प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१ pp. २६-२९
  • आनन्दित तुल्याउने पारिवारिक अध्ययन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दित तुल्याउने पारिवारिक अध्ययन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के अध्ययन गर्ने?
  • वातावरण शान्तमय बनाउनुहोस्‌
  • बाइबललाई जीवन्त बनाउनुहोस्‌
  • सबैलाई भाग लिन मदत गर्नुहोस्‌
  • कुराकानी गर्नुहोस्‌, रीस नउठाउनुहोस्‌!
  • यस्तो प्रयास खेर जाँदैन
  • परिवार मिलेर नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईंले पारिवारिक अध्ययन गरिरहनुभएको छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • पारिवारिक तालिका—पारिवारिक अध्ययन
    हाम्रो राज्य सेवकाई—२००५
  • तपाईंको परिवारलाई परमेश्‍वरको नयाँ संसारसम्मै बचाउनका लागि मेहनत गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१ pp. २६-२९

आनन्दित तुल्याउने पारिवारिक अध्ययन

“ज्ञानले कोठाहरू धन-सम्पत्तिले किन्‍न सक्ने सबै दामी दामी र सुन्दर थोकहरूद्वारा सुसज्जित पार्छ” भनी बाइबल बताउँछ। (हितोपदेश २४:४) यी दामी दामी र सुन्दर थोकहरू भौतिक सम्पत्तिहरू मात्र होइनन्‌ तर यसमा साँचो प्रेम, ईश्‍वरीय भय र बलियो विश्‍वास पनि समावेश छ। निस्सन्देह, यस्ता गुणहरूले मजबुत पारिवारिक जीवन सृजना गर्छ। (हितोपदेश १५:१६, १७; १ पत्रुस १:७) तर यो प्राप्त गर्न हाम्रो परिवारमा परमेश्‍वरको ज्ञान भित्र्याउनु आवश्‍यक छ।

परिवारका सदस्यहरूलाई यो ज्ञान सिकाउने जिम्मेवारी परिवारको शिरको हो। (व्यवस्था ६:६, ७; एफिसी ५:२५, २६; ६:४) यो गर्ने सबैभन्दा उत्तम मार्ग नियमित पारिवारिक अध्ययन हो। ज्ञानवर्धक र आनन्दमय ढंगमा अध्ययन सञ्चालन गरिएको छ भने अध्ययनमा बस्नेहरू कत्ति हर्षित हुनेछन्‌! त्यसकारण आउनुहोस्‌, हामी प्रभावकारी ढंगमा पारिवारिक अध्ययन गर्न अत्यावश्‍यक केही पक्षहरूबारे छलफल गरौं।a

पारिवारिक अध्ययन नियमित भएमा एकदमै प्रभावकारी हुन्छ। ठेगाना नभएको वा हतार हतारमा कुनै योजनाबिना गरेमा अध्ययन आक्कलझुक्कल मात्र हुने हुन्छ। अतः, अध्ययनको निम्ति तपाईंले ‘समय निकाल्नुपर्छ।’ (एफिसी ५:१५-१७, NW) सबैलाई मिल्ने समय निकाल्नु भनेको सजिलो कुरा होइन। एक परिवारका शिर यसरी स्वीकार्छन्‌: “पारिवारिक अध्ययनलाई नियमित राख्न हामीलाई गाह्रो भएको थियो। विभिन्‍न समयमा अध्ययन गरेर हेऱ्‍यौं र आखिरमा साँझपख अलि ढिलो अध्ययन गर्दा सबैलाई पायक पर्दोरहेछ भनेर थाह पायौं। अब हाम्रो पारिवारिक अध्ययन नियमित भएको छ।”

सबैलाई उपयुक्‍त हुने समय मिलेपछि त्यो समयमा अरू कुराले अलमलाउन नदिन होशियार हुनुहोस्‌। अहिले ३३ वर्ष पुगेकी मारियाb यसरी सम्झन्छिन्‌: “अध्ययन भइरहेको बेला कोही पाहुना आयो भने बुबाले अध्ययन नसकेसम्म पर्खन आग्रह गर्नुहुन्थ्यो। अनि फोन आएमा उहाँले पछि फोन गर्नेछु भनी सीधै भन्‍नुहुन्थ्यो।”

तर, यो भन्‍नुको अर्थ हामी तालिकामा हेरफेर गर्न सक्दैनौं भनेको होइन। कहिलेकाहीं आपत्‌कालीन परिस्थिति वा त्यस्तै केही कामकाजहरू आइपर्नसक्छ, त्यस्तो बेला अध्ययन गर्न नसक्ने वा पछि सार्नुपर्ने हुन्छ। (उपदेशक ९:११) तर यस्ता परिस्थितिहरूले तपाईंको तालिकालाई नै भंग हुन नदिन होशियार हुनुहोस्‌।—फिलिप्पी ३:१६.

अध्ययन कति लामो हुनुपर्छ? एक छोरा र एक छोरी हुर्काउन सफल भएका रबर्ट यसो भन्छन्‌: “हामी अक्सर अध्ययन एक घण्टा गर्छौं। बच्चाहरू सानो हुँदा विभिन्‍न विषयवस्तु छलफल गरेर तिनीहरूको ध्यान विकर्षण हुन दिंदैनथ्यौं। जस्तै प्रहरीधरहरा-का अध्ययन लेखका केही अनुच्छेदहरू, बाइबलको कुनै भाग र अन्य साहित्यहरूका केही भाग समावेश गर्थ्यौं।” मारिया अझै यसरी सम्झन्छिन्‌: “मेरा दुइ दिदी र म सानै छँदा हाम्रो अध्ययन हप्ताको दुइ तीन चोटि २० मिनेटको हुन्थ्यो। ठूलो हुँदै जाँदा हाम्रो पारिवारिक अध्ययन लगभग एक घण्टा जति हुन्थ्यो।”

के अध्ययन गर्ने?

अध्ययन गर्नको निम्ति सबै जम्मा भइसकेपछि के अध्ययन गर्ने भनेर छलफल गर्न थाल्यो भने दिक्कलाग्दो हुन्छ र अमूल्य समयको फजुल खर्च मात्र हुन्छ। त्यस्तो परिस्थितिमा, बच्चाहरूले अध्ययनबाट केही कुरा सिक्न आशा गर्न सक्दैनन्‌ र चाँडै चासो हराएर जान्छ। त्यसैले पहिला नै सोसाइटीको कुन चाहिं साहित्य पढ्‌ने हो छान्‍नुहोस्‌।

“विश्‍वासी र बुद्धिमान दास[ले]” छान्‍नको निम्ति पर्याप्त साहित्यहरू प्रबन्ध गरेको छ। (मत्ती २४:४५-४७) शायद, तपाईंको परिवारले अध्ययन नगरेको पुस्तक छान्‍न सक्नुहुन्छ। अनि तपाईंकै भाषामा धर्मशास्त्रमाथि अन्तरदृष्टि-का (अंग्रेजी) खण्डहरू उपलब्ध छन्‌ भने त्यसका केही भागहरू छलफल गर्नु कत्ति आनन्ददायी हुन्छ! उदाहरणका लागि, स्मरणार्थ उत्सवअघिका हप्ताहरूमा प्रभुको साँझको भोजबारे लेखहरू पुनरावृत्ति गर्न सक्नुहुन्छ। थुप्रै परिवारहरू साप्ताहिक प्रहरीधरहरा अध्ययन लेख तयार पार्छन्‌। तर प्रहरीधरहरा-का अन्य लेखहरू पनि अध्ययन गर्न अत्युत्तम हुनसक्छ। कुन साहित्य अध्ययन गरे बेस होला भनेर सबैभन्दा राम्ररी परिवारको शिरलाई थाह हुन्छ किनभने तिनी परिवारको आध्यात्मिक आवश्‍यकताहरूसित परिचित हुन्छन्‌।

“अध्ययन गर्ने विषयवस्तु पहिला नै छानिसकेका हुन्थ्यौं,” मारिया सम्झन्छिन्‌। “तर कुनै प्रश्‍न खडा हुँदा वा स्कूलमा कुनै त्यस्तै परिस्थिति आउँदा भने, परिस्थितिसित मिल्ने विषयवस्तु छलफल गर्थ्यौं।” युवाहरूले स्कूलमा सामना गर्ने समस्याहरू जस्तै डेटिङ, अतिरिक्‍त क्रियाकलाप, इत्यादि समस्याहरू त पक्कै पनि आउँछन्‌। त्यस्तो बेला, उक्‍त समस्याबारे छलफल गर्ने लेख वा साहित्य छान्‍नुहोस्‌। प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-को नयाँ अंकमा परिवारसित तुरुन्तै छलफल गर्न चाहनुहुने कुनै विषयवस्तु देख्नुभयो भने त्यसको लागि प्रबन्ध मिलाउन नहिचकिचाउनुहोस्‌। निस्सन्देह, परिवारलाई उक्‍त हेरफेरबारे समयभन्दा अघि नै खबर त गर्नैपर्छ। तर आवश्‍यकताअनुसार अध्ययन गरिसकेपछि आफ्नो पहिलाकै तालिकाअनुसार गर्न चाहिं नबिर्सनुहोस्‌ नि।

वातावरण शान्तमय बनाउनुहोस्‌

शान्तमय वातावरणमा राम्ररी सिक्न सकिन्छ। (याकूब ३:१८) त्यसैले आरामदायी तर एकअर्काको आदर गर्ने वातावरण सृजनुहोस्‌। संयुक्‍त राज्यमा एक परिवारका शिर भन्छन्‌: “बैठक कोठामा वा बरन्डामा बसेर अध्ययन गर्दा होस्‌, हामी यताउता छरेर बस्नुको साटो नजीकै बस्छौं। यसले आपसमा न्यानो भाव जगाउँछ।” ती रमाइला दिनहरूबारे सम्झना गर्दै मारिया भन्छिन्‌: “घरको कुन ठाउँमा बसेर त्यस हप्ता अध्ययन गर्ने हो मेरी दिदीहरू र मैले छान्‍न पाउँथ्यौं। यसो गर्दा हामीलाई कुनै अप्ठ्यारो महसुस हुँदैन थियो।” ठिक्कको उज्यालो, उपयुक्‍त बस्ने प्रबन्ध अनि हँसिलो र सफा वातावरणले पनि शान्तमय हुन धेरै मदत पुऱ्‍याउँछ। अध्ययनपछि परिवारको लागि केही हल्काफुल्का खाजा भएमा त सुनमा सुगन्ध हुन्छ।

अध्ययन चाखलाग्दो बनाउन र विभिन्‍न प्रकारका टिप्पणीहरू सुन्‍नको लागि केही परिवारहरूले कहिलेकाहीं अरू परिवारहरूलाई पनि बोलाउने गर्छन्‌। भर्खरै सत्य सिकेको व्यक्‍तिहरूलाई यस्तो अध्ययनमा आमन्त्रित गर्दा तिनीहरूले अनुभवी परिवारको शिरले पारिवारिक अध्ययन सञ्चालन गरेको ढंगबाट पनि धेरै सिक्नसक्छन्‌।

बाइबललाई जीवन्त बनाउनुहोस्‌

अध्ययन गर्ने समय रुचिकर बनाउनुहोस्‌ ताकि बच्चाहरू अध्ययन गर्ने दिनको पर्खाइमा हुनेछन्‌। तपाईंले साना बच्चाहरूलाई बाइबल दृश्‍यका चित्रहरू कोर्न लगाएर त्यसो गर्न सक्नुहुन्छ। हुन्छ भने, बच्चाहरूलाई बाइबल घटना तथा नाटकहरूको अभिनय गर्न लगाउनुहोस्‌। बच्चाहरू सानै छँदा औपचारिक प्रश्‍नोत्तर शैली अपनाउनु जरुरी छैन। रमाइलो ढंगमा ईश्‍वरीय सिद्धान्तहरू सिकाउने एउटा तरिका बाइबल पात्रहरूबारे पढ्‌नु वा कथा भन्‍नु हो। सुरुमा उल्लिखित रबर्ट सम्झन्छन्‌: “कहिलेकाहीं पालैपालो बाइबल अंशहरू पढ्‌ने गर्थ्यौं र विभिन्‍न पात्रहरूको ‘स्वर’ निकाल्ने गर्थ्यौं।” बच्चाहरूलाई तिनीहरूको पढ्‌ने पालोमा कुन चाहिं पात्र बन्‍न चाहन्छन्‌, छान्‍न दिन सक्नुहुन्छ।

छलफल गरिएको घटनाको इलाका तथा त्यहाँका विशेषताहरू चित्रण गर्न अलि ठूलो भइसकेका बच्चाहरूले मानचित्र तथा चार्टहरू प्रयोग गर्नसक्छन्‌। स्पष्टतः, अलि कल्पना शक्‍ति प्रयोग गरेर पारिवारिक अध्ययनलाई जीवन्त पार्न सकिन्छ। यसो गर्दा अध्ययन एकोहोरो हुँदैन। अनि बच्चाहरूले परमेश्‍वरको वचनप्रति तृष्णा बढाउनेछन्‌।—१ पत्रुस २:२, ३.

सबैलाई भाग लिन मदत गर्नुहोस्‌

अध्ययनबाट आनन्द उठाउन बच्चाहरूले तिनीहरूलाई नछुट्याएको महसुस गर्नुपर्छ। तथापि, विभिन्‍न उमेरका बच्चाहरूलाई भाग लिन लगाउनु चुनौतीपूर्ण हुनसक्छ। तर एउटा बाइबल सिद्धान्त यसप्रकार छ: “शासन गर्नेले बुद्धिसित गरोस्‌।” (रोमी १२:८) तपाईं उत्साही हुनुभयो भने अरूले पनि उत्साह देखाउनेछन्‌।

रोनाल्ड आफ्नो पाँच वर्षीया छोरी डिनालाई लेखका उपशीर्षकहरू पढ्‌न र चित्रहरूबाट टिप्पणी गर्न लगाएर भाग लिन लगाउँछन्‌। गत वर्ष ख्रीष्टको मृत्युको स्मरणार्थ नजीकै आउँदा तिनले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष* पुस्तकबाट विषयसित मिल्दो चित्रहरूमा तिनको ध्यानकेन्द्रित गरे। तिनी भन्छन्‌: “त्यसो गर्दा तिनले त्यस घटनाको महत्त्व बुझ्न मदत पाइन्‌।”

आफ्नो १० वर्षीया छोरी मेशासित रोनाल्ड अर्को एउटा थप कार्य गर्छन्‌। रोनाल्ड भन्छन्‌: “मेशाले चित्र मात्र होइन तर त्यसले भन्‍न खोजेको के हो भनेर बुझ्नसक्ने भइसकिन्‌। त्यसैले प्रकाश—त्यसको चरमोत्कर्ष निकट!c पुस्तक अध्ययन गर्दा चित्रहरूको अर्थमा ध्यान दियौं। अनि यसबाट तिनले लाभ उठाएकी छिन्‌।”

बच्चाहरू किशोरावस्थामा पुगेपछि उनीहरूलाई पढेको कुरा व्यवहारिक ढंगमा लागू गर्न आमन्त्रित गर्नुहोस्‌। अध्ययनको बेला कुनै प्रश्‍न खडा भएमा अनुसन्धान गर्न लगाउनुहोस्‌। आफ्नो १२ वर्षीय छोरा पलले डन्जीयन्स्‌ र ड्रागन भन्‍ने गेमहरू पनि भएको भर्खरै खोलेको स्कूल क्लबबारे प्रश्‍न गर्दा रबर्टले त्यस्तै गरे। पल तथा परिवारका अन्य सदस्यहरूले जानकारीको लागि प्रहरीधरहरा प्रकाशन अनुक्रमणिका (अंग्रेजी) हेरे अनि पारिवारिक अध्ययनमा पुनरावृत्ति गरे। रबर्ट भन्छन्‌: “परिणामस्वरूप त्यो गेम मसीहीहरूको लागि उचित छैन भनेर पलले तुरुन्तै बुझे।”

रबर्टले अरू बेला पनि अनुसन्धान गर्न लाउँथे। तिनकी पत्नी न्यान्सी यसरी सम्झना गर्छिन्‌: “येशूका प्रेरितहरूबारे छलफल गर्दा हामी प्रत्येकले हरेक हप्ता एक जना प्रेरितबारे अनुसन्धान गर्नुपर्थ्यो। पारिवारिक अध्ययनमा बच्चाहरूले उत्साही भई रिपोर्टहरू प्रस्तुत गरेको देख्दा कत्ति रोमाञ्चित हुन्थ्यौं!” आफैले अनुसन्धान गरेर परिवारसित जानकारी बाँड्‌दा ‘यहोवामा बढ़न’ मदत पाउनेछन्‌।—१ शमूएल २:२०, २१.

बच्चाहरूलाई समावेश गराउने अर्को उत्तम तरिका प्रश्‍नहरू, विचारधारा तथा निर्देशन दिने खालका प्रश्‍नहरू सोधेर हो। महान्‌ शिक्षक येशूले विचारधारा बुझ्ने यस्ता प्रश्‍न गर्नुहुन्थ्यो: “तिमी के विचार गर्छौ?” (मत्ती १७:२५) मारिया सम्झन्छिन्‌, “हामीमध्ये कसैको केही प्रश्‍न हुँदा आमाबाबुले कहिले पनि सीधै जवाफ दिनुहुन्‍न थियो। सधैं त्यससित सन्बन्धित प्रश्‍नहरू सोध्नुहुन्थ्यो र यसबाट हामीले तर्क गर्न मदत पाउँथ्यौं।”

कुराकानी गर्नुहोस्‌, रीस नउठाउनुहोस्‌!

अध्ययनमा उपस्थित सबैले आ-आफ्नो विचारधारा तथा भावनाहरू कुनै अप्ठ्यारो वा डरबिना व्यक्‍त गर्नसक्छ भने पारिवारिक अध्ययन झनै आनन्ददायी हुन्छ। एक पिता यसो भन्छन्‌: “अरू बेला कुराकानी राम्ररी गरिंदैन भने पारिवारिक अध्ययनको समयमा चाहिं राम्रो खुलस्त वार्तालाप हुने आशा गर्न सकिंदैन। अध्ययनको समयमा मात्र आपसमा राम्रो वार्तालाप भएको ढोंग गर्न सकिंदैन।” ‘जाबो त्यत्ति कुरा? के के न कुरा भन्‍न लाग्यो भन्ठानेको त; के मूर्ख कुरा गरेको? तिमीबाट के नै आशा गर्न सकिन्छ र? तिमी बच्चै छौ,’ जस्ता चित्त दुख्ने निरर्थक टिप्पणीहरू कहिल्यै नगर्नुहोस्‌। (हितोपदेश १२:१८) आफ्नो छोराछोरीप्रति अनुकम्पापूर्ण र कृपालु हुनुहोस्‌। (भजन १०३:१३; मलाकी ३:१७) तिनीहरूमा रमाउनुहोस्‌ र सिकेको कुरा लागू गर्न प्रयास गर्दा सहयोग गर्नुहोस्‌।

बच्चाले निर्देशनहरू सुन्‍न इच्छुक हुने प्रकारको वातावरण पारिवारिक अध्ययनमा हुनुपर्छ। चार छोराछोरी हुर्काउन सफल भएका बुबा यसो भन्छन्‌: “छोराछोरीलाई सच्याउन थाल्दा तिनीहरू अलिकति भए पनि रीसाइ हाल्छन्‌।” त्यस्तो वातावरणमा जे जस्तो बताए पनि सम्भवतः राम्ररी घुस्दैन होला। अतः, अध्ययन समयलाई अनुशासन र सजाय दिने समय नबनाउनुहोस्‌। अनुशासनको खाँचो छ नै भने पनि पछि एक्लै राखेर दिनुहोस्‌।

यस्तो प्रयास खेर जाँदैन

आध्यात्मिक तवरमा बलियो परिवार बनाउन समय र प्रयासको खाँचो पर्छ। तर भजनरचयिता यस्तो घोषणा गर्छन्‌: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो।” (भजन १२७:३) अनि आमाबाबुले चाहिं “[छोराछोरीलाई] प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने जिम्मेवारी पाएका छन्‌। (एफिसी ६:४) अतः, प्रभावकारी तथा रमाइलो ढंगमा पारिवारिक अध्ययन गर्ने सीपहरू विकास गर्नुहोस्‌। “छलरहितको आत्मिक दूध” दिएर “अनन्त जीवन[तर्फ]” डोऱ्‍याउन सक्दो प्रयास गर्नुहोस्‌।—१ पत्रुस २:२; यूहन्‍ना १७:३.

[फुटनोटहरू]

a यस लेखमा प्रस्तुत गरिएका सुझाउहरू पारिवारिक अध्ययनमा प्रायः बच्चाहरूलाई मदत गर्न भए तापनि यसका सिद्धान्तहरू बच्चा नभएका परिवारहरूमा पनि लागू गर्न सकिन्छ।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने