रहस्यमय प्लेटिपस
अस्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
वैज्ञानिकहरूले पहिलो पटक प्लेटिपस देख्दा यो कस्तो जीव होला भनेर छुट्याउनै मुस्किल परेको थियो। सानो तर कुनै जीवसित पनि नमिल्ने यस जीवले वैज्ञानिकहरूका अडकललाई नै हेरफेर गरिदियो। हामी तपाईंहरूलाई अस्ट्रेलियाको मनोहर, लजालु अनि मायालाग्दो यो अतुलनीय सानो जीवसँग भेट्न आग्रह गर्छौं। पहिला हामी सन् १७९९ मा प्लेटिपस सबैभन्दा पहिला देखिंदा बेलाइती वैज्ञानिकहरूबीच भएको हलचललाई ध्यान देऔं।
बेलाइती संग्रहालयको प्राकृतिक इतिहास विभागका सहायक संरक्षक डा. शाको सम्बन्धमा एउटा इनसाइक्लोपिडिया यसो भन्छ, “उनले [आफ्नै आँखाले] देखेको कुरा पनि पत्याउनै सकेनन्।” उनले शंका गरे, “कसैले [चौपायाको] शरीरमा हाँसको थुतुनो जोडिदिएको रहेछ क्यारे। उसले त्यो थुतुनो [छुट्याउन] खोज्यो होला, त्यसैले त्यो सुरुमा भेटिएको यसको छालामा अहिलेसम्म पनि कैंचीको खत देखिन्छ।”
छालै समेत भेट्टाउँदा पनि वैज्ञानिकहरूलाई पत्याउन गाह्रो भयो। प्लेटिपसको अर्थ “चौडा खुट्टा भएको” हो। यसको प्रजनन प्रणाली पंक्षीसँग मिल्दोजुल्दो छ तर स्तनपायीको जस्तै स्तनग्रन्थीहरू पनि छन्। के हो भनेर यसै भन्न नसकिने यस जीवले एउटा प्रश्न खडा गऱ्यो: यो अचम्मको जन्तुले फुल पार्थ्यो कि पार्दैन थियो?
यसले फुल पार्थ्यो भन्ने कुरा वर्षौंको वादविवादपछि पत्ता लाग्यो। तर प्लेटिपसबारे पत्ता लाग्दै आएका प्रत्येक तथ्यहरूले छक्कमाथि छक्क पारेको जस्तो देखियो। यस्तो प्राणीलाई तपाईं कुन वर्गमा राख्नुहुन्छ? (१) फुल पार्ने तर स्तनग्रन्थीहरू भएको; (२) शरीरमा भुत्ला छ तर हाँसको जस्तो थुतुनो भएको; (३) विषमरक्तधारी उभयचरको जस्तो शारीरिक बनोट भएको तर उष्णरक्तधारी?
केही समयपछि प्लेटिपस स्तनपायीको मोनोट्रिमाटा वर्गमा पर्छ भन्ने कुरामा वैज्ञानिकहरू सहमत भए। उभयचरजस्तो मोनोट्रिमको एउटै मात्र निस्काशन द्वार हुन्छ। त्यसकै माध्यमबाट अन्डा, शुक्राणु, मल अनि मूत्र बाहिर निस्कन्छ। यो वर्गमा पर्ने जीवित मोनोट्रिम एकिड्ना मात्रै हो। प्लेटिपसको वैज्ञानिक नाउँ ओर्निथोरिन्चस एनाटिनस हो, जसको अर्थ हो: “चराको जस्तो थुतुनो भएको हाँसजस्तो जन्तु।”
आउनुहोस्, प्लेटिपसलाई भेटौं
यसलाई हेर्न हामी चिडियाघर पनि जानसक्थ्यौं तर लुकुवा प्लेटिपसलाई ऊ हुर्कने बढ्ने खोलानाला आदिमै गएर भेट्ने रमाइलो अनुभव भने कमै अस्ट्रेलियालीहरूले गरेका होलान्। पूर्वी अस्ट्रेलियास्थित संग्लो नदीहरू, खोलाहरू र तालहरूमा पनि प्लेटिपस पाइने भए तापनि हामीले यसलाई पूर्वी सिड्नीको पश्चिमी नीला पहाडहरूका फेदबाट खोज्न सुरु गऱ्यौं।
घाम झुल्किनुअघि नै हामी पुरानो काठे पुलमा आइपुग्यौं। तल नदीमा निर्मल पानी कलकल बगिरहेको थियो र त्यसको दायाँ बायाँ सदावहार विरुवाहरू पनि थिए। हामी झर्को नमानीकन र खस्याकखुसुक नगरीकन कतै यसको छाँया देखिहालिन्छ कि भनेर पर्खिरह्यौं। तर हामीले धेरै बेर कुर्नु परेन। पानी बगेको विपरीत दिशाबाट करीब ५० मिटर जति परबाट एउटा आकार हामीतर्फ आइरहेको देख्यौं। तर हामी अझै पनि चलहल नगरी नै बस्नुपर्थ्यो।
यसको थुतुनोले पानीमा उठाएका तरंगहरूले यो प्लेटिपस नै हो भन्ने पक्का गर्छ। नदीको पिंधमा खानेकुरा धुँइधुँइती खोजेर मुखमा जम्मा गरेको खानेकुरा यसले चपाउँदा यस्ता पानीका लहरहरू निस्कन्छन्। यसले मौसमअनुसार गड्यौंला, स-साना कीराहरूका लार्भाहरू र झिंगेमाछाहरूलाई मात्र आफ्नो आहार बनाउँछ। त्यसैले यीमध्ये जे जे भेट्टाउँछ त्यही खान्छ।
यस्तो सानो प्लेटिपसले तपाईंलाई दंगदास पारेन? धेरैजसो त छक्कै पर्छन्। मानिसहरू प्लेटिपस ऐंडी जत्रो अथवा पानी बिरालो जत्रो हुनुपर्छ भन्ने कल्पना गर्छन्। तर तपाईंले चित्रमा देख्नुभयो होला, यो त घरपालुवा बिरालोभन्दा पनि सानो छ। भाले चाहिं ४५ देखि ६० सेन्टिमिटर लामो र यसको तौल भने एकदेखि साढे दुइ किलोसम्मको हुन्छ। पोथीहरू भालेभन्दा अझ साना हुन्छन्।
यसका अगाडिका खुट्टाहरू हाँसको जस्तै हुन्छन्। यी खुट्टाहरू चाल्दै अगाडि बढेर पानीमा सुटुक्क पसेपछि एक दुइ मिनेटको लागि पानीभित्रै हराएर पानीमुनी नचालिकनै आफसे आफ अघि बढिरहन्छ। पौडिंदा, यसको पछाडिको खुट्टाको फराकिलो पंजाले चाहिं पुच्छरसँग मिलेर डुंगा खियाउने फल्याकको जस्तै काम गर्छ। साथै ती खुट्टाहरूले दुलो बनाउन खोस्रींदा शरीरलाई थाम्ने काम पनि गर्छ।
केही गरेर ऊ दच्कियो भने, एक्कासि पानीभित्र झ्वाम्म पस्छ। यसरी पानीभित्र पसेपछि चाहिं फेरि देख्ने आसै नगरे हुन्छ। त्यसैकारण ऊ पानीभित्र पसेपछि मात्र हामी कुरा गर्न थाल्छौं। मुटु नै कमाउने “जाडोको मौसममा” यस्तो सानो फुच्चेले कसरी जाडो सहन्छ होला?” तै दुइ तरिकाबाट यो जाडोबाट बच्न सक्ने रहेछ: यसको शरीरमा रासायनिक प्रक्रियाद्वारा छिट्छिटो शक्ति उत्पादन हुन्छ, त्यसले शरीरलाई न्यानो पार्छ। अर्को, यसमा भएको बाक्लो भुत्लाले तातोलाई बाहिर जान दिंदैन।
अचम्मको थुतुनो
प्लेटिपसको थुतुनो रबरजस्तै नरम र अत्यन्तै चेतनशील हुन्छ। आक्रमणकारीसित प्रतिकार गर्न, स्पर्श गर्न अनि विद्युतीय तरंगहरू पत्ता लगाउन पनि यसको प्रयोग हुन्छ। प्लेटिपसले आफ्नो शिकारको शरीरबाट निस्केका विद्युतीय तरंग पत्ता लगाउन नदीको पिंधमा आफ्नो थुतुनो बिस्तारै यताउता घुमाइरहन्छ। यो पानीभित्र हुँदा बाहिरी वातावरणसँग यसै चुच्चोबाट सम्पर्क राख्छ, किनभने त्यतिबेला यसको आँखा, कान र नाक बन्द हुन्छन्।
तीखा गाँठाहरू हेर्नुहोस्!
यदि हाम्रो यो फुच्चे साथी भाले हो भने, उसको गोलीगाँठोसँगै तीखो गाँठो पनि हुन्छ र तिघ्रामा भएको विषनली यसमा जोडिएको हुन्छ। घोडचढीले घोडालाई गोलीगाँठासँगै भएको तीखो औजारले रोपेझैं आफूलाई आक्रमण गर्नेको जीउमा यसले आफ्ना दुवै तीखा गाँठाहरू रोपिदिन्छ। यसको पहिलो आक्रमणबाट त्यो प्राणी छटपटाउँछ र त्यो भाग सुन्निएर आउँछ।
यसलाई निकुञ्जहरूमा हुर्काउने हो भने, कुकुरको छाउरोजस्तै रत्याउन पनि सकिन्छ। भिक्टोरियाको हिल्सभाइल सान्कच्वरीले दशकौंदेखि यस्ता जनावरहरू पाल्दै आएको छ र त्यसमध्ये सबैभन्दा पहिला ल्याइएको प्लेटिपसले “पेटको बलले दौडिंदै बारम्बार पल्टनबाजी खाएर दर्शकहरूलाई घण्टौंसम्म तमासा देखाएर मख्ख पाऱ्यो। . . . यो सानो जनावरको चर्तिकला हेर्न हजारौं दर्शकहरू झुम्मिए।”
सूर्यले हामीबाट पूर्वतर्फको हिमाली श्रृंखला छोडेर आकाशतिर लम्किन थालेपछि हामीले हेरिरहेको त्यो प्लेटिपसले त्यस दिनको अन्तिम पल्टनबाजी लगाउँछ। रातभरिमा उसले आफ्नो तौलको एक चौथाइजति खानेकुरा खाइसकेको छ। पानीबाट बाहिर निस्कँदा उसले अगाडिको खुट्टा खुम्चाउँछ, यसो गर्दा उसका नंग्राहरू देखिन्छन्। अब ऊ एउटा दुलोतिर जान्छ। ती दुलोहरू नभत्कियोस् र नभास्सियोस् भनेर बुद्धिमानीसाथ रूखका जराहरूका बीचमा खनिएका हुन्छन्। बच्चा कोरल्ने दुलो साधारणतया आठ मिटरजति लामो हुन्छ भने अरू दुलोहरू एक मिटरदेखि तीस मिटरसम्म लामो हुन्छ। यसका छेउछाउबाट अरू धेरै स-साना दुलोहरू निस्केका हुनसक्छन्। यस्तो प्रकारको दुलोले तापक्रममा हेरफेर हुँदा जाडोबाट बचाउँछ र पोथीलाई बचेरा कोरल्दा चाहिने न्यानो वातावरण पनि बनाउँछ।
फुल पार्ने बखत
वसन्त ऋतु लागेपछि झारपातहरूले गुजुमुज्ज पारेको भित्री दुलोमा पोथी जान्छे र बूढी औंला जत्रो दुइ तीनवटा (प्रायजसो दुइवटा) फुल पार्छे। आफूले पारेको फुललाई ऊ आफ्नो जीउ र फराकिलो पुच्छरले ढाकेर न्यानो पार्छे। करीब दश दिनपछि नेपाली कागजजस्तो जालोबाट बचेराहरू निस्कन्छन् र आमाका दुइ स्तनग्रन्थीहरूबाट दूध चुस्छन्। पोथी एक्लैले आफ्ना बचेराहरू हुर्काउँछे। प्लेटिपसका जोडीहरू जीवनभर सँगै बसेको प्रमाण भने पाइएको छैन।
साढे तीन महिना जतिमा हलक्क बढेपछि फेब्रुअरी महिनातिर बच्चाहरू पानीमा जानसक्ने हुन्छन्। पानीमा एकै ठाउँमा धेरै जलजन्तुहरू रहन नसक्ने हुनाले यी भुराहरू पानीमा कम जीवजन्तु भएको अर्कै ठाउँमा बस्न जान्छन्। कहिलेकाहीं त यस्तो उपयुक्त स्थान खोज्न स्थलमार्गबाट पनि जानुपर्ने हुन्छ। यसो गर्दा तिनीहरूको ज्यानको खतरा पनि हुनसक्छ।
मानिसहरूको हेरचाहमा थुनेर पाल्दा प्लेटिपसहरू २० वर्षभन्दा बढी उमेरसम्म पनि बाँचेका छन् तर खोलानालाहरूमा आफै हुर्कंदा धेरै जसो चाँडै नै मर्छन्। गोनाहरूले (ठूलो जातको माउसुलीहरू) शिकार गरेजस्तै कहिले खडेरी त कहिले बाढीले यिनीहरूमा विनास ल्याउँछ। त्यस्तै कहिले स्याल, ठूला मांसाहारी चराहरू र सुदूर उत्तरी क्वीन्स्ल्याण्डमा त गोहीले पनि यसलाई आहार बनाउँछ। यद्यपि, प्लेटिपसलाई मानिसले नै सबैभन्दा बढ्ता सताएको छ। जानाजानी तिनीहरूलाई मार्ने मात्र गरेका होइनन् (हाल प्लेटिपसहरू मार्न कडा प्रतिबन्ध लगाइएको छ), तिनीहरूको बासस्थान अर्थात् खोलानालाहरू विचारै नगरी जथाभावी भताभुंग पारेका छन्।
यदि तपाईं कसै गरी अस्ट्रेलिया जानुभयो भने, तपाईं आफै यो अद्वितीय हाँस-चुच्चे विविधताधारीलाई यसको आफ्नै प्राकृतिक चालमा अवलोकन गर्न पाउनुहुनेछ। यस्तो जन्तु संसारको कुनै भागमा पनि तपाईंले देख्न पाउनुहुनेछैन। यस प्लेटिपसले गर्दा तपाईंले सृष्टिकर्ताको असीमित सृजनशीलता अनि उहाँको रमाइलो गर्न मन पराउने गुनसमेत बुझ्न सक्नुहुनेछ।
[पृष्ठ १७-मा भएको चित्र]
हाँसको जस्तो खुट्टाहरू चालेर प्लेटिपस अघि बढ्छ
[पृष्ठ १७-मा भएको चित्र]
घरपालुवा बिरालोभन्दा सानो प्लेटिपस एकदेखि साढे दुइ किलोसम्मको हुन्छ
[पृष्ठ १७-मा भएको चित्र]
अत्यन्तै चेतनशील थुतुनोले पानीमुनि आहार खोज्छ। (यो प्लेटिपस हेल्सभाइल सान्कच्वरीमा छ)