अध्याय १३
के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्वरलाई स्वीकार्य छ?
“प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफिसी ५:१०.
१. यहोवाले हाम्रो उपासना स्विकार्नुभएको चाहन्छौँ भने के गर्नुपर्छ? किन?
येसुले भन्नुभयो: “साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन् किनकि परमेश्वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।” (युहन्ना ४:२३; ६:४४) हामी प्रत्येकले ‘प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहनुपर्छ।’ (एफिसी ५:१०) यसो गर्न सजिलो छैन। हामीले यहोवालाई दुःखी तुल्याउने काम गरेको सैतान चाहन्छ। त्यसैले त्यो हामीलाई बहकाउन खोज्छ।—प्रकाश १२:९.
२. सिनै डाँडानजिकै के भएको थियो?
२ सैतान हामीलाई कसरी बहकाउन खोज्छ? एउटा तरिका, हामीलाई अलमलमा पारेर। हामीले सही र गलत छुट्ट्याउन नसकोस् भनेर सैतानले यसो गर्छ। इस्राएलीहरू सिनै डाँडानजिकै पाल टाँगेर बस्दा के भएको थियो, याद गर्नुहोस्। मोसा डाँडामा उक्लिएका थिए। मानिसहरू तिनलाई छाउनीमा कुर्दै थिए। मोसालाई कुर्दाकुर्दा हरेस खाएपछि तिनीहरूले हारुनलाई एउटा देवता बनाउन भने। हारुनले तिनीहरूको निम्ति सुनको एउटा बाछो बनाइदिए। त्यसपछि तिनीहरूले एउटा उत्सव मनाए। तिनीहरू बाछोको वरिपरि नाच्न थाले र त्यसलाई ढोग्न थाले। तिनीहरूलाई यहोवाकै उपासना गरिरहेको जस्तो लाग्यो। यसलाई तिनीहरूले “यहोवा परमेश्वरको निम्ति एउटा चाड”-को रूपमा लिए। तर यहोवालाई त्यो कुरा कस्तो लाग्यो? उहाँको नजरमा त्यो मूर्तिपूजा थियो। यसले गर्दा धेरै मानिसले आफ्नो ज्यान गुमाउनुपऱ्यो। (प्रस्थान ३२:१-६, १०, २८) यसबाट कस्तो पाठ सिक्छौँ? नबहकिनुहोस्। ‘अशुद्ध कुरा नछुनुहोस्’ अनि सही र गलतको भेद छुट्ट्याउन यहोवाबाट सिक्नुहोस्।—यसैया ५२:११; इजकिएल ४४:२३; गलाती ५:९.
३, ४. चाडपर्वहरूको सुरुवातबारे थाह पाउनु किन आवश्यक छ?
३ पृथ्वीमा हुनुहुँदा येसुले प्रेषितहरूलाई शुद्ध उपासना गर्ने सन्दर्भमा उदाहरण बसाल्न तालिम दिनुभयो। उहाँको मृत्युपछि प्रेषितहरूले नयाँ चेलाहरूलाई यहोवाका सिद्धान्तहरू सिकाइरहे। तर ती प्रेषितहरूको मृत्युपछि झूटा शिक्षकहरूले मण्डलीमा गलत शिक्षा र झूटो धर्ममा आधारित चाडपर्व तथा उत्सव घुसाउन थाले। तिनीहरूले त्यस्ता कुनै-कुनै चाडपर्व तथा उत्सव ख्रिष्टियनहरूलाई स्वीकार्य होस् भनेर नाम पनि परिवर्तन गरे। (२ थिस्सलोनिकी २:७, १०; २ युहन्ना ६, ७) तीमध्ये थुप्रै आज पनि उत्तिकै प्रचलित छन् अनि ती चाडपर्व तथा उत्सवले झूटा धार्मिक शिक्षा र प्रेतवादलाई बढवा दिन्छन्।a—प्रकाश १८:२-४, २३.
४ आज संसारभरि नै चाडपर्व तथा उत्सवहरू मानिसहरूको जीवनको अभिन्न भाग बनेको छ। तर तपाईँले यसबारे यहोवाको सोचाइ कस्तो छ भनेर सिक्दै जानुभयो भने आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने ठाउँ भेट्टाउन सक्नुहुन्छ। यसो गर्नु सजिलो नहोला तर यहोवाले मदत गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। यहोवालाई प्रचलित चाडपर्व तथा उत्सवहरू कस्तो लाग्छ भनेर थाह पाउन तीमध्ये केहीको सुरुवातबारे बुझौँ।
क्रिसमसको सुरुवात कसरी भयो?
५. हामी किन येसुको जन्म डिसेम्बर २५ मा भएको होइन भन्न सक्छौँ?
५ संसारभरका धेरैजसो मानिस डिसेम्बर २५ मा येसु जन्मनुभएको हो भनी विश्वास गर्छन् र त्यही दिन क्रिसमस मनाउँछन्। तर येसु कुन दिन र कुन महिनामा जन्मनुभएको हो, बाइबलमा लेखिएको छैन। बरु उहाँ कुन महिनातिर जन्मनुभएको हुन सक्छ भनेर अनुमान लगाउन मदत दिने जानकारीचाहिँ पाउन सक्छौँ। बेतलेहेममा येसुको जन्म हुँदा “गोठालाहरू बाहिर चौरमा बसेर” आफ्नो बगालको हेरचाह गरिरहेका थिए भनेर लुकाले लेखे। (लुका २:८-११) डिसेम्बरमा बेतलेहेममा जाडो हुन्छ अनि पानी र हिउँ पर्छ। त्यसैले गोठालाहरू आफ्नो बगालसित राती बाहिर बसिरहन सक्दैनथे। यसबाट हामी के थाह पाउन सक्छौँ? येसुको जन्म हुँदा मौसम राम्रो थियो, डिसेम्बरको जस्तो कठ्याङ्ग्रिने जाडो थिएन। बाइबलको जानकारी र ऐतिहासिक तथ्य विचार गर्ने हो भने येसुको जन्म सेप्टेम्बर वा अक्टोबरतिर भएको हुनुपर्छ।
६, ७. (क) क्रिसमसको प्रायजसो चलनको सुरुवात कसरी भयो? (ख) हामी अरूलाई किन उपहार दिन्छौँ?
६ त्यसोभए क्रिसमसको सुरुवात कसरी भयो? यसको सुरुवात झूटो धर्मको चाडबाट भएको हो। उदाहरणको लागि, रोमीहरूले मनाउने चाड साटर्नेलिया। यो चाड कृषि देवता साटर्नको लागि मनाइन्थ्यो। दी इन्साइक्लोपीडिया अमेरिकाना भन्छ: “रोमीहरूको साटर्नेलिया चाड मध्य डिसेम्बरमा मनाइन्थ्यो। क्रिसमसको धेरैजसो चलन यही चाडबाट सुरु भएको हो। जस्तै: भोजभतेर गर्ने, उपहार दिने र मैनबत्ती बाल्ने।” मिथ्रा नामक फारसी सूर्यदेवको जन्मदिन पनि डिसेम्बर २५ मा नै मनाइन्थ्यो।
७ मानिसहरूलाई क्रिसमसको सुरुवात झूटो धर्मबाट भएको थियो भन्ने कुरामा कुनै चासो छैन। तिनीहरू क्रिसमसलाई परिवार र साथीभाइसित भेटघाट गर्ने, मीठो-मीठो खाने र उपहार दिने अवसरको रूपमा हेर्छन्। हो, हामी आफ्नो परिवार र साथीभाइलाई माया गर्छौँ अनि यहोवा आफ्ना सेवकहरूले आफूसित भएको कुरा एकअर्कासित बाँडचुँड गरेको चाहनुहुन्छ। अनि २ कोरिन्थी ९:७ ले यसो भन्छ: “खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।” हामीले कुनै खास अवसरमा मात्र अरूलाई उपहार दिएको यहोवा चाहनुहुन्न। यहोवाका सेवकहरू केही पाउने आशा नगरी वर्षको जुनसुकै बेला उपहार दिन्छन् अनि परिवार र साथीभाइसित भेटघाट गर्छन्। तिनीहरू प्रेमले उत्प्रेरित भएर अरूलाई उपहार दिन्छन्।—लुका १४:१२-१४.
कुनै चाडपर्व वा उत्सवको सुरुवातबारे थाह पायौँ भने त्यो मनाउनु हुन्छ कि हुँदैन भनेर निर्णय गर्न सक्छौँ
८. ज्योतिषीहरूले येसुलाई भेट्दा उहाँ शिशु हुनुहुन्न थियो भनेर किन भन्न सक्छौँ?
८ कोही-कोही क्रिसमसमा उपहार दिनु उचित छ भनेर तर्क गर्छन्। तिनीहरू गोठमा जन्मेका नवजात शिशु येसुलाई तीन जना बुद्धिमान् मानिसले उपहार दिएका थिए भन्छन्। हो, केही मानिस येसुलाई भेट्न गएका थिए अनि उपहार दिएका थिए। बाइबलकालीन समयमा विशेष व्यक्तिलाई उपहार दिने चलन थियो। (१ राजा १०:१, २, १०, १३) तर के तपाईँलाई थाह छ, बाइबलले बताएअनुसार ती मानिसहरू जादुगरी गर्ने र यहोवाको उपासना नगर्ने ज्योतिषीहरू थिए? साथै तिनीहरूले येसुलाई घरमा भेटेका थिए, गोठमा होइन। तिनीहरूले येसुलाई भेट्दा उहाँ नवजात शिशु हुनुहुन्न थियो, “बालक” भइसक्नुभएको थियो।—मत्ति २:१, २, ११.
बाइबलले जन्मोत्सवबारे के भन्छ?
९. बाइबलमा क-कसले जन्मदिन मनाएको विवरण पाइन्छ?
९ बच्चा जन्मेको दिन खुसीको दिन हो। (भजन १२७:३) तर त्यस्तो खुसीयाली व्यक्त गर्न हामीले वर्षैपिच्छे जन्मदिन मनाउनुपर्छ भन्ने चाहिँ होइन। बाइबलमा दुई जना व्यक्तिले मात्र जन्मदिन मनाएको विवरण पाइन्छ। एउटा, मिश्री राजा फारो र अर्को, राजा हेरोद एन्टिपास। (उत्पत्ति ४०:२०-२२; मर्कुस ६:२१-२९ पढ्नुहोस्) यी दुवै राजा यहोवाका उपासक थिएनन्। वास्तवमा बाइबलमा यहोवाको उपासकले जन्मदिन मनाएको कुनै विवरण पाइँदैन।
१०. सुरु-सुरुका ख्रिष्टियनहरू जन्मदिन मनाउनुलाई कुन दृष्टिकोणले हेर्थे?
१० द वर्ल्ड बुक इन्साइक्लोपीडिया-ले बताएअनुसार सुरु-सुरुका ख्रिष्टियनहरू “जन्मोत्सवलाई गैर-ख्रिष्टियन चलन ठान्थे।” त्यस्ता चलनहरू झूटो धर्ममा आधारित थिए। उदाहरणका लागि, हरेक मानिस जन्मँदा एउटा ‘आत्मा’ आउँछ र त्यसले जिन्दगीभर सुरक्षा दिन्छ भनी प्राचीन समयका ग्रीकहरू विश्वास गर्थे। यस्तो ‘आत्मा’-को एउटा देवसित सम्बन्ध हुन्थ्यो, जुन देवको जन्मदिन पनि त्यही दिन पर्थ्यो। यस्ता गैर-ख्रिष्टियन चलनहरूको अलावा जन्मदिनको सम्बन्ध ज्योतिषविद्या र राशिसित पनि छ।
११. उदार हुने सन्दर्भमा यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
११ धेरैलाई आफ्नो जन्मदिन विशेष लाग्छ अनि त्यस दिन तिनीहरू अरूबाट मान र माया पाउने आस गर्छन्। तर हामीले आफ्नो परिवार र साथीभाइलाई कुनै विशेष दिनमा मात्र नभई वर्षभरि नै माया देखाउनुपर्छ। हामी हरसमय दयालु र उदार भएको यहोवा चाहनुहुन्छ। (प्रेषित २०:३५ पढ्नुहोस्) यहोवाले दिनुभएको उपहार अर्थात् जीवनको लागि जन्मदिनमा मात्र नभई हरेक दिन उहाँलाई धन्यवाद दिन्छौँ।—भजन ८:३, ४; ३६:९.
साँचो ख्रिष्टियनहरू प्रेमले उत्प्रेरित भएर अरूलाई उपहार दिन्छन्
१२. मृत्युको दिन कसरी जन्मदिनभन्दा उत्तम हुन्छ?
१२ उपदेशक ७:१ भन्छ: “असल नाम किम्मती तेलभन्दा असल हुन्छ। अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।” मृत्युको दिन कसरी जन्मदिनभन्दा उत्तम हुन्छ? जन्मँदा हामीले असल वा खराब केही गरेका हुँदैनौँ। तर बाँचुन्जेल यहोवाको सेवा गर्दा र अरूको भलाइ हुने काम गर्दा हामीले “असल नाम” वा इज्जत कमाउन सक्छौँ अनि हाम्रो मृत्युपछि पनि यहोवाले हामीलाई सम्झिरहनुहुनेछ। (अय्युब १४:१४, १५) यहोवाका उपासकहरू न आफ्नो जन्मदिन मनाउँछन् न त येसुको नै। येसुले आज्ञा गर्नुभएझैँ हामीले मनाउने एउटै मात्र उत्सव भनेको उहाँको मृत्युको स्मरणार्थ हो।—लुका २२:१७-२०; हिब्रू १:३, ४.
मृत्युसित सम्बन्धित रीतिथिति
१३, १४. साँचो ख्रिष्टियनहरू मृत्युसित सम्बन्धित रीतिथितिमा किन भाग लिँदैनन्?
१३ साँचो ख्रिष्टियनहरू मृत्युसित सम्बन्धित रीतिथितिमा भाग लिँदैनन्। कुनै-कुनै ठाउँमा लास जलाइसकेपछि खरानी नदीमा बगाइदिने चलन छ। यसो गर्दा मृतकको सबै पाप नदीसँगै बगेर जान्छ अनि उसको ‘आत्मा’-ले मुक्ति पाउँछ भन्ने विश्वास गरिन्छ। मृत्युसित सम्बन्धित अरू थुप्रै रीतिथिति केही दिन, महिना वा वर्षपछि मनाइन्छ। त्यतिबेला आफन्त र साथीभाइलाई बोलाएर मृतकको सम्झनामा सामान्य भोज दिने गरिन्छ। मरेको मानिसले जीवित व्यक्तिहरूलाई मदत वा हानि गर्न सक्छ भन्ने विश्वासले गर्दा यस्ता रीतिथिति मनाउने गरिन्छ। तर बाइबलले “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन” भनी बताउँछ। त्यसैले परमेश्वरको प्रेममा रहिरहने हो भने पितृ उपासनासित सम्बन्धित सबै रीतिथितिबाट अलग रहनुपर्छ।—उपदेशक ९:५, १०.
१४ यस्ता रीतिथितिमा भाग लियौँ भने के यहोवा हामीसित खुसी हुनुहुनेछ? पक्कै हुनुहुनेछैन।—२ कोरिन्थी ६:१७, १८.
नयाँ वर्ष मनाउने चलनको सुरुवात
१५. नयाँ वर्षको सुरुवात कसरी भएको थियो?
१५ अर्को एकदमै लोकप्रिय उत्सव हो—नयाँ वर्ष। यो उत्सव मनाउने चलन कहाँबाट सुरु भयो? द वर्ल्ड बुक इन्साइक्लोपीडिया यसो भन्छ: “ईसापूर्व ४६ मा रोमी शासक जुलियस सिजरले जनवरी १ लाई नयाँ वर्षको सुरुवातको रूपमा स्थापना गरे। रोमीहरूले यो दिन जानुस देवलाई समर्पण गरे, जसलाई ठूलठूला गेट र ढोकाको देव अनि कुनै पनि कुराको सुरुवातको देव ठानिन्थ्यो। जानुस देवकै नामबाट जनवरी नाम राखिएको थियो। यस देवको दुइटा अनुहार थियो, एउटा अगाडि र अर्को पछाडि फर्केको थियो।” नयाँ वर्ष मनाइने तिथिमिति र चलनहरू देशअनुसार फरक-फरक छन्। थुप्रै ठाउँमा भोजभतेर गरेर र रक्सी पिएर यो उत्सव मनाइन्छ। तर रोमी १३:१३ यस्तो सल्लाह दिन्छ: “दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ। भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण, कलह र डाह त्यागौँ।”
परमेश्वरलाई प्रसन्न पार्ने विवाह समारोह
१६, १७. विवाह समारोहको लागि तयारी गर्दा कुन कुरामा विचार पुऱ्याउनुपर्छ?
१६ विवाह खुसीको अवसर हो। संसारभरि विवाह गर्ने चलन फरक-फरक हुन्छ। मानिसहरू अक्सर विवाहका विभिन्न प्रथाको सुरुवात कसरी भयो भनेर सोच्ने गर्दैनन्। त्यसैले तिनीहरूलाई कुनै-कुनै प्रथा झूटो धर्मसित सम्बन्धित छन् भनेर थाहै हुँदैन। विवाह गर्ने योजना गरिरहेका ख्रिष्टियनहरूले यहोवालाई खुसी तुल्याउने तरिकामा विवाह समारोह आयोजना गर्नुपर्छ। तिनीहरूलाई विवाहका प्रथाहरूको सुरुवातबारे थाह छ भने तिनीहरूले सही निर्णय गर्न सक्नेछन्।—मर्कुस १०:६-९.
१७ विवाहका कुनै-कुनै प्रथा पछ्याउँदा नवविवाहित दम्पती ‘भाग्यमानी’ हुन्छन् भन्ने धारणा छ। (यसैया ६५:११) उदाहरणको लागि, एउटा चलनअनुसार दुलहा-दुलहीमाथि चामल वा यस्तै अन्य चिज छर्किने गरिन्छ। यसले गर्दा नवविवाहित दम्पतीलाई सन्तान लाभ हुन्छ, तिनीहरूको जीवनमा खुसीयाली छाउँछ, तिनीहरू दीर्घायु हुन्छन् अनि भूतप्रेतले सताउँदैन भन्ने धारणा छ। तर ख्रिष्टियनहरू झूटो धर्मसित सम्बन्धित कुनै पनि प्रथामा भाग लिँदैनन्।—२ कोरिन्थी ६:१४-१८ पढ्नुहोस्।
१८. विवाहको लागि योजना बनाउँदा कस्ता बाइबल सिद्धान्तहरू मनमा राख्नुपर्छ?
१८ ख्रिष्टियनहरू आफ्नो विवाह समारोह रमाइलो र मर्यादित होस् अनि उपस्थित सबैले आनन्द उठाऊन् भन्ने चाहन्छन्। पाहुनाहरूले द्वयर्थक कुरा गर्नु, बेहुला-बेहुली वा अरूलाई व्यङ्ग्य हान्नु अनि अनादर हुने कुरा बोल्नु हुँदैन। (हितोपदेश २६:१८, १९; लुका ६:३१; १०:२७) विवाह समारोहमा कुनै किसिमको “तडकभडक” हुनु हुँदैन। (१ युहन्ना २:१६) आफ्नो विवाहको दिनलाई मीठो सम्झना बनाउन राम्ररी योजना बनाउनुहोस्।—नोट २८ हेर्नुहोस्।
‘चियर्स’ गर्नु गलत हो?
१९, २०. ‘चियर्स’ गर्ने चलन कसरी सुरु भयो?
१९ विवाह समारोह र जमघटमा रक्सी पिउनुअघि एकअर्काको गिलास जुधाउने र ‘चियर्स’ भन्ने चलन छ। ‘चियर्स’ गर्दा एक जनाले कुनै कुराको लागि कामना गर्छ र बाँकी अरूले चाहिँ सहमति जनाउँदै आ-आफ्नो गिलास मास्तिर उचाल्छन्। ख्रिष्टियनहरूले ‘चियर्स’ गर्नुलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
२० इन्टरनेशनल ह्यान्डबुक अन अल्कोहल एन्ड कल्चर किताबअनुसार ‘चियर्स’ गर्ने चलन पुरातन झूटो धार्मिक प्रथाबाट सुरु भएको हुन सक्छ। त्यस प्रथाअनुसार देवतालाई रगत वा रक्सी चढाइन्थ्यो र त्यसको बदलामा आशिष् मागिन्थ्यो अर्थात् ‘दीर्घायु होस्!’ वा ‘सुस्वास्थ्य होस्!’ भनेर छोटो प्रार्थना गरिन्थ्यो। प्राचीनकालमा मानिसहरू आफ्ना गिलास माथि उचालेर देवीदेवतासित आशिष् माग्ने गर्थे। तर यहोवाले त्यसरी आशिष् दिनुहुन्न।—युहन्ना १४:६; १६:२३.
“यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर”
२१. ख्रिष्टियनहरूले अरू कस्ता चाडपर्व तथा उत्सवहरू मनाउनु हुँदैन?
२१ कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनेर सोच्दै हुनुहुन्छ भने त्यसले कस्तो प्रवृत्ति र मनोभावलाई प्रोत्साहन दिन्छ, विचार गर्नुहोस्। उदाहरणको लागि, कुनै-कुनै चाडपर्व वा उत्सवमा कामुक नाच, अत्यधिक रक्सी सेवन र अवैध यौनसम्बन्धसमेत मुछिएको हुन्छ। यस्ता चाडपर्व वा उत्सवले समलिङ्गी जीवनशैली वा देशभक्तिलाई पनि प्रोत्साहन दिन सक्छ। यस्ता कुराहरूमा भाग लिन्छौँ भने के हामीले यहोवाले घृणा गर्नुहुने कुरालाई घृणा गरिरहेका हुन्छौँ?—भजन १:१, २; ९७:१०; ११९:३७.
२२. कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनेर निर्णय गर्न ख्रिष्टियनहरूलाई कुन कुराले मदत गर्छ?
२२ ख्रिष्टियनहरूले यहोवाको अनादर गर्ने कुनै पनि किसिमको चाडपर्व वा उत्सव मनाउनु हुँदैन। प्रेषित पावलले यस्तो लेखे: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१; नोट २९ हेर्नुहोस्) हो, सबै चाडपर्व र उत्सव अवैध यौनसम्बन्ध, झूटो धर्म वा देशभक्तिसित सम्बन्धित हुँदैनन्। कुनै चाडपर्व वा उत्सव बाइबलको सिद्धान्तविपरीत छैन भने त्यसमा भाग लिने कि नलिने भनेर हामी आफैले निर्णय गर्नुपर्छ। हाम्रो निर्णयले अरूलाई कस्तो असर गर्छ भनेर पनि विचार गर्नुपर्छ।
बोली र कामले यहोवाको महिमा गर्नुहोस्
२३, २४. बेग्लै धर्म मान्ने परिवारका सदस्यहरूलाई कुनै खास उत्सव मनाउन छोड्नुको कारण कसरी बताउन सक्छौँ?
२३ तपाईँले यहोवाको अनादर गर्ने चाडपर्व र उत्सव मनाउन छोडिसक्नुभयो होला। तर यहोवाको उपासना नगर्ने तपाईँको परिवारका सदस्यहरूलाई तपाईँ तिनीहरूसित सङ्गत गर्न चाहनुहुन्न वा तिनीहरूको वास्ता गर्न छोड्नुभयो जस्तो लाग्न सक्छ। ‘परिवार, साथीभाइ भेटघाट गर्ने, रमाइलो गर्ने चाडबाडको बेला त हो’ भन्ने तिनीहरूलाई लाग्न सक्छ। त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ तिनीहरूलाई माया गर्नुहुन्छ र महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर देखाउने थुप्रै तरिका छन्। (हितोपदेश ११:२५; उपदेशक ३:१२, १३) तपाईँले तिनीहरूलाई अरू कुनै बेला सरसङ्गत गर्न बोलाउन सक्नुहुन्छ।
२४ तपाईँको नातेदारले ‘तपाईँले किन कुनै-कुनै उत्सव मनाउन छोड्नुभयो’ भनेर सोध्न सक्छन्। त्यसको लागि हाम्रो प्रकाशन र jw.org मा अनुसन्धान गर्न सक्नुहुन्छ। आफ्नै कुरामा जित्न खोजेको वा आफूले जस्तै धारणा राख्न दबाब दिएको महसुस नहुनेगरि जवाफ दिनुहोस्। तपाईँले विभिन्न कुरा विचार गरेपछि मात्र कुनै खास उत्सव नमनाउने निर्णय गर्नुभएको हो र यो तपाईँको व्यक्तिगत निर्णय हो भनेर बताउनुहोस्। शान्त भएर कुरा गर्नुहोस् अनि तपाईँको “बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।”—कलस्सी ४:६.
२५, २६. आमाबुबाले छोराछोरीलाई यहोवाको सिद्धान्तलाई प्रेम गर्न कसरी सिकाउन सक्छन्?
२५ हामी कुनै-कुनै चाडपर्व तथा उत्सव किन मनाउँदैनौँ भनेर बुझ्नु महत्त्वपूर्ण छ। (हिब्रू ५:१४) हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ। आमाबुबाले छोराछोरीलाई बाइबलको सिद्धान्त बुझ्न र त्यसलाई प्रेम गर्न सिकाउनुपर्छ। तिनीहरूले यहोवालाई वास्तविक परमेश्वरको रूपमा हेरे भने तिनीहरू उहाँलाई खुसी तुल्याउन उत्प्रेरित हुनेछन्।—यसैया ४८:१७, १८; १ पत्रुस ३:१५.
२६ सफा र साँचो मनले यहोवाको उपासना चढाउन हामीले सकेजति गरेको देख्दा यहोवालाई खुसी लाग्छ। (युहन्ना ४:२३) तर धेरैलाई यस भ्रष्ट संसारमा कोही पनि इमानदार हुन सक्दैन जस्तो लाग्छ। के यो साँचो हो? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।
a तपाईँले वाच टावर प्रकाशन सूची (अङ्ग्रेजी), यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र jw.org/ne बाट केही खास चाडपर्व तथा उत्सवबारे जानकारी पाउन सक्नुहुन्छ।