आफ्नो आँखा निर्मल राख्नुहोस्
१. आँखालाई निर्मल राख्नुको अर्थ के हो र यो किन महत्त्वपूर्ण छ?
१ येशूले आफ्नो डाँडाको उपदेशमा लाक्षणिक अथवा आध्यात्मिक आँखाले हाम्रो सम्पूर्ण जीवनमा कत्तिको असर पार्न सक्छ भन्ने कुरातर्फ ध्यान खिच्नुभयो। उहाँले यसो भन्नुभयो: “यदि तिम्रा आँखा निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ।” (मत्ती ६:२२, २३) निर्मल आँखा एउटै मात्र उद्देश्य अर्थात् परमेश्वरको इच्छा गर्नुमा केन्द्रित हुन्छ र यो भौतिक कुराहरूको अनावश्यक चिन्ताले अलमलिंदैन। (मत्ती ६:१९-२१, २४-३३) आँखालाई निर्मल राखिराख्न कुन कुराले हामीलाई मदत गर्न सक्छ?
२. भौतिक कुराहरूप्रति कस्तो दृष्टिकोण राख्न परमेश्वरको वचनले प्रोत्साहन दिन्छ?
२ सन्तुष्टि खेती गर्ने: परिवारका आवश्यकताहरू राम्रोसँग पूरा गर्नु एउटा धर्मशास्त्रीय दायित्व हो। (१ तिमो. ५:८) तर यसो भन्दैमा एकदमै राम्रा-राम्रा तथा अत्याधुनिक सरसामानहरू जुटाउन दौडधूप गर्नुपर्छ भनेको होइन। (हितो. २७:२०; ३०:८, ९) बरु, धर्मशास्त्रले हामीलाई “खान र लाउन[जस्ता]” जीवनका आवश्यकताहरूमा सन्तुष्ट हुन आग्रह गर्छ। (१ तिमो. ६:८; हिब्रू १३:५, ६) यस सल्लाहमा ध्यान दिंदा त्यसले हामीलाई हाम्रो आँखा सही कुरामा केन्द्रित गर्न मदत दिन सक्छ।
३. आफूले आफैमाथि बोझहरू नलाद्न कुन कुराले हामीलाई मदत गर्न सक्छ?
३ हामीले आफूलाई अनावश्यक ऋण तथा सम्पत्ति वा धेरै समय र ध्यान दिनुपर्ने अभिलाषाहरूको बोझबाट टाढै राख्नु बुद्धिमानी हुनेछ। (१ तिमो. ६:९, १०) हामी कसरी यसो गर्न सक्छौं? कुनै पनि कदम चाल्ने विचार गर्दा, त्यस विषयमा प्रार्थनापूर्वक विचार गर्नुहोस् र यसले कतै आध्यात्मिक कामकुराहरूमा बाधा पुऱ्याउँछ कि भनेर इमानदारपूर्वक विश्लेषण गर्नुहोस्। आफ्नो जीवनमा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन कटिबद्ध हुनुहोस्।—फिलि. १:१०; ४:६, ७.
४. हामीले किन आफ्नो जीवन शैली सरल बनाउने तरिकाहरू खोज्नुपर्छ?
४ आफ्नो जीवन शैली सरल बनाउनुहोस्: आफ्नो जीवन शैली सरल बनाउने तरिकाहरू खोज्नु भौतिकवादको आकर्षणलाई प्रतिरोध गर्ने अर्को मदत हो। धेरै भौतिक मालसामानविना नै आफ्नो घर-व्यवहार राम्रोसित चल्न सकेको अनुभव गरेका एक जना भाइले यसो भने: “आफ्ना भाइहरूको सेवा गर्न अब त म मण्डलीमा धेरै काम गर्न सक्छु। व्यक्तिगत इच्छाहरूलाई भन्दा साँचो उपासनालाई प्राथमिकता दिने आफ्ना सेवकहरूलाई यहोवाले आशिष् दिनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।” आफ्नो जीवन शैली सरल बनाएर के तपाईं महान् आशिष्हरूको आनन्द उठाउन सक्नुहुन्छ?
५. आफ्नो आँखालाई निर्मल राख्न प्रयास गरिरहनु किन जरुरी छ?
५ शैतान, त्यसको भौतिकवादी संसार अनि हाम्रो आफ्नै असिद्ध शरीरको प्रभावको प्रतिरोध गर्न निरन्तर प्रयास गर्नु खाँचो छ। आउनुहोस्, आफ्नो आँखालाई यताउता डुलाउनुको सट्टा परमेश्वरको इच्छा गर्नुमा र अनन्त जीवनको हाम्रो अमूल्य आशामा त्यसलाई केन्द्रित गरौं।—हितो. ४:२५; २ कोरि. ४:१८.