“मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
“मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक।”—मत्ती ११:२९.
१, २. (क) तपाईंले जीवनमा स्फूर्ति दिने कुन कुरा अनुभव गर्नुभएको छ? (ख) येशूले प्रतिज्ञा गर्नुभएको स्फूर्ति पाउन हामीले के गर्नुपर्छ?
गर्मी दिनको अन्तमा चिसो पानीले नुहाउनु वा लामो तथा थकाइलाग्दो यात्रापछि मीठो निद्रा सुत्नु—वाह, कति स्फूर्तिदायी हुन्छ! गह्रौं बोझ हटाइँदा वा पाप तथा भूलहरू क्षमा गरिंदा त्यस्तै महसुस हुन्छ। (हितोपदेश २५:२५; प्रेरित ३:१९) त्यस्ता प्रमुदित अनुभवहरूले प्रदान गर्ने स्फूर्तिले हामीलाई तन्दुरुस्त पार्छ र हामी अझ बढी गर्न बल प्राप्त गर्छौं।
२ बोझले दबिएका र थकित महसुस गर्ने सबै येशूकहाँ आउनसक्छन् किनभने उहाँले तिनीहरूलाई स्फूर्ति दिने प्रतिज्ञा गर्नुभएको छ। तथापि, त्यस्तो मनोरम स्फूर्ति प्राप्त गर्न त्यो व्यक्ति एउटा काम गर्न भने इच्छुक हुनैपर्छ। येशूले भन्नुभयो, “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। . . . अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” (मत्ती ११:२९) यो जुवा के हो? यसले कसरी स्फूर्ति दिन्छ?
सजिलो जुवा
३. (क) बाइबलकालीन कस्ता जुवाहरू प्रयोग गरिन्थे? (ख) जुवासित कुन लाक्षणिक अर्थ सम्बन्धित छ?
३ कृषिप्रधान समाजमा हुर्केकोले येशू र उहाँका श्रोताहरू जुवाबारे सुपरिचित थिए। साधारणतया जुवा भन्नाले अक्सर गोरुको काँधमा राखिने दुइटा खोपिल्टा भएको लामो काठ हो र यो खेत जोत्न, गाडा तान्न वा भारी बोक्न प्रयोग गरिन्छ। (१ शमूएल ६:७) मानिसहरूले पनि जुवा प्रयोग गर्थे। त्यो एउटा लामो काठ वा खम्बाको दुवैतिर भारी झुण्डाएर काँधमा बोकिन्थ्यो। यसको मदतद्वारा मजदुरहरूले गह्रौं भारी बोक्नसक्थे। (यर्मिया २७:२; २८:१०, १३) बाइबलमा जुवालाई बोझ र मेहनत सँगसँगै प्रयोग गरेको छ। अतः त्यो प्रायजसो आधिपत्य तथा नियन्त्रणलाई चित्रण गर्न लाक्षणिक रूपमा चलाइन्छ।—व्यवस्था २८:४८; १ राजा १२:४; प्रेरित १५:१०.
४. येशूकहाँ आउने व्यक्तिहरूलाई उहाँले प्रदान गर्नुहुने जुवाले कुन कुरा चित्रण गर्छ?
४ उसोभए येशूले स्फूर्ति प्राप्त गर्न उहाँकहाँ आउनेहरूलाई कुन जुवा बोक्ने निमन्त्रणा दिनुभयो? उहाँले भन्नुभएको कुरालाई सम्झनुहोस्: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक।” (मत्ती ११:२९) सिकारु भनेको चेला हो। यसर्थ, येशूको जुवा बोक्नुको अर्थ, उहाँको चेला बन्नु हो। (फिलिप्पी ४:३) तथापि, यसो गर्न उहाँका शिक्षाहरूबारे दिमागी ज्ञान मात्र भएर पुग्दैन। ती शिक्षाअनुरूप कार्यहरू गर्नु अर्थात् उहाँले गर्नुभएको काम गर्नु र उहाँको जस्तै जीवनशैली अपनाउनुपर्छ। (१ कोरिन्थी ११:१; १ पत्रुस २:२१) यसो गर्न उहाँको अख्तियार र उहाँले अख्तियार दिनुभएका व्यक्तिहरूप्रति इच्छुकतासाथ अधीनमा बस्नु हो। (एफिसी ५:२१; हिब्रू १३:१७) यसको अर्थ, समर्पित, बप्तिस्माप्राप्त मसीही भएर समर्पण सँगसँगै आउने सम्पूर्ण सुअवसर तथा जिम्मेवारीहरूलाई स्वीकार्नु हो। येशूले सान्त्वना र स्फूर्तिको लागि आफूकहाँ आउने सबैलाई प्रदान गर्नुहुने जुवा त्यही हो। के तपाईं त्यो स्वीकार्न इच्छुक हुनुहुन्छ?—यूहन्ना ८:३१, ३२.
५. येशूको जुवा बोक्नु किन कठोर अनुभव हुनेछैन?
५ जुवा बोकेर स्फूर्ति पाउनु—के त्यो विरोधाभासपूर्ण कुरा भएन र? वास्तवमा होइन किनभने येशूले आफ्नो जुवा “सजिलो” छ भन्नुभयो। त्यो शब्दले कोमल, रमाइलो तथा मनपर्दो भन्ने अर्थ बुझाउँछ। (मत्ती ११:३०; लूका ५:३९; रोमी २:४; १ पत्रुस २:३) येशू एक पेशेवर सिकर्मी हुनुहुन्थ्यो। अतः सम्भवतः उहाँले हलो तथा जुवा बनाउनुभएको थियो र सकस नहुने ढंगमा यथासम्भव बढी काम गर्न मिल्ने गरी जुवालाई छाँट्न जान्नुहुन्थ्यो। उहाँले जुवामा भित्री राख्न कपडा वा छालाको प्रयोग गर्नुहुनेथियो होला। धेरैजसो त्यसै गरिन्छ। त्यसले गर्दा जुवा काँधमा घस्रिन र रगडिन पाउँदैन। त्यस्तैगरि येशूले प्रदान गर्नुहुने लाक्षणिक जुवा पनि “सजिलो” छ। हुन त उहाँको चेला हुँदा केही दायित्व तथा जिम्मेवारीहरू वहन गर्नुपर्छ। तापनि ती कठोर वा दमनकारी नभई स्फूर्तिदायी छन्। स्वर्गमा हुनुहुने उहाँको पिता, यहोवाका आज्ञाहरू बोझिला छैनन्।—व्यवस्था ३०:११; १ यूहन्ना ५:३.
६. येशूले “मेरो जुवा तिमी आफैले बोक” भन्नुहुँदा के बताउन खोजिरहनुभएको हुनसक्छ?
६ येशूको जुवा “सजिलो” वा सहनसक्ने तुल्याउने अर्को कारण छ। उहाँले “मेरो जुवा तिमी आफैले बोक” भन्नुहुँदा दुइ प्रकारको जुवामध्ये एउटाको विषयमा भनिरहनुभएको हुनसक्छ। उहाँले दुइटा जनावरले तान्ने द्विपक्षीय जुवाबारे भनिरहनुभएको भए उहाँसित मिलेर त्यो जुवा बोक्न निमन्त्रणा दिइरहनुभएको थियो। येशूसित मिलेर भारी बोक्नु कस्तो आशिष् साबित हुनेछ! तर अर्कोतर्फ, येशूले सामान्य मजदुरको जुवाबारे सोचिरहनुभएको थियो भने हामीले बोक्ने जस्तोसुकै भारी हलुको र सँभाल्न सजिलो पार्ने उपाय बताइरहनुभएको थियो। तर जेसुकै होस् उहाँको जुवा साँचो स्फूर्तिको स्रोत हो किनभने उहाँले हामीलाई यस्तो आश्वासन दिनुहुन्छ: “म विनयी, र नम्र हृदयको छु।”
७, ८. केहीले तनाउपूर्ण परिस्थितिमा कस्तो गल्ती गर्छन्?
७ तर जीवनका समस्याहरू झन् झन् बोझिला र स्नायु प्रणालीलाई असर गर्ने हदसम्म पुगेकोजस्तो महसुस गर्छौं भने हामीले के गर्नुपर्छ? केहीले येशू ख्रीष्टको चेला बन्नुको जुवा साह्रै गाह्रो वा अचाक्ली महसुस गर्नसक्छन् जबकि तिनीहरूको बोझको कारण दैनिक जीवनका फिक्रीहरू हुनसक्छन्। त्यस्तो परिस्थितिमा पर्ने केही व्यक्तिहरूले अलिकता छुटकारा पाइएला कि भन्ने आशामा मसीही सभाहरू धाउन वा क्षेत्र सेवकाईमा भाग लिन छोड्छन्। तथापि, त्यसो गर्नु गम्भीर गल्ती हो।
८ येशूले प्रदान गर्नुहुने जुवा “सजिलो” भएकोमा हामी मूल्यांकन व्यक्त गर्छौं। हामीले त्यो राम्ररी बोकेनौं भने त्यसले रगड्नसक्छ। त्यसो हो भने हाम्रो काँधको जुवालाई राम्ररी परीक्षण गर्नुपर्छ। कुनै कारणवश जुवा बिग्रिएको वा राम्ररी राखिएको छैन भने त्यो बोक्दा बढी प्रयास गर्नुपर्ने मात्र नभई पीडादायी पनि हुनेछ। अर्को शब्दमा भन्ने हो भने ईश्वरतान्त्रिक क्रियाकलापहरू बोझजस्तो देखिन थाल्दा हामीले त्यसलाई सही ढंगमा सञ्चालन गरिरहेका छौं कि छैनौं हेर्नुपर्छ। हामीले जे जति गर्छौं, त्यसो गर्नुको मनसाय के हो? के हामी सभाहरूमा पूर्णतया तयार भएर जान्छौं? के हामी क्षेत्र सेवकाईमा भाग लिंदा शारीरिक तथा मानसिक तवरमा तयार हुन्छौं? के हामी मण्डलीमा अरूसित घनिष्ठ तथा राम्रो सम्बन्धको आनन्द उठाउँछौं? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्वर र उहाँको पुत्र, येशू ख्रीष्टसित हाम्रो व्यक्तिगत सम्बन्ध कस्तो छ?
९. मसीही जुवा किन कहिल्यै पनि असह्य बोझ हुनु नपर्ने हो?
९ येशूले प्रदान गर्नुहुने जुवालाई पूरा मनतनले स्वीकार्दा र त्यसलाई सही ढंगमा बोक्न सिक्दा त्यो असह्य बोझजस्तो महसुस गर्नुपर्ने कुनै कारण छैन। वास्तवमा, येशू र हामीले एउटै जुवा बोकिरहेको परिस्थितिलाई दृष्टिगत गर्नसक्यौं भने त्यस बोझको अधिकांश भार कसले बोकिरहनुभएको छ भनेर बुझ्न गाह्रो पर्दैन। बामे सर्ने बच्चाले डुलाउने मेचको डन्डीमा समात्दा आफूले नै त्यसलाई अगाडि गुडाइरहेको जस्तो ठान्छ। तर वास्तवमा तिनका आमाबाबुहरूले घचेटिरहेका हुन्छन्। मायालु पिताको हैसियतमा यहोवा परमेश्वरले हाम्रो सीमा तथा कमजोरीहरू राम्ररी जान्नुहुन्छ र येशू ख्रीष्टद्वारा ती आवश्यकताहरू पूरा गर्नुहुन्छ। प्रेरित पावलले यसो भने, “मेरा परमेश्वरले, ख्रीष्ट येशूमा भएको महिमा उहाँको सम्पत्तिअनुसार, तिमीहरूका सबै अभावलाई पूरा गरिदिनुहुनेछ।”—फिलिप्पी ४:१९; यशैया ६५:२४ तुलना गर्नुहोस्।
१०. चेला बन्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने व्यक्तिले कस्तो अनुभव गरेको छ?
१० अधिकांश समर्पित मसीहीहरूले व्यक्तिगत अनुभवद्वारा यो कुरा सिकेका छन्। उदाहरणको लागि, जेनीलाई विचार गर्नुहोस्। तिनी हरेक महिना सहायक अग्रगामीको हैसियतमा सेवा गर्नुका साथै आफ्नो सांसारिक जागिरमा पूर्ण-समय काम गर्नुपर्दा असाध्यै तनाउ महसुस गर्छिन्। तर तिनलाई अग्रगामी कार्यले वास्तवमा आफ्ना भावनात्मक सन्तुलन कायम राख्न मदत गरेजस्तो लाग्छ। तिनको व्यस्त जीवनमा सबैभन्दा बढी आनन्द ल्याउने श्रोत नै मानिसहरूलाई बाइबल सत्य सिक्न मदत दिनु र परमेश्वरको अनुमोदन प्राप्त गर्न तिनीहरूले आफ्नो जीवनमा परिवर्तन गरेको हेर्नु हो। तिनी हितोपदेशका यी वाक्यांशहरूसित पूर्णतया सहमत छिन्। त्यहाँ यसो भनिएको छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।”—हितोपदेश १०:२२.
हलका भारी
११, १२. येशूले “मेरो भारी हलका छ” भन्नुको अर्थ के हो?
११ येशूले हामीलाई “सजिलो” जुवा प्रतिज्ञा गर्नुको अलावा यस्तो आश्वासन दिनुहुन्छ: “मेरो भारी हलका छ।” “सजिलो” जुवाले यसै पनि काम सजिलो बनाइहाल्छ; त्यसमाथि भारी पनि हलका भयो भने काम अवश्य रमाइलो हुन्छ। तर येशूले उक्त वाक्यांश मार्फत कुन कुरा बताउँदै हुनुहुन्थ्यो?
१२ एक जना किसानले आफ्नो जनावरलाई बेग्लै काममा लगाउनुपर्दा के गर्छ, यसो विचार गर्नुहोस्। भनौं, खेत जोत्न छोडेर गाडा तान्न लगाउँदा। तिनले सर्वप्रथम हलो छुटाउनेछन् अनि जनावरलाई गाडामा मिलाउनेछन्। तिनले एकै चोटि हलो र गाडा दुवै जनावरमा अड्काउनु अव्यवहारिक हुनेछ। त्यस्तैगरि येशूले मानिसहरूलाई एउटा भारीमाथि अर्को भारी थोपर्न भनिरहनुभएको थिएन। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “कोही नोकरले दुइ मालिकको सेवा गर्नसक्तैन।” (लूका १६:१३) तसर्थ, येशूले मानिसहरूलाई छनौट गर्ने मौका दिइरहनुभएको थियो। के तिनीहरूले आफ्नो गह्रुंगो भारी बोकिरहनेथिए वा त्यसलाई बिसाएर उहाँको प्रस्ताव स्वीकार्नेथिए? येशूले तिनीहरूलाई मायालु उत्प्रेरणा दिनुभयो: “मेरो भारी हलका छ।”
१३. येशूकालीन मानिसहरूले कस्तो भारी बोकिरहेका थिए र परिणाम के हुन्थ्यो?
१३ येशूकालीन मानिसहरूलाई दमनकारी रोमी शासकहरू र नियमनिष्ठ, कपटी धार्मिक नेताहरूले गह्रौं बोझ बोकाएका थिए। अनि तिनीहरूले त्यसलाई सकी नसकी उचालिरहेका थिए। (मत्ती २३:२३) रोमी शासनको बोझलाई फ्याँक्न केही मानिसहरूले मामिला आफ्नो हातमा लिन खोजे। तिनीहरू राजनैतिक संघर्षहरूमा संलग्न भए तर नतिजा विपत्तिजनक साबित भयो। (प्रेरित ५:३६, ३७) अरू भने भौतिकवादी लक्ष्यहरू प्राप्त गर्न त्यसैमा चुर्लुम्म डुबेर आफ्नो परिस्थिति सुधार्न कटिबद्ध भए। (मत्ती १९:२१, २२; लूका १४:१८-२०) येशूले तिनीहरूलाई उहाँका चेलाहरू हुने निमन्त्रणाद्वारा छुटकारा दिन खोज्नुहुँदा त्यसलाई स्वीकार्न सबै तयार थिएनन्। तिनीहरूले बोकिरहेका भारी गह्रौं नै भए तापनि त्यसलाई बिसाएर येशूको भारी बोक्न हिचकिचाए। (लूका ९:५९-६२) कस्तो दुःखदायी गल्ती!
१४. हामीलाई जीवनका फिक्री तथा भौतिक इच्छाहरूले कसरी दबाउनसक्छन्?
१४ हामी होशियार भएनौं भने आज हामीले त्यस्तै गल्ती गर्नसक्छौं। येशूका चेलाहरू हुँदा हामी संसारका मानिसहरूले पछ्याउने लक्ष्य तथा मूल्यहरूको पछि दौडिनदेखि मुक्त हुन्छौं। हामीले दैनिक आवश्यकताहरू पूरा गर्न कडा मेहनत गर्नुपर्ने भए तापनि त्यसैलाई जीवनको केन्द्रबिन्दु बनाउँदैनौं। यद्यपि, हामीलाई जीवनको फिक्री तथा भौतिक सुखसुविधाको लोभले जकड्नसक्छ। त्यसो हुन दियौं भने हामीले उत्सुकतापूर्वक स्वीकारेको सत्यलाई समेत ती इच्छाहरूले निस्सासी दिनसक्छ। (मत्ती १३:२२) हामी ती इच्छाहरू पूरा गर्न यति अन्तरग्रस्त हुनसक्छौं कि मसीही जिम्मेवारी असाध्यै थकाइलाग्दो दायित्वहरूजस्तो लाग्नसक्छन्, जसलाई लोकाचारको निम्ति मात्र झारा टार्न चाहन्छौं। यदि त्यस्तो मनोभाव राखेर परमेश्वरको सेवा गरेका छौं भने निश्चय पनि त्यसबाट कुनै स्फूर्ति पाउने आशा गर्न सक्दैनौं।
१५. येशूले भौतिक इच्छाहरूसम्बन्धी कस्तो चेताउनी दिनुभयो?
१५ येशूले औंल्याउनुभएअनुसार सन्तुष्ट जीवन हाम्रा सबै आकांक्षाहरू पूरा गर्न खोजेर होइन तर जीवनका महत्त्वपूर्ण कुराहरू पक्रिराख्नाले प्राप्त गर्न सकिन्छ। उहाँले यस्तो सल्लाह दिनुभयो, “के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। के प्राण खानेकुरोभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?” त्यसपछि उहाँले आकाशका पंक्षीहरूतर्फ ध्यानाकर्षण गर्दै यसो भन्नुभयो: “तिनीहरूले नता बिउ छर्छ, न अन्न काट्छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ।” उहाँले मैदानका लिली फूललाई उल्लेख गर्दै अझै भन्नुभयो: “ती न परिश्रम गर्दछ, न धागो कात्तछ, तैपनि म तिमीहरूलाई भन्दछु, सुलेमान राजा पनि आफ्ना सारा गौरवमा यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्।”—मत्ती ६:२५-२९.
१६. भौतिक लक्ष्यहरू प्राप्त गर्न खोज्दा हुने परिणामहरूबारे अनुभवले के देखाएको छ?
१६ के हामी यी सरल वस्तुगत उदाहरणहरूबाट केही सिक्नसक्छौं? मानिसले आफ्नो आर्थिक स्तर उकास्न जति बढी यत्न गर्छ, उति नै बढी सांसारिक लक्ष्यहरूमा अल्झिन्छ र काँधको बोझ झनै गह्रौं हुन्छ। यो अनुभव सामान्य भइसक्यो। संसारभरि त्यस्ता थुप्रै व्यापारीहरू छन् जसले आफ्नो भौतिक सफलताको मोल चुकाउन विभक्त परिवार, अमेल विवाह, अस्वस्थता र अन्य थुप्रै कुराहरू सहनु परेका छन्। (लूका ९:२५; १ तिमोथी ६:९, १०) नोबेल पुरस्कार विजेता अल्बर्ट आइनस्टाइनले एक चोटि यसो भने: “धनसम्पत्ति, बाह्य सफलता, ख्याति, सुखविलास—मेरो निम्ति यी सबै थोकहरू सधैं उपेक्षित थिए। मलाई लाग्छ, सरल तथा विनीत जीवनशैली नै सबैको लागि सर्वोत्तम हो।” यस अभिव्यक्तिले केवल प्रेरित पावलको सरल सल्लाहलाई दोहोऱ्याउँछ: “सन्तुष्टता सहितको भक्तिनै ठूलो लाभ हो।”—१ तिमोथी ६:६.
१७. बाइबलले कस्तो प्रकारको जीवनशैली अपनाउने सुझाव दिन्छ?
१७ हामीले बिर्सन नहुने एउटा महत्त्वपूर्ण पक्ष छ। “सरल तथा विनीत जीवनशैलीले” अनगिन्ती लाभहरू प्रदान गरे तापनि त्यही नै सन्तुष्टिको कारण होइन। त्यस्ता थुप्रै व्यक्तिहरू छन् जो करैले वा परिस्थितिले गर्दा सरल जीवन बिताउन बाध्य भएका छन्। यद्यपि तिनीहरू सन्तुष्ट र खुशी भने पटक्कै छैनन्। बाइबलले हामीलाई भौतिक सुखसुविधाहरू त्यागेर जोगीको जीवन बिताउन आग्रह गरिरहेको होइन। यहाँ आत्मसन्तुष्टिमा नभई ईश्वरीय भक्तिमाथि जोड दिइएको छ। यी दुवैलाई मिलायौं भने मात्र “ठूलो लाभ” हुन्छ। कस्तो लाभ? त्यही पत्रमा पावलले अझै औंल्याएर भने, “अनिश्चित सम्पत्तिमा होइन, तर . . . परमेश्वरमाथिनै आशा” राख्नेहरूले “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चैको जीवन हो, सो पक्री” राख्नेछन्।—१ तिमोथी ६:१७-१९.
१८. (क) एक जना व्यक्तिले साँचो स्फूर्ति कसरी पाउनसक्छ? (ख) हामीले गर्नुपर्ने हेरफेरहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्ने हो?
१८ हामीले बोकिरहेको निजी गह्रौं भारी बिसाएर येशूले दिनुहुने हलका भारी बोक्न सिक्यौं भने स्फूर्ति प्राप्त गर्नसक्छौं। राज्य सेवामा यथाशक्य बढी गर्न आफ्नो जीवनलाई छाँटकाँट गर्ने धेरै व्यक्तिहरूले आनन्ददायी तथा सन्तोषप्रद जीवन पाएका छन्। निस्सन्देह, त्यस्तो कदम चाल्न विश्वास तथा साहस चाहिन्छ र निकै अवरोधहरू सामना गर्नुपर्ने हुन्छ। तर बाइबलले हामीलाई यसप्रकार सम्झाउँछ: “बतासको विचार गर्नेले कहिल्यै छर्दैन, औ [बादल]मा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।” (उपदेशक ११:४) कुनै कार्य गर्न संकल्प गऱ्यौं भने धेरैजसो कुराहरू गर्न त्यति गाह्रो हुँदैन। सबैभन्दा गाह्रो त संकल्प गर्नुजस्तो देखिन्छ। त्यस कठिन कार्यसित संघर्ष वा त्यसको विरोध गर्दागर्दै थकित भएका हुनसक्छौं। हामीले कम्मर कसेर चुनौतीलाई स्वीकाऱ्यौं भने त्यसो गर्नु त आशिष् पो रहेछ भनेर थाह पाउँदा छक्कै पर्नेछौं। भजनरचयिताले आग्रह गरे: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।”—भजन ३४:८; १ पत्रुस १:१३.
“आफ्ना आफ्ना आत्मामा विश्राम”
१९. (क) हामीले विश्व परिस्थितिहरू खस्कँदै जाँदा के आशा गर्नसक्छौं? (ख) येशूको जुवा बोकिरहँदा हामी कस्तो आश्वासन पाउँछौं?
१९ प्रेरित पावलले प्रथम शताब्दीका चेलाहरूलाई यसरी सम्झाए: “अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नैपर्छ।” (प्रेरित १४:२२) यो आज पनि लागू हुन्छ। विश्व परिस्थितिहरू खस्कँदै जाँदा धार्मिकता र ईश्वरीय भक्तिसाथ जीवन बिताउन कटिबद्ध सबैमाथि दबाब झनै बढ्नेछ। (२ तिमोथी ३:१२; प्रकाश १३:१६, १७) यद्यपि, हामी पावलजस्तै महसुस गर्छौं। तिनले यसो भनेका थिए: “हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं। अन्योलमा परेका छौं, तापनि निराश भएका छैनौं। खेदिएका छौं, तापनि त्यागिएका छैनौं। पिटिएका छौं, तापनि नष्ट भएका छैनौं।” त्यसको कारण हो, हामी असामान्य बल प्राप्त गर्नका लागि येशू ख्रीष्टमाथि भर पर्नसक्छौं। (२ कोरिन्थी ४:७-९) हामीले चेला बन्ने जुवालाई पूरा मनतनले स्वीकार्दा येशूको यस प्रतिज्ञाको पूर्तिबाट आनन्द उठाउनसक्छौं: “तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ११:२९.
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ येशूले प्रदान गर्नुहुने सजिलो जुवा के हो?
◻ हाम्रो जुवा बोझजस्तो महसुस हुन्छ भने के गर्नुपर्छ?
◻ येशूले “मेरो भारी हलका छ” भन्नुको अर्थ के हो?
◻ हाम्रो भारी हलका छ भनेर कसरी पक्का गर्नसक्छौं?