छुटकारा पाउनेहरू धार्मिक नयाँ संसारमा प्रवेश गर्छन्
“प्रशस्त शान्तिमा [ तिनीहरू] आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
१, २. (क) यहोवाले प्राचीन समयमा दिनुभएको छुटकारा र आज हामीलाई दिनुहुने छुटकारामा के भिन्नता हुनेछ? (ख) यहोवाले आफ्ना जनहरूलाई कस्तो संसारमा प्रवेश गराउनुहुनेछ?
यहोवा छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ। प्राचीन कालमा उहाँले एक चोटि होइन, निकै चोटि आफ्ना जनहरूलाई छुटाउनुभयो। तर त्यतिबेला तिनीहरूले पाएको छुटकारा क्षणिक थियो किनकि यहोवाले शैतानको पूरै संसारलाई दण्ड दिइसक्नुभएको थिएन। अब छिट्टै यहोवाले आफ्ना सेवकहरूलाई ठूलो छुटकारा दिनुहुनेछ। यस पाली उहाँले शैतानको विश्वव्यापी रीतिरिवाजको एउटा रौं पनि बाँकी राख्नुहुनेछैन। अनि आफ्ना सेवकहरूलाई सधैंभरिका लागि नयाँ धार्मिक संसारमा राख्नुहुनेछ।—२ पत्रुस २:९; ३:१०-१३.
२ यहोवा प्रतिज्ञा गर्नुहुन्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:१०, ११) तर कतिञ्जेल? “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९; मत्ती ५:५) तथापि, यसो हुनअघि यो संसारले पहिले कहिल्यै नभोगेको दुःख भोग्नेछ।
“महा संकष्ट”
३. येशूले “महा संकष्ट[को]” वर्णन कसरी गर्नुभयो?
३ सन् १९१४ देखि यो संसार “आखिरी दिन[मा]” प्रवेश गऱ्यो। (२ तिमोथी ३:१-५, १३) अहिले हामी त्यो आखिरी दिनको ८३ औं वर्षमा छौं र त्यसको अन्तको नजीकै पुग्दैछौं। अब चाँडै येशूले भन्नुभएझैं हुनेछ: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) दोस्रो विश्वयुद्धमा ५ करोड मानिसहरू मात्र मारिएका थिए। तर यो, आखिरी दिन त्योभन्दा भयंकर हुनेछ। हो, विश्वलाई नै हल्लाउने समय झन् झन् नजीक आउँदैछ!
४. परमेश्वरले किन “महान बेबिलोन[को]” न्याय गर्नुहुन्छ?
४ “महा संकष्ट” अचानक “एकै घण्टामा” आउनेछ। (प्रकाश १८:१०) महा संकष्ट सुरु हुने बित्तिकै पहिला सुरु सबै झूटा धर्म जसलाई परमेश्वरको वचनले “महान् बेबिलोन” पनि भन्छ, त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ। (प्रकाश १७:१-६, १५) प्राचीन बेबिलोनको मुख्य भाग नै झूटा धर्म थियो भने आधुनिक बेबिलोन चाहिं झूटा धर्मको साम्राज्यको प्रतीक नै भएकी छे। राजनैतिक तत्त्वहरूसँग हात मिलाएर त्यसले वेश्यावृत्ति गरेकी छे। राजनैतिक शक्तिहरू रणभूमिमा उत्रँदा त्यसले आशिष् दिएकी छे र विरोधी पक्षका सिपाहीहरूलाई आशिष् दिएर एकै धर्मका मानिसहरूबीच काटमार मच्चाएकी छे। (मत्ती २६:५१, ५२; १ यूहन्ना ४:२०, २१) शिष्यहरूले भ्रष्ट कामहरू गर्दा त्यसले आँखा चिम्लेकी छे अनि साँचो मसीहीहरूलाई सताएकी छे।—प्रकाश १८:५, २४.
५. “महा संकष्ट” कसरी सुरु हुन्छ?
५ राजनैतिक तत्त्वहरू “महान् बेबिलोन[माथि]” अचानक जाइलागेपछि “महा संकष्ट” सुरु हुनेछ। तिनीहरूले “त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” (प्रकाश १७:१६) त्यसपछि, त्यसका समर्थकहरू “त्यसको निम्ति रुने र बिलौना गर्नेछन्।” (प्रकाश १८:९-१९) यहोवाका सेवकहरूले चाहिं त्यस्तै हुनेछ भनेर पहिल्यै आशा गरेको हुँदा यसो भन्दै रमाउनेछन्: “हल्लेलूयाह . . . किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।”—प्रकाश १९:१, २.
परमेश्वरका सेवकहरूमाथि आक्रमण
६, ७. “महा संकष्ट[को]” दौडान आक्रमण हुँदा यहोवाका सेवकहरू किन ढुक्क हुनसक्छन्?
६ झूटा धर्मलाई खत्तम पारेपछि राजनैतिक तत्वहरू यहोवाका सेवकहरूमाथि जाइलाग्न खोज्छन्। भविष्यसूचक “मागोग देश[को] . . . गोग,” अर्थात् शैतान चाहिं यसो भन्छ: “शान्ति र ढुक्कसित बस्ने जातिहरूलाई म आक्रमण गर्नेछु।” यहोवाका सेवकहरूलाई कमजोर शिकार सम्झँदै त्यसले “पृथ्वीलाई ढाक्ने एउटा बादलझैं” “शक्तिशाली सेनाको साथ” आक्रमण गर्छ। (इजकिएल ३८:२, १०-१६) तर यो आक्रमण विफल हुनेछ भनेर यहोवाका जनहरूलाई थाह छ। किनकि तिनीहरू यहोवालाई भरोसा गर्छन्।
७ फिरऊन र तिनका सिपाहीहरूले परमेश्वरका सेवकहरूलाई लाल समुद्रमा फसायौं भन्ठानेका थिए तर यहोवाले चमत्कारपूर्ण ढंगमा आफ्ना जनहरूलाई छुटाएर मिश्रका सेनाहरूलाई खत्तम पार्नुभयो। (प्रस्थान १४:२६-२८) “महा संकष्ट” आउँदा पनि राष्ट्रहरूले त्यस्तै भन्ठान्छन्। तर यहोवाले पहिले गर्नुभएजस्तै चमत्कारपूर्ण ढंगमा बचाउनुहुन्छ: “त्यस दिन . . . मेरो क्रोध दन्केर आउनेछ . . . डाह र प्रचण्ड क्रोधको साथ, म शपथ खाएर भन्दछु।” (इजकिएल ३८:१८, १९) यति भइसकेपछि चाहिं “महा संकष्ट” चरमसीमामा पुग्नेछ!
८. यहोवाले दुष्टहरूलाई नष्ट गर्नुअघि कस्ता अप्राकृतिक घटनाहरू हुन्छन् र त्यसको कस्तो असर पर्छ?
८ “महा संकष्ट” सुरु भइसकेपछि तर यहोवाले संसारका बाँकी भागहरूलाई दण्ड दिनुअघि, अप्राकृतिक घटनाहरू हुनेछन्। त्यस्ता घटनाहरूले कस्तो असर गर्नेछ, सुन्नुहोस्। “तब मानिसको पुत्रको [अर्थात् ख्रीष्टको] चिन्ह आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।” (मत्ती २४:२९, ३०) “अनि सूर्य, चन्द्र, र ताराहरूमा चिह्न हुनेछन्, . . . र संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।”—लूका २१:२५, २६.
“तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ”
९. अप्राकृतिक घटनाहरू हुँदा यहोवाका सेवकहरू किन ‘आफ्नो शिर माथि उठाएर हेर्नसक्छन्’?
९ अनि ठीक यसैबेला लूका २१:२८ को भविष्यवाणी पूरा हुन्छ। येशूले यसो भन्नुभयो: “जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।” परमेश्वरका शत्रुहरू डरले लगलग काँप्नेछन् किनकि त्यतिबेला भइरहेका अप्राकृतिक घटनाहरू यहोवाले नै गराउनुभएको हो भनेर तिनीहरूले जान्नेछन्। तर यहोवाका सेवकहरू भने आफ्नो छुटकारा अब नजीकै छ भन्ने बुझेर खुशीले उफ्रनेछन्।
१०. “महा संकष्ट” चरमबिन्दुमा पुगेपछि के के हुन्छ भनेर बाइबलले वर्णन गर्छ?
१० त्यसपछि स्वयं यहोवा शैतानको रीतिरिवाजलाई ध्वस्त पार्न आउनुहुन्छ: “रूढ़ी र रक्तपातद्वारा म त्यसको [गोगको] इन्साफ गर्नेछु। म त्यसमाथि, त्यसका दलहरूमाथि र त्यससित भएका जाति जातिहरूका सबै भीड़हरूमाथि घनघोर वर्षा, ढुङ्गाहरूझैं कड़ा असिना, आगो र गन्धक वर्षाउनेछु। . . . तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्।” (इजकिएल ३८:२२, २३) शैतानी रीतिरिवाजको एउटा रौं पनि बाँकी हुनेछैन। परमेश्वरको वास्ता नगर्ने पूरै मानव समाज नष्ट हुन्छ। यो नै हो, “महा संकष्ट” चरम बिन्दुमा पुगेपछि हुने घटना।—यर्मिया २५:३१-३३; २ थिस्सलोनिकी १:६-८; प्रकाश १६:१४, १६; १९:११-२१.
११. यहोवाका सेवकहरूलाई “महा संकष्ट[बाट]” बचाउनुको कारण के हो?
११ विश्वभरि यहोवाको उपासना गर्ने लाखौं मानिसहरू “महा संकष्ट[बाट]” बचाइनेछन्। यिनीहरू “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” हुन्। तर तिनीहरूलाई यस्तो विस्मयकारी ढंगमा छुटाउनुको कारण? किनभने तिनीहरू “दिन-रात” यहोवालाई पवित्र सेवा चढाउँछन्। यो संसारको अन्त हुँदा तिनीहरू बच्नेछन् र धार्मिक नयाँ रीतिरिवाजमा प्रवेश गर्नेछन्। (प्रकाश ७:९-१५) यहोवाले आफ्नो यस्तो वचन पूरा गर्नुभएको पनि तिनीहरूले देख्छन्: “परमप्रभुको बाटो हेर्, उहाँकै मार्गमा हिंड़, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्।”—भजन ३७:३४.
नयाँ संसार
१२. आरमागेडोनबाट बच्नेहरूले के आशा गर्नसक्छन्?
१२ दुष्टताको विनाश अनि मानव इतिहासको सबैभन्दा महिमित युगको उदय हुँदा कत्ति रोमाञ्चकारी युग हुनेछ त्यो! (प्रकाश २०:१-४) अनि परमेश्वरले बनाउनुभएको सफा नयाँ संसार जसलाई पछि प्रमोदवनमा परिवर्तन गरिनेछ, त्यहाँ प्रवेश गर्नपाउँदा आरमागेडोनबाट बच्ने ती जनहरू यहोवाप्रति कत्ति धन्यवादी होलान्! (लूका २३:४३) तिनीहरू कहिल्यै मर्नु पर्नेछैन! (यूहन्ना ११:२६) त्यस दिनदेखि यहोवा जतिञ्जेल रहनुहुन्छ, त्यतिञ्जेल बाँच्ने अद्भुत आशा तिनीहरूले पाउनेछन्!
१३. पृथ्वीमा हुनुहुँदा गर्नुभएका निको पार्ने कामलाई येशूले फेरि कसरी सुरु गर्नुहुनेछ?
१३ यी छुटकारा पाउने मानिसहरूले अद्भुत आशिष्हरू पाइरहेका छन् कि छैनन्, त्यसको रखवाली यहोवाले स्वर्गमा राजा बनाउनुभएको येशूले गर्नुहुनेछ। पृथ्वीमा हुनुहुँदा उहाँले अन्धाको आँखा, बहिराको कान खोलिदिनुभएको थियो र “हरेक किसिमका रोग र बिमार निको” पार्नुभएको थियो। (मत्ती ९:३५; १५:३०, ३१) नयाँ संसारमा उहाँले त्यस्तै निको पार्ने काम गर्नुहुनेछ तर विश्वव्यापी क्षेत्रमा। परमेश्वरले खटाउनुभएको व्यक्तिको हैसियतमा उहाँले यो प्रतिज्ञा पनि पूरा गर्नुहुनेछ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:४) त्यसपछि कहिल्यै डाक्टर वा मसान घाटको आवश्यकता पर्नेछैन!—यशैया २५:८; ३३:२४.
१४. यहोवाका मरिसकेका सेवकहरूले कस्तो छुटकारा पाउनेछन्?
१४ परमेश्वरका विश्वासी सेवकहरू जो जो मरिसकेका छन् तिनीहरूले पनि त्यतिबेला छुटकारा पाउनेछन्। नयाँ संसारमा तिनीहरूलाई चिहानबाट छुटाइनेछ। यहोवा ग्यारेन्टी दिनुहुन्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) शायद, प्रमोदवनलाई फैलाउँदै जानेहरूलाई सघाउन “धर्मी[हरूको]” पुनरुत्थान पहिला हुनसक्छ। यी उहिले जमानाका विश्वासी सेवकहरूको मुखबाट तिनीहरूको अनुभव सुन्न पाउँदा आरमागेडोनबाट बच्ने सबै जना कत्ति उत्सुक होलान्!—यूहन्ना ५:२८, २९.
१५. नयाँ संसारमा अनुभव गरिने केही परिस्थितिहरूको वर्णन गर्नुहोस्।
१५ त्यतिबेला पृथ्वीमा रहने सबैले भजनरचयिताले यहोवाबारे लेखेका यी वचनहरू अनुभव गर्नेछन्: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१६) कोही भोको हुनेछैन। किनकि पृथ्वीको हावापानी फेरि जस्ताको तस्तै हुनेछ र प्रशस्त अन्न फलाउनेछ। (भजन ७२:१६) कोही घरवारविहीन हुनेछैन। बरु “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्” अनि सबै जना “आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (यशैया ६५:२१, २२; मीका ४:४) युद्ध, हिंसा वा अपराध, कुनै कुराको डर हुनेछैन। (भजन ४६:८, ९; हितोपदेश २:२२) “सारा पृथ्वीले विश्राम पाएको [हुने]छ, र शान्त [हुने]छ। तिनीहरू गाउनलागेका [हुने]छन्।”—यशैया १४:७.
१६. नयाँ संसारमा किन धार्मिकता जताततै फैलिनेछ?
१६ नयाँ संसारमा, मानिसहरूबीच खलबली मच्चाउने शैतानको षड्यन्त्रकारी सञ्चार माध्यमहरू हुनेछैनन्। बरु “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (यशैया २६:९; ५४:१३) यसरी वर्षैपिच्छे मानिसहरूले आध्यात्मिक शिक्षा लिंदै जाँदा अन्तमा “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) सबै मानिसहरूले असल विचार र काम मात्र गर्नेछन्। (फिलिप्पी ४:८) अपराध, घमण्ड र डाहबाट मुक्त विश्वव्यापी मानव समाज अर्थात् एउटा विश्वव्यापी भ्रातृत्वका सबै सदस्यहरूले परमेश्वरको आत्माका फलहरू फलाउँदा कत्ति सुन्दर वातावरण होला, कल्पना गर्नुहोस्। निस्सन्देह, ठूलो भीडले अहिल्यै त्यस्ता गुनहरूको खेती गरिरहेका छन्।—गलाती ५:२२, २३.
यहोवाले किन यत्ति ढिलो गर्नुभएको?
१७. दुष्टताको अन्त गर्न यहोवाले किन यति लामो समयसम्म पर्खनुभयो?
१७ तथापि, दुष्टहरूलाई हटाएर आफ्ना जनहरूलाई नयाँ संसारमा प्रवेश गराउन यहोवाले किन यत्ति धेरै समय पर्खनुभएको त? त्यसोभए, एकछिन नयाँ संसार बसाल्नुअघि गर्नुपर्ने काम के के थियो, त्यसलाई विचार गर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको सार्वभौमिकता अर्थात् उहाँको शासनाधिकारलाई उच्च पार्नुपर्ने थियो। पर्याप्त समय बित्न दिनुभएकोले नै उहाँबाहेक अरू कुनै मानिसले शासन गरेमा पूर्णतया विफल हुनेछ भनेर यहोवाले कुनै शंकै नरहने गरी देखाउनुभएको छ। (यर्मिया १०:२३) अतः अहिले मानव शासनलाई हटाएर ख्रीष्ट मार्फत आफ्नो स्वर्गीय शासन सुरु गर्ने पूरापूर हक यहोवालाई छ।—दानियल २:४४; मत्ती ६:९, १०.
१८. अब्राहामका सन्तानले कनान देशमाथि कहिले अधिकार गर्नेथिए?
१८ अहिले यी शताब्दीहरूमा जे-जस्तो भइरहेका छन्, अब्राहामको समयमा पनि त्यस्तै भइरहेको थियो। यहोवाले अब्राहामलाई तिनको सन्तानले कनान देश पाउन त पाउनेछन् तर “एमोरीहरूको अधर्म . . . पूरा” नहोउञ्जेल चार सय वर्ष कुर्नुपर्नेछ भनेर बताउनुभएको थियो। (उत्पत्ति १२:१-५; १५:१३-१६) “एमोरीहरू” (ठूलो जाति) भन्ने पदावलीले कनानका सबै मानिसहरूको प्रतिनिधित्व गरेको हुनसक्छ। यसप्रकार झन्डै चार शताब्दीपछि मात्र यहोवाले आफ्ना जनहरूलाई कनानमाथि विजय हासिल गर्ने योग्यको बनाउनु हुनेथियो। त्यतिञ्जेल यहोवाले कनानी राष्ट्रहरूलाई आफ्नो समाज विकास गर्ने मौका दिनुभयो। नतिजा?
१९, २०. कनानीहरूले कस्तो समाजको विकास गरे?
१९ हेनरी एच. हेलीको किताब बाइबल ह्याण्डबुक-अनुसार पुरातत्त्वविद्हरूले मेगिड्डोमा बालकी पत्नी, अश्तारोत देवीको मन्दिरका भग्नावशेषहरू भेटाए। लेखक अगाडि यसो भन्छन्: “मन्दिरभन्दा केही कदम अगाडिको चिहानमा थुप्रै भाँडाहरू फेला परे र ती भाँडाहरूमा मन्दिरमा बलि चढाइएका शिशुहरूका अवशेषहरू छन्। . . . बाल र अश्तारोतका भविष्यवक्ताहरूले स-साना केटाकेटीहरूको हत्या गर्ने अधिकार पाएका थिए।” “तिनीहरूको अर्को घीनलग्दो प्रचलन चाहिं ‘घरको जग बनाउँदा चढाइने बलिहरू हुन्।’ घर बनाउनुअघि बच्चा बलि दिएर गाडेपछि त्यसमाथि चारभित्ता उभ्याइन्थ्यो।”
२० हेली यस्तो टिप्पणी पनि गर्छन्: “बाल, अश्तारोत अनि अन्य कनानी देवहरूको पूजा गर्नुपर्दा अति भव्य, छाडा पर्वहरू मनाइन्थ्यो; तिनीहरूका मन्दिरहरू कुकर्म गर्ने ठाउँ हुन्थे। . . . कनानीहरू अनैतिक विलास गरेर उपासना गर्थे, . . . अनि त्यसपछि त्यही देवहरूलाई आफ्नो जेठो सन्तान बलि चढाउँथे। यस्तो लाग्छ, पूरै कनान देश सदोम र गमोरा नै भएको थियो। . . . त्यस्तो घीनलाग्दो अनि क्रूर काम गर्ने सभ्यतालाई अस्तित्वमा रहन दिने कुनै हक छ? . . . कनानी शहरहरूका भग्नावशेषहरू खनेर हेर्ने उत्खननवेत्ताहरू परमेश्वरले अझ पहिल्यै ती शहरहरूको नाश किन नगर्नुभएको होला भनेर छक्क पर्छन्।”—१ राजा २१:२५, २६ तुलना गर्नुहोस्।
२१. कनानीहरूको परिस्थिति र वर्तमान परिस्थितिबीच के समानता छ?
२१ एमोरीहरूको दुष्टताको भाँडो “पूरा” भरिसकेको थियो। त्यसकारण, अब यहोवाले त्यसलाई नाश गर्नु पूर्णतया उचित थियो। अहिले पनि त्यही कुरा लागू हुन्छ। यो संसार हिंसा, अनैतिकता र परमेश्वरका नियमहरूप्रतिको घृणाले भरिएको छ। अनि प्राचीन कनानले केटाकेटीहरूलाई त्यसरी घीनलाग्दो बलि चढाएको कुरा सुन्दा हामी ताजुब मान्छौं भने अहिले संसारभरि लाखौं लाख जवानहरूलाई युद्धमा बलि चढाउँदा कस्तो महसुस गर्छौं? के त्यो कनानमा दिइने बलिभन्दा केही कम छ र? निस्सन्देह, यहोवाले अहिले यो दुष्ट रीतिरिवाजलाई अन्त गर्नु पूर्णतया न्यायोचित छ।
पूरा गर्नुपर्ने अर्को काम
२२. यहोवाले हाम्रो समयमा धैर्यधारण गर्नुभएकोले कुन कुन कुरा पूरा हुनसक्यो?
२२ यी आखिरी दिनमा यहोवाले धैर्यधारण गर्नुभएकोले अर्को एउटा काम पनि पूरा भइरहेको छ। उहाँले ठूलो भीड जम्मा गर्ने र तिनीहरूलाई शिक्षा दिने समय दिइरहनुभएको छ। अनि त्यो ठूलो भीड अहिल्यै पचास लाखभन्दा बढी भइसकेको छ। यहोवाको निर्देशनअनुसार तिनीहरू प्रगतिशील समाजमा परिणत भएका छन्। पुरुष, स्त्री अनि युवक युवतीहरूले अरूलाई बाइबलका सत्य कुराहरू सिकाउने प्रशिक्षण पाइरहेका छन्। सभा तथा बाइबलसम्बन्धी पुस्तक पुस्तिकाहरूबाट तिनीहरूले परमेश्वरका मायालु तौरतरिकाहरू सिकिरहेका छन्। (यूहन्ना १३:३४, ३५; कलस्सी ३:१४; हिब्रू १०:२४, २५) यसबाहेक “सुसमाचार” प्रचार कार्यलाई टेवा पुऱ्याउन तिनीहरूले निर्माण, इलेक्ट्रोनिक्स, छपाइ र अन्य क्षेत्रहरूमा विभिन्न सीप हासिल गरिरहेका छन्। (मत्ती २४:१४) सिकाउने अनि निर्माण गर्ने यस्तै सीपहरू नै नयाँ संसारमा प्रयोगमा नआउलान् भन्न सकिन्न।
२३. अहिले यस युगमा बाँच्न पाउनु किन सुअवसरको कुरा हो?
२३ हो, आफ्ना सेवकहरूलाई “महा संकष्ट” पार गराएर धार्मिक नयाँ संसारमा प्रवेश गराउन अहिले यहोवा तिनीहरूलाई तयार पार्दै हुनुहुन्छ। त्यस नयाँ संसारमा तिनीहरूले न शैतान न ता त्यसका दुष्ट संसारसित जुझ्नुपर्नेछ। न रोग, दुःख अनि मृत्यु नै चाख्नुपर्नेछ। यसप्रकार ठूलो उत्साह र आनन्दसाथ परमेश्वरका जनहरूले प्रमोदवन निर्माण गर्ने रमाइलो काम थालनी गर्नेछन् र सधैंभरि “खुशी” हुनेछन्। साँच्चै हामीले कत्ति ठूलो सुअवसर पाएका छौं! किनकि हामी युगयुगको चरमबिन्दुमा बाँचिरहेका मात्र होइनौं तर ‘छुटकारा नजीकै आएको हुनाले अब चाँडै आफ्नो शिर माथि उठाउन पनि सक्नेछौं!’—लूका २१:२८; भजन १४६:५.
पुनरावृत्तिका लागि प्रश्नहरू
◻ “महा संकष्ट” के हो र कसरी सुरु हुन्छ?
◻ गोग यहोवाका सेवकहरूमाथि जाइलाग्दा कसरी विफल हुनेछ?
◻ “महा संकष्ट” कसरी टुंगिन्छ?
◻ नयाँ संसारमा कस्ता अद्भुत लाभहरू हुनेछन्?
◻ यस रीतिरिवाजको अन्त गर्न यहोवाले किन यति धेरै समयसम्म पर्खनुभएको?
[पृष्ठ १६-मा भएको चित्र]
पूरै पृथ्वी प्रमोदवनमा परिवर्तन हुनेछ