पाठकहरूका प्रश्नहरू
मसीही बप्तिस्माको बेला कस्तो मनोवृत्ति देखाउनुपर्छ?
यो चाखलाग्दो प्रश्न हो र हाम्रा अधिकांश पाठकहरूले बप्तिस्मा लिइसकेको भए तापनि तिनीहरू यस प्रश्नमा मुछिएका छन्। सर्वप्रथम पानीमा चुर्लुम्म डुबेर बप्तिस्मा लिनेहरूतर्फ ध्यान देऔं। हेरौं, तिनीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ?
मत्ती २८:१९, २० मा येशूले आफ्ना चेलाहरूलाई गएर मानिसहरूलाई सिकाऊ र बप्तिस्मा दिई चेला बनाऊ भनी आज्ञा दिनुभएको थियो। उहाँले बप्तिस्मालाई उच्च भावनात्मक अनुभव, क्षणिक आवेशमा आएर लिइने कदमको रूपमा प्रस्तुत गर्नुभएन। बप्तिस्मा लिनु गम्भीर कदम उठाउनु हो, जुन कुरा हामी येशूको उदाहरणबाट देख्नसक्छौं। लूका ३:२१, २२ ले यसो भन्छ: “येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुहुँदा स्वर्ग उघ्रियो।” हो, हाम्रो सर्वोत्कृष्ट नमुना, येशू ख्रीष्टले बप्तिस्मालाई गम्भीरतापूर्वक लिनुभयो। बप्तिस्मापश्चात् उहाँले आफ्ना औंलाहरूद्वारा विजयको संकेत गर्नुभएको अथवा विजयी ढंगमा हुर्रे भन्नुभएको वा हर्षोल्लासका साथ हात हल्लाउनुभएको हामी कल्पना गर्न सक्दैनौं। यद्यपि, हालसालै केही व्यक्तिहरूले त्यसो गरेका छन्। अहँ, यूहन्ना मात्र हुँदा पनि येशूले त्यसो नगरी आफ्नो पितालाई प्रार्थना गर्नुभयो।
तर कुनै व्यक्तिले बप्तिस्मा लिंदा उदास वा मलिन हुनुपर्छ, मसीहीजगतका मानिसहरूले भनेझैं कुनै विशेष किसिमको आसनमा बस्नुपर्छ वा शब्दहरू बडबडाउनुपर्छ भनी बाइबलले संकेत दिंदैन। पेन्तिकोसको दिनलाई सम्झनुहोस्। त्यस दिन यहूदीहरू र यहूदी धर्म अंगिकार गर्ने थुप्रै व्यक्तिहरूले मसीही बप्तिस्मा लिएका थिए। तिनीहरूले परमेश्वरको व्यवस्था अध्ययन गरेर उहाँसँग सम्बन्ध गाँसिसकेका थिए। अतः तिनीहरूले मसीह, येशूबारे सिके र स्वीकारे मात्र पुग्थ्यो। त्यसो गरिसकेपछि तिनीहरूले बप्तिस्मा लिन सक्थे।
प्रेरित २:४१ ले यस्तो रिपोर्ट दिन्छ: “जस जसले [खुशीसाथ, न्युव] तिनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए।” वेमाउथको बाइबल अनुवाद यसो भन्छ: “तसर्थ तिनका वचनलाई आनन्दसाथ स्वीकार्नेहरूले बप्तिस्मा लिए।” मसीहबारे रोमाञ्चकारी समाचार सुनेर तिनीहरू आनन्दित भएका थिए र त्यही आनन्दको कारण तिनीहरू बप्तिस्मा लिन पुगे, जुन बप्तिस्मा तिनीहरूले हजारौं हर्षित दर्शकहरू सामू लिएका थिए। स्वर्गबाट स्वर्गदूतहरूले समेत हेरेर आनन्द मनाइरहेका थिए। येशूका शब्दहरू स्मरण गर्नुहोस्: “म तिमीहरूलाई भन्दछु ‘यसरीनै परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।’”—लूका १५:१०.
बप्तिस्माको गम्भीरता अनि आनन्द प्रकट गर्न सकिने थुप्रै तरिकाहरू छन्। कुनै कुनै चर्चहरूमा बप्तिस्मा लिने व्यक्तिहरूले सेतो वा कालो वस्त्र लगाउँछन्। यस्ता आवश्यकताहरूको कुनै शास्त्रीय आधार छैन। तथापि, पुरुष होस् वा स्त्री, कस्सिएको वा अंग प्रदर्शन हुने लुगा लगाउनु पनि पटक्कै उपयुक्त कुरा होइन। अनि माथि भनेझैं पानीबाट निस्केर आउँदा नयाँ मसीहीले हात हल्लाएर विशेष किसिमको संकेत गर्नु वा आफूले ठूलो विजय प्राप्त गरेझैं गरी अनुपयुक्त चालामाला देखाउनु नपर्ने हो। बाँकि मसीही भाइहरू तिनले बप्तिस्मा लिएकोमा खुशी छन्। उसको यो विश्वासको प्रदर्शन, परमेश्वरको अनुमोदन प्राप्त गर्न देखाउनु पर्ने निष्ठाको लामो मार्गको केवल प्रारम्भिक कदम हो भनी उसले बुझ्नुपर्छ।—मत्ती १६:२४.
विशेषगरि हाम्रो नातेदार वा विद्यार्थीले बप्तिस्मा लिंदा हामी त्यस मौकाको आनन्दमा आम-दर्शकहरूको हैसियतले सरिक हुन्छौं। तथापि, त्यस आनन्दमा पूर्ण सरिक हुन हामीले बप्तिस्मा लिन तयार भएकाहरूसँगै पूरै भाषणमा ध्यान दिनुपर्छ, तिनीहरूले जनसमक्ष दिएको जवाफ सुन्नुपर्छ र प्रार्थनामा सामेल हुनुपर्छ। त्यसो गर्नाले आफ्नो मनमा वास्तविक बप्तिस्माको दृश्यलाई राख्नसक्छौं; र त्यसबारे परमेश्वरको दृष्टिकोण बुझ्नेछौं। बप्तिस्मापश्चात् हाम्रो हर्ष प्रकट गर्न हामीले विजयी सिपाहीहरूले जस्तो परेड गर्नु, फूलको गुच्छा दिनु अथवा बप्तिस्मा लिने व्यक्तिको सम्मानमा भोज आयोजना गर्नु आवश्यक छैन। बरु नयाँ भाइ वा बहिनीलाई भेटेर तिनले त्यति राम्रो कदम उठाएकोमा आफ्नो आनन्द व्यक्त गर्दै तिनलाई हाम्रो मसीही भ्रातृत्वमा हार्दिक स्वागत गर्नसक्छौं।
संक्षेपमा भन्ने हो भने, निमज्जन भइसकेकाहरूलगायत हामी सबैले बप्तिस्मालाई उपयुक्त गम्भीरतासाथ लिनुपर्छ। बप्तिस्मा भनेको स्वर उचालेर भावनात्मक अभिव्यक्ति प्रकट गर्ने, भोज गर्ने वा रसरंग गर्ने समय होइन। नता त्यो उदास वा मलिन हुने समय नै हो। अनन्त जीवनको मार्गमा नयाँ व्यक्तिहरू सामेल हुन आएकोमा हामी सुहाउँदो ढंगले आनन्दित हुनसक्छौं। र हाम्रा नयाँ भाइ-बहिनीहरूलाई आनन्दसाथ स्वागत गर्नसक्छौं।
[पृष्ठ ३१-मा भएको पृष्ठभरिको चित्र]