प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ८/१ pp. १८-२१
  • “अन्तको समयमा” जागा रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अन्तको समयमा” जागा रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अलमल्याउने कुराहरू सित सङ्‌घर्ष गर्नुहोस्‌
  • तनमन लगाएर प्रार्थना गर्नुहोस्‌
  • परमेश्‍वरको सङ्‌गठन र त्यसका कार्यसँग टाँसिरहनु होस्‌
  • आत्म-विश्‍लेषण गर्नुहोस्‌
  • पूरा भइ सकेका भविष्यवाणीहरूमाथि मनन गर्नुहोस्‌
  • हामीले विश्‍वास गर्न सुरु गरेको समयमाभन्दा आज उद्धार धेरै नै नजिक छ
  • “जागा रहो”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवाको दिनको लागि तयार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “जागा बस”
    हाम्रो राज्य सेवकाई—२०००
  • अलमल्याउने कुराहरूलाई पन्छाउँदै के हामी जागा भएर बसेका छौं?
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ८/१ pp. १८-२१

“अन्तको समयमा” जागा रहनुहोस्‌

“होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।”—मर्कूस १३:३३.

१. यस “अन्तको समयमा” जसै उत्तेजक घटनाहरू खुल्दै जान्छन्‌, हाम्रो प्रतिक्रिया कस्तो हुनु पर्दछ?

“असमयमा” उत्तेजनापूर्ण घटनाहरू जसै खुल्दै जान्छन्‌, मसीहीहरूको प्रतिक्रिया कस्तो हुनु पर्दछ? (दानियल १२:४) तिनीहरूलाई कुरा स्पष्टसँग बताइएको छ। आजको २० वीं शताब्दीमा पूरा भइरहेको सामूहिक चिन्हसहितको भविष्यवाणी येशूले भनी दिनु भएको थियो। १९१४ देखिन्‌को यो समयावधिलाई खास तवरमा बेग्लै तुल्याउने धेरै विशेषताहरूबारे उहाँले भविष्यवाणी गर्नु भएको थियो। येशूलाई “अन्तको समय” सम्बन्धी दानियलको भविष्यवाणी थाह भएको हुनाले, उहाँले आफ्नो महान भविष्यवाणीको अन्तमा चेलाहरूलाई “जागा रहन” आग्रह गर्नुभयो।—लूका २१:३६.

२. आध्यात्मिक रूपमा जागा बस्नु पर्ने ठूलो आवश्‍यकता किन छ?

२ किन जागा रहने? किनभने मानव इतिहासको यो सबैभन्दा खतरनाक समय हो। यस्तो समयमा आध्यात्मिक निष्क्रियताको शिकार हुनु मसीहीहरूका लागि दुर्भाग्यपूर्ण हुनेछ। यदि हामी आत्मसंतुष्ट भयौं वा जीवनको फिक्रीले लट्टियौं भने हामी खतरामा पर्ने छौं। लूका २१:३४, ३५ मा येशूले हामीलाई यस प्रकार चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना विषयमा होशियार रह, नत्रता तिमीहरूका मन वाक्क-व्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।”

३, ४. (क) येशूले परमेश्‍वरको रीसको दिन एक्कासि मानिसहरूमाथि “पासो” झैं आउनेछ भन्‍नु हुँदा, उहाँको अर्थ के थियो? (ख) परमेश्‍वरले पासो थाप्नु हुँदैन भने, त्यो दिन किन आम मानिसहरूमाथि एक्कासि आइ पर्नेछ?

३ यहोवाको दिन ‘एक्कासि पासोझैं हामीमाथि आईपर्नेछ’ भनी येशूले हामीलाई बिनाकारण भन्‍नुभएको होइन। पासोमा अक्सर एउटा फन्दा हुन्छ र त्यो फन्दा, चराहरू र जनावरहरूलाई समात्न प्रयोग गरिन्छ। पासोमा कमानी फुस्काउने एउटा उपकरण पनि हुन्छ र त्यसमाथि हिंड्‌दा त्यो उपकरण फुस्किन्छ। पासो बन्द हुन्छ, र शिकार त्यसभित्र फँस्छ। यो सबै अचानक हुन्छ। त्यसै प्रकारले, आध्यात्मिक रूपमा निस्क्रिय हुनेहरूलाई झसङ्‌ग पार्दै, परमेश्‍वरको “रीसको दिन” अकस्मात आइ पर्नेछ भनी येशूले भन्‍नु भएको थियो।—हितोपदेश ११:४.

४ मानिसहरूका निम्ति के यहोवा परमेश्‍वरले पासो थाप्नु हुन्छ? होइन, मानिसहरूलाई एक्कासि समातेर तिनीहरूलाई नाश गर्न उहाँ पर्खिरहनु भएको छैन। तर साधारणतया, त्यो दिन मानिसहरूमाथि एक्कासि पासो झैं आउनेछ किनकि परमेश्‍वरको राज्यलाई तिनीहरूले विशेष ध्यान दिंदैनन्‌। आफ्नो चारैतर्फ भइरहेका गतिविधिहरूको अर्थको वास्ता नगर्दै तिनीहरू जीवनको धन्दामा ग्रस्त भएर आ-आफ्नो बाटो लाग्छन्‌। तथापि, तिनीहरूले यसो गर्दैमा परमेश्‍वरको आफ्नो तालिका बदलिंदैन। सबै कुराको हिसाब चुक्‍ता गर्ने उहाँको आफ्नो निश्‍चित समय छ। तर दयापूर्वक उहाँले आफ्नो आउने इन्साफबारे मानवजातिलाई अज्ञानतामा राख्नु भएको छैन।—मर्कुस १३:१०.

५, ६. (क) आउनेवाला इन्साफलाई ध्यानमा राखेर सृष्टिकर्त्ताले मानव जीवहरूका निम्ति के प्रेमपूर्ण प्रबन्ध मिलाइ दिनु भएको छ तर यसको प्रतिफल धेरै जसो कस्तो हुनेछ? (ख) हामीलाई जागा राख्न मदत दिनका लागि कुन कुराको विचार गरिनेछ?

५ यस प्रकारको अग्रिम सूचना, आफ्नो लाक्षणिक पाउदानमा बस्ने मानवीय जीवहरूको हितमा चासो लिनु हुने महान सृष्टिकर्त्ताको एउटा मायालु प्रबन्ध हो। (यशैया ६६:१) जुन ठाउँलाई उहाँको पाउदान भनिन्छ, त्यस ठाउँका बासिन्दाहरूलाई उहाँ धेरै नै माया गर्नुहुन्छ। त्यसैकारण तिनीहरूलाई आफ्ना पार्थिव राजदूतहरू र राजप्रतिनिधिहरू मार्फत आउने घटनाहरूबारे चेतावनी दिनुहुन्छ। (२ कोरिन्थी ५:२०) तर, जति नै चेतावनी दिइए तापनि, ती घटनाहरू मानवजातिमाथि आइपर्दा, मानव-परिवार एक्कासि पासोमा परेजस्तै हुनेछ। किन? किनभने धेरैजसा मानिसहरू आध्यात्मिक रूपमा सुतिरहेका छन्‌। (१ थिस्सलोनिकी ५:६) तुलनात्मक रूपमा थोरैले मात्र यो चेतावनी सुन्दछन्‌ र परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्नेछन्‌।—मत्ती ७:१३, १४.

६ उसो भए, बाँच्नेहरूमध्ये हुनका निम्ति हामी यस अन्तको समयमा कसरी जागा रहन सक्‍तछौं? यहोवाले आवश्‍यक मदत प्रदान गर्नुहुन्छ। हामीले गर्न सक्ने सातवटा कुराहरूमाथि ध्यान दिऊँ।

अलमल्याउने कुराहरू सित सङ्‌घर्ष गर्नुहोस्‌

७. ध्यान अलमलिने विषयमा येशूले हामीलाई के चेतावनी दिनु भएको छ?

७ प्रथमतः, हामीले अलमल्याउने कुराहरू सित सङ्‌घर्ष गर्नै पर्छ। मत्ती २४:४२, ४४ मा येशूले भन्‍नुभयो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।” येशूले यहाँ प्रयोग गर्नु भएको भाषाबाट सङ्‌केत हुँदछ कि यो डरलाग्दो समयमा अलमल्याउने धेरै नै कुराहरू हुनेछन्‌ र अलमलले हामीलाई विनाशतर्फ लग्न सक्नेछ। नूहका दिनमा धेरै कुराहरूले मानिसलाई व्यस्त पारेको थियो। फलःस्वरूप अलमलिएका ती मानिसहरूले के भइरहेछ, त्यो “थाहै पाएनन्‌,” र जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाएर लग्यो। त्यसैकारण येशूले चेतावनी दिनुभयो: “उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३७-३९.

८, ९. (क) जीवनका साधारण कामकाजले पनि हामीलाई कसरी खतरनाक ढङ्‌गमा अमलमल्याउन सक्‍तछ? (ख) पावल र येशूले हामीलाई के चेतावनी दिएका छन्‌?

८ यो पनि ध्यानमा राख्नुहोस्‌ कि लूका २१:३४, ३५ मा उल्लेखित्‌ येशूको चेतावनीमा खाने, पिउने, जीविका चलाउने जस्ता जीवनका साधारण कामकाजहरूको चर्चा गरिएको छ। ती कुराहरू प्रभु येशूका चेलाहरू लगायत सबै मानिसहरूले गर्ने कुराहरू हुन्‌। (मर्कूस ६:३१ सङ्‌ग तुलना गर्नुहोस्‌) यी कुराहरू यसो हेर्दा त हानिकारक नहोलान्‌, तर हामी सतर्क भएनौ भने, तिनीहरूले हामीलाई अलमल्याउन सक्छन्‌, व्यस्त पार्न सक्छन्‌, र यसप्रकार हामीमा खतरनाक आध्यात्मिक निदाउरोपना उत्पन्‍न गराउन सक्छन्‌।

९ यसकारण, सबैभन्दा महत्त्वपूर्ण कुरा—ईश्‍वरीय अनुमोदन प्राप्त गर्ने कुराको हेलचेक्य्राइँ नगरौं। जीवनका साधारण कुराहरूमा तल्लीन हुनुको सट्टा, आफ्नो जीवन धान्‍नेसम्मका आवश्‍यकताहरू पूरा गर्नका लागि मात्र तिनीहरूको प्रयोग गर्ने गरौं। (फिलिप्पी ३:८) तिनीहरूले गर्दा राज्य सम्बन्धी जिम्मावारीहरूलाई एकातिर पन्छ्याउनु भएन। रोमी १४:१७ ले भनेजस्तै, “परमेश्‍वरको राज्य खान र पिउनमा हुने होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।” येशूले भन्‍नुभएका यी शब्दहरू याद राख्नुहोस्‌: “तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) अझै, लूका ९:६२ मा येशूले घोषणा गर्नुभयो: “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।”

१०. सीधा लक्ष्यतर्फ हामीले आफ्ना आँखाहरूलाई केन्द्रित राखेनौं भने कुन कुराको खतरा हुन सक्‍तछ?

१० लाक्षणिक ढङ्‌गमा भन्‍ने हो भने, खेत जोत्न शुरु गरेपछि, हल-रेखा सोझो हुने गरी हामीले जोत्नु पर्दछ। पछाडि फर्केर हेर्ने जोताहाले हल-रेखा सोझो राख्न सक्‍तैन। उसलाई सजिलैसित अलमल्याउन सकिन्छ अथवा कुनै पनि कुराबाट उसको काममा वाधा पर्न सक्‍तछ। पछाडि फर्केर हेरेकी हुनाले बाँच्न न सकेकी लूतकी पत्नी जस्ती हामी नहोऊँ। हामीले आफ्नो ध्यान सीधा अगाडि लक्ष्यमा केन्द्रित गर्नु पर्दछ। यसो गर्नका लागि हामीले अलमल्याउने कुराहरूसित सङ्‌घर्ष गर्नु पर्दछ।—उत्पत्ति १९:१७, २६; लूका १७:३२.

तनमन लगाएर प्रार्थना गर्नुहोस्‌

११. अलमलिने खतराबारे चेतावनी दिनु भएपछि येशूले कुन कुरामाथि जोड दिनुभयो?

११ तथापि, जागा रहनका निम्ति हामीले गर्न सक्ने कुराहरू अझ छन्‌। दोस्रो महत्त्वपूर्ण कुरा हो: तनमन लगाएर प्रार्थना गर्नुहोस्‌। जीवनका साधारण कुराहरूद्वारा नअलमलिनु भनेर चेतावनी दी सक्नु भएपछि येशूले यो सल्लाह दिनुभयो: “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नलाई हर घडी प्रार्थना गर्दै जागा रहो।”—लूका २१:३६.

१२. कुन प्रकारको प्रार्थना आवश्‍यक छ, र त्यसको प्रतिफल के हुन्छ?

१२ यसप्रकार, सतर्क रहनु पर्ने हाम्रो आवश्‍यकता र हाम्रो खतरनाक परिस्थितिको सम्बन्धमा हामीले निरन्तर अन्तरबिन्ती गर्नु पर्दछ। अतः तनमनका साथ प्रार्थना गर्दै परमेश्‍वरको सामुन्‍ने बिन्ती चढाऊँ। रोमी १२:१२ मा पावल भन्दछन्‌: “प्रार्थनामा अटुटसँग लागिरहो।” र एफिसी ६:१८ मा हामी पढ्‌दछौं: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गरेर . . . सतर्क भएर खुरन्धार अन्तरबिन्ती गर।” यो कुनै महत्त्वहीन विषय अथवा आफूलाई मन परेको बेलामा संयोगले प्रार्थना चढाउने कुरा होइन। हाम्रो अस्तित्व नै खतरामा छ। यसकारण ईश्‍वरीय मदतका निम्ति तनमनका साथ हामीले बिन्ती गर्नु आवश्‍यक छ। (हिब्रू ५:७ सङ्‌ग तुलना गर्नुहोस्‌) यस प्रकार हामीले आफूलाई यहोवाको पक्षमा राख्न सक्नेछौं। यसो गर्नमा सघाउ पुर्‌याउन, ‘हर समय अन्तरबिन्ती गर्नु’ जति लाभदायक अरू कुनै कुरा छैन। यसो गर्‌यौं भने यहोवाले हामीलाई सचेत र सतर्क अवस्थामा राख्नु हुनेछ। हो, प्रार्थनामा लागिरहनु कत्ति महत्त्वपूर्ण छ!

परमेश्‍वरको सङ्‌गठन र त्यसका कार्यसँग टाँसिरहनु होस्‌

१३. जागा रहनका निम्ति कुन प्रकारको सङ्‌गत आवश्‍यक छ?

१३ यस संसारमाथि आइपर्ने यी सबै कुराहरूबाट हामी उम्कन चाहन्छौं। मानिसको पुत्रको अनुमोदन पाएर उहाँको सामु हामी उभिन चाहन्छौं। यस्का निम्ति हामीले गर्न सक्ने तेस्रो कुरा यो हो: अटुटसँग यहोवाको ईश्‍वरतन्त्रीय सङ्‌गठनसँग टाँसिरहनु होस्‌। त्यस सङ्‌गठनसँग हामीले कुनै हिचकिचाहट बिना सङ्‌गत गर्दै त्यसका गतिविधिहरूमा भाग लिनु पर्दछ। यसप्रकार हामी साँच्चै नै जागा रहेका मसीहीहरू हौं भनी आफूलाई चिनाउन सक्नेछौं।

१४, १५. (क) कुन प्रकारको काममा आफूलाई व्यस्त राख्यौं भने, हामीले जागा बस्ने मदत पाउने छौं? (ख) प्रचार कार्य कहिले समाप्त हुन्छ भनी कसले निर्णय गर्दछ, र त्यसबारे हाम्रो धारणा कस्तो हुनुपर्दछ? (ग) महा सङ्‌कष्ट पछि राज्य प्रचार कार्यको सम्झना गर्दा, हामीलाई कस्तो लाग्नेछ?

१४ यो सित सम्बन्धित एउटा चौथो कुरो छ जसले हामीलाई जागा राख्नमा मदत दिन सक्नेछ। यो रीतिरिवाजको आउँदो अन्तबारे मानिसहरूलाई चेतावनी दिनेहरूमध्येका हामी हुनुपर्दछ। “राज्यको सुसमाचार” सर्वशक्‍तिमान परमेश्‍वरको उद्देश्‍य बमोजिम जुन हदसम्म प्रचार गरिनु परेको छ, त्यस हदसम्म प्रचार नहोउञ्जेलसम्म यो पुरानो रीतिरिवाजको पूर्णतया अन्त हुनेछैन। (मत्ती २४:१४) प्रचार कार्य कहिले पूरा भइ सक्ने हो भन्‍ने कुराको निर्णय गर्नेहरू यहोवाका साक्षीहरू होइनन्‌। यो निर्णय गर्ने अधिकार यहोवाले आफूसितै राख्नु भएको छ। (मर्कूस १३:३२, ३३) तथापि, मानवजातिले पाउन सक्ने सर्वश्रेष्ठ सरकार, अर्थात्‌ परमेश्‍वरको राज्यबारे यथा सम्भव र आवश्‍यक समयसम्म प्रचार गर्न हामीले दृढ फैसला गरेका छौं। यस काममा हामी व्यस्त रहेकै बेलामा “महा सङ्‌कष्ट” आइलाग्ने छ। (मत्ती २४:२१) भविष्यमा सधैंभरि बाँचेकाहरूले बितेका कुरा सम्झेर ल्याउँदा, येशू कुनै झूटा अगमवक्‍ता हुनुहुँदैन थियो भनी हार्दिक प्रमाण दिनेछन्‌। (प्रकाश १९:११) प्रचार कार्यमा भाग लिनेहरूले आशा गरेको भन्दा धेरै नै ठूलो मात्रामा यो कार्य सम्पन्‍न भइसकेको हुनेछ।

१५ तदनुसार, यो काम परमेश्‍वरको नजरमा सन्तोषजनक रीतिले पूरा हुने अत्यन्त महत्त्वपूर्ण समय आउञ्जेलसम्म, यस काममा यतिका धेरै जनहरूले भाग लिइरहेका होलान्‌ जस्तो कि पहिले कहिले भएको थिएन। यस महान काममा भाग लिन पाएकोमा हामी त्यस बेला कति कृतज्ञ हुनेछौं! प्रेरित पत्रुसले हामीलाई आश्‍वासन दिन्छन्‌ कि यहोवा “चाहनुहुन्छ कि कोही पनि नष्ट नहोस्‌; तर सबै जनाले पश्‍चताप गरून्‌।” (२ पत्रुस ३:९) फलःस्वरूप, सर्वशक्‍तिमान परमेश्‍वरको सक्रिय शक्‍ति पहिलेभन्दा आज धेरै नै प्रबल ढङ्‌गमा क्रियाशील भइरहेछ र आत्माद्वारा प्रेरित यस कार्यमा यहोवाका साक्षीहरू लागिरहन इच्छुक छन्‌। अतः यहोवाको सङ्‌गठनसँग टाँसिरहनु होस्‌, र त्यसको आम सेवकाईमा व्यस्त रहनु होस्‌। जागा रहनमा यसले तपाईंलाई मदत दिनेछ।

आत्म-विश्‍लेषण गर्नुहोस्‌

१६. हाम्रो वर्तमान आध्यात्मिक स्थितिबारे हामीले आत्म-विश्‍लेषण किन गर्नु पर्दछ?

१६ जागा रहनका निम्ति हामीले गर्नसक्ने पाँचौ कुरा छ। व्यक्‍तिगत रूपमा हामीले आफ्नो वर्तमान स्थितिको आत्म-विश्‍लेषण गर्नु पर्दछ। यसो गर्नु पहिलेभन्दा आज धेरै नै आवश्‍यक छ। दृढताका साथ हामी कसको पक्षमा उभिरहेका छौं भनी प्रमाणित गर्न आवश्‍यक परेको छ। गलाती ६:४ मा पावलले भने: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌।” १ थिस्सलोनिकी ५:६-८ मा उल्लेखित्‌ पावलका यी शब्दहरूलाई ध्यानमा राखेर आफूलाई जाँच गर्नुहोस्‌: “अरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं। किनकि सुत्नेहरू रातमा सुत्छन्‌, र शराब पिउनेहरू रातैमा पिउँछन्‌ तर हामी चाहिं दिनका हुनाले विश्‍वास र प्रेमको छातीको पाता र मुक्‍तिको आशाको टोप पहिरेर सचेत रहौं।”

१७. आत्म-विश्‍लेषण गर्दा हामीले आफैलाई के प्रश्‍न सोध्नु पर्दछ?

१७ हामी आफ्नो बारे के भन्‍नसक्छौं? यी पद्यहरूको सामुन्‍ने आफूलाई जाँच गर्दा, के हामीले मुक्‍तिको टोप पहिरेर जागा रहेको अवस्थामा आफूलाई देख्छौं? के हामीहरूले आफूलाई सम्पूर्ण रूपले पुरानो रीतिरिवाजबाट अलग्ग पारेर त्यसका सोच-विचारलाई त्यागेका छौं? के हामीमा साँच्चै नै परमेश्‍वरको नयाँ संसारको आत्मा छ? यो रीतिरिवाज कतातिर गइरहेको छ भन्‍ने विषयमा के हामी पूरै सचेत छौं? यसो हो भने, हामीलाई चोर ठानेर यहोवाको दिन एक्कासि हामीमाथि आइलाग्ने छैन।—१ थिस्सलोनिकी ५:४.

१८. अझै अरू के प्रश्‍नहरू हामीले आफैलाई सोध्नु पर्दछ, र यसको परिणाम के हुनेछ?

१८ तर हामी चाहिं एउटा राम्रो, आरामदायी, सुविधाजनक जीवन-शैली अपनाउने प्रयास गरिरहेका छौं भनी हाम्रो आत्म-विश्‍लेषणबाट प्रकट हुन्छ भने के गर्ने? हाम्रा आध्यात्मिक आँखाहरू तन्द्रा र निद्राले लट्ठ भइसके छन्‌ भनी थाह लाग्यो भने नि? के हामी कुनै सांसारिक कल्पनाको पछि-पछि, सपनामा झैं दौडिरहेछौं? यसो हो भने, हामी अब जागा होऔं!—१ कोरिन्थी १५:३४.

पूरा भइ सकेका भविष्यवाणीहरूमाथि मनन गर्नुहोस्‌

१९. कुन कुन भविष्यवाणीहरू पूरा भएको हामीले देखेका छौं?

१९ हामीलाई जागा रहनमा मदत दिने अब छैठौं कुरामा आउँछौं। यस अन्तको समयमा पूरा भएका ती धेरै भविष्यवाणीहरूमाथि मनन गर्नुहोस्‌। १९१४ मा अन्य जातिहरूका निम्ति ठहराइएको समय अन्त भएको यता ७७ वर्ष पुगिसक्यो। बितेको प्रायः ७५ वर्षभित्र एकपछि अर्को भविष्यवाणीहरू पूरा भएको हामी देख्न सक्छौं—साँचो उपासनाको पुनर्स्थापन; अभिषिक्‍त जनहरू र साथ-साथै तिनीहरूका साथीहरूले छुटकारा पाएर एउटा आत्मिक प्रमोदवनमा प्रवेश पाएका; विश्‍व-व्यापी स्तरमा राज्यको सुसमाचारको प्रचार; ठूलो भीड देखा परेको। (यशैया २:२, ३; ३५ अध्याय; जकर्याह ८:२३; मत्ती २४:१४; प्रकाश ७:९) यहोवाको महान नाउँ र विश्‍व-व्यापी सार्वभौमिकता महिमित पारिएको छ। साथै, यहोवाले नै ठीक समयमा त्यसको गति तीब्र पार्नु भएको हुनाकारण, थोरै चाहिं हजार र तुच्छ चाहिं एउटा सामर्थी जाति भएको छ। (यशैया ६०:२२; इजकिएल ३८:२३) र प्रकाशितवाक्यको वर्णनमा यूहन्‍नाले देखेका दर्शनहरू तिनीहरूको चरमबिन्दुमा अब पुग्नै लागेका छन्‌।

२०. यहोवाका साक्षीहरूले दृढताका साथ के विश्‍वास गर्दछन्‌, र तिनीहरू वास्तवमा के प्रमाणित भएका छन्‌?

२० यसकारण, १९१४ देखिन्‌ संसारमा घटेका घटनाहरूको सही अर्थ तिनीहरूले बुझेका छन्‌ भनी यहोवाका साक्षीहरू पहिलेभन्दा आज दृढतापूर्वक विश्‍वस्त छन्‌। यस प्रकार दृढतापूर्वक विश्‍वस्त भएका हुनाले, तिनीहरू नै सर्वश्रेष्ठ परमेश्‍वरले प्रयोग गर्नुहुने साधन साबित भएका छन्‌। तिनीहरूलाई नै यस महत्त्वपूर्ण घडीमा ईश्‍वरीय संदेश सुनाउने जिम्मावारी सुम्पिएको छ। (रोमी १०:१५, १८) हो, अन्तको समयका लागि यहोवाका वचनहरू सत्य सिद्ध भएका छन्‌। (यशैया ५५:११) यसले गर्दा, येशू ख्रीष्टद्वारा परमेश्‍वरका सारा प्रतिज्ञाहरू पूरा भएको नदेखुञ्जेल हामी काम जारी राख्न उत्प्रेरित हुनु पर्ने हो।

हामीले विश्‍वास गर्न सुरु गरेको समयमाभन्दा आज उद्धार धेरै नै नजिक छ

२१. आध्यात्मिक रूपमा जागा रहनका निम्ति मदत दिने हामीसित भएको सातौं कुरा के हो?

२१ अन्तमा, हामीलाई जागा राख्नमा मदत दिने सातौं कुरा: हामीले विश्‍वास गर्न शुरु गरेको समयमा भन्दा आज उद्धार धेरै नै नजीक छ भन्‍ने कुरा सदा मनमा राख्नु होस्‌। र यो भन्दा अझ महत्त्वपूर्ण कुरा के हो भने, यहोवाको सार्वभौमिकताको औचित्यको स्थापना र उहाँको नाउँ पवित्र पारिने समय पनि धेरै नै नजिक छ। अतः जागा रहनु, पहिलेभन्दा आज धेरै नै आवश्‍यक छ। प्रेरित पावल लेख्तछन्‌: “यो पनि, कि समय विचार गर, अब निद्राबाट बिउँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले विश्‍वास गरेर ठानेको समयभन्दा अहिले मुक्‍तिको समय हाम्रो नजीकै छ।”—रोमी १३:११, १२.

२२. हाम्रो मुक्‍ति नजिक भएको कुराले हामीमाथि कस्तो प्रभाव पार्नु पर्ने हो?

२२ हाम्रो मुक्‍ति यतिको नजिक आइसकेको हुनाकारण, हामी जागा रहनु नै पर्दछ! कुनै व्यक्‍तिगत अथवा सांसारिक चासोका विषयहरूको कारण, हामीले ती कुराहरूको मूल्याङ्‌कन गर्न छाडनु भएन, जुन कुराहरू यहोवाले यस अन्तको समयमा आफ्ना जनहरूका निम्ति गरिरहनु हुँदैछ। (दानियल १२:३) हाम्रो निम्ति परमेश्‍वरको वचनमा स्पष्टसँग तोकिएको बाटो नबिराउनका लागि हामीले सदाभन्दा बढी दृढता देखाउनु परेको छ। (मत्ती १३:२२) यो संसार त्यस्को अन्तिम दिनहरूमा चलिरहेको छ भन्‍ने कुरा स्पष्टगरी प्रमाणित भएको छ। चाँडै कुनै नाउँ-निसानै नरहने गरी यसको अन्त हुनेछ र धार्मिकताको एउटा नयाँ संसार त्यसको ठाउँमा आउनेछ।—२ पत्रुस ३:१३.

२३. यहोवाले कुन तरिकाबाट हामीलाई मदत गर्नु हुनेछ, र त्यसको के आशिषपूर्ण परिणाम हुनेछ?

२३ त्यसो हुनाले, जागा रहने हामी हर उपाय गरौं। समयको दौडानमा हामी कहाँ छौं भन्‍ने विषयमा पहिले कहिले हुनु नपरे जस्तो गरी सतर्क हुनुहोस्‌। याद राख्नुहोस्‌, यसबारे यहोवाले कुनै हालतमा पनि ढिलाढाली गर्नु हुने छैन। बरु, यस अन्तको समयमा जागा रहन उहाँले हामीलाई सदा सहायता दिनु हुनेछ। रात धेरै नै बितिसक्यो। दिनको उज्यालो अब हुनै लागेको छ। यसकारण जागा रहनुहोस्‌! अब चाँडै नै मसीही राज्यद्वारा पृथ्वीका निम्ति यहोवाको उद्देश्‍य पूरा हुँदा हामीहरूले सबैभन्दा सुन्दर दिन अनुभव गर्नेछौं!—प्रकाश २१:४, ५. (w 5/01/92)

तपाईंका जवाफहरू के छन्‌?

◻ परमेश्‍वरको रीसको दिन “एउटा पासो जस्तो“ गरी आउनेछ भनी येशूले भन्‍नु भएको अर्थ के हो?

◻ हामीलाई अलमल्याउने कुराहरूसित हामी किन सङ्‌घर्ष गर्नु पर्दछ, र सो हामी कसरी गर्न सक्‍तछौं?

◻ जागा रहनका निम्ति कुन प्रकारको प्रार्थना आवश्‍यक छ?

◻ कुन प्रकारको सङ्‌गत अत्यावश्‍यक छ?

◻ हाम्रो आध्यात्मिक स्थितिको आत्म-विश्‍लेषण किन गर्नु?

◻ हामी जागा बस्नमा भविष्यवाणीले के भूमिका निभाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने