष्टिकोणबारे तपाईंले बनाएको धारणा पक्का गर्न वा सच्याउन सक्नुहुन्छ। यसका साथै अब तिनलाई साक्षी दिन के भन्नुपर्छ, त्यो पनि थाह पाउन सक्नुहुन्छ।
कुराकानी गर्दा घरधनीले आफ्नो कुरा खुलाउँदै गए भने त्यससित मिल्ने बाइबल पद वा बाइबल आधारित साहित्यहरूमा भएको विषय देखाउनुहोस्। आफै मात्र बोलेको-बोल्यै नगर्नुहोस्। (उप. ३:७) घरधनी इच्छुक छन् भने तिनलाई आफ्नो कुरा बताउन दिनुहोस्। तिनको भनाइ वा विचारमा चासो देखाउनुहोस्। यी कुराले तपाईंलाई व्यवहार-कुशल हुन मदत गर्नेछ।
कुनै कुरा बोल्नुअघि त्यसबारे अर्को व्यक्तिलाई कस्तो लाग्छ, विचार पुऱ्याउनुहोस्। हितोपदेश १६:२३ ले “ज्ञानी मानिसको मनले बोली सम्हाल्छ” भनेर प्रशंसा गरेको छ। “बोली सम्हाल्छ” भनेर अनुवाद गरिएको शब्द मूल हिब्रूमा अन्तरदृष्टि र चतुऱ्याइँसित सम्बन्धित छ। त्यसकारण बोली सँम्भाल्नुमा कुनै पनि कदम चाल्नुअघि राम्ररी सोचविचार गरेर बोल्नु समावेश छ। हितोपदेश १२:१८ मा “व्यर्थको गफ तरवारझैं तीखो” हुने भएकोले हामीलाई होसियार गराइएको छ। हो, अरूलाई झोंक नचल्नेगरि बाइबल सत्यको पक्षमा बोल्न सकिन्छ।
शब्द छनौट गर्दा सुझबुझ चलाउनुभयो भने अनावश्यक तगारो खडा हुनेछैन। जस्तै, “बाइबल” भन्ने शब्द चलाउँदा अवरोध खडा हुन्छ भने त्यसको साटो “पवित्र लेखोट” वा “अहिले २,००० भन्दा धेरै भाषामा प्रकाशित पुस्तक” भन्न सक्नुहुन्छ। बाइबल शब्द नै चलाउनुभयो भने पनि त्यसप्रति घरधनीको विचार कस्तो छ, सोध्नुहोस् अनि त्यही कुरालाई मनमा राख्दै बाँकी कुरा गर्नुहोस्।
व्यवहार-कुशल हुनुमा कतिखेर बोल्नु राम्रो हो, त्यसबारे पक्का गर्नु पनि समावेश छ। (हितो. २५:११) अरूले भनेको एक-एक कुरामा तपाईं सहमत हुनुहुन्न होला तर त्यसो भन्दैमा धर्मशास्त्रसित मेल नखाने प्रत्येक बुँदामा जवाफ फर्काइहाल्नुपर्छ भन्ने पनि होइन। घरधनीलाई सबै कुरा एकैचोटि बताउने नगर्नुहोस्। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन् तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।”—यूह. १६:१२.
तपाईं जोसित कुरा गर्दै हुनुहुन्छ तिनको प्रशंसा गर्न मिल्छ भने मन खोलेर प्रशंसा गर्नुहोस्। घरधनी विवाद गर्ने खालका छन् भने पनि तिनको कुनै खास धारणाको प्रशंसा गर्न सकिन्छ। एथेन्सको अरियोपागसमा बस्ने दार्शनिकहरूसित कुरा गर्दा प्रेषित पावलले त्यसै गरे। ती दार्शनिकहरूले “तिनीसित वाद-विवाद” गरेका थिए। पावल ती दार्शनिकहरूलाई ठेस नपुग्नेगरि कसरी आफ्नो कुरा बताउन सक्थे? एथेन्सका मानिसहरूले देवीदेवताहरूका निम्ति बनाएका वेदीहरू पावलले यसअघि नै देखिसकेका थिए। उनीहरूलाई मूर्तिपूजक भएकोमा निन्दा गर्नुको साटो तिनले व्यवहार-कुशल हुँदै उनीहरूको अटल भक्तिको प्रशंसा गरे। तिनले यसो भने: “देवीदेवताहरूप्रति तपाईंहरूको भक्ति अरू मानिसहरूको भन्दा धेरै रहेछ भनेर म देख्दैछु।” यस्तो तरिका अपनाएको कारण तिनले सत्य परमेश्वरबारे उनीहरूलाई बताउन सके। फलस्वरूप केही मानिस येशूको अनुयायी बने।—प्रेषि. १७:१८, २२, ३४.
कसैले तपाईंको कुरामा आपत्ति जनाउँदा नझोंकिनुहोस्। शान्त रहनुहोस्। यसलाई तिनको मनसाय बुझ्ने मौकाको रूपमा लिनुहोस्। तिनले आफ्नो विचार व्यक्त गरेकोमा कृतज्ञता जाहेर गर्नुहोस्। तर बीचैमा कुरा काट्दै तिनले “मेरो त आफ्नै धर्म छ” भनेमा के गर्ने? व्यवहार-कुशल हुँदै यसो भन्नुहोस्: “ए, तपाईं सानैदेखि नै धर्ममा आस्था राख्नुहुन्थ्यो?” तिनको जवाफ सुनिसकेपछि फेरि यस्तो प्रश्न सोध्नुहोस्: “तपाईंलाई सबै मानिसले एउटै धर्म मान्ने समय आउला जस्तो लाग्छ?” यस्तो प्रश्न सोध्दा तपाईं कुराकानीलाई अघि बढाउन सक्नुहुन्छ।
आफैप्रति सही दृष्टिकोण राख्दा पनि व्यवहार-कुशल हुन मदत मिल्छ। यहोवाको मार्ग सही छ अनि उहाँको वचन सत्य छ भनेर हामी एकदमै पक्का छौं। त्यसैले विश्वस्त भएर यस विषयमा अरूसित कुरा गर्छौं। तर यसो भन्दैमा हामी आत्म-धर्मी हुने कुनै कारण छैन। (उप. ७:१५, १६) सत्य थाह पाएकोमा र यहोवाको आशिष् पाएकोमा हामी कृतज्ञ छौं। यहोवाले हामीलाई असीम अनुग्रह देखाएकोले र ख्रीष्टमाथिको हाम्रो विश्वासले गर्दा मात्र हामीले परमेश्वरको अनुमोदन पाएका हौं; आफ्नै धार्मिकताले गर्दा होइन भनेर हामीले राम्ररी बुझेका छौं। (एफि. २:८, ९) ‘विश्वासमा छौं कि छैनौं, जाँचिरहनुपर्ने र हामी कस्ता मानिस हौं, साबित गर्नुपर्ने’ आवश्यकता हामीले बुझेका छौं। (२ कोरि. १३:५) त्यसैले परमेश्वरको स्तरबमोजिम चल्नुपर्ने आवश्यकताबारे मानिसहरूलाई बताउँदा हामी आफै पनि विनम्र हुँदै बाइबलको सल्लाह पालन गर्छौं। अरूको इन्साफ गर्ने अधिकार हामीसित छैन। यहोवा परमेश्वरले “न्याय गर्ने सम्पूर्ण जिम्मा . . . छोरालाई सुम्पनुभएको छ” र हामी सबैले आफ्नो कामको लेखा ख्रीष्टलाई उहाँको न्यायआसनसामु दिनुपर्छ।—यूह. ५:२२; २ कोरि. ५:१०.
परिवारसित र सँगी ख्रीष्टियनहरूसित पनि व्यवहार-कुशल हुनुहोस्। प्रचारमा मात्र व्यवहार-कुशल भएर पुग्दैन। व्यवहार-कुशल हुनु परमेश्वरको पवित्र शक्तिले काम गरिरहेको प्रमाण हो। त्यसैले परिवारमा पनि हामी व्यवहार-कुशल हुनुपर्छ। प्रेमले हामीलाई अरूको भावनाप्रति विचारशील हुन उत्प्रेरित गर्छ। रानी एस्तरका पति यहोवाका उपासक थिएनन्। तैपनि एस्तरले आफ्नो पतिको आदर गरिन् र यहोवाका सेवकहरूसित सम्बन्धित विषयमा कुरा गर्दा निकै सुझबुझ देखाइन्। (एस्तर, अध्या. ३-८) यहोवाको उपासना नगर्ने परिवारका सदस्यहरूसित व्यवहार-कुशल हुँदा हामीले कहिलेकाहीं आफ्नो विश्वासको व्याख्या गर्नुको साटो आफ्नो आचरणबाटै सत्यको मार्गमा हिंड्नुको फाइदाबारे अवगत गराउनुपर्ने हुन सक्छ।—१ पत्रु. ३:१, २.
मण्डलीका भाइबहिनीलाई राम्ररी चिनेका छौं भन्दैमा तिनीहरूसित ठाड्ठाडै कुरा गर्नु वा निष्ठुर व्यवहार गर्नु मिल्दैन। ‘आफूभन्दा ठूलो मान्छेले त्यसरी कुरा गर्नु त भइहाल्छ नि’ भनेर हामीले तर्क गर्नुहुँदैन। न त “मेरो बोल्ने तरिकै यस्तो छ” भन्ने छुट पाउँछौं। हाम्रो बोल्ने शैलीले अरूलाई ठेस पुऱ्याउँछ भन्ने कुरा थाह पायौं भने छाँटकाँट गर्ने सङ्कल्प गरिहाल्नुपर्छ। एकअर्काप्रति देखाउने “प्रगाढ प्रेम”-ले हामीलाई ‘एउटै विश्वासमा हुने हाम्रा भाइबहिनीहरूको भलाइ गर्न’ उत्प्रेरित गर्छ।—१ पत्रु. ४:८, १५; गला. ६:१०.
श्रोतासामु बोल्दा व्यवहार-कुशल हुनुहोस्। मञ्चबाट बोल्ने व्यक्ति पनि व्यवहार-कुशल हुनै पर्छ। श्रोताहरू विभिन्न पृष्ठभूमि वा परिस्थितिका हुन्छन्। तिनीहरूको आध्यात्मिक अवस्था पनि एकैनासको हुँदैन। कोही-कोही पहिलोचोटि राज्यभवन आएका होलान्। अरू भने तनावग्रस्त होलान् र यसबारे वक्तालाई थाह नहुन सक्छ। श्रोतालाई ठेस नपुग्नेगरि बोल्न वक्तालाई कुन कुराले मदत गर्न सक्छ?
प्रेषित पावलले तीतसलाई दिएको सल्लाहअनुसारै ‘कसैको बदनाम नगर्ने बरु व्यावहारिक हुने र सबै मानिससित व्यवहार गर्दा नम्रता देखाउने’ लक्ष्य बनाउनुहोस्। (ती. ३:२) संसारका मानिसहरू अर्को जाति, अर्को भाषा वा अर्को मुलुकको व्यक्तिलाई साह्रै हेप्छन्; संसारको यस्तो मनोवृत्ति अनुसरण नगर्नुहोस्। (प्रका. ७:९, १०) यहोवाका स्तरबारे खुलस्त कुराकानी गर्नुहोस् र ती पालन गर्नु बुद्धिमानी हो भनेर देखाउनुहोस्। तर अहिलेसम्म यहोवाको मार्गमा नहिंडेकाहरूको कटु आलोचना नगर्नुहोस्। बरु सबैलाई परमेश्वरको इच्छा बुझ्न र उहाँलाई खुसी पार्ने कामकुरा गर्न प्रोत्साहन दिनुहोस्। सल्लाह दिंदा मायालु शब्द प्रयोग गर्नुहोस् र सराहना गर्नुहोस्। हामी सबैले एकअर्कालाई देखाउनुपर्ने भ्रातृप्रेम तपाईंले पनि आफ्नो बोल्ने शैली र आवाजबाट देखाउनुहोस्।—१ थिस्स. ४:१-१२; १ पत्रु. ३:८.