“मिलाप गर्ने एउटा समय” नजिकै छ!
“सबै कुराको लागि समय छ, . . . युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।”—उपदेशक ३:१, ८.
१. यस २० औं शताब्दीमा युद्ध र शान्तिको सन्दर्भमा कस्तो असंगत अवस्था देखा परेको छ?
थुप्रै मानिसहरूले शान्ति चाहनुको ठोस कारण छ। इतिहासको अरू शताब्दीमा भन्दा यस २० औं शताब्दीमा शान्ति झन् हराएर गएको छ। तर असंगत कुरा के छ भने, शान्ति ल्याउन अहिले जति धेरै प्रयास पहिला कहिल्यै गरिएको थिएन। सन् १९२० मा राष्ट्र संघ स्थापित भयो। सन् १९२८ मा केलग-ब्रायण्ड सन्धि भयो। एउटा पुस्तकअनुसार, “पहिलो विश्वयुद्धपछि शान्ति स्थापित गर्न चालिएका कदमहरूमध्ये उक्त सन्धि सबैभन्दा ठूलो कदम थियो” अनि “युद्ध रोक्ने राष्ट्रिय नीति बनाउन संसारका प्रायजसो सबै राष्ट्रहरूले त्यसलाई समर्थन गरे।” त्यसपछि, निष्क्रिय भइसकेको राष्ट्र संघको ठाउँमा १९४५ मा संयुक्त राष्ट्र संघ स्थापित भयो।
२. संयुक्त राष्ट्रले ढ्वाङ फुकेको लक्ष्य के हो र यसले कतिको सफलता प्राप्त गरेको छ?
२ राष्ट्र संघजस्तै संयुक्त राष्ट्र संघले ढ्वाङ फुकेको लक्ष्य विश्व शान्ति ल्याउनु हो। तर यसले केही हदसम्म मात्र सफलता प्राप्त गरेको छ। हो, पहिला भएको ठूलठूलो दुइटा विश्वयुद्ध जस्तो व्यापक युद्ध अहिले संसारको कुनै पनि भागमा भइरहेको छैन। यद्यपि, अझै पनि दर्जनौं स-साना युद्धहरूले लाखौं मानिसहरूको मनोशान्ति हरण गरिरहेका छन्, तिनीहरूको घरबार ध्वंश गरिरहेका छन् अनि कहिलेकाहीं तिनीहरूको ज्यानसमेत लिइरहेका छन्। के संयुक्त राष्ट्रले २१ औं शताब्दीलाई ‘मिलापको समय’ बनाउला भन्ने आशा गर्नसक्छौं र?
साँचो शान्तिको आधार
३. घृणा छ भने साँचो शान्ति किन हुनसक्दैन?
३ मानिस र राष्ट्रहरूबीच मिलाप हुन एकअर्कालाई सहेर मात्र हुँदैन। के आफूले घृणा गर्ने व्यक्तिसित मिलापमा रहन सकिन्छ र? पहिलो यूहन्ना ३:१५ अनुसार रहन सकिंदैन: “आफ्नो दाज्यू-भाइलाई घृणा गर्ने हरेक हत्यारा हो।” (नयाँ संशोधित संस्करण) तीव्र घृणाले गर्दा हिंसा चर्किन बेर लाग्दैन भनेर हालैको इतिहासले प्रमाणित गरेको छ।
४. कसले मात्र शान्ति पाउनसक्छन् र किन?
४ परमेश्वर “शान्तिका परमेश्वर” हुनुहुन्छ। तसर्थ, परमेश्वरलाई प्रेम गर्ने र उहाँका धार्मिक सिद्धान्तहरूलाई गहिरो आदर गर्ने मानिसरूले मात्र शान्ति पाउनसक्छन्। स्पष्टतया, यहोवाले सबैलाई शान्ति दिनुहुन्न। “दुष्टहरूलाई शान्ति हुँदैन भनी परमप्रभु भन्नुहुन्छ।” किनकि परमेश्वरको पवित्र आत्माको एउटा फल शान्ति हो तर दुष्ट मानिस त्यो आत्माको फलअनुसार हिंड्न चाहँदैनन्।—रोमी १५:३३; यशैया ५७:२१; गलाती ५:२२.
५. साँचो मसीहीहरूले के गर्ने कल्पनासमेत गर्न सक्दैनन्?
५ खास गरी यस २० औं शताब्दीका मसीही भनौंदाहरूले सहमावनहरूसित लडाइँ गरेका छन् तर साँचो मसीहीहरूले यसो गर्ने कल्पनासमेत गर्न सक्दैनन्। (याकूब ४:१-४) हो, तिनीहरू परमेश्वरको गलत अर्थ लगाउने शिक्षाहरू विरुद्ध लडाइँ गर्छन् तर त्यसले मानिसहरूलाई हानि पुऱ्याउने होइन भलो गर्छ। धार्मिक भिन्नताले गर्दा अरूलाई सताउनु वा राष्ट्रियताका कारणहरूले गर्दा कुटपिट गर्नु साँचो मसीही धर्मसित पटक्कै मेल खाँदैन। “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो” भनेर पावलले रोमका मसीहीहरूलाई निर्देशन दिए।—रोमी १२:१७-१९; २ तिमोथी २:२४, २५.
६. आज कहाँ मात्र साँचो शान्ति पाउन सकिन्छ?
६ आज यहोवा परमेश्वरका साँचो उपासकहरूसित मात्र ईश्वर अनुमोदित शान्ति छ। (भजनसंग्रह ११९:१६५; यशैया ४८:१८) तिनीहरूको एकतामा कुनै पनि राजनैतिक भिन्नताहरूले खलल पुऱ्याउनसक्दैन किनकि तिनीहरू जहाँ रहे तापनि राजनीतिमा तटस्थ रहन्छन्। (यूहन्ना १५:१९; १७:१४) तिनीहरू “एकै मन र एकै विचारमा सिद्ध भएका” हुनाले धार्मिक भिन्नताहरूले तिनीहरूको शान्ति खतरामा पार्नसक्दैनन्। (१ कोरिन्थी १:१०) यहोवाका साक्षीहरूले अनुभव गरिरहेका शान्ति एउटा आधुनिक चमत्कार हो र यो परमेश्वरको निम्न प्रतिज्ञाअनुरूप छ: “म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।”—यशैया ६०:१७; हिब्रू ८:१०.
किन ‘युद्ध गर्ने समय हो’?
७, ८. (क) आफूले युद्धमा भाग नलिए तापनि यहोवाका साक्षीहरू वर्तमान समयप्रति कस्तो दृष्टिकोण राख्छन्? (ख) मसीहीहरूको युद्धको प्रमुख हतियार के हो?
७ आफूले युद्धमा भाग नलिए तापनि यहोवाका साक्षीहरू वर्तमान समयलाई “युद्ध गर्ने समय” ठान्छन्। यो कुनै रणभूमिमा गरिने युद्ध होइन किनकि जबरजस्ती अरूलाई बाइबल सन्देश सुनाउनु “जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्” भन्ने परमेश्वरको निमन्त्रणा विपरीत हुनेछ। (प्रकाश २२:१७) यहाँ जबरजस्ती धर्म परिवर्तन गर्ने कुरा बताएकै छैन! यहोवाका साक्षीहरूले लड्ने युद्ध पूर्णतया आत्मिक युद्ध हो। पावलले यसरी लेखे: “हाम्रो युद्धका हतियार शारीरिक होइनन्, तर किल्लाहरू भत्काउनसक्नेझैं छन्, ती परमेश्वरका सामने शक्तिमान छन्।”—२ कोरिन्थी १०:४; १ तिमोथी १:१८.
८ “हाम्रो युद्धका” प्रमुख “हतियार” “आत्माको तरवार” अर्थात् परमेश्वरको वचन हो। (एफिसी ६:१७) यो तरवार शक्तिशाली छ। “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) यो तरवार चलाएर मसीहीहरूले “परमेश्वरको ज्ञानको विरुद्धमा खड़ा हुने कल्पना र हरेक उच्च कुरालाई” खण्डन गर्न सकेका छन्। (२ कोरिन्थी १०:५) यसले ईश्वरीय बुद्धि नभई मानव बुद्धि झल्काउने झूटो शिक्षा, हानिकारक प्रचलन र दर्शनहरू पर्दाफास गर्न तिनीहरूलाई सक्षम बनाउँछ।—१ कोरिन्थी २:६-८; एफिसी ६:११-१३.
९. हामीले हरेस नखाई पापी शरीर विरुद्ध किन युद्ध गरिरहनुपर्छ?
९ अर्को आध्यात्मिक युद्ध हो, पापी शरीर विरुद्धको युद्ध। मसीहीहरू पावलको उदाहरण पछ्याउँछन्। तिनले यसो भने: “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरिन्थी ९:२७) कलस्सीका मसीहीहरूलाई ‘पृथ्वीमा भएका तिनीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पारेर व्यभिचार, अशुद्धपना, उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो’ त्यसबाट अलग बस्ने सल्लाह दिइयो। (कलस्सी ३:५) अनि बाइबल लेखक यहूदाले मसीहीहरूलाई ‘सधैंको निम्ति दिएको विश्वासको निम्ति उत्कटसाथ कम्मर कस्ने’ आग्रह गरे। (यहूदा ३) हामीले पनि किन त्यसो गर्नुपर्छ? पावल जवाफ दिन्छन्: “यदि शरीरअनुसार जिउँछौ भने, तिमीहरू अवश्य मर्छौ, तर यदि आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पाऱ्यौ भने तिमीहरू जिउनेछौ।” (रोमी ८:१३) यो स्पष्ट कुरालाई ध्यानमा राख्दै हामीले खराब मनोवृत्तिहरू विरुद्धको युद्धमा कहिल्यै हरेस खानु हुँदैन।
१०. सन् १९१४ मा के भयो अनि त्यसले गर्दा निकट भविष्यमा के हुनेछ?
१० तथापि, वर्तमान समयलाई युद्धको समय भन्न सकिने अर्को कारण “परमेश्वरको बदला दिने दिन” नजिकै भएर हो। (यशैया ६१:१, २) सन् १९१४ मा मसीही राज्य स्थापना गर्ने अनि त्यसलाई शैतानको रीतिरिवाज विरुद्ध सक्रिय युद्ध लड्न अधिकार दिने यहोवाले तोक्नुभएको समय आयो। त्यतिखेर मानिसहरूलाई ईश्वरीय हस्तक्षेपबिना शासन चलाउन अनुमति दिइएको समयको म्याद सिद्धियो। प्रथम शताब्दीमा जस्तै थुप्रै मानिसहरू परमेश्वरका मसीही शासकलाई स्वीकार्नुका सट्टा इन्कार गर्छन्। (प्रेरित २८:२७) फलतः परमेश्वरको राज्यप्रतिको विरोधले गर्दा ख्रीष्टले ‘शत्रुहरूका बीचमा राज्य गर्नुपऱ्यो।’ (भजनसंग्रह ११०:२) खुसीको कुरा, उहाँ ‘विजय गर्नालाई निस्कनुहुनेछ’ भनी प्रकाश ६:२ प्रतिज्ञा गर्छ। ‘हिब्रू भाषामा आर-मागेडोन भनिने सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँमा’ विजय गर्न उहाँ निस्कनुहुनेछ।—प्रकाश १६:१४, १६.
अहिले ‘बोल्ने समय’ हो
११. यहोवा किन असाध्यै धीरजी हुनुभएको छ तर के पक्कै आउनेछ?
११ सन् १९१४ मा मानव गतिविधिले नयाँ मोड लिएको पनि ८५ वर्ष बितिसक्यो। यहोवा असाध्यै धीरजी हुनुभएको छ। अब समय थोरै छ भनेर उहाँले आफ्ना साक्षीहरूलाई सचेत गराउनुभएको छ। करोडौं लाख मानिसहरूको जीवन खतरामा छ। यी मानिसहरूलाई चेताउनी दिनु आवश्यक छ किनकि यहोवा ‘कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गर्नुहुन्छ।’ (२ पत्रुस ३:९) यद्यपि, अब चाँडै ‘उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट प्रकाश हुनुहुनेछ।’ तब येशूले ‘परमेश्वरलाई नचिन्नेहरूसित, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूसित’ लिनुहुने “बदला” परमेश्वरको राज्य सन्देश सुन्न नचाहनेहरूले पनि भोग्नेछन्।।—२ थिस्सलोनिकी १:६-९.
१२. (क) “महा संकष्ट” सुरु हुने समयको अड्कल काट्नु किन केही फाइदा छैन? (ख) यसबारे येशूले कस्तो खतराको चेताउनी दिनुभयो?
१२ अन्ततः यहोवाको धीरज कहिले टुट्नेछ? “महा संकष्ट” सुरु हुने समयको अड्कल काटेर केही फाइदा छैन। येशूले स्पष्टसित यसो भन्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन।” अर्कोतिर उहाँले यस्तो सल्लाह दिनुभयो: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ। . . . तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:२१, ३६, ४२, ४४) यसको मतलब, हामी हरेक दिन विश्व घटनाहरूप्रति सचेत हुनुपर्छ अनि महासंकष्ट सुरु हुने समयबारे सजग हुनुपर्छ। (१ थिस्सलोनिकी ५:१-५) अहिले रहेको अल्प समयको गम्भीरता नबुझेर के के हुन्छ हेर्दै जाऊँ न भन्ने मनोवृत्ति राख्नु अति खतरनाक हुनेछ! येशूले यसो भन्नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” (लूका २१:३४, ३५) हामी यस कुरामा निश्चित हुनसक्छौं: अहिले यहोवाका “चार दूतहरू[ले]” रोकेका “चारै बतास” सधैंका लागि रोकिने छैनन्।—प्रकाश ७:१-३.
१३. झन्डै ६० लाख मानिसहरूले कुन कुरा बुझेका छन्?
१३ चाँडै आउन लागेको त्यो दिनलाई ध्यानमा राख्दा, “बोल्ने एउटा समय” छ भन्ने सुलेमानका शब्दहरूको विशेष अर्थ लाग्छ। (उपदेशक ३:७) अहिले बोल्ने समय हो भनेर बुझेका हुनाले यहोवाका झन्डै ६० लाख साक्षीहरूले जोसका साथ परमेश्वरको राज्यको महिमाबारे अरूलाई बताइरहेका छन् अनि उहाँको बदलाको दिनबारे चेताउनी दिइरहेका छन्। तिनीहरूले ख्रीष्टको पराक्रमको दिनमा आफूलाई स्वेच्छासाथ अर्पण गरिरहेका छन्।—भजनसंग्रह ११०:३; १४५:१०-१२.
“शान्ति नहुँदा पनि शान्ति” भन्नेहरू
१४. सा.यु.पू. सातौं शताब्दीमा कस्ता झूटा अगमवक्ताहरू थिए?
१४ सा.यु.पू. सातौं शताब्दीमा यर्मिया र इजकिएल अगमवक्ताले परमेश्वरप्रति अनाज्ञाकारी भएर मनमानी गर्ने यरूशलेम विरुद्ध ईश्वरीय न्यायको सन्देश सुनाए। प्रमुख तथा प्रभावशाली धार्मिक नेताहरूले परमेश्वरका यी सन्देशवाहकहरूको कुराको विरोध गरे तापनि तिनीहरूले भविष्यवाणी गरेको विनाश सा.यु.पू. ६०७ मा आयो। ती धार्मिक नेताहरू “मुर्ख अगमवक्ताहरू” साबित भए जसले “शान्ति नहुँदा पनि शान्ति भनी . . . [परमेश्वरका] प्रजालाई भ्रममा पारे।”—इजकिएल १३:१-१६; यर्मिया ६:१४, १५; ८:८-१२.
१५. के आज पनि त्यस्तै झूटा अगमवक्ताहरू छन्? वर्णन गर्नुहोस्।
१५ त्यतिखेरका “मुर्ख अगमवक्ताहरू” जस्तै आजका अधिकांश धार्मिक नेताहरूले पनि मानिसहरूलाई परमेश्वरको आउँदै गरेको न्यायबारे चेताउनी दिएका छैनन्। बरु, तिनीहरू राजनैतिक समूहहरूले अन्ततः शान्ति र सुरक्षा ल्याउनेछ भन्ने आशा देखाउँछन्। तिनीहरू परमेश्वरलाई नभई मानिसहरूलाई खुसी तुल्याउन उत्सुक छन्। त्यसकारण, तिनीहरूले परमेश्वरको राज्य स्थापित भएको छ अनि मसीही राजा अब चाँडै विजयी हुनुहुनेछ भनेर बताउनुको सट्टा आफ्ना अनुयायीहरूलाई मन पर्ने कुराहरू मात्र सुनाउँछन्। (दानियल २:४४; २ तिमोथी ४:३, ४; प्रकाश ६:२) झूटाअगमवक्ताहरू जस्तै तिनीहरू पनि “शान्ति नहुँदा पनि शान्ति” भन्छन्। तर तिनीहरूको विश्वास चाँडै अकस्मात त्रासमा परिणत हुनेछ किनकि तिनीहरूले जसको गलत प्रतिनिधित्व गरेका छन् अनि जसको नाउँमा कलंक लगाएका छन्, उहाँको क्रोध तिनीहरूमाथि खनिनेछ। बाइबलमा अनैतिक स्त्री भनिएको झूटो धर्मको विश्व साम्राज्यले शान्ति शान्ति भनिरहेको बेला त्यसले घातक प्रहार भोग्नुपर्नेछ।—प्रकाश १८:७, ८.
१६. (क) यहोवाका साक्षीहरू के भनेर चिनिएका छन्? (ख) तिनीहरू “शान्ति नहुँदा पनि शान्ति” भन्नेहरू भन्दा कसरी भिन्नै छन्?
१६ अधिकांश प्रमुख तथा प्रभावशाली नेताहरूले शान्ति ल्याउने आफ्ना ढोंगी प्रतिज्ञालाई जोड दिन्छन्। यद्यपि, यसले साँचो शान्ति ल्याउने परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नेहरूको विश्वास ढलपल गर्न सकेको छैन। एक शताब्दीभन्दा अघिदेखि यहोवाका साक्षीहरू परमेश्वरको वचनका वफादार समर्थक, झूटा धर्मको साहसिक विरोधी अनि परमेश्वरको राज्यका दृढ समर्थकहरू भनेर चिनिएका छन्। तिनीहरू चापलुसी गर्दै शान्तिका खोक्रो कुराले मानिसहरूलाई मक्ख पार्नुको सट्टा अहिले युद्धको समय हो भन्ने यथार्थ बुझाउन झक्झकाउने प्रयास गर्छन्।—यशैया ५६:१०-१२; रोमी १३:११, १२; १ थिस्सलोनिकी ५:६.
यहोवा चुप रहनुहुन्न
१७. यहोवा अब धेरै समयसम्म चुप रहनुहुने छैन भन्नुको अर्थ के हो?
१७ सुलेमानले यसो भने: “परमेश्वरले धर्मी र अधर्मीलाई एकै समान न्याय गर्नुहुन्छ। हरेक कार्य[को] . . . ठीक समय हुन्छ।” (उपदेशक ३:१७) हो, यहोवाले झूटो धर्म अनि ‘परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा खडा हुनेहरूको’ न्याय गर्ने समय तोक्नुभएको छ। (भजनसंग्रह २:१-६; प्रकाश १६:१३-१६) त्यो समय आएपछि यहोवाको “चूपचाप” रहने समय समाप्त हुनेछ। (भजनसंग्रह ८३:१; यशैया ६२:१; यर्मिया ४७:६, ७) उहाँ सिंहासनमा विराजमान मसीही राजा येशू ख्रीष्ट मार्फत आफ्ना विरोधीहरूले स्पष्ट बुझ्ने भाषामा ‘बोल्नुहुनेछ’: “परमप्रभु शक्तिशाली पुरुषझैं निस्कनुहुन्छ। युद्ध गर्ने मानिसझैं उहाँले आफ्नो रीस दन्काउनुहुन्छ। उहाँ कराउनुहुन्छ, उहाँ ठूलो सोरले गर्जनुहुन्छ। उहाँले आफ्ना शत्रुहरूलाई पराजित गर्नहुन्छ। धेरै समयसम्म म चूपचाप लागेर बसें। म चूपचाप बसें, र आफैलाई रोकीराखें। अब म सुत्केरीले झैं चिच्याउनेछु। बलजफ्ती गरी म सास फेर्नेछु। म पहाड़हरू र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा बनस्पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्त्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु। म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोऱ्याउनेछु। तिनीहरूले नजानेका बाटोमा म तिनीहरूलाई डोऱ्याएर लानेछु। म तिनीहरूकै अगि अँध्यारोलाई उज्यालो र खाल्टा–खुल्टी ठाउँलाई सम्म बनाउनेछु। यिनै काम म गर्नेछु, र म तिनीहरूलाई त्याग्नेछैनँ।”—यशैया ४२:१३-१६.
१८. परमेश्वरका जनहरू अब चाँडै कुन अर्थमा “चुपचाप” रहनेछन्?
१८ यहोवा आफ्नो ईश्वरत्वको पक्षमा ‘बोल्नुहुँदा’ उहाँका जनहरू आफ्नो पक्षमा बोल्नुपर्ने छैन। त्यतिबेला तिनीहरू “चुपचाप” रहनेछन्। बितेको समयमा परमेश्वरका सेवकहरूले अनुभव गरेका यी शब्दहरू अब पनि लागू हुनेछन्: “यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ। दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ।”—२ इतिहास २०:१७.
१९. ख्रीष्टका आत्मिक भाइहरूले चाँडै कस्तो विशेषाधिकार पाउनेछन्?
१९ शैतान र त्यसको संगठनको लागि कत्ति ठूलो पराजय! ख्रीष्टका महिमित भाइहरूले निम्न प्रतिज्ञाअनुसार धार्मिकताको खातिर शैतानमाथि ठूलो विजय हासिल गर्नेछन्: “शान्तिका परमेश्वरले शैतानलाई चाँड़ैनै तिमीहरूका खुट्टामनि कुल्चाउनुहुनेछ।” (रोमी १६:२०) बल्ल, धेरै अघिदेखि पर्खिरहेको शान्तिको समय आउनेछ।
२०. चाँडै के गर्ने समय हुनेछ?
२० यसरी यहोवाको शक्ति प्रकट हुँदा यस पृथ्वीमा बच्नेहरू सबैले आनन्दमय जीवन पाउनेछन्! त्यसपछि पुनरुत्थानद्वारा पुनर्जीवित भएका बितेका समयका विश्वासी पुरुष तथा स्त्रीहरूले तिनीहरूलाई साथ दिने छन्। ख्रीष्टको हजार वर्षीय राज्य साँच्चै ‘रोप्ने समय . . . , निको पार्ने समय . . . , बनाउने समय . . . , हाँस्ने समय . . . , नाच्ने समय . . . , अंगालो हाल्ने समय . . . , प्रेम गर्ने समय’ हुनेछ। हो, त्यसपछि सदा सर्वदाका लागि ‘मिलाप गर्ने समय’ हुनेछ!—उपदेशक ३:१-८; भजनसंग्रह २९:११; ३७:११; ७२:७.
तपाईंको के जवाफ छ?
◻ चिरकालीन शान्तिको आधार के हो?
◻ यहोवाका साक्षीहरू वर्तमान समयलाई किन ‘युद्ध गर्ने समय’ ठान्छन्?
◻ परमेश्वरका जनहरू कहिले “चूप्प” लाग्नुपर्छ अनि कहिले ‘बोल्नुपर्छ’?
◻ यहोवा कसरी अनि कहिलेदेखि चुप रहनुहुने छैन?
[पृष्ठ १३-मा भएको पेटी/चित्रहरू]
यहोवाले निम्न कुरा गर्न समय तोक्नुभएको छ
◻ गोगलाई परमेश्वरका जनहरूलाई आक्रमण गर्न लगाउने।—इजकिएल ३८:३, ४, १०-१२
◻ मानव शासकहरूको मनमा महान् बेबिलोनलाई विनाश गर्ने विचार हाल्ने।—प्रकाश १७:१५-१७; १९:२
◻ थुमाको विवाह गर्ने।—प्रकाश १९:६, ७
◻ आर-मागेडोनको युद्ध सुरु गर्ने।—प्रकाश १९:११-१६, १९-२१
◻ येशूको हजार वर्षीय राज्य सुरु गर्न शैतानलाई बाँध्ने।—प्रकाश २०:१-३
उक्त घटनाहरू धर्मशास्त्रमा उल्लेख भएको क्रमअनुसार सूचीवद्ध गरिएका छन्। उक्त पाँचै वटा घटनाहरू यहोवाले चाहनुभएको क्रमअनुसार अनि उहाँले चाहनुभएको समयमा हुनेछन्।
[पृष्ठ १५-मा भएका चित्रहरू]
ख्रीष्टको हजार वर्षीय राज्य साँच्चै . . .
हाँस्ने . . .
अंगालो हाल्ने . . .
प्रेम गर्ने . . .
रोप्ने . . .
नाच्ने . . .
बनाउने समय हुनेछ . . .