प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ pp. ८-११
  • घृणाको चक्र तोड्‌दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणाको चक्र तोड्‌दै
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “प्रेम[को]” अर्थ
  • प्रेम गर्न सिक्ने
  • जातीय पर्खाल भत्काउँदै
  • विगतलाई बिर्संदै
  • घृणारहित संसार!
  • घृणा निर्मूल पार्ने एउटै मात्र तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • विश्‍वभरि घृणाको अन्त
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ pp. ८-११

घृणाको चक्र तोड्‌दै

“आफ्ना शत्रुहरूलाई प्रेम गर।”— मत्ती ५:४४.

दुई शत्रु राष्ट्रका नेताहरूबीच धेरै दिनसम्म गम्भीर शान्ति वार्ता चल्यो। आफ्नो उच्च प्रभाव र कूटनितिक कुशलता प्रयोग गर्दै यी दुई नेताहरूलाई सहमतिको बिन्दुमा पुऱ्‍याउँन एक शक्‍तिशाली औद्योगिक मुलुकका राष्ट्रपति पनि उक्‍त वार्तामा उपस्थित थिए। तर यी कठिन प्रयासहरूको परिणाम वास्तवमा झनै नराम्रो भयो। वार्ता भएको केही हप्ता पनि नबित्दै न्युजविक पत्रिकाले भनेझैं ती दुई राष्ट्रबीच “दुई दशककै सबैभन्दा घातक हिंसा” मच्चियो।

राष्ट्रिय नेताहरूको अथक प्रयासको बावजूद विश्‍वभरि नै विभिन्‍न जातीय र राष्ट्रिय समूहका मानिसहरू घृणा र शत्रुता त्याग्न तैयार छैनन्‌। अनभिज्ञता, हठी र अतिरञ्जित तरिकामा प्रचारप्रसार गरिएका झूटा जानकारीहरूको कारण फस्टाएको घृणाको चक्र तीव्र गतिमा घुमिरहेको छ। तर आजका नेताहरू व्यर्थमा नौला अनि नविनतम समाधानहरू खोज्न भौंतारिरहेको बेला डाँडाको उपदेशजस्तो पुरानो तर सबैभन्दा उत्तम समाधानलाई भने तिनीहरू बिर्सन्छन्‌। त्यो उपदेश दिने क्रममा येशू ख्रीष्टले आफ्ना श्रोताहरूलाई परमेश्‍वरका स्तरहरू पछ्याउन प्रोत्साहित गर्नुभयो। त्यसै सन्दर्भमा उहाँले माथि उद्धृत भनाइ उल्लेख गर्नुभयो, “आफ्ना शत्रुहरूलाई प्रेम गर।” उक्‍त उपदेश घृणा र पूर्वाग्रहजस्ता समस्याहरू हटाउने एक मात्र उत्तम समाधान त हो नै, साथमा एक मात्र व्यावहारिक समाधान पनि हो!

शत्रुलाई प्रेम गर्ने सिद्धान्त पालनै गर्न नसकिने निकै आदर्शवादी जस्तो देखिने र यो अव्यावहारिक छ भन्दै आलोचकहरू यसलाई वास्तै गर्दैनन्‌। यद्यपि, यदि मानिसहरूले घृणा गर्न सिक्न सक्छन्‌ भने, घृणा नगर्न पनि सिक्न सक्छन्‌ भनेर मानिलिनु के मनासिब छैन र? त्यसैकारण त येशूका शब्दहरूले मानिसहरूको लागि वास्तविक आशा प्रदान गर्छ। यसले एकदमै पुरानो शत्रुता पनि हटाउन सम्भव छ भनेर देखाउँछ।

येशूको समयमा उहाँका यहूदी श्रोताहरूमाझको परिस्थितिलाई विचार गर्नुहोस्‌। आफ्नो शत्रु खोज्न तिनीहरूलाई टाढा जानु आवश्‍यकै थिएन। यहूदीहरू बसोबास गर्ने सबै क्षेत्र रोमी सेनाहरूको अधीनमा थियो। यहूदीहरूले चर्को कर, राजनैतिक थिचोमिचो, शोषण र दुर्व्यवहार सहनु परिरहेको थियो। (मत्ती ५:३९-४२) यद्यपि, कसैकसैले आफ्ना सँगी यहूदीहरूलाई समेत शत्रु ठान्‍न सक्थे किनकि तिनीहरूले सानातिना मतभेदहरूलाई नसुल्झाएर त्यसलाई बरु बढ्‌न दिइरहेका थिए। (मत्ती ५:२१-२४) के येशूले साँच्चै आफ्ना श्रोताहरूले उनीहरूलाई चोट र पीडा दिने व्यक्‍तिहरूलाई समेत प्रेम गरेको आशा गर्न सक्नुहुन्थ्यो?

“प्रेम[को]” अर्थ

सर्वप्रथम, कुन कुरालाई ध्यान दिनुहोस्‌ भने, येशूले यहाँ “प्रेम[बारे]” चर्चा गर्नु हुँदा दुई घनिष्ठ मित्रबीच हुनसक्ने स्नेहलाई बुझाउने प्रेमबारे सोचिरहनुभएको थिएन। मत्ती ५:४४ मा प्रेमको लागि प्रयोग गरिएको युनानी शब्द अगापे भन्‍ने शब्दबाट आएको हो। यस शब्दले कुनै सिद्धान्तद्वारा निर्देशित वा प्रभावित प्रेमलाई बुझाउँछ। यसमा न्यानो स्नेह हुनैपर्छ भन्‍ने छैन। किनकि यो धार्मिक सिद्धान्तद्वारा निर्देशित हुन्छ। यस्तो प्रेमले प्रत्येकलाई अरूको दुर्गुणको वास्ता नगरी अरूको भलाइ खोज्न उत्प्रेरित गर्छ। यसप्रकार, अगापे प्रेमले व्यक्‍तिगत रिस इबीलाई हटाउनसक्छ। येशू आफैले पनि यस्तो प्रेम प्रकट गर्नुभयो। रोमी सेनाहरू जसले उहाँलाई शूलीमा लट्‌काए, तिनीहरूलाई सराप्नुको साटो उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्‌, किनकि तिनीहरूले के गरिरहेछन्‌ ती जान्दैनन्‌।”—लूका २३:३४.

संसारका बहुसंख्यक मानिसहरूले येशूका शिक्षाहरूलाई अँगाल्नेछन्‌ र तिनीहरूले एकअर्कालाई प्रेम गर्न थाल्नेछन्‌ भनेर आशा गर्नु के व्यावहारिक छ? छैन, किनभने बाइबलले देखाएअनुसार यो संसार विपत्तिको खाडलमा जाकिंदैछ। दोस्रो तिमोथी ३:१३ ले यस्तो भविष्यवाणी गर्छ, “तर खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।” यद्यपि, व्यक्‍तिविशेषले बाइबल अध्ययनद्वारा धार्मिक सिद्धान्तहरूलाई पूर्णतया बुझेर घृणाको चक्रलाई तोड्‌न सक्छन्‌। धेरैले आफू वरपरको अचाक्ली घृणाको प्रतिरोध गर्न सिकेका छन्‌ भन्‍ने कुरा अनुभवहरूले स्पष्ट देखाउँछ। केही वास्तविक घटनाहरूलाई विचार गर्नुहोस्‌।

प्रेम गर्न सिक्ने

तेह्र वर्षको उमेरमा होसे आतंककारी समूहका एक सदस्यको रूपमा छापामार युद्धमा संलग्न भए।a तिनलाई आफ्ना वरिपरि अन्याय गर्नेहरूलाई आरोप लगाएको भरमा घृणा गर्न सिकाइएको थियो। तिनको उद्देश्‍य सकेसम्म तिनीहरूलाई नामेट पार्नु थियो। आफ्ना धेरै साथीहरू मरेकाले होसेको मनमा कटु शत्रुता अनि बदलाको भाव जाग्यो। हातेबम बनाउने क्रममा तिनी आफैलाई यस्तो प्रश्‍न सोध्ने गर्थे, ‘किन यत्तिबिघ्न पीडा? यदि परमेश्‍वर हुनुहुन्छ भने, के उहाँले वास्ता गर्नु हुन्‍न र?’ तिनी धेरै चोटि रोए, आकुलव्याकुल र खिन्‍न भए।

अन्ततः होसे यहोवाका साक्षीहरूको स्थानीय मण्डलीको सम्पर्कमा आए। पहिलो चोटि मण्डलीको सभामा उपस्थित हुँदा नै तिनले मायालु वातावरण अनुभव गरे। सबैले तिनलाई न्यानो तथा मित्रैलो व्यवहार गरेर स्वागत गरे। पछि, “परमेश्‍वरले किन दुष्टता रहिरहने अनुमती दिनुहुन्छ?” विषयको छलफलमा तिनले सोधिरहेकै प्रश्‍नहरूको जवाफ दिइयो।b

समयमा, होसे बाइबल ज्ञानमा बढ्‌दै गए र आफ्नो जीवन अनि सोच्ने तरिका परिवर्तन गर्न प्रोत्साहित भए। तिनले यो कुरा बुझे, “जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन।”—१ यूहन्‍ना ३:१४, १५.

यद्यपि, आफ्ना आतंकवादी साथीहरूसित सम्बन्ध तोड्‌नु तिनको लागि चुनौतीपूर्ण साबित भयो। हरेक चोटि यहोवाका साक्षीहरूको राज्यभवन जाँदा तिनलाई उनीहरूले पछ्याए। तिनका केही पूर्व मित्रहरू होसेमा यस्तो परिवर्तन आउनुको कारण बुझ्न केही सभाहरूमा समेत उपस्थित भए। तिनले उनीहरूलाई कुनै विश्‍वासघात गर्नेछैन अर्थात्‌ तिनीबाट कुनै खतरा छैन भन्‍ने कुरामा ढुक्क भएपछि उनीहरूले होसेलाई पछ्याउन छाडिदिए। होसेले १७ वर्षको उमेरमा एक जना यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिए। बप्तिस्माको लगत्तैपछि तिनले पूर्ण-समय प्रचार कार्य गर्न थाले। मानिसहरूलाई मार्ने योजना बनाउनुको सट्टा अहिले तिनी उनीहरूकहाँ प्रेम र आशाको सन्देश लिएर जान्छन्‌!

जातीय पर्खाल भत्काउँदै

के जातीय समूहका सदस्यहरूले तिनीहरूलाई विभाजन गर्ने घृणाको पर्खाल भत्काउन सक्छन्‌? एकछिन लण्डन, इंगल्याण्डस्थित आम्हारिक भाषा बोल्ने यहोवाका साक्षीहरूको एउटा समूहलाई विचार गर्नुहोस्‌। करिब ३५ जना जति व्यक्‍तिहरू मिलेर उक्‍त समूह बनेको छ। त्यसमध्ये २० जना इथियोपियाली र १५ जना इरिटियाली छन्‌। अफ्रिकामा इरिटियाली र इथियोपियालीहरूले हालै निकै शत्रुतापूर्ण युद्ध लडेको तथ्यको बावजूद तिनीहरू शान्तिपूर्वक एकताबद्ध भई एकैसाथ उपासना गर्छन्‌।

एक जना इथियोपियाली साक्षीलाई तिनको परिवारले यसो भनेका थिए: ‘इरिटियालीहरूलाई कहिल्यै विश्‍वास नगर्नु!’ तर अहिले, तिनी आफ्ना इरिटियाली सँगी मसीहीहरूलाई विश्‍वास मात्र गर्दैनन्‌ तर उनीहरूलाई भाइबहिनी भनी सम्बोधन पनि गर्छन्‌। ती इरिटियालीहरूले आफ्नो मातृभाषा टाइग्रिन्या बोल्ने भए तापनि तिनीहरूले इरिटियाली भाइहरूको भाषा आम्हारिक सिकेका छन्‌। यसो गर्दा दुवै जाति सँगै मिलेर बाइबल अध्ययन गर्न सक्छन्‌। ईश्‍वरीय प्रेमको शक्‍ति “सिद्धताको गाँठो” हो भन्‍ने कुराको कस्तो सशक्‍त प्रमाण!—कलस्सी ३:१४.

विगतलाई बिर्संदै

यदि कोही व्यक्‍ति अमानवीय व्यवहारको सिकार भएको छ भने के गर्ने? के आफूलाई पीडा दिने व्यक्‍तिप्रति कुनै द्वेष भाव नराख्नु सजिलो छ र? जर्मनीको एक जना साक्षी म्यानफ्रेडलाई विचार गर्नुहोस्‌। तिनले ६ वर्षसम्म एउटा कम्युनिस्ट जेलमा बिताए। तिनको भूल केवल यति थियो कि तिनी एक जना यहोवाका साक्षी थिए। आफूलाई सताउनेहरूलाई के तिनले कहिल्यै घृणाको भावले हेरे वा बदला लिन चाहे? तिनले यस्तो जवाफ दिए, “अहँ, मैले कदापि त्यसो गर्न चाहिनँ।” जर्मन पत्रिका सारब्रुकर जाइटुङअनुसार म्यानफ्रेड यसो भन्छन्‌, “अन्याय गर्नु वा अन्यायको बदला लिनु भनेको . . . अन्यायको चक्रलाई निरन्तरता दिनु हो र यसले फेरि अर्को अन्याय गर्न सुऱ्‍याउँछ।” म्यानफ्रेडले स्पष्टतः बाइबलका यी शब्दहरू व्यवहारमा उतारे: “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”—रोमी १२:१७, १८.

घृणारहित संसार!

यस सन्दर्भमा यहोवाका साक्षीहरू आफू उत्कृष्ट भएको दाबी गर्दैनन्‌। पुरानो इबी र घृणालाई पन्छाउन अक्सर सजिलो हुँदैन भनेर प्रायः तिनीहरू पनि महसुस गर्छन्‌। कुनै व्यक्‍तिलाई बाइबल सिद्धान्त जीवनमा लागू गर्न निरन्तर लगनशील प्रयासको आवश्‍यकता पर्छ। तर समग्रमा भन्‍नु पर्दा, यहोवाका साक्षीहरू घृणाको चक्र तोड्‌न सक्ने बाइबलको शक्‍तिको जीवित उदाहरण हुन्‌। गृह बाइबल अध्ययनको माध्यमबाट साक्षीहरूले हरेक वर्ष हजारौं मानिसहरूलाई जातीय अनि हठीपनको बन्धनबाट मुक्‍त हुन मदत गरिरहेका छन्‌।c (“बाइबलको सल्लाहले घृणा हटाउन मदत गर्छ” शीर्षकको पेटी हेर्नुहोस्‌।) यो सफलता भावी विश्‍वव्यापी शैक्षिक कार्यक्रमको पूर्वझलक हो, जसले छिट्टै घृणा अनि यसका जराहरूलाई निमिट्यान्‍न पार्नेछ। परमेश्‍वरको राज्य अर्थात्‌ विश्‍वव्यापी सरकारको सुपरिवेक्षणमा यो भावी शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ। “तपाईंको राज्य आओस्‌” भन्‍नुहुँदा प्रभुको प्रार्थनामा त्यही राज्यबारे येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो।—मत्ती ६:९, १०.

बाइबलले प्रतिज्ञा गर्छ कि यस स्वर्गीय सरकारको सुपरिवेक्षणमा “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९; ५४:१३) त्यसपछि, अक्सर उद्धृत गरिने यशैया अगमवक्‍ताको यो भविष्यवाणी विश्‍वव्यापी रूपमा पूरा हुनेछ: “[परमेश्‍वर]ले जातिहरूको इन्साफ गर्नुहुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नुहुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:४) यसरी स्वयम्‌ परमेश्‍वरले पूर्णतया अनि सधैंको लागि घृणाको दुष्चक्र तोड्‌नुहुनेछ। (g01 8/8)

[फुटनोटहरू]

a तिनको वास्तविक नाउँ होइन।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक, अध्याय ८ “परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?” हेर्नुहोस्‌।

c यहोवाका साक्षीहरूसित सम्पर्क राखेर वा यस पत्रिकाका प्रकाशकहरूलाई लेखेर निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ।

[पृष्ठ ११-मा भएको पेटी]

बाइबलको सल्लाहले घृणा हटाउन मदत गर्छ

● “तिमीहरूमा लड़ाइँ कहाँबाट आउँछ? औ झगडा कहाँबाट आउँछ? तिमीहरूको अंगमा संग्राम गर्ने तिमीहरूका सुख-विलासबाटै होइन र?” (याकूब ४:१) यदि हामीले आफ्ना स्वार्थी चाहनाहरूलाई नियन्त्रणमा राख्यौं भने अरूप्रतिको द्वेष हटाउन सक्छौं।

● “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) अनावश्‍यक द्वेष हटाउन सकिने अर्को तरिका अरूको इच्छालाई प्राथमिकता दिनु हो।

● “रिसाउन छोड र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भजन ३७:८) हामी विनाशकारी आवेगलाई वशमा राख्न सक्छौं र यसो गर्नै पर्छ।

● “परमेश्‍वरले . . . पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।” (प्रेरित १७:२४, २६) हामी सबै एउटै मानव परिवारका सदस्यहरू हौं, त्यसैले अरू जातिसामू आफूलाई श्रेष्ठ ठान्‍नु तार्किक कुरा होइन।

● ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान।’ (फिलिप्पी २:३) अरूलाई तुच्छ ठान्‍नु मूर्खता हो किनभने अरू व्यक्‍तिसित हुने प्रायः गुण अनि योग्यताहरू हामीसित हुँदैन। कुनै पनि जाति वा संस्कृतिका सबै पक्ष असल हुँदैनन्‌।

● “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) चाहे जुनसुकै जाति वा संस्कृतिको भए तापनि अरूप्रति मित्रौलो हुँदा र सहयोग गर्न अघि सर्दा त्यसले आपसी हितका कुराकानी गर्न अनि मतभेद सुल्झाउन ठूलो मदत पुऱ्‍याउनसक्छ।

[पृष्ठ ९-मा भएको चित्र]

इथियोपियाली अनि इरिटियाली साक्षीहरू शान्तिमा एकताबद्ध भई उपासना गर्छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

कम्युनिस्ट जेलबाट बचेका म्यानफ्रेड टेलरले घृणा गर्न अस्वीकार गरे

[पृष्ठ १०-मा भएको चित्र]

मानिसहरूलाई विभाजन गर्ने पर्खाल भत्काउन बाइबलले मदत गर्नसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने