“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
१-४. (क) यस पुस्तिकाको मूख पृष्ठमा चित्रण गरिएको कुन कुन काममा तपाईंलाई भाग लिन मन पर्नेछ? (ख) यहाँ तपाईंको सामु के कस्तो मनोरम आशा प्रस्तुत गरिएको छ? (ग) यस प्रकारको आशालाई बाइबलको कुन कुन पदले पुष्टि दिन्छ?
हेर्नुहोस्, यो पत्रिकाको पृष्ठमा मानिसहरू कति खुशी छन्। के तपाईं पनि तिनीहरू मध्येका हुन चाहनु हुन्छ? तपाईं भन्नु होला ‘अवश्य चाहन्छु।’ किनकि मानिस जातिले चाहेका शान्ति र मेल त्यहाँ छ। एउटै परिवार झैं, हर जातिका मानिसहरू, कालो, सेतो, पहेंलों, मिलेर बसेका छन्। कस्तो आनन्द! कस्तो एकता! कुनै आणविक युद्ध वा आतंकबादिहरूको डरले यी मानिसहरू पीड़ित छैनन्। यो सुन्दर बगैंचा माथि युद्धका बिमानहरू उड़ेर आकाशको शान्तिलाई भंग गरेको छैन। न सिपाहीहरूछन्, न तोप न बन्दूक। व्यवस्था कायम राख्नको निम्ति प्रहरीहरूको आवश्यकता पनि छैन। युद्ध र अपराधको त यहाँ अस्तित्व नै छैन। साथै, यहाँ बस्ने–घरको केही अभाव छैन। किनकि सबैको आफ्नो भन्न सकने, बस्ने सुन्दर घरहरू छन्।
२ ती साना साना केटाकेटीहरूलाई हेर्नहोस्! तिनीहरू खेलेको देख्दा हामीलाई कति रमाइलो लाग्छ। खेल्नको निम्ति यहाँ कस्ता कस्ता जानवरहरू पनि रहेछन्! कतै पनि फलामले बार बारनु पर्ने खाँचों छैन। किनभने सबै जानवर मानिससंग र आपसमा मेल मिलापसंग बसेका छन्। सिंह र पाठो त मित्र भएछन्। ती रंगीचंगी चराहरू हेर्नुहोस्। कहिले यता उड़छन्, कहिले त्यता उड़छन्। र सुन, तिनीहरूको सुरिलो आवाज केटाकेटीहरूको खित्काईमा मिलेर हावामा गुंजि रहेछ। चराहरूको पिंजड़ा खै? छैन, किनकि सम्पूर्ण स्वतन्त्रता र असीमित आनन्दले यहाँ बास गर्छ। फूलहरुको सुगन्ध लिनुहोस्। खोलाको कलकल गीत सुन्नुहोस। सूर्यको न्यानो तापमा आनन्द मनाउनुहोस्। आहा, त्यो टोकरीको फल चाख्न मात्र पाए पनि हुने। किनकि यस मनोरम र आनन्ददायक उद्यानको अरू सबै थोक झैं, यी फलफूल पनि पृथ्वीको सर्वोत्तम देन मध्येका हुन्।
३ ‘तर पर्ख’ कसैले भन्ला, ‘वृद्धहरू कहाँ छन्? के तिनीहरू पनि यो रमाइलो समाजमा आनन्दपूर्वक बस्नु पर्दैन र?’ पर्छ, र वृद्धहरू त्यहाँ नै छन्। तर तिनीहरू पुनः जवान भइरहेछन्। यो बगैंचामा कोही पनि वृद्धावस्थाको कारणले मर्ने छैनन्। २० वर्षका हुन् वा २०० वर्षका हुन्, यो उद्यानको लाखौं मानिसहरू मध्ये प्रत्येकले जवानीको जोश र सिद्ध स्वास्थ्य सहित आनन्द मनाउने छन्। लाखौं? हो, लाखौं, किनकि यो बगैंचा पृथ्वीको हर भागसम्म फैलिनेछ। पृथ्वीको कुना कुनामा, फूजी पर्वतदेखि एनडीससम्म, हँगकँगदेखि मेडिटरेनियनसम्म, जीवन, शान्ति, सौन्दर्य व्याप्त हुनेछ। किनकि सारा पृथ्वी एउटा प्रमोदवनमा परिवर्तन हुनेछ। पृथ्वीभरि प्रमोदवन पुनः स्थापित हुनेछ।
४ के तपाईंलाई यो कुरा ‘अविश्वसनीय’ लाग्यो? तर तथ्य र प्रमाण जांचगरी हेर्नुहोस। किनभने वर्तमान पीड़ित जमाना बितेर गए पछि यस पत्रिकामा चित्रण गरिएको उद्यान जस्तै प्रमोदवनमा तपाईं र तपाईंको परिवार बाँचेर बस्ने सम्भावना छ।a
प्रमोदवनको ब्याख्या दिने पुस्तक
५. (क) यी कुराहरूको व्याख्या कुन पुस्तकमा पाइन्छ? (ख) यो पुस्तक कुन कुन कुराले गर्दा विशिष्ट छ?
५ यी वैभवशाली तथा मनोरम कुराहरू निश्चयनै हुनेछ भनि एउटा पुस्तकमा वर्णन दिइएको छ। आजसम्म लेखिएका जम्मै पुस्तकहरू मध्ये त्यो सबैभन्दा अद्भूत पुस्तक हो। त्यो पुस्तकलाई बाइबल भन्छन्। त्यो एउटा अति नै प्राचीन पुस्तक हो। त्यस्को केहि भाग ३,५०० वर्ष पहिले लेखिएका थिए। तापनि, आधुनिक जीवनको निम्ति सबैभन्दा सही र व्यवहारिक सल्लाह त्यही पुस्तकमा पाइन्छ। त्यस्मा भएको भविष्यवाणीहरूले भविष्यको निम्ति उज्यालो आशा जगाउँछ। इतिहासभरि सबैभन्दा धेरै वितरण भएको पुस्तक यही हो। लगभग १,८१० भाषाहरूमा सम्पूर्ण बाइबल अथवा बाइबलको केही भाग को २,०००,०००,००० प्रति वितरण भएको छ।
६. पवित्र गनिएको अरू शास्त्रहरू भन्दा बाइबल किन भिन्न छ?
६ यसप्रकारको विश्वव्यापी वितरण अरू कुनै पनि पवित्र शास्त्रको भएको छैन। अनि कतिपय धर्मशास्त्रहरू त यतिका पुरानो पनि छैनन्। इस्लामको कोरान १,४०० वर्ष पुरानो पनि छैन्। बुद्ध र कनफ्युशियस २,५०० वर्ष अगिका हुन्। शिण्टोको शास्त्र १,२०० वर्ष भन्दा अगिका होइनन्। मरमनको पुस्तक १६० वर्ष अगिको मात्र हो। यी अन्य धर्मशास्त्रहरू मध्ये कुनैले पनि बितेको मानव इतिहासको ६,००० वर्ष बारे, बाइबलले विवरण दिन सके झैं, ठीक ठीक विवरण दिन सकेका छैनन्। यसकारण प्रथम धर्म बारे जानकारी लिने हो भने, बाइबलमानै खोज्नु पर्छ। मानिसजातिको निम्ति विश्वव्यापी सन्देश बाइबलमा मात्र पाईन्छ।
७. अन्य विद्वानहरूले बाइबलको विषयमा के भनेका छन्?
७ हर जाति र हर क्षेत्रका मानिसहरूले बाइबलको सुन्दरता र ज्ञानले सुसज्जित सन्देशको प्रशंसा गरेका छन्। गुरुत्वाकर्षणको आविष्कारक प्रख्यात विज्ञानवेत्ता सर आइजक न्युटनले भन्नु भयो: “अरू कुनै प्रकारको विज्ञान बाइबल भन्दा बढ़ी प्रमाणित भएको छैन।” “मलाई स्वाधिनता देउ। होइन भने मृत्यु देउ” भन्नु हुने अमेरीकी क्रान्तिकारी नेता प्याटरीक हेनरीले एसो भन्नु भएको छ, “आज सम्म छापिएको जम्मै पुस्तकहरू भन्दा बाइबल घेरै नै बहुमूल्य छ।” महान हिन्दू विद्वान मोहनदास के. गान्धीले स्वयं भारतको एउटा अंग्रेज भाइसरायसंग यसो भन्नु भयो, “ख्रीष्टले उहाँको पहाड़ी उपदेशमा दिनुभएको शिक्षाहरू अनुसार तपाईंको देश र मेरो देश हिड़न सक्यो भने हाम्रा दुई देशका मात्र होइनन, तर संसारका सारा समस्याहरू हल गर्नेछौं।” गाँधीजीले यहाँ बाइबलको मत्ती ५ देखि ७ अध्यायको चर्चा गर्नु हुँदै थियो। ती अध्यायहरू स्वयं पढ़ी हेर्नुहोस्, त्यहाँ उल्लेखित शक्तिशाली सन्देशले तपाईंलाई गदगद पार्नेछ।
बाइबल पूर्वीय पुस्तक हो
८, ९. (क) बाइबललाई पश्चिमी ठान्नु किन उचित होइन? (ख) बाइबल कसरी लेखियो र कति समय लाग्यो? (ग) बाइबललाई किन पुस्तकालय भन्न सकिन्छ? (घ) बाइबल लेख्दा कति जना मानिसहरूले भाग लिए? (ङ) यी मानिसहरूले बाइबलको श्रोतबारे के प्रमाण दिए?
८ बाइबललाई अक्सर एउटा पश्चिमी पुस्तक ठान्दछन्। तर होइन। न ता बाइबल पश्चिमी पुस्तक हो र न यसले पश्चिमी सभ्यतालाई विशेष महत्व दिन्छ। लगभग सम्पूर्ण बाइबलनै पूर्वीय देशहरूमा लेखिएका हुन्। बाइबल लेख्ने मानिसहरू पनि जम्मै पूर्वीय मानिसहरू थिए। बुद्ध भन्दा हजार वर्ष पहिले १५१३ बि.सि.इ. मा मध्यपूर्वका मोशाले परमेश्वरबाट बाइबलको पहिलो पुस्तक उत्पत्ति लेख्न प्रेरणा पाए। उत्पत्ति देखि अन्तिम पुस्तक प्रकाश सम्म बाइबलमा सामन्जस्यपूर्ण एउटै प्रसंग छ। बुद्धको पालो देखि ६०० वर्ष पश्चात अर्थात ९८ ई.सं. मा बाइबल लेख्ने काम समाप्त भयो। बाइबलमा ६६ भिन्न भिन्न पुस्तकहरू छन् भनि के तपाईंलाई थाहा थियो? हो, बाइबल वास्तवमा एउटा पुस्तकालय हो!
९ तसर्थ, मोशाको समय देखि यसो, लगभग ४० विभिन्न व्यक्तिहरूले १,६०० वर्ष भित्र बाइबलको सामन्जस्यपूर्ण व्याख्या लेख्ने काममा भाग लिएका थिए। मरणशील मानिस भन्दा उच्च शक्तिको प्रेरणा द्वारा नै तिनीहरूले लेख्न सकेका हुन भनि स्वयं उनीहरूले स्वीकार गरेकाछन्। यस सम्बन्धमा मसीही प्रेरित पावलले यसो भन्दै लेख्नु भयो: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोग हुन्छ।” (२ तिमोथी ३:१६) औ प्रेरित पत्रुसले यो वर्णन दिनु भयो: “धर्मशास्त्रको कुनै अगमवाणी कसैले आफ्नै अर्थले दिएको होइन। किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२०, २१; २ शमूएल २३:२; लूका १:७०.
१०. (क) हाम्रो पालोसम्म बाइबलको संरक्षण कसरी भयो? (ख) शुरुमा प्रेरित भएको मूल बाइबल नै आज हामीसंग छ भनेर हामी किन निश्चित छौं?
१० हाम्रो समय सम्म बाइबलको संरक्षण हुन सकेको पनि अद्भुत छ। ५०० वर्ष अगाडि मात्र मुद्रणको आविष्कार भएको हो। यति बेलासम्म बाइबलको अन्य प्रति हातैले लेखिन्थे। यति धेरै मेहनतपूर्वक अरू कुनै पनि प्राचीन साहित्यिक कामको बारम्बार नक्कल सारिएको छैन। प्रतिलिपि बनाउनेहरूले नक्कल सार्दा सानु तिनु भूल गरेका थिए। तर आज ती अन्य प्रतिलिपिहरूलाई आपसमा तुलना गरेर हेर्दा, ती भूलहरू सच्याउन सकेका छन् र शुरुमा परमेश्वर द्वारा प्रेरित, मूल प्रतिमा लेखिएका कुरा थाह लाऊन सम्भव भयेको छ। बाइबलको हस्तलिपि विशेषज्ञ, सर फ्रेडरिक केनियनले एसो भन्नु भयो: “आज बाइबलको स्वरूप त्यस्तै छ, जस्तो शुरुमा थियो। यस विषयमा शंकागर्ने आधार छँदैछैन।” आज पनि सम्पूर्ण बाइबल र त्यस्को अन्य भागहरूको लगभग १६,००० हस्तलिपिहरू छन्। कुनै कुनै हस्तलिपिहरू त ख्रीष्ट भन्दा २०० वर्ष पूर्वका हुन्। त्यति मात्र होईन। बाइबल शुरुमा हिब्रु, आरामी र युनानी भाषाहरूमा लेखिएको थियो। त्यही भाषाहरूबाट आज संसारको प्रायः जम्मै भाषाहरूमा बाइबलको सही अनुवाद भएको छ।
११. बाइबलको लेखसंग कुन आधुनिक आविष्कारहरू मेल खान्छन्?
११ कसैकसैले बाइबल असत्य हो भन्दै बाइबलको बदनाम गर्न खोजेकाछन्। तर हालसालैमा पुरातत्वविदहरूले बाइबल सम्बन्धी देशहरूमा प्राचीन शहरहरूको भग्नावशेष खनेर हेरेकाछन्। त्यहाँ फेला परेका अन्य प्रमाणहरू द्वारा बाइबलमा उल्लेखित व्यक्तिहरू तथा ठाउँहरू बास्तविक हुन् भनि साबित भएको छ। बाइबलको लेख अनुसार प्राय ४,००० वर्ष पूर्व नूहको पालोमा विश्वव्यापि जल–प्रलय भएको थियो। त्यो जलप्रलय पनि वास्तविक हो भनि साबित पार्ने प्रशस्त प्रमाणहरू जमीन खन्दा निस्केका छन्। यस विषयमा प्रख्यात पुरातत्वज्ञ राजकुमार मिकासाले यसो भन्नु भयो: “के वास्तवमा जलप्रलय भएको थियो र? . . . जल प्रलय वास्तवमा भएको थियो भन्ने कुरा सन्तोषजनकरूपमा प्रामाणित भइसकेको छ।”b
बाइबलको परमेश्वर
१२. (क) कसैकसैले गिल्ला गर्दै परमेश्वरबारे के भन्छन्? (ख) बाइबलमा परमेश्वरलाई किन पिता भन्छन्? (ग) बाइबलमा परमेश्वरको प्रकटित नाम के हो?
१२ कसैकसैले बाइबलको गिल्ला गर्छन भने, कसैले त सर्वशक्तिमान परमेश्वरको अस्तित्वलाई ठट्टामा उडाउँछन्। (२ पत्रुस ३:३–७) ‘परमेश्वरलाई देख्न सकतैनौं भने उहाँ माथि कसरी विस्वास गर्ने भन्छन्? मानिस भन्दा उच्च कुनै अदृश्य सृष्टिकर्ता हुनुहुन्छ भनि प्रमाण छ र? के सबै ठाँउमानै भगवान हुनु हुन्न र?’ फेरि अरू भन्छनः ‘न भगवान छ, न बुद्ध छ।’ तथापि, जसरी हामी सबैले एउटा पार्थिव पिताबाट जीवन पायौं, त्यसरी नै हाम्रो प्रथम पूर्खाहरूले एउटा इश्वरीय पिता अथवा सृष्टिकर्ताबाट जीवन पाए। त्यो सृष्टिकर्ताको व्यक्तिगत नाम यहोवा हो। भजन ८३:१८; १००:३; यशैया १२:२; २६:४.
१३. यहोवाले कुन दुई ढंगद्वारा आफूलाई प्रकट गर्नु भएको छ?
१३ मानिस जातिलाई यहोवाले आफ्नो परिचय दुई बेग्ला–बेग्लै ढंगद्वारा दिनु भएको छ। मुख्य परिचय बाइबल द्वारा दिनु भएको छ। बाइबलमा उहाँको सच्चाइ र अनन्त उद्देश्य पाइन्छ। (यूहन्ना १७:१७; १ पत्रुस १:२४, २५) अर्को परिचय, सृष्टिद्वारा दिनु भएको छ। धेरैले वरिपरिका अद्भुत दृश्यहरू देखेर एक जना सृष्टिकर्ता परमेश्वर हुनै पर्छ भनी स्वीकारेका छन्, किनकि सृष्टिको जम्मै महान दृश्यहरूमा उहाँकै वैभवशाली व्यक्तित्वको प्रतिछायाँ देखिन्छ।—प्रकाश १५:३, ४.
१४. बाइबलले हामीलाई यहोवाको विषयमा के बताँउछ?
१४ बाइबलका लेखक यहोवानै हुनुहुन्छ। उहाँ अनादिकाल देखि हुनु हुने महान आत्मा हुनुहुन्छ। (यूहन्ना ४:२४; भजन ९०:१, २) उहाँको नाम “यहोवा”, उहाँको उद्देश्यसंग जोड़िएको छ। दुष्टलाई नाश गर्नु, उहाँलाई प्रेम गर्नेहरूलाई पार्थिव प्रमोदवनमा बचाएर राख्नु र यसरी उहाँको महान नामलाई सत्य साबित पार्नु नै उहाँको उद्देश्य हो। (प्रस्थान ६:२–८; यशैया ३५:१, २) यो उद्देश्य पूरा गर्ने शक्ति उहाँसंग छ, किनकि उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। सारा जगतको सृष्टिकर्ता हुनाले, उहाँ साधारण राष्ट्रिय देवताहरू र मूर्तिहरू भन्दा अति नै उच्च हुनुहुन्छ।—यशैया ४२:५, ८; भजन ११५:१, ४–८.
१५. विद्वानहरू सृष्टिको अध्ययनद्वारा के कस्तो निष्कर्षमा आएका छन्?
१५ बितेको शताब्दीहरूमा, विज्ञानवेत्ताहरूले सृष्टिको कार्यहरू अध्ययन गर्ने काममा निकै समय बिताएका छन्। र अब उनीहरू के निस्कर्षमा पुगेका छन्? विद्युत सम्बन्धी विद्वानहरूमध्ये गणना भएको प्रथम प्रख्यात अंग्रेजी भौतिकशास्त्री लर्ड केलभिनले यो उद्घोषण गर्नु भयो: “जति जति विज्ञान अध्ययन गर्दै जान्छौं, उति उति हामी नास्तिकताबाट पर पुग्छौं।” यूरोपमा जन्म लिनु भएको विज्ञानवेत्ता अलबर्ट आइन्स्टाइनलाई धेरैले नास्तिक ठाने तापनि, उहाँले यो स्वीकार्नु भयो: “हामीले छर्लङगै वुझन नसक्ने विश्वको अदभूत बनौट माथि गौर गर्नु र प्रकृतिमा प्रकट विशाल बुद्धिको साना भन्दा साना भागलाई नम्रतापूर्वक बुझने कोशिश गर्नु मात्र पनि, मेरो लागि यथेष्ट छ।” नोबेल पुरस्कार प्राप्त अमेरीकी वैज्ञानिक आर्थर हली कम्पटनले यसो भन्नु भयो: “‘आदिमा परमेश्वर ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने बाइबलका ऐश्वर्यपूर्ण शब्दहरूको सत्यतालाई आज बिस्तारै प्रकटित विश्वमा पाइएको नियमितताले पुष्टि दिंदैछ।” यहाँ उहाँले बाइबलको प्रारम्भिक शब्दहरूलाई उद्धृत गर्नु हुँदै थियो।
१६. विश्वले यहोवाको सृजनात्मक बुद्धि र शक्तिको प्रशंसा कसरी गर्दछ?
१६ शक्तिशाली राष्ट्रहरूको शासकहरूले आफ्नो बुद्धि र बाहिरी अन्तरिक्षसम्बन्धी वैज्ञानिक उपलब्धिहरू मा घमण्ड गर्लान। तर पृथ्वी वरिपरि घुम्ने चन्द्रमा, र सूर्यको वरिपरि परिक्रमा गर्ने अरू ग्रहहरूसंग तुलना गर्दा तिनीहरूको यानहरू कति छुद्र छन्! र यहोवाले सृष्टिगर्नु भएको तारामण्डलहरू देख्दा, असिमित काल देखि आफ्नो आफ्नो ठाउँ लिएर बसेका सूर्यहरू हेर्दा, मरणशील मानिसको उपलब्धिहरू कत्ति नगण्य छन्! (भजन १९:१, २; अय्यूब २६:७, १४) यहोवाको सामने वास्तवमा मानिसहरू “फटेंङग्राहरू जस्ता छन् र शक्तिशाली राष्ट्रहरू “केही जस्ता पनि छैनन्।”—यशैया ४०:१३–१८, २२.
१७. सृष्टिकर्तामा विश्वास गर्न किन विवेकयुक्त हो?
१७ के तपाईं एउटा घरमा बस्नु हुन्छ? त्यो घरको निमार्ण शायद तपाईं स्वयंले गर्नु भएको होईन होला। शायद निर्माणगर्ने मान्छेलाई पनि चिन्नु हुन्न होला तर आफ्नो निर्माण गर्ने मान्छेलाई न चिन्नु भएता पनि, कुनै न कुनै विद्वान मानिसले त्यो घर अवश्य बनाएकै हो भनि स्वीकार गर्नु त हुन्छ होला। किनकि घर स्वयं बनियो भन्नु त मूर्खता हुनेछ! हाम्रो विशाल विश्व र यसमा भएको यावत थोक बनिंदा पनि अपार र महान बुद्धिको खाँचो परेको हुनु पर्छ। यसकारण, एउटा विद्वान सृष्टिकर्ता हुनै पर्छ भनि स्वीकार्नु उचित हुँदैन होला र? अवश्य, निर्बुद्धि मानिसहरूले मात्र “यहोवा छैन” भन्छन्।—भजन १४:१; हिब्रू ३:४.
१८. परमेश्वर एउटा व्यक्ति हुनुहुन्छ र प्रशंसाको योग्य हुनहुन्छ भनी केले खुलस्त गराउँछ?
१८ फूलहरू, चराचुरुंगी, जनावर, अद्भुत सृष्टि मानिस, जीवन र जन्मको चमत्कार, जम्मैले एउटा अदृश्य बुद्धिको अस्तित्वको पुष्टि दिन्छन्। (रोमी १:२०) जहां बुद्धि छ त्यहां मन छ, जहां मन छ त्यहां एउटा व्यक्ति हुनै पर्छ। त्यो सर्व महान बुद्धि सर्व महान व्यक्तिको हो जो हर जीवित चीजको सृष्टिकर्ता, जीवनको मूल हुनु हुन्छ। (भजन ३६:९) हो, वास्तवमा हाम्रो सृष्टिकर्ता हर प्रशंसा र उपासनाको योग्य हुनुहुन्छ।—भजन १०४:२४; प्रकाश ४:११.
१९. (क) युद्धमा परमेश्वरले विजय दिनु भयो भनी आज कुनै पनि राष्ट्रले किन दाबी गर्नु मिल्दैन? (ख) राष्ट्रिय युद्धहरूमा परमेश्वरले किन भाग लिनुहुन्न?
१९ तर दोस्रो विश्वयुद्ध को कठिन अनुभवहरूले गर्दा परमेश्वरमाथि कसैकसैको विश्वास ढलपल भएको छ। त्यस बेला क्याथोलिक धर्म, प्रोटेस्टेन्ट धर्म र जम्मै पूर्वीय धर्महरूले आआफ्नो “भगवानलाई” पुकारे। तर पछि गएर, के “परमेश्वरले” कुनै राष्ट्रहरूलाई विजय र कुनै राष्ट्रहरूलाई हार दिनु भएको हुनु सकछ र? बाइबल अनुसार कुनै राष्ट्रले पनि सत्य परमेश्वरलाई पुकारेनन्। किनकि राष्ट्रहरूको निजी झगड़ा र गोलमालको निम्ति स्वर्ग र पृथ्वीको सृष्टिकर्ता यहोवा परमेश्वर जिम्मेवार हुनुहुन्न। (१ कोरिन्थी १४:३३) पृथ्वीको राजनीतिक र सैनिक राष्ट्रहरूको सोचविचार भन्दा उहाँको सोचविचार अति नै उच्च छन्। (यशैया ५५:८, ९) यस्तै प्रकार, सत्य धर्म र यहोवाको उपासनाले अन्य राष्ट्रहरूको युद्धहरूमा भाग लिने गर्दैन। राष्ट्रीय देवहरू भन्दा यहोवा अति उच्च हुनु हुन्छ। शान्ति रुचाउने हर राष्ट्रको पुरुष र स्त्रीहरूको उहाँ परमेश्वर हुनु हुन्छ। बाइबलमा भनेझैं, “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसंग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४–३५) हर राष्ट्रमा धार्मिकतातर्फ लगाव भएका मानिसहरूले आज बाइबलबाट शिक्षा लिंदैछन् र “शान्ति दिने परमेश्वर” मानिस जाति को सृष्टिकर्ता, सत्य परमेश्वरको उपासना अपनाउँदैछन्।—रोमी १६:२०; प्रेरित १७:२४–२७.
२०. कुन कुन कुराले गर्दा मसीहीजगत् ईश्वर विरोधी र अमसीही साबित भएको छ?
२० तर बाइबलको धर्म मान्छौं भनी हिड़ने मसीहीजगत्भित्र भइरहेको फूट र कपट लाई कसैले औल्याउँदै यसो भन्छन्, ‘बाइबलमा विश्वास कसरी गर्ने जब बाइबल साथमा हुने राष्ट्रहरू मिलेर एक सुरले आणविक हतियारहरू थुपारी रहेका छन्?’ तर यो कुराले गर्दा बाइबलको सत्यतामाथि शंका गर्नु मिल्दैन। किनभने उत्तरी ध्रुव दक्षिण ध्रुवबाट जतिको टाढ़ो छ, त्यतिकै टाढो ती मसीहीजगत्का राष्ट्रहरू पनि बाइबलको सत्य मसीही धर्मबाट हटेका छन्। तिनीहरूले सत्यतापूर्वक मसीही धर्मको पालना गरेका छैनन्। तिनीहरूसंग बाइबल त छ तर त्यसमा भएका आज्ञाहरू पालन गरेका छैनन्। हिरोशिमामा प्रथम बम खसाल्न आदेश दिने अमेरीकी राष्ट्रपतिले यो विश्व संकटमा बाटो देखाऊन: “यशैया वा सन्त पावल आए पनि हुन्थ्यो भन्नु भयो!” तर बाइबलको यशैयासंग वास्तवमा उहाँ सहमत हुनुहुँदो हो त उहाँले कहिले पनि आणविक बम खसाल्ने आदेश दिनु हुने थिएन। किनभने यशैयाले त ‘तरवारहरू पिटेर हलोको फाली र भालाहरू हँसिया’ बनाउने सिद्धान्त प्रतिपालन गर्नु भएको थियो। योबाहेक, बाइबलको पावलले पनि यसो भन्नु भएको थियो: ‘हामी शरीर अनुसार युद्ध गर्दैनौं। हाम्रो हतियारहरू शारीरिक होइनन्।” (यशैया २:४; २ कोरिन्थी १०:३, ४) तर बाइबलका यी असल सल्लाहहरू अनुसार हिड़नुको सट्टा, मसीहीजगत्का राष्ट्रहरू आणविक हात हतियारको होड़बाजीमा ग्रस्त छन्। बाइबलको कुरा मान्छौं भन्ने तिनीहरूको दाबी झूठो हो। परमेश्वरको इच्छा पालन नगरेको हुनाकारण, तिनीहरूले परमेश्वरको दण्डाज्ञा पो भोग्नु पर्नेछ।—मत्ती ७:१८–२३; सपन्याह १:१७, १८.
यहोवाको सृष्टि र चमत्कारहरू
२१. परमेश्वरको चमत्कारहरू माथि शंका गर्नु किन अनुचित हो?
२१ यहोवाले सृजनु हुन्छ, उहाँले चमत्कारहरू गर्नु हुन्छ। पानी रगतमा परिवर्तित, लाल समुद्र दुई भाग हुनु, कन्याद्वारा येशूको जन्म, जस्ता बाइबल मा उल्लेखित अरू चमत्कारहरू बारे के तपाईंले कहिले सोच्नु भएको छ? यी चमत्कारहरू कसरी हुन सके, शायद मानिसले कहिले पनि बुझ्न नसक्ला, हो, किनभने मानिसको समझशक्ति सीमित छ। प्रत्येक दिन सूर्य अस्ताउने र उदय हुने चमत्कार त मानिसले आज पूर्णतया बुझ्न सकेका छैनन्। स्वयं मानिसको सृष्टि नै एउटा चमत्कार हो। त्यो चमत्कार वर्तमान मानिसले नदेखेको भएतापनि, त्यो चमत्कार वास्तवमा भएकै थियो भनी मानिसले विश्वास गर्नुपर्छ किनभने ऊ स्वयंनै त्यसको जीवित प्रमाण हो। हो, हर प्रकारको जीव–जन्तु र सारा विश्वनै अनन्त चमत्कारहरू हुन्। त्यस्तै गरी परमेश्वरको वचन बाइबलमा पनि धेरै ईश्वरीय चमत्कारहरू उल्लेखित छन्, जुन चमत्कारहरू आज आवश्यक छैनन्। अब के ती चमत्कारहरू बारे आज पढ़दा हामीले शंका गर्नु न्यायसंगत होला र?
२२. परमेश्वरको प्रथम सृजनाको वर्णन गर्नुहोस्।
२२ यहोवाको सारा सृजना चमत्कारपूर्ण र उदेकलाग्दो छन्! सबैभन्दा उदेकलाग्दो त उहाँको प्रथम सृष्टि थियो। उहाँले सर्वप्रथम एउटा आत्मिक पुत्र, आफ्नो “जेठो” पुत्रको सृजना गर्नु भयो। (कलस्सी १:१५) यो ईश्वरीय पुत्र “वचन” कहलिनु भयो। कैयौं युग पश्चात उहाँ पृथ्वीमा पनि आउनुभयो र उहाँ “मानिस येशू ख्रीष्ट” कहलाउनुभयो। (१ तिमोथी २:५) तब उहाँको विषयमा यसो भनियो: “अनि वचन देह हुनआयो, र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गऱ्यो, औ हामीले उहाँको महिमा, पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा देख्यौं।”—यूहन्ना १:१४.
२३. (क) परमेश्वर र उहाँको पुत्रबीचको सम्बन्धको वर्णन कसरी गर्न सक्छौं? (ख) यहोवा परमेश्वरले आफ्नो छोराद्वारा के सृष्टि गर्नुभयो?
२३ यहोवा र उहाँको पुत्रको सम्बन्धलाई कुनै कारखानाको मालिक र मालिकको पुत्रको बीचको सम्बन्धसंग तुलना गर्न सक्छौं। जसरी कारखानामा बाबुले दिनु हुने नमूना अनुसार छोराले सर–सामान बनाउने गर्छ, त्यसरी नै यहोवाले उहाँको सहकर्मी जेठो पुत्रद्वारा अन्य आत्मिक व्यक्तिहरू अर्थात अरू ईश्वरीय पुत्रहरू सृजनु भयो। पछिबाट, यहोवाको मुख्य कारीगर, आफ्नो पुत्रद्वारा हाम्रो यो पृथ्वी र आकाश प्रस्तुत हुँदा, ती अन्य आत्मिक पुत्रहरूले हर्ष मनाए। यी कुराहरू वास्तवमा सृष्टि भए भनि के तपाईंलाई शंका लाग्छ? हजारौं वर्ष पश्चात यहोवाले एउटा विश्वासी मानिसलाई यो प्रश्न गर्नुभयो: “पृथ्वीको जग मैले बसाल्दा, तँ कहाँ थिइस? तैंले जान्दछस र बुझ्दछस भने मलाई बता। त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एक साथ गाए र स्वर्गीय जनहरू रमाहटले कराए?”—अय्यूब ३८:४, ७; यूहन्ना १:३.
२४. (क) यहेवाको पार्थिव सृष्टिहरूमध्ये कुन सृष्टि विशिष्ट छ र किन? (ख) जानवरहरूबाट मानिसको विकास भयो भन्नु किन मिल्दैन?
२४ केही समय पश्चात यहोवाले पृथ्वीको लागि बिरुवा, वृक्ष, फूल, माछा, चराचुरुंगी र जनावर जस्ता देख जीवहरूको सृजना गर्नुभयो। (उत्पत्ति १:११–१३, २०–२५) त्यसपछि परमेश्वरले आफ्नो प्रधान कारीगरलाई यसो भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। . . . यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नु भयो।” (उत्पत्ति १:२६, २७) परमेश्वरको महान प्रेम, बुद्धि, न्याय र शक्तिले सुसज्जित प्रथम पुरुष परमेश्वरको स्वरूपमा सृजिएको थियो। ऊ जानवरहरू भन्दा अति नै उच्च श्रेणिको थियो। मानिस जानवरहरू भन्दा छुट्टै वर्गको हो। मानिसले बुद्धि र तर्क प्रयोग गर्नु सक्छ, भविष्यको निम्ति योजना मिलाउनु सक्छ र परमेश्वरको उपासना गर्ने क्षमता उसंग छ। तर जानवरहरूले बुद्धि र तर्क चलाउन सक्दैनन्। तिनीहरू आफ्नो स्वभाविक प्रवृति अनुसार हिड़छन्। यसकारण सृष्टिकर्ता छैन अथवा बुद्धि र हर प्रकारको गुणले सुसज्जित मानिस निर्बुद्धि जानवरहरूबाट विकास हुँदै आएको हो भन्नु कति न मिल्दो कुरा हो!—भजन ९२: ६, ७; १३९:१४.
२५, २६. (क) मानिसको सामु के महान मौका राखिएको थियो? (ख) पृथ्वीमा नअटाउनेसम्मको जनसंख्या किन हुने छैन?
२५ परमेश्वरले मानिसलाई “पूर्व तिर अदनको बगैंचामा राख्नु भयो।” हाम्रो यो पुस्तिकाको मुख–पृष्ठमा चित्रित बगैंचा झैं; त्यो ठाउँ एउटा आनन्दको उद्यान थियो। त्यहाँ दुइ व्यक्ति मात्र थिए अर्थात आदम र उस्की पत्नी। त्यो आज छैन किनभने नूहको पालोको जलप्रलयमा त्यो नष्ट भयो। तर त्यो बगैंचाबाट बग्ने नदीहरूको नाम बाइबलमा दिइएको छ र ती नदीहरू आजसम्म छन्। यसले गर्दा मध्यपूर्वमा अदनको स्थल निश्चित गर्न सकिएको छ। (उत्पत्ति २:७–१४) यो बगैंचा फैलाउँदै पृथ्वीभरि एउटा विश्वव्यापी प्रमोदवन बनाउने महान मौका मानिसको सामु राखिएको थियो।—यशैया ४५:१२, १८.
२६ परमेश्वर र उहाँको पुत्र दुवै काम गर्छन, उहाँहरूले यहाँ पृथ्वीमा पनि मानिसलाई काम दिनु भयो। (यूहन्ना ५:१७) प्रथम पुरुष र स्त्री, आदम र हव्वालाई उहाँले यसो भन्नु भयो: “फल्दै फुल्दै वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरू माथि अधिकार गर।” (उत्पत्ति १:२८) तर के यहाँ मानिसको वृद्धि हुँदै पृथ्वीमा अटाई–नअटाई हुनु भन्न खोजिएको होला र? होइन। कसैले तपाईंलाई कचौरा भरी चिया हाल्न भन्यो भन्दैमा, अवश्य पनि कचौरा भरेर चिया जताततै पोखुञ्जेल तपाईं चिया हालिरहनु हुन्न। कचौरा भरेपछि तपाईं चिया हाल्न बन्द गर्नु हुन्छ। त्यस्तै गरी, मानिसको “वृद्धि” द्वारा परमेश्वरको पृथ्वी भर्ने उद्देश्य पूरा भएपछि मानव वृद्धि पनि बन्द हुनेछ। सिद्ध मानव परिवारमा यो कुनै ठूलो समस्या हुनेछैन। वर्तमान असिद्ध मानव संसारमा मात्र जनसंख्या एउटा समस्या हो।
परमेश्वरले खराब कुराहरू किन हुनदिनुहुन्छ?
२७. कुन कुन प्रश्नहरूको जवाफ चाहिएको छ?
२७ पृथ्वीलाई प्रमोदवन बनाउनुनै परमेश्वरको उदेश्य हो भने आज किन पृथ्वीभरि दुष्टता, पीड़ा र क्लेश पाउछौं? परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने, यतिका समयसम्म उहाँले यस प्रकारका परिस्थितिहरू किन चल्न दिनु भएको छ? हाम्रो सबै संकष्टहरूको अन्त हुने आशा छ र? बाइबलले के भन्छ?
२८. प्रमोदवनमा विद्रोह कसरी शुरु भयो?
२८ परमेश्वरको आत्मिक पुत्रहरूमध्ये एउटाले यहोवाको सार्वभौमिकताको विद्रोह गरेपछि मानिसको संकष्टहरू आरम्भ भएको कुरा बाइबलमा उल्लेखित छ। (रोमी १:२०; भजन १०३:२२, NW Ref. Bi., ftn.) निःसन्देह, मानिसको सृष्टि हुँदा यो दूत पनि अरू दूतहरूसंग रमाएको थियो। तर केही समय पछि, त्यसको हृदयमा लोभ र अहंकारले जरा बसाल्यो। आदम र हव्वाले तिनीहरूका सृष्टिकर्ता यहोवाको उपासना गर्न छोड़ेर त्यस्कै उपासना गरोस भन्ने तृष्णा त्यसले गरयो। जादूगरहरू पुतलीद्वारा बोले झैं, यो दूत सर्पद्वारा बोल्यो र हव्वालाई सर्वशक्तिमान परमेश्वरको आज्ञा उलंघन गर्न उक्सायो। आदमले पनि आफ्नी पत्नीसंग लागेर आज्ञा उल्लंघन गऱ्यो।—उत्पत्ति २:१५–१७; ३:१–६; याकूब १:१४, १५.
२९. (क) फैसला गर्नु पर्ने कुन कुन वादविवाद उठ्यो? (ख) परमेश्वरले चुनौतीको सामना कसरी गर्नु भयो? (ग) तपाईंले पनि शैतानको निन्दालाई असत्य साबित पार्ने काममा कसरी भाग लिन सक्नुहुन्छ?
२९ समयमा, त्यो विद्रोही स्वर्गदूत “वृद्ध सर्प” कहलियो। (प्रकाश १२:९; २ कोरिन्थी ११:३) त्यसलाई शैतान र दियाबल पनि भन्छन्। शैतानको अर्थ “विरोधी” र दियाबलको अर्थ “निन्दा गर्ने व्यक्ति” हो। त्यस्ले पृथ्वीमा यहोवाको धार्मिक र उचित शासन बारे वादविवाद उठायो। शैतानले सत्य उपासनाबाट जसलाई पनि भड़काउन सकछु भन्ने दाबी गऱ्यो। यहोवाको सार्वभौमिकता बारे उठेको वादविवाद सदाको निम्ति फैसला होस् र शैतानले आफ्नो दाबी साबित गर्न खोज्ने मौका पनि पाओस भनेर यहोवाले शैतानलाई ६००० वर्षको समय दिनु भयो। तर परमेश्वरबाट स्वतन्त्र रहेको मानव शासन पुरै असफल भएको छ। अर्कोतिर विश्वासी पुरुष र स्त्रीहरूले, जसमध्ये येशू प्रमुख उदाहरण हुनुहुन्छ, कठिन भन्दा कठिन परीक्षाहरूको सामने पनि परमेश्वर प्रति आफ्नो समग्रता कायम राख्दै शैतानलाई झूठो र यहोवालाई सच्चा साबित पारेका छन्। (लूका ४:१–१३; अय्यूब १:७–१२; २:१–६; २७:५) तपाईं पनि समग्रता पालक हुन सक्नुहुन्छ। (हितोपदेश २७:११) तर हामीलाई पीड़ित पार्ने शत्रु शैतान मात्र होइन। त्यो अर्को शत्रु को हो?
शत्रु—मृत्यु
३०. अनाज्ञाकारिताले गर्दा मानिसमाथि आइपरेको दण्डाज्ञाबारे शास्त्रले के भन्छ?
३० अनाज्ञाकारिताको फल मृत्यु हुनेछ भनी परमेश्वरले घोषणा गरिसक्नु भएको थियो। प्रथम स्त्रीलाई दण्डाज्ञा सुनाउनु हुँदा यहोवाले यसो भन्नु भयो: “तेरो दुःख र सुत्केरी वेदना म ज्यादैगरी बढ़ाइदिनेछु। दुःखसँग तैंले बालक जन्माउनेछस। तापनि तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” आदमलाई यसो भन्नु भएको थियो: “तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस। तँ माटै होस र माटैमा फर्किजानेछस।” (उत्पत्ति ३:१६–१९) त्यो अनाज्ञाकारी दम्पतीलाई आनन्दको प्रमोदवनबाट बाहिर बाँजो धर्तीमा धपाईयो। समयमा तिनीहरू मरे।—उत्पत्ति ५:५.
३१. पाप के हो र मानिसमाथि त्यसको के असर परेको छ?
३१ सिद्धताबाट पतन भइसकेपछि मात्र आदम र हव्वाको छोराछोरी जन्मन थाले। सबै वर्तमान मानिसहरू तिनीहरूका असिद्ध सन्तान हुन्। यसले गर्दा सबै मर्छन। यो कुरालाई बाइबलको एउटा लेखक ले यी शब्दहरूमा व्यक्त गर्नु भएको छ: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेकाछन।” यो “पाप” के हो? सिद्धता वा पूर्णताको अभाव हुनुनै पाप हो। कुनै पनि असिद्ध कुरालाई यहोवा मन पराउनु हुन्न। त्यसलाई जीवित राख्नु हुन्न। प्रथम पुरुष आदमबाट सबैले नै पाप र असिद्धता पाएको हुनाकारण मृत्युले सबै माथि “राज्य” गर्दै आएको छ। (रोमी ५:१२, १४) पतित मानिस यसैकारण जानवर सरह मर्छ।—उपदेशक ३:१९–२१.
३२. बाइबलमा हामीले वंशानुगत पाएको मृत्युको के परिभाषा दिइएको छ?
३२ “मृत्यु” के हो? मृत्यु जीवनको विपरीत हो। आज्ञापालन गरेको खण्डमा सधैंभरि पृथ्वीमा जीवन बिताउने मौका परमेश्वरले मानिसको सामने राखिदिनु भएको थियो। तर मानिसले आज्ञा उल्लङ्घन गरयो र त्यस्को सजाय मृत्यु भयो अर्थात अचेतन र अस्तित्वहिनता। आज्ञा उल्लङ्घन गरेर मानिस मरेमा उसलाई कुनै आत्मिक संसार वा अग्निमय “नरकमा” परमेश्वरले लैजाने कुरा गर्नु भएको थिएन। उहाँले मानिसलाई यो चेतावनी दिनु भएको थियो; “तं अवश्य मर्नेछस्।” हत्यारा शैतानले पो “तिमी कदापि मर्नेछैनौ” भन्दै झूठ बोलेको थियो। (उत्पत्ति २:१७; ३:४; यूहन्ना ८:४४) सबै मानिसले आदमबाट मृत्यु पाएका छन्।—उपदेशक ९:५, १०; भजन ११५:१७; १४६:४.
३३. (क) मानिसजाति र यो पृथ्वीको कस्तो महिमायुक्त भविष्य हुनेछ? (ख) यहोवाले उहाँको पुत्रद्वारा कुन तीन कार्यहरू गर्नुहुनेछ?
३३ त के मरी जाने मानिसको भविष्य छैन? छ, एउटा सुन्दर भविष्य छ! सारा मानिस जातिको निम्ति, मरिसकेकाहरूको लागि समेत, एउटा पार्थिव प्रमोदवन स्थापित गर्ने उद्देश्य परमेश्वरले रच्नु भएको छ। त्यो उद्देश्य कहिले पनि व्यर्थ जाने छैन। यहोवा यसो भन्नु हुन्छ: “स्वर्ग मेरो सिंहासन र पृथ्वी मेरो पाउदान हो।” “मेरो पाउदानलाई म महीमित पार्नेछु।” (यशैया ६६:१; ६०:१३) सारा मानिस जातिले उहाँको पुत्र अर्थात् वचनद्वारा जीवन पाउन भनेर यहोवाले आफ्नो पुत्रलाई पृथ्वीमा पठाउनु भयो। उहाँले यसरी हाम्रो निम्ति महान प्रेम दर्साउनु भयो। (यूहन्ना ३:१६; १ यूहन्ना ४:९) यहोवाले उहाँको पुत्रद्वारा गर्नु हुने तीन मुख्य कार्यहरूमा अब हामी ध्यान दिनेछौं, (१) मृत्युको शक्तिबाट छुटकारा; (२) मरेकाहरूलाई फेरि जीवित पार्ने; (३) सारा मानिसजातिमाथि सिद्ध सरकार स्थापित गर्ने।
मृत्युबाट छुटकारा
३४, ३५. (क) मानिसलाई मृत्युबाट कसरी मात्र छुटकारा दिन सक्नेभयो? (ख) मुक्ति मूल्य के हो?
३४ प्राचीनकालदेखि परमेश्वरको अगमवक्ताहरूले मानिसको अमरत्वमा होइन तर परमेश्वरले मरेकाहरूलाई पुनः जीवित पार्न सकनु हुन्छ भन्ने कुरामा आशा राख्दैआएका थिए। (होशे १३:१४) तर मानिसले मृत्युको बन्धनबाट छुटकारा कसरी पाउने? यहोवाको सिद्ध न्याय र कानून अनुसार ‘प्राणको बदलामा प्राण, आँखाको बदलामा आँखा र दाँतको बदलामा दाँत’ दिन आवश्यक थियो। (व्यवस्था १९:२१) आदमले जानाजान परमेश्वरको आज्ञा उल्लङ्घन गरेर सारा मानिसजाति माथि वंशानुगत मृत्यु ल्यायो। उसले मानव जीवनको सिद्धता गुमाइदियो। यसकारण, अब आदमको ठाँउमा एउटा अर्को सिद्ध मानवले आफ्नो सिद्ध मानव जीवनको मोल तिरेर आदमले गुमाएको चीज पुनः प्राप्त गर्नु परयो।
३५ ‘प्राणको बदला प्राण’ भन्ने सिद्धान्तले इतिहासभरि जताततै आम स्वीकृति पाएको छ। साधारणतया यसलाई “मुक्ति मूल्य” चुकाउने भन्छन्। तर मुक्ति मूल्य के हो? “शत्रुको हातबाट मान्छे वा कुनै वस्तु छुटाउनलाई दिइएको मूल्य वा धन मुक्ति मूल्य हो। यसकारण दासहरू अथवा युद्धका कैदीहरूको निम्ति मोल तिरेर छुटकारा दिंदा मुक्ति मूल्य तिरेर छुटकारा दिइएको भन्छन्।”c आदमको मृत्यु पश्चात सारा मानिसजाति पनि असिद्धता र मृत्युको बन्धनमा परेर युद्धको कैदी सरह छन्। तिनीहरूको छुटकाराको मुक्ति मूल्य तिर्न आवश्यक पऱ्यो। साथै, मुक्ति मुल्य पनि यथेष्ट हुनुपऱ्यो। यसकारण, आदम सरह एउटा अर्को सिद्ध मानव जीवनको बलिदान आवश्यक हुने भयो।
३६. एउटा सिद्ध मानव जीवनको मुक्ति मूल्यको प्रबन्ध यहोवाले कसरी गर्नुभयो?
३६ तथापि, त्यस प्रकारको सिद्ध मानिस अब पाउने कहाँ? सबै नै असिद्ध आदमको सन्तान हुनाले सबै जन्म देखिनै असिद्ध छन्। “तिनीहरूमा कसैले पनि आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्तैन, परमेश्वरलाई त्यसको छुटकाराको मोल त्यसले दिन सक्तैन।” (भजन ४९:७) त्यो आवश्यकता पूरा गर्न यहोवा अग्रसर हुनु भयो, मानिस प्रति गहीरो प्रेम भएको हुनाकारण, उहाँले आफ्नो अनमोल “जेठो” पुत्रलाई नै त्यो आवश्यक बलिदानको रूपमा पठाउनु भयो। यो आत्मिक पुत्र “वचनको” सिद्ध जीवनलाई उहाँले यहूदी कन्या मरियमको गर्भमा सारिदिनुभयो। कन्या गर्भवती भएर समयमा उनले एउटा छोरा जन्माइन, जसको नाम “येशू” राखियो। (मत्ती १:१८–२५) यस प्रकारको अद्भुत चमत्कार गर्न जीवन दाताको निम्ति कुनै गाह्रो कुरा भएन।
३७. जीवन रूचाउने मानिसहरूको निम्ति येशूले कसरी प्रेम दर्साउनु भयो?
३७ येशू बढ़दै जानु भयो र समयमा एउटा नवजवान पुरुष हुनु भयो। यहोवाको निम्ति उहाँले स्वयंलाई समर्पण गर्नु भयो र बप्तिस्मा लिनु भयो। (मत्ती ३:१३; १६, १७) येशूको पार्थिव जीवन स्वर्गबाट आएको हुनाले उहाँ सिद्ध हुनुहुन्थ्यो। मानिसजातिलाई मृत्युबाट छुटकारा दिनको निम्ति उहाँले आफ्नो सिद्ध मानव जीवन बलिदान दिन सक्नुहुने भयो। (रोमी ६:२३; ५:१८, १९) उहाँले स्वयं यसो भन्नु भयो “म ता तिनीहरूले जीवन पाऊन र त्यो प्रशस्त मात्रामा पाऊन भन्ने हेतुले आएँ।” “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्ना १०:१०; १५:१३) शैतानले मान्छेहरू द्वारा येशूलाई काठमा झुण्ड्याएर मारी दियो, उहाँले यस प्रकारको दुःखदायी मृत्यु स्वीकार्नु भयो। यो मुक्ति मूल्यको प्रबन्धद्वारा विश्वासी मानिसहरूले जीवन पाउने छन् भनी उहाँलाई थाहा थियो।—मत्ती २०:२८; १ तिमोथी २:५, ६.
जीवनको पुनःस्थापन
३८. परमेश्वरको पुत्र कसरी पुनः जीवित हुनु भयो?
३८ हो, दुश्मनहरूले परमेश्वरको पुत्रको हत्या गरे। तर अन्तसम्म परमेश्वर प्रति समग्रता पालन गरेको हुनाकारण, मानवजीवनलाई सिद्ध पार्ने हक उहाँले गुमाउनु भएन। तर मर्नु भएर चिहानमा जानुभएपछि, मानव जीवनमाथि उहाँको यो अनमोल हक उहाँले सारा मानिसजातिको निम्ति प्रयोग गर्न सकने भएन? यसकारण, यहोवाले यहाँ एउटा अर्को चमत्कार गर्नु भयो। त्यस प्रकारको चमत्कार पहिले गर्नु भएको थिएन। येशू चिहानमा जानु भएर तेस्रो दिनमा यहोवाले उहाँलाई एउटा अमर आत्मिक व्यक्तिको रूपमा पुनःजीवित पार्नु भयो। (रोमी ६:९; १ पत्रुस ३:१८) यो पुनरुत्थानमा विश्वास दिलाउनको निम्ति येशूले समय समयमा मानव शरीर धारण गर्नु भयो र अनेक पटक आफ्नो चेलाहरू कहाँ देखा पर्नु भयो। एक पटक त ५०० भन्दा धेरै चेलाहरूले उहाँको दर्शन पाए। पछि प्रेरित पावल पनि येशूको महिमायुक्त दशर्न पाएर केही समयको लागि अन्धो हुनु भयो। यिनीहरू मध्ये कसैले पनि येशूको पुनरुत्थानको चमत्कारमा अविश्वास गर्ने कारण देखेनन्।—१ कोरिन्थी १५:३–८; प्रेरित ९:१–९.
३९. (क) येशूले आफ्नो बलिदानको मूल्य कसरी प्रयोग गर्नु हुनेछ? सर्वप्रथम कसको निम्ति? (ख) येशूले अर्को कुन महान चमत्कारबारे कुरा गर्नु भयो?
३९ चालीस दिन पश्चात, परमेश्वरको सामु हाजिर हुनको निम्ति पुनःजीवित येशू स्वर्ग जानु भयो। त्यहाँ जानु भएर उहाँले मानिस जातिको छुटकाराको लागि आफ्नो सिद्ध मानव बलिदानको मूल्य प्रस्तुत गर्नु भयो। “तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नु भयो, यस पछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनु हुन्छ।” (हिब्रू १०:१२, १३) यो मुक्ति मूल्यद्वारा सर्वप्रथम छुटकारा विश्वासी मसीहीहरूका एउटा “सानो बगालले” पाउने छन्। तिनीहरू “ख्रीष्टका हुन्”। (लूका १२:३२; १ कोरिन्थी १५:२२, २३) तिनीहरू “मानिसबाट किनिएका हुनाले” तिनीहरू स्वर्गमा येशूका आत्मिक संगीहरू हुनेछन्। (प्रकाश १४:१–५) तर जति जना आज चिहानमा छन्, उनीहरूको के हुने? पिताले येशूलाई न्याय गर्ने र जीवन दिने अधिकार दिनुभएको छ भनि स्वयं येशूले पृथ्वीमा छंदा भन्नु भएको थियो। उहाँले यो कुरा पनि थप्नु भयो: “यसमा अचम्म नमान, किनभने बेला आँउछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन औ . . . पुनरुत्थानको निम्ति निस्किआउनेछन।” (यूहन्ना ५:२६–२९) उहाँले ती मरेकाहरूलाई पार्थिव प्रमोदवनमा पुनः जीवित पार्नु हुनेछ।
४०, ४१. (क) “पुनरुत्थानको” अर्थ के हो? विवरण दिनुहोस्। (ख) पुनरुत्थान सम्बन्धी ईश्वरीय प्रतिज्ञामा हामी किन विश्वास गर्न सक्छौं?
४० “यसमा अचम्म नमान” येशूका ती शब्दहरूमाथि गौर गर्नुहोस्। तर तपाईं सोध्नु होला, धेरै लामो समयदेखि मरिसकेको मान्छे पनि पुनःजीवित हुन सक्ला र? उसको शरीर माटोमा फर्की सक्यो? उसको शरीरको केही तत्वहरू त बिरूवा र जानवर जस्तै अरू जीवित थोकहरूमा मिली सकेको होला। तर पुनरुत्थानको अर्थ ठीक त्यही पुरानो रासायनिक तत्वहरूलाई नै जम्मा गर्ने होइन। त्यसको अर्थ ठीक त्यही पुरानो व्यक्तित्व भएको त्यही व्यक्तिलाई परमेश्वरले पुनःसृष्टि गर्नु हुने हो। परमेश्वरले पृथ्वीको तत्वहरूबाट एउटा नयाँ शरीर सृष्टि गर्नु हुनेछ। त्यसपछि, मर्ने बेलासम्मको त्यो व्यक्तिको स्वभाव, गुणहरू, स्मृति र जीवनशैली जे थियो, त्यही नै परमेश्वरले त्यो नयाँ शरीरमा राखिदिनु हुनेछ।
४१ उदाहरणको लागि, तपाईंलाई मन परेको घर आगोमा भस्म भएता पनि, तपाईंले त्यो घरको पुनःनिर्माण गर्न सक्नुहुनेछ। किनभने त्यो घरको सानो देखि सानो विवरण जम्मै तपाईंको स्मृतिमा स्पष्ट हुन्छ। त्यस्तै गरी, परमेश्वर स्मृतिको सृजनहार हुनु हुन्छ। उहाँले प्रेम गर्नु भएको मानिसहरू उहाँको स्मृतिमा छन् र समयमा उहाँले तिनीहरूको पुनः सृष्टि गर्न सक्नुहुन्छ। (यशैया ६४:८) यसकारण बाइबलमा “स्मरणको चिहान” भन्ने शब्द प्रयोग गरिएको थियो। (बाइबलको अंग्रेजी अनुवाद र अरू अन्य अनुवादहरू हेर्नुहोस्।) परमेश्वरले खटाउनुभएको समयमा मरेकाहरूलाई पुनः जीवित पार्नु हुँदा, उहाँले चमत्कारनै गर्नु हुनेछ। प्रथम पुरुषको सृष्टि पनि त चमत्कारै थियो। तर यस पटक उहाँले त्यो चमत्कार एक पल्ट मात्र होइन, बारम्बार गर्नु हुनेछ।—उत्पत्ति २:७; प्रेरित २४:१५.
४२. पृथ्वीमा अनन्त जीवन किन सम्भव र निश्चित छ?
४२ परमेश्वरले मानिसलाई पुनःजीवन प्रदान गर्नु हुनेछ। पृथ्वीमा फेरि कहिले न मरी बाँच्ने मौका दिनु हुनेछ। तर पृथ्वीमा अनन्त जीवन सम्भव छ र? सम्भव मात्र होइन, निश्चित पनि छ किनभने इश्वरीय इच्छा र उद्देश्य नै त्यही हो। (यूहन्ना ६:३७ –४०; मत्ती ६:१०) आदमबाट वंशानुगत मृत्यु पाएकोले गर्दा मात्र आज पृथ्वीमा मानिस मर्दै छन्। तर अर्को तिर मानिसको आनन्दको निम्ति सृजिएको अनगिन्ती चीजबीज हेर्दा यो सय वर्ष भन्दा मुनिको आयु पटक्कै यथेष्ठ छैन! मानिसले सय वर्ष मात्र होइन, हजार वर्ष मात्र होइन, तर सधैंभरि बाँचेर परमेश्वरको अद्भुत सृष्टिबाट आनन्द उठाउन सकोस भन्ने उद्देश्य रचेर परमेश्वरले मानिसको सन्तानलाई यो पृथ्वी दिनु भएको थियो!—भजन ११५:१६; १३३:३.
शान्ति ल्याउने सिद्ध सरकार
४३. (क) एउटा सिद्ध सरकार आज कतिको आवश्यक छ? (ख) यस सम्बन्धमा यहोवाको उद्देश्य के हो?
४३ हाम्रो प्रथम आमा र बाबुले परमेश्वरको व्यवस्था उल्लंघन गरेको हुनाकारण मानव सरकार शैतानको अधीनमा परयो। यसैकारण बाइबलमा शैतानलाई यो “संसारको देव” भनिन्छ। (२ कोरिन्थी ४:४) चली आएको युद्धहरू, क्रुरता, भ्रष्टाचार र मानव सरकारहरूको अस्थिरताले शैताननै वास्तवमा यो संसारको देव हो भनी पुष्टि गर्दछ। यो अन्योलमा राष्ट्रसंघ र संयुक्त राष्ट्र संघ दुवै शान्ति स्थापित गर्न विफल भएका छन्। शान्ति ल्याउन सकने सरकारको मानवजातिले खोजी गरिरहेको छ। यसकारण, के पृथ्वीमा पुनः प्रमोदबन स्थापित पार्ने उद्देश्य हुने सृष्टिकर्ताले प्रमोदवनमाथि राज्य गर्नको लागि एउटा सिद्ध सरकारको प्रबन्ध गर्नु हुँदैन होला? यहोवाले ठीक त्यही गर्ने उद्देश्य रच्नुभएको छ। यो सरकारमा उहाँको प्रतिनिधित्व गर्ने राजा “शान्तिको राजकुमार” येशू ख्रीष्ट हुनु हुनेछ, जसको “शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.
४४. (क) यो सरकार कहाँ हुने हो? (ख) त्यसमा को को सम्मिलित हुनेछन्?
४४ त्यो सिद्ध सरकार स्वर्गमा आधारित हुनेछ भनी बाइबलमा उल्लेखित छ। त्यहाँबाट, राजा येशू ख्रीष्टले सारा पृथ्वीलाई धार्मिकतापूर्वक राज्य गर्नु हुनेछ। त्यति मात्र होइन। त्यो अदृश्य स्वर्गीय सरकारमा सह शासकहरू पनि हुनेछन्। ती सह शासकहरू पृथ्वीका विश्वासी मानिसहरूबाट चुनिएका हुनेछन्। तिनीहरू येशूका चेलाहरू हुन् जसले संकष्टहरूको माझमा उहाँको साथ दिए र जसलाई उहाँले यसो भन्नु हुन्छ: “मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु।” (लूका २२:२८, २९) येशू ख्रीष्टसंग स्वर्गमा शासन गर्नको लागि मानवजातिबाट थोरैलाई स्वर्ग लगिने छ। उदाहरणको लागि, वर्तमान राष्ट्रहरूमा पनि संसदका सदस्य थोरै मात्र हुन्छन्। बाइबल अनुसार, येशूको १,४४,००० संगी शासकहरू हुनेछन्। यसकारण, परमेश्वरको राज्य वा स्वर्गीय सरकारमा येशू ख्रीष्ट र पृथ्वीबाट स्वर्ग लगिएका १,४४,००० हुनेछन्। (प्रकाश १४:१–४; ५:९, १०) तर पृथ्वीमा चाहिं के हुने? भजनसंग्रह ४५:१६ अनुसार राजाले “पृथ्वी भरी राजकुमारहरू” नियुक्त गर्नेछ। अर्थात, मानव “राजकुमारहरू” वा सरकारी अधिकृतहरू धार्मिकता प्रति तिनीहरूको गहिरो भक्तिको कारण स्वर्गबाट मनोनित हुनेछन्।—यशैया ३२:१ संग तुलना गर्नुहोस्।
४५, ४६. (क) पृथ्वीमा छँदा येशूको प्रचारको मुख्य विषय के थियो? (ख) सिद्ध सरकारको स्थापना त्यस बेला नै किन भएन? (ग) भविष्यवाणी र विश्व घटनाहरूमा १९१४ किन एउटा विशेष साल हो?
४५ यो सिद्ध सरकारको स्थापना कहिले र कसरी हुने? येशू पृथ्वीमा छँदा उहाँको प्रचारको मुख्य विषयनै परमेश्वरको राज्य थियो। (मत्ती ४:१७; लूका ८:१) तर उहाँले त्यो राज्यको स्थापना त्यसै बेला गर्नु भएन। न त उहाँको पुनरुत्थानमा त्यो राज्य स्थापित भयो। (प्रेरित १:६–८) स्वर्गमा उक्ली जानु भए पछि पनि यहोवाले खटाउनु भएको समयको निम्ति उहाँले पर्खनु पऱ्यो। (भजन ११०:१, २; हिब्रू १:१३) बाइबलको भविष्यवाणी अनुसार त्यो खटाएको समय १९१४ थियो। तर यहाँ यो प्रश्न उठछ, ‘१९१४ देखि एउटा सिद्ध सरकार आउनको सट्टा विश्व क्लेशहरूको पो वृद्धि भएको देख्छौं, होइन र?’ हो! किनभने परमेश्वरको राज्यको आगमनसंग हाल सालैको दुर्घटनाहरू सम्बन्धित छन्।
४६ बाइबलको भविष्यवाणी अनुसार १९१४ एउटा विशेष साल हो भन्दै द वॉचटावर पत्रिकाद्वारा १९१४ आउन भन्दा ३५ वर्ष पहिला देखिनै घोषणा गरिएको थियो। (धार्मिक पत्रिकाहरूमध्ये सबैभन्दा बढ़ी वितरण हुने पत्रिका आज द वॉचटावर नै हो) ती भविष्यवाणीहरू १९१४ देखि विशेष रूपमा पूरा हुन थालेकाछन्। तीमध्ये एउटा भविष्यवाणी त येशूले आज भन्दा १९०० वर्ष पहिला भन्नु भएको थियो, यो संसारको अन्त हुनेबेलामा देखा पर्ने “चिन्ह” बारे उहाँले भविष्यवाणी गर्नु भयो, त्यो “चिन्ह” नै उहाँको राजकीय शक्ति र अदृश्य उपस्थितिको प्रमाण हुनेछ भन्नु भयो। यो “चिन्ह” बारे उहाँको चेलाहरूले सोधनी गर्दा, उहाँले यो जवाफ दिनु भयो: “किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाँउ ठाँउमा अनिकाल र भैंचालो हुनेछ। तर यो सबै ता कष्टका शुरु हुन।” (मत्ती २४:३, ७, ८) यो भविष्यवाणी गजबसंग ठीक समयमा पूरा भएको देख्यौं किनभने १९१४ मा नै प्रथम विश्व युद्ध शुरु भयो, त्योभन्दा पहिला २,५०० वर्षको दौरानको ९०० युद्धहरूले भन्दा प्रथम विश्व युद्धले सात गुणा बढ़ी ध्वंश मचायो! त्यहाँदेखि यता कष्ट र पीड़ाहरू निरन्तर बढ़दै आएको छ। के तपाईंले यो पृथ्वीमा १९१४ देखि यसो घटेको युद्ध, अनिकाल वा कुनै ठूलो भैंचालो अनुभव गर्नु भएको छ? अनुभव गर्नु भएको छ भने, तपाईं यो संसारको “अन्तको” “चिन्ह” को साक्षी हुनुहुन्छ।—दानियल १२:४.
४७. हालसालै त्यो चिन्ह पूरा हुने घटनाहरूमा के वृद्धि भएको पाउँछौं?
४७ प्रथम विश्व युद्धभन्दा अझ चार गुणा हानिकारक दोश्रो विश्व युद्ध र आजको आणविक जमानामा “संकष्टहरुको पीड़ा” बढ़दै छ, यसरी येशूको यो बाँकी भविष्यवाणी पनि पूरा हुँदैछ: “पृथ्वीमा जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ . . . , र संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन।” (लूका २१:२५, २६) साथै अपराध र दुष्टता, अनाज्ञाकारी केटाकेटीहरू, नास्तिकपना र अनैतिकताको वृद्धि जम्मैनै—यो दुष्ट संसारको “आखिरी दिनको” चिन्ह हुन् भनी भविष्यवाणी गरिएको थियो।—२ तिमोथी ३:१–५; मत्ती २४:१२.
४८. पृथ्वीमा हुने संकष्टहरूका निम्ति को जिम्मेवार छ र १९१४ देखि ती संकष्टहरूमा किन वृद्धि हुँदैछ?
४८ तर १९१४ मा त्यो स्वर्गीय सरकार स्थापित भएको हो भने पृथ्वीमा यी जम्मै संकष्टहरू किन आज पनि छन्? यस्को निम्ति जिम्मेवार शैतान हो। राजकीय शक्ति पाउन साथै येशूले सर्वप्रथम अदृश्य स्वर्गमा शैतानसंग युद्ध लड़नु भयो। फलस्वरूप “सारा पृथ्वीलाई ठग्ने” शैतान र त्यसका दूतहरू सबै तल पृथ्वीमा फ्याँकिए। अब आफ्नो नाश हुने बेला नजिकै आएको छ भनी त्यसलाई थाहा छ। यसैकारण त्यसले पृथ्वीमा ठूलो अन्यौल मच्चाइरहेको छ। “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:७–९, १२.
४९. (क) “पृथ्वीको नष्टकारी”-को के हुनेछ? (ख) यहोवाले राष्ट्रहरूमाथि आफ्नो “न्यायको फैसला” कसरी प्रकट गर्नु हुनेछ?
४९ के यी संकष्टहरूको अन्त हुनेछ र? हो, हुनेछ!—सर्वशक्तिमान परमेश्वरको राज्य अर्थात स्वर्गीय सरकारले “पृथ्वीका नष्टकारीहरूको नाश” गर्दा यी आजका संकष्टहरूको नाश हुनेछ। (प्रकाश ११:१८; दानियल २:४४) राजनैतिक शक्ति, झूठो मसीही वा अरू कसैले पनि तिनीहरूको आणविक हतियारको प्रयोगद्वारा परमेश्वरको हस्तकला यो पृथ्वीलाई नाश गर्न पाउने छैनन्। किनभने परमेश्वरको यो घोषणा छ: “जाति जाति र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ।” (सपन्याह ३:८) यो विश्वभित्र यहोवाको अधीनमा महान् शक्तिहरू छन्, त्यही शक्तिहरूलाई प्रयोग गर्दै यहोवाले उहाँको ख्रीष्टद्वारा शैतानका पछि लाग्नेहरू जम्मै माथि विशाल विनाश ल्याउनु हुनेछ। नूहको पालोमा भएको जलप्रलय जस्तै त्यो विनाश विश्वव्यापी हुनेछ।—यर्मिया २५:३१–३४; २ पत्रुस ३:५–७, १०.
५०. (क) “हारमागेदोन” के हो? (ख) कसकसले मात्र हारमागेदोन पार तर्नेछन्?
५० दुष्ट राष्ट्रहरूको यो सर्वनाशलाई बाइबलमा परमेश्वरको युद्ध अर्थात् हारमागेदोन भनिन्छ। (प्रकाश. १६:१४–१६) यहोवा र उहाँको धार्मिकतालाई खोजी गर्ने नम्र मानिसहरूले मात्र हारमागेदोन पार तरेर परमेश्वरको नयां संसारमा प्रवेश गर्नेछन्। (सपन्याह २:३; यशैया २६:२०, २१) यिनीहरूको विषयमा बाइबलले यसो भन्दछ: “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन।” (भजन ३७:११) त्यहाँदेखि पृथ्वीलाई प्रमोदवन बनाउने महानकार्य शुरु हुनेछ!
प्रमोदवनमा प्रवेश पाउने शिक्षा
५१. तपाईंले किन आज नै सही कदम चाल्न आवश्यक छ?
५१ के तपाईं प्रमोदवनमा बस्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, येशूले हाम्रो कष्टमय समयबारे कुरा गर्नु हुँदा भन्नु भएको अर्को थपकुरा सुनेर तपाईं खुशी हुनुहुनेछ, उहाँले यसो भन्नु भएको थियो: “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” यसको अनुसार, १९१४ मा “पीड़ाहरूको आरम्भ” देख्ने पुस्ताका केहि व्यक्तिहरूले पृथ्वीमा प्रमोदबन स्थापित भएको देख्ने रहेछन्। (मत्ती २४:३–८, ३४) तर दुःखको कुरा, आज धेरैजसो मानिसहरू विनाशमा लैजाने फराकिलो बाटोमा छन्। (मत्ती ७:१३, १४) फर्केर त्यो बाटोबाट आउनको निम्ति समय थोरै मात्र छ। तर समयमानै यहोवाले चेतावनी दिनु भएको छ, यसको निम्ति हामी कति कृतज्ञ हुनु पर्छ! यहोवा तपाईंको बचाव चाहनु हुन्छ, यसकारण, उहाँले तपाईंलाई सही कदम उठाउने मदत पनि दिनु हुनेछ।—२ पत्रुस ३:९; इजकिएल १८:२३.
५२. धर्म सम्बन्धित ठीक फैसला गर्नको निम्ति के आवश्यक छ?
५२ अब तपाईंले ज्ञान लिन अत्यावश्यक छ। (१ तिमोथी २:४; यूहन्ना १७:३) तर यो ज्ञान कहाँ पाउने? जुनसुकै धर्ममा पनि यो ज्ञान पाउन सकिन्छ र? कसैकसैको भनाइअनुसार जसरी पहाड़को जम्मै बाटोहरूले टाकुरामा पुऱ्याउँछ, त्यसरी नै सबै धर्महरूको लक्ष्य पनि एउटै हो। तर यो विचार कति गलत हो! ठीक मार्ग फेला पार्नको निम्ति पर्वत चढ़नेहरूले मानचित्रहरूको प्रयोग गर्छन र बाटो देखाउने मान्छेहरूको मदत लिन्छन्। त्यस्तै गरी अनन्त जीवनसम्म पुऱ्याउँने एक मात्र साँचो धर्म छ र त्यो फेला पार्ने हो भने मार्ग निर्देशन आवश्यक छ।—प्रेरित ८:२६–३१.
५३. (क) अनन्त जीवन प्राप्त गर्नको निम्ति तपाईंले के गरिरहनुपर्छ? (ख) शैतानबाट आइलाग्ने कुन कुन परीक्षाहरूको सामना गर्नु आवश्यक छ?
५३ यहोवाका साक्षीहरूले तपाईंलाई मदत गर्नको निम्ति यो पत्रिका छपाएका छन्। यसले तपाईंलाई बाइबलको कुनैकुनै मौलिक सत्यहरू बुझ्ने मदत दियो, होइन र? यसमा दिइएको प्रत्येक कुरा परमेश्वरको प्रेरित वचनमा आधारित रहेछ भनी तपाईंले स्वयं देखि सक्नु भयो होला। अब लक्ष्यसम्म पुग्नको लागि तपाईंले निरन्तर शिक्षा लिने गर्नु पऱ्यो। दैनिक समाजमा प्रतिष्ठित ठाउँ पाउनको निम्ति जसरी उचित संसारिक शिक्षा लिन अत्यावश्यक छ, त्यसरी नै पार्थिव प्रमोदवनमा बाँचेर बस्नको निम्ति बाइबलको उचित शिक्षा लिन अत्यावश्यक छ। (२ तिमोथी ३:१६, १७) तर स्वार्थी, भौतिक र अनैतिक बाटोतिर लाग्ने परीक्षाहरू अथवा इष्ट–मित्रहरूको विरोधद्वारा शैतानले तपाईंको ध्यान खलबलाउने कोशिश गर्ला। तर शैतानको सामने नझुक्नुहोस्। अझ बढ़ी मात्रामा बाइबल अध्ययन गर्दै लैजानुहोस्, किनभने यसैमा तपाईंको बचाव, तपाईंको भविष्य निर्भर गर्छ।—मत्ती १०:३६; १ यूहन्ना २:१५–१७.
५४. यहोवाले तपाईंको शिक्षाको निम्ति अझ के प्रबन्ध गर्नुभएको छ?
५४ तर यो वर्तमान बाइबल अध्ययन बाहेक सिक्ने उपाय अर्को पनि छ। बाइबलसम्बन्धी शिक्षा प्राप्त गर्न चाहने व्यक्तिहरू राज्य गृहमा हुने सभाहरूमा जाने गर्छन। बाइबलबारे शिक्षा लिन चाहने र अझ असल मानिस हुने इच्छा गर्ने व्यक्तिहरू त्यहाँ उपस्थित हुन्छन्। उनीहरूले नौलो मानिसहरूलाई पनि यसो भन्दै राजी खुशीले स्वागत गर्छन, “आऊ हामी यहोवाको पर्वतमा उक्लेर जाऔं (उपासनाको ठाउँ) . . . उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहांको बाटोमा हिंड्ने छौं।” (यशैया २:३) बाइबलसम्बन्धी सभाहरूमा जाने कारणहरू धेरै छन्, ती कारणहरू हिब्रू १०:२४, २५ मा उल्लेखित छ: “औ प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनलाई नछोडौं। तर दिन नजीक नजीक आइपुगेको देखेकै हुनाले एउटाले अर्कोलाई झन बढ़ता गरेर अर्ती दिंदै गरौं।”
५५. (क) यहोवाको संगठन अरू संगठनहरू भन्दा किन बेग्लै छ? (ख) अरू कुनै पनि मानव संगठनमा नभएको एकता यहोवाका साक्षीहरूमा छ कसरी भन्न सक्छौं?
५५ यहोवाको संगठनसंग संगत गरेर हेर्नुहोस्। त्यहाँको वातावरण गिर्जाघरहरूको वातावरण र मन्दिरहरूको वातावरणभन्दा बेग्लै हुनेछ। त्यहाँ पैसा माग्दैनन्, झगड़ा गर्दैनन्, कुरा काट्दैनन्, खानदान वा आर्थिक अवस्थाले गर्दा पक्षपात हुँदैन। यहोवाका साक्षीहरूको सबैभन्दा विशेष गुण नै प्रेम हो। तिनीहरूले प्रथम यहोवालाई प्रेम गर्छन्। त्यसपछि अरूहरूलाई प्रेम गर्छन्। सत्य मसीहीहरूको पहिचाननै यी हुन्। (मत्ती २२:३७–३९; यूहन्ना १३:३५) यो वास्तवमा हो, होइन, तिनीहरूको सभामा गएर निश्चित गर्नुहोस्। तिनीहरूको एकता देखेर तपाईं चकित हुनुहुनेछ। आज २०० भन्दा बढ़ी देशहरूमा ३० लाख भन्दा धेरै साक्षीहरू छन्। र पनि, ती साक्षीहरूको सभाहरूमा पृथ्वीभरि एकै प्रकारको कार्यक्रम हुन्छ। साथै पढ्ने सामग्री विभिन्न भाषाहरूमा एकैसाथ छाप्ने प्रबन्ध हुनाले, विश्वभरि धेरै जसो यहोवाका साक्षीहरूको सभामा एउटै शास्त्रीय विषयको छलफल, लगभग केही घण्टाको हेरफेरभित्र हुन्छ। आजको विभक्त संसारमा यहोवाका साक्षीहरूको एकता एउटा चमत्कार हो।
५६. (क) यहोवाको संगठनसंग संगत गर्नु भयो भने, तपाईंलाई के के लाभ हुनेछ? (ख) समस्याहरू आइपर्दा तपाईंको प्रतिकृया कस्तो हुनुपऱ्यो? (ग) यहोवालाई आफ्नो जीवन समर्पण गर्न किन महत्वपूर्ण हो?
५६ यहोवाका जनहरूसंग लगातार संगत गर्दै जानु हुँदा, तपाईंलाई “नयाँ व्यक्तित्व” धारण गर्ने आवश्यकता पर्नेछ, परमेश्वरको आत्माको फल—“प्रेम, आनन्द, शान्ति, सहनशीलता, दया, भलाइ, विश्वास, नम्रता र संयम”-को खेती गर्नु पर्नेछ। (कलस्सी ३:१०, १२–१४; गलाती ५:२२, २३) यसबाट तपाईंले गहन सन्तोष अनुभव गर्नु हुनेछ। तर आफ्नो असिद्धता र यो भ्रष्ट संसारले गर्दा समय समयमा तपाईंको सामने समस्याहरू आउनसक्छन्। तर यहोवाले तपाईंलाई मदत दिनु हुनेछ। उहाँलाई साँचो हृदयले खुशी पार्न चाहनेहरूको लागि उहाँको वचनमा यो सान्त्वना दिइएको छ, “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” (फिलिप्पी ४:६, ७) यहोवाको प्रेमले तपाईंलाई तान्नेछ। तपाईंमा उहाँको सेवा गर्ने इच्छा जागृत हुनेछ। यो प्रेमको परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेर उहाँको भाग्यशाली साक्षी हुने उपाय यहोवाका साक्षीहरूले खुशीसाथ तपाईंलाई देखाउने छन्। (भजन १०४:३३; लूका ९:२३) हो, यो एउटा महान सौभाग्य हो। यसो सोच्नुहोस्! तपाईं यहोवाको साक्षी भएर यही पृथ्वीमा प्रमोदवनभित्र अनन्त जीवन पाउने लक्ष्यतर्फ लम्कनु सक्नुहुन्छ।—सपन्याह २:३; यशैया २५:६, ८.
५७. (क) नयाँ रीतिरिवाजमा परमेश्वर र मानिसबीच कुन प्रकारको घनिष्ठ सम्बन्ध कायम रहनेछ? (ख) त्यसबेला तपाईंले कुन कुन आशिषहरू उपभोग गर्न सक्नुहुनेछ?
५७ यसकारण, अध्ययन गर्दै लैजानुहोस्। यहोवा परमेश्वर, उहाँको पुत्र र उहाँको धार्मिक सरकारप्रति प्रेम र श्रद्धा बढ़ाउनुहोस्। परमेश्वरको सरकार र त्यसद्वारा मानिसले प्राप्त गर्ने आशिषहरूको वर्णन बाइबलमा यस प्रकार छ: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहांका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसंग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ।” वर्तमान स्वार्थी र हानिकारक मानव शासन भन्दा अति उच्च परमेश्वरनै स्वयं एउटा कृपालु पिताझैं त्यो नयाँ रीतिरिवाजमा उहाँको प्रेम र उपासना गर्नेहरूको नजीक हुनुहुनेछ। हो, त्यहाँ यहोवा परमेश्वरको सत्य उपासनाबाहेक अर्को धर्म नै हुनेछैन। उहाँको सबै उपासकहरूले केटाकेटीझैं आफ्नो पिताको मायालु घनिष्ठता अनुभव गर्नेछन्। त्यसबेला वास्तवमा उहाँ एउटा अतिनै मायालु पिताको रूपमा प्रकट हुनु हुनेछ! “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछि दिनुहुनेछ र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
५८. यहोवाले सबै कुरा नयाँ बनाउनु हुन्छ भनी किन निश्चित रहन सक्नुहुन्छ?
५८ तसर्थ, एउटा सिद्ध स्वर्गीय सरकार अर्न्तगत पार्थिव प्रमोदबन स्थापित गर्ने महान चमत्कार पूरा हुनेछ। यो कुरा भोली बिहानको सूर्योदय र बेलुकीको गोधूलि जत्तिकै निश्चित छ। किनभने, आकाश र पृथ्वीको सृष्टिकर्ता, यहोवा परमेश्वरको प्रतिज्ञाहरू सधैं नै “विश्वासयोग्य र सत्य” छन्। उहाँले स्वयं आफ्नो स्वर्गीय सिहासनबाट यसो भन्नु भएको छ, “हेर! म सब कुरा नयाँ तुल्याउँछु।”—प्रकाश २१:५.
यो पत्रिकाको पुनर्विचार वा विवेचन गर्दा, निम्न लिखित प्रश्नहरूको के जवाफ दिनु हुनेछ?
बाइबलको विशिष्टता के हो?
परमेश्वरबारे के सिक्नु भयो?
येशू ख्रीष्ट को हुनु हुन्छ?
शैतान को हो?
परमेश्वरले दुष्टता किन रहन दिनु भयो?
मानिस किन मर्छ?
मरेकाहरू के अवस्थामा छन्?
हाम्रो मुक्ति मूल्य को हुनु हुन्छ?
पुनरुत्थान कहाँ र कसरी हुनेछ?
परमेश्वरको राज्य के हो र त्यसले के के गर्नेछ?
“जगतको अन्तको” “चिन्ह” के हो?
प्रमोदवनमा अनन्त जीवनको निम्ति कसरी तैयारी गर्नु हुनेछ?
[फुटनोटहरू]
a माथि उल्लेखित कुराहरूलाई पुष्टि दिने बाइबलको पदहरू: (१) प्रेरित १७:२६; भजन ४६:९; मीका ४:३, ४; यशैया ६५:२१–२३; (२) यशैया ६५:२५; ११:६–९; ५५:१२, १३; भजन ६७:६, ७; (३) अय्यूब ३३:२५; यशैया ३५:५, ६; ३३:२४; भजन १०४:२४; (४) यशैया ५५:११.
b मोनार्कस् ॲन्ड टुम्बस् ॲन्ड पीपल्स्—द डॉन ऑफ द ओरिएन्ट, पाना २५.
c जे. म्याकलिनटक र जे. स्ट्रांगका साइक्लोपेडिया अफ बिबलिकल, थियोलोजिकल र एकलीज्याष्टिकल लिटरेचर, भल्युम ८, पाना ९०८.
[पृष्ठ १३-मा भएको चित्र]
सृष्टिमा, जानवरहरूभन्दा मानिस धेरै नै श्रेष्ठ छ
[पृष्ठ १८-मा भएको चित्र]
येशू सिद्ध मानिस आदमको बराबर हुनुहुन्थ्यो