प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१ pp. १३-१८
  • झूटा सन्देशवाहकहरूलाई शान्ति हुनेछैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूटा सन्देशवाहकहरूलाई शान्ति हुनेछैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शान्तिका सन्देशवाहक भनौंदाहरू
  • सं.रा.सं. शान्तिदाताको रूपमा?
  • ‘धुरुधुरु रुनुका’ कारणहरू
  • एउटा डरलाग्दो रहस्यको समाधान
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ईश्‍वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • सही प्रकारका सन्देशवाहकहरूलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१ pp. १३-१८

झूटा सन्देशवाहकहरूलाई शान्ति हुनेछैन!

“कुकर्मीहरू नष्ट हुनेछन्‌। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” —भजन ३७:९, ११.

१. “अन्तको समय[मा]” साँचो र झूटो दुवै प्रकारका सन्देशवाहकहरू हुनेछन्‌ भनेर किन आशा गर्नसक्छौं?

सन्देशवाहकहरू—साँचो वा झूटो? बाइबल समयमा दुवै प्रकारका सन्देशवाहकहरू थिए। तर हाम्रो समयमा नि? दानियल १२:९, १० मा स्वर्गको एक सन्देशवाहकले परमेश्‍वरको अगमवक्‍तालाई यसो भनेको हामी पाउँछौं: “यी वचन गुप्त राखिएका छन्‌, औ अन्तको समयसम्मलाई बन्द गरिएका छन्‌। धेरै जनाले आफूलाई पवित्र पार्नेछन्‌, तर दुष्टहरूले चाहिं दुष्ट्याइँ गरिनैरहनेछन्‌, र तिनीहरूमध्येका कसैले पनि बुझ्नेछैन, केवल ज्ञानी अगुवाहरूले मात्र बुझ्नेछन्‌।” हामी अहिले त्यस “अन्तको समय[मा]” बाँचिरहेका छौं। तर के हामी “दुष्ट” र “ज्ञानी अगुवाहरू[बीचको]” स्पष्ट भिन्‍नता देख्छौं? अवश्‍य देख्छौं!

२. यशैया ५७:२०, २१ आज कसरी पूरा भइरहेको छ?

२ परमेश्‍वरका सन्देशवाहक यशैयाका यी शब्दहरू अध्याय ५७ पद २० र २१ मा पाउँछौं: “दुष्टहरू चाहिं छाल उठेको समुद्रझैं हुन्‌, जो शान्त हुनसक्‍तैन, र त्यसको पानीले हिलो र मैला बाहिर फेंक्छ। दुष्टहरूलाई शान्ति हुँदैन भनी परमप्रभु भन्‍नुहुन्छ।” एक्काइसौं शताब्दीको नजीकै उभिरहेको यस संसारको कत्ति सही वर्णन! तर कसै कसैले यस्तो पनि सोध्छन्‌, ‘के हामी त्यस शताब्दीमा प्रवेश गर्न सकौंला र?’ त्यस विषयमा ज्ञानी सन्देशवाहकहरू के भन्‍न चाहन्छन्‌?

३. (क) पहिलो यूहन्‍ना ५:१९ मा कस्तो भिन्‍नता देखाइएको छ? (ख) प्रकाश अध्याय ७ मा “ज्ञानी अगुवाहरू[लाई]” कसरी वर्णन गरिएको छ?

३ प्रेरित यूहन्‍नाले ईश्‍वरप्रेरित अन्तरदृष्टि पाएका थिए। पहिलो यूहन्‍ना ५:१९ मा यस्तो लेखिएको छ: “हामी जान्दछौं, कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” यस संसारको ठीक विपरीत १,४४,००० आध्यात्मिक इस्राएलीहरू छन्‌, जसका केही शेष वृद्ध जनहरू अझै हाम्रो माझ छन्‌। यिनीहरूलाई आज “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[ले]” साथ दिइरहेको छ। आज ज्ञान पाउने यस ठूलो भीडको संख्या ५० लाख नाघिसक्यो। “यी तिनै हुन्‌ जो महा संकष्टबाट आएका छन्‌।” अनि तिनीहरूलाई त्यति ठूलो इनाम दिनुको कारण? येशूले दिनुभएको छुटकाराको बलिदानमाथि विश्‍वास गरेर तिनीहरूले पनि “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” छन्‌। यसबाहेक, परमेश्‍वरको ज्योतिका सन्देशवाहकहरूको रूपमा तिनीहरू “दिन-रात [परमेश्‍वरको] . . . सेवा[मा]” व्यस्त छन्‌।—प्रकाश ७:४, ९, १४, १५.

शान्तिका सन्देशवाहक भनौंदाहरू

४. (क) शैतानी संसारका सन्देशवाहक भनौंदाहरू किन सफल हुनेछैनन्‌? (ख) एफिसी ४:१८, १९ आज कसरी लागू हुन्छ?

४ तर यस शैतानी रीतिरिवाजका शान्तिका सन्देशवाहक भनौंदाहरूबारे के भन्‍न सकिन्छ? यशैया अध्याय ३३ पद ७ मा हामी यस्तो जवाफ पाउँछौं: “हेर, तिनीहरूका शूरवीरहरू बाहिर रुँदै छन्‌। मिलापका राजदूतहरू [“शान्तिका सन्देशवाहकहरू,” NW] धुरूधुरू रूँदै छन्‌।” आफ्नो शान्ति प्रयास सफल पार्न संसारका राजधानीहरू भौंतारी हिंड्‌ने मानिसहरूको कत्ति सत्य वर्णन! तर तिनीहरूको प्रयत्न कत्ति बेकार छ! किन? किनभने तिनीहरू संसारका कठिनाइहरूका मूल कारण पत्ता लगाउनुको साटो त्यसका लक्षणहरूसँग जुझ्छन्‌। प्रथमतः तिनीहरूलाई शैतानको अस्तित्वबारे थाह छैन, जसलाई पावल “यस संसारको देव” भनी वर्णन गर्छन्‌। (२ कोरिन्थी ४:४) शैतानले मानवजातिबीच दुष्टताको बीउ छरेको छ र त्यसको परिणामस्वरूप अधिकांश शासकहरूलगायत प्रायजसो मानिसहरू एफिसी ४:१८, १९ को यस विवरणसित मेल खान्छन्‌: “तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना भए। जसले निर्दयी [“तिनीहरूले सम्पूर्ण नैतिक चेतना गुमाइसकेका,” NW] भएर सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।”

५. (क) मानव संगठनहरू किन आज शान्तिदाताको रूपमा काम गर्न असफल भएका छन्‌? (ख) भजन ३७ ले कस्तो सान्त्वनादायी सन्देश दिन्छ?

५ असिद्ध मानवहरूको कुनै पनि संगठनले आज चारैतिर व्याप्त लोभ, स्वार्थ र घृणाजस्ता कुराहरूलाई मानव हृदयबाट उखेल्न सक्दैन। हाम्रो सृष्टिकर्ता, सार्वभौम प्रभु यहोवाले मात्र सक्नुहुन्छ! साथै उहाँका निर्देशनअनुसार चल्न चाहने नम्र मानिसहरू थोरै मात्र छन्‌। यिनीहरू र संसारका दुष्ट मानिसहरूले भोग्ने नतिजाबीच भजन ३७:९-११ मा यसरी तुलना गरिएको छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”

६, ७. शान्तिका सन्देशवाहकहरूको रूपमा सेवा गर्न संसारका धर्महरू असफल भइसके भनी कस्ता प्रतिवेदनहरूले देखाउँछन्‌?

६ त्यसोभए, के यस दुःखदायी संसारका धर्महरूबीच शान्तिका सन्देशवाहकहरू पाउन सकिन्छ? धर्मको वर्तमान छवि कस्तो छ? धर्मले बितेका शताब्दीहरूदेखि अहिलेसम्म भएका रक्‍तपातहरूमा भाग लिएको मात्र होइन धेरैजसो रक्‍तपातहरूको सुरुआतसमेत गरेको छ भनेर इतिहासले स्पष्ट देखाउँछ। उदाहरणका लागि, भूतपूर्व युगोस्लाभियामा भएको गोलमालबारे रिपोर्ट दिंदै सन्‌ १९९५, अगस्त ३० को हप्तामा प्रकाशित द क्रिस्चियन सेन्चुरी नामक पत्रिकाले यसो भन्यो: “सर्ब नियन्त्रित बोस्नियामा पादरीहरू स्वस्थापित संसदको अगिल्लो लहरका कुर्सीहरूमा बस्छन्‌ र युद्ध हुनुअघि मोर्चाबन्दी क्षेत्रमा गएर सिपाही अनि हातहतियारलाई समेत आशिष्‌ दिन्छन्‌।”

७ मसीहीजगत्‌ले शताब्दीयौंदेखि अफ्रिकामा गर्दै आएको मिसनरी कार्यले कुनै असल नतिजा ल्याएको छैन। यो कुरा ८० प्रतिशत क्याथोलिक धर्मावलम्बी छन्‌ भनी विश्‍वास गरिएको रूवाण्डामा स्पष्ट देखियो। जुलाई ७, १९९५ द न्यु योर्क टाइम्स्‌-मा यस्तो रिपोर्ट थियो: “लियोनमा [फ्रान्स] हुने गैरपादरीवर्गका स्वतन्त्र क्याथोलिक पत्रिका गोल्याले २७ जना थप रूवाण्डियाली पादरी तथा चार ननहरू पत्ता लगाउने योजना बनाएको छ। उक्‍त पत्रिकाअनुसार यी पादरी तथा ननहरूले गत वर्ष रूवाण्डामा हत्या गरेका थिए वा हत्या गर्न प्रोत्साहित गरेका थिए।” त्यस सम्बन्धमा लण्डनस्थित मानव अधिकार संगठन, अफ्रिकन राइट्‌सले यस्तो टिप्पणी गऱ्‍यो: “जातिसंहार हुँदा मौन बसेको ती चर्च जवाफदेही त छँदैछ तर त्योभन्दा ठूलो कुरा चर्चका पादरी, पास्टर र ननहरूले समेत त्यस जनसंहारमा सक्रियतापूर्वक भाग लिएका हुनाले त्यसको जवाफ चर्चले दिनैपर्छ।” यो इस्राएलमा भएको त्यस घटनासित मेल खान्छ, जुन बेला यहोवाको साँचो सन्देशवाहक यर्मियाले इस्राएल अनि त्यसका शासकहरू, पूजाहारीहरू अनि अगमवक्‍ताहरू “लज्जित” हुनुपर्ने भनेर वर्णन गरेका थिए। तिनले अझ यसरी थपे: “तेरो वस्त्रमा निर्धन निर्दोषहरूको जीवन-रक्‍त भेट्टाइयो।”—यर्मिया २:२६, ३४.

८. यर्मियालाई किन शान्तिका सन्देशवाहक भन्‍न सकिन्छ?

८ यर्मियालाई प्रायः विनाशको अगमवक्‍ता भनिन्छ। तर तिनलाई परमेश्‍वरको शान्तिको सन्देशवाहक भन्‍नु अझ उपयुक्‍त हुन्छ। यर्मियाले यशैयाले जत्तिकै शान्तिबारे उल्लेख गरे। यहोवाले यरूशलेमलाई यस्तो न्यायदण्ड सुनाउन यर्मियालाई चलाउनुभयो: “बनिएको आजको दिनसम्मै यस शहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्याएको छ। यसैकारण मेरो सामुदेखि म यसलाई पर हटाइदिनेछु, किनभने मलाई क्रोधित तुल्याउनलाई इस्राएलका छोराहरू र यहूदाका छोराहरू अर्थात्‌ तिनीहरूका राजाहरू, शासकहरू, पूजाहारीहरू, अगमवक्‍ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूले दुष्ट काम गरेका छन्‌।” (यर्मिया ३२:३१, ३२) यसले आज मसीहीजगत्‌को शासक तथा पादरीवर्गमाथि आइपर्ने उहाँको न्यायदण्डको पूर्वचित्रण गऱ्‍यो। साँचो शान्ति स्थापना गर्न खराबी र हिंसा उस्काउने यी तत्त्वहरूलाई हटाउनैपर्छ! तिनीहरू अवश्‍य शान्तिका सन्देशवाहकहरू होइनन्‌।

सं.रा.सं. शान्तिदाताको रूपमा?

९. सं.रा.सं.-ले शान्तिको सन्देशवाहक भनी कसरी दाबी गरेको छ?

९ तथापि, के संयुक्‍त राष्ट्र शान्तिको साँचो सन्देशवाहक बन्‍न सक्दैन र? आणविक बमले हिरोशिमालाई ध्वस्त पार्नुभन्दा ४१ दिनअघि मात्र जून १९४५ को आफ्नो बडापत्रको शीर्षपृष्ठमा यस संगठनको उद्देश्‍य “आउँदो पुस्तालाई युद्धको महामारीबाट जोगाउनु” हो भनेर उल्लेख गर्ने संयुक्‍त राष्ट्र संघ नै थियो। त्यतिबेला संयुक्‍त राष्ट्र संघका ५० सम्भाव्य सदस्यहरू “[आफ्नो] शक्‍ति एक जुट गराई अन्तरराष्ट्रिय शान्ति तथा सुरक्षा कायम” राख्न वचनबद्ध भएका थिए। अहिले त्यही उद्देश्‍य लिएर १८५ राष्ट्रहरू संयुक्‍त राष्ट्र संघका सदस्य बनेका छन्‌।

१०, ११. (क) धार्मिक नेताहरूले सं.रा.सं.-लाई कसरी समर्थन जनाएका छन्‌? (ख) पोपहरूले कसरी “परमेश्‍वरको राज्यको सुसमाचारको” गलत प्रतिनिधित्व गरेका छन्‌?

१० वर्षौंको दौडान सं.रा.सं.-लाई थुप्रै मानिसहरूले अझ विशेषगरि धार्मिक नेताहरूले निकै जोडदार प्रशंसा गरेका छन्‌। अप्रिल ११, १९६३ मा पोप जोन २३ औंले “पाकेम इन टेरिस” (पृथ्वीमा शान्ति) नामक सार्वजनिक पत्रमा हस्ताक्षर गरे। उक्‍त पत्रमा तिनले यसो भने: “संयुक्‍त राष्ट्र संघको संरचना र साधनहरूले आफ्ना उच्च उद्देश्‍य सफल पार्न सकून्‌ भन्‍ने हाम्रो हार्दिक इच्छा छ।” पछि जून १९६५ मा विश्‍वको आधा जनसंख्याको प्रतिनिधि मानिएका धार्मिक नेताहरू सं.रा.सं.-को २० औं जन्मजयन्ती मनाउन सान फ्रान्सिस्कोमा भेला भए। त्यस्तैगरि, सन्‌ १९६५ मा सं.रा.सं.-को भ्रमण गर्दा पोप पल छैटौंले त्यसलाई “मैत्री र शान्तिको अन्तिम आशा” भनेर वर्णन गरे। सन्‌ १९८६ मा पोप जोन पल द्वितीयले सं.रा.सं. अन्तरराष्ट्रिय शान्ति वर्ष प्रायोजन गर्ने काममा सहयोग गरे।

११ अक्टोबर १९९५ मा आफ्नो भ्रमणको दौडान पोपले फेरि यस्तो घोषणा गरे: “आज हामी परमेश्‍वरको राज्यको सुसमाचारको उत्सव मनाउँदैछौं।” तर के तिनी साँच्चै परमेश्‍वरको राज्य सुसमाचारको सन्देशवाहक हुन्‌ त? संसारका समस्याहरूबारे कुरा गर्दै तिनले अझ यसो भने: “यी ठूल-ठूला चुनौतीहरूमाझ हामीले कसरी संयुक्‍त राष्ट्र संघको भूमिकालाई बिर्सनसक्छौं र?” पोपले परमेश्‍वरको राज्य होइन तर सं.रा.सं.-लाई छाने।

‘धुरुधुरु रुनुका’ कारणहरू

१२, १३. (क) सं.रा.सं. कसरी यर्मिया ६:१४ अनुसार चलिरहेको छ? (ख) यशैया ३३:७ को विवरणमा सं.रा.सं.-का नेताहरूलाई किन समावेश गरिन्छ?

१२ सं.रा.सं.-को ५० औं वार्षिकोत्सवले “पृथ्वीमा शान्ति” स्थापना हुने कुनै ठोस सम्भावना प्रकट गर्न सकेन। त्यसको एउटा कारण, क्यानाडाको द टोरोन्टो स्टार नामक पत्रिकाका लेखकले यसरी दिए: “सं.रा.सं. दाँत नभएको सिंह हो। मानव क्रूरताको सामना गर्नुपर्दा त्यो गर्जन त गर्जन्छ तर त्यसका सदस्यहरूले नक्कली दाँत नहालिदिएसम्म पर्खनुपर्छ।” प्रायजसो त, नक्कली दाँत पर्खुञ्जेल अति ढिलो र बेअसरदायी भइसकेको हुन्छ। वर्तमान रीतिरिवाज र विशेषगरि मसीहीजगत्‌का “शान्तिका सन्देशवाहकहरूले” यर्मिया ६:१४ का यी शब्दहरू गुञ्जाइरहेका छन्‌: “शान्तिनै नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर तिनीहरूले मेरो प्रजाको चोटलाई बाहिरी तौरले मात्र निको पारेका छन्‌।”

१३ निस्सन्देह, सं.रा.सं.-का अहिलेसम्मका महासचिवहरूले त्यसलाई सफल पार्न इमानदारीसाथ कडा मेहनत गरेका छन्‌। तर कसरी युद्धलाई सीमित गर्ने तथा नीति बनाउने र वित्तीय समस्याहरू सुल्झाउने भन्‍नेबारे १८५ सदस्य राष्ट्रबीचको वादविवादले सफलताको प्रत्याशाहरूलाई निष्फल पारेको छ। सन्‌ १९९५ को वार्षिक प्रतिवेदनमा तत्कालीन महासचिवले “विश्‍वव्यापी आणविक प्रलय[को]” चिन्ता ह्रास हुँदा “सारा मानवजातिको आर्थिक र सामाजिक उन्‍नतिको लागि राष्ट्रहरू एकत्रित भई कार्य गर्न” बाटो खोलिन्छ भनेर लेखे। तर तिनले अझ यसो भने: “दुःखलाग्दो कुरा, विगत केही वर्षअघिदेखिका घटनाहरूलाई हेर्दा ती प्रत्याशाहरू झूटा साबित हुन्छन्‌।” हो, शान्तिका सन्देशवाहक भनौंदाहरू ‘धुरुधरु रोइरहेका’ छन्‌।

१४. (क) सं.रा.सं. आर्थिक तथा नैतिक तवरमा टाट पल्टेको छ भनी किन भन्‍नसक्छौं? (ख) यर्मिया ८:१५ कसरी पूरा भइरहेको छ?

१४ क्यालिफोर्नियाको दि अरेन्ज काउन्टी रेजिस्टर-को शीर्षसमाचार यस्तो थियो: “सं.रा.सं. आर्थिक तथा नैतिक तवरमा टाट पल्टेको छ।” त्यस लेखले १९४५ र १९९० बीच लडिएका ८० भन्दा धेरै युद्धहरूमा तीन करोड मानिसहरूको ज्यान गुमेको उल्लेख गऱ्‍यो। यसले रिडर्स डाइजेस्ट अक्टोबर १९९५ अंकको एक लेखकलाई उद्धृत गर्दै “सं.रा.सं.-को सैनिक कारबाहीको विशेषता नै ‘अयोग्य सेनापतिहरू, अनुशासनविहीन सिपाहीहरू, निहुँ खोजुवा देशहरूसित मेल, अपराधहरू रोक्न असफल हुनु र आतंकमा योगदानसमेत पुऱ्‍याउनु आदि हुन्‌’ भनेको थियो। त्यसबाहेक, ‘नोक्सानी, जालसाजी र दुर्व्यवहारले त आकाश छोएको छ।’ ” द न्यु योर्क टाइम्स्‌-को “५० वर्ष पुगेको सं.रा.सं.” विषयक भागको शीर्षसमाचार यस्तो थियो, “हेलचेक्य्राइँ र नोक्सानीले सं.रा.सं.-का सर्वोत्तम अभिप्रायहरूलाई नष्ट पार्छ।” बेलाइत, लण्डनको द टाइम्स्‌-ले यी शब्दहरू भएको लेख छाप्यो, “पचास वर्ष पुग्दा कमजोर भएको सं.रा.सं.-लाई पूर्व स्थितिमा ल्याउन कसरत चाहिन्छ।” वास्तवमा, यो कुरा यर्मिया अध्याय ८, पद १५ सित मेल खान्छ: “हामीले शान्तिको बाटो हेऱ्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गऱ्‍यौं, तर हेर, त्रास पो आइलाग्यो।” अनि आणविक विनाशको खतराले मानिसजातिलाई निलेको छ। स्पष्टतया, सं.रा.सं. मानिसजातिले चाहेको शान्तिको सन्देशवाहक होइन।

१५. पुरातन बाबेल र यसका धार्मिक सन्तानहरू मानिसहरूलाई मूर्ख बनाउने र विनाशकारी दुवै कसरी प्रमाणित भएको छ?

१५ यी सबै कुराले कतातिर डोऱ्‍याउँछ? यहोवाको भविष्यसूचक शब्द प्रष्ट छ। प्रथमतः सं.रा.सं.-सित नङमासुजस्तै मित्रता गाँस्ने संसारका झूटा धर्महरूलाई के हुनेछ? यी झूटा धर्महरू एउटै मूलस्रोत, पुरातन बाबेलका उपज हुन्‌। यिनीहरूलाई प्रकाश १७:५ मा “पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, महान्‌ बेबिलोन!” भनेर वर्णन गरिएको छ। यर्मियाले यस कपटी संगठनको विनाशको वर्णन गरे। महान्‌ बेबिलोनले सं.रा.सं.-को चाप्लुसी गरेर र यसका शक्‍तिशाली राजनैतिक सदस्यहरूसित अवैध सम्बन्ध राख्दै पृथ्वीका राजनीतिज्ञहरूसित ऊ वेश्‍याजस्तै लसपस भएकी छे। यसले इतिहासका युद्धहरूमा मुख्य भूमिका खेलेकी छे। भारतमा भएको धार्मिक युद्धलाई उल्लेख गर्दै एक टिप्पणीकारले बताए: “धर्म जनसाधारणका लागि अफिम सरह हो भनेर कार्ल मार्क्सले बताएका थिए। तर त्यो भनाइ पूर्णतया सही हुन सक्दैन किनभने अफिम लट्ठ पार्ने औषधी हो, जसले मानिसहरूलाई सुस्त बनाउँछ। बरु, धर्म त कोकिन जस्तो पो हो। यसले डरलाग्दो हिंसालाई उस्काएको छ र आफै चाहिं अत्यन्तै विनाशक शक्‍ति हो।” तर ती लेखकको भनाइ सोह्रै आना ठीक होइन। झूटो धर्म मूर्ख बनाउने र विनाशक दुवै हो।

१६. इमानदार हृदय भएकाहरू किन अब महान्‌ बेबिलोनबाट भाग्नुपर्छ? (प्रकाश १८:४, ५ पनि हेर्नुहोस्‌।)

१६ त्यसोभए, इमानदार हृदय भएका मानिसहरूले के गर्नुपऱ्‍यो त? यसको जवाफ परमेश्‍वरको सन्देशवाहक यर्मियाका यी शब्दहरूमा पाइन्छ: “बाबेलबाट भाग। हरेक मानिसले आफ्नो आफ्नो ज्यान जोगाओस्‌। . . . किनभने यो परमप्रभुको बदला लिने दिन हो।” हामी खुशी छौं किनभने झूटो धर्मको विश्‍व साम्राज्य अर्थात्‌ महान्‌ बेबिलोनको पञ्जाबाट लाखौं मानिसहरू उम्केका छन्‌। के तपाईं तिनीहरूमध्ये एक हुनुहुन्छ? त्यसोभए महान्‌ बेबिलोनले कसरी पृथ्वीका राष्ट्रहरूमाथि असर पारेको छ तपाईं राम्ररी बुझ्न सक्नुहुन्छ: “जाति जातिहरूले त्यसबाट पिए। त्यसैकारण जाति जातिहरू बौलाहा भए।”—यर्मिया ५१:६, ७.

१७. महान्‌ बेबिलोनलाई कस्तो न्यायदण्ड दिइन लागेको छ र त्यसपछि के हुनेछ?

१७ यहोवाले चाँडै सं.रा.सं.-का “बौलाहा” सदस्य राष्ट्रहरूलाई प्रकाश १७:१६ मा बताएअनुसार झूटो धर्ममाथि आक्रमण गर्न चलाउनुहुनेछ: “त्यस जानवरले त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड़ र नांगो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।” यसले मत्ती २४:२१ मा उल्लिखित महासंकष्टको सुरुआतलाई चिह्नित गर्नेछ र त्यो सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको युद्ध अर्थात्‌ आरमागेडोनमा चरमसीमामा पुग्नेछ। पुरातन बाबेलले जस्तै महान्‌ बेबिलोनले पनि यर्मिया ५१:१३, २५ मा घोषित न्याय भोग्नेछ: “हे धेरै पानी भएको ठाउँहरूमा बस्ने, भण्डारले पूर्ण भएको शहर, तेरो अन्त आइपुग्यो, तेरो अन्त आइपुग्यो, तेरो जीवनको डोरी चुँड़ियो। परमप्रभु भन्‍नुहुन्छ, ‘हे नाश गर्ने पहाड़ जसले सारा पृथ्वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु। म मेरो हात तेरो विरुद्धमा उठाउनेछु, र तँलाई भीरबाट तल लड़ाइदिनेछु, र तँलाई डढ़ेको पहाड़ तुल्याइदिनेछु।’ ” झूटो धर्मको विनाशपछि भ्रष्ट र युद्धको व्यापार गर्ने राष्ट्रहरूमाथि पनि यहोवाको बदलाको दिन आउनेछ।

१८. यशैया ४८:२२ कहिले अनि कसरी अझै पूरा हुन बाँकी छ?

१८ दुष्टमाथि आइपर्ने विनाशबारे १ थिस्सलोनिकी ५:३ मा यसो भनिएको छ: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्‌।” यिनीहरूबारे यशैयाले भने: “हेर, . . . मिलापका राजदूतहरू [“शान्तिका सन्देशवाहकहरू,” NW] धुरूधुरू रूँदै छन्‌।” (यशैया ३३:७) वास्तवमा, हामी यशैया ४८:२२ मा यसो लेखिएको पाउँछौं, “ ‘दुष्टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्‍नुहुन्छ।” तर ईश्‍वरीय शान्तिका सन्देशवाहकहरूबारे के भन्‍न सकिन्छ? यसबारे अर्को लेखमा छलफल गरिनेछ।

पुनरावृत्तिका लागि प्रश्‍नहरू

◻ कस्ता जोडदार शब्दहरूका साथ परमेश्‍वरका अगमवक्‍ताहरूले झूटा सन्देशवाहकहरूको पर्दाफास गरे?

◻ मानव संगठनहरू आज किन चिरकालीन शान्ति ल्याउन असफल भएका छन्‌?

◻ शान्तिका साँचो सन्देशवाहकहरू र सं.रा.सं.-का समर्थकहरूबीच कस्तो भिन्‍नता छ?

◻ यहोवाले प्रतिज्ञा गर्नुभएको शान्तिबाट आनन्द उठाउन नम्रहरूले के गर्नुपर्छ?

[पृष्ठ १५-मा भएको चित्रहरू]

यशैया, यर्मिया, दानियल सबैले शान्ति स्थापना गर्ने मानिसका प्रयासहरू व्यर्थमा जानेछन्‌ भनी भविष्यवाणी गरे

[पृष्ठ १६-मा भएको चित्र]

“सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—प्रेरित यूहन्‍ना

[पृष्ठ १७-मा भएको चित्र]

“तिनीहरूको अज्ञानताको समझ अँध्यारो भएको [छ]।”—प्रेरित पावल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने