प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ११/१५ pp. १५-१९
  • आफूलाई सानो सम्झने मनोभाव विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूलाई सानो सम्झने मनोभाव विकास गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ!”
  • ‘तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झने ठूलो हुन्छ’
  • आफूलाई सानो सम्झने प्रयास गर्नुहोस्‌
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • येशूले नम्रताको नमुना बसाल्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ११/१५ pp. १५-१९

आफूलाई सानो सम्झने मनोभाव विकास गर्नुहोस्‌

“जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”—लूका ९:४८.

के तपाईं जवाफ भेट्टाउन सक्नुहुन्छ?

  • सानो सम्झने मनोभाव विकास गर्न हामीलाई केले मदत गर्छ?

  • आफूलाई सानो सम्झने व्यक्‍ति कुन अर्थमा “ठूलो” हुन्छ?

  • वैवाहिक सम्बन्धमा, मण्डलीमा अनि अरूसितको सम्बन्धमा कसरी नम्रता देखाउन सक्छौं?

१, २. येशूले प्रेषितहरूलाई कस्तो सल्लाह दिनुभयो र किन?

इस्वी संवत्‌ ३२ को कुरा हो। येशू गालील प्रान्तमा छँदा प्रेषितहरूमाझ एउटा विषयमा बहस चल्यो। केही प्रेषित आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भन्‍ने विषयमा बहस गरिरहेका थिए। सुसमाचारको पुस्तकका लेखक लूका लेख्छन्‌: “आफूहरूमध्ये सबैभन्दा ठूलो को हुनेछ भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो। तिनीहरूको मनको कुरा थाह पाएर येशूले एउटा सानो बालकलाई बोलाउनुभयो र आफ्नो छेउमा राखेर तिनीहरूलाई भन्‍नुभयो: ‘जसले मेरो नाममा यो सानो बालकलाई स्वीकार्छ, उसले मलाई पनि स्वीकार्छ; अनि जसले मलाई स्वीकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वीकार्छ। जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।’” (लूका ९:४६-४८) धैर्य देखाउँदै तर दृढताका साथ येशूले प्रेषितहरूलाई नम्र हुनुपर्ने खाँचो बुझ्न मदत गर्नुभयो।

२ आफूलाई सानो सम्झनू भन्‍ने येशूको सल्लाह के प्रथम शताब्दीका यहूदीहरूको मनोभावसित मेल खान्थ्यो? अथवा तिनीहरूले सामान्यतया देखाउने मनोभावभन्दा फरक थियो? त्यतिबेलाको सामाजिक अवस्थाबारे एउटा पुस्तकa यसो भन्छ: “प्रायजसो सबै अवस्थामा सबैभन्दा ठूलो को हो भन्‍ने प्रश्‍न खडा हुन्थ्यो। अनि मानिसहरूलाई उचित सम्मान दिनु एकदमै महत्त्वपूर्ण कुरा थियो।” येशू आफ्ना प्रेषितहरूलाई आममानिसको भन्दा बेग्लै मनोभाव राख्न सल्लाह दिंदै हुनुहुन्थ्यो।

३. (क) आफूलाई सानो सम्झेर व्यवहार गर्नुको अर्थ के हो? यस्तो व्यवहार गर्न हामीलाई किन गाह्रो हुन सक्छ? (ख) आफूलाई सानो सम्झने मनोभाव विकास गर्ने सन्दर्भमा कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

३ “सानो” भनी अनुवाद गरिएको ग्रीक शब्दले नम्र, विनयी, साधारण, कुनै हैसियत नभएको मानिसलाई बुझाउँछ। येशूले सानो बालकलाई चलाएर नम्र र विनयी हुनुपर्ने आवश्‍यकताबारे प्रेषितहरूलाई सिकाउनुभयो। त्यो सल्लाह प्रथम शताब्दीमा जत्तिकै अहिले पनि साँचो ख्रीष्टियनहरूलाई लागू हुन्छ। कुनै-कुनै अवस्थामा आफूलाई सानो सम्झेर व्यवहार गर्न एकदमै गाह्रो हुन सक्छ। घमन्डी झुकावले हामीलाई प्रतिष्ठा खोज्न लगाउँछ। अहिलेका मानिसहरूमा व्याप्त प्रतिस्पर्धी झुकाव र यस संसारको मनोभावले हामीलाई अहङ्‌कारी र झगडालु हुन अनि आफ्नै स्वार्थ पूरा गर्न उक्साउँछ। तर आफूलाई सानो सम्झने मनोभाव कसरी विकास गर्न सक्छौं? “जसले आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ” ऊ कसरी “ठूलो” हुन्छ? कुन-कुन क्षेत्रमा हामीले नम्र मनोभाव देखाउने प्रयास गर्नुपर्छ?

“परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ!”

४, ५. नम्रता विकास गर्न हामीलाई केले उत्प्रेरित गर्न सक्छ? उदाहरण दिनुहोस्‌।

४ नम्रता विकास गर्ने एउटा तरिका, हामीभन्दा यहोवा कत्ति महान्‌ हुनुहुन्छ भनेर सम्झनु हो। वास्तवमा “उहाँको समझ अथाह छ।” (यशै. ४०:२८) यहोवाको महानताबारे प्रेषित पावलले लेखे: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका न्यायहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!” (रोमी ११:३३) पावलले ती शब्दहरू लगभग २,००० वर्षअघि लेखे। त्यस यता मानिसहरूले थुप्रै विषयमा धेरै ज्ञान हासिल गरिसकेका छन्‌। तैपनि तिनले लेखेका ती शब्दहरू अझै सत्य साबित भएका छन्‌। हामीलाई जति नै कुरा थाह भए तापनि यहोवा, उहाँको काम र तौरतरिकाबारे सबै कुरा कहिल्यै सिक्न सक्दैनौं।

५ परमेश्‍वरको तौरतरिकाबारे सबै कुरा थाह पाउनु हाम्रो क्षमताबाहिरको कुरा हो भनेर बुझेपछि शैलेशलेb आफूलाई सानो सम्झन सके। जवान छँदा शैलेशलाई विज्ञान असाध्यै मन पर्थ्यो। ब्रह्‍माण्डबारे धेरै कुरा बुझ्न तिनले खगोलविज्ञान अध्ययन गरे। अनि तिनी यस्तो निष्कर्षमा पुगे, “पढ्‌दै जाँदा मैले के थाह पाएँ भने ब्रह्‍माण्डबारे सबै कुरा बुझ्न हाल उपलब्ध वैज्ञानिक सिद्धान्तहरूको ज्ञान हुनु मात्र पर्याप्त छैन। त्यसैले मैले कानुन पढ्‌न थालें।” केही समयपछि शैलेश वकिल बने र पछि न्यायाधीश पनि भए। पछि तिनी र तिनकी श्रीमतीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरे, सत्य स्वीकारे अनि परमेश्‍वरका समर्पित सेवक बने। उच्च शिक्षा हासिल गरेको भए तापनि शैलेशले कसरी आफूलाई सानो सम्झेर व्यवहार गर्न सके? तिनी भन्छन्‌: “यहोवा र ब्रह्‍माण्डबारे जति कुरा सिके तापनि सबै कुरा कहिल्यै सिक्न नसकिने रहेछ भनेर बुझें।”

६, ७. (क) यहोवाले नम्रताको कस्तो उत्कृष्ट उदाहरण बसाल्नुभएको छ? (ख) परमेश्‍वरको नम्रताले मानिसलाई कसरी “ठूलो” बनाउँछ?

६ नम्र हुन हामीलाई मदत गर्ने अर्को कुरा, यहोवा स्वयम्‌ले नम्रता देखाउनुहुन्छ भनेर सम्झनु हो। यो कुरा विचार गर्नुहोस्‌: “हामी परमेश्‍वरका सहकर्मीहरू हौं।” (१ कोरि. ३:९) सोच्नुहोस्‌ त! सर्वोच्च परमेश्‍वर यहोवा हामीलाई उहाँको वचन बाइबल प्रयोग गर्दै सेवाको काम पूरा गर्ने मौका दिएर हाम्रो सम्मान गर्नुहुन्छ। हुन त हामीले रोपेको र पानी हालेको बीउलाई हुर्काउने यहोवा हुनुहुन्छ, तैपनि उहाँले हामीलाई उहाँसित मिलेर काम गर्ने सम्मान दिनुभएको छ। (१ कोरि. ३:६, ७) के यो उहाँको नम्रताको उत्कृष्ट उदाहरण होइन र? यहोवाको यस्तो नम्रतालाई विचार गर्दा आफूलाई सानो सम्झन हामी प्रत्येकले ठूलो उत्प्रेरणा पाउनुपर्ने हो।

७ परमेश्‍वरको नम्रताको उदाहरणले भजनरचयिता दाऊदमाथि अमेट छाप पाऱ्‍यो। तिनले यहोवालाई यस्तो भजन गाए: “तपाईंले आफ्नो मुक्‍तिको ढाल पनि मलाई दिनुभएको छ। र तपाईंको दाहिने बाहुलीले मलाई समातेको छ, र तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ।” (भज. १८:३५) यहोवाको नम्रताले गर्दा आफूले इस्राएलमा महान्‌ कार्यहरू गर्न सकेको हो भनेर मानिलिंदै तिनले सम्पूर्ण कुराको श्रेय उहाँलाई दिए। दाऊदका कार्यलाई ध्यान दिन यहोवाले झुकेर अर्थात्‌ निहुरिएर हेर्नुभयो। (भज. ११३:५-७) हामी नि? आफ्नो गुण, क्षमता अनि सुअवसरहरूको कुरा गर्ने हो भने यहोवाले ‘नदिई हामीले पाएको कुरा के छ र?’ (१ कोरि. ४:७) आफूलाई सानो सम्झेर व्यवहार गर्ने मानिस यहोवाको अझ बहुमूल्य सेवक बन्‍नेछन्‌। यस अर्थमा तिनी “ठूलो” हुनेछन्‌। (लूका ९:४८) आउनुहोस्‌, यसबारे विचार गरौं।

‘तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झने ठूलो हुन्छ’

८. यहोवाको सङ्‌गठनप्रतिको दृष्टिकोणमा नम्रताले कस्तो असर पार्छ?

८ परमेश्‍वरको सङ्‌गठनमा सन्तुष्ट हुन अनि मण्डलीको प्रबन्धलाई समर्थन गर्न नम्रता अत्यावश्‍यक छ। उदाहरणको लागि, प्रनती नाम गरेकी युवतीको लालनपालन साक्षी परिवारमा भयो। आफ्नै तरिकामा कामकुरा गर्न चाहेकीले तिनले मण्डली त्यागिन्‌। वर्षौंपछि तिनले मण्डलीसित फेरि सरसङ्‌गत गर्न थालिन्‌। फेरि यहोवाको सङ्‌गठनमा फर्केकोमा तिनी खुसी छिन्‌ र मण्डलीको प्रबन्धलाई समर्थन गर्न इच्छुक छिन्‌। तिनको मनोवृत्ति कसरी परिवर्तन भयो? तिनी लेख्छिन्‌, “परमेश्‍वरको सङ्‌गठनमा सन्तुष्ट हुन आफू नम्र र विनयी हुनै पर्छ भनेर मैले बुझें।”

९. नम्र व्यक्‍तिले बाइबल र हाम्रा प्रकाशनहरूप्रति कस्तो दृष्टिकोण राख्छ? यस्तो व्यक्‍ति यहोवाको सेवामा किन अझ बहुमूल्य हुन्छ?

९ नम्र व्यक्‍तिले यहोवाले प्रदान गर्ने भोजनलगायत सम्पूर्ण प्रबन्धप्रति हार्दिक कृतज्ञता व्यक्‍त गर्छ। यस्तो व्यक्‍तिले लगनशील भई बाइबल अध्ययन गर्छ अनि प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू नियमित रूपमा पढ्‌ने गर्छ। यहोवाका थुप्रै विश्‍वासी सेवकले जस्तै उसले नयाँ प्रकाशन पाउने बित्तिकै सम्पूर्ण लेख पढ्‌छ, नपढीकन थन्क्याउने गर्दैन। नम्रता तथा कृतज्ञता झल्काउँदै बाइबलआधारित प्रकाशन पढ्‌दा र अध्ययन गर्दा परमेश्‍वरसितको मित्रता अझ प्रगाढ हुन्छ। साथै उहाँले हामीलाई सेवाको काममा अझ धेरै प्रयोग गर्नुहुनेछ।—हिब्रू ५:१३, १४.

१०. मण्डलीमा आफूलाई सानो सम्झेको कसरी देखाउन सक्छौं?

१० आफूलाई सानो सम्झेर व्यवहार गर्ने व्यक्‍ति अर्को अर्थमा पनि “ठूलो” हुन्छ। हरेक मण्डलीमा पवित्र शक्‍तिद्वारा नियुक्‍त योग्य पुरुषहरू एल्डरको रूपमा सेवा गर्छन्‌। तिनीहरूले सभा र क्षेत्र सेवाको प्रबन्ध मिलाउँछन्‌ अनि गोठालोको रूपमा सेवा गर्छन्‌। खुसीसाथ यी प्रबन्धलाई समर्थन गरेर आफूलाई सानो सम्झँदा मण्डलीको आनन्द, शान्ति र एकतामा योगदान पुऱ्‍याउँछौं। (हिब्रू १३:७, १७ पढ्‌नुहोस्‌) तपाईं एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्दै हुनुहुन्छ भने यहोवाले यो सुअवसर दिनुभएकोमा के उहाँप्रति कृतज्ञ हुँदै नम्रता देखाउनुहुन्छ?

११, १२. कस्तो मनोवृत्तिले हामीलाई यहोवाको सङ्‌गठनमा बहुमूल्य बनाउँछ र किन?

११ आफूलाई सानो सम्झेर व्यवहार गर्ने व्यक्‍ति यहोवाको सङ्‌गठनमा “ठूलो” अर्थात्‌ बहुमूल्य हुन्छन्‌ किनभने तिनको नम्र मनोभावले गर्दा तिनी परमेश्‍वरको असल र उपयोगी सेवक बन्छन्‌। येशूका चेलाहरूमध्ये कोही-कोहीलाई त्यतिबेलाको मनोभावले असर गरेकोले उहाँले तिनीहरूलाई सानो सम्झेर व्यवहार गर्न सल्लाह दिनुपऱ्‍यो। लूका ९:४६ भन्छ: “आफूहरूमध्ये सबैभन्दा ठूलो को हुनेछ भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो।” हामीलाई पनि यस्तो लाग्न सक्छ—‘म अरू सङ्‌गी उपासकभन्दा उत्कृष्ट छु’ वा ‘म आममानिसभन्दा उत्तम छु।’ हाम्रो वरपरका मानिसहरूमा घमन्ड र स्वार्थ व्याप्त छ। हामी घमन्डी होइन, नम्र होऔं। यसो गऱ्‍यौं र यहोवाको इच्छालाई प्राथमिकता दियौं भने भाइबहिनीले हामीबाट स्फूर्ति पाउनेछन्‌।

१२ आफूलाई सानो सम्झेर व्यवहार गर्ने येशूको सल्लाहको महत्त्व बुझ्यौं भने नम्रता देखाउन साँच्चै उत्प्रेरित हुनेछौं। के हामीले जीवनको सबै पक्षमा आफूलाई सानो सम्झेर व्यवहार गर्नु पर्दैन र? आउनुहोस्‌, तीनवटा क्षेत्रबारे विचार गरौं।

आफूलाई सानो सम्झने प्रयास गर्नुहोस्‌

१३, १४. पति र पत्नीले आफूलाई सानो सम्झेर कस्तो व्यवहार गर्नुपर्छ? यसले वैवाहिक बन्धनमा कस्तो असर पार्न सक्छ?

१३ वैवाहिक सम्बन्धमा। आज थुप्रै मानिस आफ्नो हक-अधिकारको मात्र चिन्ता गर्छन्‌; अरूको हक-अधिकारको कुनै महत्त्व राख्दैनन्‌। तर नम्र व्यक्‍तिले भने रोमका ख्रीष्टियनहरूलाई प्रेषित पावलले जुन मनोभाव राख्न प्रोत्साहन दिएका थिए, त्यही मनोभाव विकास गर्ने प्रयास गर्छन्‌। तिनले लेखे: “हामी आपसमा शान्ति कायम हुने अनि एक-अर्काको उत्थान हुने कुराहरूको पछि लागौं।” (रोमी १४:१९) आफूलाई सानो सम्झेर व्यवहार गर्ने व्यक्‍तिले सबैसित शान्ति कायम गर्ने प्रयास गर्छ, खासगरि आफ्नो प्रिय पति वा पत्नीसित।

१४ मनोरञ्जनको क्षेत्रलाई विचार गर्नुहोस्‌। मनोरञ्जन गर्ने सन्दर्भमा पति र पत्नीको रुचि फरक-फरक हुन सक्छ। फुर्सतको समयमा पतिलाई घरमा बसेर मजाले किताब पढ्‌न मन पर्छ होला। तर पत्नीलाई भने बाहिर खान जान वा साथीभाइहरूसित भेटघाट गर्न मन पर्छ होला। पतिले नम्रता देखाउँदा अनि आफ्नी पत्नीको रुचि र चासोलाई साँच्चै ध्यान दिंदा के पत्नीलाई पतिको आदर गर्न सजिलो हुँदैन र? पत्नीले आफ्नो रूचिलाई मात्र ध्यान दिनुको साटो पतिको इच्छालाई साँच्चै कदर गर्दा पतिले उनलाई झन्‌ धेरै माया गर्नेछन्‌ र उनको मोल गर्नेछन्‌। पति-पत्नी दुवैले आफूलाई सानो सम्झेर व्यवहार गर्दा वैवाहिक बन्धन अझ बलियो हुन्छ।—फिलिप्पी २:१-४ पढ्‌नुहोस्‌।

१५, १६. भजन १३१ मा दाऊदले कस्तो मनोवृत्ति राख्न सल्लाह दिए? यस्तो मनोवृत्ति मण्डलीमा कसरी देखाउन सक्छौं?

१५ मण्डलीमा। संसारमा थुप्रै मानिस आफूले चाहेको कुरा तुरुन्तै पाइहाल्नुपर्छ भन्‍ने सोचाइ राख्छन्‌। तिनीहरूसित धैर्य भन्‍ने कुरा छँदै छैन भने पनि हुन्छ। अनि तिनीहरू केही कुराको लागि पनि पर्खन चाहँदैनन्‌। तर आफूलाई सानो सम्झने मनोभाव विकास गर्दा यहोवाको बाटो हेर्न सजिलो हुन्छ। (भजन १३१:१-३ पढ्‌नुहोस्‌) नम्र भयौं अनि यहोवाको बाटो हेऱ्‍यौं भने आशिष्‌ पाउनेछौं। साथै सुरक्षित, सन्तुष्ट अनि खुसी हुनेछौं। त्यसकारण दाऊदले इस्राएलीहरूलाई धीरजी भई परमेश्‍वरको बाटो हेर्न प्रोत्साहन दिनुको कारण हामी बुझ्न सक्छौं।

१६ नम्र भएर यहोवाको बाटो हेर्नुभयो भने तपाईंले पनि दाऊदले जस्तै सान्त्वना पाउनुहुनेछ। (भज. ४२:५) सायद तपाईं “असल काम गर्न” चाहनुहुन्छ; त्यसैले ‘निरीक्षक बन्‍न अघि बढिरहनुभएको छ।’ (१ तिमो. ३:१-७) पवित्र शक्‍तिको मदत खोजेर तपाईंले निरीक्षक बन्‍न चाहिने गुणहरू विकास गर्न यथासक्दो प्रयास त गर्नै पर्छ। तर निरीक्षक बन्‍न अरूको तुलनामा लामो समय पर्खनुपऱ्‍यो भने नि? सेवाको सुअवसर पाउनको लागि धीरजी भई पर्खने र आफूलाई सानो सम्झने व्यक्‍तिले पछिसम्म पनि खुसीसाथ यहोवाको सेवा गरिरहन सक्नेछ। अनि जुनसुकै जिम्मेवारी पाए तापनि त्यसमा रमाउन सक्नेछ।

१७, १८. (क) माफी माग्दा र माफी दिंदा परिणाम कस्तो हुन्छ? (ख) हितोपदेश ६:१-५ मा कस्तो सल्लाह दिइएको छ?

१७ अरूसितको सम्बन्धमा। माफी माग्न थुप्रैलाई गाह्रो लाग्छ। तर परमेश्‍वरका सेवकहरू आफ्नो गल्ती स्वीकारेर माफी माग्छन्‌। यसरी तिनीहरू आफूलाई सानो सम्झने मनोभाव विकास गर्न सक्दो प्रयास गर्छन्‌। तिनीहरू अरूले गल्ती गर्दा माफी दिन पनि तयार हुन्छन्‌। घमन्डले फूट र कलह निम्त्याउँछ तर माफी दिंदा मण्डलीमा शान्ति कायम हुन्छ।

१८ मनैदेखि माफी मागेर ‘आफूलाई नम्र तुल्याउनुपर्ने’ अवस्था पनि हुन सक्छ। जस्तै: हामीले कसैलाई कुनै कुरा कबुल गऱ्‍यौं। तर कुनै जायज कारणले गर्दा त्यो पूरा गर्न सकेनौं। यस्तो अवस्थामा पूरै दोष आफ्नो नभए तापनि गल्ती स्वीकारेर माफी माग्न नम्रता चाहिन्छ।—हितोपदेश ६:१-५, NRV पढ्‌नुहोस्‌।

१९. आफूलाई सानो सम्झने मनोभाव विकास गर्न बाइबलले दिएको सल्लाहप्रति हामी किन कृतज्ञ छौं?

१९ आफूलाई सानो सम्झने मनोभाव विकास गर्न बाइबलले दिएको सल्लाहप्रति हामी असाध्यै कृतज्ञ छौं! यस्तो मनोभाव देखाउन कहिलेकाहीं गाह्रो हुन सक्छ। तर यहोवाको महानता र उहाँको नम्रताबारे सोच्यौं भने यो राम्रो गुण विकास गर्न उत्प्रेरित हुनेछौं। यसो गऱ्‍यौं भने यहोवाका सेवकको रूपमा साँच्चै बहुमूल्य साबित हुनेछौं। त्यसैले हामी प्रत्येकले आफूलाई सानो सम्झने मनोभाव विकास गर्न प्रयास गरौं।

a Theological Dictionary of the New Testament

b नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने