के तपाईं अरुलाई मदत गर्ने “इच्छा” गर्नुहुन्छ?
१ येशूले मानिसहरूको साँच्चै ख्याल राख्नुहुन्थ्यो। एक जना कोरीले उहाँसँग मदतको लागि बिन्ती गर्दा येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र यसो भन्नुभयो: “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” (मर्कू. १:४०-४२) अरूलाई मदत गर्ने सन्दर्भमा हामी कसरी येशूको उदाहरण अनुकरण गर्न सक्छौं?
२ जिज्ञासु व्यक्तिहरू: जिज्ञासु व्यक्तिहरूलाई यहोवाको उपासक हुने मदत दिन मण्डलीका हरेक सदस्यको महत्त्वपूर्ण भूमिका हुन्छ। नयाँ व्यक्तिहरू सभामा आउँदा तिनीहरूलाई अभिवादन गर्नुहोस् र तिनीहरूसँग चिनजान बढाउनुहोस्। तिनीहरूलाई प्रोत्साहन दिने तरिकाहरू खोज्नुहोस्। तिनीहरूले गरेका टिप्पणीहरूको लागि प्रशंसा गर्नुहोस्। आफ्नो जीवनमा बाइबल शिक्षा लागू गर्ने प्रयास गरेकोमा मूल्यांकन जाहेर गर्नुहोस्। मण्डलीभित्र साँचो मित्रहरू बनाउन सकिने सम्भावनाहरूबारे बुझ्न तिनीहरूलाई मदत गर्नुहोस्।
३ सँगी विश्वासीहरू: “खास गरेर विश्वासका घराना[काहरूलाई]” हाम्रो मदत विभिन्न तरिकाहरूमा चाहिन्छ। (गला. ६:१०) धेरै जना स्वास्थ्य समस्याहरूसँग जुधिरहेका हुन्छन्। प्रोत्साहनदायी भेट गरेर तपाईं तिनीहरूलाई अत्यावश्यक संगति तथा सायद व्यावहारिक तवरमा सहयोग पनि दिन सक्नुहुन्छ। कतिपयले आफ्नो जीवनमा अन्य प्रकारका अप्ठ्याराहरूको सामना गरिरहनु परेको हुन सक्छ। तिनीहरूको कुरा सुन्न र तिनीहरूलाई प्रोत्साहन दिन समय निकालेर आफ्नो चासो प्रदर्शन गर्नुहोस्। (१ थिस्स. ५:१४) प्राचीनहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्दा तिनीहरूलाई पनि हाम्रो सहयोग चाहिन्छ। (हिब्रू १३:१७) इच्छुक तथा सहयोगी मनोभाव प्रदर्शन गरेर हामी हाम्रा सँगी विश्वासीहरूको लागि “सान्त्वना दिने मानिसहरू” हुन सक्छौं।—कल. ४:११.
४ परिवारका सदस्यहरू: येशूले मानिसहरूप्रति देखाउनुभएको जस्तो चासो हामीले आफ्नो परिवारभित्र पनि देखाउने कोसिस गर्नुपर्छ। गहिरो चासोले आमाबाबुहरूलाई ‘आफ्ना बालकहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर्न’ उत्प्रेरित गर्छ। (एफि. ६:४) पारिवारिक अध्ययन, मण्डलीका सभाहरू वा क्षेत्र सेवाको लागि ठीक समयमा तयार भएर छोराछोरीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन्। हुर्किसकेका छोराछोरीहरूले भने ढल्कँदो उमेरको कारण आमाबाबुहरूले भोग्नु परेका अप्ठ्याराहरूसँग जुध्न तिनीहरूलाई मायालु मदत दिएर येशूको जस्तो अनुकम्पा देखाउन सक्छन्। यी र अन्य तरिकाहरूमा हामी सबैले “आफ्नै परिवारमा दया” देखाउन सक्छौं।—१ तिमो. ५:४.
५ अरूलाई मदत गर्ने सन्दर्भमा येशूको उदाहरण अनुकरण गर्दा हामी समस्याहरू कम गर्न र हाम्रो परिवार तथा मण्डलीलाई अझ घनिष्ठ बनाउन समर्थ हुन सक्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीले “कृपाका पिता” अर्थात् यहोवाको सम्मान गरिरहेका हुन्छौं।—२ कोरि. १:३.