जीवनको सदुपयोग गर्नुहोस्
घरमा बुबा क्यान्सर रोगले मृत्युशय्यामा अन्तिम सास फेर्दैथे। छोरा कारखानामा बुबाका काष्ठकलाका ज्याबलहरू मिलाउँदैथे। तिनले ज्याबलहरू मिलाउँदा बुबाले त्यसबाट बनाएका सुन्दर कलाहरू झलझली सम्झे। कारखाना घरसँगै जोडिएको भए तापनि बुबा फेरि त्यहाँ कहिल्यै पस्नुहुनेछैन, ती ज्याबलहरू चलाउन सिपालु बुबाले फेरि कहिल्यै चलाउनुहुनेछैन भनी तिनलाई थाह थियो। ती सबै अतीतका कुराहरू थिए।
छोराले उपदेशक ९:१० सम्झे: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा [चिहानमा], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” तिनी यो शास्त्रपदसित चिरपरिचित थिए। तिनले अरूलाई मृत्यु भनेको एउटा निष्क्रिय अवस्था हो भन्ने बाइबल सत्य सिकाउँदा यो पद थुप्रैपल्ट प्रयोग गरेका थिए। सुलेमानको उक्त तर्कले तिनको हृदय अहिले यसरी झकझकायो—क्षमता भएको बेलामै हामीले सार्थक जीवन बिताएर आनन्द उठाउनुपर्छ किनकि त्यो समय पनि आउनेछ जुन बेला हामी केही गर्न सक्दैनौं।
जीवनको आनन्द उठाउनुहोस्
बुद्धिमान् राजा सुलेमानले उपदेशकको पुस्तकभरि नै पाठकहरूलाई जीवनको आनन्द उठाउन आग्रह गरेका छन्। उदाहरणका लागि, अध्याय ३ यसो भन्छ: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो।”—उपदेशक ३:१२, १३.
परमेश्वरद्वारा प्रेरित भएर सुलेमानले यो विचार दोहऱ्याए: “मैले के देखें भने—परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा संसारमा आफ्नो परिश्रमको सट्टा मानिसको निम्ति खानु, पिउनु र आनन्द उपभोग गर्नुनै असल र ठीक रहेछ।”—उपदेशक ५:१८.
त्यसैगरि, तिनी जवानहरूलाई यस्तो आग्रह गर्छन्: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्। तेरो मन र आँखाले तँलाई बाटो देखाऊन्।” (उपदेशक ११:९क) जवानीपनको बल र शक्तिबाट पूर्णतया आनन्द उठाउनु कत्ति असल हो!—हितोपदेश २०:२९.
‘आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्नुहोस्’
निस्सन्देह, सुलेमानले तपाईंको मन वा आँखालाई ठीक लागेका सबै कुराको पछि लाग्नु बुद्धिमानी हो भनेका होइनन्। (१ यूहन्ना २:१६ तुलना गर्नुहोस्।) तिनले त्यसपछि लेखेका यस कुराबाट सो स्पष्ट हुन्छ: “तर यो कुरो याद राख्, कि यी सबै कुराको [तपाईंका चाहना पूरा गर्ने कार्यहरूको] परमेश्वरले लेखा लिनुहुन्छ।” (उपदेशक ११:९ख) चाहे हामी जुनसुकै उमेरका किन नहोऔं, परमेश्वरले हामीले गरेका कामहरू नियाल्नुहुन्छ अनि त्यहीबमोजिम न्याय गर्नुहुन्छ भनी बिर्सनु हुँदैन।
आत्मकेन्द्रित जीवन बिताएर ईश्वरीय भक्ति चाहिं वृद्धावस्थामा गरौंला नि भन्ने सोचाइ राख्नु कस्तो मूर्खता हो! हाम्रो जीवन त आज कि भोलि अन्त हुनसक्छ। त्यसो नभए पनि वृद्धावस्थामा परमेश्वरको सेवा गर्नु सजिलो हुँदैन। यो यथार्थ बुझेर नै सुलेमानले यस्तो लेखे: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्नेछस्, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।”—उपदेशक १२:१.
वृद्धावस्थाले छोएपछि विभिन्न असरहरू देखा पर्नथाल्छन्। उक्त पदपश्चात् सुलेमान लाक्षणिक रूपमा वृद्धावस्थामा देखापर्ने प्रभावहरू बताउँछन्। हातहरू थरथर काम्छन्, खुट्टाहरू कमजोर बन्छन् अनि दाँतहरू फुक्लिन्छन्। कपाल सेतै फुलेर झर्न थाल्छन्। चराको चिरबिरे बोलीले पनि निद्रा भंग हुन्छ। दृश्य, श्रव्य, स्पर्श, गन्ध र स्वादका इन्द्रियहरू निस्तेज हुन्छन्। शरीर कमजोर भएर लोट्ने डर हुन्छ अनि बाटोघाटोमा हिंड्दा अन्य “त्रासले” सताउँछ। अन्ततः मानिसको मृत्यु हुन्छ।—उपदेशक १२:२-७.
खासगरि “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना” नगर्नेहरूको वृद्धावस्था अझ दुःखदायी हुन्छ। आफ्नो जीवन त्यसै खेर फालेकोले वृद्धावस्थामा “मन लाग्दैन।” भक्तिहीन जीवनशैलीले वृद्धावस्थामा समस्या र दुःखकष्टहरू पनि थपिनसक्छन्। (हितोपदेश ५:३-११) दुःखको कुरा, तिनीहरूले भोलि आउने दिनहरू सम्झिंदा भविष्य होइन, चिहान मात्र देख्छन्।
वृद्धावस्थामा आनन्दित हुने
यसको अर्थ वृद्धहरूले जीवनको आनन्द उठाउनै सक्दैनन् भन्ने होइन। बाइबलमा “दीर्घायु र धेरै वर्ष[लाई]” परमेश्वरको आशिष्सँग जोडिएको छ। (हितोपदेश ३:१, २) यहोवाले आफ्ना मित्र अब्राहामलाई यसो भन्नुभयो: “तेरो पूरो बूढेस्कालमा तँ गाडिनेछस्।” (उत्पत्ति १५:१५) अब्राहामले वृद्धावस्थाका कठिनाइहरू झेल्नुपरे तापनि यहोवाप्रति समर्पित जीवन बिताएको अतीत सम्झेर आफ्ना अन्तिम वर्षहरूमा शान्ति र सौम्यता महसुस गर्नसके। तिनले विश्वासी भई “जग भएको शहर” अर्थात् परमेश्वरको राज्यको प्रतीक्षा पनि गरे। (हिब्रू ११:१०) तसर्थ, तिनी “दीर्घायु भई पूरो बूढ़ेस्कालमा मरे।”—उत्पत्ति २५:८.
अतः सुलेमानले आग्रह गरे: “कोही धेरै वर्षसम्म बाँच्छ भने उसले ती सबैमा आनन्दित बनोस्।” (उपदेशक ११:८) चाहे हामी जवान होऔं वा वृद्ध, साँचो आनन्द चाहिं परमेश्वरसँगको सम्बन्धसित जोडिएको छ।
उक्त युवकले कारखानामा आफ्ना बुबाका ज्याबलहरू थन्काउँदा यही कुरा सम्झे। तिनले जीवनको सदुपयोग गर्न हर प्रयास गरेर पनि सृष्टिकर्तासँग सम्बन्ध नभएको हुनाले आनन्द पाउन नसकेका आफ्ना सबै चिनजान व्यक्तिहरूलाई सम्झे। सुलेमानले जीवनको आनन्द उठाउने प्रोत्साहन दिएपछि सबै कुराको सार यी शब्दहरूमा बताउनु कत्ति उपयुक्त थियो: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन”!—उपदेशक १२:१३.