येशूले तपाईंको जीवन कसरी परिवर्तन गर्न सक्नुहुन्छ?
येशू ख्रीष्ट महान् शिक्षक हुनुहुन्थ्यो। उहाँ २,००० वर्षअघि प्यालेस्टाइनमा हुनुहुन्थ्यो। उहाँको बाल्यकालबारे धेरै कुरा थाह छैन। तथापि, ३० वर्षको उमेरमा उहाँले “सत्यको गवाही दिन” आफ्नो सेवकाई सुरु गर्नुभयो भन्ने कुरा प्रमाणित छ। (यूहन्ना १८:३७; लूका ३:२१-२३) उहाँको जीवनी लेख्ने चार जना चेलाहरूले विशेष गरी साढे तीन वर्ष लामो उहाँको सेवकाईबारे लेखेका छन्।
आफ्नो सेवकाईको दौडान येशू ख्रीष्टले चेलाहरूलाई संसारको दुःख हटाउने उपाय बताउनुभयो। त्यो के थियो? येशूले भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” (यूहन्ना १३:३४) हो, प्रेम नै मानिसजातिका प्रायजसो समस्याहरूको समाधान हो। एकपटक, प्रमुख आज्ञा कुन चाहिं हो भनेर सोद्धा येशूले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३५-४०.
परमेश्वर र सहमानवहरूलाई कसरी प्रेम गर्ने भनेर येशूले वचन र काम, दुवैद्वारा देखाउनुभयो। आउनुहोस्, हामी केही उदाहरणहरू विचार गरौं र उहाँबाट के सिक्नसक्छौं हेरौं।
उहाँका शिक्षाहरू
इतिहासका प्रसिद्ध उपदेशहरूमध्ये एउटामा येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “कसैले दुइ मालिकको चाकरी गर्नसक्तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गन्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैनौ।” (मत्ती ६:२४) पैसा नै सबै समस्याको समाधान हो भनेर थुप्रै मानिसहरूले विश्वास गर्ने अहिलेको जमानामा पनि के परमेश्वरलाई हाम्रो जीवनमा प्रथम स्थान दिने येशूको शिक्षा व्यवहारिक होला त? हुन त हो, जीवन धान्न हामीलाई पैसा चाहिन्छ। (उपदेशक ७:१२) तथापि, “धन[लाई]” हाम्रो मालिक हुन दियौं भने “रूपियाँ-पैसाको प्रेम[ले]” हामीलाई नियन्त्रणमा राख्नेछ र हामी त्यसैको लहलहैमा लागिरहेका हुनेछौं। (१ तिमोथी ६:९, १०) यसको पासोमा पर्ने थुप्रैले आफ्नो परिवार, स्वास्थ्य र जीवनसमेत गुमाएका छन्।
अर्कोतिर, परमेश्वरलाई हाम्रो मालिक हुन दियौं भने हाम्रो जीवन अर्थपूर्ण हुनेछ। हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ जीवनको स्रोत हुनुका साथै हाम्रो उपासना पाउने योग्यको हुनुहुन्छ। (भजन ३६:९; प्रकाश ४:११) उहाँका गुणहरूबारे सिक्ने र उहाँलाई प्रेम गर्ने मानिस उहाँका आज्ञाहरू पालन गर्न प्रेरित हुन्छन्। (उपदेशक १२:१३; १ यूहन्ना ५:३) यसो गर्नाले हाम्रै फाइदा हुन्छ।—यशैया ४८:१७.
डाँडाको उपदेशमा सहमानवहरूलाई कसरी प्रेम गर्ने भनेर पनि येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। उहाँले भन्नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) येशूले यहाँ चलाउनुभएको “मानिसहरू” शब्दले आफ्ना शत्रुहरूलाई पनि बुझाउँछ। त्यही उपदेशमा उहाँले यसो पनि भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” (मत्ती ५:४३, ४४) के यस्तो प्रेमले हामीले अहिले भोग्नुपरिरहेको प्रायजसो समस्याहरूको समाधान गर्दैन र? हिन्दु नेता मोहनदास गान्धीलाई त्यस्तै लाग्यो। तिनले यसो भनेका थिए: “ख्रीष्टले डाँडाको उपदेशमा दिनुभएका शिक्षाहरूअनुसार [हामी] हिंड्न सक्यौं भने हामीले . . . सारा संसारका समस्याहरूको समाधान गर्न सक्नेछौं।” प्रेमबारे येशूले दिनुभएको शिक्षालाई पालन गरेको खण्डमा मानिसजातिको प्रायजसो दुःखकष्टको समाधान हुनसक्छ।
उहाँका कार्यहरू
प्रेम देखाउने सन्दर्भमा येशूले गहकिला सत्यहरू मात्र सिकाउनुभएन तर त्यसलाई व्यवहारमा उतारेर पनि देखाउनुभयो। उदाहरणका लागि, येशूले आफ्नोभन्दा अरूको इच्छालाई प्रथम स्थान दिनुभयो। एक दिन येशू र उहाँका चेलाहरू मानिसहरूलाई सहायता गर्न यति व्यस्त भए कि खाना खाने समयसमेत पाउनुभएन। आफ्ना चेलाहरूले थकाइ मारोस् भनेर येशूले तिनीहरूलाई एकान्त ठाउँमा लानुभयो। तर त्यहाँ पुग्दा एउटा ठूलो भीडले उहाँहरूलाई पर्खिरहेको देख्नुभयो। आराम गर्न मन लागिरहेको बेला एउटा ठूलो भीडले तपाईंले काम गरेको आशा गऱ्यो भने तपाईं के गर्नुहुन्थ्यो? तथापि, येशू “तिनीहरूमाथि टिठाउनुभयो” र “तिनीहरूलाई धेरै कुरा को शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३४) तिनीहरूको सहायता गर्न येशूलाई यस्तै चासोले प्रेरित गऱ्यो।
येशूले मानिसहरूलाई सिकाउनु मात्र भएन। उहाँले व्यवहारिक मदत पनि गर्नुभयो। उदाहरणका लागि, एकपल्ट उहाँको उपदेश अपराह्नसम्म सुनेर बस्ने ५,००० भन्दा बढी मानिसहरूलाई उहाँले खुवाउनुभयो। त्यसको केही समयपछि तीन दिनसम्म उहाँको कुरा सुन्ने ४,००० भन्दा बढी मानिसहरूको ठूलो भीडलाई पनि खुवाउनुभयो जससँग केही खानेकुरो नै थिएन। पहिलो अवसरमा उहाँले पाँच रोटी र दुई माछाले ५,००० लाई खुवाउनुभयो भने अर्को पटक सातवटा रोटी र अलिकता ससाना माछाहरूले ४,००० लाई खुवाउनुभयो। (मत्ती १४:१४-२२; १५:३२-३८) के यो चमत्कार होइन र? हो, उहाँले चमत्कारी कार्यहरू गर्नुहुन्थ्यो।
येशूले थुप्रै बिरामीहरूलाई पनि निको पार्नुभयो। उहाँले अन्धा, लंगडा, कोरी र बहिराहरूलाई निको पार्नुभयो। त्यति मात्र कहाँ हो र, उहाँले मरेकाहरूलाई पनि ब्यूँताउनुभयो! (लूका ७:२२; यूहन्ना ११:३०-४५) एकपल्ट एक जना कोरीले उहाँलाई यस्तो बिन्ती गऱ्यो: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नुसक्नुहुन्छ।” येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? “उहाँले टिठाएर आफ्नो हात बढ़ाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ ” (मर्कूस १:४०, ४१) दिनदुःखीहरूलाई यसरी चमत्कारी ढंगमा निको पार्नुभएर येशूले आफ्नो प्रेम देखाउनुभयो।
येशूले चमत्कारहरू गर्नुभयो भन्ने कुरा विश्वास गर्न के तपाईंलाई गाह्रो लाग्छ? कसै कसैलाई लाग्छ। तथापि, नबिर्सनुहोस्, येशूले सार्वजनिक रूपमा चमत्कारहरू गर्नुभयो। उहाँको दोष मात्र कोट्याइरहने उहाँका विरोधीहरूले समेत उहाँले चमत्कार गर्नुहुन्थ्यो भनेर इन्कार गर्नसकेनन्। (यूहन्ना ९:१-३४) साथै, उहाँका चमत्कारी कार्यहरूको उद्देश्य थियो। ती चमत्कारहरूद्वारा परमेश्वरले नै उहाँलाई पठाउनुभएको हो भनेर मानिसहरूले थाह पाउन।—यूहन्ना ६:१४.
चमत्कारी कार्यहरू गरेर येशूले सबैको ध्यान आफूप्रति खिच्न खोज्नुभएको थिएन। बरु, उहाँले आफ्नो शक्तिको स्रोत, परमेश्वरको महिमा गर्नुभयो। कर्फनहुममा एकपल्ट उहाँ मानिसको भीडले भरिएको घरमा हुनुहुन्थ्यो। एक जना पक्षघाती निको हुन चाहन्थ्यो तर भीडले गर्दा तिनलाई भित्र लानैसकेन। यसकारण तिनका साथीहरूले छाना उघारेर तिनी सुतिरहेको खाट त्यहाँबाट तल ओह्राले। तिनीहरूको विश्वास देखेर येशूले त्यस पक्षघातीलाई निको पार्नुभयो। फलतः मानिसहरूले “परमेश्वरको महिमा” गरेर यसो भने: “हामीले यस्तो त कहिले देखेका थिएनौं।” (मर्कूस २:१-४, ११, १२) येशूका चमत्कारी कार्यहरूले उहाँको परमेश्वर, यहोवाको प्रशंसा गर्नुको साथै खाँचोमा परेकाहरूको मदत पनि गऱ्यो।
तथापि, बिरामीलाई चमत्कारद्वारा निको पार्नु नै उहाँको सेवकाईको मुख्य उद्देश्य थिएन। उहाँको जीवनी लेख्ने एक जनाले यस्तो लेखे: “यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्नसक, र विश्वास गरेर तिमीहरूलाई उहाँको नाउँमा जीवन होस्।” (यूहन्ना २०:३१) हो, उहाँमाथि विश्वास गर्ने मानिसले जीवन पाओस् भनेर येशू यस पृथ्वीमा आउनुभयो।
उहाँको बलिदान
तपाईं सोध्नुहोला, ‘येशू पृथ्वीमा आउनुभयो रे? कहाँबाट?’ येशू आफैले यसो भन्नुभयो: “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा पूरा गर्नालाई स्वर्गबाट ओर्लिआएको हुँ।” (यूहन्ना ६:३८) परमेश्वरको एकमात्र पुत्रको हैसियतमा उहाँको मानवपूर्व अस्तित्व थियो। त्यसोभए उहाँलाई यस पृथ्वीमा पठाउनुहुनेको उद्देश्य के थियो त? सुसमाचार पुस्तकका लेखक, यूहन्ना भन्छन्, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) यो कसरी सम्भव हुनसक्थ्यो?
उम्कनै नसक्ने मृत्यु मानिसजातिमाथि कसरी आइपऱ्यो भनेर बाइबलले स्पष्ट पार्छ। पहिलो मानव दम्पतीले परमेश्वरबाट सधैंभरि बाँच्न पाउने जीवन पाएका थिए। तथापि, तिनीहरूले आफ्नो सृष्टिकर्ताको विरोध गर्न रोजे। (उत्पत्ति ३:१-१९) मानिसको यो पहिलो पापले गर्दा आदम र हव्वाको सन्तानले आशा नगरेको पैतृक सम्पतिको रूपमा मृत्यु पायो। (रोमी ५:१२) मानिसजातिलाई साँचो जीवन दिन पाप र मृत्युलाई हटाउनै पर्छ।
कुनै पनि वैज्ञानिकले आनुवंशिक इन्जिनियरिङजस्तो तरिकाले मृत्युलाई हटाउन सक्दैन। तथापि, मानिसजातिको सृष्टिकर्ताले आज्ञाकारी मानिसहरू सधैं जीवित रहून् भनेर तिनीहरूलाई सिद्ध तुल्याउने प्रबन्ध मिलाउनुभएको छ। बाइबलमा यसलाई छुट्काराको प्रबन्ध भनिन्छ। पहिलो मानव दम्पतीले आफैलाई र आफ्ना सन्तानलाई पाप र मृत्युको दासत्वमा बेचे। परमेश्वरप्रति आज्ञाकारी भएको खण्डमा पाउनसक्ने अनन्त जीवनलाई बेचेर तिनीहरूले सही-गलत आफै छुट्ट्याउने निर्णय गरेर परमेश्वरदेखि स्वतन्त्र हुन खोजे। हाम्रा प्रथम आमाबाबुले गुमाएका सिद्ध मावन जीवन बराबरको मोल तिर्न सकेको खण्डमा मात्र सिद्ध मावन जीवन किन्न सकिन्थ्यो। मानिसजाति जन्मजात असिद्ध भएकोले त्यो मोल चुकाउन सक्दैन थिए।—भजन ४९:७.
यसकारण, यहोवा परमेश्वरले मानिसजातिलाई मदत गर्न हस्तक्षेप गर्नुभयो। आफ्नो एकमात्र पुत्रको सिद्ध जीवन, येशूलाई जन्म दिन कन्या केटीको गर्भमा सार्नुभयो। कन्या केटीले बच्चा जन्माइन भन्ने कुरो केही दशकअघि हुँदो हो त, तपाईंले विश्वास गर्नुहुन्थेन होला। तथापि, अहिले वैज्ञानिकहरूले स्तनपायी प्राणीहरूको हुबहु अर्को रूप बनाएको र एउटा प्राणीको जीन अर्को प्राणीमा सारेका छन्। त्यसोभए सृष्टिकर्ताले बच्चा जन्माउने सामान्य तरिका विपरित गर्नसक्नुहुन्छ भन्ने कुरामा कसले शंका गर्नसक्छ?
सिद्ध मानव जीवनको अस्तित्वले मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिलाउनसक्ने मोल तिर्न सम्भव भयो। एउटा सानो बालकको रूपमा यस पृथ्वीमा जन्मनुभएको येशू मानिसजातिको दुःखकष्टको “औषधी” गर्न हुर्केर “चिकित्सक” हुनु आवश्यक थियो। सिद्ध, पापरहित जीवन बिताएर उहाँले यसो गर्नुभयो। पापले गर्दा मानिसजातिले पाएको वेदना देख्नुका साथै तिनीहरूको क्षमता सीमित छ भन्ने कुरा पनि येशूले अनुभव गर्नुभयो। त्यसले गर्दा उहाँ अझ अनुकम्पापूर्ण चिकित्सक हुनसक्नुभयो। (हिब्रू ४:१५) चमत्कारपूर्वक मानिसहरूको रोगव्याधि निको पार्नुभएर येशूले आफूसित रोग बिमार हटाउने इच्छा अनि शक्ति, दुवै छ भनेर देखाउनुभयो।।—मत्ती ४:२३.
पृथ्वीमा साढे तीन वर्षको सेवकाईपछि येशूका विरोधीहरूले उहाँको हत्या गरे। कठिन परीक्षाको बावजूद पनि सिद्ध मानिस परमेश्वरप्रति आज्ञाकारी हुनसक्छ भन्ने कुरा उहाँले देखाउनुभयो। (१ पत्रुस २:२२) सिद्ध मानव जीवन बलिदान गर्नुभएर उहाँले मानिसजातिलाई पाप र मृत्युबाट छुट्कारा दिलाउनसक्ने मोल तिर्नुभयो। येशू ख्रीष्टले भन्नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्ना १५:१३) येशू मर्नुभएको तीन दिनपछि उहाँको आत्मिक शरीरमा पुनरुत्थान भयो र केही हप्तापछि यहोवा परमेश्वरलाई छुटकाराको मोल बुझाउन उहाँ स्वर्गमा जानुभयो। (१ कोरिन्थी १५:३, ४; हिब्रू ९:११-१४) यसप्रकार येशूले आफ्नो छुटकाराको मोलका लाभहरू आफ्ना अनुयायीहरूलाई प्रदान गर्नसक्नुभयो।
आध्यात्मिक, भावनात्मक र शारीरिक बिरामीहरूलाई यसरी निको पार्ने कामबाट के तपाईं पनि फाइदा उठाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने येशू ख्रीष्टमा विश्वास गर्नु आवश्यक छ। तपाईं आफै त्यो चिकित्सककहाँ जानुभए कसो होला? त्यसो गर्न तपाईंले येशू ख्रीष्ट र विश्वासी मानिसजातिलाई बचाउन उहाँले गर्नुभएका कामहरूबारे सिक्नुपर्छ। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्।
[पृष्ठ ५-मा भएको चित्र]
बिरामीहरूलाई निको पार्ने इच्छा र शक्ति, दुवै येशूसित छ
[पृष्ठ ७-मा भएको चित्र]
येशूको मृत्युले तपाईंलाई कस्तो प्रभाव पार्छ?