समझ-शक्तिले तपाईंको रक्षा गरोस्
“विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्तिले तेरो रक्षा गर्नेछ।” —हितोपदेश २:११.
१. समझ-शक्तिले हामीलाई कुन कुराबाट रक्षा गर्नसक्छ?
तपाईंले समझशक्ति चलाउनुभएको यहोवा चाहनुहुन्छ। किन? किनभने त्यसले तपाईंलाई विभिन्न खतराहरूदेखि रक्षा गर्नेछ भनी उहाँलाई थाह छ। हितोपदेश २:१०-१९ का सुरुका शब्दहरू यसप्रकार छन्: “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्तिले तेरो रक्षा गर्नेछ।” तर कुन कुराबाट रक्षा? “खराब चाल,” बेइमानी र टेढो मार्गमा हिंड्ने व्यक्तिहरूबाट।
२. समझ-शक्ति भनेको के हो र मसीहीहरू विशेषगरि कस्तो प्रकारको समझ-शक्ति चाहन्छन्?
२ समझ-शक्ति भनेको भिन्नता छुट्याउनसक्ने मानसिक शक्ति हो भनेर तपाईंले बिर्सनुभएको छैन होला। समझ-शक्ति भएको मानिसले विचार वा कामकुराबीच भिन्नता छुट्याउनसक्छ र सही निर्णय गर्छ। मसीहीहरूको हैसियतमा हामी विशेषगरि परमेश्वरको वचन बाइबलको सही ज्ञानमा आधारित समझ-शक्ति चाहन्छौं। धर्मशास्त्रको अध्ययन गर्नु भनेको आध्यात्मिक समझ-शक्तिको खानी खोतल्नुझैं हो। अनि त्यसबाट सिकेका कुराहरूले यहोवालाई प्रसन्न तुल्याउने निर्णयहरू गर्न मदत दिनसक्छन्।
३. हामी आध्यात्मिक समझ-शक्ति कसरी पाउनसक्छौं?
३ परमेश्वरले इस्राएलका राजा सुलेमानलाई के आशिष् चाहन्छन् भनी सोध्नुहुँदा, त्यस जवान शासकले यस्तो जवाफ दिए: “तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन दिनुहोस्, र त्यसले असल खराबको भेद छुट्याउनसकोस्।” सुलेमानले समझ-शक्ति मागे र यहोवाले तिनलाई प्रशस्तै दिनुभयो। (१ राजा ३:९; ४:३०) समझ-शक्ति पाउन हामीले प्रार्थना गर्नुपर्छ अनि “विश्वासी र बुद्धिमान दास” मार्फत प्रबन्ध गरिएको ज्ञानमय प्रकाशनहरूको मदतद्वारा परमेश्वरको वचन अध्ययन गर्नुपर्छ। (मत्ती २४:४५-४७) यसले हामीलाई आध्यात्मिक समझ-शक्ति विकास गर्न मदत गर्नेछ। फलस्वरूप हामी “समझमा मानिस” भएर “खराब र असल छुट्याउन” सक्षम हुनेछौं।—१ कोरिन्थी १४:२०; हिब्रू ५:१४.
समझ-शक्तिको विशेष आवश्यकता
४. आँखा “निर्मल” हुनुको अर्थ के हो र हामी यसबाट कसरी लाभ उठाउनसक्छौं?
४ सही समझ-शक्ति छ भने हामी येशूका यी शब्दहरूअनुरूप जीवन बिताउन सक्नेछौं: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै [भौतिक] थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) येशूले यसो पनि भन्नुभयो: “तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। जब तिम्रो आँखा निर्मल छ भने तिम्रो सारा शरीर पनि उज्यालो हुन्छ, तर त्यो खराब छ भने ता तिम्रो शरीर पनि अँध्यारो हुन्छ।” (लूका ११:३४) आँखा भनेको प्रतीकात्मक बत्ती हो। “निर्मल” आँखा छलकपटरहित र एउटै कुरामा केन्द्रित हुन्छ। त्यस्तो आँखा छ भने, हामी समझ-शक्ति देखाउनसक्छौं र आध्यात्मिक तवरमा ठोकर नखाई अघि बढ्नसक्छौं।
५. व्यापारिक कारोबारहरूको सन्दर्भमा हामीले मसीही मण्डलीको उद्देश्यबारे कुन कुरा बिर्सनु हुँदैन?
५ कसै कसैले आफ्नो आँखा निर्मल राख्नुको साटो लोभलाग्दो व्यापारिक कारोबारहरूमा संलग्न भएर आफ्नो अनि अरूको जीवनलाई जटिल बनाएका छन्। तर हामीले यो कुरा बिर्सनु हुँदैन, मसीही मण्डली “सत्यको खामा र जग” हो। (१ तिमोथी ३:१५) घरका खामाहरूले जस्तै मण्डलीले कसैको व्यापारिक कारोबार होइन तर परमेश्वरको सत्यलाई टेवा पुऱ्याउँछ। व्यापारिक कामधन्दा, वस्तुभाउ वा सेवा प्रवर्धनको लागि यहोवाका साक्षीहरूको मण्डली स्थापना भएको होइन। राज्यभवनमा व्यक्तिगत व्यापारिक लेनदेन गर्नु हुँदै हुँदैन। यहोवाका साक्षीहरू भेला हुने राज्यभवन, मण्डली पुस्तक अध्ययन, सम्मेलन अनि अधिवेशनहरू मसीही संगति तथा आध्यात्मिक छलफलका लागि हुन् भनी बुझ्न समझ-शक्तिले मदत गर्छ। कुनै व्यापार प्रवर्धन गर्न हामीले आध्यात्मिक सम्बन्धलाई चलायौं भने के त्यसले आध्यात्मिक कुराहरूप्रति मूल्यांकनको कमी देखाउनेछैन र? आर्थिक फाइदाको लागि कुनै पनि हालतमा मण्डलीका भाइबहिनीहरूको नाजायज फाइदा उठाउनु हुँदैन।
६. मण्डलीका सभाहरूमा व्यापारिक सरसामानको बेचबिखन वा सेवाहरूको प्रवर्धन किन गर्नु हुँदैन?
६ कसै कसैले स्वास्थ्य वा सिंगार सामग्रीहरू, भिटामिनयुक्त उत्पादनहरू, दूरसञ्चार सेवा, निर्माण सामग्री, भ्रमण कार्यक्रम, कम्प्युटर प्रोग्राम तथा उपकरण इत्यादि बेचबिखन गर्न ईश्वरतान्त्रिक चिनजानको फाइदा उठाएका छन्। तथापि, मण्डलीका सभाहरू व्यापारिक वस्तुको बेचबिखन वा सेवा प्रवर्धन गर्ने ठाउँ होइन। येशूले मन्दिरका सराफीहरूप्रति राख्नुभएको दृष्टिकोणलाई विचार गऱ्यौं भने, त्यसमा मुछिएको सिद्धान्तलाई बुझ्नसक्छौं। “उहाँले सबैलाई मन्दिरबाट लघार्नुभयो, भेड़ाहरू र गोरुहरू दुवैलाई, औ पैसा साट्नेहरूको रेजगी घोप्टाएर टेबल पनि पल्टाइदिनुभयो। अनि परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, ‘यहाँबाट यी लैजाओ। मेरा पिताको घर व्यापारको घर नतुल्याओ।’ ”—यूहन्ना २:१५, १६.
व्यापारिक लगानीहरूबारे के भन्न सकिन्छ?
७. व्यापारिक लगानी गर्दा समझ-शक्ति चलाउनुका साथै सावधान किन हुनुपर्छ?
७ व्यापारिक लगानी गर्दा समझ-शक्ति अनि सावधानी दुवै चाहिन्छ। मानि लिनुहोस्, कसैले तपाईंसित सापटी लिन चाहन्छ र यस्तो वचन दिन्छ: “म ग्यारेन्टी दिन्छु, नाफा हुनेछ।” “तपाईंलाई पाँच पैसा घाटा हुँदैन। तपाईं ढुक्कै बस्नुभए हुन्छ।” कसैले त्यस्तो आश्वासन दिंदा होशियार हुनुहोस्। त्यस्तो आश्वासन दिने व्यक्ति या त अव्यवहारिक हुन् नभए बेइमान, किनभने पैसा लगानी गर्दा लाभ हुन्छ नै भनेर ठोकुवा गर्न सकिंदैन। भनौं भने, चिल्लो घसेर कुरा गर्ने बेइमानहरूले मण्डलीका सदस्यहरूलाई ठगेका छन्। यसले हामीलाई प्रथम शताब्दीको मण्डलीमा घुसेका “अधर्मी मानिसहरू[को]” सम्झना गराउँछ। तिनीहरूले ‘परमेश्वरको अनुग्रहलाई लुच्च्याइँ’ गर्ने बहाना बनाए। तिनीहरू पानीमुनि लुकेका धारिला चट्टानहरूजस्तै थिए जसले पौडीबाजहरूलाई छियाछिया पार्न र मार्नसक्छन्। (यहूदा ४, १२) हो, लोभी ठगहरूको मनसाय बेग्लै हुन्छ। तर त्यस्ता ठगहरूले पनि मण्डलीका सदस्यहरूलाई आफ्नो शिकार बनाउँछन्।
८. केही लोभलाग्दा व्यापारिक कारोबारहरू के भएका छन्?
८ असल मनसाय भएका मसीहीहरूले समेत लोभलाग्दो लगानीबारे अरू मसीहीहरूसित कुरा गरेका छन्। तर अन्तमा तिनी अनि तिनको कुरा सुनेर लगानी गर्ने दुवैले पैसा गुमाउनु परेका छन्। फलस्वरूप, निकै मसीहीहरूले मण्डलीमा आफ्ना सुअवसरहरू गुमाएका छन्। रातारात धनी बनाउने लगानीहरू धोकापूर्ण वा जालसाजी साबित हुँदा पैसा सोरेर सुइँकुच्चा ठोक्ने ठगलाई बाहेक अरू कसैलाई फाइदा हुँदैन। त्यसोभए समझ-शक्तिले त्यस्ता परिस्थितिहरूबाट जोगिन कसरी मदत गर्नसक्छ?
९. व्यापारिक लगानीसम्बन्धी दाबीहरूलाई राम्ररी केलाउन किन समझ-शक्ति चाहिन्छ?
९ समझ-शक्ति भनेको अस्पष्ट कुरा बुझ्न सक्नु पनि हो। मानिसहरूले कुनै लगानीबारे ढोल पिट्दा त्यसलाई राम्ररी केलाउन हामीलाई समझ-शक्ति चाहिन्छ। मसीहीहरू एकअर्कोलाई भरोसा गर्छन् र आध्यात्मिक भाइबहिनीहरूले सँगी विश्वासीहरूको सम्पत्ति नै स्वाहा पार्ने जोखिमपूर्ण लगानी गर्दैनन् भनेर कहिलेकाहीं तिनीहरू तर्क गर्लान्। तर कुनै व्यापारी मसीही हुँदैमा व्यापारिक कारोबारमा दक्ष हुन्छ वा उसको व्यापार अवश्य सफल हुनेछ भनेर ग्यारेन्टी दिनु मिल्दैन।
१०. केही मसीहीहरू सँगी विश्वासीहरूसित किन सापटी लिन्छन् र त्यस्ता लगानीहरू के भएका छन्?
१० आफ्नो जोखिमपूर्ण व्यापारलाई ख्यातिप्राप्त ऋणदाता निकायहरूले कुनै हालतमा ऋण नदिने भएको हुँदा कोही कोही मसीहीहरूले भाइबहिनीहरूसित सापटी लिन्छन्। पैसा लगानी गर्ने बित्तिकै खास कुनै मेहनत नगरी वा कामै नगरी चाँडचाँडो धन कमाउन सकिन्छ भन्ने बहकाउमा थुप्रै फसेका छन्। यसरी चाँडचाँडो पैसा कमाउन सकिन्छ भनेर सोच्नुको अलावा लगानी गर्ने लहडले पनि त्यसतर्फ कोही कोही आकर्षित हुन्छन्। तर आखिरमा गएर जिन्दगीभरको बचत गुमाउनु परेका छन्! एक मसीही भाइले दुइ हप्ताभित्रै २५ प्रतिशतको दरले मुनाफा कमाउने आशामा निकै ठूलो रकम लगानी गरे। लगानी कम्पनीले टाट पल्टेको घोषणा गरेपछि तिनको पैसा सबै डुब्यो! अर्को उदाहरण, एक घडेरी व्यापारीले मण्डलीका अरू सदस्यहरूबाट निकै रकम सापटी लिए। तिनले अत्यधिक मुनाफा हुने वचन दिए। तर उल्टो तिनी टाट पल्टे र सापटी लिएको रकम सबै डुब्यो।
व्यापारिक लगानीहरू डुब्दा
११. पावलले लोभ र पैसाको प्रेमबारे कस्तो चेताउनी दिए?
११ हतारपतार जोखिमपूर्ण ढंगमा पैसा कमाउन खोज्ने मसीहीहरूको व्यापार डुब्दा निराशा तथा आध्यात्मिक क्षति पनि भोग्नु परेको छ। समझ-शक्तिले आफ्नो रक्षा गर्न नदिंदा त्यस्तो पासोमा परेकाहरूले दुःख र द्वेष भोग्नु परेको छ। लोभले पनि धेरैलाई पासोमा पारेको छ। प्रेरित पावलले यसो भने: “लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।” (एफिसी ५:३) अनि तिनले यस्तो चेताउनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट मार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०.
१२. मसीहीहरूले एकअर्कासित व्यापार गर्दा विशेषगरि कुन कुरा बिर्सनु हुँदैन?
१२ रुपियाँ-पैसाप्रति कुनै मसीहीको प्रेम जाग्न थाल्यो भने त्यसले तिनलाई निकै आध्यात्मिक हानि पुऱ्याउनेछ। फरिसीहरू पैसाका प्रेमीहरू थिए र “आखिरी दिन[का]” मानिसहरूको एउटा विशेषता यो पनि हो। (लूका १६:१४; २ तिमोथी ३:१, २) त्यसको विपरीत, मसीही जीवनशैली “रूपियाँ-पैसाको लोभबाट अलग” हुनुपर्छ। (हिब्रू १३:५) यसको मतलब मसीहीहरूले एकअर्कासित वा आपसमा मिलेर कुनै व्यापार गर्नै हुँदैन भनेको होइन। तर व्यापार गर्छन् भने व्यापारसम्बन्धी छलफल तथा सम्झौताहरूलाई मण्डलीका कामकुराहरूबाट अलग्गै राख्नुपर्छ। अनि नबिर्सनुहोस्: आध्यात्मिक भाइहरूकै बीचमा समेत व्यापारिक सम्झौताहरू सधैं लिखित रूपमा गर्नुहोस्। यस सन्दर्भमा ब्यूँझनुहोस्! (अंग्रेजी) फेब्रुअरी ८, १९८३, पृष्ठ १३ देखि १५ मा असाध्यै मदतकारी लेख पाइन्छ, जसको शीर्षक हो “लिखित रूपमा राख्नुहोस्!”
१३. तपाईं व्यापारिक लगानीहरू गर्नुहुँदा हितोपदेश २२:७ लाई कसरी व्यवहारमा उतार्नुहुन्छ?
१३ हितोपदेश २२:७ यसो भन्छ: “साहूको चाकरे असामी हुन्छ।” आफू वा आफ्नो भाइलाई चाकरको स्थानमा राख्नु अक्सर बुद्धिमानी होइन। कसैले व्यापार गर्न पैसा सापटी माग्दा तिनले पैसा तिर्नसक्छन् कि सक्दैनन्, ध्यान दिनु बेस हुनेछ। के तिनी भरपर्दो र पत्यारिलो छन्? निस्सन्देह, त्यस्तो सापटी दिंदा नोक्सानी बेहोर्नु पर्नसक्छ भनेर पनि बिर्सनु हुँदैन किनभने थुप्रै व्यापारहरू डुब्छन्। कबुलियतनामा गर्दैमा व्यापार सफल हुने होइन। अनि आफूले नोक्सान बेहोर्न सक्नेभन्दा बढी रकम सापटी दिनु पक्कै पनि बुद्धिमानी हुनेछैन।
१४. आफूले पैसा सापटी दिएको मसीहीको व्यापार डुब्यो भने हामीले किन समझ-शक्ति देखाउनुपर्छ?
१४ हामीले कुनै मसीही भाइ वा बहिनीलाई व्यापार गर्न पैसा सापटी दिएका थियौं तर व्यापार डुब्यो र कुनै बेइमानी गरिएको थिएन भने, हामीले समझ-शक्ति देखाउनुपर्ने हुन्छ। हामीसित पैसा सापटी लिने सँगी विश्वासीको गल्तीले व्यापार डुबेको होइन भने के तिनले हामीलाई धोखा दिएकै हो भन्न सकिन्छ? सकिंदैन किनभने हामीले स्वेच्छासाथ सापटी दिएका थियौं, शायद ब्याज पनि लिइरहेका हौंला र कुनै बेइमानी भएको थिएन। कुनै बेइमानी नभएको हुँदा सापटी लिने व्यक्ति विरुद्ध कानुनी कारबाही गर्ने हामीसित कुनै आधार हुँदैन। राम्रै मनसायले थालेको व्यापार टाट पल्टेपछि इमानदार सँगी मसीही विरुद्ध मुद्दा हालेर के फाइदा?—१ कोरिन्थी ६:१.
१५. टाट पल्टेको घोषणा गऱ्यो भने कुन कुन कुरा विचार गर्नुपर्छ?
१५ कहिलेकाहीं मानिसहरूको व्यापार डुब्छ र टाट पल्टेको घोषणा गरेर तिनीहरू राहत खोज्छन्। मसीहीहरू अरूको ऋण चुक्ता गर्न बेवास्ता गर्दैनन्। त्यसकारण कुनै कुनै ऋणबाट कानुनी तवरमा मुक्त भए तापनि पहिलेका ऋणदाताहरूले भुक्तानी स्वीकारेको खण्डमा ती मिनाहा भइसकेको ऋण तिर्नुपर्ने नैतिक दायित्व कसै कसैले महसुस गरेका छन्। तर जससित सापटी लिएको हो, त्यो पैसा डुबेपछि ऋणीले चाहिं सुखविलासी जीवन बिताउन थाले भने नि? वा आफूले सापटी लिएको पैसा तिर्ने रकम हासिल गरेर पनि आफ्नो भाइको ऋण भुक्तानी गर्नुपर्ने नैतिक दायित्वलाई बेवास्ता गरे भने नि? त्यसो हो भने मण्डलीमा जिम्मेवार कार्य गरिरहने तिनको योग्यतामाथि शंका गर्ने कारण हुनेछ।—१ तिमोथी ३:३, ८; प्रहरीधरहरा, सेप्टेम्बर १, १९९४, पृष्ठ ३०-१ हेर्नुहोस्।
जालसाजी भएको छ भने नि?
१६. जालसाजीको शिकार भएजस्तो लागेमा के कस्ता कदमहरू चाल्न सकिन्छ?
१६ सबै लगानीबाट मुनाफा हुँदैन भनी बुझ्न हामीलाई समझ-शक्तिले मदत गर्छ। तर जालसाजी भएको छ भने के गर्ने? जालसाजी भनेको “जानाजानी छलकपट, धुर्त्याइँ गर्नु वा सत्यलाई बंग्याएर अर्को व्यक्तिको मूल्यवान् वस्तु वा कानुनी अधिकार हासिल गर्नु” हो। सँगी मसीहीले जालसाजी गरेको जस्तो लागेमा कस्तो कदम चाल्नुपर्छ भनी येशू ख्रीष्टले बताउनुभयो। मत्ती १८:१५-१७ अनुसार येशूले यसो भन्नुभयो: “तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गऱ्यो भने, गएर तिमीहरू दुइ मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ। तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक दुइ जनालाई लैजाऊ, र दुइ तीन साक्षीका मुखबाट एक एक कुरा पक्का गर। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्छ भने, समुदायलाई भन, र त्यसले समुदायको बात पनि सुन्न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।” यसपछि येशूले बताउनुभएको उखानबाट उहाँले जालसाजीलगायत अन्य प्रकारका आर्थिक कारोबारहरूसित सम्बन्धित पापबारे बताउन खोज्नुभएको थियो भनेर प्रष्ट हुन्छ।—मत्ती १८:२३-३५.
१७, १८. मसीही हुँ भनी दाबी गर्ने व्यक्तिले ठग्यो भने समझ-शक्तिले हामीलाई कसरी जोगाउनसक्छ?
१७ निस्सन्देह, जालसाजी भएको प्रमाण वा कुनै संकेतसमेत छैन भने, व्यापारिक कारोबारहरूमा मत्ती १८:१५-१७ मा दिइएका कदमहरू चाल्ने कुनै धर्मशास्त्रीय आधार हुनेछैन। यद्यपि, मसीही हुँ भनी दाबी गर्ने व्यक्तिले हामीसित साँच्चै जालसाजी गरेको छ भने नि? मण्डलीको बदनाम हुनसक्ने कुनै कदम चाल्नदेखि हामीलाई समझ-शक्तिले जोगाउनसक्छ। आफ्नो भाइलाई अदालतमा लैजानुको साटो अन्याय सहनु वा ठगिनु नै बेस हो भनी प्रेरित पावलले सँगी मसीहीहरूलाई सल्लाह दिए।—१ कोरिन्थी ६:७.
१८ हाम्रा निष्कपट भाइबहिनीहरू बारयेशू नाउँका धामीजस्तो “सम्पूर्ण छल र सम्पूर्ण धूर्त्याइँले भरिएका” छैनन्। (प्रेरित १३:६-१२) अतः सँगी विश्वासीहरूसित लगानी गरेको व्यापार डुब्दा समझ-शक्ति चलाऔं। कानुनी कारबाही चाल्ने विचार गरिरहेका छौं भने, त्यसले आफू र अरू व्यक्तिहरू, मण्डली वा मण्डलीबाहिरका व्यक्तिहरूमाथि पार्नसक्ने सम्भाव्य असरहरू विचार गर्नुपर्छ। क्षतिपूर्तिको माग गर्दा हाम्रो निकै समय, शक्ति तथा स्रोतको खर्च हुन्छ। वास्तवमा त्यसो गर्दा वकिल र अन्य पेशेवरहरूको खल्ती मात्र भरिरहेका हुनेछौं। दुःखको कुरा, केही मसीहीहरू यी कम महत्त्वपूर्ण कुराहरूमा चुर्लुम्मै डुबेकाले ईश्वरतान्त्रिक सुअवसरहरूसमेत त्यागेका छन्। यसरी हामी अलमलियौं भने शैतान अवश्य खुशी हुन्छ। तर हामी यहोवाको हृदय आनन्दित पार्न चाहन्छौं। (हितोपदेश २७:११) अर्कोतर्फ, नोक्सानी बेहोर्दा हामी असंख्य पीडाबाट जोगिनसक्छौं र साथै हाम्रो तथा प्राचीनहरूको निकै समय बचत हुन्छ। यसले मण्डलीको शान्ति भंग हुन दिनेछैन। अनि हामी परमेश्वरको राज्यलाई प्राथमिकता दिइरहन सक्नेछौं।
समझ-शक्ति र निर्णयहरू
१९. तनाउपूर्ण निर्णयहरू गर्नुपर्दा आध्यात्मिक समझ-शक्ति र प्रार्थनाले हामीलाई कसरी मदत गर्नसक्छ?
१९ आर्थिक तथा व्यापारिक कारोबारहरूसम्बन्धी निर्णयहरू गर्नु असाध्यै तनाउपूर्ण हुनसक्छ। तर आध्यात्मिक समझ-शक्तिले सबै पक्षलाई राम्ररी केलाएर बुद्धिमत्तापूर्ण निर्णयहरू गर्न मदत दिनसक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रार्थना गर्दै यहोवामा भरोसा राख्यौं भने “परमेश्वरको शान्ति” पाउनसक्छौं। (फिलिप्पी ४:६, ७) र परमेश्वरको शान्ति भनेको यहोवासित घनिष्ठ सम्बन्धबाट प्राप्त हुने शान्त र सौम्य अवस्था हो। निस्सन्देह, कठिन निर्णयहरू गर्नुपर्दा त्यस्तो शान्तिले सन्तुलन कायम गर्न मदत गर्नसक्छ।
२०. व्यापारिक कारोबार र मण्डलीको सन्दर्भमा हामी के गर्न कटिबद्ध हुनुपर्छ?
२० व्यापारिक मनमुटाउहरूले गर्दा हाम्रो वा मण्डलीको शान्ति भंग हुन नदिन हामी कटिबद्ध होऔं। मसीही मण्डलीले व्यापारिक कामकुराहरू प्रवर्धन गर्न होइन तर आध्यात्मिक तवरमा अघि बढ्न मदत दिन्छ भनी हामीले बिर्सनु हुँदैन। व्यापारिक कारोबारहरूलाई मण्डलीका क्रियाकलापहरूदेखि सधैं अलग राख्नुपर्छ। व्यापारिक कारोबार थाल्दा हामीले समझ-शक्ति प्रयोग गर्नुका साथै होशियार हुनुपर्छ। अनि परमेश्वरको राज्यलाई प्राथमिकता दिंदै हामी व्यापारिक कारोबारहरूप्रति सधैं सन्तुलित दृष्टिकोण राखौं। हाम्रा भाइबहिनीहरूसित गरेको व्यापारिक कारोबार असफल भएमा सम्बन्धित सबैको लाभ हुने मार्ग अपनाऔं।
२१. समझ-शक्ति चलाएर फिलिप्पी १:९-११ अनुरूप कसरी चल्नसक्छौं?
२१ आर्थिक कामकुरा र कम महत्त्वपूर्ण कुराहरूबारे औधी चिन्तित हुनुको साटो हामी सबैले समझ-शक्तिमा मन लगाऔं, परमेश्वरको डोऱ्याइको लागि प्रार्थना गरौं र उहाँको राज्यलाई प्राथमिकता देऔं। पावलको प्रार्थनाअनुरूप ‘ज्ञान र सबै विवेकमा हाम्रो प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्, यसैले कि, जुन जुन कुराले निर्दोषी तुल्याउँछन्, तिनै उच्च कुरालाई’ पक्रिराख्न सकौं। अहिले, ख्रीष्ट स्वर्गीय सिंहासनमा विराजमान हुनुभइसकेकोले जीवनको हरेक पक्षमा हामी आध्यात्मिक समझ-शक्ति देखाऔं। अनि सर्वशक्तिमान् ‘परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा पाउने धार्मिकताको फलले भरिपूर हुँदै’ जाऔं।—फिलिप्पी १:९-११.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ समझ-शक्ति भनेको के हो?
◻ विशेषगरि मसीहीहरूबीच व्यापारिक कारोबार गर्दा समझ-शक्ति देखाउनुपर्ने खाँचो किन छ?
◻ सँगी विश्वासीले ठगेको जस्तो लागेमा समझ-शक्तिले हामीलाई कसरी मदत गर्नसक्छ?
◻ निर्णय गर्ने सन्दर्भमा समझ-शक्तिले कस्तो भूमिका खेल्नुपर्छ?
[पृष्ठ १८-मा भएको चित्र]
समझ-शक्तिले हामीलाई येशूको सल्लाहअनुरूप परमेश्वरको राज्यलाई प्राथमिकता दिइरहन मदत गर्नेछ
[पृष्ठ २०-मा भएको चित्र]
व्यापारिक कारोबारहरू सधैं लिखित रूपमा गर्नुहोस्