प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १२ p. ३४-p. ३५ par. ३
  • येसु बप्तिस्मा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु बप्तिस्मा गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूको बप्तिस्मा
    सबैभन्दा महान्‌ पुरुष
  • यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १२ p. ३४-p. ३५ par. ३
येसु युहन्‍नाकहाँ बप्तिस्मा गर्न जानुहुन्छ तर युहन्‍ना आपत्ति जनाउँछन्‌

अध्याय १२

येसु बप्तिस्मा गर्नुहुन्छ

मत्ति ३:१३-१७ मर्कुस १:९-११ लुका ३:२१, २२ युहन्‍ना १:३२-३४

  • येसुको बप्तिस्मा र अभिषेक

  • येसु आफ्नो छोरा हो भनेर यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ

बप्तिस्मा गराउने युहन्‍नाले प्रचार गर्न थालेको झन्डै छ महिनापछि येसु यर्दन नदीमा तिनी भएको ठाउँमा आउनुहुन्छ। उहाँ अहिले झन्डै ३० वर्षको हुनुभएको छ। उहाँ त्यहाँ आउनुको कारण के हो? साथी भेट्‌न भनेर मात्र त आउनुभएको होइन। युहन्‍नाको काम कस्तो भइरहेको छ भनेर हेर्न आउनुभएको पनि होइन। उहाँ बप्तिस्मा गर्न आउनुभएको हो।

तर युहन्‍ना “मैले पो तपाईँबाट बप्तिस्मा गर्नु आवश्‍यक छ, उल्टै तपाईँ मकहाँ आउँदै हुनुहुन्छ?” भन्दै उहाँलाई रोक्न खोज्छन्‌। (मत्ति ३:१४) युहन्‍नालाई येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर थाह छ। याद गर्नुहोस्‌, येसु गर्भमा हुनुभएको बेला मरियम इलिसिबालाई भेट्‌न आउँदा युहन्‍ना आफ्नी आमाको गर्भमा खुसीले उफ्रेका थिए। पक्कै पनि युहन्‍नाकी आमाले पछि तिनलाई यो कुरा भनिन्‌। साथै येसुको जन्मबारे स्वर्गदूतले गरेको घोषणा र उहाँ जन्मनुभएको रात गोठालाहरूकहाँ स्वर्गदूतहरू देखा परेको कुरा पनि युहन्‍नाले सुनेको हुनुपर्छ।

युहन्‍नालाई आफूले गराइरहेको बप्तिस्मा पापको निम्ति पश्‍चात्ताप गर्नेहरूको लागि हो भनेर थाह छ। तर येसु भने पापरहित हुनुहुन्छ। युहन्‍नाले आपत्ति जनाए पनि येसु यसो भन्‍नुहुन्छ: “अहिलेलाई यस्तै हुन देऊ। किनकि यसरी नै हामीले परमेश्‍वरको सबै इच्छा पूरा गर्नु उचित हुन्छ।”—मत्ति ३:१५.

येसुले बप्तिस्मा गर्नु किन उचित छ? येसुले गर्न लाग्नुभएको बप्तिस्माले पापको पश्‍चात्तापलाई बुझाउँदैन। उहाँको बप्तिस्माले आफ्नो बुबाको इच्छा पूरा गर्न उहाँले आफूलाई अर्पण गर्न लाग्नुभएको कुरालाई बुझाउँछ। (हिब्रू १०:५-७) येसु सिकर्मीको काम गर्दै हुनुहुन्थ्यो तर अब सेवाको काम सुरु गर्ने बेला भएको छ किनभने यसै कामको लागि स्वर्गमा हुनुहुने बुबाले उहाँलाई पृथ्वीमा पठाउनुभएको हो।

येसुलाई बप्तिस्मा गराउँदा के युहन्‍नाले केही असाधारण घटना घट्‌ने आशा गरिरहेका छन्‌? हो, छन्‌। किनकि पछि युहन्‍ना आफैले यस्तो लेखे: “पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला, पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’” (युहन्‍ना १:३३) येसु पानीबाट निस्कनुहुँदा “परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको” देख्दा युहन्‍ना पक्कै छक्क परेनन्‌।—मत्ति ३:१६.

येसुको बप्तिस्माको बेला पवित्र शक्‍ति उहाँमाथि आउँछ

येसुको बप्तिस्माको बेला अरू के हुन्छ? उहाँको लागि ‘आकाश खुल्छ।’ यसको अर्थ के हो? बप्तिस्माको बेला उहाँले आफूले स्वर्गमा बिताएको जीवन सम्झनुभएको हुनुपर्छ। यसरी उहाँले पृथ्वीमा आउनुअघि स्वर्गमा यहोवा परमेश्‍वरको छोराको रूपमा बिताएको जीवन र परमेश्‍वरले सिकाउनुभएका कुराहरू सम्झनुहुन्छ।

यसबाहेक येसुको बप्तिस्माको बेला आकाशबाट यसो भन्‍ने आवाज आउँछ: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) त्यो आवाज कसको हो? पक्कै पनि त्यो आवाज येसुको हुन सक्दैन किनभने उहाँ त युहन्‍नासँगै हुनुहुन्छ। त्यो आवाज परमेश्‍वरको हो। स्पष्ट छ, येसु परमेश्‍वर हुनुहुन्‍न, बरु उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ।

प्रथम मानिस आदमजस्तै येसु पनि परमेश्‍वरको मानव छोरा हुनुहुन्छ भन्‍ने कुरा उल्लेखनीय छ। येसुको बप्तिस्माबारे बताइसकेपछि चेला लुका यस्तो लेख्छन्‌: “मानिसहरूलाई सिकाउन थाल्दा येसु लगभग ३० वर्षको हुनुहुन्थ्यो। मानिसहरूले ठानेझैँ उहाँ युसुफका छोरा हुनुहुन्थ्यो, जो हेलिका छोरा थिए, . . . जो दाउदका छोरा थिए, . . . जो अब्राहामका छोरा थिए, . . . जो नुहका छोरा थिए, . . . जो आदमका छोरा थिए, जो परमेश्‍वरका छोरा थिए।”—लुका ३:२३-३८.

आदमजस्तै येसु पनि “परमेश्‍वरका छोरा” हुनुहुन्छ। तर येसुको बप्तिस्माको बेला यहोवा परमेश्‍वरले उहाँमाथि पवित्र शक्‍ति खन्याउनुहुँदा उहाँ नयाँ र विशेष अर्थमा परमेश्‍वरको छोरा बन्‍नुहुन्छ। त्यतिबेलादेखि येसु मानिसहरूलाई परमेश्‍वरबारे सत्य कुराहरू बताउन र जीवनको बाटो देखाउन योग्य हुनुहुन्छ। साथै उहाँ बुबाले अह्राउनुभएको काम गर्न पनि थाल्नुहुन्छ। हाम्रो लागि आफ्नो जीवन बलिदान दिनुभएर उहाँ यो काम पूरा गर्नुहुन्छ।

  • युहन्‍नाको लागि येसु किन अपरिचित हुनुहुन्‍न?

  • येसुले कुनै पाप नगरे तापनि उहाँ किन युहन्‍नाकहाँ बप्तिस्मा गर्न जानुहुन्छ?

  • परमेश्‍वरको शक्‍ति येसुमाथि आउँदा युहन्‍ना किन छक्क पर्दैनन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने