पाठकहरूका प्रश्नहरू
हालै, भेडा र बाख्रासम्बन्धी येशूको उखान अध्ययन गरेर हामी रोमाञ्चित भयौं। अक्टोबर १५, १९९५ को “प्रहरीधरहरा“-मा दिएको यस नयाँ समझलाई ध्यानमा राख्दै के यहोवाका साक्षीहरू छुट्याउने कार्यमा भाग लिइरहेका छन् भनी अझै पनि भन्नसक्छौं?
सक्छौं! धेरैले यसबारे सोचेको जस्तो देखिन्छ किनभने मत्ती २५:३१, ३२ ले यसो भन्छ: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालोले भेडाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।” महासंकष्टमा महान् बेबिलोनको विनाश सुरु भएपछि यी पदहरू पूरा हुनेछन् भन्नु किन उचित छ भनेर अक्टोबर १५, १९९५ को प्रहरीधरहरा-ले देखायो। त्यतिबेला आफ्ना स्वर्गदूतहरूसित येशू महिमामा आउनुहुनेछ र न्यायको सिंहासनमा बस्नुहुनेछ। त्यसपछि, उहाँले मानिसहरूलाई छुट्याउनुहुनेछ। कुन अर्थमा? मानिसहरूले विगतमा के गरे वा के गरेनन्, त्यसको आधारमा उहाँले निर्णय गर्नुहुनेछ।
यसलाई हामी कुनै मुद्दाको न्यायिक फैसला हुनुअघिको कानुनी प्रक्रियाका विभिन्न चरणहरूसित तुलना गर्नसक्छौं। लामो समयको दौडान प्रमाणहरू संकलन गरिन्छ। त्यसपछि अदालती कारवाही हुन्छ र न्याय सुनाइन्छ। अहिले जीवित मानिसहरूले आफू भेडा या बाख्रा भनी साबित गर्ने प्रमाण दिइरहेको निकै समय भइसक्यो। अझै पनि प्रमाण दिइरहेका छन्। तर येशू आफ्नो सिंहासनमा बस्नुभएपछि मुद्दा टुंगिनेछ। उहाँ न्याय गर्न तयार हुनुहुनेछ। मानिसहरूलाई कि त अनन्त विनाश या अनन्त जीवनका लागि छुट्याइनेछन्।
तथापि, मत्ती २५:३२ मा मानिसहरूलाई जीवन वा मरणको लागि छुट्याइने काम भविष्यमा गरिन्छ भन्दैमा त्यसको अर्थ त्यसअघि त्यो छुट्याइने वा अलग पारिने कार्य हुँदैन भन्ने होइन। बाइबलले मत्ती अध्याय १३ मा त्यसअघि पनि हुने एउटा छुट्याउने कार्यबारे बताउँछ। चाखलाग्दो कुरा के हो भने, यस छुट्याउने कार्यलाई एक मात्र साँचो परमेश्वरको उपासनमा एकताबद्ध पुस्तकले “मानिसहरूलाई छुट्याउने काम” उपशीर्षक अन्तर्गत पृष्ठ १७९-८० मा स्पष्ट पारेको छ।a त्यस पुस्तक बताउँछ: “जगत्को अन्तको सम्बन्धमा येशूले अरू पनि महत्त्वपूर्ण घटनाहरूको चर्चा गर्नुभएको थियो। तीमध्ये एउटा त ‘राज्यका सन्तान’-लाई ‘दुष्टको सन्तान’-देखि छुट्याउनु हो। यसको चर्चा येशूले गहुँको खेतको उखान भन्नुहुँदा गर्नुभयो जुन खेतमा दुश्मनले गहुँको माझमा सामा छरेको थियो।”
त्यस पुस्तकले मत्ती १३:२४-३० मा उल्लिखित र पद ३६-४३ व्याख्या गरिएको येशूको दृष्टान्तलाई उद्धृत गर्दैथियो। पद ३८ मा ध्यान दिनुहोस् त, गहुँको उत्तम बीउले राज्यका सन्तानलाई प्रतिनिधित्व गर्छ तर सामाले चाहिं दुष्टको सन्तानको प्रतिनिधित्व गर्छ। पद ३९ र ४० ले के देखाउँछ भने, ‘जगत्को अन्तमा’ अर्थात् अहिले हामी बाँचिरहेको समयमा सामाहरू बटुलिन्छ। तिनीहरूलाई छुट्याइन्छ र अन्तमा जलाएर नष्ट गरिन्छ।
यो दृष्टान्त अभिषिक्त मसीहीहरूसित (जसलाई भेडा र बाख्राको उखानमा येशूका भाइहरू भनिएका छन्) सम्बन्धित छ। यद्यपि, हाम्रो समयमा महत्त्वपूर्ण छुट्याउने कार्य हुन्छ भन्ने कुरा स्पष्ट छ। अर्थात्, अभिषिक्त जनहरूलाई मसीही भनौंदा र आफूलाई “दुष्टका सन्तान” भनेर प्रमाणित गर्नेहरूबाट छुट्याउने।
मानिसहरूलाई अलग पारिएका वा छुट्याइएका अरू उदाहरणहरू पनि येशूले दिनुभयो। विनाशमा पुऱ्याउने चौडा बाटोबारे उहाँले भन्नुभएको कुरा सम्झनुहोस् त: “यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।” (मत्ती ७:१३) त्यो भनाइ अन्तिम परिणामबारे मात्र थिएन। त्यो त भइरहने चरणहरूबारे थियो। जस्तो कि आज कम्तीले जीवनतर्फ डोऱ्याउने साँघुरो बाटो भेट्टाइरहेका छन्। येशूले प्रेरितहरूलाई प्रचार गर्न पठाउनुहुँदा के भन्नुभयो, त्यो पनि यसो सम्झनुहोस्। तिनीहरूले केही योग्य व्यक्तिहरू भेट्टाउनेछन् भनेर उहाँले भन्नुभयो। अरू कति योग्यका हुँदैन थिए र तिनीहरूलाई ती प्रेरितहरूले “तिनीहरूको विरुद्धमा गवाहीको निम्ति” खुट्टाको धूलो टक्टक्याउनुपर्थ्यो। (लूका ९:५) के आज पनि मसीहीहरूले जन सेवकाई गर्दा त्यस्तै हुँदैन र? कतिले हामीले सुनाउने ईश्वरीय सन्देशप्रति राम्रो प्रतिक्रिया देखाउँछन् भने कतिपय चाहिं सुन्नै चाहँदैनन्।
भेडा र बाख्रासम्बन्धी लेखहरू भएको प्रहरीधरहरा-ले यो कुरा स्पष्ट पाऱ्यो: “उखानमा वर्णन गरिएको न्याय निकट भविष्यमा हुने भए तापनि अहिले पनि एउटा महत्त्वपूर्ण कार्य भइरहेको छ। हामी मसीहीहरूले मानिसहरूबीच विभाजन ल्याउने समाचार उद्घोषणा गर्ने जीवनदायी कार्यमा भाग लिइरहेका छौं। (मत्ती १०:३२-३९)” मत्ती अध्याय १० बाट लिइएको त्यस परिच्छेदमा येशूले उहाँको पछि लाग्नु नै विभाजनको एउटा कारण हुनेछ अर्थात् बाबुको विरुद्धमा छोरा, आमाको विरुद्धमा छोरी हुनेछिन् भनेर बताउनुभएको हामी पाउँछौं।
अन्ततः, ख्रीष्टका आत्मा-अभिषिक्त भाइहरूले परमेश्वरको राज्यको सन्देश प्रचार गर्ने कार्यमा नेतृत्व लिएका छन्। त्यो सन्देश सुनेपछि त्यसलाई स्वीकार वा इन्कार गरेर हरेकले आफू कस्ता मानिसहरू हुन् भनी चिनाउँछन्। मत्ती अध्याय २५ को अर्थअनुसार हामीले मानिसहरूलाई भेडा वा बाख्रा भन्न सक्दैनौं र भन्नु पनि हुँदैन। तैपनि, सुसमाचार सुनेपछि मानिसहरूले त्यसप्रति कस्तो अडान लिन्छन् अर्थात् आफू कस्ता मानिसहरू हुन् र येशूका भाइहरूप्रति कस्तो व्यवहार गर्छन् भनेर देखाउने मौका पाउँछन्। त्यसकारण मुद्दाको लागि आवश्यक प्रमाणहरू जुटेझैं येशूका भाइहरूको समर्थन गर्ने र नगर्नेहरूलाई विभाजन गर्ने कार्य झन् झन् प्रस्टिंदै गइरहेको छ। (मलाकी ३:१८) त्यस प्रहरीधरहरा-ले देखाएझैं येशू चाँडै आफ्नो सिंहासनमा बस्नुहुनेछ र न्यायिक तवरमा मानिसहरूलाई जीवन वा विनाशको लागि छुट्याउनुभएको अन्तिम दण्ड सुनाउनुहुनेछ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा सन् १९८३ मा प्रकाशित।