युवा जनहरू सोध्छन् . .
मेरो मिल्ने साथीलाई किन बसाइँ सर्नु परेको होला?
‘तपाईं त आफ्नो मिल्ने साथी हराएर झोक्राउनुभएको जस्तो देखिनुहुन्छ नि!’ कसैलाई उदास वा निराश देख्दा मानिसहरू त्यसो भन्ने गर्छन्। तर तपाईंले साँच्चै आफ्नो मिल्ने साथी गुमाउनुभएको छ भने, यो भनाइले तपाईंलाई झन् च्वास्स घोच्छ।
जे होस्, साँचो मित्रता अनमोल हुन्छ। बाइबल भन्छ: “[साँचो] मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” (हितोपदेश १७:१७) हाम्रा मित्रहरू असल छन् भने, हामीलाई एक्लो महसुस हुँदैन। तिनीहरूले हामीलाई साथ दिन्छन्। तिनीहरूले हामीलाई भावनात्मक अनि आध्यात्मिक तवरमा परिपक्व हुन पनि मदत गर्छन्। सामान्य चिनजान वा भेट हुँदा बोलिने साथीहरू त थुप्रै हुनसक्छन् तर विश्वासयोग्य र भरपर्दो साथी भने पाउन गाह्रै हुन्छ।
त्यसकारण, यदि तपाईंको मिल्ने साथी बसाइँ सरेको छ भने तपाईंले संसारै डुबेजस्तो महसुस गर्नु स्वाभाविकै हो। मिल्ने साथीले बसाइँ सर्दा ब्रायन नाउँको केटाले महसुस गरेको कुरा सम्झँदै यसो भन्छन्, “मलाइ कताकता डर लागेको, एक्लो भएको र न्यास्रो महसुस भयो।” शायद तपाईंले पनि त्यस्तै महसुस गर्नुभयो होला।
परिस्थितिसँग जुझ्ने
तपाईंको मिल्ने साथीलाई बसाइँ सर्नुपर्नाका कारणहरू विचार गर्नुभयो भने, तपाईंलाई त्यत्तिको न्यास्रो नलाग्ला। तपाईंहरूको मित्रतालाई महत्त्वहीन ठानेकोले उसले बसाइँ सरेको त अवश्य होइन होला! बसाइँ सर्नु आधुनिक जीवनको एक अभिन्न भाग नै भइसक्यो। संयुक्त राज्यमा मात्र वर्षेनी ३.६ करोडभन्दा बढी मानिसहरू बसाइँ सर्ने गर्छन्! स.रा. -को जनगणना विभागअनुसार सामान्य अमेरिकीहरू आफ्नो जीवनकालमा १२ पटकसम्म बसाइँ सर्छन्।
मानिसहरू किन बसाइँ सर्छन्? विभिन्न कारणहरू छन्। धेरै परिवारहरू राम्रो जागिर र घरका लागि बसाइँ सर्छन्। विकासोन्मुख मुलुकहरूमा युद्ध तथा गरिबीले करोडौं परिवारहरू बसाइँ सर्न बाध्य भएका छन्। साथै केटाकेटीहरू हुर्कंदै गएपछि धेरैजसो छुट्टै बस्न मन पराउँछन्। कोही चाहिं विवाह गर्न घर छाड्छन्। (उत्पत्ति २:२४) यद्यपि, कोही भने आध्यात्मिक लक्ष्यहरू पूरा गर्न बसाइँ सर्ने गर्छन्। (मत्ती १९:२९) यहोवाका कोही साक्षीहरू आफ्ना सुखसुविधाहरू छोडेर मसीही सेवकहरूको बढी आवश्यकता भएको क्षेत्रमा सेवा गर्न बसाइँ सर्छन्। कोही कोही त अर्कै मुलुकमा सेवा गर्न जान्छन्। कोही आफ्नै देशको बेथेलमा सेवा गर्न जान्छन्, जहाँ यहोवाका साक्षीहरूका कामकुराहरूको रेखदेख गरिन्छ। हो, हामी आफ्ना मित्रहरूलाई माया गर्छौं। तापनि, कुनै दिन तिनीहरू बसाइँ सर्न पनि सक्छन्। त्यसकारण यसलाई जीवनको तीतो सत्यको रूपमा लिनुपर्छ।
तपाईंको मित्र बसाइँ सर्नुको कारण जेसुकै भएपनि यो बिछोडलाई कसरी सहने भनेर तपाईं सोच्नुहुन्छ होला। केही समय एक्लो अथवा निराश महसुस हुनु स्वाभाविकै हो तर दुःखी भएर यसै धुमधुमती बस्नु चाहिं समस्याको समाधान होइन भनेर तपाईंलाई थाहै होला। (हितोपदेश १८:१) त्यसैले मदतकारी हुनसक्ने केही कुराहरू हामी विचार गरौं।
मित्रता कायमै राख्ने
जवान ब्रायनले यस्तो सल्लाह दिए, “आफ्नो साथीलाई अब कहिल्यै भेटिंदैन कि भनेर नसोच्नुहोस्।” हो, तपाईंको मिल्ने साथीले बसाइँ सरेकोले निश्चय नै तपाईंहरूबीचको सम्बन्ध पहिलेको जस्तै नहोला तर यसको मतलब तपाईंले आफ्नो साथीलाई चटक्कै माया मार्नुपर्छ भन्ने चाहिं होइन। किशोर किशोरीहरूका सल्लाहकार डा. रोजमेरी ह्वाइटले भनिन्: “जुनसुकै उमेरको व्यक्तिलाई पनि बिछोड सहन असाध्यै गाह्रो हुन्छ। तर हामीले यसलाई परिस्थितिको हेरफेरको रूपमा मात्रै सोच्यौं भने सहन पनि सकिन्छ।”
मित्रता सेलाउन नदिन तपाईं के गर्न सक्नुहुन्छ? बाइबलमा उल्लिखित दाऊद र जोनाथनको विवरण विचार गर्नुहोस्। उमेरको हिसाबमा बाबुछोराजस्तो भए तापनि तिनीहरू घनिष्ठ मित्र थिए। कारणवश दाऊदलाई आफू बसेको ठाउँ छोडेर भाग्नुपर्दा पनि तिनले चुपचाप आफ्नो बाटो तताएनन्। बरु, तिनीहरूले आफ्नो अटुट मित्रताको पुष्टि दिए। यतिसम्म कि तिनीहरूले मित्रताको बाचा बन्धन पनि गरे।—१ शमूएल २०:४२.
त्यसरी नै, तपाईं पनि आफ्नो मित्रसँग बिछोड हुने बेलामा भेटघाट गर्नुहुन्छ होला। तपाईं यो मित्रतालाई कत्तिको अनमोल ठान्नुहुन्छ अनि तपाईं मित्रता तोड्न चाहनुहुन्न भनेर उनले थाह पाउन्। एकअर्काबाट ८,००० किलोमिटरको दूरीले बिछोडिनु परेको मिल्ने साथीहरू प्याटी र मेलिनाले त्यसै गरे। प्याटी भन्छिन्, “हामीले एकअर्काको हालखबर बुझ्ने योजना बनाएका छौं।” तर किटेरै के कसो गर्ने भनेका छैनौं भने यस्तो योजनाले काम नगर्न पनि सक्छ।—आमोस ३:३ तुलना गर्नुहोस्।
प्रेरित यूहन्नाले आफ्नो मित्र गायसलाई भेट्न नपाउँदा ‘मसी र कलमले उनलाई पत्र लेखेर’ सञ्चार कायमै राखेको कुरा बाइबलले हामीलाई बताउँछ। (३ यूहन्ना १३) तपाईं पनि एकअर्कालाई नियमित तवरमा पत्र वा कार्ड पठाउने, हुनसक्छ भने हप्तामा एउटा नभए महिनामा एउटा चिठी लेख्न राजी हुनुहुन्छ होला। टाढा टाढा फोन गरेको पैसा तिर्न तपाईंका आमाबाबु गाह्रो मान्नुहुन्न भने, बेलाबेलामा फोन गरेर पनि एकअर्काको हालखबर सोध्न सक्नुहुन्छ। अथवा आफूलाई भन्न मन लागेका कुराहरू क्यासेट वा भिडियो टेपमा भरेर पनि पठाउन सक्नुहुन्छ। सप्ताहको अन्तमा भेटघाट गर्ने वा बिदा सँगै मनाउने प्रबन्ध पनि गर्न सक्नुहुन्छ। यसरी तपाईंको मित्रता फस्टाइ रहनसक्छ।
एक्लोपना हटाउने
तैपनि, मिल्ने साथीले छोडेर गएपछि तपाईंलाई शून्य लाग्न सक्छ। तपाईंलाई समय बिताउनै गाह्रो भएकोजस्तो लाग्ला। त्यसो हो भने, समय त्यत्तिकै खेर नफाल्नुहोस्। (एफिसी ५:१६) केही उपयोगी काममा लाग्नुहोस्; जस्तै तपाईं कुनै बाजा बजाउन अथवा कुनै नयाँ भाषा सिक्न सक्नुहुन्छ। त्यस्तै अरू कुनै सौखमा पनि समय बिताउन सक्नुहुन्छ। मदत चाहिरहेका व्यक्तिहरूका निम्ति सानातिना कामहरू गरिदिंदा पनि समयको सदुपयोग हुन्छ। यदि तपाईं यहोवाको साक्षी हुनुहुन्छ भने, जनप्रचारको काममा व्यस्त हुन सक्नुहुन्छ। (मत्ती २४:१४) या त तपाईं बाइबलसम्बन्धी कुनै रोचक विषयमा विस्तृत अध्ययन गर्न सक्नुहुन्छ।
साथै, प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई “ठूला मनका” हुने सल्लाह दिए। त्यसो गर्नु भनेको आफ्ना साथीहरूका झुन्डमा अरूलाई पनि सामेल गराउनु हो। (२ कोरिन्थी ६:१३) हुनसक्छ, तपाईंले एउटै साथीसित मात्र बढी समय बिताएर अरूसित मित्रता बढाउन ध्यान दिनुभएको पो थिएन कि। यहोवाका जवान साक्षीहरूले आफ्नै स्थानीय मण्डलीहरूमा नयाँ मित्रता गाँस्ने मौका प्रशस्त पाउँछन्। त्यसैले मण्डलीका सभाहरूमा चाँडै पुग्ने र सभापछि पनि अलिबेर बस्ने प्रयास गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले मानिसहरूसँग घुलमिल हुने अझ बढी समय पाउनुहुनेछ। मसीही अधिवेशनहरू र अन्य सानातिना सामाजिक जमघटहरू हुँदा पनि तपाईंले नयाँ साथीहरू बनाउने अझ बढी मौका पाउनुहुन्छ।
तथापि, यो सजगता अपनाउनु पनि उपयुक्तै होला: नयाँ साथीहरू बनाउँदा तपाईंका आध्यात्मिक लक्ष्यमा साथ नदिने र आध्यात्मिकतालाई महत्त्व नदिने जवानहरूसँग अति घनिष्ठ भई नहाल्नुहोस्। त्यस्ता साथीहरूले तपाईंलाई बराल्नसक्छन् र त्यस्तो मित्रताले तपाईंको भलोभन्दा कुभलो नै बढी हुन्छ। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) आध्यात्मिकतामा मन लगाउने र चरित्रवान् कहलिएका जवानहरूसँग मात्र बढी हेलमेल गर्नुहोस्।
जब तपाईं यस्तो साथी फेला पार्नुहुन्छ, सँगै मिलेर केही गर्ने योजना बनाएर मित्रता बढाउनुहोस्। सँगै खाना खानुहोस्। संग्रहालय जानुहोस्। टहल्न सँगै जानुहोस्। मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउन मसीही सेवकाईमा कुनै दिन बिताउनुहोस्। यसरी समय र प्रयास लगाउँदा तपाईंको नयाँ मित्रता फस्टाउनसक्छ। मसीही प्रेम फराकिलो भएकोले यो अरूलाई पनि मित्रतामा समावेश गर्न ‘ठूला मनको’ हुन्छ। जब तपाईं नयाँ साथी बनाउनुहुन्छ, तपाईंले आफ्नो पुरानो साथीलाई धोखा दिएको नठान्नुहोस्।
मौकाको फाइदा उठाउँदै तपाईंलाई सबैभन्दा माया गर्ने मानिसहरू अर्थात् आफ्नो आमाबाबुसँग नजीक हुन पनि सक्नुहुन्छ। सुरुमा तपाईंलाई उहाँहरूसँग संगत गर्न अप्ठ्यारो लाग्नसक्छ। तापनि, यसबाट तपाईंकै भलाइ हुन्छ। जाश नाउँ भएका जवानले भने: “म पहिला आफ्नो आमाबाबुसँग त्यति घनिष्ठ थिइनँ, अतः मैले यो मौकाको फाइदा उठाउँदै उहाँहरूसँगै समय बिताउने हर प्रयास गरें। तर अहिले उहाँहरू मेरो सबैभन्दा घनिष्ठ साथीहरू हुनुहुन्छ!”
स्वर्गमा हुनुहुने परमेश्वर पनि तपाईंको साथी हो भन्ने कुरा नबिर्सनुहोस्। तेह्र वर्षीय डानले यसो भने: “साँच्चै भन्ने हो भने, तपाईं एक्लो हुनुहुन्न किनभने यहोवा त हुनुहुन्छ नि।” हो, स्वर्गमा हुनुहुने हाम्रो पितालाई जुनसुकै बेला पनि हामी प्रार्थना गर्नसक्छौं। यदि तपाईंले उहाँमा भरोसा राख्नुभयो भने, उहाँले तपाईंलाई यस्तो जटिल अवस्थासँग जुझ्न मदत गर्नुहुनेछ।—भजन ५५:२२.
सकारात्मक सोचाइ राख्नुहोस्
बुद्धिमान राजा सुलेमानले यस्तो सल्लाह दिए: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध।” (उपदेशक ७:१०) अर्को शब्दमा भन्ने हो भने, बितेका कुराहरू मात्र नसोच्नुहोस्; अहिले जे जस्ता मौकाहरू पाउनुभएको छ, त्यसको फाइदा उठाउनुहोस्। हाल करीब २०/२२ वर्ष पुगेका जवान बिलले आफ्नो मिल्ने साथीसँग बिछोड हुनुपर्दा त्यसै गरे। उनले सम्झँदै यसो भने: “केही समयपछि नै मैले नयाँ साथीहरू बनाउन थालें र विगतका कुराहरू मनमा खेलाइ रहिनँ। भविष्यको लागि तयार हुने र पुराना कुराहरूलाई बिर्सने प्रयास गरें।”
यी सुझाउहरू मदतकारी होलान्, तैपनि मिल्ने साथीले बसाइँ सर्दा खिन्न त लाग्छ नै। त्यो साथीको सम्झनाले धेरैपछिसम्म पनि तपाईंलाई सताउनेछ। तर नबिर्सनुहोस्, जीवनको एउटा भाग परिवर्तन हो अनि त्यसले तपाईंलाई परिपक्व हुने र हुर्कने मौका प्रदान गर्छ। हुन त पहिलेको जस्तै मिल्ने साथी तपाईंले फेरि पाउन सक्नुहुन्न होला, तैपनि तपाईं त्यस्ता गुनहरू खेती गर्न सक्नुहुन्छ जसले तपाईंलाई “परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र” बनाउनेछन्। (१ शमूएल २:२६) यसो गर्नुभयो भने, आफ्नो साथी भन्न मिल्ने कोही न कोही सधैं पाउनुहुनेछ!
[पृष्ठ २१-मा भएको चित्र]
मिल्ने साथीलाई बिदा गर्दा तपाईं साँच्चै दुःखद अनुभव गर्नुहुन्छ