तिनीहरूले यहोवाको इच्छा गरे
फिलिपले एथियोपियाका अख्तियारवालालाई बप्तिस्मा दिन्छन्
एथियोपियालीले रथमा यात्रा गरूञ्जेल आफ्नो समयलाई बुद्धिमानीपूर्वक सदुपयोग गरिरहेका थिए। प्रथम शताब्दीका यात्रुहरूबीच सामान्य प्रचलनअनुरूप तिनी ठूलो स्वरले पढ्दै थिए। यो मानिस “एथियोपिया देशको महारानी कन्दाकीका ठूला अख्तियारवाला” थिए।a तिनी “खजाञ्ची” अर्थात् भनौं भने अर्थमन्त्री थिए। त्यस अख्तियारवालाले ज्ञान प्राप्त गर्न परमेश्वरको वचनबाट पढ्दै थिए।—प्रेरित ८:२७, २८.
सुसमाचारक फिलिप नजीकै थिए। स्वर्गदूतले तिनलाई त्यस स्थानमा जान निर्देशित गरे र तिनलाई यसो भनियो: “नजीक गएर त्यस रथको साथ लाग।” (प्रेरित ८:२६, २९) फिलिपले आफैलाई यस्तो प्रश्न गरेको हामी कल्पना गर्नसक्छौं, ‘यो मानिस को हो? तिनी के पढ्दैछन्? मलाई त्यहाँ जाने निर्देशन किन दिएको?’
रथको सँगसँगै दौडिंदा त्यस एथियोपियालीले यी शब्दहरू पढिरहेको फिलिपले सुने: “उहाँ भेड़ाझैं काटिनालाई लगिनुभयो, र जसरी थुमा त्यसको ऊन कत्रनेको सामु चूप लागिरहन्छ, उसरीनै उहाँले आफ्नो मुख खोल्नुभएन। उहाँको नम्रतामा उहाँको न्याय खोसियो, उहाँको पुस्ताको बयान कसले गर्ने? किनभने उहाँको जीवन पृथ्वीबाट हरण भयो।”—प्रेरित ८:३२, ३३.
फिलिपले त्यो परिच्छेद थाह पाइहाले। त्यो यशैयाको लेखोटबाट लिइएको थियो। (यशैया ५३:७, ८) आफूले पढेको कुराबाट त्यस एथियोपियाली अलमल्लमा परे। फिलिपले यस्तो प्रश्न गर्दै वार्तालाप सुरु गरे: “के तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” त्यस एथियोपियालीले यस्तो जवाफ दिए: “कसैले नबताईकन म कसरी बुझौंला र?” अनि तिनले फिलिपलाई आफ्नो रथमा चढेर सँगै यात्रा गर्न बिन्ती गरे।—प्रेरित ८:३०, ३१.
“मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?”
त्यस एथियोपियालीले फिलिपलाई यसो भने: “बिन्ती छ भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” (प्रेरित ८:३४) त्यस एथियोपियाली अलमल्लमा पर्नु कुनै छक्कलाग्दो कुरा थिएन किनभने यशैयाको भविष्यवाणीको “भेड़ा” वा “दास[को]” परिचय लामो समयसम्म रहस्य नै रहेको थियो। (यशैया ५३:११) फिलिपले त्यस एथियोपियालीलाई “येशूको सुसमाचार” भनेर बताउँदा यो कुरा कति स्पष्ट भयो होला! केही क्षणपश्चात् त्यस एथियोपियालीले यसो भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?” अतः फिलिपले तिनलाई त्यहीं त्यतिखेरै बप्तिस्मा दिए।—प्रेरित ८:३५-३८.
के यो हतारमा गरेको कार्य थियो? अहँ, कदापि थिएन! त्यस एथियोपियालीले यहूदी धर्म अपनाइसकेका थिए।b तसर्थ, तिनी मसीहसम्बन्धी भविष्यवाणीहरूलगायत धर्मशास्त्रको ज्ञान भएका यहोवाका उपासक भइसकेका थिए। तथापि, तिनको ज्ञान अपूर्ण थियो। अब तिनले येशू ख्रीष्टको भूमिकासम्बन्धी अत्यावश्यक जानकारी प्राप्त गरिसकेको हुँदा त्यस एथियोपियालीले तिनीबाट परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा बुझे र त्यो पालन गर्न तयार थिए। तिनको बप्तिस्मा उपयुक्त थियो।—मत्ती २८:१८-२०; १ पत्रुस ३:२१.
तत्पश्चात् “प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो।” तिनी अर्को निर्दिष्ट कार्यभार पूरा गर्न गए। त्यस एथियोपियाली “रमाइ रमाईकन आफ्नो बाटो लागे।”—प्रेरित ८:३९, ४०.
हाम्रोलागि पाठ
यहोवाका आधुनिक सेवकहरूको हैसियतमा परमेश्वरको वचनको सत्यबारे निष्कपट हृदय भएका व्यक्तिहरूलाई सिकाउने दायित्व हाम्रो हो। यात्रा गर्दा वा अन्य अनौपचारिक परिस्थितिहरूमा अरूलाई सुसमाचार प्रस्तुत गर्दा थुप्रैले सफलता हासिल गरेका छन्। परमेश्वरको राज्यबारे प्रचार गरेको परिणामस्वरूप हरेक वर्ष लाखौं व्यक्तिहरूले बप्तिस्मा लिएर यहोवा परमेश्वरप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिन्छन्।
निस्सन्देह, नयाँ व्यक्तिहरूलाई बप्तिस्मा लिन हतार गराउनु हुँदैन। प्रथमतः, तिनीहरूले यहोवा परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टबारे सही ज्ञान लिनुपर्छ। (यूहन्ना १७:३) त्यसपछि तिनीहरूले परमेश्वरका स्तरहरूअनुरूप चल्न आफ्नो जीवनका गलत कार्यहरू त्यागेर पश्चात्ताप गर्नुपर्छ। (प्रेरित ३:१९) अझ विशेषगरि गलत सोचाइ र आचरण भित्रसम्म गढिएको छ भने, यसो गर्न समय लाग्छ। नयाँ व्यक्तिहरूले मसीही चेला हुन गर्नुपर्ने त्यागहरूबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्छ तर यहोवा परमेश्वरसित समर्पित सम्बन्ध राख्यौं भने महान् आशिष्हरू पाउनेछौं। (लूका ९:२३; १४:२५-३३ तुलना गर्नुहोस्।) यहोवाका साक्षीहरूले त्यस्ता नयाँ व्यक्तिहरूलाई उत्सुकतासाथ परमेश्वरले आफ्नो इच्छा पूरा गर्न चलाइरहनुभएको संगठनमा डोऱ्याउँछन्। (मत्ती २४:४५-४७) यी नयाँ व्यक्तिहरू परमेश्वर तिनीहरूबाट के चाहनुहुन्छ भनी सिकेर त्यस एथियोपियालीले जस्तै गर्न हर्षित हुनेछन्।
[फुटनोटहरू]
a “कन्दाकी” नाउँ होइन तर एथियोपियाली महारानीहरूका उत्तराधिकारीहरूको पदवी (“फिरऊन” र “सिजर” जस्तै) हो।
b यहूदी धर्म अपनाउनेहरू मोशाको व्यवस्था पालन गर्न रोजेका गैरइस्राएलीहरू थिए।—लेवी २४:२२.
[पृष्ठ ८-मा भएको पेटी]
नपुंसक किन भनिएको?
प्रेरित अध्याय ८ को सम्पूर्ण विवरणमा त्यस एथियोपियालीलाई “नपुंसक” भनिएको छ। तथापि, मोशाको व्यवस्थाअन्तर्गत सन्धिमा चोट परेको पुरुष मण्डलीभित्र पस्न पाउँदैन थियो। त्यसैले स्पष्टतः त्यस व्यक्ति शाब्दिक अर्थमा नपुंसक थिएनन्। (व्यवस्था २३:१) “नपुंसक” बुझाउन प्रयोग गरिने युनानी शब्दले उच्च ओहदाको व्यक्तिलाई संकेत गर्नसक्छ। तसर्थ, त्यस एथियोपियाली, एथियोपियाका महारानीको अख्तियारवाला थिए।