प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ३/१ pp. २७-३१
  • एकै बगाल र एकै गोठाला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकै बगाल र एकै गोठाला
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ राष्ट्र
  • के अरू पनि समावेश छन्‌?
  • नयाँ करार
  • कसले भाग लिनुपर्छ?
  • तिनीहरू “मेरा प्रजा हुनेछन्‌”
  • अरू भेडा र नयाँ करार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ३/१ pp. २७-३१

एकै बगाल र एकै गोठाला

“तिमीहरू जो मेरोपछि लागेका छौ . . . तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रै सिंहासनमा बस्नेछौ।”—मत्ती १९:२८.

१. अब्राहामका सन्तानसित यहोवाको सम्बन्ध कस्तो थियो? अनि यसको अर्थ यहोवाले अरूलाई वास्तै गर्नुभएन भन्‍ने होइन, किन?

यहोवाले अब्राहामलाई प्रेम गरेकोले तिनका सन्तानहरूप्रति उहाँले वफादार प्रेम देखाउनुभयो। अब्राहामको सन्तानबाट बनेको इस्राएल राष्ट्रलाई यहोवाले आफ्नो चुनिएको प्रजा, “विशेष जाति”-को रूपमा लिएको पन्ध्रसय वर्षभन्दा धेरै भइसकेको थियो। (व्यवस्था ७:६ पढ्‌नुहोस्‌) के यसको अर्थ यहोवाले अरू राष्ट्र अर्थात्‌ अरू जातिका मानिसहरूलाई वास्तै गर्नुभएन भनेको हो? होइन। यहोवाको उपासना गर्न चाहने त्यतिबेलाका गैर-इस्राएलीहरूलाई पनि यहोवाको त्यस विशेष जातिमा सामेल हुन दिइयो। धर्म परिवर्तन गरेर यहूदी मत मान्‍न थालेका तिनीहरूलाई इस्राएल राष्ट्रको भागको रूपमा हेरियो। तिनीहरूलाई इस्राएली दाजुभाइ सरह व्यवहार गरिनुपर्थ्यो। (लेवी १९:३३, ३४) अनि तिनीहरूले चाहिं यहोवाका सम्पूर्ण नीति-नियम पालन गर्नुपर्थ्यो।—लेवी २४:२२.

२. येशूले कस्तो अचम्मको घोषणा गर्नुभयो र यसले गर्दा कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

२ तथापि येशूले उहाँको समयका यहूदीहरूलाई यस्तो अचम्मको घोषणा गर्नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) यो नयाँ जाति अर्थात्‌ राष्ट्र को-को मिलेर बन्‍ने थियो? अनि यो परिवर्तनले आज हामीमा कस्तो असर पार्छ?

नयाँ राष्ट्र

३, ४. (क) प्रेरित पत्रुसले नयाँ राष्ट्रलाई कसरी चिनाए? (ख) यो नयाँ राष्ट्र को-को मिलेर बनेको छ?

३ प्रेरित पत्रुसले स्पष्टसित यो नयाँ राष्ट्रलाई चिनाए। तिनले सँगी ख्रीष्टियानहरूलाई यस्तो लेखे: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।” (१ पत्रु. २:९) भविष्यवाणी गरिएअनुसार येशूलाई मसीह भनी स्वीकार्ने जन्मजात यहूदीहरू नै त्यस नयाँ राष्ट्रका प्रथम सदस्य थिए। (दानि. ९:२७क; मत्ती १०:६) पछि थुप्रै गैर-इस्राएली पनि त्यस राष्ट्रमा समावेश भए किनभने पत्रुसले अझ यस्तो लेखे: “तिमीहरू बितेका समयमा प्रजा थिएनौ, तर अहिले परमेश्‍वरका प्रजा भएका छौ।”—१ पत्रु. २:१०.

४ यो कुरा पत्रुसले कसलाई भनिरहेका थिए? पत्रको सुरुमा तिनी भन्छन्‌: “[परमेश्‍वरले] आफ्नो ठूलो कृपा अनुसार मरेकोबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति, हामीलाई फेरि नयाँ जन्म दिनुभयो, [जुन] स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको [छ]।” (१ पत्रु. १:३, ४) त्यसैले यो नयाँ राष्ट्र स्वर्गीय आशा भएका अभिषिक्‍त ख्रीष्टियानहरू मिलेर बनेको छ। तिनीहरू “परमेश्‍वरका इस्राएल” हुन्‌। (गला. ६:१६) एउटा दर्शनमा प्रेरित यूहन्‍नाले आध्यात्मिक इस्राएलीहरूको कूल संख्या १,४४,००० देखे। “पूजाहारीहरू”-को रूपमा सेवा चढाउन र “[येशूसँगै] एक हजार वर्षसम्म राज्य” गर्न “यिनीहरू परमेश्‍वरमा र थुमामा पहिला फलहरू हुनलाई मानिसहरूमध्येबाट किनिएका” हुन्‌।—प्रका. ५:१०; ७:४; १४:१, ४; २०:६; याकू. १:१८.

के अरू पनि समावेश छन्‌?

५. (क) “परमेश्‍वरका इस्राएल” भन्‍ने वाक्यांशले कसलाई बुझाउँछ? (ख) “इस्राएल” शब्दको किन एउटै मात्र अर्थ छैन?

५ स्पष्ट छ, गलाती ६:१६ को “परमेश्‍वरका इस्राएल” वाक्यांशले अभिषिक्‍त ख्रीष्टियानहरूलाई मात्र बुझाउँछ। तथापि यहोवाले अभिषिक्‍तबाहेक अरू ख्रीष्टियानहरूलाई पनि बुझाउन इस्राएल राष्ट्रलाई दृष्टान्तको रूपमा चलाउनुभएको छ? यसको जवाफ येशूले आफ्ना विश्‍वासी प्रेरितहरूलाई भनेका यी शब्दहरूमा पाउन सकिन्छ: “मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२८-३०) यो कुरा ख्रीष्टको हजार वर्षीय शासनको दौडान हुने “नयाँ सृष्टिमा” अर्थात्‌ सबै कुरा नयाँ बनाइने समयमा हुनेछ।—मत्ती १९:२८ पढ्‌नुहोस्‌।

६, ७. मत्ती १९:२८ र लूका २२:३० मा उल्लेख गरिएको “इस्राएलका बाह्र कुल”-ले कसलाई बुझाउँछ?

६ हजार वर्षीय शासनमा १,४४,००० ले स्वर्गमा राजा, पूजाहारी र न्यायकर्ताको रूपमा सेवा गर्नेछन्‌। (प्रका. २०:४) तिनीहरूले कसको न्याय गर्नेछन्‌ र कसमाथि शासन गर्नेछन्‌? मत्ती १९:२८ र लूका २२:३० मा तिनीहरूले “इस्राएलका बाह्र कुलमाथि” न्याय गर्नेछन्‌ भनेर हामीलाई बताइएको छ। उक्‍त पदहरूमा “इस्राएलका बाह्र कुल”-ले कसलाई चित्रण गर्छ? यस कुलले पृथ्वीमा बाँच्ने आशा भएका सबैलाई बुझाउँछ जसले येशूको बलिदानमा विश्‍वास गर्छन्‌ तर जसलाई राजकीय पूजाहारीवर्गमा समावेश गरिएको छैन। (जन्मजात इस्राएलीहरूको १२ कुलमा लेवीको कुललाई समावेश गरिएको थिएन।) पूजाहारीको रूपमा १,४४,००० ले गर्ने सेवाबाट आध्यात्मिक तवरमा लाभ प्राप्त गर्नेहरूलाई नै यहाँ इस्राएलको १२ कुलले चित्रण गरेको छ। यसरी लाभ उठाउने यी गैर-पूजाहारीहरू परमेश्‍वरका प्रजा पनि हुन्‌। उहाँले तिनीहरूलाई माया गर्नुहुन्छ र स्वीकार्नुहुन्छ। तिनीहरूलाई प्राचीन समयका परमेश्‍वरका मानिसहरूसित तुलना गर्नु उपयुक्‍त छ।

७ हो, महासङ्‌कष्टअघि १,४४,००० आध्यात्मिक इस्राएलीहरूलाई स्थायीरूपमा छाप लगाएको देखेपछि प्रेरित यूहन्‍नाले “हरेक जातिबाटको” “ठूलो भीड” पनि देखे। (प्रका. ७:९) तिनीहरू त्यस महासङ्‌कष्टबाट बचेर ख्रीष्टको हजार वर्षीय शासनमा प्रवेश गर्नेछन्‌। त्यतिखेर पुनरुत्थान भएका करोडौं मानिस तिनीहरूसँगै हुनेछन्‌। (यूह. ५:२८, २९; प्रका. २०:१३) यी सबै मिलेर प्रतीकात्मक “इस्राएलका बाह्र कुल” बन्‍नेछ र यिनीहरूको न्याय येशू र उहाँका १,४४,००० सह-शासकले गर्नेछन्‌।—प्रेरि. १७:३१; २४:१५; प्रका. २०:१२.

८. वार्षिक प्रायश्‍चितको दिनमा गरिने कार्यहरूले १,४४,००० र बाँकी मानिसबीचको सम्बन्धलाई कसरी पूर्वचित्रण गर्छ?

८ अरू मानिस र १,४४,००० बीचको यो सम्बन्धलाई वार्षिक प्रायश्‍चितको दिनमा गरिने कार्यहरूले पूर्वचित्रण गर्थ्यो। (लेवी १६:६-१०) सर्वप्रथम प्रधान पूजाहारीले “आफ्नो र आफ्नो घरानाको निम्ति” पापबलिको साँढे चढाउनुपर्थ्यो। त्यसैले येशूको बलिदान स्वर्गमा उहाँसँगै सेवा गर्ने उप-पूजाहारीहरूको घरानामा पहिला लागू हुन्छ। साथै प्राचीन समयको प्रायश्‍चितको दिनमा अन्य इस्राएलीहरूको पापको लागि दुइटा बोकाको प्रबन्ध गरिन्थ्यो। यस प्रसंगमा पूजाहारीको कुलले १,४४,००० लाई चित्रण गर्छ भने बाँकी इस्राएलीले चाहिं पृथ्वीमा बाँच्ने आशा भएकाहरूलाई चित्रण गर्छ। तसर्थ मत्ती १९:२८ को “इस्राएलका बाह्र कुल”-ले येशूका आत्मा-अभिषिक्‍त उप-पूजाहारीवर्गलाई नभई येशूको बलिदानमा विश्‍वास गर्ने अरू सबैलाई संकेत गर्छ।a

९. इजकिएलले देखेको मन्दिरको दर्शनका पूजाहारीहरू र गैर-पूजाहारी इस्राएलीहरूले क-कसको चित्रण गर्छन्‌?

९ अर्को उदाहरण विचार गर्नुहोस्‌। अगमवक्‍ता इजकिएललाई यहोवाको मन्दिरको विस्तृत दर्शन दिइयो। (इज. अध्या. ४०-४८) त्यस दर्शनमा मन्दिरमा काम गर्ने पूजाहारीहरूले निर्देशन दिंदै अनि यहोवाबाट सल्लाह लिंदै र सुधार पाउँदै गरेको देखियो। (इज. ४४:२३-३१) त्यसै दर्शनमा विभिन्‍न कुलका सदस्यहरू उपासना गर्न र बलिहरू चढाउन आउँथे। (इज. ४५:१६, १७) यस प्रसंगमा पूजाहारीहरूले अभिषिक्‍त जनलाई चित्रण गर्छन्‌ भने गैर-पूजाहारी कुलका इस्राएलीहरूले चाहिं पृथ्वीमा बाँच्ने आशा भएकाहरूलाई चित्रण गर्छन्‌। शुद्ध उपासनाको काममा पूजाहारी वर्गले नेतृत्व लिन्छ र यी दुई समूह मिलेर काम गर्छन्‌ भनेर यस दर्शनमा जोड दिइएको छ।

१०, ११. (क) हाम्रो विश्‍वास बलियो पार्ने येशूका शब्दहरूको कस्तो पूर्ति हामीले देखेका छौं? (ख) अरू भेडाबारे कस्तो प्रश्‍न उठ्‌छ?

१० येशूले “अरू भेडा”-बारे कुरा गर्नुभयो जो उहाँका अभिषिक्‍त अनुयायीहरूको “सानो बगाल”-को गोठका हुने थिएनन्‌। (यूह. १०:१६; लूका १२:३२) उहाँले भन्‍नुभयो: “तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्‌।” यी शब्दहरूको पूर्ति देख्न पाउँदा हाम्रो विश्‍वास कत्ति बलियो भएको छ! दुई समूहका प्रजाहरू अर्थात्‌ अभिषिक्‍त जनहरूको सानो समूह र अरू भेडाको ठूलो भीड एकसाथ मिलेका छन्‌। (जकरिया ८:२३ पढ्‌नुहोस्‌) अरू भेडाले आध्यात्मिक मन्दिरको भित्री चोकमा सेवा गर्दैनन्‌ तर तिनीहरू बाहिरी चोकमा भने सेवा गर्छन्‌।

११ तर प्राचीन इस्राएलका गैर-पूजाहारी सदस्यहरूले कहिलेकाहीं अरू भेडालाई चित्रण गर्छन्‌ भने के पृथ्वीमा बाँच्ने आशा भएकाहरूले पनि स्मरणार्थका प्रतीकहरूमा भाग लिनुपर्छ? यस प्रश्‍नको जवाफ अब हामी विचार गर्नेछौं।

नयाँ करार

१२. कुन नयाँ प्रबन्धबारे यहोवाले भविष्यवाणी गर्नुभयो?

१२ यहोवाले यसो भन्दै आफ्ना प्रजाको लागि नयाँ प्रबन्धबारे भविष्यवाणी गर्नुभयो: “ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌।’” (यर्मि. ३१:३१-३३) यस नयाँ करारमार्फत यहोवाले अब्राहामसित गरेको प्रतिज्ञाको महिमित र चिरकालीन पूर्ति हुने थियो।—उत्पत्ति २२:१८ पढ्‌नुहोस्‌।

१३, १४. (क) नयाँ करारका सहभागीहरू को हुन्‌? (ख) नयाँ करारबाट लाभ उठाउनेहरू को हुन्‌ र तिनीहरूले यो करार कसरी ‘पालन गर्छन्‌?’

१३ येशूले यस नयाँ करारबारे आफ्नो मृत्युको अघिल्लो रात यसरी उल्लेख गर्नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” (लूका २२:२०; १ कोरि. ११:२५) के यस नयाँ करारमा सबै ख्रीष्टियान समावेश छन्‌? छैनन्‌। त्यस रात कचौराबाट पिउने प्रेरितहरूजस्तै कोही-कोही यस नयाँ करारका सहभागी हुन्‌।b येशूले उहाँसँगै मिलेर शासन गर्ने अर्को करार तिनीहरूसित बाँध्नुभयो। (लूका २२:२८-३०) तिनीहरूले येशूको राज्यमा उहाँसँगै शासन गर्नेछन्‌ ।—लूका २२:१५, १६.

१४ येशूको राज्य अन्तर्गत पृथ्वीमा बस्नेहरूबारे के भन्‍न सकिन्छ? तिनीहरू नयाँ करारबाट लाभ उठाउनेहरू हुन्‌। (गला. ३:८, ९) नयाँ करारका सहभागी नभए तापनि यसका आवश्‍यकताहरू पूरा गरेर तिनीहरू यो करार ‘पालन गर्छन्‌।’ यसबारे अगमवक्‍ता यशैयाले यसरी भविष्यवाणी गरेका थिए: “परमप्रभुको सेवा गर्ने, र उहाँको नाउँलाई प्रेम गर्ने, उहाँको दास हुनलाई विश्राम दिन मान्‍ने, र त्यसलाई बिटुलो पार्नदेखि अलग राख्ने [“र मेरो करार पालन गर्न,”NRV] विदेशीहरू जो परमप्रभुमा मिल्दछन्‌, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु।” त्यसपछि यहोवा भन्‍नुहुन्छ: “किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ।”—यशै. ५६:६, ७.

कसले भाग लिनुपर्छ?

१५, १६. (क) प्रेरित पावलले नयाँ करारलाई केसित जोडे? (ख) पृथ्वीमा बाँच्ने आशा भएकाहरूले किन स्मरणार्थका प्रतीकहरूमा भाग लिनुहुँदैन?

१५ नयाँ करारका भागीदारहरूसित ‘पवित्रस्थानमा प्रवेश गर्ने साहस’ छ। (हिब्रू १०:१५-२० पढ्‌नुहोस्‌) यिनीहरू “हल्लिन नसक्ने राज्य” पाउनेहरू हुन्‌। (हिब्रू १२:२८) अतः नयाँ करारलाई चित्रण गर्ने “कचौरा”-बाट येशू ख्रीष्टसित स्वर्गमा राजा र पूजाहारी हुनेहरूले मात्र पिउनुपर्छ। नयाँ करारका यी सहभागीहरू थुमासित विवाह गर्न प्रतिज्ञा गरिएकाहरू हुन्‌। (२ कोरि. ११:२; प्रका. २१:२, ९) वर्षैपिच्छे मनाइने स्मरणार्थ उत्सवमा अरूचाहिं कृतज्ञ भई आदरसाथ उपस्थित मात्र हुन्छन्‌, प्रतीकहरूमा भाग लिंदैनन्‌।

१६ पृथ्वीमा बाँच्ने आशा भएकाहरूले स्मरणार्थका प्रतीकहरूमा भाग लिंदैनन्‌ भनेर बुझ्न पावल पनि हामीलाई मदत दिन्छन्‌। अभिषिक्‍त ख्रीष्टियानहरूलाई तिनले यसो भने: “किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।” (१ कोरि. ११:२६) प्रभु कहिले ‘आउनुहुन्छ?’ अभिषिक्‍त दुलही वर्गका अन्तिम सदस्यलाई स्वर्ग लैजाने बेलामा। (यूह. १४:२, ३) स्पष्ट छ, प्रभुको साँझको भोजको वार्षिक उत्सव अनन्तसम्म चलिरहने होइन। स्त्रीका पृथ्वीमा “बाँकी सन्तानहरू” सबैले स्वर्गीय इनाम नपाउन्जेल यस भोजमा भाग लिइरहनेछन्‌। (प्रका. १२:१७) तर यदि पृथ्वीमा सधैंभरि बाँच्नेहरूले पनि प्रतीकहरूमा भाग लिने अधिकार पाएका हुन्‌ भने त स्मरणार्थ उत्सव सधैंभरि मनाइरहनुपर्ने हुन्छ।

तिनीहरू “मेरा प्रजा हुनेछन्‌”

१७, १८. इजकिएल ३७:२६, २७ मा उल्लेख गरिएको भविष्यवाणी कसरी पूरा भएको छ?

१७ आफ्ना प्रजाबीचको एकताबारे यहोवाले यसरी भविष्यवाणी गर्नुभयो: “म तिनीहरूसित सुख-शान्तिको करार बाँध्नेछु, यो करार सदासर्वदा तिनीहरूका निम्ति हुनेछ। म तिनीहरूको संख्या खूब बढाउनेछु, र मेरो पवित्रस्थान तिनीहरूका बीचमा सधैंको निम्ति राख्नेछु। तिनीहरू मेरो बासस्थानको शरणमनि रहनेछन्‌। म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरो प्रजा हुनेछन्‌।”—इज. ३७:२६, २७.

१८ यो अद्‌भुत प्रतिज्ञा अर्थात्‌ ख्रीष्टियानमाझ हुने सुख-शान्तिको करारको पूर्तिबाट लाभ उठाउने सुअवसर परमेश्‍वरका सबै प्रजाले पाएका छन्‌। हो, यहोवाले आफ्ना आज्ञाकारी सेवकहरू सबैलाई शान्ति दिने ग्यारेन्टी दिनुभएको छ। तिनीहरूमाझ उहाँको आत्माको फलका विभिन्‍न पक्ष स्पष्टै देखिएको छ। ख्रीष्टियान उपासनालाई चित्रण गर्ने परमेश्‍वरको पवित्रस्थान तिनीहरूमाझ छ। तिनीहरू साँच्चै उहाँका प्रजा भएका छन्‌ किनभने तिनीहरूले सबै प्रकारका मूर्तिपूजा त्यागेका छन्‌ र यहोवालाई मात्र परमेश्‍वर मानेका छन्‌ जसको तिनीहरू उपासना गर्छन्‌।

१९, २०. यहोवाले “मेरा प्रजा” भनेका मानिसहरूमा को समावेश छन्‌ र नयाँ करारले के सम्भव तुल्याएको छ?

१९ हाम्रो समयमा दुइटा समूहबीच एकता भएको देख्न पाउनु कत्ति रोमाञ्चक! निरन्तर वृद्धि हुँदै गइरहेको ठूलो भीडले स्वर्गीय आशा नराखेको भए तापनि तिनीहरू स्वर्गीय आशा राख्नेहरूको संगतिमा रहन पाउँदा गर्व गर्छन्‌। तिनीहरू परमेश्‍वरको इस्राएलको पछि-पछि लागेका छन्‌। यसो गरेर तिनीहरू यहोवाले “मेरा प्रजा” भनेका मानिसहरूमा समावेश भएका छन्‌। तिनीहरूमा यो भविष्यवाणी पूरा भएको पाउँछौं: “धेरै जातिहरू त्यस दिन परमप्रभुमा मिल्न आउनेछन्‌, र मेरा प्रजा हुनेछन्‌, र म तिमीहरूका बीचमा बास गर्नेछु।”—जक. २:११; ८:२१; यशैया ६५:२२; प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।

२० नयाँ करारमार्फत यहोवाले यी सब सम्भव तुल्याउनुभएको छ। लाखौं आध्यात्मिक विदेशीहरू यहोवाको अनुमोदनप्राप्त राष्ट्रको भाग भएका छन्‌। (मीका ४:१-५) तिनीहरूले नयाँ करारका प्रबन्धहरू स्वीकारेर र त्यसको आवश्‍यकताहरू पूरा गरेर त्यो करार पालन गरिरहने अठोट गरेका छन्‌। (यशै. ५६:६, ७) यसो गरेर तिनीहरूले परमेश्‍वरको इस्राएलसँगसँगै आशिष्स्‌वरूप प्रशस्तै शान्ति पाइरहन्छन्‌। तपाईंले पनि अहिले र आउँदा दिनहरूमा यस्तै अनुभव गरिरहन सकून्‌! (w10-E 03/15)

[Footnotes]

a त्यस्तैगरि मुख्यतया अभिषिक्‍तहरूलाई “मण्डली” भनिएको छ। (हिब्रू १२:२३) तथापि “मण्डली” शब्दको अर्को अर्थ पनि छ र त्यसले जुनसुकै आशाको बावजुद सबै ख्रीष्टियानलाई संकेत गर्छ।—प्रहरीधरहरा, मे १, २००७, पृष्ठ ९-११ हेर्नुहोस्‌।

b येशू त्यस करारको मध्यस्थ हुनुहुन्छ, सहभागी होइन। त्यसैले उहाँले प्रतीकहरूमा भाग लिनुभएन।

के तपाईंलाई सम्झना छ?

• एक लाख चवालिस हजारले न्याय गर्ने “इस्राएलका बाह्र कुल” को हुन्‌?

• नयाँ करारमा अभिषिक्‍त जन र अरू भेडाबीच कस्तो सम्बन्ध छ?

• के सबै ख्रीष्टियानले स्मरणार्थका प्रतीकहरूमा भाग लिनुपर्छ?

• हाम्रो समयमा हुने कस्तो एकताबारे भविष्यवाणी गरिएको थियो?

[पृष्ठ २९-मा भएको ग्राफ/चित्रहरू]

अहिले थुप्रैले परमेश्‍वरको इस्राएलसँगसँगै सेवा गरिरहेका छन्‌

७३,१३,१७३

४०,१७,२१३

१४,८३,४३०

३,७३,४३०

१९५० १९७० १९९० २००९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने